साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामीले अहिले किन यस्तो भोग्छौँ ?

Nepal Telecom ad

मगज विकास भएका हरेक प्राणीमा चेतना, प्रतिक्रिया र सोच्नसक्नेमा सोचाई उस्को उत्पत्तिको वर्ग (समुह), उमेर, अनुभव तथा बाँचेको परिस्थिति अनुकुल नै बनेको पाइन्छ । हामीले देख्ने किरा, फटेङ्ग्रा, माछा, सर्प, गोही, चरा, बन्यजन्तु र मानिसहरू सबै प्राणीको ज्ञानेन्द्रीयको विकास सँगसँगै कर्मेन्द्रीयको सकृयता तद्अनुकुल भएको देखिन्छ । समान्यतया, अनुभव नभएका दुधे मृगका पाठा र बाघका डमरुसँगै खेल्न सक्छन्, निर्दोष बालापनमा मानिसका बालबालिकाले सर्पलाई गड्यौला जस्तै समात्न सक्छन् भने बामेसर्ने बालखलाई हान्ने गाईभैँसीले पनि केही नगरेको देखिन्छ । तिनै बस्तुभाउ र बन्यजन्तुहरू परप्रजातिको व्यवहार र अनुभवबाट एकअर्कामा टाढा हुँदै जान्छन् । यसरी, हरेक प्राणीको मस्तिष्क बिकासलाई परिस्थितिजन्य अनुभवले प्रभावित गरेर वयस्क हुँदा फरक स्वभाव देखाउन थाल्छन् ।

मानिसमा सँसारकै सबै प्राणीभन्दा बढि मस्तिष्क क्षमता बिकास भएकाले सिक्न, नक्कल गर्न र सम्झ्नि सक्ने लगायत धेरै राम्रानराम्रा गुण समाहित भएको पाईन्छ । वन्यजन्तुहरू प्राकृतिक अनुशासनमा आआफ्नो समुहमा रहन्छन्, उनीहरूलाई नैतिकता भन्ने कुनै थप नियमले बाँध्नु पर्दैन । मानिसको समाजमा अरु बन्यजन्तुमा नपाईने ठगी, ढाँट, लुच्च्याइ, चोरी, सामाजिक अहित, नीजि हित, आत्महत्या, हत्या, यौनजन्य बलात्कार जस्ता बिकृति पनि पाईन्छन् । त्यसैले, हामी नसुहाउने वा धेरैलाई अहितहुने कुरा भएमा न्युनतम नैतिकताका कुरा गर्छौ, व्यक्ति व्यक्तिका अधिकारका आवाज निकाल्छौँ र सुधारका थप रोइलो गर्न थाल्छौँ । सामान्य जीवले गर्नेजस्तै प्राकृतिक अनुशासन मानेर आफ्नो बलबुताले भ्याएको गरे त्यस्ता समस्या आउने थिएन, स्वर्ग नै हातलाग्ने जस्तो गरेर, मानविय मूल्य बिर्सेर, बेफूर्सदी भएको स्वाङ गर्दै अनावस्यक ढिपी केही मानिसले गरेको नै सामान्य धनी, मध्यम र निम्नमध्यम आर्थिक अवस्थाका परिवारसमुहमा अहिलेको मानक र सिको भएकाले परिवार र समाजमा मात्र होइन सर्वसाधारण जोरीपारीका मानिसहरूमा समेत समस्या देखिएको हो । मानिसको समाज पनि त्यतित्यति निर्दयी, बेकामे र असामाजिक पछिल्ला कालखण्डमा मात्र देखापरेको पाइन्छ ।

हाम्रो पालामा
नेपालकै परिप्रेक्ष्यमा आजका ज्येष्ठनागरिक हुर्कँदा ताका सामाजिक मान्यता र बनावट त्यतिखेरको सामाजिक मान्यता अनुसार सबै मानिस चल्ने चालचलनबाटै प्रभावित थियो । पढाइलेखाइ गर्नुपर्ने र सक्ने परिवारमा पनि कालोपाटीमा खरी वा पिल्सिङले लेख्ने हामी धेरै नै अझ्ै जीवित छौँ । मसीले लेख्न त धेरै प्रगति गरेपछि मसिनो निगालाको कलम बनाएर, चक्की मसी ल्याएर हरेक चक्कीले दिनसक्ने रङ अनुमानसाथ पानी मिसाएर, त्यसलाई एकछिन पकाएर मसी तयार गरिन्थ्यो र बिर्को लाउन मिल्ने सिसीमा सुरक्षित गरिन्थ्यो । कापीको महत्व त कतिकति ? सकेसम्म पुराना थोत्रो वा गत वर्षको बाँकी पाना धागोले सिएर बनाएको कापी प्रयोग गरिन्थ्यो । त्यसपछि अङ्ग्रेजी लेख्न चारडिके र नेपाली लेख्न हात्तिमार कापी बल्ल किनिन्थ्यो । किताब पनि आधा मोलमा किन्ने वा आफन्तको राम्रो जिल्दा हालेको खोज्ने । यो प्रक्रिया सबै हैसियतका बिद्यार्थीका वार्षिक परीक्षाको नतिजा आएपछि चल्दथ्यो । हरेक पारिवारिक सदस्यमा पढ्ने भनेको बिहान सबेरै उठनु, नित्यकर्म गरी पिँढी वा दलानमा पिर्का वा चकटीमा बसेर अघिल्लो दिनको शिक्षा ठूलो स्वरमा घोकेको सुनाउनु, लेख्न दिएको पाठ टिन वा काठको फलेकजस्तोमा अङार पोतेको पाटीमा लेख्नु र बा, हजुरबा अथवा गुरुबा आउने भए काम गर्दै पर्खनु हुन्थ्यो । पढ्न जानु भनेको बाबुबाजेको आदेश मानेर नाक राख्न, ईज्जत राख्न अथवा जेजस्तो कामधन्दा छ वा बानीव्यहोरा छ, त्यसलाई अघि बढाउन र सिपालु हुने मानसिकताबाट निर्देशित बालापन हुँदै हुर्किन्थ्यो ।

त्यसैले नै परिवारका परिवार सम्बन्धित विषयज्ञाता भई समाजमा तद्अनुकुल जिम्बेवारी हुन्थ्यो । त्यस्ता परिवेशमा हुर्किएका परिवार सदस्यहरू अन्यथा हुने कुरै भएन, हो वर्गहरू बिचमा राजनीतिक मपाईँ वा दमन, आर्थिक शोषण वा अधोगति साथै सामाजिक विभेद व्यापक हुनसक्थ्यो तर परिवार भित्र आपसमा कसरी समस्याबाट पारपाउने, अप्ठ्याराबाट उम्कने भन्नेमा परिवारमा सबै सदस्यको सल्लाहमा ज्येष्ठनागरिकको योजना र आशयलाई प्रधानता रहन्थ्यो । यसरी ज्ञान र अनुभवलाई प्राथमिकतामा राखी त्यसमुनि मनको चैनकासाथ काम गर्नु सबैको कर्तव्य भएकाले सदस्यहरू बिच बैमनस्यता वा ईष्र्या हुने संभावना न्युन हुन्थ्यो । समानता र भातृत्व बढि हुने र व्यक्तिगत अधिकार नभई करिब सबै परिवार सदस्य बराबरीको स्थिति र मानसिकता बिकास भएको पाइन्थ्यो ।

परिवारको जोरीपारी र समाजमा स्तर कायमगर्ने वा बढाउने ध्याउन्नामा सबै लाग्थे, दैनिक व्यवहारमा सामाजिक चलन कायम राख्ने, परिवार तथा परायासँग पनि स्वभावमा शिष्टता, अदब, सुसंस्कृत, नरम बोलीचाली, एकआपसमा सौहार्दता, सामुहिक हित, सगोलको उन्नति, सदाशयता हुन्थ्यो भने नकारात्मक कुराहरू व्यक्तिवाद, स्वान्त्य मनमोजी, एकलकाँटेपन, अनादर, रुखो व्यवहार, अस्थाई लाभको सोच, एकल सोच आदि कुरा सतहमा देखिँदैनथ्यो ।

घरव्यवहारमा यस्तो परिवेशको एउटा अनौठो तर बाल मानसिकताको चोखो उदाहरण यस लेखकलाई पनि अनुभूत भएथ्यो ः एक कृषि मजदुर परिवारमा एक साँझ् बिभिन्न अनुकुल मिलाएर ससानो सुँगुरको पाठो काटिन्छ । त्यस परिवारका करिब पाँच वर्षका बालखलाई आज त तिम्रा बाले त्यत्रो पाठो काटेका छन्, तिमी उसकै छोरा मासु त धेरै खाउला नि ! भन्दा, अँ हामी आआफ्नो भाग खान्छौँ नि भनि जवाफ दिएथेँ । अब हेर्नोस् त एक कम उमेरको बालखमा पनि परिवारमा मान्नुपर्ने अनुशासनको कति राम्रो हेक्का रहेको ! उनीहरूको भान्छामा जेजस्तो पाके पनि सबैलाई भाग पुर्‍याएर खाने स्वभाव चलनको रुपमा विकसित भएको रहेछ र महत्वपूणर् मानिने खानेकुरा त् सकेसम्म परिवार सदस्य सबैको उपस्थितिमा मात्र खाइने चलन रहेछ । त्यसैको फल सामुहिक स्वभाव, आदर र निर्भरता सानै उमेरदेखि अभिन्न सँस्कारको रुपमा बसेको होला । स्रोत व्यक्तिले वा उस्का नजिककाले मात्र हकदाबी नगरेर सामुहिक स्वार्थमा आफ्नो श्रमको सदुपयोग हुनेमा कति गौरवान्वित हुँदा रहेछन् ।

यस्तो परिवेशमा हुर्किएका कसैले पनि ज्येष्ठनागरिक वा घरका पाकालाई अनादर गर्नै सक्दैन । यस्तै आवश्यक्ता अनुसार घरायसी स्रोतको उपयोग गर्न पाइने र एउटाको अधिक उपयोगमा अरुलाई अभर नपर्ने परिवारमा पनि समस्या नहोला । तर यी दुई मोटामोटी बर्गको बिचमा पर्ने बर्ग र पारिवारिक समुहमा भने सँघै माथिल्लो बर्गको देखासिकी र हैसियत भन्दा बढिको चाहना उम्रिएर तथा निम्नबर्गको खिसिटिउरी र घृणाले स्वभावमा अनौठो ठिमाहा प्रबृत्ति देखाइरहेका हुन्छन् । त्यस्ता परिवारमा त ज्येष्ठनागरिक र पाका उमेरका यदि सारीरिक कमजोरीमा छन् भने त सक्किगो नि, बाँच्नु न मर्नु त आफ्नै भित्रकाले पो पार्दिन्छन् । त्यस्ता परिवारको निरन्तर नकारात्मक घोकाई र दुर्मुखा स्वभावले गर्दा जोरीपारी र चिनजानकाले समेत पाका उमेरका नागरिकहरूको दैनिकी आँसु, रुवाई र बिलौना गर्दैमा बित्छ । यस्तैका परिवारबाट नै सबैभन्दा बढि दोबाटोमा बस्ने वा अलि राम्ररी पन्छाउन खोजेको भए बृध्दाश्रमका पाहुना भएको देखिन्छ ।

फेरि के नबिर्सौँ भने आफ्ुले जेजसरी जीवन अघि बढाए पनि आफ्ुले भोगेका कुरालाई सोझै असहमती नदेखाए पनि प्रचलित नवधनाढ्य चलनलाई अनुशरण गर्दै आफ्ना बालबालिकालाई हामीले सरकारी रुपले अघि बढाएको बैसाख एकमा मनाइने नववर्षमा केहि गरेनौ बरु पुसमा क्रिसमसताका रातो टोपी लाएर ‘ह्याप्पी न्यू एअर’ भन्दै आउने आफ्ना केटाकेटी देखेर मक्ख परेका थियौँ । बावुबाजेले दुःखजिलो गरेर जोरेको पैत्रिक सम्पति बेचेर पनि आफ्नो अपनत्व गुम्ने शिक्षा प्राप्त गर्न उत्साहित गर्‍यौँ । उनीहरूमा व्यक्तिवादी नयाँनयाँ चरित्र विकास भए, तर हामीले आधुनिकताको नाममा सहँदै र स्विकार गर्दै आयौँ । अब त् उनीहरूले आफैँ नभोगेसम्म न पश्चाताप गर्नेछन् न सुध्रने मौका नै पाउनेछन् ।

सत्ता कस्को ?
देशको अवस्थामा सबैले साशन सत्तालाई जिम्बेवार ठहर्‍याउँछन् चाहे राम्रो लागोस् वा नराम्रो, त्यसैले ‘जसोजसो राजा त्यसोत्यसो प्रजा’ भनि पुरानो उखान चलेको होला । आजका ज्येष्ठनागरिकहरूले राजतन्त्र पनि व्यहोरेकाले त्यो उखानको मर्म बुझेकै होलान् । अब त्यो उखानलाई आफ्नो परिवार र उस्तैबाट बनेको समाजमा रुपान्तरण गरेर सोच्न थाल्नुहोस् । हेर्नोस् तपाईँको घरपरिवारमा कस्को कस्तो हालीमुहाली छ ? बिभिन्न थरीको शक्तिको (बल र आम्दानीलाई कस्तो सँस्कारले किचेको छ ?) स्रोतमा को को छन् ? अब प्रष्ट हुनुहोस्, साशन त्यतैबाट चल्छ अर्थात निणर्य, सल्लाह र आकाञ्क्षा त्यही व्यक्ति वा समुहबाट निर्देशित र कार्यान्वयन हुन्छ । यस्तो कुरा हिजोआज विभिन्न दलको गुटगत गतिविधि र आफ्नै दलका अरुलाई गरिने अर्घेल्याईँका खबरहरूबाट पनि प्रष्ट हुन्छ । आफ्नो गुटतिर नलाग्नेलाई के मात्रै भन्न बाँकिराख्छन् ? विपरित दल हँसाउनेगरी उछित्तो काढेको सुन्नु भएको छैन र ? दलभित्रै मात्र होइन, खुला आमसभामा नै नाम नै तोकेर शत्रुभन्दा तल पारेर चित्रण गर्छन् अनि फेरि मिलेमा त्यही व्यक्ति वा समुह महान क्रान्तिकारी र अभिन्न मित्र भनि तारिफ् गरेको सुन्नुभएको छैन ?

