साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवकोटाको “तिप्लिङ्गी” जातीय जागरणको शङ्खघोष

देवकोटा स्वच्छन्दतावादी कवि हुन् । प्रकृतिका पूजारी कवि देवकोटाले यस खण्डकाव्यमा प्रकृतिको सुन्दरतालाई प्रस्तुत गरेर यसलाई प्रकृतिमय नै बनाएका छन् । यस खण्डकाव्यको आख्यान र प्राकृतिक परिवेशमाझ तादात्मय प्रतिष्ठा गरेर खण्डकाव्य तिप्लिङ्गीलाई प्राकृतिक जलपले सिँगारेका छन् ।

Nepal Telecom ad

कृष्ण प्रधान :

१. प्राक्कथन :
महाकवि लक्ष्मीप्रसाद देवकोटाका खण्डकाव्यहरूको सूची हेर्दा उनका मोठ खण्डकाव्यहरूको सङ्ख्या ६ वटा देखिन्छ । सन् १९४७ (वि.सं. २००४) मा लेखिएको अनि सोही वर्ष प्रकाशित खण्डकाव्य रामायण (शोकगाथा) अद्यावधि अनुपलब्ध नै रहेको छ । थाहा लागे अनुसार, देवकोटाले जन्मभूमि खण्डकाव्य पनि लेखेका छन् र उक्त खण्डकाव्यको मूल पाण्डुलिपि महाकवि देवकोटाका साहिँला छोरा पद्मप्रसाद देवकोटासित रहेको तथ्य पाइन्छ । यति मात्रै होइन, खण्डकाव्य सुन्दरी प्रोजपिना अप्रकाशित नै छ बने दुइ-दुइवटा खण्डकाव्य स्वाँचा र तथागत अपूर्ण नै रहेका छन् ।

सन् १९४४ (वि.सं. २००१) मा देवकोटाले एकै वर्षमा दुइवटा खण्डकाव्य लेखेको पाइन्छ, एउटा लुनी र अर्को तिप्लिङ्गी । सन् १९६६ (वि.सं. २०२३) मा प्रकाशित भएको ३४ वर्षपछि अर्थात् सन् २०२० (वि. सं. २०५७) मा प्रकाशित भएको पाइन्छ । तिप्लिङी तर प्रकाशित हुनमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य प्राज्ञ श्यामदास वैष्णवको ठूलो भूमिका रहेको छ । यसबारेमा प्राज्ञ वैष्णवज्यूले तिप्लिङ्गी खण्डकाव्यको प्रारम्भिकीमा दिएका स्पष्टिकरण यहाँ राख्नु आवश्यक देखिएकाले यहाँ जस्ताको तस्तै राखिएको छ –

“तिप्लिङ्गी” महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूरचित यो कृति, २००१ सालतिर रचिएको देखिन आउँछ । जुन बखत उहाँ भाषानुवाद परिषद (ने.भा.प्र.स) अन्तर्गत रही लक्ष्मी निबन्ध लेख्न लाग्नुभएको थियो । म त्यहाँ नियुक्त भै देवकोटाज्यूको साथ पुग्दा, शिवप्रसाद नामक व्यक्तिले यस रचनालाई सार्दै नबुझेको शब्द देवकाटोजीसित सोध्दै लेख्ने गरिरहनु भएको थियो । यसपछि शाकुन्तल महाकाव्य रचियो देवकोटाज्यूबाट । मैले त्यो सार्न थालें । त्यस बखत वास्तै रहेन यसको । अरु कृतिहरू प्रकाशित भए । यो चाहिँ मकहाँ रहिरहेको रहेछ । अहिले खोजखबरको सन्दर्भमा ५६ वर्षपछि, यसलाई प्रकाशित गर्ने उत्सुकता जागेकोले प्रमाणीकरण गर्नु मेरो दायित्व हुन आएको छ । यसलाई सच्याउने र शीर्षक ‘पादपिच्छे’ लेख्ने काम उहाँकै (देवकोटाज्यूकै) हस्ताक्षरबाट भएको छ ।

