साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाहरूमा आँखाका चार प्रमुख समस्याहरू !

उमेरिँदा कानले नसुन्नु र नाकले सुँघ्न नसक्दा त्यति समस्या नपर्ला जति आँखाले नदेख्दा होला ! आँखाको शक्ति तलमाथिले अरुलाई मात्र होइन उमेरिएका पाका आफैँलाई घरै अँध्यारो, संसारै अँध्यारो हुन्छ र आफ्नै गतिविधिनै बन्देज लाग्न जान्छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

सबै उमेर समूहका लागि मानिसका शरीरमा ज्ञानेन्द्रीय (आँखा, कान, नाक, जिब्रो, छाला) र कर्मेन्द्रीयहरू (बोली, श्वास-प्रश्वास, मैथुन, अपानवायु र शरीरको पुच्छअङ्ग साथै जाङ्घ) सहभागिता जीवन चलाउने सघन आधारभूत अङ्ग रहेको भनिरहनु नपर्ला । त्यसैले त अनुभूति गर्ने तथा काममा प्रमूख भूमिका भएकाले नै उल्लेखनीय भाग भनि वणर्न गरिन्छन् । यो भनाइलाई पुष्टिगर्न हामी उपरोक्त पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियको भरमा जीवन शारीरिक तथा मानसिकरूपमा सबल-निर्बल भएको मानक बनाउँछौँ । मानिसहरूको सफलताको सूचकमा कर्मेन्द्रियहरूको गतिविधि र क्षमताका मानविय गुणका स्तरमा आँकलन हुने ति अङ्गहरूको उच्चतम स्तरलाई प्राकृतिक र बलिष्ट भएको मुल्याङ्कन सबैले गर्छन् । विभिन्न उमेरहमूहहरूमा त्यस्ता गुणहरूमा त्यति समस्या नभए पनि उमेरिएका पाकाहरूमा कुनै नकुनै समस्या भएकै हुन्छन् ।

आँखाः
मानिसहरूका आँखाको विकास गर्भमा रहँदा तिन हप्ता पछिमात्र मस्तिष्कको अग्रसरतामा दृष्टि सम्बन्धि गुण पलाउन थाल्दछ र २८ हप्तासम्म शिसुको आँखा ढकनीले बन्दनै रहेको हुन्छ । त्यस्तो भएपनि गर्भको शिसुले उज्यालो आभाष मात्र गर्नसक्ने हुन्छ । हामी मानिसहरू जन्मदा सामान्यतया १६.५ मिलिमिटरको लम्बाइमा आँखाको आकार हुन्छ भने करिब २०-२१ वर्षको उमेर भएपछि आँखाको आकार २४ मिलिमिटर पुगेको पाइन्छ । जन्मँदा नानीको वजन १.३८ मिलिग्रामको र वयस्क हुँदा आकार वृद्धि हुन्छ साथै आँखाको वजन भने जीवनभरि बढिरहेको नै पाइन्छ । नवजात शिशु जन्मँदा संसारलाई हेर्दा दृष्टिशक्ति कम भई धमिलो देख्छ र आठदेखि दश इन्च भित्रको वस्तुमात्र ठम्याउन सक्छ भने नानीको रङ्ग खैरो वा निलो हुन्छ । त्यसैले नानीहरूको क्षमताले आफ्नु हेरालु वा आमालाई चाँडै चिन्ने हुन्छ र आठ हप्ताको भएपछि नजिक परेका वस्तुलाई खुट्ट्याउन सक्छन् । तिन महिनामा बच्चाहरू गतिवान वस्तुलाई पच्छ्याउन सक्छन र पाँच महिनाका भएपछि रङ्गमा आकर्षित भई छुट्ट्याउन सक्नेमा विकसित हुँदै जान्छन् ।

जीवनमा पहिलो दुई वर्ष आँखाको क्षमता र आकार द्रुतगतिमा बढिरहेको हुन्छ तथा किशोरकिशोरी उमेर पुग्दा बढ्ने र गुणमा विकास मन्दगतिमा हुन थाल्छ । अनि वयस्क उमेर पुगेपछि आँखाको आकार स्थिर हुन्छ र विविध गुणहरू परिवर्तन भएर विभिन्न लक्षण आउन थाल्छन् । यसैबेलादेखि आँखाको असामान्य हुने सम्भावना र पैत्रिक वंशाणुगत गुण-अवगुण भए देखापर्न सुरु हुन्छ । पाको उमेरमा हुनसक्ने कमजोरी र रोगलाई बेलैमा ध्यानदिएर हेरविचार पुर्‍याउने तथा समय-समयमा विज्ञसँग परिक्षणमा जाने प्राय धेरै समाजमा गरिएको देखिन्न । आर्थिक न्यूनता र चेतनाको अभावले त्यस्तो देखिन्छ, तर महत्वपूणर् इन्द्रीयमा पर्ने आँखाबारेमा अलिअलि भए पनि पढलेख गरेकाले पहुँचको फाइदा लिन नछोड्नुनै वेश हुन्छ । अझ बढी उमेर हुँदै जाँदा नियमित आँखा जचाउनु र प्रमाणित विज्ञबाहेक मनखुसी वा अरुले भन्दैमा ओखति प्रयोग नगर्नु राम्रो हुन्छ ।

