साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाले नाक त जोगाउनै पर्छ !

वास्तवमा नाकले परिपूर्ण गर्ने घ्राणशक्तिको महत्व, छुट्ट्याउने हैसियत र त्यसलाई चाहिँदो मात्राको विश्लेषण पछि संस्मरणसँग जोडेर फाइदा बेफाइदा लिने काममा गन्धको भूमिकासँगै नाकको शरीरमा उच्चस्थान रहेकालेनै नाक राख्ने कुरा भएको रहेछ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

अहिलेका मानिसमा नाकको कुरा कम हुन्छ, पहिले त परिवारको नाक राख्ने गरेर कामकाज र अध्ययन गर्नुपर्छ भनेर धसिएर हरेक क्रियाकलाप गर्ने संस्कार नै थियो । राम्रो गरेमा नाक रहने, नाक ठाडो हुने, इज्जत भएमा नाक फुलाउने, इज्जत गएमा नाक काटिने, मिठो र नरम बोलीवचन नभएमा बाबुबाजेको नाक जाने, अध्ययन नगरे आफ्नो होइन परिवारकै नाक जाने भन्थे । होइन, यो नाकको कति महत्व रहेछ पहिला ? किन नाकको त्यतिबिघ्न महत्व हुन्थ्यो भन्या ? अहिले नाकको काम सकिएछ कि ? कसैले जतिसुकै नकाम गरेपनि ‘नाक जाने काम नगरौँ न’ भन्दै भन्दैन, किन होला ? कि अचेल नाकको महत्व सबै घटिसक्यो कि ? कसैलाई कुनै वास्ता नहुँदा पनि पाका मान्छेलाई भने अझै पुर्खाको नाम र वंशको नाक राख्ननै चिन्ता भइरहेको सुनिन्छ । त्यसैले, ‘कस्ताका छोराछोरी हामी ! हामीले यसो गर्नुहुन्छ र त्यसो गर्नुहुन्न’ भनि बेलाबेला अरुलाई नसके आफ्नै परिवारका कम उमेरकालाई पाका मान्छेले सधैँ ठुङ्गी रहने बानी नै हुन्छ ।

साँच्ची ‘नाक काटिने र नाक रहनेसँग’ मानव समुदायको अस्थित्वको के सम्बन्ध होला ? के पाका बाआमाले घोक्ने नाक महिमा फगत् गनगन मात्र होला कि कुनै तथ्य पनि जोडिएको होला ? हुन त कतिपय पुर्खाले हज्जारौँ ठक्कर र असफलतापछि सिकेका कुरालाई यथेष्ट व्याख्याको अभावमा अचेल अवैज्ञानिक वा परम्पराको फुरफुर भनि बेवास्ता गरिन्छ तर ‘फोहोरबाट त मोहोर कमाइन्छ’ भन्ने जमानामा केही तारतम्य मिलाएर बुझेमा फाइदै होला नि ! मेरो विचारमा नाकको धेरै काम छ, त्यसैले यसको विज्ञानसम्मत खोज हुनैपर्छ, नत्र जुनसुकै कुरामा नीतिखोजी गरेर आफ्नो हित र रैथानेको बिल्लीबाठ बनाउन तम्सिने पश्चिमाहरू समेत नाक फुल्यो भनि आफ्ना उपलब्धिमा किन खासखुस गर्थे हँ ?

नाकको काम के ?
डोनाल्ड लेएर्ड नामका मनोवैज्ञानिकले १९३५मा गन्ध र मस्तिष्कको संस्मरणसँग नाकको के सम्बन्ध हुन सक्छ ? भन्ने अनौठो र गज्जब वजनदार प्रश्न सबैका सामु तेर्स्याएर खोजबिन सुरु गरे । त्यसताका रहेका संवेदनशील स्नायु विज्ञानका उनका समकालिन धेरै विज्ञहरू निकै नामचलेका अब्बल दर्जाका र दृष्टिनै सबैकुरा हो भन्ने पूर्वाग्रहमा नै रमाएका थिए । उच्चस्तरका डार्विन र फ्राएड जस्ता वैज्ञानिकसमेत ‘मानिसमा गन्धको भावनासँग सम्बन्धको कुरा कहाँ हुनु !’ भनि गिल्ला गर्थे । लेएर्ड एक कोल्गेट विश्वविद्यालयका प्राध्यापक मात्र थिए तर उनले हिम्मतकासाथ तर्क गर्दै ‘घ्राण शक्तिलाई बिना कारण बेवास्ता गरिरहेका हाम्रा समकालीन मनोविज्ञानका महारथीहरूले समेत’ भन्ने लेखेर प्रकाशमा ल्याए । उनले थप लेखे, ‘विलक्षण गुण र प्रतिभासहित उत्कृष्ट किसिमले गन्धको संवेदनशीलता पशुहरूमा स्थानान्तरण भइरहेको ठम्याउन सकिन्छ तर मान्छेमा घ्राणशक्तिको प्रभाव कम भएको छ ।’

