साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नदीको राजमार्ग लघुकथासङ्ग्रहको विश्‍लेषण

छयसट्‍ठीमध्ये चालिस लघुकथामा व्यङ्ग्यको प्रयोग गर्ने दीपक वर्तमान नेपाली लघुकथाका व्यङ्ग्यधर्मी र व्यङ्ग्येतर दुवै शैलीमा पोख्त रहेका एक शीर्ष व्यक्तित्व, गौरव र सबल उपस्थिति वा प्राप्‍ति हुन्।

Nepal Telecom ad

प्रा.डा. भरतकुमार भट्‍टराई

पृष्‍ठभूमि
पोखराका साहित्यकार दीपक समीपको २०८० सालमा प्रकाशित ‘नदीको राजमार्ग’ शीर्षकको पहिलो लघुकथासङ्ग्रहले ६६ वटा लघुकथाहरूलाई समेटेको छ। पोखराका सक्रिय साहित्यकार दीपकले ३४ शब्दमै संरचित अति छोटा आकारका र करिब ३०० शब्दसम्मका आमलघुकथाका आकारका लघुकथाहरूको रचना गरेका छन् भन्ने तथ्य यस सङ्ग्रहको अध्ययनबाट थाहा हुन्छ। भूमिकाहरू केही नलेखाई प्रकाशित यस सङ्ग्रहको शीर्षक नै अनौठो राखेर नयाँपन दिन खोजेका छन्। नदीको पनि राजमार्ग ? यस्तै जिज्ञासा बढाइदिन्छ शीर्षकले र पाठकलाई आफूतिर जब्बरसँग तान्दै रहस्यको उद्घाटन गर्न प्रेरित गर्छ। दीपकले विमोचनका अवसरमा काठमाडौँमा दिएको मन्तव्यलाई साक्षी राख्दा उनी लघुकथाको मानक सिद्धान्तलाई नमान्ने र सकेसम्म लेखकीय स्वतन्त्रतालाई अँगालेर लघुकथा लेख्ने लघुकथाकारका रूपमा चिनिन चाहन्छन्। यो विचार अनि “म कवितामै कथा लेख्छु त्यसैले मैले कथा लेखिरहनुपर्दैन” भन्नु आफैँले आफूलाई नै व्यङ्ग्य गर्नुजस्तै हो। हरेक विधा र तिनका उपविधाका आआफ्नै मूल्यमान्यता विकसित छन्। तिनलाई लेखकहरू वा स्रष्टाहरूले पालन गरेरै अगि बढेको सुहाउँछ। कुनै पनि साहित्यिक कृति सामाजिक सम्पत्ति बनेर पाठकमाझ पुगिसकेपछि लेखकले मैले यही मात्रै भनेको हो, यस्तो यस्तो हो मेरो लेखन भनेर निर्देशित गर्ने अवस्था रहँदैन।

कृतिको सुरुमै “तिनै नदीहरूलाई जसले आफूलाई राजमार्ग बनाए” भनेर समर्पण गरिएको छ। यसको अर्थ हुन्छ – नदीहरूको भूमि पोखराले दीपकलाई साहित्यिक राजमार्ग निर्माण गर्ने उत्प्रेरणा निरन्तर दिए। उनको लघुकथाको रचनामा नदीछेउछाउका मानवीय र मानवेतर जीवनले प्रभावित गरे र फराकिलो साहित्ययात्रा गर्ने गतिशील मार्ग प्रदान गरे। सङ्ग्रहभित्र सङ्कलित ‘नदीको राजमार्ग’ लघुकथाको नदीकै जस्तो स्वतन्त्रतालाई आफ्नो यात्राको मूल अभीष्ट बनाउने र स्वार्थका सामाजिक झगडाहरूलाई सीमान्त बनाइदिने लघुकथाकारको दरिलो यात्राको राजमार्गले नै आफूलाई लघुकथाकार बनाउने शक्ति प्रदान गरेको स्विकार्दै उनले त्यस्ता नदीहरूलाई आफ्नो सङ्ग्रहको प्रकाशनमा समर्पित गरेको अर्थ पनि निकाल्छ। लघुकथालेखनमा आफ्नो यात्रालाई कसैले दाबी गरेझैँ वा नियन्त्रण गर्न वा अधीनस्थ गर्न खोजेझैँ प्रयास गरे पनि त्यो सत्य होइन बरु आफ्नै साहित्यिक प्रवाहलाई आफ्नै इच्छानुसार अगि बढाएर सम्पूर्ण लघुकथाहरू लेखिएका हुन्। अर्थात् लघुकथाका सिद्धान्तकारहरूले निर्माण गरेका भाष्य वा मुद्दाभन्दा आफ्नै स्वतन्त्र प्रकृतिले हिँड्ने नदीझैँ आफू लघुकथाकार भएको हुँ भन्ने लघुकथाकारको अभिमतको अभिव्यक्तिलाई शीर्षकले सङ्केत गरेको बुझिन्छ।

मुखिया र जमिनदारजस्ता पुरातन संस्कृतिका प्रभावलाई ध्वस्त पारिदिने नदीको स्वतन्त्र बाटो अँगाल्ने आधुनिक प्रजातान्त्रिक वा लोकतान्त्रिक विचारधाराले नै साहित्यिक राजमार्ग निर्माणमा क्रियाशील हुने आफ्नो दृष्टिलाई मूल आधार मान्ने लेखकले त्यही विचारधारात्मक नदीरूपी स्वतन्त्रताका पक्षधर साहित्यकार मित्रहरूलाई नै कृति समर्पण गरेको प्रस्ट हुन्छ। द्वन्द्व र स्वार्थका लडाइँ छोडेर नदीझैँ गतिशील भई स्वतन्त्र यात्राको राजमार्ग आफैँ तय गर्ने साहित्यकार दीपक समीपको लघुकथायात्राको परिणाम नै ‘नदीको राजमार्ग’ कृति हो। यस कृतिभित्र प्रशस्तै व्यङ्ग्यात्मक लघुकथाहरू पनि छन् र व्यङ्ग्येतर पनि। यिनको विश्‍लेषण यहाँ प्रस्तुत गरिन्छ।

व्यङ्ग्यात्मक र व्यङ्ग्येतर लघुकथाहरूको विश्‍लेषण
जब घटनाक्रमहरू प्रेमप्राप्तिका लागि अग्रसर हुन्छन् तब कुनै पनि जोडीले सारा कुरालाई त्यागेर एकअर्कालाई अँगाल्छन् भन्ने मनोवैज्ञानिक यथार्थलाई ‘क्रमशः’ लघुकथाले देखाएको छ। बन्द समापन रहेको मनमाया र मनबहादुर पात्रको यौनमनोविज्ञानमा केन्द्रित प्राकृतिक ग्राम्य परिवेशमा बुनिएको यो लघुकथा रोचक छ र झट्का दिने शैलीमा टुङ्गिएको छ। विषय प्रेम वा यौन हो र शैली कवितात्मक, रेखात्मक, चल्नु क्रियाको विलक्षण प्रयोगद्वारा विशिष्ट तथा दृष्टिकोण मनोवैज्ञानिक प्रभाव उत्पन्न गर्नु हो।

‘फूल’ मा अपरिचितले आफ्नो ज्यादै माया गरेर हुर्काएको बगैँचाको सुन्दर फूललाई आकस्मिक रूपमा टिपेर मन्दिरमा चढाउने बहानामा लगेको घटनाबाट भयभीत भई आफ्नो परिवारकी फूलरूपी सुन्दर छोरीलाई आफूबाट पत्तै नपाई खोसेर वा बलजफ्ती लैजाने हुन् कि भन्ने त्रासपूर्ण मानसिकता देखाइएको छ। हाम्रा सामाजिक फूलहरू छोरीहरू हुन् र तिनीहरूको अस्तित्व अपरिचितहरूका पाखण्डी र लोभी आँखाहरूबाट जोगाउन सङ्कट हुँदै गएको छ भन्ने समाजमनोविज्ञानलाई यस लघुकथामार्फत लेखकले बताएका छन्। बन्द समापन, मसहित अपरिचित व्यक्ति र छोरी पात्रहरूलाई जुराएर ग्रामीण परिवेशका कथा यसमा भनिएको छ र हाम्रा फूलजस्ता छोरीहरूलाई जोगाउन एकदमै सचेत हुनुपर्ने बेला अभिभावकहरूमाझ आएको छ भन्ने उद्देश्यले लघुकथाको रचना गरिएको छ। विषय सामाजिक क्षेत्रमा छोरीहरू जोगाउन अत्यन्त कठिन हुन थालेको देखाउनु हो। विषयप्रस्तुतिको शैली प्रतीकात्मक र दृष्टिकोण त्रासद छ।

‘सोच’ मा सरकारी कर्मचारीको भ्रष्ट चरित्र र दिनप्रतिदिन सोचले नै नभ्याउने गरी बढ्दो विलासी जीवनशैलीको फिल्मसरि प्रस्तुत गरिएको चित्रलाई उदाङ्गो पार्दै अन्ततः अख्तियारको कारबाहीमा परेको घटनालाई उसकै सामान्य जीवन बिताउने सरकारी कर्मचारी साथीका आश्चर्यजनक सोचका तुलनात्मक सन्दर्भहरूबाट व्यक्त गरिएको छ। ऊ र म पात्रमा आबद्ध बन्द समापनको यो लघुकथा सहरिया परिवेशमा रचिएको छ र सरकारी क्षेत्रमा बढिरहेको भ्रष्टाचार र मोजमस्तीको गलत प्रवृत्तिलाई देखाई त्यस्ता प्रवृत्तिहरू अख्तियारका कारबाहीमा परेपछि समाप्त हुन्छन् भन्ने यथार्थ देखाउने उद्देश्यले रचिएको छ। विषय सरकारी क्षेत्रमा हुने भ्रष्टाचार हो। शैली कवितात्मक र नाटकीय छ भने दृष्टिकोण भ्रष्टाचारविरोधी र निन्दात्मक छ।

‘अवस्था’ ले स्वास्थ्य क्षेत्रको समस्या देखाउँछ। नेपालमा निजी अस्पतालहरूका डाक्टर रोगीको आर्थिक अवस्था बुझेर उपचार गर्छन्। धनीलाई अनेक बहानामा लुट्छन् र गरिबलाई सामान्य औषधीउपचारले झारो टारेर झुलाइरहन्छन्। अस्पतालहरूको कमाउधन्दाको सशक्त चित्रण देखाउन म र ऊ पात्रलाई अगि सारेर सहरिया परिवेशलाई धरातल बनाई बन्द समापन र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा हुनेगरेका चरम लापरबाहीजस्ता गैरजिम्मेवार पक्षमाथि व्यङ्ग्य प्रस्तुत गर्ने सामाजिक यथार्थवादी दृष्टिकोण यस लघुकथामा प्रस्तुत छ। शैली प्रयोगात्मक, रैखिक क्रमको र प्रथमपुरुष दृष्टिविन्दुको छ।

