बुढ्यौली काव्य शृङ्खला (५३)
अमालीको माली सरह दिलले, वृद्ध पगरी । म थामूँ हातामा मन-मगजले आदर गरी ॥ विलासीको लाछी अझ कति बनूँ भौतिक धन । चिताका हातामा सब पछि लिई जान्छ र जन ?
देवीप्रसाद मिश्र :
जेठाबा भन्छन् “अमर चिजको सञ्चय गरूँ”
थियो आशा झार्ने शशि सगरको सूर्य भवमा ।
गयो जम्मै मेरो अब बलबुता छैन सँगमा ॥
बुझेँ यस्तै मैले विषय सब हो बन्धन ठुलो ।
गरौँ वेलामा नै परमपदको खोज गतिलो ॥ (३२३)
सिकारीझैँ ताक्दै अब नजिकमा काल छ ठुलो
यता भाग्दा लुक्ने भवबिच कुुनै देख्दिन दुलो ॥
भकारी तृष्णाको न त बल हुँदा पूणर् गरियो ।
थकौलीको माछा सरह अब यो जीवन भयो ॥ (३२४)
न आमाका इच्छा हृदयगतका पूणर् गरियो ।
न बाबाका केही मनमुटु छुने कार्य गरियो ॥
म चाहन्थेँ आफैँ सकल भवको बन्दछु बलो ।
सदिक्षा वैलाए विकल मनमा साहस गल्यो ॥ (३२५)
भरोसा मानेको सफल रहला, जीवनगति ।
भयो फोस्रो मेरो, विरहपन पोखूँ अब कति ॥
कुवेलाको मेला अझ कति भरूँ जीवनबलो ।
मकाएझैँ लाग्ने तर छ, मनमा थप्दछु तलो ॥ (३२६)
हिँडेको बाटो जो अघि सहजको अक्कर भयो ।
यता फिर्ने,पाटो, न त छ सजिलो त्रास भरियो
चढौँला भन्ने यो मन अघि थियो उच्च चुचुरो ।
भयो सोच्दा सोच्दै वितल पथमा लक्ष्य अधुरो । (३२७)
कुबाटोको लाटो सरह बबुरो आज म भएँ ।
सुबाटोको पाटो अब नचिनिए व्यर्थ बनिएँ ॥
तबेलामा हेला तर म नबनूँ व्यर्थ कहिले ?।
छ वेलाको खेला अमर चिज खोजूँ म जहिले ॥ (३२८)
गुम्यो वेला मेरो वय पर गयो शक्ति सकियो ।
त्यता फिर्दा उल्टो चसचस गरी दुख्दछ हियो ॥
यता हेर्दै आफ्नो सहज पथको चिन्तन गरी ।
युगौँ बाँच्ने केही अमर चिज खोजूँ मन भरी ॥ (३२९)
विधाताले खाता अविरलपला जाँच्दछ उता ।
सितारामा तारा अझ पनि भरूँ लाग्दछ यता ॥
बुढ्यौलीको खादासँग छ,जनमा त्रास नछरूँ ।
नमर्ने मर्दा त्यो ,अमर चिजको सञ्चय गरूँ ॥ (३३०)
अमालीको माली सरह दिलले, वृद्ध पगरी ।
म थामूँ हातामा मन-मगजले आदर गरी ॥
विलासीको लाछी अझ कति बनूँ भौतिक धन ।
चिताका हातामा सब पछि लिई जान्छ र जन ? (३३१)
निराशामा आशा अविरल जगाऊँ हृदयमा ।
बिलौनाका गाना दिनपल नगाऊँ विरहमा ॥
सिरानीमा दानी अभिजयकला कोमल छरूँ ।
नमर्ने मर्दा यो,अमर चिजको सञ्चय गरूँ ॥ (३३२)
(क्रमशः)
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest