दीनानाथ पाेखरेल“बा” (काव्यांश- १६)
आफ्नै हुन्छ परम्परा हित हुने भेटिन्न उम्दा अरू । रक्षा गर्न जुटे भलो नर भनी आफ्नै बँच्यो आबरु ।। अर्काका वशमा फसे जुनी गयो हेक्का मनैमा लिनू । जोगी सन्त विचार गर्नु तिनको माना भरी अर्पनू ।।

दीनानाथ पाेखरेल :
विधाता हो पापी विधि बह हुने रच्दछ किन ? 
सधैँ पार्छन् निम्जो सकस अति बढ्छन् हरछिन ।।
बनाएको रोगी तनगति लुलो हुर्मत लिन ।
बढे शङ्का भारी मन जलन पार्दै छिनछिन ।।१३५।।
खुसी भत्क्यो आफ्नो सकस मन बढ्दा अतिशय ।
खुसी भाग्दा टाढा थरथर डरी बढ्दछ भय ।।
कहाँ दुख्छन् बाबा ? पिर बह भरी बुझ्नु कसरी ?
कहाँ दिन्थ्यो थाहा कुपित मनको दैव नठगी ?१३६।।
बोकूँ हात खुँडा डटेर म लडूँ त्यो काल टुक्रा गरूँ ।
आफैँ अग्नि जलाउँदै सब डढोस् होमूँ र हाँसो भरूँ ।।
काटी टुक्टुक नून चूक म छरूँ त्यो काल रोओस् लडी ।
मारूँ मार्न सकिन्छ मान्छ मन यो आशा अनौठो बढी ।।१३७।।
आशास्तम्भ ढल्यो गयो पर भयो छाती जलेको म छु ।
त्यो हो काल विधान दैव खुदको भन्छन् सबैले न छो ।।
दैवी बन्धन बुझ्न खोज्न सहसा विज्ञान लागोस् अब ।
छेकी काल हटाउने पथ मिले सम्पूर्ण रम्थ्यो भव ।।१३८।।
जान्ने विज्ञ बडो बनेर म घुमेँ लड्दा बनेँ बालक ।
यो जम्मै विधि फेर्न शक्ति नभए के गर्नु खै बक्बक ।।
के सामर्थ्य बिना बडो छु म भनूँ सेखी न हो रिक्त यो ।
हेर्दा यो सब छक्क मान्छ बबुरो खोक्रो बुझी धाक यो ।।१३९।।
औँसीझैँ बनिए सबै पलहरू कालो अँध्यारो बढी ।
मायाले दिल घोच्छ पोल्छ लुछ्दै छ छाती गढी ।।
भाग्यो शक्ति सबै निरर्थक बनी के काम के चाहियो ?
जानै पर्दछ टार्न सक्छ कसले यो ज्ञान ता पाइयो ।।१४० ।।
यौटा खास कुरा ल सुन् अघि पिता भन्थे खुलाई सब ।
नासिन्छन् सब जीव यो अवनिका त्यागेर जान्छन् भव ।।
मात्रै विश्व गुणी सुकर्म यदि होस् बाँच्नेछ वर्षौँ तक ।
आफ्ना लागि त बाँच्न जान्दछ किरा रोजेस् परार्थी पथ ।।१४१।।
मान्छे ज्ञान विवेक चिन्दछ भनी उम्दा भयो भन्दछन् ।
खट्दै नित्य अभाव मेट्न नसके लाछी सरी गन्दछन् ।।
उठ्नै पर्छ उँभो परार्थ हितमा सत्कर्म पस्केपछि ।
मान्छे पाउँछ नित्य मान जनको सुध्रन्छ आफ्नै गति ।।१४२।।
आफ्नै हुन्छ परम्परा हित हुने भेटिन्न उम्दा अरू ।
रक्षा गर्न जुटे भलो नर भनी आफ्नै बँच्यो आबरु ।।
अर्काका वशमा फसे जुनी गयो हेक्का मनैमा लिनू ।
जोगी सन्त विचार गर्नु तिनको माना भरी अर्पनू ।।१४३।।
पाइन्थे गुणज्ञान योग्य हितका यी दिन्छ कल्ले खुली ?
मेरो चेत अनेक बोक्छ बह यी त्याग्दैन अन्तै डुली ।।
यौटा मानव योग्य पार्न युगको बाटो बतायौ तर ।
तानी दूर लगेर रम्छ यम त्यो खुल्दैन हाँसो घर ।।१४४।।
०००
सूर्यविनायक भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