‘पसिना’ गरिब रामे र धनी श्यामलालले बाँच्नका लागि बगाएको पसिनाको सामाजिक यथार्थलाई देखाउने उद्देश्यले लेखिएको छ। मेथङलाङ डाँडाको गाउँबाट बजारतिर झर्छ महँगीले दैनिक परिवार पाल्न धौधौ परेको रामे र घरको अभाव टार्न त्रसित हुँदै काम खोज्न पसिना बगाउँछ। श्यामलाल धेरै खाएर मोटाएर अनेक रोगहरूले सताएकाले डाक्टरी सल्लाहअनुसार रोगमुक्त हुन मेथङलाङ डाँडातिर हरेक दिन चढ्छ र पसिना बगाएर दुब्लोपातलो हुने प्रयास गर्छ। समाजका उच्च र निम्न वर्गका बँचाइका अन्तरलाई सूक्ष्म रूपले उधिनेर पसिना काढ्नुका फरक अर्थ प्रस्तुत गर्ने प्रभावकारी कथनकला प्रस्तुत भएको यो लघुकथा सहर र गाउँ दुवै ठाउँका परिवेशलाई लिई नेपाली समाजमा न गरिबलाई सुख छ न धनीलाई भन्ने यथार्थ दृष्टिकोण र व्यङ्ग्य व्यक्त गर्नमा सफल छ। बन्द समापन, रैखिक आयोजन र व्यङ्ग्यात्मकता यसका शैलीगत विशेषता हुन्।

‘सुरक्षा’ ले हरेरामको पिँजडामा कैद भएको पट्टु सुगाले बाजबाट सुरक्षित हुन स्वतन्त्र जिउनका लागि पिँजडाबाट भागेर पनि तुरुन्तै पिँजडामै पसेको अपत्यारिलो घटना संयोजित गरेको छ। मानवेतर पात्र सुगालाई मानवीकरण गरिएको यस लघुकथाले नौलोपन देखाउने लोभमा अविश्वसनीय अन्त्य गरेको छ। यसैले शैली स्वैरकाल्पनिक छ। स्वतन्त्रताभन्दा जीवनसुरक्षा पहिलो सर्त हुन्छ भन्ने दृष्टिकोण यस बन्द समापनको, घरको पिँजडा परिवेश रहेको र रैखिक क्रमको लघुकथामा प्रस्तुत छ।

‘सङ्घर्ष’ ले अनेकौँ असफलताबिच जीवनमा सङ्घर्ष गरिरहने ऊ पात्रका माध्यमबाट मानिसको सच्‍चा परिचय भनेको सङ्घर्षशीलता हो भन्ने दृष्टिकोण प्रस्तुत गरेको छ। जीवन भनेकै अथक प्रयत्‍नको सार हो। सङ्घर्षका तरेलीहरूको संयोजनले यस लघुकथालाई उत्कृष्ट संरचना र बुनोट प्रदान गरेको छ। सामाजिक यथार्थवादी यस लघुकथाले बन्द समापन, रैखिक शैली र तृतीयपुरुष दृष्टिविन्दु अँगालेको र गाउँसहरकै परिवेशमा हाम्रो समाजको लथालिङ्गे स्थितिबाट गरिखान खोज्ने मानिसहरूको जीवनलाई दुर्दशापूर्ण र दयनीय बनाएको देखाउने मुख्य उद्देश्य राखेको छ।

‘ईर्ष्या’ ले समर्थ व्यक्तिलाई केही गर्न साथ दिनुभन्दा उसको खुट्टा तानेर निकम्मा बनाउन खोज्ने हाम्रो सामाजिक विडम्बना प्रस्तुत गरेको छ। हाम्रो समाज द्वेषी वा इखालु छ मैत्रीपूर्ण र उत्प्रेरक छैन भन्ने बुझाउनु यसको उद्देश्य वा दृष्टिकोण हो। यो सामाजिक परिवेशमा मनोवैज्ञानिक स्पर्श दिने लघुकथा हो। सिलसिलेवार रैखिक वर्णनको सरल शैली यसमा छ।

‘अवसर’ ले समाजका लोफर, हुतीहारा, निकम्मा, निष्क्रिय, समयानुकूल प्राप्त हुने अवसरको सदुपयोग गर्न हिचकिचाउने र नकारात्मक सोच भएका म पात्रजस्ता व्यक्ति देशको विकासका लागि सबैभन्दा ठुला शत्रु हुन् भन्ने दृष्टिकोण ऊ पात्रका घरबार, समाज, देशसम्मका विकासात्मक गतिविधिहरूमा निरन्तर सङ्घर्षशील भई अगि बढ्ने उच्च सोचसँगै दाँजेर सर्लक्कसँग प्रस्तुत गरिएको छ। खुला समापन, रैखिक क्रम र तुल्यताको शैली प्रयोग गरी लेखिएको यो लघुकथा देशकै परिवेशमा रचिएको चरित्रकेन्द्री, विरोधी मानसिकता बोकेको व्यक्तिको मनोवैज्ञानिकता केलाउने ढाँचामा अभिव्यक्त छ।

‘इन्कार’ ले ऊ पात्रजस्तो बैगुनी, स्वार्थी र आफ्नाहरूको मूल्य नबुझी इन्कारी जीवन जिउनेलाई अन्त्यमा जस्तालाई तस्तै भनेझैँ सट्टामा सबैले इन्कार नै दिनेछन् भन्ने देखाएको छ। अवसरवादी चरित्रले अन्ततः नितान्त एक्लो जीवन विडम्बनापूर्वक बिताउनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु लेखकको उद्देश्य हो। मनोवैज्ञानिक, बन्द समापन, सिलसिलेवार रैखिक कथन र तृतीयपुरुषीय दृष्टिविन्दु यसका शैलीगत विशेषता हुन्।

‘बन्द विचार’ ले महिलाद्वेषी सामाजिक स्थिति, ईर्ष्याभाव र सङ्कीर्ण मानसिकताका कारणले एक्ली महिलाको जीवन चारैतिरबाट अपहेलित भएको हुन्छ भन्ने देखाएको छ। उजेली र चमेलीको झगडाबाट फाइदा उठाउँदै चमेलीको पोइ उजेलीलाई शोषण गर्ने दाउ हेरिरहेको देखाएर नेपाली समाजमा नारीहरूको अवस्था दयनीय र दमनीय रहेको यथार्थमाथि लेखकले प्रकाश पारेका छन्। उजेली, चमेली र उसको पोइ हर्केको त्रिकोणात्मक खेलले लघुकथा रोचक बनेको छ। पुरुष वा भालेप्रधान समाजको बन्द विचारको सिकार नेपाली नारीहरूले हुनुपरेको देखाउनु लेखकको उद्देश्य हो। ग्रामीण परिवेश, रैखिक प्रस्तुति, सुन्दर घटनात्मक आयोजन, नारीजीवनका कमजोरी, बन्द समापन र कथनको तेरिज लघुकथाका शैलीगत सौन्दर्य हुन्। सङ्कटमा नारीअस्मिता यसको मुख्य थिम हो किनकि हाम्रो समाज खुला छैन। बन्द समाजको बन्दी बनेका छन् नारीहरू र यौनको व्यापार बन्दमै सञ्चालन हुन्छ।

‘स्वाभिमान’ ले हाम्रो समाजमा स्वाभिमानका साथ बाँच्न चाहनेले केवल आत्महत्या मात्रै रोज्न सक्छ, यथार्थमा बाँचेर स्वाभिमान जोगाउन सकिँदैन भन्ने व्यङ्ग्यात्मक दृष्टिकोण ऊ पात्रको अन्तिम निर्णय नाइलनको डोरी लिएर जङ्गलतर्फ जाने कार्यबाट देखाइएको छ। बन्द समापन, तृतीयपुरुषात्मक दृष्टिविन्दुबाट मानसिक प्रस्तुति, कवितात्मक वर्णन यसका शैलीगत वैशिष्ट्य हुन्।

‘ऋण’ मर्न खोज्दा पनि ऋणमै मर्नुपर्ने अवस्थामा पुगेको मानिसको मर्मान्त लघुकथा हो। गरिबको जीवन ऋणमै सुरु र अन्त हुन्छ भन्ने कारुणिक सारवस्तु यसमा पाइन्छ। निम्न वर्गका मानिसहरूको नियति देखाउने सामाजिक यथार्थवादी लघुकथा हो यो। बन्द समापन, तृतीयपुरुष दृष्टिविन्दु, रैखिक बुनोट, कवितात्मक प्रस्तुति यस लघुकथामा पाइन्छन्।

३४ शब्दमा प्रस्तुत ‘हैसियत’ शीर्षकको गद्यांश मानक सिद्धान्तका दृष्टिले लघुकथा भन्न नसकिने रचना हो। केवल प्रयोग हो। कवितात्मक पाराले घुमाएर भनिएको निबन्धांशलाई मात्रै लघुकथा मान्न सकिँदैन।
‘भविष्य’ हर्केले विदेश गई चार वर्षभित्रमा सहरमा आधुनिक घर बनाएको तर स्वास्नीले आफ्नो नामको सो घरघडेरी बेचेर पाँचौँ वर्षमा पोइल गइदिएपछि उसको भविष्य स्वाहा भएको कथा बताउँछ। तृतीयपुरुषात्मक दृष्टिविन्दु र बन्द समापनमा टुङ्गेको रैखिक ढाँचाको यस लघुकथाले वैदेशिक रोजगार पुरुषहरूको घरपरिवारको भविष्य यसरी नै बर्बाद भई जीवनको बिचल्ली हुने गरेको जीवन्त पीडालाई समेटेको छ।

‘गुदी’ मा पहिले टोपी नलगाउने म पात्रले ढाकाटोपी लगाउन थालेपछि अनेक थरीले अनेक अड्कल काट्छन् तर यसको गुदी कुरा चाहिँ म पात्र आफूलाई युवाझैँ सक्रिय राख्न चाहन्थ्यो भन्ने रहस्य खोलिएको छ। यसबाट म पात्र युवाहरूमा नेपाली संस्कार भरिदिन चाहन्थ्यो। खुला समापन, संवादात्मक प्रस्तुति, प्रथमपुरुष दृष्टिविन्दु, प्रश्नात्मक-तर्कात्मक कथन यसका शैलीगत पक्षहरू हुन्।

‘मोटर बाटो’ गाउँले परिवेशमा हुने गरेका अन्याय र विकासका नाममा मोटरबाटोको सपना बाँडेर रनबहादुरजस्ता गरिबदुःखीका खेतबारी खाइदिएर गाउँको दरिलो संरचना डोजरले भत्काई लथालिङ्ग पार्ने तर पक्का निर्माणका काम कहिल्यै पूरा नगर्ने प्रवृत्तिले प्राकृतिक प्रकोपको सिकार बनेको तितो यथार्थ मर्मस्पर्शी ढङ्गले बताउँछ। राजनीतिक विकृति वा सरकारी निकम्मापन र भ्रष्ट चरित्रको उदाङ्गो रूप देखाउँदै यसमा बढ्दो बेथितिमाथि व्यङ्ग्य गरिएको छ। बन्द समापन, रैखिकता र व्यङ्ग्यात्मकता यसको शैली बनेको छ।
‘हस्पिटल’ समाजसेवी अमरराजलाई चरम शोषण गरेर लासमा र उनको परिवारलाई महँगो ठगीसहित गराइएको उपचारखर्चका लागि घरजग्गा बेच्न बाध्य पारी सडकमा ल्याएको देखाउन केन्द्रित लघुकथा हो। निजी अस्पतालले गरिरहेका जनस्वास्थ्यमाथिको खेलवाड र निरीह जनतामाथि हुने डरलाग्दो लुटको फस्टाउँदो व्यापारीकरण तथा निजी अस्पतालको स्वेच्छाचारी प्रवृत्तिको मार्मिक चित्रण गरिएको छ। यसमा बन्द समापन, सहज रैखिकता, व्यङ्ग्यात्मकता, सहरी परिवेश र चोटिलो अन्त्यको रोचक शैली भेटिन्छ।

‘ओखती’ मा काले ज्योतिषीको ढोँगी ज्योतिषको धज्जी उडाइएको छ र रेखात्मक क्रममा अगि बढाई खुला समापनद्वारा मिठो झट्का दिँदै घटनाको अन्त्य गरिएको छ। सबैको रोग निको पार्ने दाबी गर्ने काले ज्योतिषीले आफ्नो नाति बिमारी पर्नासाथ अस्पताल दौडाएको घटना आफैँमा हास्यात्मक र व्यङ्ग्यात्मक बनेको छ।
‘नियत’ ले नारीहरूप्रति खराब नियत राख्‍ने ऊ पात्रको हिंसात्मक विचार र भालेपनको उग्र षड्यन्त्रकारी, क्रूर दृष्टिमाथि प्रकाश पार्छ र व्यङ्ग्य गर्छ। प्रतीकात्मकता, खुला समापन, परपीडक मनोग्रन्थिको पर्यवेक्षण, रैखिकता, रहस्यमयता र लघु आकृति यसका शैलीगत पक्ष हुन्।

‘संवाद’ नेपाली राजनीतिको पैसामा भोट किनिने दुष्प्रवृत्तिको सुन्दर उद्घाटन गर्छ। बाबु र छोराको संवादमा प्रस्तुत यस लघुकथाले जनताको अमूल्य मत खरिदबिक्री हुने कुसंस्कारमाथि उपहास व्यक्त गर्छ। तृतीयपुरुषात्मक दृष्टिविन्दु, बन्द समापन, व्यङ्ग्यात्मकता र नाटकीयता यसका विशेष शैली हुन्।
‘विनाश’ भगवान्को तपस्या गर्नेजस्ता धार्मिक पृष्ठभूमिमा वैराग्यमा परेको मानिसले स्वतन्त्र विचरण गर्ने चराको वरदान मागी चरा हुनेबित्तिकै सिकारीको बन्दुकले मरेको घटना प्रस्तुत गर्छ र खुला समापनद्वारा मानवको हिंसात्मक र युद्धमुखी प्रवृत्तिले नै जताततै मानवताको विनाश भई दानवीय प्रवृत्तिले समाजलाई आक्रान्त बनाइरहेको विचार प्रकट गर्छ। लौकिक पात्रहरू ऊ, चरा र सिकारी तथा अलौकिक पात्र भगवान् सबै तृतीयपुरुषात्मक दृष्टिविन्दुमा रैखिक क्रमले व्यक्त विचारात्मक र स्वैरकाल्पनिक लघुकथाका अङ्ग हुन्।

‘सत्ता’ नेपाली राजनीतिको सत्तामुखी तुच्छ स्वरूपलाई बाँदरहरूले पाएको आफ्नै सक्कली अनुहार देखाउने विचित्रको चम्किलो वस्तुका रूपमा देखाई बाँदरजस्ता नेताहरूले आपसी झगडाद्वारा त्यसलाई चकनाचुर पारे भन्छ। मानवेतर पात्र बाँदरहरूको स्वैरकाल्पनिक शैलीमा रूपान्तर गरी प्रस्तुत यो लघुकथा प्रतीकात्मक र व्यङ्ग्यात्मक एवम् खुला समापनको रैखिक योजनाको रोचक शैलीमा व्यक्त भएको छ।

‘अन्धकार’ नेपाल बन्दजस्तो राजनीतिक बेथितिबाट ट्याक्सी चलाएर घरपरिवार चलाउने एक निम्नवर्गीय व्यक्तिको जीवन ध्वस्त भएको बताउँछ। नेपाल बन्दकर्ता अविवेकी हुलले ट्याक्सी जलाएर हर्षोल्लास गर्दा ट्याक्सीचालकको भविष्य चाहिँ अन्धकार बनाइदिएको घटना प्रस्तुत गर्छ। बन्द समापनमै रैखिकताबाटै तुलनात्मक सन्दर्भद्वारा अभिव्यक्त यस व्यङ्ग्यधर्मी लघुकथामा पनि तृतीयपुरुष दृष्टिविन्दुकै प्रयोग छ।

‘अतृप्त’ मा दन्त्यकथाको शैली प्रयोग गर्दै राजाहरूको चरम स्वार्थी चरित्रलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै मधुर व्यङ्ग्य हानिएको छ। संसारभरका सुन्दरीहरूमध्ये सर्वसुन्दरी खोजेर ल्याउन अह्राएको आफ्नै संयोजकलाई बिहेपछि सुनको चस्मा उपहार दिएर दुवै आँखा फुटाइदिनु भनेको राजाहरू वा शासकहरू चरम अत्याचारी, ईर्ष्यालु, अर्काकी सुन्दर श्रीमती देख्नै नसक्ने, अतिलोभी, असन्तोषी, परपीडक, महासुखभोगी र स्वार्थकेन्द्री हुन्छन् भन्ने देखाउनु हो। राजा र संयोजक पात्र, दरबारिया परिवेश, तृतीयपुरुष दृष्टिविन्दु र लोककथात्मक प्रस्तुतिको प्रतीकात्मक तथा व्यङ्ग्यात्मक शैली यसमा छ।

‘जनआन्दोलन’ शीर्षकअनुसारकै विषयमा केन्द्रित छ। समानता, मानवता र अधिकारका लागि जनता आन्दोलनमा होमिँदा सेनाले गोली हानी घरको छतबाट हेर्ने निहत्थाको हत्या गरेपछि देशभर जनआन्दोलन चर्केर सत्ता पल्टिएको र नयाँ व्यवस्था आएको जानकारी लघुकथामा दिएकाले बन्द समापन छ। सहिद विजय, देशव्यापी जनता र परिवेशमा घटित घटनामा रेखात्मक कथाक्रम छ।

‘आर्थिक स्तर’ मा धेरै पात्रहरूको प्रयोग छ। उद्योगी, डिलर र खुद्रापसलेका उपभोक्ता बन्नेहरूले नै आफ्नो कमजोर आर्थिक हैसियतका कारणले गर्दा ठुला आर्थिक हैसियतवालाहरूको आर्थिक स्तर मजबुत बनाइदिएको घटनाको वर्णन गरेर नेपाली समाजमा आर्थिक उचाइ लिने मूल आधार नै तल्ला वर्गमाथिको आर्थिक शोषण हो भन्ने विचार बन्द समापनद्वारा प्रस्तुत गरिएको छ। आर्थिक विषयलाई रैखिक क्रममा ढालेर व्यङ्ग्यात्मक शैलीमा कथा व्यक्त छ।

‘नदीको राजमार्ग’ यस सङ्ग्रहको शीर्षक छनोट भएको रचना हो। लघुकथाकारलाई यही लघुकथा बढी शक्तिशाली र आफ्नो विचारको प्रतिनिधित्व गर्ने लागेको हुनुपर्छ। खासमा यस लघुकथाले नदीले बाटो मोडेर अर्कै ठाउँ वा डाँडाको आडबाट हिँड्न थालेपछि पहिले नदी बगिरहेको स्थान बगरमा परिणत हुन्छ। त्यस बगरमा गाउँका शक्तिशाली भनाउँदा मुखिया र जमिनदारले हडप्‍ने सुर कसेर आआफ्नो दाबी गर्न थाले। दुवै पक्षबिच विवाद बढेर मारपिट भयो। मुद्दा अदालतसम्म पुग्यो। दुवैको तर्क र प्रमाण कमजोर भएकाले फैसला छिटै हुन सकेन तर दुवै पक्षले आफ्नो जित हुन्छ भन्‍ने सपना देखिरहे। अन्तमा नदी फेरि पुरानै मार्ग बगर बनेकै ठाउँमा फर्कियो र झगडिया मुखिया र जमिनदार जिल्ल परे। यस्तो घटनाको संयोजनबाट लेखकले समाजमा मानिस भएर बसेपछि नदीजस्तै गतिशील, आफू हिँड्ने राजमार्ग आफैँ निर्माण गर्न सक्ने हक्की र स्वतन्त्र हुनुपर्छ तर मुखिया र जमिनदारजस्ता लोभी, पापी, झगडालु र शक्तिको उन्मादमा उन्मत्त हुनु नहुने बताएका छन्। समाजका परम्परावादी स्वार्थान्ध मुखिया र जमिनदारका जालझेल, षड्यन्त्र र मुद्दामामिलालाई समाप्त पार्ने नदीको जस्तो स्वच्छ र स्वाभिमानी व्यवहारले निर्भयपूर्वक चल्न सक्ने, सामाजिक आदर्श अँगालेर मानवतावादको आधुनिक चेतनामा निर्धक्क भई अगि बढ्न सक्ने हुनुपर्छ। यो खुला समापन र रैखिकतामा तयार बौद्धिक र व्यङ्ग्यात्मक रचना हो।