हो, त्यस्तै राजनीति चलखेलहरू हरेक परिवार र त्यस्तो परिवारबाट बनेको समाजमा भेटिन्छन्,, अब यसलाई नबुझि तपाईँ ‘यसो भएन उसो भएन, हाम्रा पालामा यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो, त्यसैले यसो गर उसोगर’ भनेर कहिल्यै नभन्नुस् । सत्ताको बक्रदृष्टिमा पर्नुभयो भने हरेक मुलुकमा असहमत वा बागीलाई के व्यवहार हुन्छ, तपाईँ पनि भोग्न तयार हुनुहोस् । बाँकी जीवन शान्तपूर्वक र आनन्दले बिताउन चाहनुहुन्छ भने, केही सुधार आफैंमा गर्नुहोस्, किनकी अरुलाई सुधार्ने समय पनि छैन र तपाईँसँग परम्परागत ज्ञानबाहेक त्यस्तालाई तह लगाउने नयाँ जुक्ती र तर्क पनि नहोला ! कति दुखकष्ट भोगेर आर्जित आफ्नो ज्ञानको बेइज्जत गर्न किन खोज्नु ? बरु आफैं प्रतिवाद नगरी चुपलाग्नुमा कल्याण होला !

केही काम
अरुलाई बाधा नपर्ने गरेर आफ्नो नित्यकर्म सञ्चालन गर्नु होस् । घरमा धारा, शौचालय, बसाई स्थान प्रयोग गर्दा र बरण्डा, कौशी, आँगन वा भर्‍याङतिर हिँड्डुल गर्दा अरुलाई अप्ठ्यारो वा रोकिने गरी नगर्नोस् । किनकी होसियार नहुँदा तपाईँको द्रुतगति नहुनाले छिटा र सक्रिय सदस्यलाई बाधा पर्छ र ‘नसक्ने मान्छे एकैठाउँ डल्लिनु नि’ भन्ने जस्ता आरोपबाट बच्न सकिन्छ । खाना खान पनि कि भनेपछि, कि तयारी अवस्थामा अरुको अन्तै काम हुँदा अनुमति लिएर जाने गर्नु होस् । यसोगर्दा एकलग आफ्नो काम पनि फत्ये र अरुलाई अतिरिक्त बोझ् कम महसुस होला । सकेमा आफ्ना जुठा भाँडा आफ्ैँ सफा गर्नु र अलग राख्नु राम्रो । त्यसो भए तपाईँले कथम राम्ररी सफा गर्न नसक्दा पनि ‘फोहर अरुसँग लस्पस भयो, छिः’ भन्ने घृणाबाट मुक्त हुन पाइयो, आफ्नो जुठो रहलपहल अरुकोमा सरेको पश्चाताप पनि भएन ।

हिँड्डुल गर्न सक्नुहुन्छ भने नितान्त व्यक्तिगत आवस्यक्ताका सामान किन्न आफैं जानुहोस्, सामान्य व्यायाम हुन्छ । सामान किन्ने पसल तपाईँ मैत्री भए त्यतै एकछिन बस्नुहोस्, आउनेजाने ग्राहकका कुरा र किनमेलका तरिकाबाट अचेलका कुरा, व्यवहार र भनाईबारे अद्यावधिक हुने मौका मिल्छ । पुस्तक-पत्रिका पसलमा त्यसरी सम्बन्ध छ भने त् झन मज्जा, किताब किन्न गएर अरु पत्रिका मज्जाले सित्तै पढने मौका मिल्छ, अनि जाँदाजाँदा परिचय बाक्लेर केहि नकिन्दा पनि बस्न त पाइन्छ । बरु तपाईँ पनि पसलेको स्वभाव मैत्री हुनुपर्छ है, नत्र त ‘थाँग्ने आयो’ भनेर असजिलो मानिएला ! त्यस्तै अझै बाहिरफेर चिया, दुध वा खाजा खान अप्ठ्यारो नभए त्यस्ता पसल पनि समय कटाउने र उस्तै उमेर समुहका भेट हुने पायकपर्दो ठाउँ बन्नसक्छ ।