उमेरिँदाः

मानिसको वयस्कता पछि उमेर बढेसँगै आँखाको क्रियाकलाप र स्वस्थतामा फरक हुँदै समस्यातिर ओरालो लागेको हुनसक्छ । कममात्र पाका मान्छेका आँखाहरू सामान्य अवस्थामा हुन्छन्, केही नभए नजिक देख्ने र टाढाको नदेख्ने वा नजिक नदेख्ने र टाढाको देख्ने हुन सक्छन् । धेरैजसो उमेरिएका मान्छेहरूमा, मोतिविन्दु, जलविन्दु, मधुमेह प्रभावित अन्धोपन र उमेरजन्य बादललागि न्यूनदृष्टि आदि कुनै न कुनै रोगले दुख दिएको हुनसक्छ । यस्तो अवस्थामा उमेरिएका पाका मान्छेलाई शारीरिक बाहेक थप निरीह अवस्था भोग्न बाध्य भएको देखिन्छ । आँखा चिकित्सकसँग परिक्षण गराउँदा उपरोक्त आँखा रोगका लक्षण खुट्ट्याउँदा जो कोहीलाई तर्सिने र डराउने परिस्थिति बन्नसक्छ । कतिले ‘अब अन्धो हुने भएँ’ भनि ‘डराएर छेरभालु’ भई कसैलाई नभन्ने र हताश भएर घर वरपर बाहेक बाहिरनै निस्कन मन नगर्ने स्वभाव विकसित हुनसक्छ । तर बुद्धिमानले चाहिँ विज्ञद्वारा जहिले रोग खुट्टिन्छ त्यसपछि विज्ञको सल्लाहमा बार्नुपर्ने र उपचारको के के प्रक्रिया कसरी गर्नेभन्ने जानकारी लिएर अघि बढ्नु हो ।

अहिलेको ओखति विज्ञानको विकासले आँखाका कुनै पनि रोगबाट बचाउने प्रयासमा सबै कुरा हल गर्ने, नियन्त्रण हुने, थप क्षति नहुने उपायहरू भेटिएकाले दृष्टिरोगलाई ठाउँको ठाउँ रोक्न सकिने भएको छ । हार्वाड मेडिकल विद्यालयका आँखा विज्ञहरूको विशेष हमूहले चालिस वर्षपछिको उमेरमा अत्यधिक दुःखदिने आँखा रोगहरूबारेमा अध्ययन गरेर उमेरिँदा उपरोक्त चार रोग सबैभन्दा बढि खतरनाक रहेको निस्कर्ष निकालेका छन् । उमेरिदा धेरैलाई हुनसक्ने त्यस्ता आँखाका जटिल रोगबारे जानकारी लिएर वयस्कहरूले बेलैमा सतर्क हुने र पाका मान्छेहरूले सचेतभई बिज्ञको सल्लाह अनुसारगर्नु बाञ्छनिय देखिन्छ । हुनत, बाल-बालिकामा पनि आँखाका बिभिन्ने सङ्क्रमण हुनसक्छ, तर परिवारको निगरानीको कारण बेलैमा उपचारहुने अवस्थालेगर्दा निको पनि चाँडैभई बिग्रिहाल्ने स्थिति कम भएको पाइन्छ ।

उमेरिदा आँखा बिग्रनु र डरलाग्दा रोगहरू लाग्नुमा अप्राकृतिक तथा भौतिक साधनको उपयोग बढि हुनुलाई धेरै चिकित्सकहरू मान्दछन् । तरपनि त्यसैले मात्र आँखाका रोगहरू विशेषगरेर पाको उमेरमा लाग्दछन् भन्ने छैन, बरू शारीरिक र अरु कारणले उमेरिँदा विविध किसिमका रोगलाग्न सक्छन् । शरीरमा उव्जिएका रोगहरूका अतिरिक्त भित्री नकारात्मक उपजलेसाथै अरुबाट सङ्क्रमण भएर वा पैत्रिक ऋणस्वरूप पनि आँखाका रोग हुनसक्छन् । गाजर नियमित सेवनले वा सफा ठाउँमा बस्दैमा रोगनै नहुने भन्ने चाहीँ हुँदैन । पाको उमेरमा हुनसक्ने चारवटा खतरनाक आँखा रोगहरूबारे जानकारी लिँदा राम्रै होला !

