अमर अधिकारीसम्मानको मोल
पुस्तकालय हल बनिसकेपछि उद्घाटनका दिन गन्यमान्य व्यक्तिहरूलाई निम्तो पठाइयो । आकर्षक खालको ब्यानर पनि तयार भयो ।

अमर अधिकारी :
धनकुटा जिल्लाको एक गाउँमा धनवीर नाम गरेका व्यक्ति थिए । धन-सम्पत्ति धेरै भएका धनवीरका बाजे-बराजू पनि धनीमानी नै थिए । धनवीरका बाजेको सम्पत्ति स्याहारी नसक्नुको थियो । उनका बाजेदेखि नै खेतबारीमा काम गर्नका लागि घरमा कामदारहरू राखिएका हुन्थे ।
धनवीरको पढाई भने स्तरीय नभएका कारण उनी पटक-पटक फेल हुन्थे । उनी माध्यमिक तह अर्थात् दशकक्षासम्म बल्लबल्ल पुगे । तर एसएलसी पास भने हुन सकेनन् । तास खेल्न र स्वतन्त्रतापूर्वक घुमफिर गर्न उनलाई अभिभावकबाट रोकावट थिएन । धनीमानी भएकै कारण कतिपय गाउँलेहरूले धनवीरका बाउ-बाजेलाई सामन्ती पनि भन्दथे । किन कि उनका बाउ-बाजेले पहिलेदेखि नै मिटरब्याजको कारोवार गर्दथे ।
धनवीरको घर परिवारलाई मन पराउने गाउँमा कमै मात्र थिए । साहित्यप्रति झुकाव राख्ने युवादेखि वृद्धसम्मका गाउँलेहरूले गाउँमा पुस्तकालय बनाउने अभियान चलाए । चन्दा उठाउँदै जाँदा धनवीरले पुस्तकालयका लागि आर्थिक सहयोग स्वरुप एक लाख दिने वाचा गरे । कतिपय विद्वानहरूले धनवीरबाट त्यो चन्दा रकम लिनुहुँदैन पनि भने । मत बाझिए पनि आखिरमा धनवीरले पुस्तकालयका लागि सहयोग गरे । पुस्तकालयका लागि कसैले पाँच हजार दिए, कसैले दश हजार दिए भने कसैले बढीमा पन्ध्र हजारसम्म पनि दिए । धनवीरले भने एकलाख सहयोग गरेपछि उनका चिनजानका विभिन्न व्यवसायीहरूबाट समेत गरेर पाँच लाखको हाराहारीमा रकम उठ्यो ।
रकम जम्मा भएपछि धनवीरले पुस्तकालयका लागि एउटा हल बनाइदिने वचन पनि दिए । पुस्तकालयको हल बनाउन छ महिना लाग्यो । पुस्तकालय हल बनिसकेपछि उद्घाटनका दिन गन्यमान्य व्यक्तिहरूलाई निम्तो पठाइयो । आकर्षक खालको ब्यानर पनि तयार भयो । कार्यक्रममा प्रमुख अतिथि उनै धनवीर नै थिए । अरु दुईजना अतिथि थिए । धनवीरलाई खादा, अबिर र माला लगाइदिएर उनलाई भव्यताकासाथ सम्मान पनि गरियो र सम्मानपत्र पनि दिइयो ।
धेरै चन्दा दिनेलाई सम्मान गरिएकोमा कतिपयलाई चित्त बुझेन । कार्यक्रम सकिएपछि “सम्मानको मूल्य त यस्तो पो हुनेरहेछः” भन्दै सहभागीहरू बीचमा गाइँगुइँ चल्यो ।
०००
बुढानीलकण्ठ, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest










