हाल, तिप्लिङी नामको यो कृति प्रकाशित हुन पाएकोमा म खुशी छु । मसँग रहेको यो तिप्लिङ्गी महाकवि देवकोटाद्वारा रचिएको कुरा प्रमाणित गर्दछु । यो कृति प्रकाशनका लागि सक्रिय सहयोग पुऱ्याउऩे डा. दुर्गाप्रसाद अर्याल र डा. कृष्णकुमार श्रेष्ठप्रति कृतज्ञता व्यक्त गर्दछु । र यसका अधिकार कविको -परिवारमा निहित होस् भन्ने चाहन्छु ।
श्यामदास वैष्णव
मंसीर २५, २०५७
आजीवन सदस्य
ने.रा.प्र.प. ।

श्यामदास वैष्णवज्यूको उपरोक्त भनाइ अनुसार सन् १९४४ (वि.सं. २००१) तिर नेपाली भाषानुवाद परिषदमा जागिर गर्दाको समयमा लक्ष्मी निबन्ध सँगसँगै देवकोटाले प्रस्तुत खण्डकाव्य रचना गरेका हुन् । भाषानुवाद परिषदमा काम गर्ने शिवप्रसाद नामक व्यक्तिले तिप्लिङ्गीको पाण्डुलिपि तयार पारेका तथ्य पाउनुका साथै खण्डकाव्यको पाण्डुलिपि चाहिँ वैष्णवज्यूसित सुरक्षित रहेको बुझिन्छ । प्रश्न के छ भने, प्राज्ञ श्यामदास वैष्णवजस्ता उदार एवम् सत्यनिष्ठ व्यक्ति नरहेका भए आज प्रस्तुत खण्डकाव्य तिप्लिङ्गीको प्रकाशित अनुहार नै हेर्न पाउऩे थिएऩौं हामीले । तर उहाँले देवकोटाको यो उत्कृष्ट कृतिलाई प्रकाशककहाँ सुम्पिई तमाम् नेपाली पाठकसमक्ष सार्वजनिक गरेर बिर्सिनै नसकिने गुण लाइदिएका छन् । उहाँको यस्तो उदारताको निम्ति उहाँलाई सम्पूणर् नेपालीको जातिको पक्षबाट हार्दिक साधुवाद । तिप्लिङ्गी लेखिएको ५६ वर्षपछि यसलाई प्रकाशित गर्ने उदय बुक्स प्रा. लि. काठमाडौं, नेपालका सम्पूणर् सदस्यवर्गप्रति हामी धन्य छौँ । उदय बुक्स प्रा. लि, काठमाडौंलाई धन्यवाद छ ।

डिमाई १/८ आकारमा मात्रै ४१ पृष्ठ (मुद्रित रुप) भित्र लेखिएको तिप्लिङ्गी खण्डकाव्यका मोठ तेह्रवटा पाद (खण्ड) छन् अनि प्रत्येक पादमा शीर्षकहरू यथाक्रमले स्मृति, विराट पर्व, आत्मा परिचय, विषमय आधुनिकता, राष्ट्रियता, जाति प्रेम, सभ्यताको निर्मोहनी, चन्द्रगिरिमा, भगवान् ईश्वरको आह्वान, प्रेम प्रथम तत्त्व, उपसंहार रहेका छन् । समाविष्ट १३ वटा पादहरूमध्ये प्रथम पादमा ११, द्वितीय पादमा ११, तृतीय पादमा ३०, चतुर्थ पादमा १८, पञ्चम पादमा ०८, षष्ठ पादमा ११, सप्तम पादमा ०७, अष्टम पादमा ११, नवम् पादमा १८, दशम पादमा १३, एकादश पादमा २४, द्वादश पादमा १० अनि त्रयोदश पादमा ०२ गरी मोठ १६७ वटा श्लोकहरू छन् । १३ वटै पादका श्लोकहरू कतै-कतै ०४, ०५, ०६, ०७, ०८, ०९, १० १२, १४, १४ र १६ पङ्क्तिसम्म विस्तारित भएका छन् । प्रस्तुत खण्डकाव्यका लमाइको आयाम खण्डकाव्यका मानक लमाइका अपेक्षा अनुरुप नै देखिएका छ । भाव गहनताको दृष्टिकोणले हेर्दा प्रस्तुत खण्डकाव्यमा भावको समानता पाइऩ्छ । यस खण्डकाव्यका नायक मेहेन्सिङलाई आधार बनाएर खण्डकाव्यकार देवकोटाले आत्मिक प्रेम नै मानव जीवनको मुख्य एवम् प्रमुख सार हो भन्ने कथ्य प्रस्तुत गरेका छन् ।