मोतीविन्दुः
नाम चाहिँ कति राम्रो, मोतीसँग जोडिएको, तर कामचाहिँ नानीमा त्यस्तो बिन्दु भएपछि दृष्टि क्षमता ह्रास, अनि सकिएन त काम पाको उमेरमा, होइन त ? खासमा आँखामा बादल जस्तो सेतो बोसे लेग्रा बिस्तारै धेरै वर्ष लगाएर बन्न थाल्छ । पहिला ठ्याक्कै नानीबाट सुरु भए त अलि चाँडै अनुभव होला तर आँखाको सेतो वा नानीको वरपरबाट सुरुभए दृष्टिमा खासै फरक प्रभाव नपरेकाले हेक्कै हुँदैन । केही असजिलो नलाग्ने हुनाले लाग्न सुरुभएको व्यक्तिले पनि वास्ता राखेको हुँदैन, ऐना हेर्दा आफैँ ठम्याएमा र अरुले टिप्पणी गरे थाह पाइन्छ । जसोतसो बादले फैलिँदै बढ्दा काम चलेको आँखामा नानीनै ढाक्न खोज्दा भने अरुले देख्दा सेतो मोतिजस्तो नानी भएमा आँखाको दृष्टिशक्ति कमजोर भएर टाढा नजिक नदेख्ने हुन्छ । देख्नसक्ने भनेको सबै कुरा सेतो आभाषमात्र हुनथाल्छ र राती त त्यस्तो पनि नहुन सक्छ ।

मोतीविन्दुको प्रभाव भएका मानिसले नानी वरपर ढाक्दै आएपछि नानीको पारदर्शीता हराउँदै जान्छ र कुनै वस्तु जेजस्तो छ त्यस्तो नदेखिएर धमिलो हुनथाल्छ । कहिलेकाहीँ सानै उमेरमा मोतीविन्दु सुरु भए पनि प्राय उमेरिएका पाका मान्छेलाई भने हुनेनै भएर संसारमा सबैतिर यसरोगले पिरोलेको पाइन्छ । सामान्यतया त्यस्तो बादलु लेग्राले नानी ढाकेपछि उज्यालो छिर्न नसकी नानी अपारदर्शी हुन्छ र वस्तुका छायाँ आँखाले प्रष्ट भित्र पठाउन सक्दैन । त्यो बादलु पर्दा आँखामा बिभिन्न कारणले पारदर्शी नानी भनिने लेन्समा जम्माभएका प्रोटिनको कारणले हो । त्यसैले मोतिबिन्दु ओखती बिज्ञानमा आपदनै पर्ने रोगमा पर्दैन, मानिदैन र एक पटक भएपछि जति भएको छ त्यतिनै काफी हुन्छ अनि आँखालाई थप केही नोक्सानी गर्दैन ।

साठी नाघेपछि धेरै पाकालाई हुने दृष्टि विरोधि यो रोग चालिस वर्ष पछि पनि सुरुवात हुनसक्छ । त्यतिखेर कामको झमेला र भनेमा जोरीपारीले ‘हुर्रहुराउँदो बैँसमा बुढ्यौली कुरा’ भनि जिस्क्याउलान् भनि लाज मान्नेलाई पाको हुँदा त बढेर अन्धोजस्तै पारिदिन सक्छ । समस्या अनुभूत गर्ने बेलैमा चमक विरोधि चस्मा, अलि उज्यालो बत्ती प्रयोग वा आवश्यक पर्दा आकार बढाउने काँचले हेर्ने, पढ्ने गरेमा सुविधा भई केहि नियन्त्रण त होला । उमेरिँदा अति बाक्लो लेग्राले आखिरमा अन्धोजस्तै दृष्टिहिन हुँदा भने शल्यक्रियाबाट लेग्रो हटाउने काम गराएर दृष्टि पुर्नप्राप्ति गर्नैपर्छ । मोतीविन्दुले हुने दृष्टि कमजोरीपना अस्थाई हो त्यसैले अति समस्याभएमा शल्यक्रिया गराउन डराउनु हुँदैन । विज्ञको एकआधा घण्टाको सामान्य खुर्काइले रगत, नुनचिनि पानी कुनै नचढाई लेग्रो हटाएको बिरामी घरगएर एकदुई दिन सावधानीका साथ आरामगरेर सदाझैँ काममा लाग्न सक्छ ।