लेएर्डको भनाईमा नाकले पाएको इज्जतभन्दा बढी शारीरिक-मानसिक काम गर्न सक्ने अनुमान पनि लुकेको छ । उनको ठम्याईमा यसले स्मरण शक्तिको भित्रीया काममा सघाउ पुर्‍याउन सक्ने सुराक पनि दिएको पाइन्छ । उनले आफ्नो तर्कलाई सार्थक बनाउन आफ्ना सहयोगी अनुसन्धाता सहित २५४ जनाभन्दा बढी मानिसलाई सहभागि गरेर आँकडा लिए । सोधिने प्रश्नावलीको मुख्य विषय ‘कस्तो समयमा आएको कस्तो गन्धले विगतलाई सम्झाउन उत्प्रेरित गर्छ’ भन्नेमा केन्द्रीत थियो । अत्तरको एक प्रकारको वास्ना फैलिएको गन्धमा कसैले नृत्यशालाको हावामा धेरै मान्छेको उपस्थितिले पाएको शरीरको गन्ध अनुभव गर्दै आफूलाई दिगमिग लागेको घटना सम्झिए भने कसैले आफन्तको हराएको एउटा भूत्ले बक्खुको सम्झना भएको भने । एक काठ चिरानमा कामगर्ने मजदुरका छोरा सहभागीले चिरिएका काठको गन्धले उनले तिनै काठ चिरान कारखानाका दृश्य आँखा अगाडी नाच्ने बताए ।

घ्राणशक्तिले गन्धको निरोपण गर्दछ र गन्धले भावनात्मक तथा मस्तिष्कको गहिराईमा सञ्चित संस्मरणलाई छिपछिपेमात्र होइन घनिभूतरूपमा हाम्रो सम्झनाको तरेलीमा झल्झली अगाडी ल्याइदिन्छ । लेएर्डको भनाईमा यस अध्ययनको अन्तर्यले गन्धको उत्प्रेरणा गर्ने सामर्थ्य बारेमा ठूलो प्रश्नचिन्ह लगाएको छ । यही तथ्य अहिलेसम्म शिक्षाविदहरूले नपत्याएको र वास्ता नगरिएको मस्तिष्क मार्गको एउटा जटिल विषयवस्तु हुन सक्दैन र ? अहिले समीक्षा गर्दा भने गत शताब्दीमा वैज्ञानिकहरू त्यही तथ्यको आधारमा आफ्ना पाइला अघि बढाई मानवीय स्वास्थ्यको गुणस्तर सुधारमा एकजुट भएको देखापरेका छन् । अहिले प्रष्ट भएको छ, हाम्रो गन्ध बारेको घ्राणशक्ति मुसा वा सिकारी कुकुरको जस्तो तीखो त नहोला तर यस्को सम्बन्ध गहिरो सञ्जालकासाथ मस्तिष्कका प्रमुख केन्द्रहरू, भावनात्मक उद्वेग उमार्ने केन्द्रहरू र हाम्रा संस्मरणका केन्द्रहरूमा जेलिएको तथ्य हार्वाड मेडिकल स्कूलका स्नायुविज्ञ प्राध्यापक सन्दिप रबर्ट दत्ता समेतको ठम्याई छ । यसै गुणको कारणले हामी आफ्नो भलाई, फाप-अफापमा केन्द्रितरही संसारलाई दृष्टिगोचर गरिरहेका छौँ ।

गन्धले संस्मरण कुत्कुत्याउँछ ?
प्राध्यापक दत्ताको हार्वाड प्रयोगशालामा पशुहरूले वरिपरिको संसारलाई कसरी बुझेका हुन्छन् भनी जानकारी लिन अनुसन्धान गरिरहँदा स्नायुविज्ञानको क्षेत्रमा गन्धको बलमा संस्मरण उत्प्रेरित गर्ने क्षमता विकासवादी उत्पत्ति नै भएको थाहा पाइएको छ । हाम्रा आदिम पूर्खाले कुनै नयाँ ठाउँमा पुग्दा वरिपरिको वातावरणको गन्धले आफू पहिले आएको र घुमेको ठाउँ हो होइन भनि नक्साङ्कन गर्दथे र टुङ्गो गर्दथे । डा. दत्ता भन्छन, त्यसैले प्रारम्भिक अवस्थाको मस्तिष्क भनेको गन्धको निरोपण गर्ने घ्राण केन्द्र पनि हो अनि यात्राको मानचित्र कोर्ने पनि हो र संस्मरणको थलो पनि थियो । यस कुराले किन ती सबै प्रक्रियाहरू स्थापनाको कारणले अभिन्नरूपले गाँसिएका छन् र गन्ध संस्मरण सहविकासका उपलब्धि भएका हुन् भन्ने नै प्रष्ट्याउँछ । यिनीहरू बिचमा अहिले शरीरमा ती अङ्गहरू जडिएका प्रक्रिया र स्थान पनि प्रारम्भदेखि कायम छन्, मानिसका नाकमा गन्धहरू सुँघ्न सक्ने हज्जारौँ ग्रन्थीहरू पाइन्छन, तिनीहरू प्रमुख गन्धका खास उपगन्ध कण पनि पत्ता लगाउन सक्षम छन् । त्यस्ता नानाभाँतीका गन्धहरू उड्दै गएर नाँकभित्रका आफूसँग मिल्न सक्ने ग्रन्थीमा पुगेपछि त्यहि खासग्रन्थीले गन्धको सूचना दिने गर्छ अरु ग्रन्थीले होइन । यसो हुनु भनेको खास साँचोले खास मिल्ने ताल्चा खोलेजस्तै हो, भोटेताल्चा र साँचो अरुसँग नमिले जस्तै अनि मस्तिष्कका स्नायु कोषले घ्राण सम्बन्धि संवेदनशील स्नायुलाई विद्युतीय सूचना स्नायुकै साझा गाँठोमार्फत् मस्तिष्कको विभिन्न भाग भित्र प्रसारण गर्दछ ।

गन्धको सूचनालाई मगजले थाह पाउन, संवेदनशीलता प्रदान गर्न र सम्झने प्रक्रिया अघि प्रसारणको क्रममा एकछिन घ्राण गाँठोमा अल्मलिन्छ । मस्तिष्कको परिधि भागमा रहेको गन्ध थाहा पाउने भाग, मस्तिष्क खण्डमा रहेको एमिग्डाला भन्ने संवेदनशीलता सूचारु गर्न अघि सर्ने सानो अङ्ग र संस्मरणलाई जम्मा गरेर व्यवस्थित पार्ने हिप्पो क्याम्पस भनिने भाग, सबैलाई घ्राणशक्तिले नै उत्तेजित र सुसुचित गरिरहेको हुन्छ । उदाहरणको लागिः यदि हिप्पो क्याम्पसले गन्ध विशेषगरी संवेदनशिल क्षणसँग महत्व राख्दछ भन्ने लागेमा यसैले सबै सूचना ढड्डा बनाएर राख्छ र असिमित भण्डारण गर्नसक्छ । दशकौँ पछि पनि उस्तै गन्ध घ्राणशक्तिले थाहा पायो वा भोग्नु पर्‍यो भने उतिखेरका सबै सम्झना र भावनात्मक तरङ्गहरू मौन बाढी आएझैँँ सम्झनामा सलल आउन थाल्छन्, तपाईंलाई उही परिस्थितिमा विचरण गरेझैँ लागिरहने छ । अहिले पनि कति पाका मानिस वास्ना आउने र खाँदा चिसो अनुभव हुने चकलेट खाँदा आफूले केटाकेटीको बेला विद्यालय जाँदा बाले फकाउन दिएको सित्तल पिप्लामेठ सम्झन पुग्छन् र रमाएको क्षण सम्झेर मस्किन्छन् ।

