लक्ष्मण गाम्नागेभोले, डोले, चिरे र हाम्रो चौर
कामका नाममा एक टुक्रो कागज पनि नटिप्ने तर गफ जोतेर संसारै हॉक्ने खालका छन् कृष्णप्रसाद, ईश्वर, केशवे, खड्गे, झरेन्द्र, प्रदीप, विजय आदि । चौर सफा गर्न त यिनीहरूले सघाउॅदैनन् तर चुट्किला सुनाएर हामीलाई रमाइलोचाहिॅ पार्छन् ।

आज शुक्रबार भएकोले हामी सबै विद्यार्थी हाम्रो स्कूलको चौर सफा गर्न चौरको ओल्लो छेउमा भेला भएका छौॅ । ८, ९ र १० कक्षाका हामी साथी होउॅला त्यस्तै अढाई सय जति । सबैका नाम म जान्दिन, तर मैले राम्ररी चिनेका साथीका नाम म यो दैनिकीमा लेख्न चाहन्छु, जसले गर्दा पछि ठूला भएर हामी जहॉजहॉ पुगे पनि नाम सम्झना भइरहोस् ।
म रामकुमार भइहालेॅ । मेरा साथी झविन्द्र, मोहन, गिरिजा, खगेन्द्र, विमल, विजयकुमार, खुमबहादुर, हरेराम, जयप्रकाश, डोलराज, श्याम कार्की, चिरञ्जीवी, अच्युतकृष्ण, धीरेन्द्र, अर्जुन, हरिगोविन्द, मोतिलाल, कृष्णराज, सूर्यनाथ, बलिराम, मित्रलाल, रविन, पारस, बाबुराम, अभि, गोविन्दराज, प्रदीप, पद्मरत्न, ईश्वरी, गोवद्र्धन, माधव, भरत, गोपिकृष्ण, खड्ग, शेरबहादुर, तर्कराज, हरिप्रसाद, रघु, युवराज, तुलसी, झरेन्द्र, ज्ञानेन्द्र र अरुअरु पनि थुप्रै छौॅ हामी । केटी पनि छन् थुप्रै- सुजाता, प्रिती, सारङ्गा, उमा, देवीमाया, शैलजा, भद्रा, हरिमाया आदि ।
साथी अनेक स्वभाव र अनेक आकारप्रकारका छन् । कोही छन् बलिया भुसतिघ्रे । कोही छन् सुकेका अग्लाअग्ला बॉसजस्ता । तिघ्रेमा खुमबहादुर, बेनीबहादुर, रमेश, तर्कराज, बाबुराम, बद्री आदि पर्दछन् । सुकेका बॉस जस्तामा गिरिजा, अभिहरूलाई लिन सकिन्छ । छुद्र मतिकामा प्रदीप, पारस, पुष्पकमल, छविलाल, हर्कबहादुर आदि पर्दछन् । विष्णु, राधाकृष्ण आदिलाई अल्छे, भातमारा र धोकेवाजको रुपमा गणना गर्ने गरिन्छ । कामका नाममा एक टुक्रो कागज पनि नटिप्ने तर गफ जोतेर संसारै हॉक्ने खालका छन् कृष्णप्रसाद, ईश्वर, केशवे, खड्गे, झरेन्द्र, प्रदीप, विजय आदि । चौर सफा गर्न त यिनीहरूले सघाउॅदैनन् तर चुट्किला सुनाएर हामीलाई रमाइलोचाहिॅ पार्छन् ।
निहुॅखोजाहा, चुक्लिवाज र कुरौटे छन् कोहीकोही । जस्तै गिरिजा, उमानाथ, साधुराम, आदि । तीमध्ये पनि गिरिजा त साह्रै निहुॅ खोजाहा । कसैले उसलाई हेर्यो भने ऑखा तर्यो भन्छ, छोयो भने कुट्यो भन्छ, घॅचेड्यो भने त मार्यो नै भन्छ । न कक्षाको मनिटरले भनेको मान्छ, न सरलाई नै गन्छ । गुण्डा केटासॅग पनि सकीनसकी भिड्छ, कुट्छ, कुटाई खान्छ ।