जलविन्दुः
आँखाभित्र तरल पदार्थको चापलेगर्दा हुने रोगलाई जलविन्दु भन्दछन् । वास्तवमा आँखाभित्र रहेको बारम्बारको चापले आँखाको स्नायुलाई नोक्सान गरिदिन्छ । यो रोग कसैलाई पनि जुनसुकै उमेरकालाई हुन्छ र साठी वर्ष नाघेका अफ्रो-अमेरिकन हमूहका पाका मान्छेलाई सामान्यतया देखिएको छ । उनिहरूमा वंशाणुगत कारण र आँखामा बढी चाप भएकाले जलबिन्दु हुनेगर्छ भनि बिज्ञहरू भन्दछन् । समयक्रममा केही मान्छेमा आँखाको अगाडीको भागमा रहेको तरल जैविक पदार्थ पातलो र कमहुन सक्छ । प्राय साना आँखा भएका र टाढाको मात्र देख्ने क्षमता विकास भएकाहरूमा त्यस्तो सम्भावना बढी देखिन्छ । आँखाको आकारनै सानो हुँदा आइरिस भन्ने आँखाभित्रको भागबाट जैविक तरल पदार्थ निस्कासन हुन रोकिन्छ र तुरुन्तै तरल पदार्थ फर्किआउँदा आँखामा चापवृद्धि गर्दछ । त्यस अवस्थामा दृष्टि स्नायुमा नोक्सान हुनजान्छ ।

त्यस अवस्थालाई बन्दकोण जलविन्दु भनिन्छ । थाहा हुनासाथ ओखति नगरी ढिलो गरेमा अन्धोपनको सिकार हुन सकिन्छ । यस रोग विरुद्धमा आँखाको थोपा, चक्की, शल्यक्रिया र परावैजनी किरण प्रणालीको प्रयोगबाट उपचार हुन्छ । अर्को खालको जलविन्दुलाई खुलाकोण किसिमको भनिन्छ र यस प्रकारकोमा विभिन्न समस्याले सुस्त गतिमा आँखाभित्र चाप बढेर हुने गर्छ । आँखाभित्रको जैविक तरल विस्तारै विभिन्न कक्षमा स्पन्जखालको माध्यमबाट ओसारपसार भएको हुन्छ र त्यस्तो हुँदा त्यस नरम चलनीजस्तो भागले निस्कासन गरेको जैविक झोलको मात्रा बढ्न गई आँखाको मुख्य भागमा दबाव सिर्जना हुन्छ । यसरी हुने दबावले दृष्टि स्नायुलाई क्षति पुर्‍याएमा यस खालको बन्दकोण जलबिन्दु हुनजान्छ । समयमै उपचार गरिएन भने त्यस्तो असरले दृष्टिक्षमता गुमेर उक्त मानिसमा अन्धोपन हुनबाट रोक्न सकिन्न ।

मधुमेहजन्य न्युनदृष्टिः
पाकोे हुँदै जानेक्रममा शरीरमा भएका अन्य रोगहरूका कारणले पनि आँखाका समस्या हुन सक्छन् । त्यसमध्ये सबैभन्दा खतरा भने मधुमेह रोगीलाई हुन्छ । चिकित्सकहरूका अनुसार मधुमेहको अति कुप्रभाव अन्धोपन हुने कारणमा एक पर्दछ । आँखाको अन्धोपन गराउनमा विभिन्न रक्तनली र स्नायुप्रणालीमा मधुमेहले गरेको सङ्कुचनले गर्दा दबावपरेको सँगसँगै आँखाको रेटिनामा रहेको रक्तनलीमा पनि परिवर्तन आउँछ । यसले आँखाको दृष्टिशक्तिमा असरगर्न थाल्छ र विविध खालको मधुमेहजन्य अन्धोपन विकसित हुन्छ । यस्तो समस्यालाई पुरा मात्रामा रोकथाम त गर्नसकिन्न तरस्वास्थ्य सम्बन्धि बिभिन्न कदम क्रमैसँग लागुगर्दै गएमा त्यस्ता उपायद्वारा रोग बिकसित हुने वा असाद्ध्य हुनबाट जोगिन सकिन्छ । त्यस्ता अप्रत्यक्ष उपायमा रगतमा चिनीको मात्रा र आँखा जाँचको नियमित अध्ययन गराएर चिकित्सकबाट सल्लाह लिइरहनु हो । त्यसरी यदि चिनीको व्यवस्थापन गरी सामान्य चाहिँदो मात्र भइरहेको अवस्था ल्याउन सकेमा आँखाको अन्धोपन विकसित हुनलाई रोकथाम भई जोगिन सकिन्छ ।