२. प्रेरणा, प्रभाव, विषयवस्तुगत प्रेरणास्रोत एवम् शीर्षक विधान :

सन् १९३७ (वि. सं. १९९४) ताका महाकवि देवकोटा कलकत्ता यात्रामा आएको पाइन्छ भने सन् १९३८ (वि. सं. १९६५) ताका गोसाइँथान यात्रामा गएका पाइन्छ । गोसाइँथान यात्राकालमै उनले लुनी, म्हेन्दु, तिप्लिङ्गी (रचनाकाल सन् १९४७ / वि.सं. २००४) जस्ता छरिता एवम् उत्कृष्ट खण्डकाव्यहरू सिर्जना गरेका हुन् । तिप्लिङ्गीमा उनी कलकत्ता आएका थिए भन्ने तथ्य निम्न पङ्क्तिले सङ्केत गर्छ –

‘कलकत्ता’ मा आएर
‘अंग्रेजी’ शिक्षा पाएर
‘बीए’ बन्दछु यसपाली
‘संस्कृत-आनर्स’ त्यसमा ली ।

अर्कोतिर, महाकवि देवकोटाको गोसाइँथान यात्राकालमा तिप्लिङ्गॉजस्तो बान्किला खण्डकाव्य सिर्जना गरेका हुन् भन्ने निम्न पङ्क्तिले प्रमाणइत गर्छ –

धेरै गाना गुमेछन्
हावा हावैमा धुरिई
गोसाइँथानका यात्रामा
हेर्दा हामीले घोरिई । १३/१

नेपालको उत्तराखण्डमा अवस्थित हिमाली गाउँको प्राकृतिक सौन्दर्य तथा त्यहाँका तामाङ-शेर्पा जातिहरूको धर्म, संस्कृति, सभ्यता, रीतिथिति, आचार-व्यवहार तथा सुन्दर, स्वच्छ ग्रामीण जनजीवनको आकर्षण एकातिर, अर्कोतिर कलकत्तामाजस्तो महानगरीको उच्चाटलाग्दो कोलाहलबाट विमुख हुनाका साथै ‘इडेनवन’ (इडेन गार्डेन) को सुन्दरताले प्रेरित, प्रभावित भई खण्डकाव्यकार देवकोटालाई तिप्लिङ्गी खण्डकाव्य सिर्जना गर्न हुटहुटी लागेको कुरो स्पष्ट छ । यसर्थ गोसाइँथान र कलकत्ताको सम्झना सँगालेर लेखिएको यस खण्डकाव्यमा स्वचन्छन्दतावादी प्रवृत्ति रहेको पाइऩ्छ ।

