सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाका बाआमाका अनौठा समस्या !

तिनलाई खुट्ट्याई त्यसअनुसार उपयुक्त रेखदेख र सहयोग गर्न घरका मान्छे वा हेरालु तोक्न सकिन्छ । समस्याको पहिचानसँगै घरको आर्थिकस्तरले भ्याएसम्म पाका मान्छेकोलागि सहज व्यवस्थापन गरिनु मानवीय कर्तव्य हो ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

Dr Mukesh Kumar Chalishe

साना बालबालिका छँदा जेभने पनि मानिदिने बाआमा उमेरिँदै गएपछि ‘पहिले जस्ता छैनन्, अब त बाआमाले समस्या गराए’ भनि आजकाल धेरै परिवारका वयस्कहरूको गुनासो यत्रतत्र सुनिन्छ । हो, केटाकेटी जन्मेपछि एकातिर सफल बाआमा भएको हर्ष उहाँहरूलाई हुन्छ भने बालबालिकाको निर्दोष र निश्छल व्यवहार सबैलाई प्यारो हुन्छ । बालबालिका उमेरमा अनुभव र सामाजिक सिकाई कम भएकाले उहाँहरू बिनापूर्वाग्रह बुझे जत्तिको कुरामात्र गर्नुहुन्छ । त्यसैले त ‘केटाकेटीका बोलीमा सरस्वति बसेको हुन्छ, झूट कुरा गर्दैनन्’ भनि धेरैतिर लोकोक्ति प्रचलित छन् । हान्स एण्डरसनको ‘बादशाहका नयाँ लुगा’ शिर्षक कथामा जनतालाई सधैँ मूर्ख ठानेर आफैँमात्र जान्ने-सुन्ने भनि रजाइँ जमाउन खोज्ने आततायी बादशाहलाई सानो बाच्चाले बिना डर ‘राजा नाङ्गो छ’ भनि निर्धक्क भनेको थियो नि !

केटाकेटी सानो छउञ्जेल संसारका सबैभन्दा बुद्धिमान, बलवान, राम्रो र सबैकुराको स्रोत बाआमानै ठान्दछन् । उनीहरूका सबै चाहाना बाआमालेनै पुरा गरिदिएको हुन्छ भने उनीहरू पनि बाआमाले भनेकै कुरामा विश्वस्त हुन्छन् । बिस्तारै बढ्दै किशोरकिशोरी उमेरतिर प्रवेश गर्न थालेपछि आन्तरिक जैविक विकास र सामाजिक परिवेशको सिकाईले बाआमाभन्दा बाहिर संसार छ भन्ने लाग्न थाल्छ । अब साथीभाइ र अरुले भनेका कुरामा बालसुलभ मस्तिष्कबाट अघि बढेकाले विविधताप्रति आकर्षित हुन थाल्छन् । घरायसी वातावरण नियमन नभएका परिवारका सदस्यहरू अल्पकालिन भेटमा जिम्मेवारीविहीन अरुका भनाईमा उत्तिकै विश्वास गर्छन् र बाआमाका संयमित नतिजाउन्मुख भनाईलाई अङ्कुशकोरुपमा ठान्ने गर्छन् । यस्तो मनोदशाले किसोरकिसोरीहरूलाई अवशर, उन्नति र आफ्नो भविष्य आफैँ बनाउने भन्दै एघार बाह्र कक्षा सिद्धिनु अघिदेखि हुटहुटीको गन्धे हावाले उकास्न थाल्छ । विदेश गएपछि सके पढने नसके काम गर्ने र आनन्दले ईष्टमित्रबाट टाढा बस्ने मनशायले पैसा कमाउन खोलिएका विदेशका विद्यालयमा निवेदन हाल्न स्याँस्याँ-फ्याँफ्याँ गरिरहेका भेटिन्छन् ।

परिस्थिति र वास्तविकताः
विदेशका राम्रा विद्यालय त् गरिब देशका उच्च आर्थिक स्रोत भएका परिवारकालागि आकर्षण केन्द्र हुन । मुद्राको सटही दरनै उच्च हुने ती देशमा एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका सामान्य आर्थिक स्रोत हुने परिवारकाले आँटन सक्दैनन् । ती विद्यालयहरू उनीहरूले गरिब राष्ट्रका जेहेन्दार र अब्बल छात्रछात्राहरूलाई आफ्ना मतियार बनाउन थापेका पाशो हुन् । विविध आर्थिक कारणले अब्बल विद्यार्थी नछुटून् भनेर केही छात्रवृत्ति पनि राखिएको हुन्छ र त्यसबाट लिने धेरैजसो विद्यार्थीमूलिले कज्याउनका लागि हो । त्यहाँको व्यवस्थामा सहायक हुने र विद्या आर्जन वा डिग्री लिने भनेकै उनीहरूको स्वाथ्र्यमा काममा जोतिनु हो । यसरी धनी राष्ट्रका शिक्षा लिन जाने अधिकांश विद्यार्थीमा त्यहीँको व्यवस्थाप्रति लालायीत हुने र रहनसहनमा अभ्यस्त बनाउने राजनीति लिसो लागेझैँ भेटिन्छ । नेपालमा रुस र अमेरिकातिर पढेर फर्किहालेका कोही भए हेर्नोस् न कस्तो स्वभाव र आनिबानीको वकालत गर्छन ? राम्ररी विचार गर्नोस् त, देशभक्ति र पितृभक्तिका कुरा गर्छन र ? बरू व्यक्तिगत नाफानोक्सान, अवशर र सानो जोडी परिवारको कुरा गर्छन, होइन र ?