यस्तो रोग लाग्नको कारणमा अग्न्यासय (प्यान्क्रियाज)ले यथेष्ठमात्रामा इन्सुलिन भन्ने जैविक झोल (हर्मोन) उत्पादन नगर्नाले वा शरीरका विभिन्न कोशाणुले इन्सुलिन विरुद्ध प्रतिरोधि क्षमता विकसित गर्नाले रगतमा चिनीको मात्रा नियन्त्रण नभएर हुन्छ । रगतमा चिनीको मात्रा बढदा रक्तनली मात्र होइन शरीरका सबै अङ्गहरूलाई नोक्सानी पुर्‍याउँदा आँखा पनि अछुतो रहँदैन । यस्तोमा आँखाको रेटिनामा रहेको नलीलाई चुहावट गर्ने बनाइदिन्छ र रगतको कमीले त्यो नली सुन्निन थाल्छ । त्यो नली काम नलाग्ने भएपछि अर्को नली बन्नसक्छ र रेटिनामा रक्तश्राव हुनथाल्ने वा रेटिनानै चुँडिने हुनजान्छ । समयमा नै उपचार नभएमा आखिरमा मानिस अन्धोपनको सिकार हुनमा कुनै कसर बाँकि रहँदैन ।

रेटिना पिग्मन्टोसाः

रेटिनामा हुने असामान्य यस प्रकारको रोग वंशाणुगत गुणको कारणले भए पनि कहिलेकाहीँ नयाँ रोगको रुपमा मानिसमा विकसित हुनसक्छ । यस रोग लाग्नमा रेटिनामा क्षय भई त्यसान रहेका रडस र कोनलाई टुर्क्याउने काम हुन्छ । त्यसले गर्दा नयाँ बिरामी उमेरिदा होइन जुनसुकै उमेरहमूहमा हुन सक्छन् साथै चालिस वर्ष पुग्दा नपुग्दा अन्धोपनामा आइसक्छन् । यस्तो अवस्था हुनमा गर्भाधानको बेला रेटिना सम्बन्धि डिएनएका तिनसय भन्दा बढी वंशाणुले काम गनुपर्नेमा केहिले गलत संयोजन गर्दछन् र रेटिनामा आकाश-जमिनको विविधता ल्याइदिएर हो । यहि फरकपनाले पछि आँखा सम्बन्धि रोग र विशेषगरी यो रोगको सुरुवात भएको पाइन्छ । त्यसैले बाल-बालिकालाई पहिले देखिनै आँखाको नियमित जाँच गराएमा अन्धोपनको सम्भावनालाई ढिला गराउन र दृष्टिशक्ति लम्व्याउन सकिन्छ । यस रोगको प्रतिरोधमा आयुर्वेदीय ओखती पनि पाइने बजारमा चर्चा छ ।

उमेरजन्य बादलु धब्बाः
लाखौँ मानिसहरू आँखामा विभिन्न प्रकारका बादलु धब्बाले ग्रसित छन् त्यसमध्ये आँखाको दृष्टिशक्ति नैै गुमाएका धेरै पाका मान्छे भेटिन्छन् । केन्द्रिय दृष्टिभागमा असर परेर पूर्ण अन्धो नभए पनि पढन, सवारी-साधन हाँक्न, अनुहार प्रष्ट चिन्ह र अरु दैनिक काम गर्न नसक्ने हुन सक्छन । यस्तो आँखामा बादल पलाउने रोगलाई चिकित्सा विज्ञानमा मेकुलार क्षयीकरण रोग भन्दछन् । यो रोगलाई निमिट्यान्न पार्ने ओखति त छैन तर केही उपचार विधि साथै विशेष भिटामिन र खनिज तत्वहरूको मद्दतले थोरै राहत हुनसक्छ । कुनैकुनै अवस्थामा शल्यक्रियाले अलिकति भएपनि रोगलाई बढनमा रोके पनि बिरामीले रोग बढाउने कुनै बानी भए त्यागेमा मात्र सम्भव छ । त्याग्नैपर्ने बानीमा धुमपान छोड्न सके, स्वास्थ्य राम्रो बनाउने खाना खाए, दैनिक व्यायाम गरे, रक्तचाप नियन्त्रणमा राखे र परावैजनी किरणको नकारात्मक असरबाट आँखालाई जोगाउन बाहिर निस्कँदा घामको किरण सोझै नपार्न चस्मा लगाउने बानी गरेमा यो रोग भए पनि बढ्न पाउँदैन ।

