उमेरिदाका दुइ काम- खानपान र व्यायाम !
पाको उमेर एकै ठाउँ बसिरहने, सुतिरहने वा एकोहोरो कामले अङ्गहरूको चलखेल कम भएर निष्कृय भई बिस्तारै शक्तिहिन बेकामे बन्नबाट रोक्नु हो !
डा. मुकेश चालिसे :
पाका मान्छे उमेरिदै जाँदा स्वस्थ शारीरिक-मानसिक अवस्था कायम गर्न धेरै बरव्यवहारमा ध्यान दिनुपर्छ भने आफ्नै हितमा खानपान र व्यायाममा सतर्कतासाथ बुद्धि पुर्याउनै पर्छ । उमेर पुगेपछि पाका मान्छे केटाकेटीदेखि सेवन गरिरहेको सर्वभक्षिय स्वभावमा अनावश्यक परिवर्तन गरी मांसाहारी खानपानमा शारीरिक कमजोरीसँगै पलाएको शिथिल मानसिकताले ‘अब धर्मकर्म तिर ध्यानदिई परत्र सुधार्नु पर्छ !’ भनि सुद्ध शाकाहारी बन्न खोज्छन् । ‘बैँशमा विज्ञानका कुरा गरी अर्तिउपदेश दिने डिग्रीधारी र मै हुँ भन्दै परम्परागत सबै कुरामा गैरविज्ञान भन्दै दुत्कार्दै गफ हाँक्नेहरू’ ढल्किँदो उमेरमा अहिलेको सुबिधा उपयोग गर्दै देश भित्र र बाहिरका मन्दिर र चारधाम यात्राका फोटाहरू सामाजिक सञ्जालमा बेग्रिल्ती प्रचार गर्न प्रतिस्पर्धा नै गरेका पाइन्छन् ।
धेरै मानिसहरू अझै पनि घरमा एकातिर लडिरहनु, बाहिर ननिस्कनु, श्रम नगर्नु, र थोरै खानु उमेरिएका मान्छेको नियमित काम-कर्तव्य हो भन्ने सम्झन्छन् । सकृयता भनेको घरलाई चाहिने दैनिक दुधदही र सागपात अह्राएअनुसार लिनजानु, नजिकै भए नातीनातिनाको विद्यालय ढोकासम्म वा यातायातको सुविधा भए ल्याइपुर्याई गर्ने बिसौनीसम्म गएर आउनु मात्र देखिन्छ । ढल्कँदो उमेर, कमजोर शारीरिक अवस्था र घटदो मानसिक ह्याउमा त्यति गर्दा मनग्य श्रम भएको अनुभव धेरैले गर्ने तर काम नै नगनिने तथा उल्लेख गरेमा ‘जाबो त्यति कामको पगरी गुथिने’ घरायसी तह पनि हो । उस्तै खानपानले भारीबोक्ने बल आउने उमेरको दाँजोमा पाको उमेर शारीरिक आन्तरिक हरेक जैविकप्रणाली सकृयताको कमिले शिथिल हुँदै गएकाले घरका सदस्यहरूभन्दा झन बढि सन्तुलित र पौष्टिक पदार्थ सेवन र सुरक्षित रहनु जरुरी हुन्छ । उमेरिएका मान्छेको हितमा केन्द्रित गरी गरिएको घरायसी व्यवस्थापनले मात्र सबै उमेरसमुहको भलाई गर्छ भन्ने वास्तविकता बुझेमा भएको स्रोतको सही उपयोग भई कार्यान्वयन सरल र सुपथ हुनसक्छ । त्यसका लागि आधारभूत रुपमा खानपान र व्यायामको क्रियाकलापमा बलियो संयोजन हुनगई दीर्घायुको परिवार बनाउन सकिन्छ ।
खानपानः
सकेमा हरेक परिवारले सन्तुलित तथा उमेर अनुसारको पौष्टिक खाना खानुपर्छ, तर समाजिक वर्गीय विभेदको कारण कुल जनसङ्ख्याको अधिकांश धेरै परिवारले व्यवस्थापन गर्न सकिरहेका हुँदैनन् । त्यस्तो अवस्थामा हामीले प्राकृतिक, जैविक खाना प्रयोग तथा मौुममा पउल हुने खाद्यबस्तु सञ्चय गरी पछि काम लाग्ने अवस्थामा उपयोग गर्न पनि जान्नुपर्छ । शाकाहारी तथा मांसाहारी सबैले बिना पूर्वाग्रह पोषक तत्व भएका खानपान सकेसम्म हरेक छाक मिलाएर सेवन गर्ने तालिका मिलाउँदा रोगको सङ्क्रमण न्यून हुने र दीर्घजीवनको आशा गर्न सकिन्छ । हो, आजकल हुनसक्ने रोग घटाउन र शरीरको अवस्था स्वस्थ राख्न फेसनकै रुपमा पनि बनस्पतीजन्य पदार्थले फाइदा भनि प्राणीजन्य बस्तुभन्दा शाकाहारी भोजनको लहर चलेको छ । त्यस्तै पाको उमेरमा शरीरलाई चाहिने तत्व भएकाले प्राणीजन्य पदार्थ न्युनमात्रामा भएपनि उपयोगगर्नु पर्नेमा ‘अब के पापगर्नु यो उमेरमा’ भन्ने धार्मिक भावले मासु, माछा र चराका फुल नखाने र युवाहरू जनावरवादी भएर नखाने स्वाङ, फजुल कुरा हुन् ।