त्यहाँका नीजि विद्यालय प्रायः आप्रवासीले खोलेका, हेर्दा सस्तो र आफ्नो समयअनुकूल मध्यमस्तरका विदेशीका विद्यार्थीका लागि खोलिएका हुन् । नेपालका सामान्य मस्तिष्क र आर्थिक क्षमता भएका किशोरकिशोरी लक्षित ती विद्यालय अहिले मध्यमस्तरका परिवारका किशोरकिशोरीकालागि विदेशमा पढने लोभ तुलबुल्याउन आकर्षक भएका छन् । त्यस्तोमा सानोतिनो उपाधि त लिइएला तर माथिल्लो तहसम्म पढने स्विकृतिनै हुँदैन । उतै पनि खासै काम पाइने उपाधि नभएका कारण आखिर ठिटा-ठिटी त्यतैका विशालबजार वा नेपाली भोजनालय र इन्धन भण्डारमा काम गर्ने न हुन । त्यतिभए ‘विदेशमा पढेर उतै काम पाएको र नेपालमा अवसर नै छैन’ भन्न इष्टमित्रको जमघटमा पोयो मिलीहाल्यो । त्यस्तो गरेर बस्न नसक्ने र काम नपाउने विभिन्न बहाना बनाएर नेपालभक्ति वा पितृऋण तिर्न पढेर फर्केको ठस्सा झिक्न पुगिहाल्यो । उताको भूक्तमान यता सुनाउन त लाज हुन्छ नभए पश्चिम पढेर पूर्व वा पूर्वतिर पढेर पश्चिम लागे भइहाल्यो । अचेल दुवैतिर सस्ता कामदारको माग बढेकै छ र त्यसरी जीवन चलाउनेलाई सूत्रहरू थाह छँदैछन् ।

सबै कुरा थाहा पाएर पनि सन्तानहरू मालिक बन्न देशभित्रै सकेको पढन र मानवजन्य जीवन जिउन यहाँको अनमेल समाज परिवर्तन गर्ने उपाय रच्नु सट्टा पैतृक सम्पत्ति बेचेर भएपनि विद्यार्थी बनेर विदेशीको चाकरीमा जान खोज्छन् । छ दशक बढीको अनुभवले बाआमा ‘यो नहुने बाटो हो’ भनेर ठान्दाठान्दै सन्तानको दिनदिनैको कचकच, जोरीपारीको देखाउने ठस्सा, सयौँमा एकदुईको प्रगति, न आफ्नो सन्तानले दाउ पारिहाल्छ कि भनेर जसोतसो मान्छन् । उनीहरूले देखेकै छन, देशमा गरिब जनताको उचित शिक्षा, गाँसबास, कपास दिलाउन व्यवस्थानै परिवर्तन गर्नेहरू लगाम समातेर बस्दा आफ्ना सन्तान विदेश पुर्‍याएका छन भने देशभित्रै राम्रो होला भन्ने आश पनि धुमलिएकै छ । सारा संसारलाई निराशाको खाडलमा जाक्न सबै दर्शन र सिद्धान्त बङ्ग्याएर ‘सबै कुरा पैसा र व्यक्तिवादी उन्नतिका भजन’ घोकाउन तम्सेका अगुवा भनाउँदाको गन्धे उपदेशले रङ्गमगिएको समाजमा, निरह बाआमा एकल के गरून् ? अनि नेपालमा जतिसुकै उर्लेका बाबुआमा तिनै विदेशीलाई बेचिएका सन्तानले बोलाई केहि दिन घुमेर अनुहारिकामा प्रगतिका गफ लेख्छन् र फोटा टाँस्छन् । कस्तो अधमरो मनोदशा ?

समाजको बेढङ्गको अवस्था भोग्दै नेपालमै दुखजिलो गरिरहेका बाआमा आफुले बुझेका कुरामा अडिग रहेका र परदेशिएका सन्तान अर्कै सँस्कार र व्यवस्थाको प्यादा बन्न खोजेका बिचमा पारिवारीक हुँडलो खहरेको बाढीजस्तै विनाशकारी हुन पनि सक्छ । यस पारिवारिक पहिरोमा विचल्लीमा पर्ने त ‘अजङ्गका ढुङ्गा छेउकुनामा फाल्लिएझैँ बाआमा’ अनि ‘मझधारमा मस्तले बग्ने गेग्रीन र माटो बगेझैँ सन्तानहरू’, पारिवारिक विखण्डन हुन ‘साँढेसातको दशा’ कुर्नु पर्ला त ? त्यस परिस्थितिले स्वछन्द हिँड्न खोज्ने सन्तानहरूलाई त मजै होला रोजेको आफ्नो बाटोमा लतारिन तर संयुक्त परिवारमा हुर्किएका र आफूले पनि त्यसै गरेर हुर्काएका बाआमालाई कता, कसरी घिसारिने भन्ने दोमनले विभिन्न चिन्ता, आक्रोश र मनोबैज्ञानिक पिडा खप्नुपर्ने नेपाली समाजमा देखिन्छ । त्यस मनोबिज्ञानले बाआमामा आफुले परिवारकालागि सबैथोक गरेको अहम उम्लेर मानसिक असर गरिरहेको हुन्छ भने उहाँहरूको शारीरिक उर्जा र तन्दुरुस्तीले ओरालाे लगाएको अवस्था हुन्छ ।

त्यसैले पाका बाआमा हिजो केटाकेटीमा देखेको र भोगेको भन्दा पृथक अहिले विभिन्न स्वभाव देखाउने भएर एकल परिवारमा रमाउने आदर्श बोकेका सन्तान र इष्टमित्रलाई ‘गनगने, रिसाहा, एकोहोरा, जिद्दिबाल, मानसिक र शारीरिक अस्वस्थ्य भएको चल्ताफिर्ता लाशझैँ बोझ’ बनेको अनुभूति नेपालमा हुन थालेको छ । बाआमामा उमेरले ल्याएको अशक्तता प्रति साहानुभूति र माया अनि परिवारका लागि गरिएको कामको जसमात्र आश गर्नुहुन्छ ! बढीजसो भावनात्मक अभिव्यक्ति आफन्तबाट नहुँदा पाका बाआमाका बिभिन्न अनौठा व्यवहार देखापर्न थाल्दछन् । तिनलाई विभिन्न नाममा परिवार र हेरालुले शब्दचयन गरी पाका मान्छेलाई ‘अचेल यस्तै हो ख्यालको हुनुहुन्छ !’ भनि हियाउने, गिल्लागर्ने, खिसिटिउरी गरी ‘पाको हुनुनै अभिशाप हो’ जस्तो अप्ठ्यारोमा पार्छन् । पाका मान्छे चाहीँ मनोबैज्ञानिक पीडालाई विभिन्न तरिकाले व्यक्तगरेर मन हलुङ्गो पार्न सक्छन् ।

उमेरिँदाका जटिल लक्षणः

हार्वाड स्वास्थ्य समाचारमा डा. मार्लो सोल्लिटो लेख्छिन्, पाका मान्छे भएका घरमा भेटघाटमा सबै समाचारको आदानप्रदान पछि जब बाआमाको कुरा आउँछ तब ‘बुढाबुढीको के कुरा, मनलागे यसो निस्कन्छन्, नलागे एक ठाउँ गुँडुल्किएर चाहिँदा नचाहिँदा हाम्रा कुरा काटछन्, !’ भन्ने गरेकै पाईन्छ । वास्तवमा पाका मान्छेका उमेरले ल्याउने समस्याबारेमा गम्भिर भएर सोचिँदैन र उहाँहरूका अभिव्यक्ति जहिले पनि नयाँपुस्ताको बाधक भनिने गरिन्छ । वयस्कहरूको यस्तै सोचाईले अनुभव र ज्ञानको पुस्तान्तरणमा समस्या छ र पाका मान्छेहरूलाई विक्षिप्त जस्तो व्यवहार बनाउने पिडालाई उमार्न मद्दत गरेको हो ।

पाकामा समस्या र समाधानः
पाका मान्छेमा ‘खराब बानी वा बुढ्यौलीमा त्यस्तै हो’ भन्ने केही उल्लेखनीय व्यवहार र आनीबानीका कुरा गरौँ । वास्तवमा त्यस्ता बानी र घटना खास मानसिक र शारीरिक कारणले भएका हुन्छन्, त्यसलाई सहजीकरण गर्न परिवारका जिम्मेवार वा हेरालुले बुद्धिमत्तापूर्ण आफ्नै बानीव्यहोरा गर्नै पर्दछ । पाका मान्छेलाई दोष लगाउने निम्छरो बानी गर्नै हुन्न ।

