माधव पोखरेल गोज्याङ्ग्रेवृद्धावस्था
कालो काल हराउँदै छ जगमा छोरा बुहारी कता आफ्नो जीवन काल कष्टकर भो मस्ती छ फेरी उता बोलौ के अब यो समाज बिचमा सुन्दैन कोही पनि वृद्धाआश्रम नै छ स्वर्ग सरिझैं बस्छौं रमाई अनि ।

माधव पोखरेल गोज्याङ्ग्रे :
देखेको सपना हुँदैन कहिले सम्पूर्णता जीवन
रोगी देह लिएर जीवनभरी बाच्नूँ छ यो जीवन
वृद्धावृद्ध भएर आँगन अहो टाढा भएको कति
लौरो छैन भने भरे वरिपरी घुम्नै नसक्ने कति ।
आफ्नै आँगनमा लडेर विचरा रोगी भएका कति
कालो रातसरी छ जीवन यता पीडा र सास्ती अति
छोरा नाति भएर कष्ट सहदै सारा उमेरै गयो
छोरीका घरमा गएर कतिले चोला उतारे भयो ।
गोडा हात र पाखुरा चलिरहे हुन्थे म व्यस्तै कति
हेप्ने काम हुँदैछ वृद्ध वयमा दुःखी छ आत्मा अति
हाम्रो शासन छैन आज घरमा एक्लो भएका जति
साँझा स्वार्थ लिएर बात नहुने बिग्रेछ सारा मती ।
राखेका कतिले पिता परपरै आमा उतै बासँग
बोली छैन मिठास सज्जन भनौँ बाबा र आमासँग
शिक्षा दिन्छन बुद्धिहीन मनको गाली छ बोली भरी
माया प्रेम दिएर राख्न नसकी फाल्दैछ विष्टा सरी ।
लाग्यो भोक र प्यास छैन घरमा खानेकुरा रातमा
माग्दा खान नपाइने मनभरी बात् लाउँछन् भोकमा
छोराको भरमा परेर अहिले यो ज्यान जाने भयो
अर्काको भरमा छ पेट जहिले आफ्नो जमाना गयो ।
कालो काल हराउँदै छ जगमा छोरा बुहारी कता
आफ्नो जीवन काल कष्टकर भो मस्ती छ फेरी उता
बोलौ के अब यो समाज बिचमा सुन्दैन कोही पनि
वृद्धाआश्रम नै छ स्वर्ग सरिझैं बस्छौं रमाई अनि ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































