कहिलेलाई मान्ने नेपाली हास्यव्यङ्ग्यको स्वर्ण काल ?

अर्यालकालीन अवधिलाई नेपाली हास्यव्यङ्ग्यको स्वर्णकाल हो भन्दा कुनै अत्युक्ति हुँदैन ।

पृष्ठभूमिमा २०१७ साले सन्दर्भ
२००७ साल पछि नेपाली जनताले प्राप्त गरेको स्वतन्त्रता राजा महेन्द्रले खोसेर पञ्चायती शासन लागु गरेदेखि फेरि पनि नेपाल अर्को अँध्यारो सुुरूङतर्फ प्रवेश गर्‍यो । प्रजातान्त्रिक हक अधिकारका पक्षधर राजनीतिक दलहरु प्रतिवन्धित भए । निर्वाचित प्रधानमन्त्री वीपी कोइराला लगायत नेताहरुलाई पदसँगै गिरफ्तार गरि काराबास पुर्‍याइयो । अब दलहरूमा संगठित अधिकांश राजनीतिज्ञ नेता र कार्यकर्ताहरु कि त पक्राउ कि त निर्वासन स्वीकार्नुको विकल्प रहेन । २०१७ साले पश्चगमनको घटनाले नेपाली साहित्यमा पनि नवीन मोड ल्याएको ठहर धेरैले गरेका छन् । पञ्चायती शासनलाई स्वीकार्दै प्रजातान्त्रिक आस्थाबाट कतिपय स्रष्टाहरु च्यूत भए भने कतिपय चाहिँ आफ्नो अभिव्यञ्जना शैलीलाई थप कलात्मक र व्यञ्जनामूलक बनाउँदै तत्कालीन शासन व्यवस्थाको विरुद्धमा डटिरहे । ठिक यही कालखण्डबाट केही स्रष्टाहरू भने आफ्नो लेखनलाई अमूर्त स्वरुप दिँदै लेखन प्रकाशनमा सक्रिय रहेको देखिन्छ ।

जब जब देशले बिब्ल्याँटो गति समात्छ, तब तब हास्यव्यङ्ग्य अभिव्यञ्जना मौलाउने अवसर प्राप्त गर्दछ । स्वभावतः ०१७ सालको परिघटनापछि नेपाली हास्यव्यङ्ग्य अभिव्यञ्जना निकै शक्तिशाली र प्रभावशाली भएर देखा परेको हो भन्न सकिन्छ । आधुनिक नेपाली हास्यव्यङ्ग्यको एउटा जबरजस्ता नयाँ चरण यहीँबाट आरम्भ भएको कतिपय विश्लेषक एवम् अध्येयताहरूले ठहर गरेका छन् ।

यस चरणका शीर्ष हास्यव्यङ्ग्यकार भैरव अर्याल हुन् । सिङ्गै चरणको केन्द्रमा भैरव अर्याल देखिन्छन् । हास्यव्यङ्ग्यका ‘नवग्रह’का सर्वाधिक र सर्वप्रमुख ग्रह अर्याल हुन् भन्दा अत्युक्ति हुने छैन । २०१२-०१३ सालदेखि नै हास्यव्यङ्ग्य लेखनतर्फ अभिमुख भैरव अर्यालको लेखनले सफलता र तीब्रता लिएको समय अवधि पनि मूूलत २०१७ साल पछि नै हो । उनको पहिलो हास्यव्यङ्ग्य रचना ‘सरकारले दुलो खोज्नु पर्ला’ शीर्षकको रचना २०१३ सालमै ‘हालखबर’ दैनिकको स्तम्भ अन्तर्गत छापिएको तथ्य समीक्षक विष्णु प्रभातले सार्वजनिक गरेका छन् । नेपाली हास्यव्यङ्ग्य नवग्रहमध्येका २ भैरव र भूतको भिनाजु अर्थात वासुदेव लुइँटेल बीचको सान्निध्यताले यस अवधिमै हास्यव्यङ्ग्यको व्यवस्थित प्रकाशन योजना बन्न थालेको महसुस हुन्छ ।

कौवा प्रकाशनको जगमा भैरव
भैरवको पहिलो हास्यव्यङ्ग्य कृति ‘काउकुति’ जगदम्बा प्रेसमा कम्पोज भएर धेरै फर्मा छापिइसकेपछि बेनामे प्रकाशकको नाममा पुस्तक छापिने सुइँको भैरव र वासुदेवले पाएपछि त्यही चरणबाट दुवैजना मिलेर कौवा प्रकाशनको विधिवत स्थापना गरेका हुन् । भूतको भिनाजु यसै भन्थे । हास्यव्यङ्ग्यमा अत्यन्त ऊर्जाशील सामथ्र्यका साथ उपस्थित भएका भैरवका अधिकांश कृति कौवा प्रकाशनबाटै प्रकाशित भएका छन् । भैरव र वासुदेवकै अथक प्रयत्नले ‘नवग्रह’को एकीकृत रुप अस्तित्वमा आएको चर्चा पनि धैरैले स्मरण गरिरहेका छन् ।

भैरव र हास्यव्यङ्ग्यका मानक कृति
भैरवको पहिलो हास्यव्यङ्ग्य सङ्ग्रह ‘काउकुति‘ (२०१९) प्रकाशनको ३ वर्षपछि २०२३ सालमा विधिवत स्थापना भएको कौवा प्रकाशनमा प्रमुख सक्रियता भैरव र वासुदेव लुइटेलको रहे पनि केशवराज पिंडाली, रामकुमार पाँडे, कृष्णचन्द्रसिंह प्रधान, दाताराम शर्मा, श्याम गोतामे, श्रीधर खनाल, बालमुकुन्द पाण्डे र टेकवीर मुखियाहरूको विशिष्ट योगदान रहेको छ । यिनीहरू सबको एकमुष्ट रुप ‘नवग्रह’ नाम पनि बासुदेवले नै जुराएका हुन् । (रामेश्वरी लुइँटेल, २०५९, कौवा प्रकाशन (एक अध्ययन), अप्रकाशित शोधपत्र, त्रि.वि.वि. कीर्तिपुर)

कौवा प्रकाशनबाट यसको स्थापित लोगो सहित २० वटा हास्यव्यङ्ग्य कृति प्रकाशित भएका छन् । ती मध्ये भैरव अर्यालका निबन्धकृतिहरु मध्ये ‘काउकुति’ (२०१९), ‘गलबन्दी’ (२०२६), ‘इतिश्री’ (२०२८) र ‘दश औतार’ (२०३३) हुन् । अन्य हास्यव्यङ्ग्यकारहरूमा रामकुमार पाँडेका ‘ख्यालऋयाल’ (२०२३)ः सञ्चै छ ?’ (२०२५), ‘१२ मज्जा’ (२०३०) र बाबुको बिहे (२०३०) जस्ता कृति यसै प्रकाशनबाट प्रकाशित भएका देखिन्छन् । त्यसै गरी बासुदेव लुइटेलका ‘चिठी चपेटा’ (२०२२), पूणर्प्रसाद ढुङ्गेलको ‘कौवा’ (२०२२), बालमुकुन्ददेव पाण्डेको ‘दमाहा’ (२०२४), भीमनिधि तिवारीको ‘तितौरा मस्यौरा’ (२०२६), श्याम गोतामेको ’मपाइँ’ (२०२६), दाताराम शर्माको ‘सिस्नु ९७’ (२०२०३७), फाइँफुट्टीराजको ‘उल्लीबिल्ली’ (२०३८), राजेश्वर देवकोटाको ‘युगलकाव्य’ (२०३९) जस्ता कृतिहरू पनि प्रथमोप्रथम कौवा प्रकाशनले प्रकाशित गरेको हो ।

धेरै हास्यव्यङ्ग्य स्रष्टाका धेरै हास्यव्यङ्ग्य रचना एउटै ग्रन्थमा समावेश गरेर सामयिक हास्यव्यङ्ग्य संङ्ग्रह प्रकाशनको थालनी पनि यस प्रकाशनले गरेको हो । इतिहासका हस्ती राजिवलोचन र भानुभक्तदेखि २०२५ सालतिर व्यङ्ग्य कविता लेख्ने प्रेम शेर्पा विरोकीसम्मका ५४ वटा हास्यव्यङ्ग्य कविताहरूको सङ्ग्रह ‘छ्याकन’ (२०२५) होस् तथा ’सेलको माला’ (२०३१), ‘भालु पुराण’ (२०३१) र ‘डाढो’ (२०३१) जस्ता उत्कृष्ट सामुहिक हास्यव्यङ्ग्य सङ्ग्रहहरू प्रकाशन गरेर नेपाली हास्वयव्यङ्ग्यलाई उचाइ प्रदान गर्ने काम कौवा प्रकाशनबाट भएको देखिन्छ । यस कालखण्ड अर्थात २०१७ देखि २०३०-२०३३ सम्मको अवधिमा कौवा प्रकाशनबाट प्रकाशित भएका भैरव एवम् अन्यान्य हास्यव्यङ्ग्यकारका कृतिहरू नै नेपाली हास्यव्यङ्ग्यका मानक कृतिका रूपमा स्थापित र चर्चित हुँदै आएको सर्वविििदत छ ।