रिस, आक्रोस र झडङ्गी स्वभावः
विभिन्न खालका दीर्घरोग लागेर सधैँको उस्तै गिर्दो स्वास्थ्य अवस्थाले पिर बढेर पाका मान्छे नमिठो र अभद्र किसिमले व्यवहार गर्न सक्छन् । बोलिरहने मान्छे बोल्दाबोल्दै र केही अह्राउँदा एक्कासी हकार्ने गर्न सक्छन् भने अधैर्य स्वभावका खरर बोलिरहँदा बिचैमा आफ्ना कुरा हो भन्नै पर्ने मनशाय व्यक्त गर्छन् । स्रोताले तुरुन्तै हो नभने ‘भनेको त कहाँ मान्छौ र ? हामी डाँडाका जूनलाई, कहिले घुप्लुक्क होला र एकलौटी गरेर आनन्दले बसौँला भनि कुरिरहेका छौँ नि !’ भन्दै आक्रोशित बन्न सक्छन् । यस्तो भएमा सम्झाएर खुशी पार्न बहुत गाह्रो हुन्छ, अरुको कुरै सुन्न मान्दैनन् तथा आफूलाई हेरविचार गर्ने, सबैभन्दा नजिक पर्ने र माया गर्नेलाई नै ‘तैँले त यति गर्न सक्थिस्, अरुले गर्दैनन् थाह छ, तँ पनि अरुजस्तै भइस्, मेरो कुरै नसुन्ने भइस्’ भनेर उसैमाथि खनिन्छन् । अनि अनेक घटना उडकेर ‘अहिले मात्र हो र ? जन्मेदेखि दुःख दिएको थियो, शत्रुनै रहेछ यो त्, बरू जन्मनासाथ मरेको भएनि हुन्थ्यो, अहिले हाईसञ्चो हुन्थ्यो’ भनि अगाडी परेकामाथि फलाकि रहन्छन् ।

रिसाहा पाकासँगको व्यवहारः
पहिलो कुरा त् कस्तो र कुन कुरामा पाका मान्छे रिसाउँछन् भन्ने मूल कारण पत्ता लगाउनु पर्छ । उमेरिँदा मानिसमा आउने परिवर्तन र प्रक्रिया त्यती सजिलो र बुझ्न सकिने खालको हुन्न । शारीरिक पीडा, इष्टमित्रको मृत्यु, मानसिक तनाव र वैचारिक अहंले उमेरिँदा पाका मान्छेहरूको नियमित सहज स्वभावमा धेरै असर गरेको हुन्छ । त्यसमाथि जति पाको उमेर बढदै जान्छ त्यति शारीरिक हिसावले प्रतिरोध र प्रतिस्पर्धा गर्न कमजोर भएकाले मानसिक रूपमा सबै कुरामा आफू उल्लेखनीय नभएको मनोदशाले विक्षिप्तता आउन सक्छ । यस्ता उमेरजन्य र रोगका डाहाले भएका आनीबानी परिवर्तनलाई परिवारका अरु सदस्य र हेरालुले बुझिदिनु पर्छ ।

अल्जाइमर र अरु किसिमका बिर्सने रोगका वितृष्णा, उन्मादले च्याप्न लागेका मान्छेमा यस्ता स्वभाव विकसित हुनसक्छन् । उन्मादजस्तो बिर्सने रोगमा अमुक मान्छेमा आफ्ना बोली र कामकार्वाहीमा कुनै नियन्त्रण नै हुँदैन । उसले गरेका सबै कुरा र काम सक्षम भएर ठोस भनाई नभई अनियन्त्रित बर्बराएको मात्र हो भनेर अरुले बुझ्नु महत्व राख्दछ । त्यसलाई कसैले ईखलिने, रिसाउने र गरेका कामलाई तुरुन्तै प्रतिरोध गरेर झन उतर्सित बनाउनु हुन्न । बरु सकारात्मक र हुँदो कुरा समातेर उसको भनाईमा ‘हो मा हो’ मिलाई प्रशंसा गरिदिनु पर्छ र उठेको आक्रोश शान्त पार्नुपर्छ । त्यस्तो बेलामा उसले तत्कालमा भनेका वा विगतका नकारात्मक गल्ती उद्धहरण गरेर झन बढी उत्तेजित र झडङ्गी त बनाउनै हुन्न । बरू एकोहोरो सुन्ने र छलफल वा भनाईलाई रोक्न अरुले थप नबोल्ने गरे त्यस्तो मनोदशामा भएका पाका मान्छे एकछिनमा चुप लाग्छन् । यस्तो रणसङ्ग्राम घरमा देखा पर्दा सक्नेले पाका मान्छेलाई भुलाउन आँगन र बगैँचातिर डुलाउन लैजानु राम्रो हुन्छ । घरमाभन्दा ताजा हावा र दृश्यले मन त्यतै अलमलिन्छ तथा रन्कारन्की बन्द हुन्छ भने त्यसैबेला उहाँलाई मनपर्ने काम वा साथीभाइलाई बोलाउने वा फोनबाट कुरा गराउन सकिन्छ ।

पाका मान्छेले आफुले गर्ने तर अरुको अगाडी गर्न वा भन्न लाजहुने केही गलत व्यवहार पनि गर्न सक्छन् । त्यस्तो बानी वा सोचाई आफ्ना नजिकका इष्टमित्र, साथीभाइसँग लुकाउँछन् भने परिवारमा त् आफ्नै हैसियत खस्ने डरले झन लुकाउँछन् । कतिपयको धुमपान, सूर्तीसेवन, मादक पदार्थ सेवन र गैरसामाजिक प्रकाशन हेर्ने बानी पनि हुनसक्छ । यस्तो अवस्थामा घरकाले कि बाहिरी हेरालु राखिदिनु पर्छ कि पाका मान्छेका दिवा सेवा दिने आश्रम वा केन्द्रमा लगिदिनु पर्छ । सार्वजनिक ठाउँमा उस्तै उस्तैको अगाडी नचाहिँदो बोली, काम र व्यवहार गर्न पाका मान्छेले आँट गर्दैनन् र बिस्तारै खराव बानीहरू हटन सक्छ । रिसाउने, झर्किने र आफ्नो कुरा मनाउन बाझ्ने बानी त्यस्ता नौला मान्छे भएको ठाउँमा पक्कै पाका मान्छेले गर्न अप्ठ्यारो मान्छन र गर्दैनन् । अझ त्यस्ता ठाउँमा चिनेका र उहाँहरूलाई मनपर्ने मानिस आउने भए त झन् राम्रो हुन्छ र दिनभरिलाई भएपनि उहाँहरूमा त्यस्तो आनीबानी नआएर विश्राम मिलेर स्वास्थ्यमै अनुकुल असर पर्न थाल्छ ।

अपमानजनक व्यवहारः
पाका मान्छे कहिलेकाहीँ खेलाँची खेलाँचीमै आफुभन्दा सानालाई बेइज्जती हुने किसिमले व्यवहार गर्छन् । केटाकेटीलाई जिस्क्याउन कतिपयले कट्टु फुकाल्दिने, नाम बिगारेर भनिदिने र वयस्कलाई लाज हुने किसिमले केटाकेटी छँदा उस्ले गरेका उटिङ्गेका कुरा सार्वजनिक गरिदिने गर्छन् । अझ जसले घरमा सबैभन्दा माया र मद्दत गरिरहेको छ त्यहीँ सदस्यलाई मनपरी गाली गर्ने, उस्तै पर्दा लम्की झम्की र हात छोडने गरेर चित्त दुखाइदिने काम गर्छन् । माथि भनिएकै रिस र वितृष्णाका श्रृङ्खलाबद्ध प्रयोगले घरका मान्छे वाक्क भएर वा आफुले हेर्न समय नभ्याएर हेरालु राखेका हुन्छन् ।

बाहिरीया हेरालुसमेत दिक्क हुने गरेर कहिलेकाहीँ पाका मान्छेका झर्कने, मुख छाड्ने, जण्डो तालको बानी भइदिएर जथाभावी गरी हैरान नै पारिदिएका हुन्छन् । कतिपय पाका मान्छेमा समुदाय, क्षेत्र र सँस्कारअनुसार एकोहोरो सराप्ने र लाजभाँड बोल्ने बानी भएको पाइन्छ । घरकालाई त्यसो गरेर दैनिक कचिङ्गल भएको हुन्छ भने हेरालुसमेत चित्त दुखाएर र आफ्नो बेइज्जत भएको अनुभूत गरेर काममा नआउने हुनसक्छ । यस्ता बानीव्यहोरा नियमित हुनलागे र बढदै गए त्यस्ता पाका मान्छे बिस्तारै अल्जाइमर वा उन्मादका विभिन्न प्रकारका बिर्सने रोगले ग्रस्त हुन लागेको लक्षण हुन्छ । यस सँगसँगै मूत्र प्रणालीको सङ्क्रमणले पाका मान्छेमा उत्तेजना बढाउने र आनीबानीमै नकारात्मकता देखापर्दछ ।

त्यति मात्र हो र, मानसिक, भावानात्मक र शारीरिक अपमानजनक व्यवहार पाका मान्छेले घरपरिवारका सदस्यहरूलाई समेत गरेका कथाहरू अचेल सञ्चारमा यदाकदा भेटिन्छन् । मानसिक रोगका कारण ‘औँसीपूर्णे लागेझैँ एकदिन अति मिलनसार र अर्कोदिन दुर्वासा’ बनेर कचिङ्गल भिक्ने हुन्छन् । यस्तो व्यवहार गर्ने पाका मान्छेमा मस्तिष्कमा असामान्य विग्रह भएर आउने रोगले आफैँमात्र ठूलो भन्ने भ्रम र सिमान्त घमण्डका कारणले हुन्छ । यस्ता पाका मान्छेहरूले आफ्ना सन्तानलाई कहिले त जानीजानी गरेझैँ मायाको बाढी उराल्छन् र कहिले सत्तोसराप गरेर ‘बस्नु न हेरी छोड्नु’ गराउँछन् । आफ्ना मनको तितो पोखेझैँ गरिने गालीगलौज र अपमान वास्तवमा उनीहरू सचेतनतापूर्वक गरिरहेका चाहीँ होईनन् है ।

