कविराज घिमिरेपाका सारद हुन् …
राम्रा मार्ग चिनाउँछन् शिशु हुँदै यी जिन्दगीका भर बुझ्दै विश्व बताउँछन् समयमा लाग्छन् दुवै सुन्दर गर्छन् शिक्षण एक एक नभुली पिस्तै अनेकौँ घुन पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।

कविराज घिमिरे :
खारिन्छन् अति कष्टले बखतमा संसार जित्ने गरी
तैरिन्छन् नदमा डुबेर पनि जो हुन्छन् तिनै निर्झरी
चोखो भाव कला र ज्ञान बटुली बन्छन् सधैँ उत्तम
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।। १
पाकामा छ गभीर चिन्तनसुधा जो गर्छ आलिङ्गन
ऊ पुग्नेछ हिमालका शिखरमा पार्दै उज्यालो मन
थाल्छन् दुर्जनका खराब जति छन् मस्तिष्क सारा धुन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।। २
पाका सौम्य सनातनी सहृदयी सत्कर्मका साधक
पाका सन्ततिका परा-नयन हुन् पाउन् सबैले हक
पाकाको बलमा जगत् सुरसिलो बन्नेछ आफैँ गुन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।। ३
के हो कृत्य अकृत्य साजन बनी सुल्झाउँछन् उल्झन
दोषी मुक्त बनाउँछन् मति भरी सक्ला र को उम्कन ?
व्यर्थै छन् किन यी अनादर हुँदै आई सबैले चुन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।। ४
जो आँक्छन् कमजोर निर्बल भनी हुन् शक्तिका पुञ्ज यी
अर्काका हितनिम्ति लड्न सुरिँदा बन्छन् स्वयम् कुञ्ज यी
सुक्तैनन् कहिल्यै मसी कलममा सत् ज्ञानका हुन् खुन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।। ५
राम्रा मार्ग चिनाउँछन् शिशु हुँदै यी जिन्दगीका भर
बुझ्दै विश्व बताउँछन् समयमा लाग्छन् दुवै सुन्दर
गर्छन् शिक्षण एक एक नभुली पिस्तै अनेकौँ घुन
पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।। ६
०००
(भक्तपुर बुढ्यौली साहित्य समाजमा अभ्यास)
Subscribe
Login
0 Comments
Oldest







