कुट्ने, कुटाउने, र ग्याङ्फाइट चलाउने आदि दुष्कर्ममा धेरैजसो खुमबहादुर, पुष्कमल, विजय, सोम, पारस, पशुपति र कमल संलग्न हुन्छन् । स्कूलमा झैझगडा भयो भने यिनीमध्ये कसै न कसैको संहभगिता हुन्छ हुन्छ । यिनैका कारण स्कूलमा बेला बेलै अशान्ति मच्चिरहन्छ । कैयो पटक त स्कूलै बन्द भएको छ ।
विमल, अर्जुन, तीर्थ, कृष्णमुरारि, टुकलाल, मित्रलाल र मायाको छुट्टै संसार छ । उनीहरू स्कूलमा साहित्यिक सॉस्कृतिक कार्यक्रम चलाउने, कविता कथा सुनाउने गर्छन् । खासमा चौर सफा गर्ने काममा यिनीहरू हात हाल्दैनन् तर चौर सफा गरौॅ, स्कूल राम्रो पारौॅ भन्ने व्यहोराका कविताचाहिॅ खूव सुनाउॅछन् । कविताले चौर सफा हुॅदैन । हामी चौर सफा गर्न लागेका छौॅ, उनीहरू कविता फुराउन रुखको फेदमा बसेर ठॅस्ठॅसी कनिरहेका छन् । विमलले अस्ति पारसलाई व्यङ्ग्य गरेर कविता सुनाउॅदा कुटाई पनि खायो बिचरा !
हामी यता चौर सफा गर्दैछाैँ, उता डोलराज, श्याम कार्की, चिरञ्जीवी, बद्रीनाथ, मोतिलाल र प्रदीपजङ्गहरू भने हाम्रा झोला खोतलेर पेन्सिल इरेजर चोर्दै होलान् । फोहोर लाग्ला भनेर सर्ट कक्षा कोठामै फुकालेर चौर सफा गर्न आउॅदा अघिल्लो महिना कत्तिजनाको टिफिन खाने पैसा नै उडाएछन् बज्याहरूले । पैसा भने पछि त आचीमै झरेको पनि छाड्दैनन्, फोहोरीहरू !
भोला, तारा, मेदिनी, हरेराम, घनश्याम, रामप्रसाद, तुलसी र देविरामचाहिॅ साह्रै सोझा र इमान्दार । जहिले पनि चौर सफा गर्ने काममा यिनीहरूनै घोट्टिन्छन् । शम्भुराम, मंगल, लेखनाथ पनि भद्र छन् । पढाई लेखाईमा पनि उत्कृष्ट दशभित्रमा यिनीहरूनै पर्छन् । कृष्णराज, बलिराम, बाबुराम र लम्वोदर पनि पढाइमा त उत्कृष्ट नै छन् तर अलि झगडालु र हिॅस्रक पाराका छन् । बाबुराम त कसैलाई टेर्दैन, मन्दिरमा त थुक्तै हिॅड्छ ।
आज पनि फटाहा केटाले जनार्दनलाई रुवाए । जनार्दन साह्रै सोझो छ । अस्तिका पालि जनार्दनलाई नाङ्गै पारेर सेम सेम भन्दै जिस्क्याएर रुवाए, आज चाहिॅ बिचराको टोपी उडाएर हैरान । अच्युतले जनार्दनको टोपी झिकेर आकाशमा फ्यॉक्यो, त्यो टोपी बलिरामले समात्यो । जनार्दनले खोस्न खोज्दाखोज्दै बलिरामले टोपी हुर्र्याएर चिरञ्जीवीलाई दियो, चिरञ्जीवीले झविन्द्रलाई, झविन्द्रले पदमलाई, पदमले मोतिलाललाई, मोतिलालले प्रदीपजङ्गलाई, प्रदीपजङ्गले विजयकुमारलाई, विजयकुमारले