यस खण्डकाव्यको विषयवस्तुगत प्रेरणास्रोत खोतल्नुपर्दा काल्पनिक विषयवस्तुलाई आधार मानेको देखिन्छ । ठुङमार्दो कुरो ता के छ भने, कल्पनाको बाईपङ्खी घोड़ामा चढ़ी अहर्निश कल्पनाकाशमा उडिरहने महाकवि देवकोटाका प्रायः जसो सिर्जनामा उनकै व्यचक्तित्वको छाप प्रतिविम्बित भएको पाइन्छ । सोही अनुरुप यस खण्डकाव्यमा पनि देवकोटाको व्यक्तित्वको प्रतिच्छाया स्पष्टै देखिन्छ । तिप्लिङ्गी-का नायक मेहेन्सिङ सुदूर नेपालबाट कलकत्ता आई अङ्ग्रेजीमा बी. ए. लगायत संस्कृतमा अनर्स पास गर्ने उद्यमी विद्यार्थी हुनाका साथै उसमा देशप्रेम, जातिप्रेम, प्रकृतिप्रेम भक्कुचूर छचल्किएको पाइऩ्छ । साथै जेहेन्सिङभित्र कवितात्मक सिर्जनशील पनि प्रशस्तै रहेको पाइन्छ । झर्झराउँदो युवका मेहेन्सिङभित्र अपठित ग्रामीण बालासित आत्मिक-हार्दिक प्रणयसम्बन्ध गाँस्ने ढीट विशेषता समेत देखिन्छ । पटनाबाट अङ्ग्रेजीमा बी. ए. पास गरी एम. ए. को तयारीको क्रममा कलकत्ता भ्रमण गरेका एक वर्षपछि गोसाइँथान यात्रा गर्ने देवकोटाभित्र जाति सुधार गर्ने, देशप्रेम उजागार गर्ने हुटहुटी नलागेको होइन । देवकोटाले यिनै भावना, विचारलाई जेहेन्सिङमाथि थोपेर खण्डकाव्य तिप्लिङ्गीलाई काल्पनिक साँचामा ढाली त्यसमाथि थप अलङ्करणार्थ स्वच्छ प्रणयसम्बन्धनद्वारा आत्मिक-हार्दिक प्रेम उजागार गरी खण्डकाव्यकारको व्यक्तित्वको बर्को ओढाएर पनि यसका विषयवस्तुलाई कुनै अन्याय, हेला-होँचो नगरी यथार्थव्यञ्जक बनाउनमा कुनै कञ्तुस्याइँ गरेका पाइँदैन । लोकलयप्रति हुरुक्कै र भुतुक्कै हुने देवकोटाले प्रचलित पिपा लोकलयलाई यसको विषयवस्तुमा समाहित गरी यस खण्डकाव्यलाई लोकप्रसिद्धिको पगरी गुँथ्ने भरसक प्रयास गरेका छन् । खण्डकाव्यमा स्वच्छन्दतावादी प्रवृत्ति नभेटिने होइन ।

देवकोटाका अधिकांश खण्डकाव्यको शीर्षकविधानमा नारीपात्रकै प्रमुखता देखिन्छ । यसै सन्दर्भमा भन्नुपर्दा, यस खण्डकाव्यको शीर्षक तिप्लिङ्गी राखेर खण्डकाव्यात्मक कृति नारी पात्रकै नाममा राख्ने देवकोटाको धृष्टता यथावत् देखिन्छ । खण्डकाव्यकी प्रमुख नायिका तिप्लिङ्गीलाई मौन पात्रकै रुपमा राखिए तापनि शुरुदेखि अन्त्यसम्मैका पादहरूमा तिप्लिङ्गीलाई यस खण्डकाव्यको केन्द्रिय पात्र बनाई उसकै विशेषताहरूको बेलिविस्तार गरिएको हुँदा यस खण्डकाव्यको शीर्षक तिप्लिङ्गी सङ्गतिपूणर् नै देखा पर्छ ।

