साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि चेवन बस्नेतका एक दर्जन कविता सुनिए, परिचर्चा गरियो

प्राज्ञ माधव प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो

Nepal Telecom ad

काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको सभाकक्ष पुतलीसडक, काठमाडौँमा आयोजित विशेष समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले एकदशकभन्दा लामो समयदेखि निरन्तर आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को १०९ औँ विशेष शृङ्खलामा साहित्य सिर्जना, अध्यापन, सामाजिक–साङ्गठनिक नेतृत्व तथा सामाजिक रूपान्तरण अभियान, दन्तचिकित्सा, व्यवसाय, पत्रकारिता, मानवअधिकारलगायतका विविध क्षेत्रमा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा चेवन बस्नेतका एक दर्जन कविता सुनियो, परिचर्चा गरियो ।

नेपाली गीत, सङ्गीतका शिखर व्यक्तित्व प्राज्ञ माधव प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो भने सङ्घका महासचिव डा.कृष्ण सुवेदीले सञ्चालन गर्नुभएको उक्त समारोहमा विशेष अतिथिका रूपमा प्रगतिशलि लेखक सङ्घ नेपालका अध्यक्ष एवम् राष्ट्रिय जनसाहित्यिक सङ्घका इन्चार्ज डा.देवी दुलाल क्षेत्री र राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालकी उपाध्यक्ष नमुना शर्माको उपस्थिति रहेको थियो । अन्य अतिथिहरूमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा.फणीन्द्रराज निरौला, प्रलेस केन्द्रीय सदस्य तथा सङ्घका सल्लाहकार सहप्रा.डा.हरिप्रसाद तिमल्सिना, डा.घनश्याम परिश्रमी, राजनप्रसाद न्यौपाने, रामचन्द्र दाहाल, दील पौडेल, महेशराज खरेल, ध्रुव गजुरेल, पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष टी.एन.भट्ट, पदम दाहाल, कविनायक चेवन बस्नेतकी जीवनसङ्गिनी हरिमाया बस्नेतलगायत कविनायकका इष्टमित्र तथा अन्य कवि, साहित्यकारहरू एवम् साहित्यानुरागीहरू उपस्थित हुनुहुन्थ्यो ।
अध्यक्ष नर्मदेश्वरी सत्यालले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो ।

हरेक महिना दोस्रो शनिबार हुने यो विशेष समारोहको उद्देश्य साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गर्नु हो । वर्तमानमा अलि प्रतिकूल अवस्था सिर्जना भएको भए पनि हामी स्रष्टा ‘डढेलो लागे पनि पिपिरा पलाउँछन्‌’ भन्ने मान्यताका साथ आफ्नो काम निरन्तर गरि नै रहन्छौँ । आजको यो विशेष समारोहमा हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिएर हामी तथा कविनायकलाई हौसला प्रदान गरिदिनुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरूलगायत सबै सबै आदरणीय व्यक्तित्वलाई हार्दिक स्वागत गर्दछु । २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी १०९ औँ विशेष शृङ्खला सम्पन्न गर्न लागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आआफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा हामीले प्रस्तुत गरेका स्रष्टाहरू हर्ष स्याङ्बो, आनन्ददेव भट्ट, पीताम्बर भण्डारी, विनय कसजू, विजय चालिसे कीर्तिशेषसमेत भइसक्नुभएको छ ।

समसामयिक विशेष विषयमा बहस तथा छलफल गर्ने, सडक कविता अभियान चलाउनेसमेतको हाम्रो यो अभियानमा महिला सहभागिता कमजोर भएको टिप्पणीका सन्दर्भमा भने हामी महिला नै निस्किन नखोजेर हो भन्ने मलाई लाग्छ । आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, सिङ्गो जीवन अध्यापनकर्ममा, दन्तचिकित्साका क्षेत्रमा, सामाजिक–राजनीतिक रूपान्तरण अभियानमा, व्यवसायका क्षेत्रमा, मानवअधिकारलगायतका विविध क्षेत्रमा समर्पित गरेका, साहित्यिक सङ्घसंस्थामा क्रियाशील रहेका अभियन्ता एवम् सचेत, प्रगतिवादी स्रष्टा चेवन बस्नेत ठुलाघरेलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि अभ्यास रहेको छ । सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै साहित्य सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने अहिलेको समयका कुशल र सक्रिय सर्जक आजका स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुहुँदै माल्यार्पण गरेर स्वागत गर्नुभयो ।