सूर्यनाथलाई, सूर्यनाथले डोलराजलाई, डोलराजले रविनलाई, रविनले शेरबहादुरलाई शेरबहादुरले ज्ञानेन्द्रलाई । बिचरा जनार्दन टोपी खोस्न यताबाट उता उताबाट यता दगुर्दा दगुर्दै हैरान भएर कतिपटक पछारिएर लडेर उपायहीन भएर भुईॅमा थचक्क बसेर क्वॉक्वॉ रुन थाल्यो । बबुराको खुट्टाको बुढी औॅलो फुटेर रगतपच्छे भएछ । अस्ति पनि उसको कट्टु तानिदिएर कम्ति रुवाएनन् सालेहरूले ।
चौर सफा गर्ने भन्नु त कुरै मात्र हुन्छ । काम गरिराखेका केटीको समूहमा पसेर बलबहादुर, बद्री, कृष्णप्रसाद र लयहरू जिस्किन र जिस्क्याउन थाल्छन् । केटीको रिवन फुकालिदिने, किराफट्याङ्ग्रा टिपेर जिउमा हालिदिने गर्न थाल्छन् । केटीमध्ये पनि प्रिती, सारङ्गा, उमा, उषा, झरना, रेखा र अस्मिनाहरू त कम्तिका छैनन् । केटाभन्दा अघि बढेर इत्रिन थालिहाल्छन् । यिनीमध्ये धेरैका एउटा न एउटा केटासॅग प्रेम चलेको छ भनेर भन्छन् । तर हामीले हेर्दा त यी केटी प्रेम होइन केटालाई झुक्याएर मनोरञ्जन मात्रै गर्छन् जस्तो लाग्छ । जोसॅग पनि उत्तिकै नजिक हुन्छन्, जिस्किन्छन् टॉस्सिन्छन् ।
दिन बित्न लागिसक्यो । एक चौथाई चौर पनि सफा भएको छैन । हामी सफा गर्दै अगाडि बढ्छौॅ, पछाडिबाट खुमे, चिरे, बिस्ने, गोबिन्दे, सीती, डोले, झरनी र अच्युतेहरू चटपटे, चुइगम, केरा खाएर कागज र बोक्रा छर्दै आउॅछन् । त्यसमा पनि चिरञ्जीवी मोतिलाल र अनुपे त उस्तै परे चौरमै पिसाव फेर्न पनि पछि पर्दैनन् । स्कूलका भित्तामा लभलेटर लेख्ने, ट्वाइलेटका भित्तामा फोहोरीफोहोरी चित्र कोर्ने, केटीका व्यागमा स्कूलका जेहेन्दार र भलाद्मी केटाको नाममा चिठी लेखेर हालिदिने इत्यादि काममा यिनीहरूनै संलग्न छन् भनेर सबैले शङ्का गर्छन् । सोझा-सिधा सरका प्यान्टमा पुच्छर हालिदिने, साथीका व्यागमा केराका बोक्रा, कुहिएका गोलभेॅडा हालिदिने जस्ता उल्लु काममा पनि यिनीहरू नै पक्राउ परेका छन् कतिपटक ।
छ्या ! लौ हेर यो चौर कस्तो फोहोर ! कहिल्यै सफा नहुने भो हाम्रो स्कूलको चौर । यस्ता फटाहा र लम्फू विद्यार्थीको बोलबाला रहुन्जेल यो चौर सफा हुॅदैन ।
यो दैनिकीको डायरी चाहिॅ लुकाएर राख्नुपर्छ । साथीभाइको बानी व्यहोराको भण्डाफोर गरेको छु, भेट्टाएर पढे भने त मेरा आन्द्राभुॅडी निकालेर त्यही चौरमा छर्छन् । आधारात भइसकेछ, सुत्छु अव ।
Subscribe
Login
0 Comments
Oldest


