हिजोआज नेपालका धेरै पाका उमेरिएका महिला-पुरुषमा अरु रोगव्याधको क्रममा परीक्षण गरिँदा भिटामिन-१२ र भिटामिन-डि जस्ता आवश्यक पदार्थको कमी भएकोले चिकित्सकले नियमित सेवन गर्न सुझाव दिएको सामान्य हुनथालेको छ । भिटामिन-डि नियमित कलिलो घाम ताप्ने भएमा शरीरले नै बनाउन सक्छ तर अचेल कसैले पनि पहिलाजस्तो एउटा लिप्टोले लाज ढाकेर मज्जाले तेल दलेर शरीरमा पुरै घाम पर्ने हिसाबले लगाउने चलन देखिन्न । घाम ताप्दा जोकोही र पाका मानिसले पुरा लुगा लगाई कपडासहित जीउ तताउने मात्र हो । त्यसरी घाम ताप्ने भएकाले यथेष्ठ मात्रामा शरीरले भिटामिन-डि उत्पादन गर्न नसक्ने भएकाले चिकित्सकहरूले ओखतीको रुपमा हफ्ताको एक मात्रा भिटामिन-डि नियमित सेवनको सल्लाह दिएका हुन्छन् । माछामासु सहितका खाना घटाउने इच्छा लागेमा वा शाकाहारी खानातर्फ आकर्षित भएमा पर्याप्त मात्रामा फलहरू, सागपात, गेडागुडी र खाद्यान्नसहित निम्नलिखित पदार्थको आपूर्ति सहज भएमा सामान्यतया सबै उमेरसमुहलाई त्यति फरक पर्दैन ।
१) क्याल्सियमः
शाकाहारी खानामा क्याल्सियम बढि पाइने बस्तुमा दुग्धजन्य पदार्थहरू पर्दछन् । त्यसमा पनि कम चिल्लो भएको दुध, उमालेपछि तर निकालेको दुध र सादा दहीमही पर्दछन् । पूणर् शाकाहारी हुन चाहनेले क्याल्सियमका स्रोतहरू भएका बनस्पतीजन्य खाना रोज्नु पर्छ । सागपातमा फूल फुल्न दिएमा चारवटा पङ्खहरू (करोला) हुन्छन्, जस्तो तोरी, मुला, रायो, काउली, ब्रोकाउली आदि तथा केराउ, बोडी, भटमास लगायत दलहन सबै नियमित खानुपर्छ । हरेक छाकमा यस्ता गेडागुडी भएको खाना दैनिक सकेसम्म तिन छाक नभए दुबैछाक सेवन गर्नैपर्छ । यसरी आफ्नो खुराक भएमा क्याल्सियमको आपूर्ति हुन्छ तर बनस्पतीमा थोरै मात्रामा मात्र क्याल्सियम हुने भएकाले थप ओखतीको आवश्यक्ता पर्न सक्छ । क्याल्सियम हरेक वयस्क मान्छेलाई प्रतिदिन न्युनतम एक ग्राम त चाहिन्छ, यति पनि बनस्पतीबाट दैनिक आपूर्ति नहुनसक्छ । त्यस अवस्थामा अतीकम क्याल्सियम भएकाले थप ओखती खानैपर्छ वा यो तत्व बढाउन प्राणीका विशेष अङ्गहरू पकाएर खाने गरेमा मद्दत हुन्छ । त्यसैले होला, कति वर्षसम्म माछामासु र चराको फूल सेवन गर्न छाडेका उमेरिएकाहरू जीवनको पछिल्लो कालमा विभिन्न तत्वहरूको आपूर्तिको लागि शाकाहारीबाट फेरि मांसाहारी बनेका हाम्रो समाजमा धेरै पाइन्छन् ।
२) भिटामिन-डिः
भिटामिन-डि नियमित नसके हफ्ताको केहि दिन भए पनि आधा घण्टा नाङ्गो बसेर शरीरमा घाम पार्नाले प्राकृतिक स्रोतबाट सित्तैँ पाउन सकिन्छ । त्यसरी हामीलाई अति आवश्यक हुने यो भिटामिन प्रदूषणरहित तथा सजिलै प्राप्त हुने बानी बसाल्नाले हाम्रो आर्थिक नोक्सानी पनि नगर्ने र चोखो हुन्छ । यो भिटामिन थप पोषकको रुपमा बनस्पतीजन्य खाद्यबाट लिनुपर्ने भएमा हामीले रोजेर खानुपर्छ, जस्तोः सुन्तलाको शुद्धरस, दुग्धजन्य परिकार, बनस्पतीजन्य दुधिला बस्तुहरू, तेलिय माछामा ओमेगा-३ पाइने भएकाले माछा प्रजातिमा सहर, सामन, टुना र घाममा सुकाएको च्याउ खानाले पनि यो भिटामिन प्राप्त हुन्छ । नियमित त्यस्ता बस्तुको सेवनले प्रतिदिन आवश्यक यो भिटामिनको ०ं.०००२ ग्राममात्र प्राप्त हुनेगर्छ, त्यसैले दैनिक चाहिनेमा अपुग भएकाले घामको विकल्पमा आँशिक प्रतिशतले समस्या थमथमाउने मात्र हुन्छ ।
