साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेका केही गुन-बैगुनका कुरा !

मानिसको शक्तिशाली मस्तिष्कले नवग्रह र अन्तरिक्षको पत्तो पाउन सक्ने, तर आफ्नै मानव प्रजातिका ‘दूधको तर जस्ता’ पाका मान्छेको छ्यानबिछ्यानमा समाज अघि बढाउन नसक्ने हुन्छ र ?

Nepal Telecom ad

मानिसले समाजमा देखा पर्ने अनेक कुरामा फरकफरक मत राखेको हामी सबैले देखेसुनेका छौँ । मानिसका बिचारलाई निर्देशित गर्ने जन्मेदेखि आआफ्नै परिस्थितिका धेरै कुरा र घटनाहरूले प्रभाव पारिरहेकाले फरक भएको हुन्छ । कुन स्तरको परिस्थितिमा कस्तो परिवारिक मान्यताबिच जन्मेको हो ? उसको हुर्काई कस्तो सामाजिक बनावट र मान्यताहरू प्रभावित समाजमा भएको थियो ? सिक्न र जान्न उत्सुक हुने अवस्थामा उसले सिक्ने बस्तुपरक अवस्था कस्तो रह्यो ? जीवन चलाउन गरिनै पर्ने कस्ता काम र बिचार पच्छ्याउनु पर्छ भनेर सिकेको हो ? हरेक त्यस्ता परिस्थितिले कुनै पनि मानिसको बिचार, दृष्टिकोण र ठम्याई बनेको हुन्छ । सामाजिक परिस्थिति जस्तो भए पनि पारिवारिक मूलधारा जता गएको छ एउटा हुर्कदो बालक र बालिकाले त्यस्तै मनोदशामा आफ्नो भविष्य नियाल्न थाल्दछन् ।

मानिसका सिकाई त्यसरी भएर कति पुनरावृत्ति भइरहन्छ भन्ने कुराले उसलाई सतर्क बनाउन मगजमा सम्झनाको रुपमा रहेको पाइन्छ । त्यसैले मानिसमा अल्पकालिन वा अस्थाई, मध्यकालिन वा मोटामोटी सम्झने र दीर्घकालिन वा स्थाईरुपले सम्झना रहन्छ । ती सबै सम्झना र वर्तमान परिस्थितिको सिकाईका आधारमा हरेकले आफ्नो बिचार बनाउँछ । यस्ता बिचारहरू आफ्नो र समाजको हितमा हरेक उमेरसमुहले ‘मलाई यस्तो लाग्छ, यो ठिक त्यो बेठिक, यस्तो हुनुपर्छ’ भनि अघि सार्दछ । बिचारहरू सबै सबैको हितमा नहुन सक्छन्, मुख्यकुरा त बहुसङ्ख्यकको हितमा छ कि छैन भनि मापन हुनुपर्छ । कुनै बहुसङ्ख्यकको हितमा गरिने बिचारले थोरै निहित स्वार्थमा लाग्ने अर्को बिचार निषेध गर्न सक्छ । आफूलाई केन्द्रमा राखेर धेरैले सोचे पनि समाजमा राम्रो र नराम्रो त बहुजन हितायनै भन्छन् सबैले । त्यसमा मानिसका समुदाय, परम्परा, आस्था र थपिएको बिचारका आधारमा आआफ्नै गुन बैगुन हुन सक्छन् ।

हरेक उमेरसमुहलाई अर्को उमेरसमुहको बोलीचाली, काम र व्यवहार नबुझेर उदेक लाग्न सक्छ । आफूले अनुभूत गरिसकेको भए अनुभवअनुसारनै राम्रो नराम्रो पनि भन्न सक्छन् । कम उमेरसमुहकाले अनुभवकै कमीले बढि उमेरसमुहका कुरा नबुझ्ने, अझ हैकम जमाउने प्रवृत्ति भए उडाउने, गिल्ला गर्ने, हेप्ने र विमुख पार्ने गर्न सक्छन् । त्यस्तै बढि उमेरसमुहले कम उमेरसमुहलाई जहिल्यै केटाकेटी देख्ने, सबै आग्रहमा कमी भएको भन्ठान्ने र अपरिपक्व ठानेर गहन कुरामा भाउ नदिने, अस्विकार गर्ने, आलाकाँचा भनेर हेप्ने आदि हुनेगर्छ । एक प्रकारको अनुसाशनमा हुर्केका मानिसमा त्यसको प्रभाव टाँसिएर आएको देखिन्छ । पारिवारिक गुणदोष निरन्तर ल्याउँदा ल्याउँदै आफैँले सिकेका र देखेका कुराबाट आफ्नो गन्तव्य निर्धारण गर्न सकिन्छ ।

प्राय आफ्नै पूर्वाग्रहले मानिस एकोहोरिएर नकारात्मक भए पनि अठोटेका कुराबाहेक रचनात्मक कामतिर प्रयाश गर्दैन । जीवन सम्बन्धी जगतको सोचाईबाट बिमूख भएका त्यस्ता महिलापुरुष एकाङ्गी र एकलकाँटे स्वभावमा विकसित भएर अराजकताको भासमा डुब्न पुग्छन् । त्यस्ता मान्छेमा मानविय सामान्य प्रेम र सदभाव पनि नरहेको देखिन्छ भने उमेरजन्य शिष्टताको त के आश गर्नु ? उनीहरूका लागि चलनचल्तीका थेगो, अपाच्य शव्दप्रयोग र झगडाको बिऊ खोज्न कतै जानु पर्दैन, घर वरपरका चिजबिजनै पर्याप्त हुन्छ । ‘कपाल कोरे कसलाई देखाउन कोरिस्, नकोरी बसे, मेरो ईज्जत फाल्न किन नकोरेको ?’ भन्ने अत्तो थापेर झगडा झिक्न काफी हुन्छ । मानसिकरुपले सधैं चिन्तित, आक्रान्त, व्यक्तिगत नाफामा कहिल्यै फूर्सद नदेखिने त्यस्ता प्राणी ‘कहीँ नपुग्ने दौडमा दौडेको धावक’को उपमा हुनजान्छ । हिजोआज यस्ता प्रवृत्तिले बजार लुटेको छ र दुखको कुरा हरेक घरमा सरुवा रोग जसरी फैलिरहेको देखिन्छ । ठूलै हुँडलो नभएसम्म यो सङ्क्रमणबाट पार नपाइने पिरलो छ ।

पाका मान्छेका गुणः
पछिल्लो शताव्दिदेखि विश्वव्यापी सामाजिक प्रणालीमा राजनीतिक र आर्थिक परिवर्तनले अस्थिर आचरण भएका घरघरमा परिवारगत व्यवहारमा निकै अनमेल विकाश हुनगएको छ । आफ्ना कुत्सित मनशायलाई सत्य सावित गराउन र अडचन ठानिएका अग्रजहरूलाई हियाउन ‘पुस्ता बिचको अनमेलता’ वा ‘रुढिबुढीको गनगन, म्यादगुज्रेका कुरा गर्ने’ समुहमा पाका मान्छेलाई ठड्याउनु अनौठो रहेन । के हरेक युगका पाका मान्छे ‘त्रिकालदर्शी नभए पनि’ तत्कालिन परिप्रेक्षका अरु उमेरका दाँजोमा सबैभन्दा अनुभवी र सामाजिक ज्ञानले युक्त उमेरसमुह भएको नकार्न मिल्ला र ? छिटपुट सामाजिक र वैज्ञानिक केही काम बाहेक हरेक परिबर्तन र विकासमा पाका उमेरका महिला र पुरुषको अथक मिहेनत तथा योगदानको प्रतिफल होइन र ? एक पटक मानव इतिहासलाई नियालौँ त, हरेक ऐतिहासिक कालखण्डमा बिचार, दर्शन, सिद्धान्त, आस्था, पन्थ र हिँड्नुपर्ने बाटो दृष्टिगोचर गराउने कुन उमेरसमुहका मनुवा छन् ?

