खेमराज पोखरेलअदामल
बुबाले भने, ‘म वृद्धाश्रम जानु भनेको कहाँ परिवारसँग अलग हुनु भनेको हो र ? कहाँ परिवारको मायाबाट बञ्चित हुने हो र ? सन्तानको शुभेच्छासहित जाने हो नि !’

खेमराज पोखरेल :
छोराले पैँसट्ठी बर्षे बाबुको खुट्टा नै समायो र कसैगरी पनि जान नदिने कुरा बतायो ।
बाबुले छोरालाई हातले उठाएर अनुहार मुसार्दैै भने, ‘स्यावास छोरा ! मैले सुपुत्र जन्माएको रहेछु । तेरी आमा गइहाली, नत्र यो तेरो पितृभक्ति देखेर कति खुसी हुन्थी होली !’
छोराले हँसिलो अनुहार लगायो । वृद्ध बाले फेरि भने, ‘तर मैले वृद्धाश्रममा जानै पर्छ छोरा ।’
‘किन र बुबा ?, हामीबाट के गल्ती भयो र ?’ छोरा गिडगिडायो ।
बुबाले भने, ‘परिवारका कसैबाट गल्ती केही भएको होइन, तर समाज फेरिएको कुरा हामी वृद्धले पनि बुझ्नुपर्छ बाबु ।’
छोराले भन्यो, ‘समाज फेरियो भन्दैमा बुबाले वृद्धाश्रम जानुपर्छ र ?’
बाबुले भने, ‘जमानाअनुसार चल्नुपर्छ बाबु ।’
‘किन बुबा ?’ छोराले भन्यो ।
बुबाले भने, ‘छोरा ! तैँले जागिरमा जानै पर्छ । नगए मुखमा माड लाग्दैन । बुहारी जागिरमा छे – जमाना महँगो भयो, एक्लैको कमाइले पुग्दैन – जानै पर्छ । नातिनातिना बोर्डिङमा छन् – जमानाअनुसार गुणस्तरीय शिक्षा दिनै पर्यो । किनकि विश्व नै एक समाज, एक चुनौती, एक अवसर र एक गाउँ भएको छ । फेरि समयलाई रोकेर कहाँ रोकिन्छ र बाबु ! तिमीले संसार जित्नु छ, मैले पनि आफ्नो संसारमा बाँच्नु छ ।’
‘त्यो कुरा त मैले बुझेको छु नि बुबा ! तर वृद्धाश्रम जाने कुरा पो मैले बुझेको छुइनँ ।’ छोराले थप्यो ।
बुबाले भने, ‘म वृद्धाश्रम जानु भनेको कहाँ परिवारसँग अलग हुनु भनेको हो र ? कहाँ परिवारको मायाबाट बञ्चित हुने हो र ? सन्तानको शुभेच्छासहित जाने हो नि !’
‘नजानु न बुबा ।’ छोराले भन्यो ।
बुबाले लामो श्वास तानेर भने, ‘यस परिवारमा दामलबिना समय काट्न नसकिने रहेछ बाबु !’
०००
रूपनगर, सप्तरी (हालः सान मार्कोस, अमेरिका)
Subscribe
Login
0 Comments
Oldest










.jpg)




