हिजोआजको असिमित चाहना र पूँजिवादी लोभमा लटपटिएको मानविय स्वभावले मानिसहरू स्वचालित खेलौनाजस्ता भएर हरेक बखत काम र पैसाको दौडधुपमा प्राय कोठाभित्र लटपटिएकाले घामको मुख नदेखि कैयौँ दिन बिताउँछन् । बिहान सबेरैदेखि रातीसम्म काममा जोतिने परिस्थितिले आफ्नै सन्तान पनि कति अग्ला भए भनि सुतेका बालबच्चाहरूलाई नाप्ने फित्ताले नापेर मात्र थाह पाउने अवस्थामा ‘आजका स्वनामधन्य आधुनिक मान्छे’ले सित्तँै पाइने यो भिटामिन गुमाइरहेछन् । यस अवस्थाका मान्छे अझ शाकाहारी भएमा हाम्रो शरीर यो भिटामिनको अभावमा कति ओटा रोगको शिकार होलान् त ? फेरि बनस्पतीजन्य बस्तुमा यो भिटामिन न्युनमात्रामा पाइने हुनाले शरीरमा अति आवश्यक हुँदा ओखतीलेमात्र मात्रा नपुगेर मांसाहारी त हुनैपर्छ । मासु, माछा, माछाको कलेजो, चराको फूलको पहेँलो भाग सेवनले द्रुतगतिमा यो भिटामिन आपूर्ति हुन पाउँछ र पाका उमेरमा रोगव्याध र समस्या पर्दैन । हेक्का गरौँ, आफ्नो स्वास्थ पहिलो अनिमात्र सँस्कृति, आस्था र चलन हो, उमेरिदा हिँ हिँ गरेर एकै ओछ्यान पर्नुभन्दा आवश्यक सतर्कता बेलैमा गरेर सोहिअनुसार खानपान र बाहिरफेर चलखेल गरौँ तथा रोगबाट बचौँ !
३) भिटामिन-१२ः
यो भिटामिन प्राकृतिक रुपमा शाकाहारी भोजनमा पाइन्न र त्यसैको लागि हामीले मांसाहारी खाना खानै पर्छ । हाम्रो आन्द्राको बनावट र लम्बाइको विशेषता, दाँतको हार तथा कामलाई हेर्दा मान्छेमा टोक्ने, लुछ्ने्, चपाउने र पिँध्ने कामका दाँतले शाकाहारी र माङ्सहारी दुबै खानाको आवश्यक्ता देखाउँछ । यस्तो प्राकृतिक चरीत्रको सट्टामा मानिसहरू विशेषगरी पाका मान्छे उमेरिदै जाँदा झन आस्था र परम्परागत भएर शाकाहारी हुनेगरेमा रोगको आपद थपिने स्वभाविक छ । त्यसैले त पाका मान्छेका स्मरण शक्ति हराउँदै जानु, मस्तिष्क क्षमतामा ह्रास आउनु र दिमागी हालत बिग्रनुमा यसै भिटामिनको कमिले भएको हुन्छ ।
कतिपय यस्ता समस्यामा यो भिटामिनको नियमित सेवनले बिस्मृत्ति र अवशादमा पनि मद्दत पुगेर समस्याहरू सल्टिँदै गएको पाइन्छ । दैनिक सामान्यतया २.४ माइक्रोग्राम (०.००२४मिलिग्राम) हाम्रो शरीरलाई आवश्यक हुने यस भिटामिनको सोसिने क्षमता कम भई पाचनप्रणालीबाट रक्तप्रणालीमा कम जानेभएकाले अलिबढि मात्रामा ओखती खानुपर्ने हुन सक्छ । यसले पाका मान्छेलाई बेलैमा होस नगर्दा र शाकाहारी आहारा बनाउँदा आर्थिकबोझ बढ्न र झण्झटिलो बन्नसक्छ । त्यस्तै, यस तत्व कमीकै कारणले होला एक वयस्कदेखि श्रीबैष्णव भएका असि उमेरका पाकाले ओछ्यान परेर साह्रै गलेको केही दिनमा बाक्य लरबरिन थालेपछि उनले सिङ्गै बोको खाने इच्छा व्यक्त गरे । आज्ञाकारी सन्तानले उनको इच्छालाई पूर्ति गर्न बोको ल्याई पुर्याइपुर्याई एक महिना ख्वाउँदा उनी हिँड्न सक्ने भई एक वर्ष बाँचेपछि बिदा भए । यस अनुभवले के सन्देश दिन्छ त ?
