हृषीकेश बरालअव्यवस्था
के गरी बिग्र्यो, दुर्मति आयो सप्रिने बेला, सद्मति भाग्यो । दुर्दशा लाग्यो, औषधि के हो रुन्छ यो आत्मा, भत्भत पोल्यो ।

हृषीकेश बराल :
मान मर्यादा, लाज पचाए
यानमा ल्याई, हेम लुकाए ।
प्वालमा हात्ती, छिर्न लगाए
मूक गोठाला, अन्ध बनाए । १
सर्वहाराले, द्रव्य कमाए
ब्रह्मचारीले, सुस्त समाए ।
फैलिँदा हल्ला, आम रमाए
धूर्तको बानी, थाह गराए । ।२
व्यस्त छन् कोही, शोषण गर्छन्
दैत्य जस्ता छन्, सम्पत चोर्छन् ।
बन्दछन् पापी, रौरव पर्छन्
जिन्दगी पूरै, खत्तम गर्छन् । ।३
नासियो आस्था, वैदिक हाम्रो
मान्यता फाले, लौकिक राम्रो ।
जे थियो उम्दा, भस्मित पारे
अन्तको थोत्रो, संस्कृति सारे । ।४
बेच्तछन् आफ्ना, बान्धवलाई
भुल्दछन् पुज्ने, ईश्वरलाई ।
पापले बाटो, छेक्तछ भुल्छन्
धर्मको चेष्टा, के छ र मान्छन् । ।५
के गरी बिग्र्यो, दुर्मति आयो
सप्रिने बेला, सद्मति भाग्यो ।
दुर्दशा लाग्यो, औषधि के हो
रुन्छ यो आत्मा, भत्भत पोल्यो । ।६
आत्तियो आत्मा, धैर्य हरायो
भोगियो पीडा, देह गलायो ।
ढुक्कले बाँच्ने, हुन्छ सदिच्छा
शान्ति के होला, छैन अपेक्षा । ।७
०००
पोखरा -२६ कास्की ।
Subscribe
Login
0 Comments
Oldest







