उपर्युक्त कृतिहरूमा समाविष्ट सिर्जनाहरूको संकलन, छनोट, सम्पादन र प्रकाशनमा भैरव अर्याल, बासुदेव लुइटेल, कृष्णचन्द्रसिंह प्रधान, रामकुमार पाँडे, टेकवीर मुखियाहरूको विशिष्ट भूमिका रहेको कुरा स्वयम बासुदेवले धेरै ठाउँमा धेरैपटक भन्ने गरेका थिए ।

भैरवलाई पछ्याउँदै अर्को पुस्ता
यसै चरणमा संख्यात्मक र गुणात्मक हिसावले पनि सबैभन्दा धेरै हास्यव्यङ्ग्य कृति लेखिएका र प्रकाशित भएका छन् । अघिल्लो पुस्ताका स्रष्टाहरूको क्रियाशीलता यो बेला पनि कायम थियो भने यसै चरणमा नया“ तर अत्यन्तै बलिया स्रष्टाहरूले यस क्षेत्रमा पदार्पण गरेका देखिन्छन् । यस चरणको प्रारम्भ नै केशवराज पिँडालीको ‘खैखै’ (२०१७) जस्तो सशक्त कृतिबाट भएको छ । ‘खैखै’ आफैँमा एउटा मानक स्तम्भ पनि हो । यसै चरणको सुरुतिर भैरव अर्याल अत्यन्तै बलियो प्रतिभा लिएर देखापरेका छन् भने भैरवलाई पछ्याउँदै धनुषचन्द्र गौतमको ‘स्फुट निबन्धहरू’, श्रीधर खनालको ‘नमरी संसार देखिन्न’ (२०२०), रामकुमार पा“डेको ‘खप्पर’ (२०२६), ‘मोज गर्नोस्’ (२०२७) विष्णु नवीनको ‘श्रीमतीसित एक दिन’ (२०२२), भीमप्रसाद लामिछानेको ‘घु“एत्रो’ (२०२४) ओमकुमार झाको ‘जय फेशन, जय मदिरा’ (२०२६), मोहनराज शर्माको ‘च्या“खे धर्ना’ (२०२४), श्याम गोतामेको ‘जदौ’ (२०२६), गोपालराज पन्तको ‘सेतो शालिग्राम’ (२०२६), ‘कर्के आ“खा’ (२०२८), कुलमणि देवकोटाको ‘गाईजात्रा’ (२०२९) र ‘मुडुली बज्यै’ (२०३०) जस्ता कृतिहरू यस चरणका थप उपलब्धिका रूपमा रहेका छन् ।

कविताबाटै प्रारम्भ भएको नेपाली हास्यव्यङ्ग्यले यस चरणमा आएर पनि आफूलाई कवितामा ओराल्न किन गाह्रो मान्थ्यो ? !भीमनिधि तिवारी यसतर्फ क्रियाशील देखिए । तिवारीको ‘विष्फोट’ (२०२०), ‘कविता कुञ्ज’ (२०२०), ‘तितौरा मस्यौरा’ (२०२४), पूणर्प्रसाद ढुङ्गेलको ‘कौवा’ (२०२२) हास्यव्यङ्ग्य कविताका राम्रा उदाहरण हुन् । यसतर्फ वास्ुदेव लुइ“टेल ताते । उनको ‘भीमसेनपाती’ (२०२४), आदि कृतिहरू कवितामै हास्य र व्यङ्ग्य बजाइएका कृतिहरू हुन् । यतातिर बेलाबखत हेरी मौका ताकी फाटफुट व्यङ्ग्योपहासका मट्याङ्ग्रा छाड्नेहरू हुन्- भूपि शेरचन, कृष्णचन्द्रसिंह प्रधान, भवानी भिक्षु, नीरविक्रम प्यासी, मदनमोहन मिश्र, लक्ष्मण लोहनी, धर्मरत्न यमी, ध्रुवकृष्ण दीप, कुलमणि देवकोटा, प्रेमराज शर्मा, लीलाध्वज थापा, विदुर के.सी., यादव खरेल, वालमुकुन्ददेव पाण्डे आदि । (प्रधान, कृष्णचन्द्रसिंह ःछ्याकन, कौवा प्रकाशन, ते.सं. २०४४, भूमिका, पृ. २८ ।)