मगजमा गन्ध भण्डारणः
मानिसको वातावरणबाट पाउने दृश्य, आवाज र अरु विभिन्न संवेदनशील जानकारी मस्तिष्कको मध्यभागमा रहेको चेतन अङ्ग थालमस भएर एमिग्डाला र हिप्पोक्याम्पस तिर गइरहेको हुन्छ । यसको ठिक विपरित घ्राणप्रणाली तिनै अङ्गको छेवैमा आसन जमाएको हुन्छ र लाग्दछ थालमस संस्मरण र संवेदनशीलताका प्रक्रियाहरू सँगसँगै अतिआवश्यक मेरुदण्डको रूपमा विकसित भएको हुनुपर्दछ । डा. दत्ताको भनाईमा यसै स्थानगत विकास भएको कारणले पनि अनुसन्धानको क्रममा संस्मरणलाई उत्तेजित गर्ने विविध संवेदनाको तुलनामा गन्धबाट जगाउने संस्मरण अतिबढी भावनात्मक र कसैको जीवनका विविध विगत तरङ्गलाई इन्द्रधनुषीय किसिमले सलल सम्झनाका तरेलीमा हुरलिदिन्छन् । त्यसैले त सामान्य एक किसिमको गन्ध पाको उमेरमा भोग्नु पर्दा उमेरिएका मानिसहरू आफ्ना बालबालिका कालका परिदृश्यसहित के कस्तो परिस्थितिमा पहिला त्यस्तो गन्ध कहाँ कोबाट उत्सर्जन भएको थियो भन्ने सबै कुरा कथा भनेझैँ भन्न सक्छन् । पाका मान्छे घरमा ल्याएको बाँसको मगमगाउँदो तामाको गन्धले आफू केटाकेटी छँदा बारीको डिलमा बसेर जन्ते बाख्रो भोज खाँदाको रमाईलो र तामाबोडीको झोल टपरीबाट चुहिएर थपेको सम्झन्छन् । कतिजना उमेरिएका पाका मान्छे घरमा सुत्केरी मसला पकाएमा आफ्ना भाईबहिनी जन्मिएको बेला आमाले नजिक जाँदा ‘गुँदपाक र मसला, बिहे नगरेकाले धेरै खानुहुन्न’ भनि दिएको पित्को सम्झन्छन् ।

घ्राण शक्ति र स्वास्थ्यः
संस्मरणलाई प्रयोग गरेरै गन्धको बलमा अत्तर बनाउने, रङ्गिचङ्गी वास्ना आउने मैनबत्ती बनाउने कारखाना र खुद्रा व्यापारीले पनि आफ्नो व्यवसाय अघि बढाएका हुन्छन् । अचेल ओखति उत्पादन र वितरणमा पनि यस्तो तरिका र प्रक्रियालाई मानिसका मनोविज्ञानसँग साम्भाव्य उपायको रूपमा जोड्ने गरेको पाइन्छ । पहिलापहिला अति नमिठो र अनौठो गन्धको खानेकुरा खाँदा नरुचेर मानिसहरूले भन्थे, ‘हरे, कस्तो गाँडको ओखति खाएजस्तै भयो, कस्तो नमिठो ?’ अनि त्यसदिन भरि त्यस्तो भन्नेको मनोदशा बिग्रिएको सबैले अनुभूत गरेको हुन्थ्यो । यो परिस्थितिले संस्मरण, स्वाद र गन्धको गठजोडमा मानिसमा हुनसक्ने मनस्थिति र प्रतिक्रिया बारेमा समग्र संवेदनशीलता अभिव्यक्त भएको पाइन्छ । कोरोना महामारी फैलिएको बेला नेपालमा पाका मान्छे मात्र होइन सबै उमेरसमूहका कतिपय मानिसमा गन्ध र स्वाद हराएथ्यो अनि परिवारले कति भुक्तमान खपेथे । त्यतिखेर गन्ध हराएका वा नाक बन्दभएकाले नाक खोल्ने ओखति हाल्दाहाल्दा नाक लाटो भई अझै बेलाबेला बन्द भई गन्ध बारे गुनासो गर्दैछन् भने श्वास फेर्न गाहारो हुँदा रगतमा अक्सिजन कम भएर अस्पताल दौडाउनु पर्ने अवस्था पनि छ ।