अपमान गर्ने पाकासँग व्यवहारः
अपमानित हुने मान्छेले पाका मान्छेलाई गम्भिर भएर अरु नभएको बेलामा आफुलाई उहाँको व्यवहार कस्तो लाग्यो खुलस्त भन्नुपर्छ । उहाँको अभद्रताले मनमा कति असजिलो भयो र चित्त दुख्यो भनेर ‘आफु उहाँभन्दा न्यूनतहकै हो तैपनि किन मेरो बेइज्जत गरेको ? किन आनन्द लाग्यो र ?’ भनि हाँसीहाँसी भन्दा उहाँहरूलाई गल्ती भएको महसुस हुन बेर लाग्दैन । घरमा पहिलेभएका राम्रा वरव्यवहार, पाका मान्छेले गरेका मायादयाका उदाहरण दोहोर्‍याउँदा उहाँहरूमा परिवर्तन आउनसक्छ । ‘त्यस्तो अभद्र व्यवहार र दुर्वाच्य उहाँहरूले मान्ने पाका मान्छेको अगाडी पनि गर्न सक्नुन्छ त ?’ भनि सम्झाउँदा समस्या समाधान हुनसक्छ । उन्मादका रोगीले बेलाबेला एक्कासी विष्फोटझैँ व्यवहार गरेमा थप नोक्सानी नहुञ्जेल अरुहरू शान्त रहनु राम्रो हुन्छ र भन्नै परे उहाँका विगतको योगदानको तारिफ गर्नुपर्छ । यसोगर्दा त्यस्तो बिरामी चुप हुने सम्भावना हुन्छ ।

हेरालु हो भने त, ‘तपाईंका आफन्तले नभ्याएर र मन नगरेर मलाई राखेको हो, मैले आफ्नै घरका बाआमाझैँ स्याहारेको छु तैपनि सन्तोष मान्नु भएन, म के गरौँ र मलाई गाली नगरी काम अह्राउनु हुन्छ भन्नोस्, त्यसै गर्छु’ भन्दिनु, उहाँले गल्ती भएको मानी गर्न छोडनु हुन्छ । कहिलेकाहीँ घुर्की लगाउन, काम छोडने सल्लाह गरेझैँ गर्‍यो भने पनि पाका मान्छे आफूलाई अफ्ठ्यारो पर्छ भनि राम्रो व्यवहार गर्न सक्छन् । शारीरिक घाउ चोट हुनेगरी गरिने अपमानका लागि त्यस्तो व्यवहार तह लगाउन जान्ने पेशाकर्मी बोलाउनु पर्ने हुन्छ । कसैकसैलाई नियन्त्रण गर्ननै गाह्राे हुने तहको पिटपाट गर्न उद्यत र मानसिक रोगले पिडितलाई आफ्नो नजिकको स्वास्थ्य केन्द्र वा मानसिक अस्पतालमा खवरगरेर केही समय उपचार गर्नुपर्ने हुनसक्छ ।

सुघ्घरसफाई नगर्ने स्वभावः
सर्वसाधारणले सोचेभन्दा पाका मान्छे नुहाइधुवाई गर्न, लाउने लुगा फेर्न र स्वास्थ्य रक्षाका लागि सफाई आवश्यक ठान्दैनन् । सफाई नगर्ने पाका मान्छेसँग घरका मान्छे झुम्मिदैनन् भने हेरालु त झन् भावनात्मक सम्बन्धको अभावमा एकदुई दिनमै काममा आउन छाड्छन् । घरका वयस्कहरू आफ्ना साना बालबालिकालाई रोगव्याध र फोहोर सर्ला भनेर पाका मान्छेका नजिकपर्न दिँदैनन् । कहिलेकाहीँ पाका मान्छेले मायालागेर केटाकेटीलाई सुम्सुम्याउन मनलागेमा बाबुआमाको आँखा छल्नुपर्ने हुनजान्छ र साह्रै ग्लानीमा पाका मान्छे हुन्छन् । यस्तो स्वभाव उन्माद बढेर पनि हुनसक्छ भने अर्को चाहीँ पाका मान्छेहरूमा आफ्नो मनमोजी अहंले जेगरे पनि हुन्छ भन्ने एकलकाँटे स्वभावको कारण हो । उमेरिँदै जाँदा पाका मान्छेमा जीवनप्रति भइरहेको आकर्षण घट्ने र निराशा बढने स्वभाव आएमा सुघ्घरसफाइ, छडी दाह्री, नुहाइधुवाई र श्रृङ्गारलाई ‘के चिटिक्क पर्नु यस उमेरमा, देख्दै लाजमर्नु, पट्ठापट्ठी जस्तो हुन धक लाग्छ’ भनेर तयारी भएर नरहने बानी लाग्नसक्छ । त्यसैले जति कर गरे पनि घरघरका पाका मान्छे प्राय एकै लुगामा हफ्तौँ कटाउने र नुहाउन चाडवाडनै पर्खनुपर्ने स्वभावका भएको पाइन्छ । हुँदाहुँदा नयाँ लुगाले जिउ पास्छ र नुहाए छाला खुइलिन्छ, भनि आफ्नो स्वभावको ओड ढाक्छन् ।

फोहोरै बस्ने र लुगा नफेर्ने बानीका लागि सायद श्रव्यदृष्टि कमजोरी पनि प्रमुख कारण हुनसक्छ, आफैँलाई अप्ठ्यारो नलागी मान्छे कहाँ परिवर्तनको पक्षमा हुन्छन् र ? आफ्नो जिउ नगन्हाई र लुगा फोहोर नदेखिई किन नुहाइधुवाई र फेरफार गर्नु ? अझ, आर्थिक अवस्था न्यून भएका परिवारमा यस्ता कुरा त शौख र सम्पन्नताका प्रतीक हुन्छन्, हुने खर्च कसरी पुर्‍याउनु ? खाना टन्न खान त समस्या छ, भन्ने डाहामा बाँचेकालाई सुघ्घरसफाई फाल्टु कुरा लाग्न सक्छन् । स्मरण शक्ति कमजोर भए त उमेरिएका मान्छे नुहाई धुवाई कहिले गरियो र लुगा कहिले फेरियो ? भन्ने पनि हेक्का राख्न सक्तैनन् । दैनिक खानपान र नीजी काम त् बिर्सन्छन भने आवधिक काम सम्झने कुरै भएन । केटाकेटीजस्तै कति पाका मान्छे नुहाउँदा राम्ररी सफागर्न सकिन्न, जाडो हुन्छ, नुहाउँदा रिङ्गटा लागेर लडिन्छ, यसो ढाड माडिदिने कोही छैनन्, पानीमात्र नासगर्न के नुहाउनु भनि पछि हटने र डराउने हुन्छन् ।

पाकाको सफाईकमी व्यवस्थापनः
यस समस्याको पहिलो निदान किन अमुक पाका मान्छे सफाई सुघ्घर गर्न मन पराउन्नन् भन्ने थाहा पाउनु हो । यदि उन्माद र बिर्सनेनै मुख्य कारण हो भने ओखतिको परामर्श लिइएका चिकित्सकसँग नै सल्लाह माग्नु पर्छ । आफैँ सिनित्त सफाई गर्न नसक्ने र सहयोग लिएर घरकालाई किन दुःख दिनु भनी अतिमायाले अह्राउन मन नलागी ननुहाउने पनि हुन्छन् । घरकाले नसघाइदिने भएर त्यस्तो बानी पारेका हुन् भने जिम्मेवारले सफाई गरिदिने बाहिरीया खोज्नु पर्छ अथवा साथीभाइसँग रमाउने भए मिल्ने खोजेर नुहाउने व्यवस्था गरिदिए पाका मान्छे अघि सर्छन् । नुहाउँदा लडिने भनी डर मान्नेलाई नुहाउने ठाउँमा नुहाउनु अघि देखाएर जति मच्चे पनि नचिप्लने चिजविज ओच्छ्याइदिने गर्नुपर्छ । उन्माद र बिर्सने रोगमा पाका मान्छेलाई नुहाईदिने सहयोगी अतिनै सहनशिल र बुझक्की हुनुपर्छ जस्ले नुहाउँदा नुहाउँदै पाका मान्छे अर्कै कुरा गर्नखोजे सम्झाउन र नुहाई सम्पन्न गर्न सकोस् । आफ्ना पाका बाआमा र हजुरबाआमालाई सुघ्घरसफाई राख्न लुगा फेराउन हुनसक्ने व्यवहारिक उपाय पहिल्याउनुहोस् र आशातित फलमा सन्तोष गर्नुहोस् । तपाईंले गर्नसक्ने र हुनसक्ने न्युनतम सफाईको मापदण्ड आफैँ बनाउनुहोस् र त्यसलाई कुनै हालतमा पूरा गर्नुहोस् । हप्तामा कम्तीमा एक टक नुहाई धुवाई र एक पटक भित्रीबाहिरी सम्पूर्ण लुगा फेरिने वातावरण बनाउनुहोस्, यसले पनि आफ्ना मान्यजनलाई छाला फुटने र सङ्क्रमणबाट बचाउन सकिन्छ । हफ्तामा दुई पटक त्यसो गरिए त पाका मान्छेको सङ्क्रमणको पिरलो र स्थायी स्वास्थ्यको झन राम्रो असर पाउनु हुनेछ ।

चाहिने र ध्यान दिनुपर्ने मागः
एकथरी पाका मान्छे हरेक कुरा आफूलाई चाहिन्छ र आवश्यक पर्छ भनी जम्मा गर्न खोज्ने, अरुले ल्याएर प्रयोग गर्न खोज्दा उहाँलाई नचाहिने पनि ‘मलाई खोई ? मलाई पनि ल्याइदिया भए हुन्थ्यो नि ! मलाई त के पुच्छथे र ?’ भनी माग गर्ने हुन्छन् । त्यस्तै आफ्नो रेखदेखमा चौबिसै घण्टा सातै दिन अघिपछि परिवारका सबै झुम्मिरहून् भन्ने आशय व्यक्त गर्छन् । आफैँ गर्न सक्ने अवस्थामा रहेका पाका मान्छे पनि आफ्ना लागि सबै काम अरुले गरिदिऊन् भनी परावलम्वीनै बन्न खोज्छन् । हेरालु राखेको घरमा पाका मान्छे बसिबसी गर्न सकिने काम र इच्छा लागेका भावनात्मक कुरा हेरालुले गरिदिओस् भनी, ‘मान्छे राखेको के काम त ? खनखनी पैसा दिएर राखेका छन्, मलाई हेर्न त्यति खर्च गर्नु साटो आफैँ सक्थे, कमाई कहाँ पोखौँ भएर उम्लेका !’ भनि परिवारलाई दोष लगाउँदै हेरालुलाई ‘लिप्न नि हुने, पोत्न नि हुने’ जस्तो व्यवहारगरी एकछिन टाटी टिक्न नदिई काम अह्राइरहन्छन् । हुँदाहुँदा हेरालु भनेर राखेकालाई ‘के बसी रहनु त ? त्यति जाबो गरे के हुन्छ ?’ भनी हेरालुले गर्ने कामबाहेक घरको अरु काममात्र होईन उस्तै पेल्दा इष्टमित्रका काम पनि लगाउन बेर लगाउन्नन् ।

पाकाको माग व्यवस्थापनः
पाकालाई रेखदेख गर्न खटिएको घरको मान्छे र हेरालुलाई उहाँलाई हेरविचार र अनुकुल आवश्यकता पूरा गर्नमै मनग्गे काम हुन्छ । घरका सदस्यले पाका मान्छेको उपस्थितिको विविध आवश्यकतामा अरुहरूले पनि श्रम विभाजन गरेर सामाजिक र पारिवारिक कामकाजमा लागि मेलो गर्नुपर्दछ । एक्लो हेरालु मान्छेले अशक्त पाकालाई हेरविचार गर्न र मानविय जीवन बनाइदिन त चौबिस घण्टा गर्न नसकेर दुई वा तिन जना चाहिन्छ । घरभित्रको काम बाहेक अरु आवश्यकता पर्दा थप जनशक्ति अवश्य व्यवस्था गर्नै पर्छ । त्यस्तै घरायसी काम र ओखति मूलोको लागि अलगअलग हेरालु वा परिचारिकाको व्यवस्थागर्नु पनि कतिपय एक्लिएका पाका मान्छेका लागि आवस्यकनै पर्दछ ।

अन्त्यमा,
नेपालमा देखिएको पारिवारिक विखण्डन र सन्तानको असिमित लुब्ध चाहानाले बाआमामा उमेरजन्य शारीरिक दुर्वलतासाथै मानसिक समस्या थपिएर अनौठा व्यवहार देखा परेका छन् । तिनलाई खुट्ट्याई त्यसअनुसार उपयुक्त रेखदेख र सहयोग गर्न घरका मान्छे वा हेरालु तोक्न सकिन्छ । समस्याको पहिचानसँगै घरको आर्थिकस्तरले भ्याएसम्म पाका मान्छेकोलागि सहज व्यवस्थापन गरिनु मानवीय कर्तव्य हो । ‘बुढाबुढी भए पछि निहुँ खोज्छन्, हुरुक्क हुनेबेला परिवारलाई खुनेसो, पिण्ड खानेबेला कुचेष्टा लागेको, कस्तो हुरुक्क न जुरुक्क, गनगन कहिले सकिने हो ?’ भनी आफ्ना अग्रज र पाका बाआमालाई चित्त दुखाइदिने र भएको ज्ञान उहाँहरूसँगै सिद्धिने काम नगरौँ । ‘छेउको सियो माझमा’ भनेझैँ हाम्रो पालो पनि चाँडै आउँदै छ विचार गरौँ, हाम्ले पनि पाको उमेरमा सन्तानबाट त्यस्तै नराम्रो भोग्न खोज्या हो र ?

०००
फागुन ९, २०८०
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेका कुरा सुनौँ !

पाका मान्छेका कुरा सुनौँ...

डा. मुकेशकुमार चालिसे
पाकाले बेलैमा सावधान होऔँ !

पाकाले बेलैमा सावधान होऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाले हिँड्न नसक्नु नै सबथोक !

पाकाले हिँड्न नसक्नु नै...

डा. मुकेशकुमार चालिसे
पाकाप्रति परिवार, समाज र राज्यको दायित्व !

पाकाप्रति परिवार, समाज र...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x