‘परिधि’ मा नदी, आगो, हावा, माटो र मानिस गरी मानवेतर र मानवीय पात्रहरू छन्। यहाँ सबैको इच्छाको सीमा वा परिधि देखाई मानिसलाई व्यङ्ग्य गरिएको छ। लघुकथाले सबै स्पष्ट पार्छ, “उसलाई मन त सबैसँग मिलेर बाँच्ने थियो। तर काम, क्रोध, लोभ, मोह, ईर्ष्या, अहङ्कार उसमा व्याप्त थियो। ऊ आफू बाँचिरहनका लागि अरूलाई नदबाई मिलेर बस्न सकेन। त्यसैले ऊ मान्छे भयो।” (पृ. ४०) बन्द समापन, तुलनात्मक शैलीमा कथेको यो रचना अरूमाथि दमनचक्र नचलाई बाँच्नै नसक्ने मानवीय कमजोरीमाथि तीव्र व्यङ्ग्य प्रहार गर्नमा केन्द्रित छ।

‘विडम्बना’ मा नेताहरूको भ्रष्ट चरित्रले देशलाई डुबाएको यथार्थ प्रसङ्ग छ। खुला समापनमा भ्रष्टताको विडम्बनालाई व्यङ्ग्यात्मक रूपले यसरी खुलाइएको छ, “एक दिन चियागफ गर्नेमध्येकै एक जना सत्तामा पुग्यो। भ्रष्ट नेताहरूलाई उसले कारबाही गर्ने निर्णय गर्‍यो। त्यसको भोलिपल्टै उसको सरकार ढल्यो।” (पृ. ४१)
‘कविको स्वभाव’ मा साहित्यिक क्षेत्र विषय बनेको छ। अरू कविलेखकहरूलाई आलोचनाको एक शब्द पनि पचाउन नसक्ने भनी खुब आदर्शका गफ छाँट्ने एक जना कविलाई पात्र बनाएर उनमा रहेको र समग्रमा सबैजसो साहित्यकारहरूमा रहेको मानवीय कमजोरीमाथि तीव्र व्यङ्ग्य प्रहार गरिएको छ। ती कविपात्रले आफ्नो कवितासङ्ग्रहमाथि आलोचना गर्नेहरूलाई खुट्टा तान्ने प्रवृत्ति भएका फटाहाहरू भनेर मवा प्रकाश नामका पात्रसामु उग्र रिस पोखेपछि कविसाहित्यकारहरूको सक्‍कली रूप देखिएको छ। यो बन्द समापन, संवादात्मक र व्यङ्ग्यात्मक शैलीमा छ।

‘आस्था’ मा मानिसहरूमा रहने धार्मिक आस्थाले एउटा भोकाको जीवन बाँच्न सहज भएको गजबको घटना प्रस्तुत छ। एउटा भोको व्यक्ति पेट पाल्न अनेक जुक्ति गर्दा पनि असफल हुन्छ। जागिर खान अशिक्षित भएकाले पाएन। भारी बोक्न तागत नभएकाले सकेन। चोरेर खान नैतिकताले र मागेर खान स्वाभिमानले नदिएपछि उसले बाँच्ने एउटा नयाँ तरिका अपनायो। नदीबाट डोलोडोलो लाम्चो आकारको ढुङ्गा ल्याई दोबाटो छेउमा राखी अबिर दलेर दुईचार थुँगा फूल चढाएर छाडिदियो। त्यसपछि बाटो हिँड्नेहरूले ढुङ्गामा फूलपाती, फलफूल र पैसा चढाउन थाले। “त्यस दिनदेखि उसले कहिल्यै भोको पेट बस्नुपरेन।” (पृ. ४३) खुला समापन, रैखिकता र रोचक, व्यङ्ग्यात्मक नवीन प्रस्तुति यसका शैलीगत पक्षहरू हुन्।

‘सम्बन्ध’ ले एउटै कक्षाका सहपाठी रहेका ‘उनीहरू’ पात्रहरू युवायुवती भएकाले चिनजान, बसउठ गर्दागर्दै प्रेमसम्बन्धमा गाँसिए अनि परस्परको आकर्षणले यौनसम्बन्ध राख्‍न पुगेको देखाउँछ। त्यसपछि उनीहरूको बाटो मोडियो किनकि आजभोलिको प्रेमसम्बन्ध हार्दिक नभई शारीरिक वा मांसल मात्रै हुन्छ, चिरस्थायी वा आत्मिक हुँदैन। अहिलेको प्रेमसम्बन्ध भनेको यौनसम्बन्ध मात्रै हो भन्ने विचार प्रस्तुत गरी प्रेमको अवमूल्यन हुँदै गएको वर्तमान स्वार्थी संसारको चित्रण गर्नु लघुकथाकारको उद्देश्य देखिन्छ। बन्द समापन, रैखिकता र व्यङ्ग्यात्मकता यसमा पाइन्छ।

‘अर्थ अनर्थ’ मा ऊ पात्रले भनेका फरकफरक पात्रहरू र समाजमा तिनको स्थितिलाई लिएर लगाइने अर्थका आधारमा अनर्थ बुझिन पुग्दा गाउँबाट लखेटिनुपरेको घटनाको बेजोड संयोजन छ। ऊ पात्रले कसैका छोरीलाई, दिदीबहिनीलाई र श्रीमतीलाई माया गर्न र हृदयलाई सुमसुम्याउन मन भए नि अर्कैका पर्‍यौ भनी एउटै कुरा भन्दा गाउँलेहरूले उसलाई बदमास भनेर खेदाए। जतिसुकै मिठो र कोमल कुरा भए पनि सामाजिक दृष्टिकोणले अग्राह्‍य वा अपाच्य छ भने त्यो भन्नु भुल हुनेछ। त्यसैले परिवेश, पात्र र बोलेको कुराको अर्थ नकारात्मक लाग्छ भने त्यसमा विचार पुर्‍याउनुपर्छ भन्ने सन्देश लघुकथाले बन्द समापनकै शैलीमा प्रस्तुत गरेको छ।

‘मन’ मा जतिसुकै धनसम्पत्ति र सुखसुविधा भए पनि मानिसको असन्तोषी मन कदापि वशमा हुँदैन भन्ने व्यङ्ग्यात्मक दृष्टिकोण ऊ पात्रका प्रगतिका तरेलीहरू देखाएर प्रस्तुत गरिएको छ। मानिसको दुःख नै यही हो भन्नलाई बन्द समापन र रैखिकतालाई अँगालिएको छ।

‘सम्पत्ति’ ठुलो सम्पत्तिवाला राममान साहु र उसको छोराको कथा हो। सन्तानलाई कुनै दुःख नहोस् भनेर अथाह सम्पत्ति कमाएका साहुको छोरा खेल्दाखेल्दै घाँटीमा पैसा अड्केर मर्‍यो। त्यसैले सम्पत्ति सुखको साधन मात्रै हुँदैन नपत्याउँदो दुःखको कारक पनि हुन्छ भन्ने दृष्टिकोण यहाँ प्रस्तुत छ। पैसा कमाएर मात्रै हुँदैन त्यसको सही उपयोग गर्न पनि होस पुर्‍याउनुपर्छ भन्ने सन्देश दिने यो रचना पनि बन्द समापन, रैखिकता र व्यङ्ग्यात्मकताकै मार्मिक उत्पादन हो।

‘अपेक्षा’ साहित्यिक विषयमा लेखिएको छ। साहित्यकार म पात्र र उसकी श्रीमतीका माध्यमबाट लेखकको विचार प्रस्तुत गरिएको छ। म पात्र कवितासविता लेख्थ्यो तर घरव्यवहार चौपट भएको थियो। श्रीमती यही चर्को अभावलाई तेर्साएर म पात्रमाथि कडा व्यङ्ग्य कस्थी तर म पात्र मुटु छेड्ने पीडालाई पनि सहेर बस्थ्यो। एक दिन उसलाई साहित्यमा पुर्‍याएको योगदानबापत राम्रै राशिको पुरस्कार प्राप्त हुन्छ र सो रकमले घरका सबैको आवश्यकता पूरा गरी मिठोमसिनो पाक्ने अवस्था तयार हुन्छ। यसबाट फुर्किएर श्रीमतीमा नयाँ आशा वा अपेक्षा पलाउँछ अनि पतिलाई मायालु स्वरमा भन्छे – “सुन्नुस् न हजुर ! अब नयाँ पुस्तक प्रकाशनको तयारीमा लाग्नुभए हुन्थ्यो नि…!” (पृ. ४८) यसरी यो रैखिकता र बन्द समापनबाट सकारात्मक दृष्टिका साथ प्रस्तुत भएको रोचक लघुकथा हो।

‘प्रतिस्पर्धा’ मा उद्योगव्यापारका क्षेत्रमा हुने अस्वस्थ प्रतिस्पर्धा र त्यसबाट हुने दुष्परिणामलाई देखाइएको छ। देखासिकी गरी खा, आहारिसे मरी जा भन्ने उखान साकार हुने घटना यहाँ देखाइएको छ। पहिले साइकल चढ्नेहरूले बिस्कुट, चाउचाउ उद्योगहरू खोलेर बिस्तारै उन्नति गरेर चिल्ला कार चढेर हिँड्न थालेका थिए तर एकअर्कालाई पछार्ने दाउमा लागेर सबै स्वाहा भए र सडकमा आए। लघुकथाको बीजवाक्य वा विचारसूत्रले भनेकै छ – “उनीहरूमाझ अस्वस्थ प्रतिस्पर्धा यति बढ्यो कि आफूले घाटा खाएर भए पनि एकले अर्कालाई पत्तासाफ गर्न लागिरहे।” (पृ. ४९) बन्द समापन र व्यङ्ग्य यसको रैखिक कथानकमा पाइन्छ।

‘अहम्’ मा दुई असाध्यै मिलेका रामबहादुर र हरिबहादुरको घाँटीजोड मित्रता छ। जब गाईवस्तुले खाइदिएको बालीनालीका कारणले छोराहरूबिच हात हालाहाल भयो र तिनका आमाहरूले एकअर्काका लोग्नेहरूलाई उकासेर मान्छे भेला गर्ने स्थितिमा पुर्‍याए तब हरिबहादुरको उग्र अहम्ले राति रामबहादुरको पालीमा आगो झोस्छ र दुवैका घर जलेर खरानी हुन्छन्। यसरी लघुकथाभित्र बन्द समापनमा रोचक रैखिकता अँगालेर अहङ्कारको आगोले मानवतालाई खरानी बनाउँछ भन्ने यथार्थ दृष्टिकोण प्रस्तुत गरिएको छ। लघुकथाले भनेको छ, “रामबहादुरको पालीमा सल्केको आगो धुरी हुँदै हरिबहादुरको धुरी नाप्‍न पुग्यो। आगोले न रामबहादुरको घर चिन्यो न हरिबहादुरको।” (पृ. ५१) अभिमानले निम्त्याउने मूर्खता यसको सार हो किनकि धेरै हानि रामबहादुरकै भएको थियो। उसप्रति आक्रामक बनाउनमा हरिबहादुरकी स्वास्नीको अहङ्कारले भूमिका खेलेको छ। अरूले उकास्दा गहिरोसँग कुरा नबुझी विवेकहीनता देखाउनु हुँदैन भन्ने चेत पनि यसमा घुसाउन खोजिएको छ। यो सङ्ग्रहका लामा आकारका लघुकथाहरूमध्येको एक हो।

