इन्दिरा चापागाईंमृत्युपुकार
उनले खुलेर बोलिन, “डाक्टर बाबु, मलाई मर्ने सुई लगाइदिनुस् अनि शरिर र मन दुवैको क्यान्सरबाट मुक्त गरिदिनुस् न बिन्ती छ ।”

इन्दिरा चापागाईं :
एक वृद्धा अस्पतालको सैयामा छट्पटाइरहेकी थिइन् ।
“चाँडै लिन आऊ प्रभु ! मलाई बाँच्ने रहर पुग्यो ।” उनले आँखा चिम्म गरेर जम्ला हात गर्दै भनिन् । नर्सले धेरै दिनदेखि उनको यो व्यवहार नियाल्दै थिइन् तर उपाय केही थिएन ।
“के भयो आमै ?” नर्सले सोधिन् । उनले प्रत्युत्तरमा आँसु मात्र बगाइन् । “तिमीले जन्माएर मैले दुखी जीवन बाँच्नु पर्यो । नजन्माको भए हुन्थ्यो नि ।” छोरीले धेरै पटक भनेको सम्झिइन् ।
“सन्तान जन्माएपछि उसको माग पुरा गर्दिनु त पर्छ नि, मैले जन्माउँन लाएको हो र ?” छोराले घरिघरि भनेको पनि सम्झिइन् । कुलतमा डुबेको र आफुले कति गर्दा पनि सुधार्न नसकेको गैह्रजिम्मेवार लोग्ने पनि सम्झिइन् र उनको मन छियाछिया भयो । उनले आफ्नै भाग्यलाई धिक्कारिन् र घुटुक्क आँसु पिइन् । दुखाइले फेरि फत्र्याकफत्र्याक भइन् । डाक्टरले नदुख्ने औषधि दिए अनि अलि सञ्चो भयो ।
आफुले हजार दुख गरेर घर सम्पति जोडेकी थिइन् । छोरीलाई इन्जिनियर र दुवै छोराहरूलाई डाक्टर बनाएकी थिईन् । छिमेकमा पनि उनको उच्च सम्मान थियो । यस्ता कुरा सम्झेर एकछिन् प्रफुल्ल पनि भइन् । उनले खुसी र पीडा दुवै मनको तराजुमा राखिन् । पीडाको वजनले भुईं छोयो । आफ्नो सुन्दर सुकुमार जवानी सम्झिइन् र अहिलेको रोगी, जीर्ण शरिर हेरिन् । फेरि दुखाइ बढ्न थाल्यो । उनले मसिनो स्वरमा भनिन्, “पलपल मरेर बाँच्नुभन्दा एकपटक मर्नु ठिक हो ।”
“के भन्नु भएको आमा ?” अचम्म लागेर डाक्टरले सोधे ।
उनले खुलेर बोलिन, “डाक्टर बाबु, मलाई मर्ने सुई लगाइदिनुस् अनि शरिर र मन दुवैको क्यान्सरबाट मुक्त गरिदिनुस् न बिन्ती छ ।”
०००
सभापोखरी, सङ्खुवासभा
(हाल : सूर्यविनायक, भक्तपुर)









































सुन्दर