आर.सी. रिजालसफल जीवन
भेटघाटमा सधैं ठट्टा गर्न रुचाउने चालिसेको अनुहारमा आज रौनक थिएन । उनले औपचारिकता पुरा गर्न- लौ म आएँ । अब चिन्ता गर्न पर्दैन । सब ठिक हुन्छ भने । गौतमले नवागंतुकझैँ ठानेर एकोहोरो चालिसेको अनुहार हेरिरहे मात्र।

आर.सी. रिजाल :
गौतमजी युवा अवस्थादेखि नै सामाजिक कार्यमा तल्लिन रहने व्यक्ति हुन् ।आफ्नो क्षमताले भ्याएसम्म यस्ता कार्यमा खर्च गर्न उनी पछि पर्दैनन्। केहि संस्थामा अक्षयकोषको व्यवस्थासमेत गर्दिएका छ्न् । उनी भन्ने गर्छन्- “भरोसा गर्न लायकका व्यक्ति फेला नपरेकोले मान्छेले ढुङ्गा वा धातुलाई इश्वर मानेरै पुज्न परेको हो ।” यस्तै भनाइको कारण कतिपयले उनलाई नास्तिक पनि भन्ने गर्छन्।
उनलाई क्यान्सरले झन गाँज्दै ल्याएको छ। हिजोआज बाक्लै आफन्तजन भेट्न आउन लागेका छ्न् । बुबाको मायाले जेठी छोरी दया माइतै बसेकी छिन् । डाक्टरले अनुमान गरेको म्याद गुज्रिएको ६ महिना भैसक्यो। भेट्न आउनेहरुलाई गौतम- ” तपाईंहरुको मलिनो अनुहार देख्दा मेरो दिन घट्दै गएको आभास हुन्छ । आफन्त जनको हँसिलो अनुहार देख्दा बिरामीको आत्मबल बढ्छ ।नेपालीको सरदर आयुलाई मिचेर ७३ मा टेकिसकेँ। किन चिन्ता गर्नु हो ?” भन्दै हाँस्ने गर्छन् ।
आज गौतम बुढालाई ब्यथाले च्यापेको देखेर दयाले बुबाको इसारा अनुमान गरि उहाँको घनिष्ठ साथी कुमार चालिसेलाई फोन गरिन्।
करिब एकघन्टापछि चालिसे आइपुगे।उनलाई देख्नासाथ गौतम हाँस्न खोजेझैँ ङिच्च दाँत देखाएर अड्किअड्की- ए चालिसे…. मैले तिमीलाई……. छाड्ने समय आ … जस्तो छ। तिम्रो अनुहार हे ..र… मन ….. भने।
भेटघाटमा सधैं ठट्टा गर्न रुचाउने चालिसेको अनुहारमा आज रौनक थिएन । उनले औपचारिकता पुरा गर्न- लौ म आएँ । अब चिन्ता गर्न पर्दैन । सब ठिक हुन्छ भने । गौतमले नवागंतुकझैँ ठानेर एकोहोरो चालिसेको अनुहार हेरिरहे मात्र।
केहिबेरको सन्नाटालाई चिर्दै दयाले- ए बुबा अब तपाईंले भगवानलाई भेट्ने समय हुनलाग्यो । उहाँको नाम लिनुस् भनिन् । चालिसेले- ए दया ! तिमलाई बुबाको आनिबानी थाहा छैन ? अब बुबालाई भगवान नै लिन आउँदैछन् भने उहाँसँग भेटेर आफै कुरा गर्नुहुन्छ। किन सकिनसकी नाम लिन कर गर्छ्यौ । उहाँलाई सकस हुन्छ भने।
चालिसे झर्न लागेको आँसु पुछ्दै, गौतमको बिगतलाई स्मरण गर्दै,आफ्नो मनमा कुरा खेलाउँछ्न्- अब यो समाजमा यिनको अभाव अवश्य खट्किन्छ। वास्तवमा समाजमा अभाव खट्किनु नै मानिसको जीवन सार्थक वा सफल हुनु हो। धन्य हौ मित्र …..!
०००
मकवानपुर







































प्रेरक कथा!