४) आयोडिनः
प्राकृतिक रुपमा आयोडिन एक खनिज पदार्थ हो तथा यो पदार्थको स्रोत मुख्य गरेर माछा, दुग्धजन्य परिकार, कुखुराको मासु र फूलबाट प्राप्त गर्न सकिन्छ । बनस्पतीजन्य खाद्यमा विविधमात्रामा थोरै आयोडिन पाइन्छ र शरीरलाई प्रतिदिन चाहिने मात्रामा यो खनिज प्राप्त गर्न सकिन्न । कुनैकुनै समुद्री झ्याउ, लेउ र झारमा उच्च कोटीको आयोडिन भएकाले समुद्री किनारी भागमा मानिस लगायत सम्बन्धित देशमा यसलाई खानाको बस्तु मानिन्छ । अनुसन्धानले स्वक्ष र शरीरलाई फाइदा गर्ने प्रमाणित गरेकाले अरु देशका मानिसहरूले पनि खानाको रुपमा प्रयोग थालेका छन् । त्यसबाहेक आयोडिनलाई सजिलै दैनिक प्राप्त गर्न सकियोस् भनि हिजोआज आयोनुनको चलन यस्तै झारमा नुन मिसाई उत्पादन गरिन थालिएको छ । शाकाहारी खानामात्र खानेलाई पर्याप्त आयोडिन नभएर रोगव्याधका समस्याहुँदा थपआयोडिन ओखतीको रुपमा सेवन गरिन्छ । पाका मान्छेमा दैनिक खानाबाट प्राप्त गर्नुपर्ने १५० माइक्रोग्राम (०.०००१५ ग्राम) अपुग हुने धेरैको भनाई हेर्दा मांसाहारी बन्नुमा विकल्प रहेन ।
५) जस्ता समिश्रणः
गेडागुडी, बदम, खाद्यान्न, खानमिल्ने सग्ला साना सागपातमा जस्ताका समिश्रण पाइन्छन् । दैनिक खानेकुराले शारीरिक आपूर्ति र फाइदा पुग्ने यो समिश्रणको मात्रा ११ मिलिग्राम (०.०११ ग्राम) हुनुपर्छ । मुला, बाँसको तामा, बदम, काउली, अलैँची, तोफू जस्ता शाकाहारी खानाबाट आएका यस खनिज पदार्थको न्युन मात्रा पनि सजिलै शरीरमा सोसिने काम हुँदैन । त्यसैले कि थप यसको रुपमा ओखती खानुपर्छ कि सन्तुलित र अधिक मात्रामा पाइने शङ्खेकिरा, घुँघी, सिपी जस्तो शरीरबाहिर कडा भागले छोपेका कीराहरू, कुखुराको फूल, दलहनसहित खानामा सेवन गरे यस खनिजको बढिमात्रा पाइन्छ । यस्ता जीवखाद्यबस्तु सेवन गर्नैपर्दछ नत्र जस्ताको मिश्रणको अभावमा छालाको सुख्खापन, फुट्ने, चाउरिने डावर उठ्ने र चिलाउने भई खरानी देखापर्ने हुनथाल्छ । तेल, क्रिम र मलहमहरू लगाए पनि निरोगी छाला बन्न सक्दैन बरु घिनलाग्दो कत्ला र बिराली देखिने हुनसक्छ ।
यस पदार्थको कमीले थप कपाल झर्ने बिस्तारै हुँदै गएर तालुखुइले हुनसक्छ भने घाउ भएमा निको हुन धेरै समय लाग्ने हुन्छ र झाडापखाला नियमित हुनथाल्छ । सबै उमेरकामा जस्ता मिश्रणको अभावमा खानाको स्वाद र गन्ध थाहा पाउने इन्द्रियहरूको काम अवरुद्ध हुन्छ । पाका मान्छेमा त्यस्ता लक्षणहरूका साथै सम्झने, बिचार गर्ने शक्ति र तर्क क्षमता अति ह्रास हुने तथा मधुमेह लाग्ने हुनसक्छ । वयस्क महिलाहरूमा अधिग्रो जाने र प्रजनन्का थप समस्या देखापर्ने हुन्छन् । त्यस्ता लक्षण भएका बाआमाबाट जन्मिएका बालबालिका जिङरिङ्ग परेका र शरीरका अङ्ग सग्ला नभएका तथा आकार बिग्रेका हुन्छन् । त्यसपछिका सन्तान झन अविकसित जस्ता हुँदै गएर ंवंश नै खिइएको भनेझैँ कमजोर र जैविक प्रक्रिया पुरा गर्न नसक्ने ख्याउटा देखिन्छन् ।
६) लौहतत्वः
फलामयुक्त खाना पनि शरीरलाई चाहिने खनिज पदार्थ मध्येकै पर्दछ । लौहगुण भएका खानेकुरामा मुख्यत माछा, दुग्धजन्य परिकार, कुखुराको फूल पर्दछन् । बनस्पतीजन्य खाद्यमा लौहतत्व अधिक पाइनेमा सागपात, गेडागुडी, दलहन र अरु खाद्य अनाज पर्दछन् । फलफूल र तरकारीमा भिटामिन सि धेरै पाइन्छ र यसको सेवनले बनस्पतीजन्य खानामा रहेको साह्रै थोरै लौहतत्वको मात्रालाई पनि सोस्न बढि सघाउ दिन्छ । प्रतिदिनको खानामा कम्तीमा १८ मिलिग्राम (०.०१८ ग्राम) लौहतत्व भएमा सामान्यतया समस्या आउँँदैन । शाकाहारी खानपानका उमेरिएका मान्छेहरूमा मिलायर सन्तुलित आहारा खाएमा जसोतसो सङ्क्रमण हुँदैन तर असन्तुलित र मनलाग्ने मात्रै खाना खानेमा कमी हुने सम्भावना रहन्छ । त्यस अवस्थामा थप लौहतत्वको आपूर्ति मांसाहारी बनेर वा ओखतीको रुपमा पाइने ट्याब्लेट र झोल खाएर आपूर्ति गर्न सकिन्छ ।
शरीरमा फलामको कमी भएमा अति थकान महसुस हुने, नातागत भएकाले आफूलाई अल्छी लागिरहने, श्वासको गति रोकिन खोज्ने, मुटुको धडकन तलमाथि हुने र सम्पूणर् शरीर पहेँलो देखिने हुन्छ । वास्तवमा लौहतत्वको अभावमा रक्तअल्पताको रोग लाग्न सक्छ । रक्तअल्पता हुँदा रगतमा भएका रातो रक्त कोशिकाहरूको सङ्ख्या सामान्यभन्दा कम हुनजान्छ । यी कोशिकाले शरीरको सबै कोशिकाहरूमा प्राणवायु (अक्सिजन) पुर्याउने काम गर्दछन् । यदि यस्ता रक्त कोशिका कम भएमा शरीरका कुनासम्म चाहिने अक्सिजन पर्याप्त नपुगेर जैविक प्रक्रियानै अबरुद्ध हुने स्थिति आउँछ । यस परिस्थितिमा पाका मान्छेका हातगोडा सँधै चिसा हुने, रिङ्गटा लागिरहने, थोरै जर्याकजुरुकमा पनि श्वास फुल्ने, भाउन्न हुने, छाती र टाउको दुख्ने हुनेगर्छ । हुन त, उमेरिएका मान्छेको सामान्य स्वास्थ अवस्था अनुसार रक्तअल्पताका विविध लक्षणहरू देखिने र नदेखिने पनि हुनसक्छ ।
व्यायामः
विभिन्न कारणले घरकाजमा रहेका वा घर वरिपरी सिमित उमेरिएका पाका मान्छेमा खानपिनको व्यवस्था त गर्न सकिएला तर नियमित व्यायाम र चलखेलको अभावमा अनुभव नगरिएका रोगव्याधले झ्याँक्ने मौका पाउन सक्छन् । सामान्यतया पाका मान्छेले बयस्क अवस्थाको जस्तो बढदो उमेरमा कडा व्यायाम शारीरिक कारणले पनि नगरेको राम्रो हुन्छ । हलुका र ज्यानले थाम्ने कसरत चाहिँ हिँडडुल कम गर्ने र घरकाजमा रमाउनेले नियमित रुपले गरिरहनु स्वास्थस्थिति कायम राख्न पनि आवश्यक हुन्छ । धेरै नगरे पनि शरीरका विभिन्न भागको तन्याक-तुनुक हुनेगरी बिहान ओच्छ्यानमा आँखा खुलेपछि सुती-सुती र उठेर हातमुख धोएपछि सम्म र नरम ठाउँमा बसेर-उत्तानो-घोप्टो परेर अचेल भनिने योगजस्ता विधि पुर्याएर कसरत गर्नैपर्छ ।
सामान्य ठानिएका यस्ता हलुका व्यायामले धेरै उमेरिदा पाका मान्छेको शरीरका हाडजोर्नीलाई खुकुलो, मांसपेशीलाई बलियो र चलखेल गर्न सक्ने बनाउन निकै मद्दत गर्छ । यसो भएमा उमेरिदा हुने जोर्नी दुखाई र मांसपेशी बाउँडिने समस्या हल हुन्छ भने कामको पक्षमा ध्यान केन्द्रित हुँदा मानसिक स्वास्थमा अनुकुल प्रभाव पर्न थाल्छ । हाडको बलियोपन कायम भई उमेरिदा खिइने, वजन थाम्न गाह्रो हुने साथै कमजोर भई टुक्रिने समस्या हल गर्न सहयोग हुन्छ ।
अमेरिकी खेलकुद ओखती-उपचार कलेजहरूले उपरोक्त समस्याहरूको समीक्षा गर्न विज्ञहरूको एक समुह बनाई समाधानका उपाय पत्ता लगाउन लगाएका थिए । विभिन्न किसिमका उपचार पद्धती, समस्याहरूको उठान र निराकरणका प्रमाणित सबुतका आधारमा बिज्ञसमुहले निम्न तथ्यहरूमा मैतक्य गरेका छन् ।
उमेरिएका, रोगले ग्रस्त नभएका, अझै सक्षम पाका मान्छेहरूले सजिला र सहज व्यायाम अतिउमेर पुग्दा पनि नियमित गर्नैपर्छ । खास गरेर शरीरका मुख्य मांसपेशी, श्वेत लचिलो नसाहरू (टेण्डन), पाखुरा, गर्दन, घाँटी, काँध, छाती, कम्मर, फिला, गोडा, कुर्कुच्चा र पाइतालाको भागमा चलखेल हुने गरेर सरल व्यायाम गर्नु- तन्याक-तुनुक, हिँडडुल र सरल योग गर्नु नै सर्वोत्कृष्ट व्यायाम हो । दोश्रो उपायमा हरेक भागको तन्काई र खुम्च्याईलाई हरेक पटक कम्तीमा एक मिनेट गरिएकै अवस्थामा राखेमा अधिकतम फाइदा लिन सकिने हेक्का राख्नै पर्दछ । एकै पटकमा एक मिनेटका लागि गरिएको व्यायाम थाम्न नसके आधा मिनेट गरेर बानी पार्दै गएर पछि समयावधि बढाउन सकिहाल्नु हुन्छ । त्यसो गर्दा पछि बढिमा पाँच मिनेटसम्म इच्छित आसनको अवस्था राख्न सके राम्रो कसरत भई सम्बन्धित समस्या सहजै हल हुने निश्चित हुन्छ ।
हार्वाड प्रकाशनको उमेरिएका पाका मान्छेको व्यायाम तथा स्वास्थ रक्षा सम्बन्धी लेखअनुसार मुख्यकुरा भनेको मानिसको दृढ इच्छाशक्ति हो । पाकाले चाहेमा जवान र वयस्कलेसमेत नसकिने भनिएका काम आँटले फत्ते गर्छन् भने आफ्नै स्वास्थ्य रक्षा तथा सञ्चो सुविस्ताको दीर्घ जीवनको लागि निश्चयसाथ लागेमा पूणर् गर्न पक्कै सफल हुनेछन् । त्यसरी लागिपर्ने पाकाले भित्री उत्साह र जाँगरसहित लागेमा शरीरको तागत बढाउन, सन्तुलनमा ज्यान राख्न, शरीरको ढाँचा स्वस्थझैँ कायम राख्न र बिस्तारै दैनिक कार्य सहजै पुरा गरिरहेको पाइनेछन् । पाकाहरूलाई समय र परिस्थिति मिलाउन सजिलो हुने गरी यस्तो तरिका बारेमा विविध अनुकुल उपायहरू तयार गरिएको प्रतिवेदन प्रकाशमा आएका छन् । त्यसप्रकारका कार्यक्रममा आफूलाई भरलाग्ने छिटो र सहज उपायहरू अघि बढाउने अठोट गर्नुहोस् तथा त्यो तरिका घरकै कोठाबाट थालनी गर्न सुरु गर्नुहोस् । हरेक गतिविधि सम्पन्न गर्न एक घण्टा लाग्छ र समय छुट्ट्याउन अप्ठ्यारो पर्छ भने सुरुमा आधा समयका लागि सबै तरिकाको व्यायामलाई दश पटकको ठाउँमा पाँच पटक गरेर आधा समयमा सबै तरिकालाई पुरा गर्नु होस् । बानी नपरिसक्दा र घरायसी कामको चटारोमा निम्न तरिकाले निम्न ंसंक्षिप्त व्यायाम गरेर फाइदामा रहने उपाय गर्न पछि नपर्नुृ होस् ।
संक्षिप्त कार्ययोजनाः अल्प अवधिमा व्यायाम सकेर अरु काममा लाग्नु छ भने दश मिनेट जतिमा आधारभूत कसरत गर्दा- पूल आसन, तख्ता आसन, ओल्टोकोल्टो फर्केर ढाड मर्काउने, बसेर श्वासप्रश्वास छिटोढिलो गर्ने र भ्यागुतो उफ््रmाई गर्ने क्रियाकलाप थोरै समयमा बढि असर गर्ने कसरत हुन् । यी सबै व्यायाम सम्म धरातल भएका ठाउँ र कोठाभित्र मज्जाले गर्न सकिन्छ । त्यस्तै आफ्नै आनन्दीमा गर्मीमा शितल खाँदा र जाडोमा घाम ताप्दा पनि समय र ठाउँ मिलेमा सहज खालका द्रुत कसरत गर्न सकिन्छ भने अनुकुल पर्दा सबै व्यायाम सिद्ध्याउन सकिन्छ, बिचार गरौँ यो समय पनि आफ्नै भलाईको लागि हो, है !
व्यस्ततामा पनिः अति व्यस्त भइएको अवस्थामा पनि कामकै अवधिमा फुर्सद हुँदा वा थरक मार्दा धेरै नभए एकदुइ तरिका गर्न सकिन्छ । बिहान उठेर घरायसी काम वा नित्यकर्म गर्नु अगाडि समय धेरै नखर्ची कसरतका केहिभाग पुरा गरेर मात्र काममा लाग्न सकिन्छ । अझै नियमित काममा हुँदा कार्यस्थलमा छिटोपुग्दा र सम्पन्न भई फर्कनु अघि एक्लैभए ढोका लगाएर आफ्नो नियमित व्यायाम थोरै पुरा गर्ने वा सुरु गर्न सकिन्छ । घरमा टिभी हेर्दा व्यापारिक विश्राममा केहि आसन पुरा गर्न सकिन्छ । फोनमा लामो कुरा गरिरहँदा आफ्नो सुन्ने पालोमा कानबाट फोन नहटाई अर्कोतिर अनुहार फर्काई श्वासप्रश्वास, गर्दन, कुम, हातखुट्टाको व्यायाम गर्न सकिन्छ । लामो व्यायामको तालिकामा निश्चित हुन दिन देखिने ठाउँमा राखेको पात्रोमा लेख्ने र खाली दिनमा संक्षिप्त गर्ने दिनलाई चिन्हो लगाई राखेमा अनियमितता अटुटरुपले सञ्चालन भई स्वास्थमा अनुकुल प्रभाव रहिरहन्छ ।
खाली कहिले ?: आफ्नो दैनिकीमा कसैलाई पर्खने, बिरामी कुर्ने समय, बत्ति गएको समय आदिमा तुरुन्तै गर्ने कसरत सम्झिएर थालिहाल्न सकिन्छ । दिनभरी विभिन्न कारणले ढाड सोझो नपारिएको, मुण्टो घोप्ट्याएर काम भएको, हातखुट्टा खुम्च्याएर काम गरेको छ भने जुनजुन भागको प्राकृतिक आकार विपरित भएको छ त्यहि भागलाई केन्द्रित गरेर खाली समयमा व्यायाम गरी समय सदुपयोग गर्नु बुद्धिमानी हुन्छ । कम्प्युटरमा काम गर्न सुरु गर्दा खुल्न र खुलेपछि कार्यक्रम चल्न वा भाइरस जाँच गर्न ढिला गर्छ भने त्यहिबेला हातखुट्टा तन्काउने, मुन्टो बटार्ने, घुमाउने, काँध अग्लोहोचो पार्ने, श्वासप्रश्वास विविध गतिमा गर्न सकिन्छ । कामको व्यस्तता बिच खाली समय पाउनासाथ कुन व्यायाम गर्दा समय पुग्छ भनी पहिल्यै आङ्कलन गरी पुरागर्ने बानी गरेमा समयको उपयोग र स्वास्थबारे चनाखो भएको प्रमाणित नै हुन्छ !
