हरिशंकर परसाईंकवि, अफिसर र चरो
युवा कविता उनको तखतामा । ड्ररमा समीक्षाको दृष्टि । सबै राम्रा राम्रा शब्दहरू बाउबाट पाएका । पारख गर्थे । हरेक चरीमाथिको कविताको जाँच गर्थे । राम्रा राम्र सबै शब्दहरू बाउबाट पाएका । उखानहरू ससुरालबाट दाइजो पाएका । कविले पढ्थे । अफिसरले विचार गर्थे ।

हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
एकजना थिए अफिसर । ठुलो भवनमा बस्थे । अग्लो कुर्सीमा विराजमान हुन्थे । नोकर, चाकर, ड्राइभर, भान्से, जसलाई बोलाए पनि तत्कार हाजिर । निकै धाक थियो उनको । गजबको प्रभाव । जसलाई चाह्यो सरुवा गरिदिन्थे । कस्तो दाउ लाउँथे भने विरोधीले त रोटा पनि खान पाउँदैनथे । जसमाथि कृपादृष्टि पर्यो उसका सबै आँैलाहरू घिउमा । ज्ञानी ध्यानी सबैले उसको चरण चाट्थे । ड्राइङ रुम नै बुद्धिजीवीहरूको अखाडाजस्तो । जसको नाम लियो उसैले ‘यस सर !’ भन्थे । जसलाई देखेर मुस्कुराइदिन्थे ऊ त लट्ठै पथ्र्यो । दिमाग पनि तेज । व्यवहार पनि मिठो । जसलाई उठिबास लाउनु छ उससित त निकै मधुर । नीतिमा चाणक्य, कर्मले नादिर शाह । घोप्टो पनि मेरो र उत्तानो पनि मेरै अनि कोल्टे मेरा बाको । अफिसरका पनि अफिसर । ठुला अफिसर ।
अफिसरलाई साहित्य र कलासित ठुलो प्रेम । कविता त उनकी पँधर्नी । आलोचनाले दिनै कुचो लगाउँथी । चिन्तनले उनका लुगा धुन्थ्यो । लेख ओछ्याउँथे । किताबमा बस्थे । कथा जुत्तानिरै उभिएकी हुन्थी । अफिसरी पनि गर्थे र साहित्य पनि गर्थे । जहिले जे मन लाग्यो गर्ने । मनका राजा । ठुलाठुला बुद्धिजीवीहरूले उनको भवनतिर ट्वाल्ल परेर हेर्थे, हजुरको कृपा बनिरहोस् । ठुलाठुला किताबका लेखैया, कविता रचैया, टिप्पणीकार, गुणीहरूसित प्रश्न सोधेर अन्तर्वार्ता लेख्ने कलाका समीक्षक, विदेशीलाई देशी र देशीलाई विदेशी बनाउन खप्पिसहरू अफिसरको दरबारमा हाजिरी लाउन धाउँथे । जो आज आएन ऊ भोलि अवश्य आउँथ्यो । जो बिहान आएन ऊ साँझ आउँथ्यो । ‘मालिक दर्शन । हामी बुद्धिजीवीहरू । हामीले खाने पुरा पाम् । हामीलाई चियापानी, हामीलाई जाँडरक्सी, हामीलाई विचार, हामीलाई दृष्टि । हामीलाई धारणा । हामीलाई बाटो देखाइबक्स्योस् मालिक ! हामी के लेखौं ? के गरौँ ?’
अफिसरको दिमाग तेज । उनी दिनै नयाँ कुरा सोच्छन् । ज्ञान ओकल्छन् । ठुलाठुला माक्र्सवादीहरूले उनीसित सल्लाह लिन्छन् , ‘के गरौं हजुर, देशमा क्रान्ति ल्याउन के गरौं ?’ अनि अफिसर भन्छन्, ‘मेरो कुरा सुन ।’
सबैले सुन्छन् । सुनेर गुन्छन् । प्रशंसा गर्दै फर्किन्छन् । हेर त साहेबले कति राम्रो कुरा हुकुम भयो ? समाजमाथि, साहित्यमाथि सबैको मति माझेर सफा पारिदिस्यो । कविजन अफिसरसित प्रसन्न । अफिसर कविजनसित प्रसन्न । यसै गरी शनैः शनैः साहित्यको विकास जारी थियो ।
एक दिन अफिसरले आफ्नो भवनको झ्यालबाट चरो देखे । उनले कविहरूलाई भने । के हो यार, तिमीहरू चराको विषयमा कविता किन लेख्दैनौ ? कविहरूले सुने अनि लज्जित भए । आपसमा कुरा गरे, ‘यो कुरो आजसम्म हाम्रो सोचमा किन परेन ? आखिर चरो त हामी दिनदिनै देख्छौं होला । अनि अहिलेसम्म कविता किन लेखेनौं ? आज विदाको दिन हो । आज भने हामी घरमा बसेर चरामाथि कविता लेख्नेछौं ।’
विदाको दिन । कविहरू आआफ्नो घरमै बसे । अफिसरले सोचे । राम्रो कुरो फुर्यो । लौ आज चराको सिकारै गरुम् न त ! उनी बन्दुक लिएर निस्के जङ्गलतिर । अफिसर त अफिसर नै हुन्, उनलाई रोक्न सक्ने कसले ?
कविले लेखे -जङ्गलमा चरी ! सानासाना पखेटा भएकी ! बुर्लुक बुर्लुक ! यो हाँगाबाट त्यो हाँगो ! मेरो नजिकमा किन आउँदिनौ ? टाढा टाढा किन जान्छ्यौ ? चरी ए चरी ! तिमी मेरा आँखा !
उता जङ्गलमा गोली चल्यो ड्याम्म ! छटपटाउँदै खसी चरी ! चरी मरी । अफिसरको निसाना । चरीको के औकात ! साहेबका पाउमा शिथिल भई ।
अर्का कविले लेखे – आकाश मेरो अँगालो ! अँगालामा कति धेरै चरीहरू ! अक्कासैभरि चरीहरू ! घरघरै चिर्बिराइरहेका चरीहरू ! चरीहरू चरीहरू चरीहरू ! उड्छन् ममाथिबाट । बस्छन् मेरो काँधमा । आउँछन् मेरो सपनामा । चरीहरू जसका छन् पखेटा सुनौला । चरीहरू जसको छ बोली मिठो ।
यता तेस्रो कविले चरीलाई सोध्यो – ए फुच्ची, ए मिठी, ए मेरी, ए चरी, पुरै मौसममा तिमी कहाँ थियौ ? कुन अनजान देशमा गएर आएकी हौ तिमी ? प्यारी, के ल्याएकी छौ त सन्देश ? ए पङ्खिनी, ए विहङ्गिनी, सिङ्गै मौसममा हरसिँगार (पारिजात)ले हेरिरह्यो तिम्रो गोरेटो ! यस बगैंचाका डाली डालीलाई छ तिम्रै चासो ! मौन व्रती बनेर किन बसेकी छ्यौ ? कुनै अपराध भयो कि कसो ! ए फुच्ची, ए मिठी, पुरै मौसमभरि तिमी कहाँ थियौ ?
अनि उता एउटी चरी अर्की मरी । मनपर्दी गर्ने अफिसरले खुलेर खेले । ढ्याम ! ढ्याम ! एकपछि अर्की चरी । मार्दै गए बटुल्दै गए । निकै सफल दिन थियो अफिसरको ।
कवि लेख्दै थियो – एउटी चरी मेरो तनमा छे । झुमेर गाउँछु जब । सँगै गाउँछे ऊ पनि । एउटी चरी ।
साँझ पर्यो । सूर्यले किरण फालेर निस्तेज भयो । अफिसर आफ्नो जिपमा घर फर्के । कविहरूले खद्दरका भर्खरै धोएका लुगा लगाए अनि कविताको डायरी कोखिलामा च्यापेर अफिसरको भवनतिर लागे । ‘आहा ! आउनुहोस् आउनुहोस् ।’
अफिसर निकै मिलनसार । स्वभावका रसिक हुनाले बेला बेलामा खुसी हुने । बेला बेलामा दाँत ङिच्च देखाउने । कलाका प्रेमी । कलाकारहरूको मान राख्ने । दाइनेतिर पानदान र बायाँतिर पिकदान राख्ने । निकै मनकारी । भने, ‘आउनुस् आउनुस् । आजको पुरै दिन कस्तो रह्यो त ?’
कविगणले भने, ‘चरीमाथि कविता लेख्यौं ।’
‘वाह वाह ! सुनाउनुस् सुनाउनुस् ।’
कविहरूले कविता पढ्न थाले । अफिसरले सुन्न थाले ।
अफिसर सर्वज्ञानी । आधुनिक साहित्य उनको बगलीमा । युवा कविता उनको तखतामा । ड्ररमा समीक्षाको दृष्टि । सबै राम्रा राम्रा शब्दहरू बाउबाट पाएका । पारख गर्थे । हरेक चरीमाथिको कविताको जाँच गर्थे । राम्रा राम्र सबै शब्दहरू बाउबाट पाएका । उखानहरू ससुरालबाट दाइजो पाएका । कविले पढ्थे । अफिसरले विचार गर्थे ।
अफिसरले सबै कवितामाथि टिप्पणी गरे । भने, ‘‘.. (यो लेख अपूर्ण छापिएको रहेछ मूलमा ।)
०००
परसाईं रचनावली भाग- ३ बाट नेपालीमा अनुवाद
Subscribe
Login
0 Comments
Oldest
































