साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि, अफिसर र चरो

युवा कविता उनको तखतामा । ड्ररमा समीक्षाको दृष्टि । सबै राम्रा राम्रा शब्दहरू बाउबाट पाएका । पारख गर्थे । हरेक चरीमाथिको कविताको जाँच गर्थे । राम्रा राम्र सबै शब्दहरू बाउबाट पाएका । उखानहरू ससुरालबाट दाइजो पाएका । कविले पढ्थे । अफिसरले विचार गर्थे ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

एकजना थिए अफिसर । ठुलो भवनमा बस्थे । अग्लो कुर्सीमा विराजमान हुन्थे । नोकर, चाकर, ड्राइभर, भान्से, जसलाई बोलाए पनि तत्कार हाजिर । निकै धाक थियो उनको । गजबको प्रभाव । जसलाई चाह्यो सरुवा गरिदिन्थे । कस्तो दाउ लाउँथे भने विरोधीले त रोटा पनि खान पाउँदैनथे । जसमाथि कृपादृष्टि पर्‍यो उसका सबै आँैलाहरू घिउमा । ज्ञानी ध्यानी सबैले उसको चरण चाट्थे । ड्राइङ रुम नै बुद्धिजीवीहरूको अखाडाजस्तो । जसको नाम लियो उसैले ‘यस सर !’ भन्थे । जसलाई देखेर मुस्कुराइदिन्थे ऊ त लट्ठै पथ्र्यो । दिमाग पनि तेज । व्यवहार पनि मिठो । जसलाई उठिबास लाउनु छ उससित त निकै मधुर । नीतिमा चाणक्य, कर्मले नादिर शाह । घोप्टो पनि मेरो र उत्तानो पनि मेरै अनि कोल्टे मेरा बाको । अफिसरका पनि अफिसर । ठुला अफिसर ।

अफिसरलाई साहित्य र कलासित ठुलो प्रेम । कविता त उनकी पँधर्नी । आलोचनाले दिनै कुचो लगाउँथी । चिन्तनले उनका लुगा धुन्थ्यो । लेख ओछ्याउँथे । किताबमा बस्थे । कथा जुत्तानिरै उभिएकी हुन्थी । अफिसरी पनि गर्थे र साहित्य पनि गर्थे । जहिले जे मन लाग्यो गर्ने । मनका राजा । ठुलाठुला बुद्धिजीवीहरूले उनको भवनतिर ट्वाल्ल परेर हेर्थे, हजुरको कृपा बनिरहोस् । ठुलाठुला किताबका लेखैया, कविता रचैया, टिप्पणीकार, गुणीहरूसित प्रश्न सोधेर अन्तर्वार्ता लेख्ने कलाका समीक्षक, विदेशीलाई देशी र देशीलाई विदेशी बनाउन खप्पिसहरू अफिसरको दरबारमा हाजिरी लाउन धाउँथे । जो आज आएन ऊ भोलि अवश्य आउँथ्यो । जो बिहान आएन ऊ साँझ आउँथ्यो । ‘मालिक दर्शन । हामी बुद्धिजीवीहरू । हामीले खाने पुरा पाम् । हामीलाई चियापानी, हामीलाई जाँडरक्सी, हामीलाई विचार, हामीलाई दृष्टि । हामीलाई धारणा । हामीलाई बाटो देखाइबक्स्योस् मालिक ! हामी के लेखौं ? के गरौँ ?’

अफिसरको दिमाग तेज । उनी दिनै नयाँ कुरा सोच्छन् । ज्ञान ओकल्छन् । ठुलाठुला माक्र्सवादीहरूले उनीसित सल्लाह लिन्छन् , ‘के गरौं हजुर, देशमा क्रान्ति ल्याउन के गरौं ?’ अनि अफिसर भन्छन्, ‘मेरो कुरा सुन ।’

सबैले सुन्छन् । सुनेर गुन्छन् । प्रशंसा गर्दै फर्किन्छन् । हेर त साहेबले कति राम्रो कुरा हुकुम भयो ? समाजमाथि, साहित्यमाथि सबैको मति माझेर सफा पारिदिस्यो । कविजन अफिसरसित प्रसन्न । अफिसर कविजनसित प्रसन्न । यसै गरी शनैः शनैः साहित्यको विकास जारी थियो ।

एक दिन अफिसरले आफ्नो भवनको झ्यालबाट चरो देखे । उनले कविहरूलाई भने । के हो यार, तिमीहरू चराको विषयमा कविता किन लेख्दैनौ ? कविहरूले सुने अनि लज्जित भए । आपसमा कुरा गरे, ‘यो कुरो आजसम्म हाम्रो सोचमा किन परेन ? आखिर चरो त हामी दिनदिनै देख्छौं होला । अनि अहिलेसम्म कविता किन लेखेनौं ? आज विदाको दिन हो । आज भने हामी घरमा बसेर चरामाथि कविता लेख्नेछौं ।’

विदाको दिन । कविहरू आआफ्नो घरमै बसे । अफिसरले सोचे । राम्रो कुरो फुर्‍यो । लौ आज चराको सिकारै गरुम् न त ! उनी बन्दुक लिएर निस्के जङ्गलतिर । अफिसर त अफिसर नै हुन्, उनलाई रोक्न सक्ने कसले ?