३. कथासार :
यस खण्डकाव्यको संरचनात्मक स्वरूपलाई मोठ तेह्रवटा पादमा अन्त्य गरिएको छ । तामाङ जनजातिमा हुर्किएको ‘शिवपुर वन’ निवासी झर्झराउँदो युवक मेहेन्सिङलाई यस खण्डकाव्यचको प्रमुख नायक पात्रको रुपमा लिइएको छ भने प्रमुख नारी पात्र तिप्लिङ्गीलाई खण्डकाव्यकारले यस खण्डकाव्यको नामाकारण गरेका छन् । नायक मेहेन्सिङ सुशिक्षित छ । तिनका पिता जेहेन्सिङ सिपालु शिकारी थियो । वनका राजा; अजङ्को साहसी मान्छे । नेपाल दरवारमा जेहेन्सिह सिपालु शिकारी थियो । नेपाल दरबारमा जेहेन्सिङको प्रख्यातिले शिखर छोएको थियो । कालो मुस्लोजस्ता जुङ्गा भएको भएको जेहेन्सिङलाई देखेर जणर्ेलका नानीहरू थरथर काम्दै हेर्थे भने सिंहगर्जन बोलीले सबैलाई काबु पार्थ्यो । निडर, ढीट स्वाभावका जेहेन्सिङ आफ्नो जुङ्गा देखाई ‘बाघ आयो’ भनी सबैको सातोपुत्लो उड़ाउने खाल्का मान्छे थियो । कणर्ल रघुवीर र शिकारीका राजा जेहेन्सिङ जङ्गलमा शिकार खेल्न जाँदा कणर्ेल रघुवीरलाई बाघले झम्टिँदा कणर्ेललाई बचाउँनको निम्ति सात हाते डड़ाँक बाघलाई अजङ्कै डड़ाँक जेहेन्सिङले धेरै बेरसम्म मल्लयुद्ध गर्नाका साथै खुकुरीले तछारी कणर्लको ज्यान जोगाएको थियो । दुर्भाग्यवश बाघसित युद्ध गर्दा जेहेन्सिङले आफ्नो ज्यान गुमाउनुपरेको थियो । यसैको गुण तिर्न कणर्ेल रघुवीरले उनका छोरो मेहेन्सिङ (नायक)-लाई उच्च शिक्षा हासिल गर्नाका निम्ति कलकत्तामा पढ़्ने व्यवस्था गर्नाका साथै प्रति महिना ६० रुपियाँ छात्रवृत्ति समेत प्रदान गरिदिएका थिए । मेहेन्सिङ उच्च शिक्षा हासिल हासिल गर्न कलकत्ता लाग्छ ।

यता, शिवपुर बनको घरमा ५५/६० हिउँद छिचोलेकी केश तुषारे आमा हेन्जेलिङ एक्लै छिन् । कलकत्तामा पढ्दाहुँदी नायक मेहेन्सिङलाई कविता लेख्ने जङ चल्छ अनि आफ्नो तामाङ जनजातिमा प्रचलित पिपा छन्दमा कविता कथ्न पनि थाल्छ । अङ्ग्रेजीमा बी. ए. र संस्कृतमा अनर्स पढ़ेको मेहेन्सिङलाई आफ्नो भाषा-संस्कृतिको सुठी नै माया लाग्छ । कलकत्तामा आफ्नो अध्ययनमा व्यस्त हुँदा-हुँदै पनि आफ्नी आमा र गाउँको सम्झना गर्नुका साथै मेहेन्सिङलाई पहाड़की सुन्दरी बाला तिप्लिङ्गीको यादले अहर्निश सताउँछ । यस लगायत मेहेन्सिङलाई आफ्नो ठाउँ-थलो, पहाड़-कन्दरा, खोला-नालाको मनै लोभ्याउने दृश्यले मन छिया-छिया पार्छ । जुद्धशमशेरकालीन मातृभूमि नेपालप्रति हृदयभित्रबाट प्रेम पलाएर आउँछ । प्राकृतिक सुन्दरताकी खानी मातृभूमि नेपालका नेपाली जनजीवनको तुलनामा व्यस्त महानगरी कलकत्ताको परिवेश एकदमै खल्लो र बेरसिलो लाग्छ ।

रंग-रंगेली ‘विज्ञापन’
विषमय खाना, विषका धन् !
ताजा ‘हरियो-पन’-‘शूना’ !
बत्ती-अँधेरो जग-कुना ! । १४/७

रुग्न छ भारत – ‘शावक मन’
‘रूँ रुँ लाग्दछ’ म त छिन छिन ।
घर घर खालि ‘संघर्षण’
शून्य छ गिरि-वन । मृदु स्पर्शन ! ६/१०

एकातिर राष्ट्रियता र जातिप्रेमको भावनाले ओतप्रोत अनि अर्कोतिर तिप्लिङ्गीको प्रेमभावमा आतिएर मेहेन्सिङ आफ्नै मातृभूमि नेपाल फर्कन चाहन्छ

जान्छु म ता है – ‘नेपाल वन’ ।
अझ छ उहाँ त्यो ‘निर्मल पन’
मानव-शिशुको प्राकृत-धन
अर्थ आलोकिक वन-जीवन ! ७/५