‘छिमेकी’ मा चराहरूको स्वैरकाल्पनिक आख्यान बुनिएको छ र प्रतीकात्मक रूपले छिमेकीको आशङ्कापूर्ण कुदृष्टि देखाइएको छ। सुत्केरी परेवी र बचेरालाई चारो खोज्न गएको परेवा सन्तमानको आँगनमा चारो टिप्दै गर्दा सन्तमानले ढुङ्गाले हानेर मार्छ। परेवा मार्दा गर्व गर्ने सन्तमानको मनोविज्ञानद्वारा मान्छेको हिंसात्मक प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ। उता परेवाको छिमेकी ढुकुरले बिचल्लीमा परेका परेवीहरूको उद्धारका लागि आफूसँग भएको चारो लगेर खुवाउँदा कुरै नबुझी परेवीमाथि तथानाम भन्छन् छिमेकी चराहरू, “लोग्ने नभएको मौकामा आफ्नो सतीत्व छाड्ने कस्ती चरित्रहीन रहिछे भनेर एकापसमा खासखुस खासखुस गर्दै थिए।” (पृ. ५२) यसबाट लेखक समाजमा एकल महिलाहरूले भोग्नुपर्ने सामाजिक पीडा र चारित्रिक आक्रमणको परिस्थिति बुझाउन चाहन्छन्। बन्द समापन, रैखिकता, स्वैरकाल्पनिक, प्रतीकात्मक र व्यङ्ग्यात्मक शैलीको यो रचना प्राणीहिंसा र महिलाहिंसाको मर्मस्पर्शी उद्घाटनमा सफल बनेको छ।

‘पूजाकोठा’ मा गाउँका बाले छोरो कुसेऔँसीका दिन मुख हेर्न सहरबाट आउँछ कि भन्ने सोचेको तर छोरो बर्खाको बेला कच्‍ची बाटोको आउजाउ गाह्रो हुने मानेर आफ्नो पूजाकोठामै बाको तस्बिरमा माला लगाई पाउमा ढोगेर त्यसैका नजिकमा फलफूल, मिठाई र बालाई मन पर्ने चेकसर्ट तख्तामा राखी बाको मुख हेराइ पूरा गर्छ। यो पनि उसका छोराछोरीहरूले बिहानै उसलाई “ह्‍यापी फादर्स डे बाबा” भनेपछि मुटुमा चस्स बिझेर उसले गरेको हो। अब मान्छेका आस्थाहरू डिजिटलाइज्ड हुन थालेका र औपचारिकतामा सीमित हुन थालेकाप्रति लेखकको दृष्टिकोण केन्द्रित छ। परम्परागत चाडबाड देखावटी र स्वार्थानुकूल हुन थाले। त्यसैमा छोराछोरी सन्तोष मान्न थाले। विखण्डित सामाजिक जीवनमा उत्पन्न समस्यालाई लेखकले देखाए। बन्द समापन, रैखिकता, बेथितिमाथि हलुका व्यङ्ग्य यसमा पाइन्छ।

‘अन्तरक्रिया’ मा तारे होटलमा गोप्य बैठक र अन्तरक्रिया गर्ने नेताहरूले देश बेचेरै भए पनि आफूले सक्दो कमाउने निर्णयमा ताली बजाई जोडले समर्थन गरेको प्रसङ्ग देखाइएको छ। यसबाट नेपालको हालको राजनीति देश बेचेर पनि कुस्त सम्पत्ति कमाउने देशघाती खेलमा लागेको छ भन्दै त्यस्तो नीच राजनीतिक चरित्रमाथि कडा व्यङ्ग्य प्रहार गरिएको छ। यसमा वर्तमान राजनीति देशसेवा र जनसेवा नभएर केवल कमाउधन्दा बनेको हास्यास्पद दृश्य छ। बन्द समापन, संवादात्मकता, रैखिकता, व्यङ्ग्यात्मकता र चमत्कारी अन्त्य यसमा पाइन्छ।

‘लालसा’ मा प्रतीकात्मक रूपले पुरुषको थरीथरीका बैँसालु फूलहरू वा युवतीहरू भोग गर्ने लालसा वा भोकलाई चित्रित गरिएको छ। रातो गुलाफ बैँसालु युवतीको प्रतीक र अन्य बैँसालु फूलहरू सुन्दरी रमणीहरूका प्रतीक हुन् अनि तिनको सौन्दर्यमा रमाउने तीव्र भोगेच्छा ऊ पात्रमा बढेको छ। यो पुरुषको यौनमनोविज्ञानमा आधारित लघुकथा हो जो बन्द समापन, रैखिकता, प्रतीकात्मकता र मधुर व्यङ्ग्यमा संयोजित छ।

‘उपदेश’ मा दिउँसो स्कुलमा स्वास्थ्यशिक्षाको पाठ पढाउँदा जाँडरक्सी, धूम्रपान स्वास्थ्यका लागि हानिकारक र झैझगडा, अशान्ति बढाउने वस्तु हो तसर्थ खानु हुँदैन है नानीहरू हो भनी उपदेश दिने रामप्रसाद नै स्कुलपछि भट्टीमा जुवातास खेलेर टुन्न रक्सी पिई बेलुकी घर पुगेर श्रीमतीलाई ‘राँड’ भन्दै कुटपिट गर्न थाल्छ। त्यतिखेरै पल्लो कोठामा बाबुले दिउँसो पढाएको पाठ याद गर्दै गरेको उसैको छोरो पढ्दै गरेको घटना प्रस्तुत छ। ढोँगी पुरुष वा शिक्षकको कोरा उपदेश देखाई त्यस्ता विकृत चरित्रका मानिसहरूलाई व्यङ्ग्य गर्नु यस लघुकथाको उद्देश्य हो। खुला समापन, रैखिकता, व्यङ्ग्यात्मकता, सटीक परिवेश र झट्का दिने अन्त्य यसका शैलीमा पाइन्छन्। यसैले यो एक उत्कृष्ट लघुकथा हो।

‘चेत’ मा ऊ र उसकी स्वास्‍नी पात्रका माध्यमबाट सधैँ रक्सी खाएर झगडा गर्ने लोग्नेलाई उसकी स्वास्‍नीले एक दिन लात्तीले हानेर ढाड भाँचिउन्जेल आँगनबाट तल गरामा खसालिदिई। त्यस दिनदेखि लोग्नेले रक्सी खान र झगडा गर्न छोड्यो। बिरामी अवस्थामा स्वास्नीले लोग्नेलाई खुब स्याहारसुसार र माया दिएकाले लोग्ने खुसी भयो। अब दुवैको ज्यादै मिल्ती भएको छ र सबै छिमेकीहरूले प्रशंसा गर्न थालेका छन्। यो खुला समापन, रैखिकता, संयोगान्त, नारी सशक्तीकरण र मिठो सन्देशात्मकताले भरिएको रचना हो।

‘अर्पण’ मा म पात्रका करेसाबारीमा लगाइएको सयपत्री र बैठककोठामा लगाइएको ग्रिन प्लान्टबिच चलेको शास्‍त्रार्थलाई स्वैरकाल्पनिक रूपले प्रस्तुत गरिएको छ। दुवै फूलले एकअर्कालाई खुबै व्यङ्ग्य गर्छन्, सकेसम्म होच्याउने र खिसी गर्ने प्रयास गर्छन् खासमा उनीहरूको बासस्थानलाई सन्दर्भ बनाएर। अन्तिममा सयपत्रीले आफ्नो मूल्यवान् स्थानलाई गौरवका साथ यसो भनेपछि ग्रिन प्लान्ट जिल्ल पर्छ, “करेसाबारीमा भएर के भो त ! आस्थाले मन्दिरभित्र पुग्ने हामी नै हौँ।” (पृ. ५९) यो खुला समापन, संवादात्मकता, रैखिकता, स्वैरकाल्पनिकता र मानवीकरणद्वारा अभिव्यक्त सुन्दर बौद्धिक लघुकथा हो।

‘प्रतिभाको मृत्यु’ मा नेपाली समाजमा नाम चले पनि लेखेरै बाँच्न सक्ने अवस्था नभएकाले प्रतिभाहरूको मृत्यु भइरहेको यथार्थलाई बन्द समापन, रैखिक संयोजनद्वारा प्रस्तुत गरिएको छ।

‘देश’ मा सीमापारिका ‘क’ पात्रले ‘ख’ पात्रका बहिनी वा छोरी माग्दा उसले सजिलै विधि पुर्‍याएर दिएको तर सीमा नाघेर देशको माटो कुल्चेर आमा माग्दा अपमानले असह्‍य भएर नेपाली पात्र ‘ख’ ले सिरुपाते खुकुरीले घाँटी छप्काइदिएको सन्दर्भ छ। यसबाट प्रत्येक देशभक्त नेपालीलाई आफ्नो देश प्राणभन्दा प्यारो हुन्छ र देशमाथि आँखा गाड्ने कसैलाई पनि उसले बाँकी राख्तैन भन्ने आदर्श राष्ट्रभक्तिले सुसज्जित उच्‍च विचार प्रकट गरिएको छ। प्यारा जननी र जन्मभूमि कसैलाई दिइने वा बेचिने कुरा हुनै सक्दैनन् भन्ने भावद्वारा देश बेच्न खोज्ने हरेक देशद्रोहीलाई एक क्षण पनि बाँकी नराखिने कडा हाँक दिने विचार यसमा व्यक्त छ। यसमा बन्द समापनबाट राष्ट्रको सार्वभौमसत्ता रक्षा गर्ने गहिरो भाव व्यक्त गरिएको छ।

‘समाज’ मा पितृसत्तात्मक नेपाली समाजमा महिलामाथि हुने चरम भेदभावपूर्ण व्यवहारलाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरिएको छ। यसका लागि बस दुर्घटनामा गाउँकी साइँलीले पति गुमाउँदा उसलाई समाजका गाउँलेहरूले विधवा भएरै मृत पतिका नाममा चोखोनितो भई जिउनुपर्ने अर्ती दिए। तर उही बस दुर्घटनामा स्वास्‍नी गुमाउने माइलालाई त्यही समाजका गाउँलेहरूले घरमै गएर अर्को बिहे तुरुन्तै गर भन्ने सल्लाह दिए। समाजको यही असमानता र पक्षपाती दृष्टिकोणमाथि व्यङ्ग्य गर्ने उद्देश्य लेखकको छ। बन्द समापन र रैखिकता यसमा पनि छ।