यो रोग लागेर सोझै सामान्यतया धेरै थाहापाउने लक्षण सुरुवातमा प्रष्ट केही चाल पाइन्न । वयस्कको उमेर पचास नाघेपछि उमेरजन्य यो रोगका लक्षणहरू देखिन थाल्छन । आँखाका विभिन्न कोशको क्षयले रगत आपूर्ति घट्दै जान्छ साथै उज्यालोको संवेदनशिलता गुमाउँदै जान्छ र रेटिना उमेरसँगै पुरानिएर क्षयीकरण हुनजान्छ । मेकुला रोगको विशेषगुण क्षयीकरण नै हो । उमेरिँदा सँगसँगै हुने बादल पलाउने रोगले केन्द्रिय दृष्टिशक्तिमा असर गर्ने भएकाले पाकाहरूको स्वतन्त्र हिँडडुल गतिविधि सबै हरण गरेको हुन्छ । यो बादल पलाएर रोगले रेटिनाको केन्द्रिय भागमानै असर गरेकाले हुन्छ र यस्ले कुनै वस्तुको धमिलो छायाँ पत्तो पाउने तर प्रष्ट देख्ने हुँदैन । यस्तो अवस्थामा दृष्टि वस्तुमा केन्द्रित नभई वरपरका चिजविज प्रष्ट देखिई पाका मान्छे भ्रममा पर्न थाल्छन् । यो रोग दुवै आँखामा फरक स्तरको हुन्छ भने एउटा आँखामा सुरुवात भई अर्कोमा हुनसक्छ । त्यस्तै रोग वंशाणुगत चरित्रको भएकाले बाबु-आमा पछि छोराछोरीमा ढिलो-चाँडो उमेरिएका सन्तानहरूमा हुनसक्छ ।

अमेरिकामा करिब दुई करोड पाका मान्छेमा यो रोग भएको आँकडा छ भने अब सन २०४० सम्म संसारभरिमा २८ करोड ८० लाख उमेरिएका पाका मान्छे यो रोगबाट पिडित हुने अनुमान छ । साथै अमेरिकामा नै साठी वर्ष र माथिका पाकाहरू अब यही बादल लाग्ने रोगले दृष्टिशक्ति गुमाउनेमा पहिलो कारण बन्न लागेको छ । उमेरिँदा हुने रोगमा चिन्हित यो रोग धेरैजसो पाका मान्छेलाई भएको देखिन्छ । यो आँखाको रोग कम उमेरकालाई पनि हुनसक्ने सहायक केही विविधि कारणहरू पनि छन् । यो रोग लागेको वंशज परिवारको सदस्य, मोटापाको सिकार, धुमपानको बानी, अतिउच्च रक्तचाप, सन्तृप्त बोसोयुक्त खाना खानेबानी, सेता पाउरोटी र चामल लगायतका स्वेतप्रदर वस्तुहरूको अत्यधिक प्रयोगले समस्या भएको हुनसक्छ । यो रोगको कारणमा मधुमेहका बिरामी, टाउकोको ठूलो चोटपटक भएका मान्छे, घातक सङ्क्रमण र आँखालाई स्वस्थ राख्न मद्दतपुग्ने खानाको अभावले पनि भएको पाइन्छ ।

मेकुलाले तपाईंले देखेको चित्रलाई दृष्टि स्नायु मार्फत मस्तिष्कमा पठाउँछ र तपाईंले अमुक चित्र यो हो भनि चिन्नु हुन्छ । तर यस्तो क्षयीकरणको समस्याभएमा तपाईंले वस्तुको चित्रलाई दिमागले प्रष्ट ग्रहण नगरेकाले तपाईंको आँखाले देखेको चिन्न सक्नुहुन्न । क्षयीकरण भइसकेर लक्षणहरू केही पहिल्याउनु हुन्न भने पनि यस्ता कुराहरूमा ध्यान रहोस्ः कम उज्यालोमा देख्न सक्नुहुन्न, हरेक वस्तु फुलेझैँ धमिलो देखिन्छन, रङहरू छुट्ट्याउन सक्नुहुन्न, बरु बेलाबेला परिवर्तित भएकोजस्तो लाग्छ, कम देख्ने मात्रै होइन सोझो रेखा बाङ्गाटिङ्गा र नागबेलीरुपका हुनथाल्छ । यस्तो अवस्था आएमा विज्ञचिकित्सकलाई आँखा देखाई हाल्नुपर्छ साथै दुई प्रकारका संसारभरि भएका भेटिएकाले तपाईं कुन प्रकारले ग्रसित हो खुट्ट्याएर उपचारमा जानु राम्रो हुन्छ ।