कलकत्ताबाट आएर नायक मेहेन्सिङ सोझै चन्द्रगिरि पुग्छ । चन्द्रगिरिबाट ६ कोश टाढ़ास्थित आफ्नो शिवपुर वनमा पुग्छ । घर आइपुग्दा आमाको मृत्युको खबरले उसलाई बिथोल्छ –

माता मेरो स्वर्गमा
वनको भएँ टुहुरो !
अरण्यको यो रोदन !
अँधेरीको विचरो ! ९/२

यत्रो ठूलो बज्राघातको असह्य पीडाले उभित्र वैराग्य भाव पलाउँछ । उसको एकमात्र सहारा भगवान् (बौद्धबोधिसत्व) मात्र हुन्छन् ।

मेरो घरको सामुन्ने
घरको बोट छ फैलेको !
सम्झेँ आज भगवान –
‘बोधी-रुखमा’ बसेको !

संसारको दुःख हर्न
पलेंटीमा बसेको । १०/१

मनभित्रबाट भगवानलाई गुहार्छ । समय परिवर्तन सँगसँगै मेहेन्सिङभित्रका घाउहरू पुरिँदै जान्छन् । तर प्रकृतिका खानीमा जन्मिएको-हुर्किएको मेहेन्सिङलाई फेरि प्राकृतिक सौन्दर्यले मोहित-आकर्षित पार्छ भने एकातिर अर्कोतिर उसको मन तिप्लिङ्गीप्रति आकृष्ट हुन्छ । मेहेन्सिङले तिप्लिङ्गीलाई प्रणय निवेदन गर्छ –

दुःखको प्रश्न हल गर्ने
‘प्रेमको धागो’ हालेर
‘तारा’ फूलका मालामा
गाँसी बसौली चालेर ! ११/१९

स्त्री-पुरुषको प्रणयमिलापद्वारा नै संसारमा सृष्टि सम्भव हुनाको साथै प्रेम नै सृष्टिको मूल तत्त्व हुन् भन्ने कुरा मेहेन्सिङले उदाङ्गो पार्छ । अन्त्यमा दुवै नायक-नायिका प्रेममा एकाकार भई आत्मिक प्रेम नै सत्य शाश्वत प्रेम हो भन्ने सन्देश तिप्लिङ्गीको कथावस्तुमा खण्डकाव्यकार देवकोटाले प्रष्ट्याउने प्रयास गरेका छन् –

शब्दैभित्र चिनिन्छौँ
आँखाभरि सुनेर !
भन मेरी तिप्लिङ्गी,
मनमा तिमी गुनेर !
पीर्ति जस्तो क्यै होला ?
आत्मा-आत्मा जब होला –
‘झं झर-झर-झर’ बनेर । १२/९

सुखान्त खण्डकाव्य तिप्लिङ्गीको कथावस्तुमा नायक मेहेन्सिङको एकालाप मात्र पाइन्छ । नायिका तिप्लिङ्गी संवाद वा उसको विचार कहीँ कतै पनि प्रकट भएको पाइँदैन । तर तिप्लिङ्गी मौनताभित्र ‘मौनम् स्वीकृति लक्षणम्’-को सङ्केत भने अवश्यै पाइन्छ । साबिक कथावस्तुमा आधारित यस खण्डकाव्यमा सम्भावयता र कुतूहलताको प्रभावकारिता झाङ्गिन सकेको छैन । उच्चशिक्षा हासिल गरेको अनि कलकत्ताजस्तो महानगरीको वैज्ञानिक जीवन शैलीमा रुमलिएका नायकले अपठित ग्रामीण बालासित प्रणय निवेदन गर्नु वा प्रेमाकर्षण देखाउनु स्वच्छन्दतावादी दृष्टिले सो निवेदन वा आकर्षण भने अपत्यारिलो देखिन्छ । यद्यपि मनोवैज्ञानिक दृष्टिकोणले नायक मेहेन्सिङको चरित्रलाई जोख्जा उभित्र आत्मिक प्रणयमूलक कामवृत्तिजस्ता विशेषताका क्षणक पाइन्छ । जीवन र जगतको सारभूत तत्व एवम् जीवनखण्डको अभिव्यक्तिसम्म गर्ने सामर्थ्य कथावस्तुमा निहित भएको यस खण्डकाव्य उच्चस्तरीय खण्डकाव्यको श्रेणीमा राख्न सकिन्छ ।