विधागत व्याप्तिका हिसावले पनि यो चरण धेरै समृद्ध रहेको पाइन्छ । हास्यव्यङ्ग्यको पहिलो उपन्यास मानिने भोगेन्द्र बस्नेतको ‘मूर्ख जासूस’ (२०२८) यसैबेला प्रकाशित भएको हो । यस अतिरिक्त हास्यव्यङ्ग्यले नाटक, प्रहशन, चिठीपत्र लगायतका अन्य विधाहरूलाई समेत आत्मसात गर्‍यो यसै चरणमा । विषयगत व्यापकताले पनि असाध्य ठूलो आयतन ओगटेको पाइन्छ । ‘सबै हास्यव्यङ्ग्य स्रष्टाले व्यक्तिका कमजोरीलाई प्रहार गर्दै समाजका नमिल्दा कुराहरूलाई विषयवस्तु बनाए । राजनीतिक ताली र गालीको आली भत्काए, आर्थिक चुटाइ र ठोकाइको हुर्मत लिए, रुढी र बूढीको आन्द्रा थुते, नेताहरूको जात्रा गरे, आधुनिकताको भुइँ खने । अनि पार्टी, पैसा, पोशाक, प्रेमको हानथाप, दुर्गति र असामञ्जस्यको चित्र खिचे । यसो गर्दा कोही झटारो भए, कोही सुइरो, कोही खुम्चिए, कोही आफ्नो बिलौना पोखी सा“ग्रिए, कोही इखालु र विखालु भई खनिए, कोही प्रतिशोधले जुरमुरिए, कोही विषालु का“डा भई पसारिए, अनि कोही फोटो ग्राफर मात्र बने, कोही चाहि“ मीठो गाली र चास्नीमा घोलेको विरोध जनाइ हलुका रसिलो तर बिज्ने र स्वादिलो छन्द मिलेको लघु-गुरुको भाषामा तारो हानी हास्यव्यङ्ग्यको इज्जत बढाउन पुगे । तर हो सबै असमानता, विरोधता, विपरीतता, स्वाभाविकता र विस्मय । (प्रधान, कृष्णचन्द्रसिंह, पूर्ववत्, पृ. २९)

गाईजात्रामय हास्यव्यङ्ग्य
हास्यव्यङ्ग्यात्मक कार्यक्रम तथा गोष्ठीहरूको आयोजना गरी हास्यव्यङ्ग्य रचना सिर्जनातर्फ आकर्षित र प्रेरित गर्ने कार्यको थालनीसमेत यसै अवधिबाट भयो । प्रञा भवनमा हास्यव्यव्यङ्ग्य महोत्सवको आयोजनामा नवग्रहका ग्रहहरूको प्रत्यक्ष अप्रत्यक्ष हौसला, सहयोग र सद्भावले उल्लेख्य भूमिका खेलेको तथ्यलाई कसैले बिर्सन सक्दैन । हास्यव्यङ्ग्य कृतिहरू खोजिखोजी र लेखाई-लेखाई प्रकाशन गर्ने कौवा प्रकाशनको स्थापना यसै समयमा भयो । कौवा प्रकाशनको चाँजोपाँजोमा भैरव अर्याल र वासुदेव लुइ“टेलको श्रम र शिप लागेको थियो । यसै अवधिमा साहित्यिक पत्रपत्रिकाले हास्यव्यङ्ग्य अङ्क र विशेषाङ्क निकाल्ने क्रम शुरु हुन्छ । ‘रचना’ को हास्यव्यङ्ग्य अङ्क (२०२०) यसतर्फको पहिलो पाइलो हो ।