गन्धको मनोविज्ञानमा अध्ययन गरिरहेका ब्राउन विश्वविद्यालयका स्नायु वैज्ञानिक डा. राकेल हर्जको भनाईमा, गन्धको अनुभवी पारखीले संस्मरणहरूका लहरसँगै तुरुन्तै भावनात्मक संवेदना अभिव्यक्त गरिहाल्छ, र मानिसका हरेक भावनात्मक अवस्थाले शारीरिक स्वस्थ्यतामा प्रभावकारी असर पारिरहेको हुन्छ । यसबाहेक हजारौँ अध्ययनका लेखहरूमा मनोदशा सुधार्ने र चिन्ता घटाउने उपायको लागि गन्ध उत्तेजित संस्मरणहरू सम्बन्धित भएका उदाहरणहरू पाइएका छन । डा. हर्जले औँल्याएका अनुसन्धानले सामान्य गन्धले उत्प्रेरित व्यक्तिगत संस्मरण सुस्तगतिमा लामो सोचाईपछि ‘अँ हो त’ भन्ने पाराले उपलब्ध होला तर विशेष गन्धहरूले खास संस्मरणलाई नै उत्तेजित पार्ने भएकाले शारीरिक औडाहलाई नै घटाउने देखाएको छ । गन्धले ल्याउने फाइदालाई घ्राणशक्ति नाश भएका वा कम भएका पाका मान्छेको मनोदशा कस्तो हुन्छ भन्ने अध्ययनले प्रष्ट पारेको हुन्छ र उनिहरू बिस्तारै मानसिक स्वास्थ्यको दुर्वलतातिर लम्किएका पाइन्छन् । गन्ध सुँघ्ने अभावसँगै जिब्रोको स्वाद पनि कम हुँदै गई उमेरिएका मान्छे हरेक खानेकुरामा ‘न गन्ध न स्वाद छ !’ भनि गनगन गर्ने र पुराना खानपानको बखानले परिवार वाक्क भएर बिस्तारै एक्लिन थाल्छन् । लगातार त्यस परिस्थितिले पाका मान्छेको स्वभावमा परिवर्तन भई झर्कोफर्को गर्ने, सबैकुरामा अपजस लगाउने साथै मानसिक स्थिति बिग्रँदा कलह र दुर्घटनाका कारक बन्न सक्छन् ।

मानिसमा अचानक घ्राणशक्ति हरायो भने हामी लाटो मान्छेजस्तो कुनै वस्तु र परिस्थितिको यथेष्ठ आनन्द लिन असमर्थ हुन्छौँ साथै मानसिकरूपले कहिल्यै नसोचेका नाकै नभएको जस्तो कुनै वास्ना र गन्धको छ्यानबिछ्यान छुट्ट्याउन सक्तैनौँ । हरेक वस्तु देखेर पनि अलमलमा परिरहेको स्वभाव बन्न जान्छ र सहृदयीको समेत हाँसोका पात्र बन्छौँ भने विरोधिको त निशानामै हुन्छौँ । डा. दत्ताको भनाईमा घ्राणशक्तिको अभावमा हामीलाई सँस्मरणको कमी महसुस हुनथाल्छ अनि एकजना बाटो देखाउने, ठाउँ बारेमा भनिरहने र पहिला गएभनेको बारेमा सम्झाई रहने हेरालु पो चाहिने हुन्छ । उनि थप्छन, सबै गन्धले खुसहालीको लागि स्वकेन्द्रित प्रभाव त पार्दैन तर विकासक्रममा गन्ध र संस्मरण सँगसँगै विकसित भएकाले गन्धले राम्रो र मनपर्ने वस्तु मात्र सम्झना गराउँदैन बरू के कुराले हानी गर्छ भन्ने पनि शतर्क गराउँछ । भवितव्यले हुने विभिन्न घातको लक्षणसँग जोडिएको कुनै गन्ध छ भने त, त्यस्तो भोगेका जुनसुकै उमेरसमूहका विशेषगरी पाका मान्छे त्यस्तो गन्ध सुँघ्नासाथ पुरानो दुर्घटना सम्झिएर फेरि घातमा पर्न बेर लाग्दैन ।