साहित्यकार परशुराम पराशरले कविनायक चेवन बस्नेतको परिचय दिनुहुँदै वि.सं.२०१२ चैत्र २९ गते सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिका वडा नं.९ पुपाँगुमा माता झङ्कमाया बस्नेत र पिता बुद्धिबहादुर बस्नेतका सुपुत्रका रूपमा जन्मिएका चेवनचन्द्र बस्नेत साहित्यमा ‘चेवन बस्नेत ठुलाघरे’का नामबाट कलम चलाउँछन् । दन्तचिकित्सकका रूपमा सेवारत बस्नेतले भारत, चीन, बङ्गलादेश, बेल्जियम, नर्वे, स्विडेन, पोर्चुगल, फ्रान्स, स्पेन, बेलायत, डेनमार्कलगायतका देशको भ्रमण गरेका छन् । सामाजिक–राजनीतिक सेवा, साहित्यिक जागरणका माध्यमबाट सभ्य, समुन्नत एवम् समतामूलक समाज निर्माणको अपेक्षा राख्ने बस्नेतले विभिन्न दर्जनौँ तालिम तथा सेमिनारमा भाग लिएका छन् भने राजनीतिक चेतनाका माध्यमबाट सामाजिक रूपान्तरण अभियानमा पनि आफूलाई समाहित गरेका छन् । थुप्रै सामाजिक तथा व्यवसायिक सङ्घसंस्थाको स्थापनादेखि नेतृत्वसम्मको भूमिका पनि बस्नेतले निर्वाह गरेका छन् । शिक्षक, दन्तचिकित्सक, मेकानिक्स, सहजकर्ता, व्यवसायी, पत्रकार, मानवअधिकारकर्मीलगायत दर्जनाँै भूमिकामा बस्नेतले आफूलाई उभ्याएका छन् । पौने एक दर्जन विभिन्न संस्थामा आजीवन सदस्यका रूपमा क्रियाशील रहेका बस्नेत वि.सं.२०३० सालदेखि वामपन्थी आन्दोलनमा समर्पित भएका देखिन्छन् ।

कक्षा ४ पछि अध्ययनको अवसर नपाएर २३ वर्षको उमेरमा छोरी जन्मिइसकेपछि कक्षा ८ मा भर्ना भई आई.ए.सम्मको र दन्तचिकित्सामा तीन बर्से डिप्लोमा गरेर विविध क्षेत्रमा सक्रियता देखाएका उनको यो सक्रियताका लागि झण्डै डेढ दर्जन सम्मान, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । ‘नजलेको चिता’ उपन्यास २०७७, ‘जात मरेको वेला’ कवितासङ्ग्रह २०७७, ‘कौशिकी’ कवितासङ्ग्रह २०८२ जस्ता कृति बस्नेतले प्रकाशित गरेका छन् भने हास्यव्यङ्ग्य, कविता, सुसेली, संस्मरण, गजल तथा नियात्राका आधादर्जन कृतिहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन् । जीवनमा धेरै आरोह–अवरोह भोगेका बस्नेत नेपाली समाजको जीवन्त चित्रण गर्ने र पर्यावरणको वकालत गर्ने अनि सर्वजनहिताय तथा सामाजिक रूपान्तरणका पक्षमा चेतना सम्प्रेषण गर्ने स्रष्टा हुन् । असाध्यै छिरोलिएको जीवन भोगेका अहिलेको समयका निकै धेरै सक्रिय स्रष्टालाई आज हामी सुन्ने छौँ भन्नुभयो ।

नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका, विविध क्षेत्रमा सक्रिय रहँदै साहित्यिक सङ्घसंस्थामा क्रियाशील रहेका, सामाजिक रूपान्तरण अभियानका अभियन्ता कविनायक चेवन बस्नेतले एक दशकभन्दा लामो समयदेखि सञ्चालन भइरहेको यो गरिमामय, उद्देश्यमूलक अविरल जनसाहित्य यात्राको १०९ औँ शृङ्खलामा आफू जोडिन आइपुगेकोमा गर्वबोध गर्दछु । यद्यपि यो अभियानले सञ्चालन गरेका संस्थाका यसपूर्वका शृङ्खलामा म आफू पनि उपस्थित भएको छु । आजको यो विशेष समारोहमा नेपाली प्रगतिशील गीत, सङ्गीतका वरिष्ठ साधक प्राज्ञ माधव प्रधान प्रमुख अतिथिको रूपमा उपस्थित भइदिनुभएको छ भने मलाई प्रोत्साहन गर्न तपाईँ बौद्धिक व्यक्तित्वहरू, मेरा परिवारजन तथा इष्टमित्र उपस्थित भइदिनुभएको छ । त्यसैले पनि मलाई अत्यन्त गौरवबोध भएको छ, त्यसमा पनि मजस्तो सामान्य कविलाई स्थान दिनुभएकोमा खुसी पनि लागेको छ ।

मेरो लेखनको उद्देश्य मेरा कविताले नै बोल्ने छन् तापनि कविता सिर्जनापछि परिष्कारमा खासै ध्यान नदिने मैले मान्छेको जिन्दगीलाई तुच्छ ठान्ने, सामाजिक विभेद र असन्तुलन बढेको देखेपछि; पहाडी ऊर्वर भूमिको पहिचान पो गर्नुपर्नेमा खेतबारी बाँझो रहने प्रवृत्ति बढेको देखेपछि; निरङ्कुश शासनसत्ताले बर्बरतापूर्ण र क्रूर दमन गरेर पीडा मात्रै दिएको हाृइन ज्यानै लिने प्रयत्न गरेपछि; विषादीमिश्रित खानेकुरा खाएर मान्छेको जीवन बर्बाद हुनलागेको अनुभूति भएपछि; दुःखी गरिबका समय र श्रमको शोषण मात्र होइन जीवन नै जोखिममा पारिएपछि; राजनीतिक दुष्कर्म मौलाएको र युवापलायत तीब्र बन्दै गएपछि; शिरमा यो देशको माटो राखेर कुटो समाउनुपर्छ भन्ने लागेपछि; अपराधीले उन्मुक्ति पाउने अवस्था बढ्दै बढ्दै गएको देखेपछि; घरवार वृद्धाश्रम पारेर सन्तान विदेश पठाउँदा अभिभावक बाहिर बाहिर खुसी भएका दृष्टान्त देखेपछि; आतङ्कपूर्ण राज्य कोही कुनै नागरिकले झेल्नुनपरोस् भन्ने लागेपछि; यो देशको समृद्धि हामी आफैँले गर्नुपर्छ भन्ने सबैलाई चेतना हुनुपर्छ भन्ने लागेपछि मैले कविता सिर्जना गरेको हुँ भन्दै कविताका रचनागर्भका बारेमा जानकारी गराउँदै मालिनी छन्दको ‘जिन्दगी’, ‘झ्याउँकिरी रोएको रात’ गद्यकविता, शिखरिणी छन्दको ‘विभेद किन ?’, अनुष्टुप् छन्दको ‘देशका लागि युवा’, भुजङ्गप्रयात छन्दको ‘भयो शून्यजस्तै उज्यालो कटेरो’ शीर्षकका कविता र एउटा गजल गरी छओटा अत्यन्त सुन्दर, सशक्त र रूपान्तरणका पक्षका कविता वाचन गर्नुभयो ।