कतिपय ठाउँमा बिहानको हिँडाई वा अपरान्हको किनमेल र हिँडाई पछि ज्येष्ठनागरिक भेला हुने गरेको पाइन्छ,, मनका कुरा भन्ने त्यस्ता ‘अखाडा’ सहरतिर मात्र होइन नगरोन्मुख ठूला गाउँघरतिर पनि अचेल धेरै भेटिन्छन् । यदि नियमित भेटघाट हुने यकिन छन् भने र आफूले सके सिमित समुहमा रमाईलोको लागि ‘आज मेरो पालो’ भनेर समुहको पैसा तिर्‍यो, त्यसैगरी ‘आज उस्को पालो छ’ भन्दै अर्को दिन गयो । समुह सदस्य अनुपस्थित भए, ऊ किन आएन आज भनि सोधखोज गर्न कुरा झिक्यो । यही निहुँमा यदि विरामी भएको थाहा पाए हेर्न गयो र उमेरमैत्री सम्बन्ध निर्वाह गर्‍यो । यसरी समय बिताउन मात्र होइन, मित्रता र सद्भाव कायम गर्न पनि पाइने अवसर नछुटाउनु राम्रो ।

यसपल्टको बिसाउनी

भोटो फाट्नु सबैको ज्ञानको तुजुक हुँदैन्, पुराना कुरा केहीमात्र कालजयी र सार्वकालिक व्यवहारमा उत्रिने हुन्छन् भन्ने कुरा ज्येष्ठनागरिकले पनि मनन् गर्नु पर्छ, अनि मुख्यकुरा आफ्नो सारीरिक अवस्था र पारिवारले जेजस्तो स्थान दिए स्विकार गर्नुपर्छ । हो, प्रमाणित ज्ञान र धेरै घटनाहरूको शिक्षाबाट प्राप्त अनुभवको सद्भावसहित र आदरपूर्वक पारिवारिक पुस्तान्तरणको समस्या खासखास बर्गमा टड्कारो रुपले नकारात्मक देखिन्छ । यस्तो सामाजिक प्रदुषणले धेरैलाई नराम्ररी गाँजेको छ, तपाईँको परिवार अछुतो नहुनसक्छ र असाध्य भएको पनि हुनसक्छ ।

तपाइँका परिबारले आफ्नो त्यस्तै उमेर नपुगेसम्म उस्तै उमेरजन्य समस्या भोगेका छैनन् र उनिहरूको त्यो अवस्था पुग्दा तपाइँ त्यसलाई देख्न र तपाइँप्रति गरिएको व्यवहार बेठिक थियो भनि पश्चाताप गर्दै उनीहरू सुध्रिन खोजेको सुन्नपाउनु हुनेछैन । यस्तो परिस्थितिमा तपाइँका हरेक शव्दहरू गनगन हुन्छन् र अनादरको शिकार बन्छन् । तपाइँको तत्कालको सारीरिक क्षमताले भ्याएसम्म स्वावलम्बी बन्नुहोस्, अनावस्यक पारिवारिक माया-दयाको आशा, उम्मेद र लोभको घिड्घिडो नराख्नुहोस् । तपाईँले जे सोचेर हुकाईबढाई गरेको भए पनि तपाइँ बाहेक उनीहरूले सिक्ने, बुझ्ने र ठिक ठहर्‍याउने सँसारमा प्रशस्त ठाउँ, मान्छे र घटनाहरू तपाइँले थाहा नपाउँदै उनीहरूले अनुभवको रुपमा सिकिसकेका होलान् ! तपाइँभन्दा प्रिय, विश्वसनिय र नजिक पर्ने अरु होलान् ! अब तपाइँ आफ्ना बर्कतले उनीहरूलाई नार्न सक्नुहुन्न र आफ् पनि सँगसँगै नारिन आफ्नो अनुभव र ज्ञानका पूर्वाग्रहले सक्नुहुन्न भन्नेकुरा व्यवहारले नै स्विकार गर्नु होस् । बरु आफैँले कसो गर्दा तपाइँ सुबिस्ता र सन्तोषले बाँकि जीवन सकृयतापूर्वक व्यतित गर्न पाउने वा बिताउन सक्नुहोला त्यता चासो र ध्यान दिनुहोस् ।

चालिसेडाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x