साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छे उमेरिदा के गर्ने ?

पाको उमेर आफैँमा एउटा नयाँ पाठशाला हो । दशकौँको अनुभव र ज्ञानमा जीवनको एउटा नयाँ उमेरजन्य अनुभवको अध्याय थप्ने बेला हो । पाका मान्छे आफैँलाई उमेरिँदा के कस्तो अनुभूति होला र कसरी सोचिएला भन्ने पूर्वानुमान हुँदैन ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

मानिसहरू जन्मिएसँगै मानसिक र शारीरिक हिसाबले विकसित हुँदै जान्छन भने उमेरका हिसाबले बढ्दै उमेरिदै जान्छन् । यो उमेरिनु भनेको अरु जीवहरूमाझैँ मानिस प्रजातिको प्राकृतिक नियम अन्तरगत विश्वव्यापी, नियमित र अवश्यमभावी जैविक प्रक्रिया हो । जन्मजात कतिपय शारीरिक जैविक प्रक्रियाहरू आवश्यक्ता अनुसार घट्ने हुन्छन् भने कतिपय थप उमेरसँगै चाहिने भएर विकसित हुँदै जान्छन् । बालककालदेखि हुर्कँदाको अनुभव र आनिबानीसँगै नियमित व्यायाम पुग्ने शारीरिक गतिविधि र श्रमको अभावमा एकैथलो बस्ने व्यक्तिहरूका बिचमा उमेरिनुका दुई प्रष्ट भिन्नता देखापर्दै जान्छ । हामी सबैलाई थाह छ, घरपालुवा भैँसी र बनैया अर्नामा, घरपालुवा भेडाबाख्रा र बनैया मृग, थार र घोरलमा शारीरिक फूर्ती र चनाखोपन कत्ति धेरै फरक पर्छ । मानिस प्रजातिमा पनि आवश्यक्ता र श्रमका आधारमा वंशाणुगत उस्तै चरित्र रहे पनि हुर्किएको वातावरणीय प्रभावले शारीरिक तथा मानसिक विकास भिन्न ढङ्गले भएर विविधता देखिन्छ ।

उमेरिनु र एकै ठाउँ श्रमबिनाको जीवनपद्धतीको सोझो प्रतिफल शरीरका मांसपेशीको क्रियाशिलतामा घटछ र मुटु फोक्सोको स्वस्थ तरोताजापन नहुन सक्छ । लामो समय एकैतमास रहिरहे दैनिक मानवीय सामान्य गतिविधि गर्दापनि स्वाँस्वाँ र फ्वाँफ्वाँ हुनसक्छ भने स्वतन्त्रतापूर्वक जिउन निकै मुस्किल पर्दछ । त्यस्ता मानिस परावलम्बी बन्छन् र हरेक गतिविधिमा कसैले गरिदिएला कि भनी अरुको भर पर्ने आशामूखी जिउँदा लाश बन्छन् । हुँदाहुँदा वरको सिन्को पर सार्न पनि उनीहरू अरुलाई गुहार्न थाल्छन्, लखनौका नवाब आफ्ना जुत्ता लगाइदिने मान्छे नभएर बेलायतीको कब्जामा परेका कथा नेपालीलाई थाहा हुन सक्छ, श्रम गर्न नसक्नेको यो मननीय उदाहरण हो ।

उमेरिँदा पनि सकेको व्यायाम गर्ने, शरीरलाई श्रम पुग्ने गरी शारीरिक गतिविधि गर्ने पाका मान्छेका मांसपेशी र श्वासप्रश्वास प्रक्रिया यथेष्ठ स्वस्थ्य रहेको पाइन्छ । फलस्वरूप नियमित र विविध शारीरिक गतिविधि र व्यायाम पुग्ने श्रमले गर्दानै उमेरिँदा प्राय झम्टने श्वासप्रश्वास, मुटुरोग, हृदयघात, हाडजोर्नी खिइने, मोटोपन र विभिन्न असाध्यै रोगहरूबाट बचाउन महत्वपूर्ण भूमिका पूरा गरेको पाइन्छ । पाका मान्छेका उमेरजन्य कमजोरी र एकै ठाउँ डल्लिने स्वभावविरुद्ध गतिविधि बढ्ने, मानसिक स्वास्थ्य ताजा हुने साथै जीवनस्तरमा सकारात्मक वृद्धि भई मृत्युदरमा ह्रास भएको पाइन्छ । उमेरिँदा व्यायाम र श्रमको उचित प्रयोग र सन्तुलनले हेर्दा दुब्लो-पातलो देखिए पनि शारीरिक उर्जाशील, हिँडडुल छरितो र आन्तरिक वलिष्ठता हुन्छ भने मस्तिष्क क्षमता कायमरही पाको उमेरमा समेत सक्रियता कायम रहन्छ । डा. नाओमी केन्डरिकको भनाइमा सङ्क्रमणको अवधिमा पनि सकिने शारीरिक श्रमले रोगको ठिक पहिचान भई गरिनु पर्ने थप ओखती बारे प्रमाणिक मात्रा बढाउन मद्दत गर्छ र रोग निर्मूल गर्न सहायक बन्छ । त्यसैले आजकाल चिकित्सकहरूले प्राथमिक उपचारले आएको नतिजा विचार गरेर, शारीरिक स्वस्थता वृद्धि आङ्कलनसहित रोगको उपचार व्यक्तिका निजात्मक अवस्था हेरेर नियमन गर्न कोशिश गर्छन् ।

डा. डुरान भन्छन, उमेरिएका पाका मान्छेमा व्यायामले देखिने भिन्नता चाँडै आउने हुनाले यसलाई ओखतीको मात्रा जस्तै रोग उपचारमा एक अभिन्न प्रक्रियाको रूपमा परिपुरक मानिएको छ । त्यसैले फरकफरक रोग उपचारको क्रममा व्यवस्थापन उचित गर्न फरक तरिकाका व्यायामलाई चिकित्सकले सल्लाह दिएका हुन्छन् । औषधिको विकल्पमा उपयोग गर्न सकिने व्यायाम काम लाग्ने उपचार पद्धती हो भने उन्मादमा विभिन्न ओखतीले गर्ने दुष्परिणाम नहुने विधि हो । विस्मृति र सुकेनाश लागेका उमेरिएका पाका मानिसलाई दिइने प्रष्ट प्रभावशाली ओखती अझैँ छैन, बरू बढ्न नदिने परोक्ष ओखती सेवन गर्न लगाईन्छ । व्यायाम र शारीरिक श्रमले पाका मान्छेमा थप असाध्यै बनाउन बाट प्रारम्भिक रोकथामको उपचार हुनसक्छ । यस्ता अभ्यासहरू अतिनै पाका मान्छेमा समस्या आउँदा पनि तथ्यमा आधारित प्रामाणिक औषधोपचार पद्धति नै मानिन्छ ।

विज्ञहरूको म्यानचेष्टर शहरी उमेरिने अनुसन्धान समूहका अनुसार, उमेरिँदा गरिने व्यायामहरू पाका मान्छेमा आउने शारीरिक परिवर्तनहरूको सुक्ष्म अवलोकन गर्दै प्रभावकारिताको मुल्याङ्कन पश्चात विभिन्न प्रयोगलाई जाँचेर मात्र मात्रा निर्धारण गरिन्छ । कतिपय परिक्षणले असाध्य हुने रोग लाग्न नदिने वा अपाङ्ग हुनबाट बचावट गर्ने काम पाका मान्छेमा भएको देखिएको छ । अहिले भइरहेका सोधपरीक्षणका कमीलाई पूर्ताल गर्न श्रम गर्ने र कसरतको मात्रा मिलान गर्दै चल्दै आएका ओखतीको सेवन गराउने भएकाले पाका मान्छेमा यो एकिकृत पद्धती प्रभावकारी भएको छ ।

रोगको रोकथाम र उपचारः

संसारमा जनसङ्ख्या दिनपरदिन उमेरिँदै छ, र पैँसट्ठी उमेरभन्दा माथिका पाका मान्छे सन २०५० तिर अहिलेको दोब्बर भएर लगभग १५० करोड हुने सम्भावना छ । मानिसको बाँच्ने उमेर स्वास्थ्य विज्ञान र ओखतीको व्यापक अनुसन्धानले धेरै मात्रामा बढेको छ । त्यसैले ८० वर्ष माथिका पाका मानिस सन २०१९ को तुलनामा २०५० सम्म तेब्बर बढेर संसारमा ४२ करोड ६० लाखभन्दा बढी हुने अनुमान गरिएको छ । उमेरिँदो जनसङ्ख्या वृद्धिले संसारभरी स्वास्थ्यसेवा, सामाजिक जीवनको गुणस्तर, सेवानिवृत्त अवधि, एकअर्काको हेरचाह, र अतिमहत्वपूर्ण चाहिँ बुढेसकालका नसर्ने रोग लागेका र अशक्त पाका मान्छेको धेरै सङ्ख्या हुनु लगायत चौतर्फी क्षेत्रमा असर गरेको हुन्छ । मानिसमा सबै शारीरिक प्रक्रियालाई पुग्ने गरेर करिब २०-३० वर्षको उमेरसम्ममा प्रणालीहरू विकसित भइसकेका हुन्छन् भने क्रमशः बिस्तारै हरेक शारीरिक प्रणालीले गर्ने काममा सुस्तता ल्याउँदै गर्न थाल्छन् । जहिलेदेखि प्रणालीगत काम सुस्तरी हुनथाल्छ तब सम्झनु पर्छ अमुक मान्छे उमेरिन थालेछ र यो प्रक्रिया व्यक्तिव्यक्तिमा फरक हुन्छ र फरक प्रणालीको कार्यक्षमता ह्रासभएबाट देखा पर्दछ । उमेरिने प्रक्रिया त्यसैले छ-सात दशकसम्म रहन्छ र अन्त्यमा मृत्यु भएपछि मात्र सकिन्छ ।

शारीरिक गतिविधि र कसरत फरक क्रियाकलाप हुन र उमेरिँदा दुई तहमा बाँडेर हेर्नुका कारण छन्ः शारीरिक गतिविधि ज्युँदा मानिसले गरिहाल्छन् तर कस्तो गर्छन् ? स्वस्थ मान्छेले गर्ने जस्तो कि अस्वस्थले गर्ने जस्तो ! अर्थात् काम जसरी भइरहेको छ त्यसै गरेर गरिने हो कि सकीनसकी लर्‍याङ्गलुरुङ गर्दै गरेको जस्तो मात्र ? भने जसरी र हुनु पर्ने गतिमा भइरहेको छैन भने उमेरिएर अस्वस्थ भएको लक्षण भन्न सकिन्छ । शारीरिक गतिविधिलाई कम्तीको नठान्नोस्, यसमा अस्थिपञ्जर प्रणालीमा जोडिएका मांसपेशीहरू क्रियाशिल भएर शरीरको हलचल हुने हो र यसले शारीरिक ऊर्जा एकदम बढी खर्च हुन्छ । त्यसैले त ठूलो शल्यक्रिया पछि वा घातक रोग लागि सिकिस्त भएको बिरामीलाई हलचल नगरी बस्ने सल्लाह दिन्छन । त्यही बिरामी अलिअलि निको हुँदै गएपछि अरुको सहारामा उठाउने र सुस्त हिँडाई मांसपेशी र जोर्नीको गतिविधि गराईन्छ । उमेरिएका मानिसमा यही दैनिक गतिविधि पनि उमेर र स्वास्थ्य अवस्थाअनुसार फरकफरक हुनसक्छ ।

कसरत अर्थात् व्यायाम भनेको सबैले गर्नुपर्ने दोस्रो तहको गतिविधि हो र यस प्रक्रियामा योजनामुताविक कार्यतालिकासहित नियमित एकैप्रकारको शारीरिक अभ्यास दोहोर्‍याइन्छ । व्यायामले शरीरका सबै भागको गतिविधि हुन्छ भने इच्छ्याइएको अङ्ग मात्रैको पनि स्वस्थता कायमराख्ने वा प्रगति गराउने उद्देश्य रहन्छ । यसै अन्तरगत श्वासप्रश्वास प्रणालीको क्षमता अभिवृद्धि, मांसपेशी बलियो र दीर्घउपयोगी बनाउने, अङ्गहरू बिचमा र सिङ्गै शरीरको सन्तुलन बढाउने, शरीरका प्रणालीबिच उचित संयोजनका साथै शरीरमा लचकता कायम गर्ने पर्दछन् । सामान्य स्वास्थ्य भएका उमेरिएका पाका मान्छेले ज्यानले सकेको व्यायाम गर्नैपर्छ र ‘आ… बुढेसकालमा के उछलकुद ?’ भनी निसोख्या हुनुहुन्न । यस्ता समस्या पछि आउलान् भनेर वयस्कहरूले कसरत बेलैमा गर्न शुरु गरेमा उमेरिँदा धेरै कष्ट पाउनु पर्दैन ।

खास प्रकारको अवस्थाः

पाका मान्छेमा उमेरिँदा गरिने सामान्य गतिविधिले मात्रै आफ्नो स्वास्थ्य गतिलो बनाउन सकिन्न, छाती, फोक्सो, कलेजो, पाचनप्रणालीका समस्या आउन सक्छन भने बसीबसी खाने बानीले मोटोपन (भूँडी लाग्ने हातगोडा सुक्ने), मस्तिष्क र टाउकाका रोग बढछन् । तर उस्ता समस्याहरू उमेरिँदा गरिने प्रयासले पनि रोकथाम गर्न र भएमा सुधार गर्न सकिन्छ । उपरोक्त समस्या भएका पाका मान्छेहरूले नियमित कसरतका साथै जीवनपद्धतीको फरक तरिका शुरु गर्ने र दैनिक भोजनमा सन्तुलन गरेमा रोकथाम गर्न सकेका थुप्रै उदाहरण छन् । यस्तै भएका पाका मान्छेले दैनिक घरकाज बाहेक व्यायाममा निरन्तरता दिई शरीरको क्षमता वृद्धि गरेर अझै विभिन्न खेलकुदमा सक्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा गरीरहेका छन् । प्रतिस्पर्धा गर्ने उमेर र क्षमता घटिरहेको उमेरिएको शरीरले यस्ता प्रयासमा उत्साहजनक उपस्थिति विश्वव्यापीरूपमा देखिन्छ ।

पाको उमेरमा के चलखेल भनि एकैथलो चाकलमाडे रहने अल्छी मान्छेमा भने अतिनै समस्याले घेरिएर विलौनाका गनगनमा दिन बितेको पाईन्छ । उनीहरूमै स्थिर शरीरले निम्त्याउने सबै समस्या देखिन्छ भने व्यायामको अभावमा कुँजिएर थला परेको स्थिति पनि हुन्छ । वंशानुगत चरित्रले नदिने बाहेक पाका मान्छे उमेरिँदा जिम्मेवारीको कमी र विभिन्न कारणले समयको प्रचुरताले आफ्ना शारीरिक प्रणाली र स्वास्थ्य रक्षा कायम राख्न उल्लेखनीय सक्रियता लिनसक्छन् । निश्क्रियता रुचाउने र गतिविधि सकेसम्म पन्छाउने उमेरिएका पाका मान्छे भने आलाकाँचा केटाकेटीलाई सामान्य रोगले पनि दुख दिएझैँ उमेरले चाउरिएर झ्याउरो देखिने मात्र होइन पर्याप्त व्यायामको अभावमा रोगी र बेकामका बन्छन् ।

यस्ताे स्थितिका कारणले धेरै पाको नहुँदै रुगरुगाउँदो हुनु, पिल्पीलाउँदो हुनु र मृत्युदर बढाउने कारक बन्न पुग्छन् । यस्ता पाका मान्छेलाई भित्र्याँसका समस्या सामान्य हुन भने मधुमेह, मोटोपन, मांसपेशी झोल्लिनु, मस्तिष्कका समस्या आउनु, सधैँभरी रोगी जस्तो जुम्सो भई जीवन अन्त्य गर्छन । सामान्य गतिविधि उमेरिदा लाग्नसक्ने रोगव्याधको निमित्त प्रारम्भिक ओखतीनै हो भने कसरत बचाउने थप सामाग्री हो । यसपछि पनि रोग लागेमा शारीरिक परिक्षण गरेर त्यसको कारण, सङ्क्रमण लेराउने वस्तु र खानु पर्ने ओखती बारेमा समग्र जानकारी विज्ञबाट लिई पाका मान्छे धेरै वर्ष पृथ्विको गतिविधि नियाल्न सक्नेछन् ।

उमेरिँदा पाका मान्छेले गर्नुपर्ने गतिविधिका विविध विकल्प छन् । अझसम्म संसारमा समाज विविध आर्थिक-राजनीतिक वर्गमा विभाजितनै रहेको छ र सबै स्तरका पाका मान्छेलाई उस्तै विकल्प नमिल्ने हुन सक्छ । कतिपय बसिखाने वर्गका पाका मान्छे र दैनिक श्रम गरेर दैनिकी पूरा गर्ने पाका मान्छेमा स्तरगत भिन्नता छ । एकाथरीलाई शारीरिक व्यायाम नपुगेर रोगग्रस्त भई ओखतीमा लाखौँ खर्च गर्नु परिरहेछ भने अर्कोथरीलाई हातमुख जोर्न दैनिक घोटिँदा पौष्टिक खानाको अभावमा रोगग्रस्त भई ओछ्यान परेर पैसाको अभावमा चाँडै मृत्युवरण गरिरहेछन् । बदलिँदो सामाजिक प्रणालीमा कतिको उमेरिँदा देशदेशावर घुम्ने, तिर्थस्थल दर्शन र पहिले नदेखेका ठाउँ डुल्ने अवसर पाएको सामाजिक सञ्जालमा समेत देखिन्छ । अर्काखालका कतिपय परिवार अति न्यूनपूँजीवादी सोचबाट आफ्नो मनलाग्दो गर्न पाका अशक्त बाआमालाई आश्रममा पठाइदिने र मति बिग्रेका दुष्ट चेतनाबाट प्रभावित भएका सन्तानले त निर्दयतापूर्वक बेवारिस बनाइदिन नौलो ठाउँमा छोडिदिने हिजोआजका समाचार बनेका छन् ।

बुझ्ने कुराः
उमेरिएर पाको बन्ने सामान्य अवस्थाका पाका मान्छे कम हुन्छन्, अझ नेपालजस्तो देशमा आर्थिक असमानताले शारीरिक र मानसिक क्षमताको प्रयोग नितान्त भिन्न ढङ्गले भएकाले पाको उमेरसमूहका मानिसको अवस्था असामान्य छ । असामान्य हुनुको पछाडि देशमा विकसित असहिष्णु सामाजिक सोचाई, एकलकाँटेपन र व्यक्तिवादी निर्दयी व्यवहार धेरै हदमा जिम्मेवार छ । आजकाल मानिसहरू परम्परागत लाज, शरम र घिनको शाब्दिक अर्थ पनि जान्दैनन् कि जस्तो चालचलन र व्यवहार गर्छन । दया, माया, आदर, सत्कार र ज्ञानको प्रसंशा हुन छाडेको छ भने परम्परागत लोकलाज र पापको डर पनि हुन छाडेको जस्तो आभाष हुन्छ ।

यस परिस्थितिले सबैभन्दा पीडा उमेरिएका पाका मान्छेलाई भएको छ । हिजोसम्म सबैकुरामा भरथेग गर्ने बाआमा अहिले दुईचार अक्षर पढेर दुईचार पैसा कमाउने भएपछि सन्तानका लागि बोझ लाग्न थाल्छन् । सन्तान विभिन्न बहानामा (अवसर, पढाई, कमाई, समाज, उन्नति, आनन्द र इच्छाअनुसार काम आदि) बाआमालाई छोड्न चाहन्छन् । हद गरे उनीहरूका सन्तान हुकाई दिन तेलभिसामा कहिलेकाहीँ बोलाउँछन्, बाआमा परम कर्तव्य सम्झेर उतै लतारिन्छन् । काम सकेर फेरि फर्कन्छन् उमेरिएका पाका आफ्नै कोचेधन्धातिर । बाआमाको मृत्युसैयामा पनि उपस्थित हुन समय नमिल्ने भनाईका साथ अलग्गिएका सन्तान पैतृक सम्पत्ती केहीभए ढिलो चाँडो आएर सकेको गुटमुट्याई फेरी लाग्छन् आफ्नै गुँडतिर ।

सँगै बसेका सन्तान निरन्तरको सहवासले उत्प्रेरित भए त ‘ठिकै हुन्छ घर, घरजस्तै हुन्छ’, सहिष्णु, शान्त र सुन्दर ! त्यस्तोमा सबैले सबैका कुरा आत्मसात् गर्छन र पाका मान्छेका उमेरिँदा देखापर्ने शारीरिक र मानसिक अनुभूतिलाई परिवारलाई नौलो भए पनि सहृदयी भएर सुन्छन् । उमेरिएको अनुभव आफैँमा नौलो कुरा हो, सबैलाई फरकफरक सकस र आनन्द हुन्छ । उमेरले गर्दा हिजोसम्म सरल र सहज कामकुरो अहिले पहाड बन्न सक्छ भने मानसिकरूपले आँट हराउन सक्छ । यस्ता उमेरजन्य अनुभवलाई सहानुभूतिपूर्ण तरिकाले बुझिदिने परिवार भए त स्वर्ग खोज्न मरिरहनु परेन ।

पाका मान्छेलाई सहज नभएको परिवारमा त कलह र रडाको खोज्न कतै जानु पर्दैन, घरमा सबै जम्मा भएको बेला पर्नु पर्छ दन्तबजान बाहेक के सुनिएला ? त्यस्तो घरमा सधैँ निहुँ खोजाखोज र अपजस बाहेक राम्रा कुरा सुन्नै गाह्रो हुन्छ । सबैभन्दा मारमा पर्ने पाका बाआमा, अनि दुर्दशा व्यहोर्ने अशक्त उमेरिएका मान्छे, नरक खोज्न कहीँ जानु पर्ला र ? त्यस्तो परिवारमा उदायचलदेखि अस्तायचल र रातमा पनि कुण्ठा, आरिस, अपशब्द र दुर्मुखकै राज्य हुन्छ । अझ अशक्त पाका मान्छे त बातैपिच्छे, ‘कालले पनि बिर्सिएछ, कति दुख खप्न भावीले लेख्या र छ !’ भन्दै आफ्नो दिन गनिरहेका भेटिन्छन् ।

अन्त्यमा,
पाको उमेर आफैँमा एउटा नयाँ पाठशाला हो । दशकौँको अनुभव र ज्ञानमा जीवनको एउटा नयाँ उमेरजन्य अनुभवको अध्याय थप्ने बेला हो । पाका मान्छे आफैँलाई उमेरिँदा के कस्तो अनुभूति होला र कसरी सोचिएला भन्ने पुर्वानुमान हुँदैन । नयाँ खालका शारीरिक र मानसिक समस्याले घर गर्न थाल्छन्, हिजो त्यस्तै कुरामा जे सोचिन्थ्यो अहिले उमेरिँदा हरेक कुरामा नयाँ खालको परिस्थिति, विचार र स्वभाव मिलाउनु पर्ने हुन आउँछ । धेरैजसो आशामूखी र मायाको भावमा उमेरिएका पाका मान्छे हुन्छन् भने अशक्त त परावलम्बी हुने भइगए ।

पाको उमेरमा सकेसम्म आत्मनिर्भर बन्न र उमेरिँदा पनि सकेसम्म सन्तोषी र सहज जीवनयापन गर्न पाको उमेरमा गरिने कामकाजको वर्गीकरण गरौँ । नियमित दैनिक काममा फुर्तीका साथ लागौँ र धेरैको सहयोगी बनौँ, यसले तपाईंलाई निस्क्रिय हुनबाट जोगाउँछ । रोगव्याधलाई टाढै राख्न, लागि हालेमा पथपरहेज बाहेक चिकित्सकको सल्लाहमा उचित ओखती भने अनुसार नियमित सेवन गरौँ र गर्न हुने व्यायाम समय मिलाएर गरौँ । उमेरिएको पाको जीवन सकेको उत्पादनशील भई बिताऔँ, रोगव्याध र सकस त हाम्रो उमेरको गहना हो, गहना बिना त जो पनि बुच्चो लाग्छन नि, होइन र ? अचेल भर्‍याङ उक्लँदा घुँडा दुख्नेमात्र होइन आर्लदा खुरमुरिएर कति चाँडै तल आइपुगेछु भन्ने बेला आएको होला, थप चिन्ता किन ? रह्यो अन्तिममा मर्ने कुरा, नमर्ने संसारका कुन जीवित प्राणी छन् र ? सबैले एक दिन आफ्नो रसोबासो नचाहेपनि छोडनै पर्छ, ‘कहिले काल आउँछ ?’ भनेर अहिलेदेखि सुर्ताले पलपल नमरौँ, बरू सकेको बहुजन हितायको कामगर्न आफ्नो शारीरिक र मानसिक अवस्था ठिक राखीरहने प्रयास गरौँ, आँट्यो भने सकिन्छ ।

०००
फागुन २३, २०८०
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x