सुक्खा बादलु धब्बाः
बादलु वा आँखा ढाक्ने चिप्राजस्तो धब्बा लाग्ने पाका मान्छेमा करिब नब्बे प्रतिशतमा सुक्खा कोटीमा पर्दछन् । यस्तो हुनमा आँखामाभएका तन्तुबाट ड्युरेसन भनिने मसिनो, पहेँलो प्रोटिन एकैठाउँ जम्माभई हुन्छ । यस्तो निक्लिएको पदार्थ एकिकृत हुँदै गर्दा क्रमश सुक्खा हुँदै थुप्रिन जान्छ र बढदै गएमा दृष्टिशक्ति कमजोर हुन्छ । सबैमा यही सुक्खा धब्बानै रहन्छ र आँखाको हेर्ने काम धमिलो र अस्पष्ट मात्र बाँकि जीवनमा भइरहन्छ तर धेरैजसो पाको मान्छे अन्धोनै त हुँदैनन् र कुनै कुनैमा सुक्खा बादलु धब्बा पन्यालो स्थितिमा बिकासभएका पनि पाइन्छन् । सुक्खा खालको क्षयीकरणलाई प्रारम्भ, मझौला तथा अन्तिम अवस्थामा रहेको भनेर वर्गीकरण गरेर छुट्ट्याउन सकिन्छ । यस्तो किसिमको ठोकुवा जाँचपछि आँखाविज्ञले मात्र निर्क्याैल गर्न सक्छन । सुरु अवस्थामा दृष्टि स्नायुमा परिवर्तन हुन थालेको हुन्छ तर आँखाको शक्तिमा असर परेको हुन्न । मझौला स्थितिमा हेराइमा वस्तु धमिलो, हल्लेको र प्रष्ट नदेखिन सक्छ भने ढिलो भइसकेको अन्तिम चरणमा केन्द्रिय दृष्टिशक्ति हेर्दा चिजविज प्रष्ट नभएको हुन्छ । यो अवस्थामा आँखामा आद्र खालको क्षयीकरण भएको पक्का हुन्छ ।

आद्र बादलु धब्बाः
दृष्टि स्नायु मुनिरहेका रक्तनली असामान्य तरिकाले बढेपछि आद्र प्रकारको मेकुलर क्षयीकरण भन्ने आँखाको रोग लाग्दछ । त्यसोहुँदा रक्तनलीबाट रगत र जैविक तरल पदार्थ चुहिन थाल्छ । वास्तवमा झोल पदार्थ चुहिने भएर चुहिएको ठाउँमा रसिलो बढने भएरनै यसप्रकारको क्षयलाई आद्र बादलु धब्बा भनेको हो । तरल पदार्थ जम्मा हुने भएकाले दृष्टिस्नायुमा डल्लो हुन्छ । दृष्टि शक्तिमा परिवर्तन भई कालानिला दोछाँया पर्नसक्छ र नानी वरपर कालो धब्बा बढन सक्छ । स्नायु धब्बा हुने मध्ये दश प्रतिशत पाका मान्छेमा आद्र खालको क्षयीकरण हुनसक्ने अनुसन्धानले देखाएको छ । यो प्रकारको क्षयीकरण डरलाग्दो हुन्छ र आद्र खालकोले दृष्टि शक्ति गुम्ने अवस्थामा चाँडै पुर्‍याउन सक्छ ।

विज्ञ किकित्सकले बर्गाकार कोठा भएका रेखाचित्र देखाएर क्षमता हेर्ने, आँखा फुलाएर भित्रिभाग नियाल्ने, चम्किलो झोल पदार्थ पाखुरामा रक्तनलीमा हालेर आँखामा पुगेपछि फोटो हेरी रेटिनाबाट चुहेको वा फुलेको आङ्कलन गर्छन् । आँखा भित्रका भाग लेन्स मार्फत प्रष्ट हेर्ने, स्क्यान गरेर पनि जाँच गर्न सक्छन् । निको नहुने भए पनि बचावट र थप सिकिस्त नहुन चिकित्सकले आँखाको रक्षाका लागि पोषण तत्व सिफारिस गर्छन । त्यस्ता खानामा भिटामिन र खनिज पदार्थहरू भएका पोषणयुक्त खाद्यमा भिटामिन सि, ई, लुटिन, जस्ताका गुणभएका पदार्थ, तामा र जियाजान्थीनहरूले आँखाको स्वस्थता बढाउन मद्दत गर्दछन् ।

नेपालमा स्थितिः
देशहरूको आँकडा हेर्दा गोराहरूको देशमा ९ देखि २१ प्रतिशत र एसियाली मुलुकहरूमा ३-१०.६ प्रतिशत मानिस आँखामा हुने दृष्टि क्षयीकरणको रोगले ग्रसित छन् । यसरी औशतमा सँसारभरीमा ८.७ प्रतिशत मानिस यो असाद्ध्य रोगबाट पिडित भएको देखिन्छ । विकासोन्मुख तथा विकासशील देशहरूमा भएजस्तै नेपालमा पनि उमेरजन्य आँखाको मेकुलार क्षयीकरणको रोग निको नहुने र दृष्टिशक्ति बिगार्ने रोगनै देखिएको छ । अस्पतालमा आएका आँखा बिरामीको आँकडा हेर्दा १४१ आँखा रोगीका २६६ आँखामा यस्ता रोगको पहिचान भएको थियो । जनस्वास्थमा चासोको विषय भएको २०११मा प्रकाशित तिलगङ्गा आँखा अस्पतालका डा. थापा, पौडेल, श्रेष्ठ, गुरुङ र सन्दुक रुइतको हमूहले गरेको अस्पतालमा आएका बिरामीहरूको आँकडाले (२००८ र २००९ को लगत अनुसार) देखाउँछ ।