कविले लेखे -जङ्गलमा चरी ! सानासाना पखेटा भएकी ! बुर्लुक बुर्लुक ! यो हाँगाबाट त्यो हाँगो ! मेरो नजिकमा किन आउँदिनौ ? टाढा टाढा किन जान्छ्यौ ? चरी ए चरी ! तिमी मेरा आँखा !

उता जङ्गलमा गोली चल्यो ड्याम्म ! छटपटाउँदै खसी चरी ! चरी मरी । अफिसरको निसाना । चरीको के औकात ! साहेबका पाउमा शिथिल भई ।

अर्का कविले लेखे – आकाश मेरो अँगालो ! अँगालामा कति धेरै चरीहरू ! अक्कासैभरि चरीहरू ! घरघरै चिर्बिराइरहेका चरीहरू ! चरीहरू चरीहरू चरीहरू ! उड्छन् ममाथिबाट । बस्छन् मेरो काँधमा । आउँछन् मेरो सपनामा । चरीहरू जसका छन् पखेटा सुनौला । चरीहरू जसको छ बोली मिठो ।

यता तेस्रो कविले चरीलाई सोध्यो – ए फुच्ची, ए मिठी, ए मेरी, ए चरी, पुरै मौसममा तिमी कहाँ थियौ ? कुन अनजान देशमा गएर आएकी हौ तिमी ? प्यारी, के ल्याएकी छौ त सन्देश ? ए पङ्खिनी, ए विहङ्गिनी, सिङ्गै मौसममा हरसिँगार (पारिजात)ले हेरिरह्यो तिम्रो गोरेटो ! यस बगैंचाका डाली डालीलाई छ तिम्रै चासो ! मौन व्रती बनेर किन बसेकी छ्यौ ? कुनै अपराध भयो कि कसो ! ए फुच्ची, ए मिठी, पुरै मौसमभरि तिमी कहाँ थियौ ?

अनि उता एउटी चरी अर्की मरी । मनपर्दी गर्ने अफिसरले खुलेर खेले । ढ्याम ! ढ्याम ! एकपछि अर्की चरी । मार्दै गए बटुल्दै गए । निकै सफल दिन थियो अफिसरको ।

कवि लेख्दै थियो – एउटी चरी मेरो तनमा छे । झुमेर गाउँछु जब । सँगै गाउँछे ऊ पनि । एउटी चरी ।
साँझ पर्‍यो । सूर्यले किरण फालेर निस्तेज भयो । अफिसर आफ्नो जिपमा घर फर्के । कविहरूले खद्दरका भर्खरै धोएका लुगा लगाए अनि कविताको डायरी कोखिलामा च्यापेर अफिसरको भवनतिर लागे । ‘आहा ! आउनुहोस् आउनुहोस् ।’

अफिसर निकै मिलनसार । स्वभावका रसिक हुनाले बेला बेलामा खुसी हुने । बेला बेलामा दाँत ङिच्च देखाउने । कलाका प्रेमी । कलाकारहरूको मान राख्ने । दाइनेतिर पानदान र बायाँतिर पिकदान राख्ने । निकै मनकारी । भने, ‘आउनुस् आउनुस् । आजको पुरै दिन कस्तो रह्यो त ?’
कविगणले भने, ‘चरीमाथि कविता लेख्यौं ।’

‘वाह वाह ! सुनाउनुस् सुनाउनुस् ।’
कविहरूले कविता पढ्न थाले । अफिसरले सुन्न थाले ।
अफिसर सर्वज्ञानी । आधुनिक साहित्य उनको बगलीमा । युवा कविता उनको तखतामा । ड्ररमा समीक्षाको दृष्टि । सबै राम्रा राम्रा शब्दहरू बाउबाट पाएका । पारख गर्थे । हरेक चरीमाथिको कविताको जाँच गर्थे । राम्रा राम्र सबै शब्दहरू बाउबाट पाएका । उखानहरू ससुरालबाट दाइजो पाएका । कविले पढ्थे । अफिसरले विचार गर्थे ।
अफिसरले सबै कवितामाथि टिप्पणी गरे । भने, ‘‘.. (यो लेख अपूर्ण छापिएको रहेछ मूलमा ।)

०००
परसाईं रचनावली भाग- ३ बाट नेपालीमा अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x