४. सादृश्यता –

खण्डकाव्य तिप्लिङ्गी र खण्डकाव्य मुनामदनमाझको केही सन्दर्भहरूमा सादृश्यभाव रहेको देखिन्छ । मुनामदनमा झैँ तिप्लिङ्गीमा पनि आत्मिक प्रेमभाव प्रकट भएका पाइन्छ । दुवै खण्डकाव्यमाझको सादृश्य निम्नप्रकार देखिएको छ –

मुनामदन –
क. मदनको घरमा ६० हिउँद खाएकी आमा छिन् ।
ख. मदनका पिता बितिसकेका छन् ।
ग. कुनै उद्देश्यप्राप्तिको मदन विदेश (ल्हासा) जान्छ ।
घ. ल्हासाबाट फर्केर कुत्तीमा आइपुग्दा मदनलाई कान्तिपुरको प्राकृतिक मनोरम सौन्दर्य एवम् घर परिवारको सम्झनाले सताउँछ ।
ङ. आत्मिक प्रेम प्रकट ।
च. मदन घर आइपुग्दा आमाले यस संसारबाट विदा लिइसकेकी हुन्छिन् ।

तिप्लिङ्गी

क. मेहेन्सिङको घरमा ५०/६० हिउँदकी तुषारे आमा छिन् ।
ख. मेहेन्सिङका पिता स्वर्गै भइसकेका छन् ।
ग. उच्च शिक्षा हासिल गर्न मेहेन्सिङ विदेश (कलकत्ता) जान्छ ।

घ. आफ्नो अध्ययन समाप्त गरी कलकत्ताबाट फर्केपछि चन्द्रगिरिमा आइपुग्दा मेहेन्सिङलाई मातृभूमि, शिवपुरमा रहेकी वृद्धा आमा र उसकी प्रेमिका, तिप्लिङ्गीको यादले सताउँछ ।
ङ. आत्मिक प्रेम प्रदर्शन ।
च. मेहेन्सिङ घर आइपुग्दा आमाले यस संसारबाट विदा लिइसकेकी हुन्छिन् ।

५. भावविधान र लयविधान –

प्रस्तुत खण्डकाव्यमा अङ्गरसका रुपमा वीर र करुण रस अनि अङ्गी रसका रुपमा ऋङ्गार रसको अभिव्यक्त भएको छ । नायक मेहेन्सिङका पिता जेहेन्सिङले सात हाते लामो डडाँक बाघसित लडाइँ गरी कणर्ेल रघुवीरको ज्यान जोगाएका वणर्न लगायत देशभक्तिपूणर् कथनहरूमा वीररस अभिव्यक्त भएका पाइन्छ –

धेरै बेरतक लडे रे –
‘सात हाते’ त्यो बाघसँग
वनको ‘राजा’ पछारी –
खुकुरीले तछारी ! ३/१०

कलकत्ताबाट स्वदेश फर्केपछि आमा हेन्जिलिङको मृत्युसंवादले मेहेन्सिङमाथि ठूलो वज्राघात पर्छ । मातृवियोगको थपेड़ाले भेटेपछि कुन छोरोको मनमा शोक-सन्ताप र पीड़ा-वेदना नहोला र ! प्रस्तुत खण्डकाव्यमा मातृवियोगी पुत्रको वियोग, पीड़ा-वेदना एवम् शोक-सन्तापलाई मार्मिक र करुण रुपमा खण्डकाव्यकार देवकोटाले वणर्न गरेका छन् र त्यस वणर्नमा करुण रसको पनि अभिव्यक्त भएको छ –

आत्मा तिनको सुन्दो हो
एकान्तको विलौना !
कल्पी रुन्छ दिलचरो !
‘कालको व्याथा’ आएर
‘माऊ’ लग्दा छोडेर
आँसु झारी पातमा
गुँडको जो छ झुलौना ! ९/३

खण्डकाव्यकी नायिका तिप्लिङ्गीको सौन्दर्यलाई उद्दीपन विभावका रुपमा प्रकट गरेक ऋङ्गार रसको अभिव्यक्ति गरिएको छ –

मलाई लाग्यो तिप्लिङ्गी
स्त्रीमा ‘ईश्वर’ ओर्लिन्छन् ।
मोहिनीको मुसकानले
प्रेमका ढुक्कुर कुर्लिन्छन् । ११/१

जहाँसम्म लयविधानको प्रश्न छ, यसमा नेपाली जातीय ‘पिपा छन्द’ (भोटेली शेलोको लय) प्रयोग गरिएको छ । लयगत श्लोक ढाँचामा लेखिएको यस खण्डकाव्यमा कहीँ स्तरीय शब्द रुप लगायत जनजिब्रो अनुसारको शब्द प्रयोग गरिएको छ । यस खण्डकाव्यमा निम्नतम तीन हरफदेखि लिएर अधिकतम् सोह्र हरफे श्लोकसम्म प्रयोग गरिए तापनि अधिकांश श्लोकहरू चार हरफे श्लोक ढाँचामै प्रयोग भएको पाइन्छ ।

६. भाषाशैली –
७. यस खण्डकाव्यका भाषाप्रयोग वणर्योजना स्तरमा निम्न प्रकारका शैलीगत श्रुतिरम्यको व्याप्ति पाइन्छ –
क. आन्तरिक अनुप्रासीय र अन्त्यानुप्रासीय शैली,
ख. छोटा-छोटा शब्दहरूको प्रयोग (२ वा ३ अक्षरको संयोजन).
ग. ‘पिपा लोकछन्द’-मा दुइ-तीन अक्षरे आधारबूत गणसंरचना,
घ. नेपाली तद्भव, तत्सम, आगन्तुक, अनुकरणात्मक, दूरत्व, समासयुक्त शब्दहरूको भरमार प्रयोग,
ङ. खण्डकाव्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा स्वयम् निर्मित नयाँ शब्दहरूको प्रोयग,
च. सरल र मिश्र वाक्य प्रयोग-मध्यशैली र उच्चशैलीको मिश्रण,
छ. भाषिक प्रयोगमा व्याकरणात्मक पदक्रममा विचलन परिलक्षित देखिए पनि शैलीगत माधुर्य र प्रवाहमयलाई सघाउ पुर्‍याउनमा कतै कुनै लापरवाही देखिँदैन,
ज. वाच्यका दृष्टिले कर्त्तृवाच्यको प्रमुखता,
झ. सुकोमल-सुललित पोथी शैली,
ञ. सम्प्रेषयता-असम्प्रेषयताका गुण-दोषहरू परिलक्षित ।

८. प्रकृति चित्रण –
प्रस्तुत खण्डकाव्यमा गोसाइँथान भेकको प्राकृतिक सौन्दर्य, चन्द्रगिरिको मनमय चित्रणको वणर्न पाइन्छ । देवकोटाको गोसाइँथान यात्रा नै तिप्लिङ्गीको उपलब्धि हो । यसैकारण तिप्लिङ्गीलाई प्राकृतिक खण्डकाव्य भन्न सकिन्छ । देवकोटा स्वच्छन्दतावादी कवि हुन् । प्रकृतिका पूजारी कवि देवकोटाले यस खण्डकाव्यमा प्रकृतिको सुन्दरतालाई प्रस्तुत गरेर यसलाई प्रकृतिमय नै बनाएका छन् । यस खण्डकाव्यको आख्यान र प्राकृतिक परिवेशमाझ तादात्मय प्रतिष्ठा गरेर खण्डकाव्य तिप्लिङ्गीलाई प्राकृतिक जलपले सिँगारेका छन् । उपमेय तिप्लिङ्गी र उपमान प्रकृतिको बीचमा खण्डकाव्यकारको रसिलो उदगार –

तिम्रो मुहार हेर्दामा
‘मोहनी’ले समायो !
स्वर्ग-नजीक बसेझैँ
अमृत-भरी मन आयो ! ११/११

०००
सिलिगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
0
Would love your thoughts, please comment.x
()
x