नेपालकै त्यसै अध्ययनले यो रोग लागेका बिरामीको औसत उमेर ६९.५ वर्ष थियो र यसमा ४६-९४ वर्ष सम्मका थिए । ६५-८४ वर्षका बढी बिरामी पिडित थिए र ६६.९ प्रतिशतमा यो रोग देखिएको थियो । सुक्खा र आद्र दुबै प्रकारका बादलु धब्बा भएको चाहीँ धेरै उमेरिँदै गएका पाका मान्छेमा पाइएको थियो । पुरुष पाका उमेरका ५८.८ प्रतिशतमा यो रोगबाट पिडित भएकोमा पिडित महिलाको प्रतिशत ४१.१ थियो । अस्पताल आएको जातिगत हिसाबले ब्राह्मण समुदायमा २९.८ र नेवार समुदायमा २७.७ प्रतिशत रोगबाट ग्रसित पाइयो । पेशागत हिसाबले सबै हमूहमा यो रोग देखिए पनि खेतीपाती गर्ने किसान परिवारमा ४२.६ प्रतिशत देखियो भने गृहिणी महिलामा ३८.३ प्रतिशत देखिएको छ । यो रोग लागेकाको शैक्षिक अवस्था हेर्दा ७६.६ प्रतिशत अशिक्षितहरूको परिक्षणमा ७७.१ प्रतिशतमा रोग पाइएको थियो ।

सुक्खा र आद्र क्षयीकरणको अवस्थामा ६२.४ प्रतिशत सुक्खाका बिरामी थिए भने ३७.६ प्रतिशत आद्र किसिमको रोगबाट पिडित पाइयो । दुवै प्रकारका क्षयीकरणबाट ग्रसित ८८.७ प्रतिशत भेटिए एक तिहाइमा (७१.४ प्रतिशत) दृष्टिशक्ति एक तिहाई बाँकि थियो । परिक्षणमा आएका मध्ये धुमपान गर्नेहरू करिब ७० प्रतिशत थिए भने उच्च रक्तचापका ४५.४ प्रतिशत र मधुमेहका बिरामी १२.८ प्रतिशत थिए । आँखा जचाउन आएका बिरामीमा सुक्खा क्षयीकरण बादलुका पिडितमा ४५-६४ वर्ष उमेरहमूहका बढी थिए भने आद्र खालको बादलु धब्बाका पिडित ६५ वर्ष र माथिका थिए । दुबै आँखामा एउटामा सुक्खा र अर्कोमा आद्र भएर दुवै थरिका धब्बा भएर दुःख पाएकाको प्रतिशत ४४ थियो । निष्कर्षमा धुमपान गर्ने, किसानी पेशाभएका तथा गृहिणी सबैभन्दा जोखिम समूहमा परेको देखियो भने पुरुष समूह, अशिक्षित र उच्च रक्तचाप यो आँखा रोग निकाल्ने मूख्य कारकमा पाइयो ।

अन्त्यमा,
मानिसको महत्वपूणर् इन्द्रियमा पर्ने अङ्गमा आँखाको भूमिका अझ पाका मान्छेकोलागि सबैभन्दा महत्व राख्दछ । उमेरिँदा कानले नसुन्नु र नाकले सुँघ्न नसक्दा त्यति समस्या नपर्ला जति आँखाले नदेख्दा होला ! आँखाको शक्ति तलमाथिले अरुलाई मात्र होइन उमेरिएका पाका आफैँलाई घरै अँध्यारो, सँसारै अँध्यारो हुन्छ र आफ्नै गतिविधिनै बन्देज लाग्न जान्छ । आजका पाका मान्छेले दुख पाए पनि सन्तान दरसन्तानले आँखा रोगबाट दुख नपाउन भनि पाका मान्छेले सबै कम उमेरकालाई बेलाबेला आँखा जाँचमा हौस्याउनै पर्छ । आँखा स्वस्थ छ त, संसारै झलमल्ल छ, सबैले हेक्का राखेकै राम्रो होइन र ?

०००
भदौ ७, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x