
आमा हुँदै छिन् ठिटी
कल्ले भन्छ बुढी जवानसरिकी हेर्दा भइन् लायक कुर्ता चट्ट लगाउँदा अझ बढी बढ्ने भयो ल्याकत बारी खेत परेन धाउन कतै स्याँहालमा बस्तछिन् हेर्दामा अब छैन आतुर कुनै आमा अहा ! मस्तछिन् ।

कविराज घिमिरे :
लालीका शिरविन्दु चन्द्र सब छन् छन् तर्कुले बर्धने
गाला छन् लमतन्न ङ्याच्च दुइटै हेर्दाहुँदि खर्पने
सेतो चूर्ण लगाउँदा मखमलीजस्ती बनेकी मिठी
ती आँखा पनि गाजले जब भए आमा हुँदै छिन् ठिटी ।।१
आँखाका उपनेत्र चट्टसँगले मिल्दा फुलो छोपियो
कानेयन्त्र लगाउँदा श्रवणको आघात नै रोकियो
सौतेनी हिउँका कपाल सब ती काला हुँदा माथमा
आमा स्वाउँदिली भइन् कति छिटो नृत्याङ्गनाझैँ यहाँ ।।२
खस्केको अनुहारमा विविध ती लाइन् अनेकौँ बुटी
देखिन्छिन् अहिले बडो रसवती हेर्दै हुने हुट्हुटी
थोते दाँत निकालिए अनि त्यहाँ नौला भए हाजिर
बोली प्रष्ट बुझिन्छ हुन्न द्विविधा आमा बनिन् माहिर ।।३
कल्ले भन्छ बुढी जवानसरिकी हेर्दा भइन् लायक
कुर्ता चट्ट लगाउँदा अझ बढी बढ्ने भयो ल्याकत
बारी खेत परेन धाउन कतै स्याँहालमा बस्तछिन्
हेर्दामा अब छैन आतुर कुनै आमा अहा ! मस्तछिन् ।।४
जान्छिन् मन्दिर हर्षले भजनका सुन्छिन् मिठा गायन
आमाको रङ रूप साहस सबै बढ्दै गयो पायन ।।
हामी धन्य भयौँ सुता सुत सबै के चाहियो लौ अब ?
आमा स्वस्थ दुरुस्त पाउन सके ठान्छौँ यही वैभव ।।५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest