फित्काैली डटकमजेष्ठ नागरिक अमूल्य निधि र जिउँदो इतिहास
जेष्ठ नागरिकले आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रका लागि समर्पण गरेको हुँदा परिवार र समाजले तथा राष्ट्रले उनीहरुप्रति आदर सम्मान गर्ने दायित्व निर्वाह गर्नुपर्दछ ।

भुवन पोख्रेल :
जेष्ठ नागरिक भनेका जिउँदा इतिहास हुन् । हाम्रो समाजले जेष्ठ नागरिकका ज्ञान, सीप, अनुभवलाई प्रयोगमा ल्याउनुको साटो जेष्ठ नागरिकलाई उल्टै समस्याका रुपमा लिइन्छ । विकसित मुलुकमा प्रायः मानिसहरु एकल परिवार रुचाउने र परिवारमा तीन पुस्ता बस्नुलाई परम्परागत शैली मान्छन् । बढ्दो सहरीकरण, औद्योगिकीकरण, बसाई–सराई, अध्ययन तथा कामकाजमा व्यस्त जीवन आदिले परिवारका सबै व्यक्ति एकै थलोमा बसोबास गर्ने वातावरण हुँदैन ।
स्वार्थी भावना, आधुनिक जीवनशैलीका कारण जेष्ठ नागरिक सहाराविहीन जीवन बाँच्न बाध्य छन् । हाम्रो नेपाली परम्पराअनुसार जेष्ठ नागरिक समाजमा धरोहर वा खम्बा हुन् । उनीहरुलाई कचकच गर्ने र लिढेढिपी गर्ने भनेर परिवारले उपेक्षा गर्दछन् । सन्तानका लागि दिनरात दशनंग्रा खियाएर भविष्यका लागि आफ्ना लागि केही बचत नगरी सन्तानको भविष्यको सुनौलो भविष्यका लागि कामना गर्ने बाआमाप्रति सन्तानले आफ्नो दायित्व पूरा गर्न नसक्दा बृद्धबृद्धा अपहेलित बन्न पुगेका हुन् ।
जेष्ठ नागरिक परिवारका मार्गदर्शक हुन् । उनीहरुको जीवनको महत्वपूर्ण समय घरपरिवार, समाज र राष्ट्रका लागि खर्चिसकेका हुन्छन् । जेष्ठ नागरिकका ज्ञान, सीप, अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानु जरुरी छ । जेष्ठ नागरिकलाई सम्मानका साथ परिवारमा राख्नुपर्छ ।
जेष्ठ नागरिक स्वास्थ्योपचार सेवा कार्यक्रम कार्यान्वयन निर्देशिका २०६१ का अनुसार ६५ वर्षमाथिका नेपालीलाई जेष्ठ नागरिक भनिन्छ । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसंख्याको लगभग ८.१ प्रतिशत संख्यामध्ये १७ प्रतिशतजतिको जीवन जटिल, संवेदनशील छ । त्यसर्थ जेष्ठ नागरिक व्यवस्थापन राज्यका लागि चुनौतीपूर्ण बन्दैछ ।
शारीरिक र मानसिकरुपले कमजोर हुँदै जाने बृद्ध अवस्थामा विशेष हेरचाह र स्याहार–सुसारको आवश्यकता पर्दछ । यस्तो अवस्थामा जेष्ठ नागरिक एक्लिँदै जानु, बृद्धाश्रम, धर्मशाला र मन्दिरमा गएर जीवन बिताउनुपर्दा समाज र राष्ट्रकै लज्जा र खेदको विषय हो । समाज र राष्ट्रले जेष्ठ नागरिकका पक्षमा धेरै प्रयास गरेको छ । बृद्धभत्ताको व्यवस्था गरेको छ । नेपालको संविधान २०७२ को धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यले विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी उल्लेख गरेको छ ।
बृद्धाश्रम दिवासेवा तथा हेरचाह केन्द्रजस्ता संस्थाहरु सञ्चालन भएका छन् । जेष्ठ नागरिक कल्याण कोष स्थापना भएका छन् । यस्ता संस्थाहरुले मात्र जेष्ठ नागरिकको सम्मान हुँदैन । त्यसर्थ बाआमालाई माया–ममता हेरचाह गरी आफूसँगै बस्नु बुद्धिमानी हो । यस्तो संस्कार र संस्कृतिको विकास गर्न सक्यौँ भने बृद्धबृद्धाको सम्मान हुन्छ ।
आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको मातृदेवो भवः पितृदेवो भवः उपमाले जेष्ठ नागरिकलाई सम्बोधन गर्ने पुरानो परिपाटीको ठाउँमा अहिले आएर बृद्धवृद्धालाई बोझको रुपमा हेर्न थालिएको छ । समयको फेरबदलको कारण देखाई आफूलाई जन्म दिई लालनपालन गर्ने आमाबाबुलाई आफ्नो परिवार तथा इष्टमित्रबाट बेवास्ता गरी केहीलाई खान, बस्न, लाउनसमेत नदिई घरबाटै निकालिएको उदाहरणहरु हामी प्रशस्त देख्न सक्छौँ, राज्यलाई सो समस्या समाधान गर्न निकै ठूलो चुनौती भएको छ ।
भनाइ नै छ एउटी आमाले १० सन्तान सम्हाल्न सक्छिन् । १० सन्तानले बाबुआमा राम्रोसँग सम्हाल्न सक्दैनन् । सन्तानहरु स्वार्थी र व्यक्तिवादी हुनाको परिणाम हो, यो । जेष्ठ नागरिक ज्ञान, सीप र अनुभवको भण्डार र अर्ती–उपदेशका मूल स्रोत हुन् । तर आवश्यक हेरचाह, बसोबास, औषधि र मनोरञ्जनको अभाव र मानसिक सन्तुष्टिको पक्ष कमजोर हुँदा जेष्ठ नागरिक जोखिममा छन् ।
एकदिन सबैले जेष्ठ नागरिक हुनुपर्छ भन्ने कुरा अन्तरात्माबाटै स्मरण गर्दै जेष्ठ नागरिकको आदर–सम्मान गरौँ । वर्तमान युवा पुस्ताले जेष्ठ नागरिकको सम्मान गरेमात्र आउँदो पुस्ताले पनि जेष्ठ नागरिकको सम्मान गर्नेछ । जेष्ठ नागरिक समाजका अमूल्य निधि र पथप्रदर्शक पनि हुन् भन्ने नभुलौँ र सम्मान गर्न नचुकौँ । जेष्ठ नागरिकप्रति गरिने भेदभावविरुद्ध सबैजना सबै ठाउँबाट उभिऔँ ।
सेवानिवृत्त भएका जेष्ठ नागरिकलाई मुलुकको आयआर्यन तथा आर्थिक–सामाजिक क्रियाकलापमा सहभागी गराउन सके सम्बन्धित नागरिकमात्र होइन, मुलुकको गरिबी पनि कम भई आर्थिक–सामाजिक विकासमा सहयोग हुनेछ । जेष्ठ नागरिकलाई असहाय, अशक्त, एक जेष्ठ नागरिक गरी वर्गीकरण गरिएको छ ।
जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएको, पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको र भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित जीवनयापन गर्नुपरेको जेष्ठ नागरिकलाई असहाय जेष्ठ नागरिक भन्ने बुझिन्छ । शारीरिक र मानसिकरुपले असक्षम रहेको जेष्ठ नागरिकलाई अशक्त जेष्ठ नागरिक भनिन्छ । जेष्ठ नागरिकलाई शुल्क लिई वा नलिई पालनपोषण वा हेरचाह गर्नका लागि स्थापना भएको घर, आश्रय वा यस्तै प्रकारको संरचनालाई हेरचाह केन्द्र भनिन्छ ।
दिवा सेवाकेन्द्र भन्नाले जेष्ठ नागरिकलाई दिनभरि हेरचाह र स्याहार–सुसार गर्न स्थापना भएको स्थान हो । जेष्ठ नागरिक क्लब पनि स्थापना भएका छन् । राज्यले जेष्ठ नागरिकलाई दिएका सेवा सुविधामात्र पर्याप्त छैनन्, घरपरिवारले जबसम्म बृद्धबृद्धालाई माया, ममता, सम्मान, हेरचाह, औषधोपचार, खानपान आदिमा ध्यान दिँदैन तबसम्म बृद्धावस्था समस्यापूर्ण बन्न पुग्दछन् ।
विगतमा जेष्ठ नागरिक समाजका सम्मानित व्यक्तित्व हुन्थे । संयुक्त परिवारमा रहँदा जेष्ठ नागरिकको भूमिका नेतृत्वदायी हुन्थ्यो तर पछिल्लो समयमा सानो परिवार सुखी परिवारको धारणा आई संयुक्त परिवार एकल परिवारमा विभाजित हुन थालेपछि जेष्ठ नागरिक परिवारभित्रै अलपत्र पर्न थाले । पश्चिमा मुलुकमा सुरु भएको व्यस्त जीवनशैलीका कारण जेष्ठ नागरिक असहाय हुनुका साथै अधिकारबाट समेत वञ्चित हुन पुगे ।
त्यो परिपाटी नेपालमा पनि भित्रियो । यसरी समाजमा सम्मानित जीवनयापन गर्न पाउनुपर्ने नागरिक अधिकारबाट वञ्चित हुन थालेपछि पछिल्लो समयमा जेष्ठ नागरिकको अधिकारको विषयमा बहस चल्न थाल्यो । राज्यले कागजीरुपमा जेष्ठ नागरिकका पक्षमा सामाजिक सुरक्षा र सामाजिक न्यायको पक्षमा वकालत जति परे पनि यसको व्यावहारिक कार्यान्वयनको पाटो निकै फितलो छ ।
जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ मा जेष्ठ नागरिकको सम्मान गर्नुपर्ने, जेष्ठ नागरिकलाई परिवारले पालनपोषण गर्नुपर्ने, पालनपोषण नगरे जेष्ठ नागरिकले उजुरी गर्न सक्ने र पालनपोषण नगर्नेलाई कारबाही हुने, जेष्ठ नागरिकले आफ्नो सम्पत्ति आफूखुसी गर्न पाउने, जेष्ठ नागरिकलाई भिक्षा माग्न लगाउन नहुने, सार्वजनिक सेवामा जेष्ठ नागरिकलाई छुट दिनेजस्ता प्रावधान छन् ।
यस्तै जेष्ठ नागरिकको मुद्दाको सुनुवाई छिटो गर्नुपर्ने, जेष्ठ नागरिकले गरेको अपराधमा सजाय कम गर्ने, जेष्ठ नागरिकको कल्याणका लागि केन्द्रीय तथा जिल्ला जेष्ठ नागरिक कल्याण समितिको गठन गर्ने, जेष्ठ नागरिक हेरचाह तथा दिवासेवा केन्द्र स्थापना, बृद्धभत्ताको व्यवस्था, जेष्ठ नागरिकको विरुद्ध कार्य गर्नेलाई दण्ड सजाय, जेष्ठ नागरिकको अधिकार हनन् गरेमा त्यस्तो मुद्दा सरकारबादी हुनेजस्ता व्यवस्था पनि ऐनमा रहेका छन् ।
राज्यका यति धेरै नीति हुँदाहुँदै पनि जेष्ठ नागरिकको अवस्था सन्तोषजनक छैन । जेष्ठ नागरिकलाई राज्यको अमूल्य सम्पत्ति भनिन्छ । उनीहरुको ज्ञान, सीप र अनुभवको भण्डार नयाँ पुस्ताका लागि मार्गदर्शक बन्न सक्छ तर व्यवहारमा उपेक्षा गरेको पाइन्छ । जेष्ठ नागरिक ज्ञान, सीप र अनुभवका सागर हुन् तर उनीहरुमा भएका ज्ञान, सीप र अनुभवको उपयोगमा राज्यले कुनै योजना नबनाउँदा त्यो निष्क्रिय र प्रयोगहीन भएर खेर गइरहेको अवस्था छ ।
जनगणनाले जेष्ठ नागरिकलाई निष्क्रिय जनशक्तिका रुपमा लिएको छ तर यो जनशक्तिले पनि देशको ग्रार्हस्त उत्पादन बढाउनमा प्रत्यक्ष र अप्रत्यक्ष योगदान केही न केही गरिरहेको छ, गर्न सक्ने प्रशस्त क्षमता पनि छ । तसर्थ जेष्ठ नागरिकलाई मुलुकको आयआर्जन तथा आर्थिक, सामाजिक क्रियाकलापमा सशक्त रुपमा सहभागी गराउन सकेमा सम्बन्धित नागरिकमात्र नभई मुलुकको गरिबी पनि कम भई आर्थिक, सामाजिक विकासमा सहयोग पुग्नेछ ।
अशक्तबाहेक अन्य जेष्ठ नागरिक निष्क्रिय भएर बस्न रुचाउँदैनन् । जेष्ठ नागरिक भएपछि आराम गरेर बस्नुपर्छ, काम गर्नुहुँदैन भन्ने सोच गलत हो । यो भावना परम्परागत र ठालुपन हो तथा अविकसित मानसिकताको उपज हो । जेष्ठ नागरिकले आफ्नो स्वेच्छाले आफूलाई सधै क्रियाशील बनाइराख्नुपर्दछ ।
जेष्ठ नागरिकहरु आर्थिक, सामाजिक गतिविधिमा क्षमताअनुसार सहभागी रहँदा आयआर्जन पनि हुन्छ, जीवन पनि स्वस्थ र सक्रियरुपले बित्छ । यस्ता कृषिजन्य र गैरकृषिजन्य क्रियाकलापमा बृद्ध नागरिक सक्रिय रहँदा उनीहरुलाई आत्मसम्मानका साथ बाँच्ने आधार पनि मिल्छ । यस्ता क्रियाकलापले बृद्धबृद्धाको आर्थिक अवस्थामा पनि सुधार हुन्छ ।
समाजमा जेष्ठ नागरिकको अवस्था अत्यन्तै दयनीय छ, जेष्ठ नागरिकको सुरक्षा र अधिकारका लागि समाजमा चेतना फैलिन सकेको छैन न त जेष्ठ नागरिकका पक्षमा आवाज उठेको छ । समाजमा थोरै मात्र भाग्यमानी यस्ता बृद्धबृद्धाहरु भेटिन्छन्, जसले छोराबुहारीबाट चिताएको कुरा पाउँछन्, होइन भने अधिकांशले दुव्र्यवहार, तिरस्कार, अपहेलना, एक्लोपन र पीडादायी दुःखद् जीवन बिताउनुपर्ने बाध्यता रहँदै आएको छ । मानिसको सरदर आयु बढेका कारण अहिले बुढेशकाल पनि लम्बिएको छ ।
जेष्ठ नागरिक शारीरिकरुपमा मात्र नभई मानसिकरुपमा समेत समस्या भोगिरहेका छन् । अधिकांश जेष्ठ नागरिकमा दीर्घरोग, दम, उच्च रक्तचाप, मधुमेह, बाथलगायत स्वास्थ्य समस्या देखिएका छन् । यस्ता रोगका आजीवन औषधि सेवन गर्नुपर्ने हुँदा बृद्धबृद्धालाई राज्यले निःशुल्क औषधि वितरण गर्ने व्यवस्था मिलाउनुपर्दछ । जेष्ठ नागरिकको सम्मानस्वरुप घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध राज्यले मिलाउनुपर्छ ।
नेपाल सरकारले जेष्ठ नागरिक परिचयपत्र निज बसोबास गरेको गाउँपालिका वा नगरपालिकामार्फत उपलब्ध गराउँछ । जेष्ठ नागरिकलाई आफ्नो हैसियत तथा इज्जतअनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारका प्रत्येक सदस्यको कर्तव्य हो । जेष्ठ नागरिकले आफ्नो अंश लिई परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामा बाहेक निजले रोजेको परिवारको सदस्यले साथमा राखी पालनपोषण गर्नुपर्दछ ।
धेरैजसो युवायुवती उच्च शिक्षा, गुणस्तरीय शिक्षा, राम्रो कामका लागि घरपरिवार छोडेर विदेशिन बाध्य छन् । यसले गर्दा पनि आमाबाबुको हेरचाह गर्ने कोही नहुने बृद्धबृद्धा एक्लिने गर्दछन् । नेपालमा बेरोजगारी समस्याका कारण युवापिढी अवसरका लागि पराई भूमिमा जान बाध्य छन् । उमेर छँदा आफ्ना छोराछोरी अमेरिका, अष्टे«लिया, क्यानडा विकसित मुलुकमा छन् भनी गर्व गर्नेहरु जब बुढेशकालले छुन्छ अनि एक्लोपनको शिकार बन्न पुग्दछन् ।
आफू विदेशमा गएर न त युवा पुस्ता छोरा नातिसँग घुलमिल हुन सक्छन् न त छोराछोरी बाबुआमा स्याहार्न भनी नेपाल फर्केर आउन सक्छन् । बाजे–बज्यै र नातिनातिनाबीच सँगै नबसेकाले एक किसिमको पुस्तान्तर देखिन्छ । यसले माया, ममता र सम्मान फिका देखिँदै जान्छ । जति घनिष्टता र प्रगाढ सम्बन्ध हुनुपर्ने हो त्यति नहुँदा बृद्धबृद्धा निराश बन्न पुग्दछन् । जेष्ठ नागरिकले आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रका लागि समर्पण गरेको हुँदा परिवार र समाजले तथा राष्ट्रले उनीहरुप्रति आदर सम्मान गर्ने दायित्व निर्वाह गर्नुपर्दछ ।
अहिले बृद्धबृद्धाको सेवा सुविधामा ध्यान दिनु भनेको समग्र समाजलाई सुरक्षित गराउनु हो । आफैलाई सुरक्षित गराउनु हो । भोलि हामी बृद्धावस्थामा पुग्ने निश्चित छ । हाम्रो नेपाली समाज, धर्म, परम्परा सानालाई माया, ठूलालाई सम्मान र आदर गर्ने संस्कारमा आधारित छ । हामी सबैले बृद्धहरुको सम्मान, हेरचाह र कर्तव्य पालना गरौँ ।
०००
गाेरक्ष राष्ट्रिय दैनिक (२०७९)
Subscribe
Login
0 Comments
Oldest









