‘प्रसिद्धि’ मा सच्‍चा, इमानदार, कर्तव्यनिष्‍ठ, मेहनती र असल व्यक्तिले चुनाव जितेर जनताको अपेक्षाअनुसार नै सम्पूर्ण विकासका कामहरू कुनै भनसुन, चिनजान, साथीभाइ, नातागोता नभनी सरकारी नीतिनियम र मापदण्डअनुसार सम्पन्‍न गरेर ठुलो प्रसिद्धि हासिल गरेपछि उनकै पार्टीभित्रका केही नेताहरू उनीबाट डराएर उनको पतन कसरी गराउन सकिन्छ भनेर लागेको वर्णन छ। पतन गराउने विविध छिद्रहरूमध्ये भ्रष्‍टाचार, कमिसन, मदिरापान र युवतीका मुद्दाहरू खोज्न थाले तर उनमा त्यस्ता केही दोषहरू थिएनन्, ती मुद्दाहरू त स्वयम् ती विरोधीहरूकै चरित्रलाई चिनाउने सूचीहरू मात्र थिए। त्यस्ता भ्रष्‍ट, कमिसनखोर, मदिरापेयी र युवतीलम्पट नेताहरूले असल जननेतालाई विकासका कार्यहरूमा सरिक हुन दिँदैनन् र राजनीति विकृत बन्‍न पुगेको छ हाम्रो नेपालमा। यही व्यङ्ग्यात्मक सन्देश दिन खुला समापनको रैखिक क्रममा लघुकथा आएको छ।
‘इकोसिस्टम’ मा विज्ञानका शिक्षकले संसारमा सबै कुरा पारिस्थितिक प्रणाली वा इकोसिस्टमअनुसार चलेको छ भन्‍ने अध्यापन गराउँदा एक जना विद्यार्थीका दिमागमा मान्छे चाहिँ संसारमा किन इकोसिस्टममा चल्दैन भन्‍ने लाग्छ र व्यङ्ग्यपूर्वक त्यसलाई यसरी प्रकट गर्छ, “बाख्राले घाँस खान्छ तर घाँसले घाँस खाँदैन। बाघले बाख्रा खान्छ तर बाख्राले बाख्रा खाँदैन। बाघले बाघ कहिल्यै खाँदैन। तर मान्छेले किन मान्छे खाइरहेछ ?” (पृ. ६४) यसैले मानिसजति नीच र सजातीय घाती अरू कुनै प्राणी छैन। यो व्यङ्ग्यात्मक लघुकथा बन्द समापनमा टुङ्गिएको छ।

‘क्रान्ति’ मा प्रयोगात्मक शैलीमा दुधबाट हुने फाइदा रामे र श्यामे पात्रका माध्यमबाट प्रस्ट पारिएको छ। प्रयोगात्मक बनाउन लघुकथाका तीन उपशीर्षक राखिएका छन् – पृष्‍ठभूमि, कृषि क्रान्ति र आर्थिक क्रान्ति। रामेले एकएक लाख रुपियाँ परेका दुइटा भैँसी अनेक दुःखकष्‍ट गरी पालेर अटुट रूपले दुध खान्छ जो लेखकको भाषामा कृषिक्रान्ति हो। श्यामे चाहिँ दुई लाख रुपियाँ ब्याजमा लगाउँछ र कुनै पनि दुःखकष्‍ट नगरी ब्याजको पैसाले आनन्दसँग अटुट दुध खान्छ जसलाई लेखकले आर्थिक क्रान्ति भनेका छन्। यस प्रसङ्गबाट लेखकले के भनेका हुन् भने कृषिक्रान्ति अति कठिन कार्य हो, यसबाट धेरै दुःख गरेर मात्र फाइदा लिन सकिन्छ। आर्थिक क्रान्ति भनेको सकेसम्म सजिलोसँग लगानी गरेर कुनै दुःखकष्‍ट नउठाई फाइदा खाने धनीमानीको योजना हो। नेपाली समाज कृषिक्रान्तिमा भन्दा आर्थिक क्रान्तिमा बढ्ता रमाउन थालेको पोल लेखकले खोलेका छन्। कृषिकार्य ज्यादै कठिन छ तर पैसा कमाउने ब्याजे धन्दा सजिलो। ठगिखान सजिलो तर परिश्रमपूर्वक काम गरिखान जटिल। बन्द समापन, रैखिकता र घुमाउरो पाराको सामाजिक व्यङ्ग्य यसमा पाइन्छ।

‘उपहार’ मा पश्‍चिमी संस्कारले विकृत हुँदै गएको प्रेमप्रतिको व्यङ्ग्य व्यक्त भएको छ। ‘भ्यालेन्टाइन डे’ ले प्रेमको पवित्रतालाई भन्दा रोमान्सलाई ज्यादा महत्त्व दिएको चोटिलो प्रसङ्ग यहाँ छ। सन् २०१० मा भ्यालेन्टाइन डेको पार्टीमा ‘उनीहरू’ पात्रका बिचमा आँखा जुधे र दुवै मुस्कुराए। २०११ को भ्यालेन्टाइन डेको पार्टीमा केटाले प्रेमको प्रतीक गुलाबको फूल केटीलाई दिँदा केटीले फूल लिई प्रेमिका बन्‍न सहर्ष स्विकारी। २०१२ को भ्यालेन्टाइन डेमा केटी वा सो प्रेमिकाले छोरो उपहार दिई प्रेमी केटालाई। तर दुर्भाग्य त्यो प्रेमी नामको भमरो केटीलाई बिचल्लीमा पारेर फरार भयो। आजभोलिको छेपारे प्रेम चिरस्थायी छैन। प्रेममा नक्‍कलीपना, धोका र चटकेपना बढेकाले नारीहरूको जीवन अश्रुपूर्ण बन्दै गएको छ। सस्तो, बजारु र मूल्यहीन प्रेमको नौटङ्कीले समर्पित उच्‍च र आदर्श प्रेम मरिसकेको छ। यसरी प्रेमको उदात्त संस्कृति न्यून स्तरको विकृति बन्‍न पुगेको तितो यथार्थलाई व्यङ्ग्यात्मक रूपमा सुन्दर रैखिक संयोजन गरी बन्द समापनकै शैलीमा प्रकट गरिएको पाइन्छ।

‘परिचय’ मा खुला समापनको मिठो काव्यात्मक शैलीमा समाजका विविध क्षेत्रका व्यक्तित्वका दुर्बलताहरूलाई उदाङ्गो पारेर व्यङ्ग्य प्रहार गरिएको छ। ‘खोल ओढ्‍यो’ भन्‍ने पदावली वाक्यान्तमा राखी कवितात्मक स्वाद उत्पन्‍न गर्ने यस लघुकथामा ठगीधन्दा चलाउन व्यापारी, पापकर्म ढाक्‍न पुजारी, भ्रष्‍टाचारको कर्तुत छुपाउन नेता, गुन्डागर्दीको व्यवहार छोप्‍न प्रहरी, झगडियाको रूप छिपाउन वकिल, कुरौटेको स्वभाव नदेखाउन पत्रकार, पागलपन लुकाउन साहित्यकार र समग्र रूप छिपाउन मानवअधिकारवादीको बनेर ऊ पात्रले समाजमा चरम बेथिति सिर्जना गरेको देखाइएको छ। व्यक्ति वास्तवमा जे हो त्यो उसको व्यवहार होइन भने त्यसले व्यङ्ग्यको रूप लिन्छ। व्यापारीका नाममा ठगी, पुजारीका नाममा पाप, नेताका नाममा भ्रष्‍टाचार, प्रहरीका नाममा गुन्डागर्दी, वकिलका नाममा झगडिया, पत्रकारका नाममा महाकुरौटे, साहित्यकारका नाममा चरम पागलपन, मानवअधिकारवादीका नाममा त झन् उक्त सबै दुष्कर्म गरेर हिँड्नेहरू नेपाली समाजमा बढे। समाज चर्को विसङ्गतिले ध्वस्त भयो। खोल ओढेका ढोँगीहरूले समाजलाई तहसनहस बनाए भन्‍ने सारतत्त्व यसमा अभिव्यक्त छ। शुद्ध परिचय कसैको पाइँदैन। पेसाअनुसारको सही कार्य कसैले गर्दैन, केवल अभिनय गरेर भाँड्ने कार्य मात्रै हुन थालेको यथार्थलाई घतलाग्दो गरी यसमा देखाइएको छ।

‘मोचन’ मा बल, उमेर र बैँस हुँदा ऊ पात्रले अनेकौँ अन्याय, अत्याचार, शोषण, व्यभिचार र बलात्कार गर्‍यो तर बुढ्‍यौली लागेपछि ऊ सङ्कल्पका साथ धर्मकर्मका कार्यहरू गर्ने, अरूमाथि थिचोमिचो नगर्ने, कसैलाई अन्याय, अत्याचार नगर्ने र हत्याहिंसा नगर्ने भयो। उसले गाउँमा पँधेरो, पोखरी, चौतारो, मन्दिर बनायो। घरमा सप्ताहपुराण लगाई दानदक्षिणा गर्‍यो। चारधामको यात्रा गर्‍यो। तर विडम्बना ! अन्तिममा उसले सङ्कल्प पूरा भएको भाकलअनुसार धुमधामका साथ मन्दिरमा पञ्‍चबलि दियो। बलिसँगै पुनः उसको हत्याहिंसाको चरित्र उदाङ्गियो। यसरी लेखक सूक्ष्म रूपमा समाजका र व्यक्तिका चरित्रहरू नियालेर तिनमा पाइने विरोध र विसङ्गतिमाथि कडा व्यङ्ग्य प्रहार गर्न खप्पिस देखिन्छन्। खुला समापन, रैखिकता, व्यङ्ग्यात्मकता र झट्कादार घटनान्तको शैलीगत सौन्दर्य यस लघुकथामा पाइन्छ।