आज एक्काईसौँ शताव्दिमा पनि सामाजिक तथा वैज्ञानिक हरेक क्षेत्रमा पाका मान्छेकै नेतृत्वदायी भूमिका देखिन्छ । देश- देशका विविध मानव समुदाय र संस्कार हुँदाहुँदै पारिवारिक अनुसाशन नखल्बलिएका ठाउँमा अझै पनि विविध उमेरसमुह बिचमा हार्दिकता र शिष्टता अनुकरणीय हिसाबले कायमनै छ । बिग्रेका र टिपनटापन आफूअनुकुल अन्धसमर्थन गर्ने देशका मानव समुहमा भने हरेक उमेरसमुहबिच अशिष्ट ईर्ष्या  र हेलाँहोचोले घर गरेको छ । यसप्रकारको रडाको बिचमा पनि पाका मान्छे आफ्ना अतिउत्तम संस्कारका कारण मानवीय अति परिक्षित गुणयुक्त भएर अझै सामाजिक सदभावका लागि प्रयाशरत छन् । उहाँहरूका अनुकरणीय गुणहरूलाई आत्मसात गर्नसके अरु उमेरसमुहलाई फाइदैफाइदा बाहेक रौँ बराबर घाटा लाग्ने छैन । कम्तीमा बिगत समयको समाजहितका काममा एकफेर सरसरती हेर्ने कष्ट त गरौँ ।

कम बोल्नेः
धेरैजसो मान्छे जति पाको हुँदैगयो उति कम बाल्ने र धेरै गम्ने गरेको लाग्नसक्छ, सुनिन्छ । अनुभवको पर्याप्तता र शारीरिक सकृयतामा कमी आउन थालेपछि आफैँ अघिसरेर द्रुतगतिमा काममा लाग्न नसक्ने भएपछि ‘बोली कुफत हुन्छ !’ । अनि ‘बिनासित्ती अपजस पाउन किन बोल्नु ?’ भनी पाका मान्छेहरूचैँ नबोलेका हुन् । सभासमारोहमा पनि मच्चीमच्ची बोल्नुभन्दा निचोड र उपसंहारका कुरा बोलेर पाका मान्छे सन्तोष गर्छन् । कतिपय वयस्क पनि यस्तै सिको गर्दा ‘कति पाको कुरा गर्ने मान्छे ? उमेर त खाएको छैन है !’ भन्ने सम्मान पाएको पनि सुनिन्छ । त्यस्तै स्वभावले होला कुनै बयस्कका त रहँदाबस्दा आफूभन्दा बिसपच्चिस वर्ष जेठा उमेरका मान्छे दौँतरी भएको पाइन्छ, सुनिन्छ ।

किशोरकिशोरी उमेरमा भँगेराको बथानझैँ चिरबिराउने मान्छे बयस्क हुँदा आफ्नो अनुभवले सिकेर र सामाजिक तौल कायम राख्न आवश्यक्ता पर्दा निकै बोल्छन् । त्यहि मान्छे पाको उमेरको सुरुवाती बेलातिर पुग्दा हाँस्ने, गिल्लिने र छिल्लिने कम भई अब अर्तिउपदेशतिर उन्मुख भएको देखिन्छ । अनि आफूलाई जोरीपारी र नचिनेकाले पनि ‘काका-काकी, बा-आमा, बाजे-बज्यै’ भनी पाको उमेरको सम्बोधन गर्न थालेपछि पाका मान्छेको मनोविज्ञानमा पनि असर गर्छ । ‘लौ अबचैँ उमेर ढल्कन थालेछ’ भनि पाको उमेर लाग्ने बेलातिर बयस्ककै फुरफुर गरे पनि बिस्तारै कम गर्न थाल्दछन् । अलिअलि शारीरिक कमजोरी विकसित भएको हुन्छ भने ‘चल्तापूर्जाको सकृय जीवन नभएर सेवानिवृत्त आरामको बेला’ भनि निच मारेको पनि हुनसक्छ ।

छ दशकभन्दा लामो जीवनमा विभिन्न हण्डरठक्कर खाएको र बोलेकै कारणले बेलाबेला भोगेका लान्छना, असफलता र हारका अनुभवले ‘बोलीहाल्नु ठिक छैन’ भन्ने सोचेरै कम बोल्ने हुन्छ । नयाँ कुरा सिक्न र अझै अघि बढ्न आवश्यक नठानेर पनि पाका मानिस ‘आफ्ना कुराले अरुलाई किन अप्ठ्यारो पार्नु’ भनि कम बोलेका हुनसक्छन् । बढदो उमेर र सकृयताको कमीले जानकारी अद्यावधिक नहुँदा परिवार र चारजनाको अघि कुरा गर्दा ‘आफू म्याद गुज्रेको अनुभूत हुँदा’ पनि पाका मान्छे कम बोलेको पाइन्छ । ‘बोले पिच्छे अत्तो लाग्छ, घुर्की र अपमान मिल्छ’ भन्ने परिस्थितिमा पनि पाका मान्छे कम बोल्छन् । पाको मान्छे कम बोल्नु स्वभाविक हुँदाहुँदै पनि घरपरिवार र समाजमा बोल्ने वातावरण नभए पाका मान्छेको स्वास्थ्य स्थिर राख्न गाह्रो हुन्छ र मानव समाजको प्रगति अवरुद्ध बन्दछ । पाका मान्छेलाई उहाँहरूका ज्ञान र शिपले खारिएका अनुभव हरेक तहमा अभिव्यक्त गर्ने अवसर र प्रोत्साहन दिनैपर्छ । यसले समग्र समाजलाई नै अग्रसर गराउन मद्दत गर्दछ ।

कम हिँडडुलः
शारीरिक रुपले अप्ठ्यारोमा भएकाबाहेक सबै उमेरसमुहका प्राणी चनमते हुन्छन् । मानिस त झन कति रहरलाग्दो गतिविधि र क्रियाकलाप गरेर सबैको ध्यान आकृष्ट गर्न सक्छन् । काम र जिम्मेवारीको भारी बढ्दै गएपछि अनुभूत गर्ने सबैजना बिस्तारै गम्भीर र काम केन्द्रित बन्न थाल्छन् । त्यस्तोमा हाँसेको देख्नु पनि दुर्लभ बन्छ भने मस्तिष्कमा खेलेका विभिन्न चिन्ताले बरु निधारमा मुजा पर्न थाल्छ । सधैं काम, हतारो र नयाँ अवसरको खोजीमा भौँतारिने वयस्क पाको उमेरमा उक्लिन थालेपछि बिस्तारै गति कम गर्दै जान्छ । त्यतिखेर आइपुग्दासम्म सक्दाखेरी अठोटेको सबै नसके पनि धेरै पुरा गरेको हुन्छ भने धेरैलाई शारीरिक रुपले उमेर ओरालो लागेर आन्तरिक जैविक प्रक्रियाले पनि साथ नदिएर पछि तान्न खोजेको हुन्छ ।

कैयौँ पाका मान्छे आफ्नो जीवनका महत्वपूर्ण बेलाका अविस्मरणीय घटना सङ्कलन गर्दै आवासमै रमेका हुन्छन् । कति पाका त समाजका अनुभवी र ज्ञानयुक्त उमेरसमुहका कारण बसिबसाईमा गर्ने काम पाएर मक्ख भएका हुन्छन् । घरपरिवार र गृहस्थीकै कामकाजमा पनि पाका मान्छे मतापले बसिबसी गर्ने जिम्मा खुसी भएर लिन्छन् । प्राय चाडपर्वमा अरु उमेरसमुहका भित्रबाहिरका चिजबिज जम्मा गर्न, ल्याउन र मोटामोटी छुट्ट्याउन लाग्छन् भने पाका मान्छे बसेर सकिने सबै काम फत्ते गर्न भ्याउँछन् । उनीहरूको काममा खोट लगाउन मुस्किलले सकिएला भने नातागोता र ईष्टमित्रले नाक खुम्च्याउने किञ्चित अवसर पाउलान् !

शारीरिक क्षमता र विज्ञताअनुसार कामको बाँडफाँड कारिणी वयस्कले परिवारमा गरिदिएमानै राम्रो होला । पाको मान्छेलाई घरमानै कुँजो बनाउन, ‘पाकेको खानु, दिएको लाउनु, लखरलखर परिवारको कुरा काट्न हिँड्ने होइन’ भन्नु सुख दिन खोजेको होइन । बेलाबेला झुराउने ईष्टमित्रका घरतिर पठाउनु वा ल्याइपुर्‍याई गरिदिनु अशल परिवारको लक्षण हो भने पाका मान्छेका गुण बखान गरी समाजमा आफ्नो ईज्जत बढाउनु आफन्तको बानी हुनुपर्छ । त्यसै बहानामा पाका मान्छेको हिँडडुल, मानसिक र शारीरिक व्यायाम पुगेर स्वस्थ रहन मद्दत पुग्दछ । दैनिक मन्दगतिको हिँडाई आन्तरिक र बाह्य स्वास्थ्यका लागि उत्तम भनि सबै चिकित्सकले हरेक बिरामीलाई दिने फोसा सल्लाह नै हो ।

मनले चाहँदाचाहँदै शरीरले पूरा गर्न सक्ने आँट नभएको हुती हुनसक्छ । त्यस उमेरमा आइपुग्दासम्म धेरै पाका मान्छेलाई उमेरमा गरिएको धामाले कुनै न कुनै रोग लागिसकेको हुन्छ भने कतिलाई त जटिल रोगले च्याप्न सुरु गर्छ । उमेर ढल्केको चिन्ता, शारीरिक कमजोरी र मृत्यूको भयले धेरै चलखेल गर्ने ईच्छा मरेर पाका मान्छे प्राय निस्कृय भई धुमधुमती एकातिर बसिरहने बानी बसाल्छन् । चाडपर्व, मेलापात, जात्रामात्रा, निम्तानाम्तीमा सरिक हुन पनि असजिलो मान्छन् भने सकेसम्म हुलमुलमा जानै चाहन्नन् । भौतिक विकासले ल्याएका सवारीसाधनका दुर्घटनाका बिभत्स समाचार, गुटहरू बिच राजनीतिक अवेशमा हुने हुलदङ्गा, मारपिट आदि समाजमा सामान्य भएको कारणले अहिलेको सामाजिक परिवेशमा हुर्दङ्गेहरूसँग जहाँ पनि जम्काभेट हुनसक्ने आङ्कलन गर्दै घरमा वा आवासमै रमाउँछन् । त्यस्तै मनोविज्ञान र शारीरिक कारणले पाका मान्छे कम हिँडडुल गरेको देखिन्छ । हिँडडुल कम हुनु पाका मान्छेको शारीरिक र मानसिक स्वास्थ्यका हितमा चाहिँ हुँदैन है ।

पाका मान्छेका अवगुणः
पाका मान्छेका अवगुण बहुत कम देखिन्छन् । अनुभव, ज्ञान र आफ्नै बेलाको अडान राख्दा भने नयाँ पुस्ताहरूले अनमेल र किचकिचे भनेका हुनसक्छन् । पाका मान्छेको मनोविज्ञान र शारीरिक क्षमता आङ्कलन गरेर मात्र अरु उमेरसमुहले निरोपण गर्नु उचित र जायज हुन्छ । नबिर्सौं अहिलेका पाका मान्छे नभएका भए हामी बयस्क र किशोरकिशोरी हुन्थ्यौँ र ?

कचकच गर्नुः
पाका मान्छे सामान्यतया धेरै मनमनै हिसाबकिताब गरेर गम्छन् र कम बोल्छन् । मानसिक र स्नायु प्रणालीको दुर्वलता र रोगका कारणले बोलिरहने वा एकोहोरो कौलासी रहने बेग्लै समस्या हो । कोहीकोही अनुभवका विभिन्न कारणले धेरै डराउँछन् र आत्तिएर कम्तीमा आफन्तलाई नराम्रो आइनपरोस् भन्ने सन्दर्भमा बढि कचकच गर्छन् । त्यसैले उमेरदारले बल, साहस, जुक्ति र लप्पनछप्पनको कुरा गर्दा ‘होइन बिचार गर्नु, आँटी नहाल्नु’ भन्दै अति लागेमा ‘दुर्वासा भेट्न अन्त जानु नपर्ने’ गरी कराउन लाग्छन् । गर्न खोजेकाले काम वा योजनाको फेहरिस्त क्रमैसँग नभनेर वा एक्कासी थाह पाउँदा आफन्तको ‘अति मोहले हानी पटक्कै नहोस्’ भन्ने अभिप्रायलेनै त्यस्तो व्यवहार भएको हुन्छ । त्यस्तो माया गर्ने पाका मान्छे भएको घरमा वयस्कले हरेक योजनामा राम्रो नराम्रो पक्षसहित जानकारी गराए उचित सल्लाहले अघि बढ्न सहज हुन्छ ।

चासो राख्ने र सुरक्षित हितमा सोच्ने पाका मान्छेलाई कुरा लुकाउँदा मनोवैज्ञानिक नकारात्मक असर गर्छ । ‘शारीरिक रुपले अक्षम र मानसिक रुपले म्यादगुज्रेका’ भनि बोल्न नदिने, हेप्ने र पहिले गरेका काम उड्केर होच्च्याउने गरेमा पाका मान्छे सहन सक्तैनन् । उनीहरू सकेसम्म ठूलो स्वरमा जित्न खोज्छन् र आफ्नो कुरा सही भएको जनाउन बारम्बार जिद्दी गर्छन् । परिवारका सदस्य उनीहरूभन्दा जिद्दीका साथै अशिष्ट भएमा मुख चलाउने हुन्छन् । शारीरिक रुपले पनि अक्षम भएका पाका मान्छेलाई त्यस्तो भोगाई भएमा कोही मिठो बोल्ने पाएमा ‘पिलपिल गर्दै मनको बह पोख्छन्’ । यस्तो कुरा थाहा पाएमा परिवारकाले सातो खान थालेपछि त्यस्ता पाका मान्छे एकाल्तमा बरबराउन थाल्छन् र अनेक हाउभाउ गरेर चित्त बुझाउन थाल्छन् । यस्तो प्रक्रिया बढ्दै गए पाका मान्छेमा निणर्य क्षमताको अभाव, अनिद्रा, एकोहोरोपन र मानसिक समस्या देखापर्न थाल्दछ । मनोविज्ञान बिग्रेर र प्रतिशोधका कारण इतरिने, बिब्ल्याँटो काम गरिहिँड्ने, चलेको सामाजिक मर्यादा बिपरित पनि काम गर्न थाल्दछन् । कोहीकोही त मगज खुस्केको बानीव्यहोरा पनि देखाउन थाल्दछन् । यस्ता घटना हाम्रै समाजमा प्रशस्त भेटिएका छन् ।

भनेको नमान्नुः
कतिपय पाका मान्छे परिवारका अरु सदस्यले भनेको नमान्ने र आफूखुसी गर्ने हुन्छन् । त्यस्तोमा परिवारको सधैं गुनासो एउटै सुनिन्छ, ‘हाम्रा कुरा सुन्ने भए पो’ ईष्टमित्र, चिनजान सबैमा भजनजसरी प्रसारित भएको पाइन्छ । वास्तवमा बैचारिक रुपले पुरातन सोच भएका, हुकुमी प्रवृत्ति अँगाल्ने, अरुलाई ठगठाग गर्न र हेप्ने स्वभाव सिकेका र साह्रै पूर्वाग्रही पाका मान्छे आफूखुसी मात्र ठिक ठान्छन् । आफ्नो सिकाईको बेला सामाजिक मर्यादा बिपरितकाको सङ्गतमा परेका लम्पट स्वभावका मान्छे पाका हुँदा झनै अशिष्ट र अमर्यादित व्यवहार गर्ने पनि हुनसक्छन् । गलत मान्छेले गलतनै सबैथोक ठानिरहेकोमा उमेरको कारणले शारीरिक कमजोरी थपिएर आफ्नो कुरा मनाउन अझ आक्रोशित व्यवहार गर्न सक्छन् ।

कैयौँमा पूर्वाग्रहीपन यति भरिएको हुन्छ कि उसले आफ्नै हितमा भनिएको कुरा पनि ‘किन यिनीहरूभन्दा तल पर्नु ?’ भनि मान्न तयार हुँदैन । यस्तोमा केही व्यक्तिगत स्वभावजन्य कुरा र लत पनि हुनसक्छन् । कतिपय पाका मान्छे फोक्सो कालाम्मे भइसक्दा र दैनिक औषधिमा सैयौँ रुपियाँ खर्च भइरहे पनि ‘कस्तो पिरमा लागेको अम्मल’ भनी धुमपान छोडन मान्दैनन् । कति पाका मान्छे आफ्नै प्रवृत्तिले एक्लिन्छन् अनि रचनात्मक कुरातिर समय कटाउनुभन्दा दैनिक मद्यपानबाट पीडा कम भएको अनुभूत गरी लड्छन् । शरीरले नसहने अझ पेट, आन्द्रा, कलेजो, मिर्गौला, मुटुका बिरामी र मधुमेहका रोगी पनि भनेको नमानी यस्तैमा अल्झेका धेरै भेटिन्छन् । पाका मान्छेका बैगुनले पाका मान्छेलाइ नै पिरोलो बढि छ ।

अन्त्यमा,
पाका मान्छेका गुनबैगुन बारेका थोरै कुरा कोट्याउन मात्र खोजिएको हो । बहुसङ्ख्यक पाका मान्छे हाम्रो समाजका सबैभन्दा अनुभवी, ज्ञान आर्जित गरिसकेका र शिपयुक्त उमेरसमुह हो । अहिले नेपालमा बरु उहाँहरूको उचित सम्मान र उपयोग भइरहेको छैन । पूर्ण अशक्तबाहेक अरु सबै पाका मान्छेलाई समाजको विकास र समृद्धिमा कसरी प्रोत्साहित गर्ने भनि व्यवहारिक उपाय अवलम्बन गरिएको छैन । पाका मान्छेको हितमा अस्पताल, मनोरञ्जनस्थल, पाका मान्छेमैत्री दैनिक उपभोग्य बस्तु, यातायातका साधन उत्पादन र उपयोग गरी आफूले नै नाफा गर्ने बुद्धि त व्यापारी, सरकार र अभियन्ता भनाउँदाको छैन भने हितका कुरा टाढा भए । हरेक उमेरसमुहको एकीकृत होस्टेहैँसेले देश समृद्ध, शान्त, मानविय र सुखी बनाउन के ‘भगवानले अवतार नै लिनुपर्ने हो र ?’ मानिसको शक्तिशाली मस्तिष्कले नवग्रह र अन्तरिक्षको पत्तो पाउन सक्ने, तर आफ्नै मानव प्रजातिका ‘दूधको तर जस्ता’ पाका मान्छेको छ्यानबिछ्यानमा समाज अघि बढाउन नसक्ने हुन्छ र ?

०००
जेठ २, २०८०
चालिसेडाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x