कृष्णप्रसाद गाैतममजा (२)
सत्ताबाहिर खस्न छैन मन यो भित्रै खसेको मजा अठ्याई बसियो तथापि खसियो तातो न छारो मजा ! गर्नेसम्म प्रयास त्यो बखतमा गर्दै गरेथ्यौँ मजा दर्पै दर्प लिएर सर्प बनिँदा जाला कि अन्तै मजा !

कृष्णप्रसाद गौतम :
ब्रह्मा विष्णु इसा उमा सरस्वती सर्वस्व सत्ता मजा
सत्ताबाहिर बस्न यो मन कवै मान्दै नमान्ने मजा !
तस्मात् गर्नु छ साँठगाँठ पहिला सत्ता समेट्नै मजा
पल्टाई सरकार रातबिचमै तख्ता पलट क्या मजा !१।
साला भानिज नाति उच्च पदमा जम्मै लगाऊँ मजा
टाढाका जति हुन् भएजति सबै ठ्याम्मै नआए मजा !
पाखा पर्वत खेत बाँझिन पुगे झाडी बढ्यो भो मजा
आधा मानिस बस्छ काम नगरी कस्तो उभिण्डो मजा !२।
चर्को दाम लिएर नागरिक क्वै बेच्दा भएथ्यो मजा
लाग्दा नेल-कडी र जेल रहँदा तातो न छारो मजा !
ज्ञानी शिक्षित भेजिए परपरै मानिन्छ अर्को मजा
सोझा निर्वल बाल वृद्ध वनिता मान्छन् र यस्तो मजा ?३।
सत्ताबाहिर खस्न छैन मन यो भित्रै खसेको मजा
अठ्याई बसियो तथापि खसियो तातो न छारो मजा !
गर्नेसम्म प्रयास त्यो बखतमा गर्दै गरेथ्यौँ मजा
दर्पै दर्प लिएर सर्प बनिँदा जाला कि अन्तै मजा !?४।
माटो रुन्छ सधैँ यहाँ विकल झैँ पोखेर आफ्नै व्यथा
मेटिन्छन् कि कतै महाविजयका पुर्खाहरूका कथा !
खोज्दैछन् कतिले मजा अझ मजा खाऊ कमाऊ मजा
मज्जाकै भर धर्मकर्म सकियो, गुम्दो छ आफ्नै मजा ।५।
छाडे देश सबै भए परपरै विज्ञानका पारखी
एक्लो भो घरगाउँ शून्य रहाँदा विकासका सारथी ।
नेता मात्र रहे यहाँ पछि भने कस्तो हुने हो मजा
रित्तो घार कुरेर बागबिच के लिन्छे त रानी मजा ?६।
सत्ता मात्र छ स्वार्थ नायकहरू लड्छन् सधैँ आपस
गुम्दो इज्जत स्वाभिमान घरको के आउला वापस ?
यस्तै दर्प लिएर सर्प बनिँदा लुट्ला अरूले मजा
आऊ दर्प त्यजेर नायकहरू ! होला यसैमा मजा ।७।
०००
इटहरी, सुनसरी ।
२०८०/११/२४
Subscribe
Login
0 Comments
Oldest







