‘फसाद’ मा बीजवाक्य छ, “मेरो पुरुष अहम्‌ले श्रीमतीले लोग्‍नेमाथि औँला उठाएको पटक्‍कै मन पराएन।” (पृ. ६९) यसैले गर्दा जागिरे म पात्र र उसकी श्रीमतीका बिचमा अफिसबाट छिटै घर नफर्केको विषयमा घमासान झगडा पर्‍यो र तीन दिनसम्‍म बोलचाल र खानपिन दुवैको भएन। तर तेस्रो दिन जब घरमा पाहुना आए तब दुवैलाई फसाद पर्‍यो अनि प्रत्यक्ष नबोल्ने श्रीमतीले श्रीमान् म पात्रलाई मोबाइलबाट मेसेज पठाई, “तीन दिन भो, घरमा दालचामल सकिएको।” (पृ. ६९) यसबाट बुझाएको के हो भने एउटै ओछ्‍यानमा सुत्‍ने पति र पत्‍नीका बिचमा झगडाले लामो रूप लिनु भनेको फसाद वा आपत्‌लाई निम्तो दिनु मात्रै हो। सामान्य रूपमा कहिलेकाहीँ पतिपत्‍नीबिच असमझदारी हुन्छ सँगै बसेपछि। त्यसलाई कहिल्यै पनि अहम्‌को विषय बनाउनु हुँदैन। यदि बनाइयो भने जीवनमा थुप्रै समस्या र दुःख उत्पन्‍न हुन्छन् भन्‍ने सम्झाउनु र पतिले कहिल्यै श्रीमतीलाई तल्लो स्तरकी नसम्झिई समान स्तरमा राखेर व्यवहार गर्नु उचित हो भन्‍ने बुझाउनु यस लघुकथाको मुख्य विचार हो। रैखिकता, बन्द समापन, लैङ्गिक समानता र नारीपुरुषबिचको निसर्त सम्बन्धबारेको वैचारिक प्रक्षेपण यसका अन्य विशेषता हुन्।

‘देउताको मूल्य’ मा कृष्णमानको चुहुन थालिसकेको पुरानो पुर्ख्यौली घरको पूजाकोठामा रहेको देउताको मूर्तिको कथा छ। कसैलाई पनि सो पूजाकोठामा जान वर्जित गरिएको थियो। मूर्तिलाई हेर्नु हुँदैन, हेरेमा अनिष्‍ट हुन्छ भन्‍ने डर देखाइएको थियो। पूजा गर्ने कृष्णमानको पालो आएपछि बाह्र वर्षसम्म सो मूर्तिलाई पुजे पनि केको मूर्ति छ भनेर हेर्न नपाएकाले उसलाई हेर्ने रहर जाग्यो। अनिष्‍टको डर हुँदाहुँदै पनि जेसुकै होस् भनेर एक दिन त्यो हेर्दा त टलक्‍क टल्किने ढुङ्गो रहेछ। चानचुने ढुङ्गो होइन भन्ने लागेर केही मानिसहरूलाई देखाउँदा लाखौँ मूल्य दिने कुरा गरे तर अझ बढी पाइने लोभले अरूलाई पनि सम्पर्क गर्दागर्दै त्यसको हल्ला पुलिससम्म पनि पुग्यो। पुलिसले मूर्ति लिएर गयो। फिर्ता माग्दा पुरातत्त्वमा जँचाउन पठाइयो। ढुङ्गो त जाँच्दा बहुमूल्य क्‍वार्ज क्रिस्टल ठहरियो र सरकारले कृष्णमानबाट स्वामित्व खोसी सरकारी बनायो। यसरी देउताको मूल्य नबुझी पूजा गरेर राख्दा त्यसको कुनै महत्त्व भएन। मूल्य बुझ्न खोज्दा सरकारले खोस्यो। साँच्‍चै खोलेर हेर्दा त कृष्णमानको परिवारलाई ठुलो अनिष्‍ट नै भयो। त्यसको बजारमूल्य पचास करोड रुपियाँ अनुमान गरियो। यसरी व्यक्तिले पूजा गरेर राखेको ढुङ्गो उसको सम्पत्ति पनि हो तर सरकारले त्यसको मूल्यलाई ख्याल गरेर कृष्णमानलाई केही नदिनु घोर अन्याय हो भन्‍ने व्यङ्ग्य छ यसमा। यस्तो सरकारी रवैयाप्रति व्यङ्ग्य गरिएको छ। रैखिकता र बन्द समापनमा प्रस्तुत छ। सङ्ग्रहमा यो सबैभन्दा लामो आकारको लघुकथा हो।

‘बढुवा’ मा दिनेश र प्रवेशमध्ये इमानदार, मिहिनेती र अनुशासित भई काम गर्ने दिनेशलाई बढुवा नगरी चाकरीबाज गफाडी र कामचोर प्रवेशलाई बढुवा गरिएको प्रशासनिक विसङ्गतिलाई देखाइएको छ र यसबाट नेपालको प्रशासनको कमजोरी देखाई त्यसप्रति व्यङ्ग्य हानिएको छ। रैखिकता र बन्द समापन यसमा पनि पाइन्छ।

‘आन्दोलन’ मा ऊ पात्रको विगत र वर्तमानलाई देखाउँदै राजनीतिक विसङ्गतिको चित्रण गरिएको छ। ऊ पात्र स्कुल पढ्दापढ्दै छाडेर सर्वहाराको भविष्य सुन्दर बनाउन हतियारधारीसँग जङ्गल पस्यो, रगत उम्लने प्रशिक्षण लियो, दुस्मनहरू वा सामन्तहरू सिध्याउन छुट्टीमा आएको हवलदारलाई गोली ठोक्यो, गाउँकै पूर्वअध्यक्षका दुवै खुट्टा बन्चराले गिँडिदियो, बुर्जुवा शिक्षा बन्द गराउन आफ्नै स्कुलका प्रधानाध्यापकको घाँटी रेटेर हत्या गर्‍यो, पार्टी चलाउने आम्दानी जोहो गर्न व्यापारीहरूलाई सडकमा पुर्‍यायो र सरकारी बैङ्कहरू लुट्‍यो।

आन्दोलनपछि अहिले उसको पार्टी सरकारमा पुगेको छ। ऊ कानुन, न्याय तथा सङ्घीय मामिला मन्त्री बनेको छ। यसरी घटनाहरूको वर्णनबाट लघुकथाकारले भन्‍न खोजेको कुरा हो हिजोको आन्दोलनकर्ता क्रान्तिकारी पढाइलेखाइ शून्य भएको र सबैलाई काट्ने, मार्ने, लुट्नेबाहेक केही नजानेको व्यक्ति नै आज कानुन, न्याय र सङ्घीय मामिला मन्त्री बन्दा के जनताले यस्ताबाट कानुनी राज, समान सामाजिक न्याय र सङ्घीयताको वास्तविक परिपालन हुन सक्छ ? कदापि हुन सक्तैन। यो नेपाली राजनीतिक विसङ्गतिको चरम परिस्थिति हो।

हाम्रो कानुन र न्याय एउटा मूर्ख, विवेकहीन, अन्यायी र हत्याराका हातमा गएको छ र यसबाट हाम्रो समाज पतनतिर जाँदै छ भन्‍ने सङ्केत गर्दै यस्तो प्रवृत्तिमाथि कडा व्यङ्ग्य प्रहार गरिएको छ। जसको मनमस्तिष्कमा हत्याहिंसा, लुटपाट, काटमार र उग्रता मात्रै छ त्यसले चलाउने कानुन र न्याय कस्तो हुन्छ सहजै अनुमान गर्न सकिन्छ। एउटा बहुलट्ठी पात्रलाई सत्ता सुम्पने आन्दोलनको मूल्यहीन स्वरूपलाई पनि कटाक्ष गरिएको यहाँ पाइन्छ। यही परिस्थिति वैपरीत्यको व्यङ्ग्यचित्र उतारेर नेपाली समाजमा बढेका विडम्बनालाई देखाउने उद्देश्य लेखकको रहेको देखिन्छ। खुला समापन, रैखिकता र व्यङ्ग्यात्मकता यसमा पनि छ।

‘युद्ध परिणाम’ मा विश्‍वमै वीर नेपालीका नामले प्रख्यात नेपालीहरू जित्‍न नसकेको एउटै युद्ध चाहिँ आफ्नै जन्मजात शत्रु महँगी रहेको मार्मिक तस्बिर प्रस्तुत गरिएको छ। यसमा खुला समापन, बढी वर्णनात्मक शैली रहेको पाइन्छ। यसका अन्त्यमा भनिएको छ, “संसार थर्काएर वीर गोर्खाली भनेर विश्‍वमा परिचित वीरलाई आत्मसमर्पण गराउने अर्को शक्तिशाली युद्धविजेता आफ्नै जन्मजात शत्रु महँगी रहेछ।” (पृ. ७६) यस कथनबाट नेपाल महँगी नियन्त्रण कहिल्यै गर्न नसक्‍ने एक कमजोर कानुनी राज्य हो र यहाँ सुशासनको अभाव छ भन्‍ने प्रमाणित गर्दै यसको शासनसत्तामाथि नै कडा व्यङ्ग्यसमेत प्रहार गरिएको भेटिन्छ।

‘खण्डहर’ मा बहत्तर सालको भूकम्पमा काठमाडौँको धरहरामा परेकी र त्यसमा आफ्नो पति कृष्णबहादुर र छोरो गुमाएकी नारी कृपाको मनोवैज्ञानिक पक्ष केलाइएको छ। भूकम्पमा सम्पूर्ण परिवार गुमाई आफू अस्पतालमा लामो समयसम्म उपचार गराएर घर फर्केकी ती महिलाको जीवन अब भूकम्पमा खण्डहर बनेको धरहराजस्तै अवस्थामा पुगेको छ। धरहराको भौतिक संरचना त नयाँ उभियो तर उनको परिवारको पारिवारिक सुन्दर संरचना सदाका निम्ति खण्डहर बनेर उनको मानसिकतामा तीव्र तनावको स्वरूपमा रहिरहेको मनोवैज्ञानिक सत्यको उद्घाटन यहाँ मार्मिक रूपले गरिएको छ। भौतिकताको मर्मत सम्भव छ तर पतिवियुक्ता नारीको मानसिकताको मर्मत गर्ने समाज नेपालमा छैन भन्‍ने देखाउनु लेखकको उद्देश्य बनेको छ।

यसैले प्राकृतिक प्रकोपले क्षतविक्षत पारिवारिक बनोटको खण्डित मानसिक दशाको कारुणिक दृश्य यसमा छ। भत्केको घर बन्छ तर भत्केको वा टुक्रेको मन बनाउन सकिँदैन कुनै उपचारले पनि। बन्द समापन र रैखिकतामा मनोवैज्ञानिक उपस्थापन यसको विशेषता हो। अन्तमा भनिएकै छ, “भुइँचालो गएको पनि धेरै वर्ष भइसकेको छ। ढलेको धरहरा अहिले ठडिइसकेको छ। तर कृपाको मन भने अझै खण्डहर नै छ।” (पृ. ७७)
‘अशुभ’ मा ऊ पात्रको कालोबजारीमाथि सुन्दर ढङ्गले व्यङ्ग्य गर्दै बेजोड चित्र उपस्थित गरिएको छ। ज्योतिषले कालो रङ अशुभ हुन्छ भनेपछि सबै प्रकारका काला वस्तुहरू त्यागेको ऊ पात्रले काम चाहिँ कालोबजारी र कालो धन सञ्‍चय गर्थ्यो। यस दृश्यको सूक्ष्म रेखाङ्कन नै उसप्रतिको कठोर व्यङ्ग्य प्रहार हो।