यसै समयमा आएर गाईजात्रालाई हास्यव्यङ्ग्यको सांस्कृतिक प्रतीक मानेर गाईजात्राको अवसरमा पत्रपत्रिकाहरूले गाईजात्रा विशेषाङ्क निकाल्ने परम्परा शुरु हुन्छ । ‘रचना’ (मासिक)ले २०२० सालमा प्रारम्भ गरेको गाईजात्रा विशेषाङ्कको परम्परालाई पच्छ्याउँदै मासिक, द्वैमासिक, पाक्षिक र साप्ताहिक पत्रपत्रिका हरूको गाईजात्रे अङ्क ताँती लाग्न थाल्यो । यसरी समसामयिक विसङ्गतिलाई निशाना बनाएर २०२९ सालमा मात्र गाईजात्रा विशेषाङ्क प्रकाशित गर्ने पत्रपत्रिकाहरूमा ‘रहस्य’ (सं.मुरारिप्रसाद गौतम), ‘तमासा’ (सं. टपरटुइयाँ काजी), ‘अर्पण’ (सं.मञ्जुरत्न शाक्य), ‘नकच्चरो’ (सं.ज्वाइँनारायण जेठो कान्छो), ‘गुरुमापा’ (सं.विन्दु बैंसपुजारी), ‘रत्नदीप’ (सं. गंगाबहादुर मानन्धर ‘दीप’), ‘नौलो नेपाली’ (सं.खेम कोइराला), ‘नया“ सन्देश’ (सं.पुष्प थपलिया), ‘प्रिया’ (सं.हिमालय भक्त), ‘खासखुस’ (सं.लक्कडबहादुर सिं), ‘नयाँ समाज’ (सं.पशुपतिदेव पाण्डे), ‘गाईजात्रा’
(सं.औतारी काका), ‘कलियुग’ (सं.रामकुमार पा“डे), ‘हलचल’ (सं.कृष्णप्रसाद बाँस्कोटा), ‘साँढे’ (सं. स्वराजमान बनिया), ‘गोरेटो’ (सं. रामकृष्ण कर्माचार्य), ‘तन्नेरी’ (सं.मोक्ष ब. अमात्य), ‘रमिता’ (सं. विश्वमित्र), ‘फेशन’ (सं.वि.एम. शाक्य), ‘समीक्षा’ (सं.मदनमणि दीक्षित) आदि रहेका छन् । २०३०, ०३१ सालमा पनि माथि नामोल्लेखित पत्रिकाहरूले निरन्तरता दिएको देखिन्छ भने थप अरु पत्रिकाहरूले यसै साल गाईजात्रा विशेषाङ्क निकालेका थिए ।

ती थप पत्रिकाहरू हुन्- ‘ज्वाला’ (संं.कृष्णप्रसाद सिवाकोटी), ‘गोरुजात्रा’ (सं.कनकदीप व.आ.), ‘हिमाली हुलाक’ (सं. रामहरि भण्डारी), ‘प्रतिध्वनि’ (सं. गोकर्णदेव पाण्डे), ‘जन्मभूमि’, (?) ‘उपहार’ (सं.रामशरण बस्नेत), ‘जनजागृति’ (सं.नीरमान नेवा), ‘साहित्य श्रृङ्गार’ (सं.हिमालभक्त प्रधानाङ), ‘नवरञ्जन’ (सं.राजाराम अमात्य), ‘नयाँ आवाज’ (सं. वी.आर.एस.), ‘हलचल’ (सं.नरेश श्रेष्ठ), स्पार्क (कार्टुन विशेषाङ्क), ‘हिमदूत’ (सं.चित्राङ्गत सिग्देल), ‘विहान’ (सं.कमलप्रसाद घिमिरे), ‘तर्क’ (सं.कृष्णप्रसाद बाँस्कोटा), ‘संरक्षक’ (सं श्रीधर खनाल), ‘जागृति’ (सं.शक्तिराम भण्डारी) आदि । यसै अवधिमा निस्किएका ‘हालखवर’ र ‘अर्पण’ का हास्यव्यङ्ग्य विशेषाङ्क र हास्यव्यङ्य प्रधान ‘खित्का’, ‘कलियुग’ र ‘शिवलिङ्ग’ पत्रिकाहरू पनि स्मरणीय छन् ।

स्वदेशको सीमा बाहिरबाट खास गरेर दार्जिलिङको परिवेशलाई आधार बनाएर विभिन्न समयका विसङ्गतिलाई प्रदर्शन गर्ने क्रममा तयार भएका रचनाहरू अच्छा राई रसिकको ‘रसिक रचनावली’, गुरुराज अधिकारीको ‘घरज्वाईं’, प्रेम थापाको ‘प्रेमस्मारक’, ऋषि एम. सुब्बाको ‘सप्तऋषि’ (सन् १९५५) जस्ता कृतिहरू देखिन आएका छन् । (सुवेदी, राजेन्द्र/शर्मा, हीरामणि : पूर्ववत्, पृ. व ।)

