आर.सी. रिजालअनागरिक
भैगो बाबू अब हाम्रो लागि कस्ट नगर्नुस् । यहि माटोमा जन्म्यौ, यहीँ पसिना बगायौँ, राज्यको तर्फबाट केहि सहुलियत पाएनौ । अब अनागरिक भएरै मरिने भैयो भन्दै आँसु झारे।

आर.सी. रिजाल :
एकअर्काको हात समाएर लैनो भैंसीको पाडो हिडेँझैँ हिँड्ने बुढाबुढी देखेको झण्डै एकसाता भयो । दुबै वृद्ध भएकाले कसले कसलाई सहारा दिएर हिँडेका हुन् ठम्याउन सकिदैनथ्यो।
एकदिन खुलदुली मेट्न नगिचै पुगेर सोधेँ। बुढाले – वृद्धभत्ता पाइन्छ रे भनेर नागरिकता बनाउन आएको । प्रशासन र वडा कार्यालय धाँउदाधाँउदा हत्तु भैयो भने।
सहयोग पुर्याउन सकिन्छ कि भनेर वडामा पुगेँ। वडा अध्यक्षले- उहाँहरु ७०/७५ वर्ष अगाडि यहि वडाको लामिडाँडा भन्ने ठाउँमा जन्मेको भन्नुहुन्छ। त्यहाँको बस्ती उठेको तिसौँ वर्ष भयो होला। मुचुल्का उठाउन चिन्याजान्या कोहि छैन। र अन्य प्रमाणित कागजात केही छैन। अनाहकमा हामी फस्छौँ । जिल्ला प्रशासनमै जानुस् भने।
जिल्ला प्रशासनमा वडाको सिफारिसबिना नागरिकता उपलब्ध गराउन सम्भव छैन भने। मैले- उहाँलाई लामिडाँडाको पानीको मुहान, खोल्साखोल्सी, चौतारो, गौचरन आदि सबै थाहा छ भन्नुहुन्छ । अनि उहाँहरुको अनुहार हाम्रो पहाडबासीसँग ठ्याक्कै मिल्छ।उसै त हाम्रो समाजमा जेष्ठ नागरिक अवहेलित छ्न्।उहाँहरूले वृद्धभत्त्ता पाए कल्याणै हुन्थ्यो।अलिकति मानवताको हिसाबले पनि हेर्दिन पर्यो हजुर भनेँ।
अधिकृतले- तपाईंले हामीलाई मानवता र कानुनको पाठ पढाउन पर्दैन भने । मैले- ठिक छ, तपाईंको भनाइलाई माने । यिनलाई नागरिकता हैन वृद्धभत्ता पाउने व्यवस्थामात्र मिलाइदिनुस् । यस्ता वृद्धबाट नागरिकता दुरुपयोग पक्कै हुँदैन भने ।
अधिकृतले- हेर्नुस् हामी नीति बनाउने ठाउँमा परेनौ। अहिले त नागरिकता मात्र हैन, राष्ट्रिय परिचयपत्र नै चाहिन्छ। असंभव कुरा उठाएर हाम्रो समयको बर्बाद नगर्नुस् भने।
बाहिर निस्केपछि बुढाले- भैगो बाबू अब हाम्रो लागि कस्ट नगर्नुस् । यहि माटोमा जन्म्यौ, यहीँ पसिना बगायौँ, राज्यको तर्फबाट केहि सहुलियत पाएनौ । अब अनागरिक भएरै मरिने भैयो भन्दै आँसु झारे।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































