रामशरण न्याैपानेगोठाली
गालामा पनि चाउरी खुब परे चढ्दो जवानी छँदै पाई चोट ठुलो गयो हृदय झन् ऐनासरी चर्कदै होला साम्य कहाँ पुगेर कहिले यस्तो उपद्रो सब गोठालीकन धेर मुस्किल भयो यो गोठ धान्नै अब ॥

आँखा तीक्ष्ण लगाउँछन् बन बुटा देखे जता शोभित
पार्छन् पूर्ण बिमाख बोट बिरुवा राखिन्न है सञ्चित
छानो नै खरको थुतिकन डिँगा खान्छन् मजाले सब
गोठालीकन धेर मुस्किल भयो यो गोठ धान्नै अब ॥१
पाटो सुन्दर यो हिमाल मुनिको उम्दा थियो वैभव
मान्छे सभ्य तथा समुन्नत थिए बढ्दै थियो गौरव
पाल्दा आज डिँगा विशाल कदका थारा बकेर्ना सब
गोठालीकन धेर मुस्किल भयो यो गोठ धान्नै अब ॥२
पुर्खाले अघि आर्जिए अवनि यो पारेर स्वर्गै सरी
साना गोठ समेत पुष्प लतिका राखे सधैँ बल्लरी
मासे आज बगान छैन गतिलो उम्दा बनेको तब
गोठालीकन धेर मुस्किल भयो यो गोठ धान्नै अब ॥३
पार्छन् फाँट सखाप धान गहुँका कोदो मकै फापर
दाम्लो धेर छिनाउँछन् बलगरी दिन्छन् बडा हन्डर
बाली मात्र रुचाउँछन् नि नगदे पार्छन् धुलो वैभव
गोठालीकन धेर मुस्किल भयो यो गोठ धान्नै अब ॥४
गालामा पनि चाउरी खुब परे चढ्दो जवानी छँदै
पाई चोट ठुलो गयो हृदय झन् ऐनासरी चर्कदै
होला साम्य कहाँ पुगेर कहिले यस्तो उपद्रो सब
गोठालीकन धेर मुस्किल भयो यो गोठ धान्नै अब ॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