हार्वाड मेडिकल स्कूलका मनोचिकित्साका प्राध्यापक र म्याकलिएन अस्पतालका प्रमुख वैज्ञानिक अधिकृत केर्री रेस्सलर भन्छन, रणमैदानमा सल्केको प्रज्वलनशिल पदार्थको गन्धबाट प्रभावित मानिसले कसैले त्यस्ता पदार्थ जिस्क्याउने हिसाबले नजिकै बालिदिएमा नदेखिने गन्धबाटै रणमैदानको विभत्स दृश्य उसका आँखा अगाडी नाच्न थालेको पाउँछ र आत्तिन थाल्छ । कतिपय पाका मान्छेमा विगतका पारिवारिक तथा प्राकृतिक कारणले आघात व्यहोरेका छन् भने पछि त्यस्तै परिस्थितिको गन्धबाटै काम्ने, आत्तिने र होस हराउने भएको पाइन्छ । यस्ता मनोविज्ञान भइसकेका मान्छे पछिपछि पाको भइसक्दा पनि बिर्सन नसकि असामान्य आनिबानी बिकासभएको पनि देखिन्छ ।

प्रा.डा. रेस्लरले आफ्नो प्रयोगशालामा मुसाहरूमा स्नायुजैविक विज्ञानमा डर र चिन्ता विषयक परिक्षण गरेका थिए । उन्को परिक्षणमा गन्धको अन्यानोस्रीत सम्बन्धलाई स्विकार गर्दै त्यो अवसरलाई प्रयोग गरेका थिए । स्तनधारीका घ्राणशक्तिका हरेक नाकमारहेका संवेदनशिल त्वचाहरू खासखास वंशाणुसँग विकासक्रममा जोडिएका हुनाले वैज्ञानिकहरूले भेटिएका गन्धलाई तलमाथी पारेर कसरी मस्तिष्कले कस्तो थाह पाउँछ भनि जाँच्न सक्छन् । राम्रा नराम्रा प्रभावहरूलाई सामान्य फेरबदलले पनि परिक्षण गर्न सकिने भएकाले कुन गन्धले कस्तो समाचार प्रसारण गरेर कस्तो संस्मरणमा हुन्छ भनि परिक्षण गर्न सजिलो हुन्छ ।

रेस्लर र उनको अनुसन्धान समूहले मुसाको खुट्टामा चोट दिँदै नकारात्मक उत्तेजनाकासाथ एकप्रकारको गन्ध फैलाएर हेरे, मुसाहरूले त्यस्ता गन्ध मन नपराउँदै बडो डराएको भावमा बसे । त्यसबेला गरिएको परिक्षणमा मुसाका नाकमा गन्ध थाह पाउने स्नायुहरू बढको पाइयो भने बढेका कोषिकाहरूको आकार पनि बढ्यो र गन्धका अणुलाई मस्तिष्कसम्म प्रसारण गर्ने स्नायुहरूका गुच्छा पनि थपिएको देखियो । त्यही समूहले ती मुसामा देखिएको डरलाई गन्धको नकारात्मक उत्तेजना नफैलाई परिक्षण गरेर हेरे, परिणाम अनुकुल देखियो । मुसाहरूले सिकेकी त्यो गन्ध सुरक्षित खालको हो र उनीहरूको नाकमा बढेका तथा गुच्छापरेका स्नायुहरू सामान्य अवस्थामा फर्किए । यसको परिणामस्वरूप डा. रेस्लर भन्छन्, पशुहरूको जीवनमा घ्राणसम्बन्धी प्रणाली तरल स्वभावको हुन्छ र वातावरण अनुसार गन्ध सँस्मरणको महत्व राख्दछ ।

