छविलाल आचार्यदेवकोटाको ईमेल
मुना र मदन् विछोड पार्ने सन्जाल भाग्यो कि ? निर्दोषी बन्न आयोग रच्ने, सिमाना नाघ्यो कि ?। दोषीलाई दण्ड हुन्छ कि हुन्न ? म आई निहार्छु । मिलेर साथी भन्नु है सब्ले, नेपाल सिँगार्छु ॥

छविलाल आचार्य :
विलीन भएँ मट्टीमा म त, अन्तै छ आसन । 
हटेको छ कि ? देशमा हाम्रो, भ्रष्टको शासन ॥
बन्धन भित्र आफूलाई राख्ने, कानुन बनाऊ ।
नेपाल मेरो नेपाली भन्ने, भावना जगाऊ ॥ १॥
सानालाई ऐन ठूलालाई चैन, हुन्छ कि हुँदैन ?
जनता रोए नेताको आत्मा, रुन्छ कि रुँदैन ॥
विधानभित्र समाज वाद, अट्यो कि अटेन ।
विभेदकारी पद्धति हाम्रो हट्यो कि हटेन ॥२॥
सपना मेरो ‘सुनको बिहान्’ बन्यो कि बनेन ।
बैरीले बुट छातीमा टेक्छु, भन्यो कि भनेन ?।
ल्हासामा जाने मदनहरू, खाडीमा पुगेछन् ।
यो धनी देश् का गरिबहरू, ऋणमा डुबेछन् ॥३॥
सिर्जना तिम्रो साहस हेर, कालोमा नभुल ।
पौरखी हात खियाउ साथी, आसामा नझुल ॥
थापेर कालो हुँदैन भलो, देशनै बन्धकी ।
झलल पार बाँधेर बाँध, कालेए र गण्डकी ॥४॥
मुना र मदन् विछोड पार्ने सन्जाल भाग्यो कि ?
निर्दोषी बन्न आयोग रच्ने, सिमाना नाघ्यो कि ?।
दोषीलाई दण्ड हुन्छ कि हुन्न ? म आई निहार्छु ।
मिलेर साथी भन्नु है सब्ले, नेपाल सिँगार्छु ॥५॥
कमाई सच्चा गरेर खानु, अमृत त्यै हुन्छ ।
गुलाफ्को फूल हेरेर मात्र,जीवन बुझिन्छ ॥
सत्कर्म भए सुख छ तिम्लाई, शान्तिलाई एक् चित्त ।
ईश्वर खोज्न नजाउ टाढा, भेटिन्छ मन् भित्र ॥६॥
०००
पोखरा -१६ दीप
Subscribe
Login
0 Comments
Oldest











