प्रसङ्गहरूलाई बडो कलात्मक संयोजन गर्दै घटनाको कसिलो बुनोटको विचित्र सङ्गम यसमा लेखकले प्रदर्शन गरेका छन्। प्रस्तुतिको अपूर्व कलाका दृष्‍टिले यो सङ्ग्रहकै सबैभन्दा शक्तिशाली लघुकथा हो। यो खुला समापनको रैखिक संरचनामा रहेको प्रभावशाली व्यङ्ग्य हो। लघुकथाको अन्तमा तारतम्य मिलाएर भनेका कुराहरू बेजोड छन्, “उसको कालो धन्दा थाहा पाएपछि भिडले उसलाई समातेर कालोमोसो लगाइदियो। त्यसपछि उसको कालो कोटवालाकहाँ मुद्दा चल्यो। कालो कोटवालाले उसलाई आजीवन अँध्यारो कालो कोठामा थुन्‍ने फैसला गर्‍यो।” (पृ. ७८)

‘अरुचि’ मा आमा पात्रको पतिवियुक्त र गरिबीग्रस्त अवस्थाको मनोवैज्ञानिक चिरफार गरिएको छ। घरका सारा काम एक्लै भ्याउने आमा अचानक थला परी ओछ्‍यान छाड्न नसक्‍ने गरी लडिरहिन्। बेलाबेला तातोपानीबाहेक केही खानै छोडिन्। छोराछोरीले जति सम्झाए पनि रित्तो भकारी सम्झेर खाना खान अरुचि रहेको देखाइरहिन्। अन्तिममा वर्षौँदेखि हराएका बा घरमा आउनासाथ उनको सारा अरुचि हराएर गयो र उनी तन्दुरुस्त भइन्। उनको वास्तविक रुचि केमा रहेछ भन्‍ने यौनमनोवैज्ञानिक पक्षलाई लेखकले कलात्मक रूपले पटाक्षेप गरिदिएका छन्। यौनशक्तिको अपूर्णता वा अभाव जतिको ठुलो दुःखको तत्त्व मानवजीवनमा अरू केही हुँदैन र त्यसको भरणपोषण हुने स्थिति भएमा सबै कुरामा रुचिको सञ्‍चार हुन्छ र बाँच्‍ने इच्छाले सजीवता पाउँछ भन्‍ने दृष्‍टिलाई लेखकले अन्तमा यसरी खोलिदिएका छन्, “ठिक त्यसै बेला, वर्षौँदेखि हराउनुभएका बा दुई जना भरिया लिएर टुप्लुक्‍क आइपुग्‍नुभयो। त्यसपछि आमा चङ्गा भएर भान्छातिर लाग्‍नुभयो।” (पृ. ७९) यो खुला समापनको रैखिक ढाँचामा वर्णित अनि थोरै शब्द र सानो दृश्यद्वारा गम्भीर रहस्य खोल्ने उत्कृष्‍ट यौनमनोवैज्ञानिक लघुकथा हो।

‘विकास’ मा बडो कलात्मक र विश्‍वसनीय रूपमा नेपाली राजनीतिको व्यङ्ग्यात्मक चिरफार गरिएको छ। छोटो भईकन पनि सारगर्भित यस लघुकथामा नेपालमा विकास गर्ने हास्यात्मक ढाँचाको मिठो प्रस्तुति छ। केन्द्रीय स्तरको बजेट विभिन्‍न मातहतका निकायहरूले खाँदैखाँदै गएर वास्तविक जनताका हित वा विकासका लागि कसरी एक चम्चाजति मात्रै पुग्छ भन्‍ने यथार्थलाई प्रभावकारी ढङ्गले व्यक्त गरिएको छ। सङ्घीय सरकारले पक्‍की पुलका लागि निकासा गरेको बजेटको अंश कसरी अन्तिममा बिलाउँछ र फड्के पुल मात्रै हाल्नुपर्ने अवस्थामा पुग्छ भन्‍ने मन छुने यथार्थ यहाँ प्रस्तुत छ। अहिले नेपाली राजनीतिमा खाएरै बजेट सिध्याउने घृणित खन्चुवा प्रवृत्ति हाबी भएको ज्वलन्त तथ्यलाई लघुकथाकारले दुरुस्त फोटो खिचेझैँ यसरी प्रस्तुत गरेका छन्, “पास गरेको बजेटबाट सङ्घीय सरकारले नै केही रकम झिकेर प्रदेश सरकारमा पठायो। प्रदेश सरकारले त्यहाँबाट केही रकम झिकेर गाउँपालिकामा पठायो। सो रकममध्येबाट केही आफैँसँग राखेर गाउँपालिकाले बाँकी रकम वडामा निकासा गर्‍यो। वडाले केही रकम आफूसँग राखेर बाँकी उपभोक्ता समितिलाई हस्तान्तरण गर्‍यो। सो रकमबाट उपभोक्ता समितिले खोलामाथि काठको फड्के हाल्यो।” (पृ. ८०) यसरी पक्‍की पुल काठको फड्केमा सीमित भयो। यति सशक्त व्यङ्ग्य यसले प्रस्तुत गरेको छ। चाहना हात्तीको तर प्राप्‍ति मुसासरह हो अहिलेको राजनीतिको विकास नामको नाटक। खुला समापन, रैखिकताको विचित्रता र स्तरीय व्यङ्ग्यात्मकता यसमा पाइन्छ।

‘सालिक’ मा जनआन्दोलनका सहिदकी पत्‍नीको मनोविज्ञानलाई देखाइएको छ। बजारको मुख्य चोकमा बनाइएको सहिदको सालिकलाई झमझम पानी परिरहेको बेला जनआन्दोलनमा गोली खाएका म पात्रका दाजुको सालिकमा आएर भाउजूले छाता ओढादिएको घटना यसमा प्रस्तुत छ। यसबाट सहिदपत्‍नीको मन आफ्ना पतिको नाङ्गो सालिकलाई पानी परेको बेला छाता ओढाएर भए पनि माया र श्रद्धा अर्पण गर्नमै तत्पर रहेको हुन्छ भन्‍ने देखाउन खोजिएको छ। सहिदको सालिक बनाएर मृत्युपछि पनि सम्मान गरे पनि नमरी पतिवियोगमा अनेक मानसिक छटपटी बेहोरेर बसेकी म पात्रकी भाउजूलाई उनको मनको व्यथा शान्त पार्ने गरी वास्ता गर्ने समाज छैन त्यसैले घामपानीका जटिल स्थितिमा उनी तीव्र पीडा सहँदै तिनै सहिदका छेउमा उभिएर उनको न्यानो माया र आत्मीयता प्राप्‍त गरेर आफ्नो डढेको मनलाई शीतल बनाउन कोसिस गर्छिन्। बन्द समापन र रैखिकताले छर्लङ्ग पारिएको यस लघुकथामा सहिदपत्‍नीको उचित सम्मान र मूल्य हुनुपर्ने विचार प्रस्तुत छ।

‘सन्ताप’ मा छोराको अवैध यौनसम्बन्धले बाबुमा उत्पन्‍न गरेको तीव्र मनोवैज्ञानिक सन्तापलाई देखाइएको छ। आजभोलिका हाकिमका पिए युवतीहरू हाकिमसँग आमोदप्रमोदको खेल खेल्‍ने मात्रै होइन हाकिमका छोरासित सहवास गरी गर्भिणी भएर हाकिमकी बुहारी भई घरमै भित्रिने बठ्‍याइँ गर्छन् त्यसैले हाकिमले भने पनि एबोर्सन वा गर्भपतन गराउन तयार हुन्‍नन्। यस्तै गरी हाकिमका छोरा पनि इज्‍जतै जाने गरी युवतीसँग अवैध सम्बन्ध राख्‍न माहिर हुन्छन्। यसै समस्याले चरम छटपटीमा सन्तप्‍त हाकिम रोशनकुमारको मनोवैज्ञानिक चित्रण उसकै श्रीमतीसँगको गम्भीर संवादका माध्यमबाट यहाँ प्रस्तुत छ। अहिले हाकिमले पिएलाई होइन पिएले हाकिमलाई खेलाइदिन्छन् भन्‍ने विचार यहाँ व्यक्त छ। खुला समापन, संवादात्मकता, मनोवैज्ञानिकता र रहस्यमयता यसमा पाइन्छ।

निष्कर्ष
समकालीन लघुकथाकारहरूमा दीपक समीप एकदमै भिन्‍न विशेषताले चिनिने विशिष्‍ट लघुकथाकार हुन्। यसलाई यस कृतिभित्रका मौलिक शैलीगत विशिष्‍टताले भरिएका लघुकथाहरूले प्रमाणित गरेका छन्। उनको लघुकथालेखन उच्‍च स्तरको छ। हरेक लघुकथामा उनको घटना बुन्‍ने अद्वितीय कलाकौशल भेटिन्छ। नचाहिँदा गन्थन उनका लघुकथामा पटक्‍कै पाइँदैन। सललल बगेको भाषामा तरेली पारेर भनेका सन्दर्भहरूको विशिष्‍ट र तार्किक आयोजनबाट अत्यधिक पाठकीय आकर्षण सिर्जना गर्नमा बेजोड छन् उनी। मस्तिष्कलाई झनन्‍न पार्ने गरी कथात्मकता बुन्‍ने र व्यङ्ग्य कस्‍ने खुबी उनमा देखिन्छ।

अनेकौँ विषयमाथि तीव्र व्यङ्ग्यात्मक प्रस्तुति गर्नु उनका लघुकथाहरूको एक प्रमुख विशेषता नै हो। काव्यात्मकता, रैखिकता, चोटिलो कथान्तको सुरुचिपूर्ण सिप, घटनाको प्रभावकारी प्रस्तुतिका लागि परिवेश निर्माणको अद्‍भुत संयोजनकला, सरलता र स्पष्‍टता, सङ्क्षिप्तता र पात्रगत स्वल्पता तथा सार्वनामिकता, प्रतीकात्मकता, ध्वन्यात्मकता, तार्किकता आदि उनका लघुकथाका विशिष्‍ट गौरव हुन्। छयसट्‍ठीमध्ये चालिस लघुकथामा व्यङ्ग्यको प्रयोग गर्ने दीपक वर्तमान नेपाली लघुकथाका व्यङ्ग्यधर्मी र व्यङ्ग्येतर दुवै शैलीमा पोख्त रहेका एक शीर्ष व्यक्तित्व, गौरव र सबल उपस्थिति वा प्राप्‍ति हुन्।

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
0
Would love your thoughts, please comment.x
()
x