यस्ता परिक्षणबाट अनुसन्धातालाई प्रत्यक्ष अध्ययन गर्न सजिलो भएको छ र कस्तो वातावरणसँग मस्तिष्कले कस्तो प्रतिक्रिया देखाउँछ मात्र होइन, दुर्घटना, घात र अत्तालिने घटनापछि हुनसक्ने शारीरिक-मानसिक समस्या भएमा कस्तो संस्मरण मगजमा जम्मा भइरहन्छ भन्ने पनि प्रष्ट निर्क्याैल निकाल्न सकिन्छ । त्यस्तै राम्रा-नराम्रा घटनापछि मस्तिष्कमा परेका प्रभाव, सम्झना र असरलाई कसरी उल्टाएर स्वस्थ्य बनाउन सकिन्छ भन्ने निर्धारण ओखति विज्ञानमा आएको छ । त्यतिमात्र होइन घात र ठूलो दर्घटनापछि मानिसमा देखापर्ने असामान्य मानसिक असरबारेमा गन्धसँग अनुकूलन हुने चिकित्सा प्रणाली विकसित गरिनु पनि आवश्यक भएको छ ।

सन २०१९मा द्वन्द्वमा संलग्न भएका लडाकुहरूमा पछि देखिने असामान्य आनिबानीको अवस्थालाई उपचार गर्न पेट्रोलियम र बारुदका गन्धलाई नोक्सान नपुर्‍याई उनीहरूको आँखै अगाडि ‘केही हुन्न’ भन्दै साँच्चै छोडियो । त्यस प्रक्रियालाई आफ्नै आँखा अगाडी सुरक्षितपूर्वक छोडिएको गन्धसँग अभ्यस्त भएर मस्तिष्कमा सुरक्षाका उपायहरूका संस्मरण पलाएर ती लडाकाहरूमा आएको डर, चिन्ता र आतङ्कित मनोदशा बिस्तारै हराउँदै गयो । बाढी, पहिरो, हुरी आँधि, गड्याङगुडुङ र चट्याङले मानवीय क्षति भएको कारण अरुबेला पनि त्यस्ता घटना देखेमा आत्तिने, डराउने र लुक्ने मानिस संस्मरणको विभत्स सम्झनाको प्रतिफल नै हो । खाना पकाउने ग्यास पड्केर मानवीय क्षति भएको घरमा ग्यासको गन्धमा परिवार वा अभिभावक आत्तिने पनि गन्ध र सँस्मरणको गठजोडले लेराएको मनोविज्ञाननै हो ।

संस्मरणको रहस्य खोलौँः
लेएर्डका शब्दमा ‘गन्ध मगजमा जाने प्रमुख निकास’ हो भन्ने विषयमा अनुसन्धाताहरूले अझै पूर्णमात्रामा कसरी गन्धले काम गर्न सक्छ भनि खोज जारीराखेका छन् । फेरी डा. हर्जको भनाईमा कहिलेकाहीँ मात्र गन्ध पाइने दुर्लभ किसिमका वस्तुको पनि संस्मरण हाम्रो मगजमा खात लागेर बसेको हुन्छ त ? तिनको विचारमा पहिले अनुभूत भएको वा बिर्सिएको र फेरी नयाँ तरिकाले देखा परेका गन्धका अणुहरूको सानो संस्मरण भए पनि पूर्नजीवित हुन्छ होला ! अरु अनुसन्धानकर्मीहरू विस्मृतिमा रहेका, संस्मरण गुमाएका र अल्ज्हाईमरका बिरामीहरूमा पनि गन्धलेनै तत्सम्बन्धि अवधारणा मगजमा आउने अनुमान गर्छन्। हुन त, गन्धबाट गरिने संस्मरण उपचार पद्धति तुलनात्मक हिसाबले अति नयाँ र परिक्षण सफल भएको परिणाम नआईसकेको उपचार पद्धति भए पनि केही अस्पताल र हेरचाह केन्द्रमा प्रयोगमा रहेका छन् । न्युयोर्क शहरको हेब्रु आश्रममा लामो समयको हेरचाह गरिँदा हरेक कोठामा बिरामीको हितमा सामान्य अवस्थामा घरमा आउने मौसमअनुसारको गन्ध छोड्ने गरिन्छ, त्यसले बस्नेलाई कहिलेकाहीँ ‘दोहोरिएको वा थाहा पाएको उस्तै कुरा’ भनि दिक्क लाग्ने भएपनि गन्धको कारण संवेदनशीलता उत्प्रेरित गर्ने र संस्मरणका तरङ्ग फर्किने देखिएको छ ।

अनुसन्धानबाट अल्ज्हाईमर रोगको पहिलो लक्षण गन्ध सुँघ्न नसक्नेबाट सुरुहुने अनौठो सल्लाह पनि आएको छ । मासाच्युसेट सार्वजनिक अस्पतालका स्नायुविज्ञानका सहप्राध्यापक डा. मार्क अल्बर्सका अनुसार गन्ध थाहा पाउने क्षमताले धेरै वर्षपछि पनि रोगलाग्न सक्ने पूर्वजानकारी दिनसक्छ । त्यसैले त्यस्ता रोगलाग्ने खतरामा रहेका मानिसको बेलैमा परिक्षण गरेर सावधानी लिन गन्धको क्षमताबारे जानकारी भइरहनु आवश्यक छ । अल्ज्हाईमर जस्ता घातक रोगको सुरुवातमा किन घ्राणशक्ति प्रणाली यति संवेदनशिल हुन्छ भन्ने त अहिलेसम्म प्रष्ट छैन तर डा. दत्ता यसैमा जोड दिँदै भन्छन, ‘गन्ध र संस्मरणको बिचमा केही त्यस्तो नाता छ जस्ले निश्चयनै केही तथ्यहरू समाहित गरेकै हुनुपर्छ, नत्र किन त्यस विग्रहपछि रोग सुरु हुन्छ त ?’ उनी थप्छन, हामी सबैलाई आफ्ना संस्मरणबारेमा चासो हुन्छ र उमेरिँदा संस्मरण हराउँदै गयो भने चिन्ता हुन्छ । आशा गरौँ, गन्धको प्रतिक्रिया र संस्मरणको उत्प्रेरणा बिचमा हुने सम्बन्धले अल्ज्हाईमर जस्ता असाध्य रोगलाई ब्युँताउन खेल्न सक्ने भूमिका चाँडै विज्ञानको विकाससँगै हुनेछ । त्यसैले घ्राण प्रणालीको काम हिप्पोक्याम्पस हुँदै प्रविष्ट जानकारी संस्मरणसम्म घच्घच्याउने चक्रप्रणालीबाट पक्कै नयाँ खोजमा उपाय निस्कनेछ भनि वैज्ञानिकहरू लागिपरेका छन् ।

अन्त्यमा,
नाक किन आवश्यक छ र महत्व कति छ भनेर मानव पुर्खाले थाह पाएका रहेछन् । किन र कसरी भन्ने व्याख्याको अभावमा हामी नाक राख्ने वा ठड्याउने कुरामात्र गर्थ्याैँ, सामाजिक स्तरको मूल्य नाकको ठड्याईमा हेर्थ्याैँ । वास्तवमा नाकले परिपूर्ण गर्ने घ्राणशक्तिको महत्व, छुट्ट्याउने हैसियत र त्यसलाई चाहिँदो मात्राको विश्लेषण पछि संस्मरणसँग जोडेर फाइदा बेफाइदा लिने काममा गन्धको भूमिकासँगै नाकको शरीरमा उच्चस्थान रहेकालेनै नाक राख्ने कुरा भएको रहेछ । नाक र यसभित्रका गन्ध पहिल्याउने कोषहरूको अहम भूमिकालाई ध्यान दिएरै प्राचिनकालमा पराजितलाई चिनारीको रूपमा सामाजिकरूपले न्यून देखाउन नाकको टोप्रोमात्र काट्ने तर नाक नबिगार्ने दण्डविधान लागु गरिएको होला ? नेपालमा इज्जतको पर्याय बनेको नाकको महत्व पाका मान्छे अझै पारिवारिक स्तरमा लिएको पाइन्छ भने स्वास्थ्यसँग गन्धको सम्बन्ध जोडी पाका मान्छेमा उमेरिँदा हुनसक्ने अल्ज्हाईमर र विस्मृतिका रोगविरुद्ध चिकित्सकहरूले गन्धमा आधारित उपचार प्रणाली कहिलेदेखि लागु गर्लान् ? केही समय पर्खनै पर्ला, होइन र ?

०००
जेठ ४, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x