यसै अवधिमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा वर्षेनी हास्यव्यङ्ग्य महोत्सवको आयोजना होस् वा गाईजात्राको अवसरमा पत्रपत्रिकाका गाईजात्रे विशेषाङ्क प्रकाशनलाई हौस्याउन नवग्रहको प्रत्यक्ष अप्रत्यक्ष उत्प्रेरणा अविस्मरणीय रहेको छ ।

नेपाली हास्यव्यङ्ग्यको स्वर्णकाल
यो अवधिका केन्द्रीय व्यक्तित्व भरैव अर्याल नै हुन् । हास्यव्यङ्ग्यका साश्वत शिल्पी अर्यालको शीप र सशक्त क्षमताले नेपाली हास्यव्यङ्ग्यलाई माथिल्लो सिंढी चढाउन राम्रैस“ग का“ध थापेको छ । उनको लेखन प्रारम्भ अलिक अगाडि भए पनि यही अवधि अर्थात २० को दशकमै उनका हाँसोको उखरमाउलो उमार्ने र व्यङ्ग्यले बङ्गारा झार्ने रचनाहरू प्रकाशित भएका छन् । समकालीन र आफू अघिको पुस्तालाईसमेत धेरै पर छोडेर लगभग उनी एक्लै सगरमाथा चढे । हास्यव्यङ्ग्यको एउटा सगरमाथा उनी आफैं बने । विसङ्गत स्थितिमाथि पौंठेजोरी खेल्दाखेल्दै, ३०३३ सालमा विसङ्गत मृत्युवरण गरे । भैरवको देहान्तपछि पनि ‘टेढो ऐना’ (२०५७), ‘कारिन्दाको.दिनचर्या’ (२०…) लगायतका कृति भैरव पुरस्कार गुठीबाट प्रकाशनमा आएका छन् । रत्न पुस्तक भण्डारबाट ‘जयभुँडी’को संस्करण निरन्तर प्रकाशित भइरहेकै छ ।

सङ्ख्याको हिसावले आठवटा हास्यव्यङ्ग्य कृति केही होइनन् तर गुणको हिसावले तिनै आठवटा कृति हास्यव्यङ्ग्यको नेपाली ढुकुटीलाई निम्ठो पार्न पर्याप्त छन् । उनले कायम गरेको हास्यव्यङ्ग्यको उचाइलाई उछिन्ने गरी अर्को शीर्ष व्यक्तित्व अझै देखिएको छैन । यद्यपि केशवराज पिंडाली, श्याम गोतामे, रामकुमार पाँडे, वासुदेव शर्माहरूको लगानी यस क्षेत्रमा कम रहेको भने छैन । अहिलेका प्रखर एवम् चर्चित कतिपय हास्यव्यङ्ग्यकारहरूले लेखन प्रारम्भ गरेको समयअवधि पनि यही हो । यिनै सब कारण र वस्तुस्थितिले पनि यो कालखण्डलाई हास्यव्यङ्ग्यको उत्कर्ष प्रदान गरेको छ । भैरव अर्यालकालीन अवधिलाई नेपाली हास्यव्यङ्ग्यको स्वर्णकाल हो भन्दा कुनै अत्युक्ति हुँदैन ।

सन्दर्भ सामग्री
१. प्रधान, कृष्णचन्द्र सिंह (२०४४), छ्याकन कौवा प्रकाशन, (ते.सं.) कौवा प्रकाशन, काठमाडौं ।
२. ”   ” (२०५४), मधुपर्क हास्यव्यङ्ग्य अङ्क भदौ, गोरखापत्र संस्थान, काठमाडौं ।
३. प्रभात, विष्णु (२०५४) मधुपर्क हास्यव्यङ्ग्य अङ्क, गोरखापत्र संस्थान, काठमाडौं ।
४. लुइटेल, नरनाथ (२०५८), नेपाली हास्यव्यङ्ग्य, सिस्नुपानी नेपाल, काठमाडौं ।
५. ”   ” (२०६०), प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य, विवेक सिर्जनशील प्रकाशन, काठमाडौं ।
६. लुइँटेल, रामेश्वरी (२०५९), कौवा प्रकाशन (एक अध्ययन), अप्रकाशित शोधपत्र, त्रि.वि.वि. कीर्तिपुर
७. सुवेदी, राजेन्द्र/हीरामणि शर्मा (२०५१), नेपाली हास्यव्यङ्ग्य निबन्ध, (दो.सं.) साझा प्रकाशन
पुल्चोक ललितपुर ।