त्यसैगरी सहयोगी कवि परशुराम पराजुलीले शिखरिणी छन्दको ‘जे छ सबै यहीँ छ’ शीर्षकको, कवि कृष्णप्रसाद पौडेल जस्ताघरेले शार्दूलविक्रीडित छन्दको ‘हामी रहन्छौँ कहाँ ?’ शर्षिकको, ८ वर्षीया बालकवि प्रवेशिका अधिकारीले इन्द्रबज्रा छन्दको ‘मज्जाको निर्वाचन’ शीर्षकको, कवि विध्या अनामिका तिवारीले वसन्ततिलका छन्दको ‘छलाङ’ शीर्षकको, कवि राजनप्रसाद न्यौपानेले ‘मेरो राष्ट्र मेरो शिर’ शीर्षकको गद्यकविता र पदम दाहालले द्रुतविलम्बित छन्दको ‘विगतकै छ सिको अझ वृद्धको’ शीर्षकका त्यत्तिकै सुन्दर, सशक्त कविताहरू वाचन गर्नुभएको थियो ।

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्दै अतिथि एवम् समालोचक सहप्रा.डा.हरिप्रसाद तिमल्सिनाले अविरल जनसाहित्य यात्राको यो उद्देश्यमूलक अभियान १०९ औँ शृङ्खलामा पुगेको छ र आजको यो समारोह विशेष समारोहका रूपमा आयोजना भएको छ । त्यसैले सर्वप्रथम म आजका कविनायकलाई बधाइ दिन्छु र मलाई टिप्पणीकारको भूमिकामा आफ्नो जिम्मेवारी पूरा गर्ने अवसर प्रदान गरेकामा २०६४ सालदेखि जोडिएको यो मेरै संस्थालाई हार्दिक धन्यवाद पनि दिन्छु । यो यात्राको ३२ औँ शृङ्खलामा म स्वयम् उपस्थित हुने अवसर मेले पाएको पनि म अहिले स्मरण गर्दछु । आजको यो शृङ्खलामा मार्क्सवादी चिन्तन बोकेका सङ्घर्षशील व्यक्तित्वका एक दर्जन कविता हामीले सुनेका छौँ । सत्तरी वर्ष पार गर्दा पनि सशक्त र ऊर्जावान् कविले आठ वर्षकै उमेरमा बुबा गुमाउनुभएको र वि.सं.२०३० मा जीवनसङ्गिनी हरिमाया बस्नेतलाई भित्र्याएर तीन छोरा र दुई छोरीसहितको घरव्यवहार २०३७ सालदेखि जीवनसङ्गिनीलाई जिम्मा लगाएर कविले वामपन्थी भूमिगत राजनीतिमा आफूलाई समाहित गरेको देखिन्छ ।

कर्ममा लागिरहने कविको समर्पित जीवन अरूका लागि पनि अनुकरणीय रहेको देखिन्छ । उहाँले नगरेको कुनै काम नै देखिँदैन । उहाँका कवितामा देशभक्तिको भावना अटसमटस भएको, मानवअधिकार एवम् उच्चमानवीय चेत सशक्त देखिएको, वैचारिकता प्रखर रूपमा आएको; क्रान्तिचेत, विद्रोहीचेत, परिवर्तनकामी चेत सशक्त देखिएको; शोषण र उत्पीडनको विरोध मात्र होइन सबै प्रकारका उत्पीडन समाप्त हुनुपर्ने आग्रह रहेको; प्रकृतिको सुन्दर चित्रण गरिएको, स्वदेशमै पसिना बगाउनुपर्छ भन्ने सन्देश सम्प्रेषण गरिएको, समृद्ध नेपाल र सुखी नेपालीको अपेक्षा गरिएको, राज्यबाट उत्पीडन व्यहोरेको मात्र होइन ज्यानै लिने दुस्साहस व्यहोरेका भावनासमेत लाई सरल, प्रतीकात्मक, वाक्यात्मक र व्यङ्ग्यात्मक शीर्षकका आज सुनिएका कवितामा तीनओटा गद्यका र अन्य विभिन्न शास्त्रीय छन्दका कविता यहाँ वाचित भएका छन् र कविता उत्कृष्ट रहेका छन् तर गजलको चाहिँ शीर्षक मिलेको देखिँदैन । माता, पिता र राष्ट्रप्रति सम्मान; लयगत सुन्दरता, विषयगत विविधता आजका कविताका प्राप्ति हुन् । वास्तवमा जोकोही स्रष्टालाई कवितामा भावसम्प्रेषण गर्न कठिन नै हुन्छ ।

कविताको भाषा विशिष्ट हुन्छ त्यसैले कविताले व्यञ्जनात्मक र लाक्षणिक भाषाको अपेक्षा गरेको हुन्छ । आजका कवितामा ठाउँ ठाउँमा ईश्वरका कुरा आएका छन्, केही ठाउँमा विरोधाभासपूर्ण अभिव्यक्ति पनि आएका छन्, गद्यकवितामा केही ठाउँमा अन्तरअनुप्रास बिग्रिएको छ । २०७५ सालमा आमा बित्नुभएपछिको वियोगको पीडा कवितामा सुन्दरढङ्गले आएको छ । नयाँ विम्बको प्रयोग गर्दा अर्थ नबिग्रियोस् भन्ने हेक्का चाहिँ स्रष्टाले राख्नै पर्छ । यी केही सुधारका पक्षलाई कविले अभ्यास र साधनाका माध्यमबाट सुधार गर्दै सिर्जनायात्रा निरन्तर राख्नुहोस् भन्ने शुभकामना पनि दिन्छु भन्नुभयो ।

समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यहरू र सहभागी सबैलाई सङ्घका उपाध्यक्ष रमेश पोखरेलले धन्यवाद दिनुभयो । दन्तचिकित्सा, शिक्षण, सामाजिक–राजनीतिक रूपान्तरण अभियान, साहित्यिक सिर्जना र राजनैतिक क्षेत्रबाट सक्रियता, सङ्गठन एवम् सामाजिक रूपान्तरण अभियान आदि अनेक क्षेत्रमा क्रियाशील स्रष्टा चेवन बस्नेतलाई आज हामीले सुन्यौँ । कवितामा सामाजिक यथार्थलाई जीवन्तरूपमा चित्रण गरी परिवर्तन तथा रूपान्तरणका पक्षमा कविता सिर्जना गरेर मुलुकको सामाजिक यथार्थको चित्र उजागर गर्दै अनुभूति र भोगाइलाई कवितामा चित्रण गर्ने, विद्रोहका स्वरका साथ आसेपासेवादको बिगबिगी रहेको वर्तमानको यथार्थलाई कविताले सशक्त रूपमा उजागर गरेको, अहिलेको समयमा बेठिकलाई बेठिक भन्नु भनेको जोखिम मोल्नु भए पनि स्रष्टाले चुनौतीको सामना चाहिँ गर्नै पर्छ भन्ने, निरङ्कुशतालाई खुल्ला चुनौती दिने, छोरी जन्मिएपछि पढ्न थालेर समाज रूपान्तरणको अभियान हाँकेका; श्रमको सम्मानका पक्षमा, राष्ट्रवादका पक्षमा र प्रकृतिप्रेमको वकालत गर्ने स्रष्टाले शास्त्रीय छन्दलाई राम्ररी खेलाएर सिर्जना गरेको देखिएको छ ।

हामी स्रष्टाले जहिल्यै जोखिम मोल्नुपरिरहेको र अहिलेको परिस्थिति पनि त्यस्तै रहेको हुँदा चुनौतीको सशक्त सामना गर्ने साहस अभिव्यक्त भएको, बेइमानीको बाटोमा हिँडेको अहम्‌का प्रति आक्रोश व्यक्त गरिएको, मानवता बिकेको वर्तमानका प्रति आक्रोश व्यक्त गरिएको, परिष्कृत दृढ वैचारिकता कवितामा अभिव्यक्त भएकाजस्ता विषय हामीले आजका कवितामा सुन्यौँ र रूपान्तरणको स्पष्ट आग्रह रहेको पनि पायौँ ।

आजको यो शृङ्खला हामी सबैका लागि अविस्मरणीय रहेको छ । अब हामी असारको दोस्रो सातामा ११० औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा कलम चलाइरहेका होमशङ्कर बास्तोलालाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई आमन्त्रण गर्ने छौँ भन्नुभयो र कविनायकलाई सम्झनाको चिनो प्रदान गरिदिन प्रमुख अतिथिलाई अनुरोध गर्दै अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

०००
रमेश पोखरेलको सौजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x