शक्तिबर्द्धक व्यायामः निश्चित काम र समय छ भने काममा बाधा नपारी हरेक दिन सबै व्यायाम गर्ने समय पनि तोक्नुहोस् । यदि कामको प्रकृति आकस्मिक र परिवर्तन भइरहने छ भने परिवर्तित समयअनुसार वैकल्पिक समय पार्नुहोस् । अस्तव्यस्त परिस्थिति छ भने हप्तामा तिन वा दुइ पटक कम्तीमा सबै व्यायामहरू पुरा गर्ने कोशिस गर्नुहोस् । कहिलेकाहीँ आकस्मिक नै कामको तालिका परिवर्तन भएमा समयअनुसार व्यायामलाई सकेको सबै नभए द्रुत समयका संक्षिप्त थरिको गरिहाल्नोस् । हेक्का रहोस्, द्रुत समयका कसरतमा मांसपेशी र हाडजोर्नीका व्यायाम नछुटे शारीरिक शक्ति पुनर्उत्पादन भई फुर्तिलो होइन्छ ।
अन्त्यमा,
उमेरिएका मानिसले सबैभन्दा महत्वपूणर् कुरा खानामा हेल्चेक्र्रयाइँ नगरौँ ! मिठो लाग्ने लुब्ध भई धेरै खाने, नमिठो लाग्ने मन नपर्ने खाँदै नखाने गर्नुहुन्न । पाको उमेरमा हरेक महिला-पुरुषले शरीरको आवश्यक्तालाई बिचार गरेर उमेरअनुसार फाइदा गर्ने सुपाच्य भोजन सेवन गर्न कोशिस गर्नुपर्छ । उमेरिदा जाती, समुदाय, रीतिथिती हेरेर खानपिन गर्ने होइन, कुनकुन पदार्थको शरीरलाई आवश्यक्ता छ, कुन पदार्थ शरीरमा बढि भएर सेवन घटाउनुपर्छ भन्ने बिचारेर खानुपर्छ । आवश्यक्ताले शाकाहारीबाट मांसाहारी बन्न धक मान्नु हुँँदैन भने विज्ञ चिकित्सकको सल्लाह अक्षरस मान्नु आफ्नो जीवन सुखमयपूर्वक लम्व्याउनु हो भन्ने बुझ्नै पर्छ । आफ्नो घरायसी अवस्थाले मिलेमा नाम चलेकोभन्दा पनि आफूलाई समय दिएर व्यथाका सबै बैगुन सुनिदिने र त्यसअनुसार ओखती तथा सल्लाह दिने चिकित्सक खोजीराख्नु पनि समयमै पर्छ है !
शारीरिक र मानसिक अवस्था अतिपाको उमेरमा पनि दुरुस्त राख्न खानपानले मात्र पुग्दैन, सक्दो शरीरको कसरत हुनु आवश्यक हुन्छ । व्यायाम भनेको मुरीका मुरी गरुङ्गा फलामका डल्ला उचाल्ने, म्याराथुन दौडमा भाग लिन खोज्ने र सगरमाथा चढ्न जाने होइन, बरु रक्तसञ्चार, मांसपेशी, हाडजोर्नी, अङ्गका प्राकृतिक आकार र कामलाई आफ्नै बानीले बिगारेकोले समय दिएर ठिक बनाउन साथै चलायमान पार्न खोजिएको हो ! पाको उमेर एकै ठाउँ बसिरहने, सुतिरहने वा एकोहोरो कामले अङ्गहरूको चलखेल कम भएर निष्कृय भई बिस्तारै शक्तिहिन बेकामे बन्नबाट रोक्नु हो ! त्यसैले प्रतिष्पर्धामा गएझैँ होइन आफ्नो अनुकुलका व्यायाम सँधै गर्ने बानि बसाल्नु पर्छ । यसो गर्नाले अन्तिम श्वास रहेसम्म फुर्तिलो, स्वावलम्बी र तुलनात्मक हिसावले सहज जीवन बिताउन सकिन्छ । यसै मूलमन्त्रलाई सदैव सम्झिएर व्यायाम गरौँ ! भनिएको व्यवहार गर्न ज्ञान, गुन र अनुभवका भकारी जस्ता पूर्ण र सग्ला हाम्रा आदरणिय पाकाले बुझ्छन् है ! डर मान्नै पर्दैन !
०००
कात्तिक २३, २०८१
चालिसे डाँडा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest