सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साइटिका थामथुमका पाँचसूत्रे उपाय !

रोगव्याध बारेमा जानकारी राखेर विज्ञको सल्लाह मानौँ, अनि खानपान व्यवस्थित गर्न उमेर अनुसार सोचौँ, गरौँ, सामाजिक सम्बन्धमा सार्वजनिक हितको पक्षमा निर्णयको मतो गाँसौँ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

मान्छे उमेरले पाको बन्दै गएपछि विस्तारै शारीरिकरुपले कमजजोर हुँदै जानु स्वभाविकै हो । त्यस अवस्थामा ढाड नै सोझिएर हिँड्दा दुख्ने, गोडा धरमराउने भएपछि सहाराको लागि लौरो टेकेर हिँडन थाल्नु पर्छ । यस्तो हुनमा विशेषगरी ढाड र गोडाका जोर्नीहरूका समस्या तथा स्नायु नसाहरूका समस्याले भएको धेरै हुन्छ । ती अङ्गहरूमा रहेको र कम्मरबाट शुरु भएर पूच्छास्थी, फिला, तिघ्रा, पिडौँला हुँदै खुट्टाका औँलासम्म पुगेको साइटिका स्नायुको कारणले हो । यस समस्याको दुखाई अति नै कष्टदायक, र आतुस लगाउने खालको हुन्छ अनि पीडा हुन थालेपछि जो कोही पनि अररिएर हिँड्दाहिँड्दै लडने वा बसिरहँदा पनि बाउँडिन सक्छ । सुतिरहेको मान्छे पनि माँसपेशी बाउँडिएर र फर्किएर साथै जतापट्टिको नशामा समस्या छ, त्यो हर नै चलाउन नसक्ने हुनजान्छ । कम्मरका जोर्नीमा आघात परेमा वा मेरुदण्डका आँख्ले जोर्नी हाडहरूका नसाहरू थिचिने र स्नायुका सञ्चार अवरुद्ध भएमा नै यो दुखाई हुन थाल्छ । बेलैमा रोकथाम र उपचारका विधिगरेमा यो दुखाइबाट रोकथाम वा न्यून गराउन सकिन्छ ।

१. व्यायामः
विभिन्न स्तरको शरीरको कसरत अङ्गहरूको तन्दुरुस्ती, फूर्तिलोपन र क्रियाशिल पारिरहन सबै उमेरसमूहलाई चाहिन्छ । अझ पाको उमेरमा घट्दै गएको सक्रियता र कमजोरीमाथि हैकम कायम राख्न सकेको व्यायाम आवश्यक पर्छ । साइटिका नलागेको भए रोकथाम गर्न र लागेकोमा पिडा घटाउन दैनिक कसरत गरिरहनु नियमनको उपाय नै हो । केही लक्षणहरू देखा पर्न थालेका छन् भने क्रियाशील रहँदा दुखाई घटेको र निष्कृय बस्दा बढेको सबैले अनुभव गर्नुभएकै होला । उमेरिँदा गरिने तिन प्रकारका कसरत यस रोगमा पनि प्रयोग गर्न सकिन्छ भनेर हार्वार्ड मेडिकलका साइटिका सम्बन्ध विशेषज्ञहरूको छः

क) श्वासप्रश्वास घटबढ हुनेगरी गरिने कसरत जस्तैः हिँड्ने, लम्कने, दौडने, लामोछोटो कदमचाल, पौडी खेल्ने, नाच्ने, कम्मर मर्काउने, गर्नाले फोक्सो मात्र होइन मुटुको चालमा फरक आएर शरीरका पुरा अङ्गहरूमा व्यायाम हुनजान्छ ।
ख) उर्जा बढाउने र खपतगर्ने व्यायाम जस्तैः विभिन्न तौलका फलामे डल्ला उठेर, बसेर, सुतेर उठाउनेसाथै अरुहरू अङ्ग- हातगोडा दुवैले पालैपालो तलमाथि उठाई गरिने व्यायामले सबै माँसपेशीहरू खुम्च्याउने तन्काउने भई बलियो होइन्छ ।
ग) सजिलो र लचिलो व्यायाम जस्तैः योगध्यानका विभिन्न आशन, चिनियाँ ताई चि, पिलाटस् (योग जस्तै तर साह्रै बिस्तारै माँसपेशी लचिलो बनाउने तरिका) प्रयोगले शारीरिक लचकता ल्याउने तथा गर्दैजाँदा माँसपेशी बलियो बनाउने हुन्छ ।

यस्ता विविध प्रकारका उमेरिँदा स्वस्थ रहने व्यायाम बारेमा कुन राम्रो भनि अलमलिनु पर्दैन । जुन नामको भए पनि आफूलाई मनपर्ने, शरीरका पिडा हुने अङ्गलाई तहलगाउने र स्वस्थ हुँदै गइने जुन हुन्छ त्यहि व्यायाम निरन्तर समय बढाउँदै धेरै महिना गरौँ । शरीरमा उब्जेका, दुःख दिइरहेका समस्याहरूले सुइँकुच्चा ठोक्न सक्छ । पहिले थाह नपाएको भए पनि समाधानका उपाय बुझेर चाहिँदो कसरत ‘बिस्तारै थोरैबाट सुरु गरौँ र समस्या मत्थर नभएसम्म बढाउँदै जाऔँ !’ को मन्त्र लागु गरौँ ।

२. बलियो भित्रीेः
बाहिर हेर्दा हृष्टपुष्ट राम्रो देखिए पनि भित्री अङ्गहरूमा धमिरा लागेजस्तो कमजोर र खोक्रो हुन थाल्यो भने ज्यानमा खङार लागेको बराबर हुन्छ । ‘धनु बलियो नभएकाको ज्यान सिन्को जस्तै पिटिक्क हुन बेर लाग्दैन’ भनेको त बुझिन्छ नि ? हो, त्यसैले हाम्रो मेरुदण्ड र जोडिएका सबै अङ्गहरू पेटका माँसपेशीहरू मात्र होइन, मुटु, कलेजो, भित्र्याँस, सबै बलियो तथा निरोगी हुनुपर्छ । नत्र एउटाको अर्घेल्याइँले अर्को अङ्गलाई दुःख दिन थालिहाल्छ । अगाडिका छाती, पेटका माँसपेशीमात्र होइन ढाडका माँसपेशीहरू पनि कसरत गर्दा व्यायामबाटै स्वस्थ र प्राकृतिक सन्तुलनले सडकिने नहोस् भन्ने व्यायाम हुनैपर्छ ।

त्यस्तै कोखातिर, कटिको भाग, फिला, तिघ्रा, पिँडुला पनि कसरतका भागमा परेमा भित्री आँत बलियो हुने साथै मेरुदण्ड ठडिन मद्दत पुग्छ । यसबाहेक हार्वार्ड स्वास्थ प्रकाशन सँस्थानबाट प्रकाशित लेखहरूले अरु खालका सहज व्यायामका तरिकाहरू अघि सारेको छ । हामी आफैँ पनि आफ्नै समुदाय, जाति र समाजमा चलेका कुनै जडिबुटी सोझै प्रयोगगरिने ओखतिमूलो तथा त्यसका झोल, चोपसाथै लस्साद्वारा शरीरको मालिस, जिउ तन्याकतुनुक विधिले पनि यस्तो दुखाइमा फाइदा लिन सक्छौँ ।

३. आसन फेरौँः
लगातार एकै काम गरिरहेमा शरीरको त्यो कामका भागहरूमा दबाव परिरहेको हुन्छ, अरु भाग निष्क्रिय भइरहेका हुन्छन् । त्यस्तै एकोहोरो धेरैबेर बसेर, ओछ्यानमा ढल्केर, नरम गद्दामा अडेस लगाएर, आसन नफेरिकन लामो समय कामगरेमा प्राय कम्मर र पुच्छास्थी वरपरका भाग उपयुक्त आन्तरिक सञ्चालनको अभावमा लाट्टिन थाल्छन् । घुँडामारेर बस्दा, हात दोर्ब्याएर राख्दा धेरैलाई त्यो थिचिएको भाग निदाएको अनुभूति हुन्छ, त्यसैले भित्री सञ्चालन सहजै होस् भनेर उक्त भागलाई हल्लाउने, हातका औँलाले छुने, चिमोटने गरेको देखिन्छ । त्यसो हुनुभन्दा बरु आन्तरिक रोकावट नहोस् र असामान्य स्थिति नपार्न हरेक कामगर्दा बिसाइ-बिसाई आसन फरक पार्दै वा एक छिन रोकेर नजिकै हिँडडुलगरी फेरि काम सञ्चालन गर्नाले दबाव परेको अङ्ग र स्नायु नशालाई राहत हुन्छ ।

यसोगर्दा भित्री कुनै तन्तु वा नसा थिच्चिइरहन पाउँदैन साथै माँसपेशीले उचित श्वास फेर्ने अवसर पाउँछ र कम्मरका जोर्नीमा चलखेल भई जमोट हुने मौका पाउँदैन । अनि साइटिका जस्तो अति कष्टकर पिडाबाट पनि न्यून दुखाइ हुने व्यायाम जस्तै प्रक्रिया अनुभव हुन्छ । लगातार बसिरहने बानी छोडनैपर्छ, ‘पिँढीसाँढे हुने, चाकलमाडे बसिरहने, शक्ति, छोराबुहारीले दिए, बस्यो खायो’ भन्नु कवै हुन्न, यस्तो सोखले त साइटिका शरीरमाहुन रातो गलैँचा ओच्छ्याएझैँ हो ।

४. ठिक मुद्राः
हरेक काम कारवाही ठिक गरेमात्र ठिक नतिजा निस्कन्छ, नत्र त बेठिक र बेकामको श्रम भइहाल्छ नि । शरीरको सञ्चालन, हिँडडुल, बसाई, सुताई र काम गराई सबै क्रियामा अङ्गहरूलाई आराम पनि पुग्ने तथा धेरै दवाब नपर्ने हुनुपर्छ । कुक्रुक्क परेर बस्ने, कुप्रियर हिँडने, कम्मर अररिएर हिँडने, सवारीसाधनमा बस्दा वा हाँक्दा कुप्रिने, अडेसा लगाउँदा कम्मर धनुष आकारको पार्ने, जहाँ गए पनि बस्न नसकी फिला नभएझैँ ढल्किहाल्ने गर्नाले कम्मरको भागमा रहेका मेरुदण्डका जोर्नीमा सधैँ दबाव परेर असामान्य आकारमा पर्ने र थिचिने हुन्छन् । रहँदाबस्दा एकातिर खिइने र अर्कोतिर आँ भएर, मेरुदण्डमा मगजदेखि पुच्छास्थीसम्म आएको स्नायु धागोमा (स्पाइनल कर्ड) चोट लाग्ने वा थिचिने हुनसक्छ ।

हुन त, वैज्ञानिकरूपले शरीरको प्राकृतिक स्वरुप बिग्रने गरेर राख्नाले वा काम गर्नाले ढाड र कम्मर दुख्ने रोग लाग्छ भन्ने कुनै दसीं-प्रमाण त अझै भेटिएको छैन तर अन्य कारणले दुखाई छ भने पिडा बढाएर हुरुक्क पार्नसक्छ । शरीरको विशेषगरी ढाड र कम्मरको प्राकृतिक आकार दुरुस्त बनाउन भनि ‘कोठामा ठाडो उभिएर टाउकोमा रिकापी वा थालराखी नखासाली हिँड्दैमा’ ठिक खालको शारीरिक मुद्राराखेको भन्न सकिँदैन । बरू कुशलतापूर्वक निम्न तिन प्रकारका कामहरू गर्न ध्यान राख्नुहोस् ।

क) उभिँदा वा बसिरहँदा आफ्नो शरीरको मुद्रा ठिक छ कि छैन भनि हेक्का राख्नोस्, बेठिक ढल्काई र कोल्टेपरी नरहनोस् ।
ख) कुप्रो नपर्न आफ्नो कुम र काँधलाई पछाडि लगेर तलतिर झार्नुहोस् । त्यसोगर्दा पातोलाई छोएको अनुभव होस् ।
ग) यदि कुर्चीमा बसेर एकत्व काम गर्दै हुनुहुन्छ भने बेलाबेला उठेर एकछिन कोठामै घुम्नुहोस् वा बसिबसी माथिको अभ्यास गर्नुहोस् । कम्युटरको हेर्ने सिसालाई आफ्नो अनुहारको सिधा अगाडि पार्नुहोस् तथा हेर्न, पढ्न र टङ्कण गर्न तपाईंले टाउको निहुराउन, ढल्काउन र पछाडि लान नपर्नेगरी राखेको भएमा अप्ठ्यारो समस्या हुँदैन ।

५) धुमपान नगरौँः
अरु गर्नसक्ने स्वास्थका नोक्सानी बाहेक धुमपानले श्वासप्रश्वासको क्रममा फोक्सोमा पुगेको अक्सिजन शरीरका तन्तुहरूमा कतिको सोसिन जान्छ भन्नेकुरा प्रमुख रुपमा देखापर्छ । यस रोगमा मेरुदण्डका चक्केहाडका टुक्राहरूमा अक्सिजन पर्याप्त मात्रामा पुग्न नसक्ने भएको धुमपानका बेफाइदा मध्ये पर्दछ । यसले ति चक्के हाडहरूको खिइएरजाने क्रिया सुरु हुन सक्छ र खिइएका भागले यसकै भित्री भागमा रहेका स्नायु धागोलाई छुने गर्न थाल्छ । स्नायु नसा खिइएको भागबाट देखिने र बाहिरी अरु भागले छोइँदा यदि गोडातिर जाने स्नायुको जोर्नी साइटिका परेछ भने कम्मरदेखि पैतालासम्म पीडा सरीसरी दुख्नसक्छ । त्यसैले साइटिकाका पिडनलाई बढाउन धुमपानले घुमाएर भएपनि अप्रत्यक्ष सहयोग पुर्‍याइरहेको पनि बुझ्न आवश्यक छ ।

६) पर्याप्त निद्राः
उमेर र स्वस्थताको आधारमा तोकिएको अवधि मस्त निदाउनु हरेक मानिसलाई आवश्यक हुन्छ, अनिद्रा सबैको स्वास्थको सत्रु नै हो भन्दा हुन्छ । दिमागले पनि सकृय अवस्थामा जस्तो निदाएको बखत काम गर्दैन, केही स्वचालित र स्वावलम्बी काम बाहेक अरु प्रकृया नगरी आराम गर्छ । त्यस्तै मेरुदण्ड तथा त्यसमा भएको स्नायु धरोले पनि बिउँझेको बेला जस्तो सोचे अनुसार ढाडको ठिक स्थान खोज्न र जिम्बेवारी लिइरहँदैन बरु निदाउँदा तिनीहरू पनि आरामी खोज्छन् । बिउँझँदा त मेरुदण्डको भागले बस्दा ठाडो भइरहन र उभिदा अनी हिँडदा शरीरलाई उभ्याएर शरीरको सबै तौललाई व्यहोरिरहेको हुन्छ । त्यसैले बसिबसी उँघलाग्दा जोकोही टाउको अडिने ठाउँ नपाए बेलाबेला घोप्टीन वा उत्तानो पर्न खोज्छन् । ढाडकै बलमा दैनिक चलखेलका सम्पूर्ण उर्जालाई आफैँमा समाहित गरेर यसले आराम पाउँदा पून फूर्तिलो बनाउन सघाउँछ । यसलाई अनुभूतगरी पाका मान्छे थकानमा पूर्नशक्ति प्राप्तगर्न ‘गलेँ है म त, एकछिन अडेसा लाग्छु, एकछिन पल्टन्छु र ढाड सोझ्याउँछु’ भनि लगातार कामको बिचबिचमा विश्राम गर्नुहुन्छ नि ।

सालाखाला संसारैभरि चलेको भनाइमा वयस्क र पाका उमेरिएका मान्छेले हरेक दिन उपयुक्त रोजेको समयमा सात घण्टा कम्तिमा मस्त निदाउनै पर्छ । गरिआएको कामको प्रकृति र अति आवश्यक्ताले कम सुत्नुपरेको हुनसक्छ तर त्यसको पूर्ताल सकेसम्म चाँडै गरिहाल्नु पर्छ, नभएमा त स्वास्थको समस्या पलाउन सक्छ । तलका केहि सुझावहरूलाई प्रयोगगर्ने गरेमा ढाड स्वस्थरहने सुताई हुनसक्ने भनाई छः

सुत्नको लागि प्रयोग हुने डसना समान समतल मोटाइ भएको हुनुपर्छ र ओच्छ्याउने सतह पनि सम्म हुनुपर्छ । यसो हुँदा निदाउन सुत्दा तपाईंको ढाड बराबर सतहमा एकाम्य सिधा भइरहन्छ । असमान मोटाई भएको डसनाले निदाउँदा ढाड तलमाथि र बाङ्गोटिङ्गो बनाई दिन्छ । रातभरी निदाउञ्जेल शरीर लुलोभई लेपस्सिने बेला डसनाको सतहमा लपक्क मिल्न रेलको लिक जस्तो सोझो र समान धरातलमा हुनुसाटो ट्याक्टरको पाङ्ग्राजस्तो उँचनिच हुनजान्छ । यस्तो एक रात मात्र भए त एकदिनको पिडा होला तर सँधै भएमा ढाडको आकृति बिस्तारै बिग्रँदै गएर पछि ढाडकै अन्य समस्या बढन थाल्छ । यस क्रममा हाड खिइने र स्नायुप्रणालीमा दखलपरी साइटिकाजस्ता असह्य पिडा हुने रोग बल्झिन सक्छ ।

यदि तपाईंको उत्तानो सुत्ने बानी छ भने दुइवटा तकियाका जोडाले साइटिका जस्तो पिडादायी समस्याबाट छुटकारा पाउने सम्भावना हुन्छ । खुट्टा उचालिने उचाईका एक जोडा तकिया पिँडौला मुनि र अर्को जोडा तकिया घुँडामुनी राखेर सुत्ने बानीगर्न थाल्नुहोस् । आवश्यक्ता अनुसार कम्मरमुनी र गर्दनमा पनि उचाइ मिल्नेगरेर थप नरम चकटी राखेर शरीरलाई आराम पुग्नेगरी सुत्न सकिन्छ । सकेसम्म प्राकृतिक अस्थिपञ्जरको स्वरूपजस्तै तनक्कलुलो सुत्नु राम्रो हुन्छ ।

कोल्टो परेर सुत्ने बानी छ भने दुवै गोडा खप्टिने भएर दुइ घुँडाको बिचमा एकअर्कामा दबाव नपार्न नरम खालको फोम राख्नु फाइदा हुन्छ । दुबै घुँडा जोडिएमा थिचिएको भागमा निलडाम परेर रगत जम्नसक्छ र पछि घाउ भएर उकल्चिने हुन्छ । हावा खेल्ने वा हावाले उक्सेजस्तो फोमले घाउहुने सम्भावना हुन दिँदैन, नत्र ओच्छ्यान परेको बिरामीमा ढाडमा आउने घाउजस्तै हुनथाल्छ । कोल्टेर सुत्नेले ढाडको आकार नबिग्रने उचाइको तकिया सिरानमा राख्नु पर्छ यसले गर्दा पछि कुमदुख्ने र छाती रातभरि खुम्चिने डर पनि हुँदैन । तर ढाडको सतह मिलानभन्दा अग्लो तकिया भएमा बिहान उठदा गर्दनको टुक्रे जोर्नी दुखेर अर्को हैरानी थपिन्छ ।

कोहीकोही मानिसहरू घोप्टो परेर पनि सुत्ने बानी भएको पाइन्छ । घोप्टो सुत्नु स्वास्थको हिसावले त्यति राम्रो त होइन, अझ साइटिका छ भने त घोप्टेर नसुत्नु नै बेस हो । तर यसैगरी सुत्ने बानी छोडन नसके र साइटिका भएको छ भने टाउको तिर साह्रै पातलो सिरानी हाल्ने तर जाङ्घको भाग उठनेगरी अरुहरूले प्रयोगगर्ने जस्तो तकिया राख्नेगर्नुृ पर्छ । यसो गरेमा कम्मरमा आएर पछाडी जाने मेरुदण्डको आकार कायम रहन्छ र साइटिका स्नायुलाई अन्यथा आकारमा बाङ्गिन बाध्य पार्दैन साथै उच्चालिन मद्दत गर्छ । यसरी सुत्दा मेरुदण्डको प्राकृतिक एकाम्यपन र कम्मरमुनी तलको उठाई नियमित हुनजान्छ र दुखाई बढन पाउँदैनन् ।

उपरोक्त किसिमका गतिविधिहरूले साइटिका भएका धेरै पाका मान्छेले केहि हप्ताभित्रै सहज हुँदै पिडा कमभएको अनुभवगर्न सक्छन् । साइटिका हुँदैमा डराउनु पर्दैन बरु एकत्वभएर निराकरण र उपचारका पद्दति लागुगरेमा निको नहुने कुनै कारण नै छैन । हो, ‘मेरो बानी यस्तै छ, मलाई के भएको छ मलाई थाह छ, उहिलेको जखम अहिले भोग्दै छु, जे भएपनि कसैले हेर्दैनन्’ भन्दै धिङ्न्या चालले आफैँलाई रुवाउने हो । आफ्नो हेरविचार आफैँ गर्नुपर्छ अरुले त मनगरे मात्रै चुकचुक गर्ने हुन, यो कुरा राम्ररी चित्तैदेखि बुझ्नै पर्छ है !

अन्त्यका कुराः
जीवनमा नसोचेका नभोगेका थुप्रै समस्या उमेरिदै जाँदा आउनु अनौठो होइन । आजसम्म जतिनै ज्ञानको बिस्तार, सुबिधाको पउल र समृद्धिका गफ हाँके पनि सर्वसाधारण तथा पाका मान्छेका पक्षमा धेरै काम भएको छैन । पाका मान्छेको अवस्था, कारण र समस्याको अध्ययन नै धेरै भएको छैन । परोपकारी भनाउँदा धेरै कालसम्म जसपाउन बालबालिक, महिला र सबैकोलागि अस्पताल खोल्छन् तर केहि काल बाँच्न पनि कष्टसाथ बाँचिरहेका पाका मान्छे बिज्ञहरू सहितका अस्पताल खोल्न पनि पछि पर्छन् । आफैँपनि पाको होइन्छ भन्ने सामान्य भविष्यको हेक्का नभएका कति अदुरदृष्टिका स्वाँठ भन्या ? समाज विज्ञानका धेरै पक्षले निष्कृय, असक्त, अक्षम, मात्र होइन ‘जीवनकै उत्तराद्र्धको बेलाको पिँढी’ भन्न सहज ठान्छन् । पाकाले राम्रै होवोस् भनि बोलेमात्र पनि अझ नकारात्मक टिप्पणी गर्दा ‘घाट लम्केको उमेर, एउटा गोडो मसानमा पुगीसक्यो अझ फूरफूर, ब्रह्मनालमा पसारिन बाँकी, पहेँला अक्षेता खाने बेलाका, पिण्ड ढुकेका बुढाबुढी, न जुरुक्क न हुरुक्क’ जस्ता घोचपेच र छिर्के हानेर ‘न बाझ्नु न भाग्नु’ पो पारिदिन्छन ।

यसको मुख्य कारण वर्तमानमा चलिरहेको परचक्रिको बाँधा बनाउने सँस्कारयुक्त शिक्षा प्रणली नै हो । यसले न राम्रो जनपक्षिय सँस्कार सिकाउँछ न देश बिकासको दिशाबोध गराउँँछ । त्यसैले, यसले त उरन्ठेउला, हरेक उपाधिमा उच्चप्राप्ताङ्क देखाउने त हुन्छ तर सामुहिकता, मानविय व्यवहार, सदभाव, समानता, सर्वसाधारणको हित सबै गुणहरू बिलुप्त मनोकाञ्छा रहेका व्यक्तिबादी र द्रव्यपिचास पुस्ता पो जन्माई रहेको छ । फलस्वरुप आफ्नै आदरणीय बाबुआमालाई माया गरेको देखाउन पैसा पठाउनेसम्म स्वाङ गर्लान् बाँकी गर्नैपर्ने अरु त चाहिँदो नचाहिँदो सामाजिकरुपले नाक छोप्न बाबुआमा नै नुनिला घुटका पिएर धाकलाउन प्रयासगरेकै हुन्छन् । ज्यान धान्न नसकेर लौरो टेकेर पनि कुप्रोपर्दै हिडन बाध्य बाआमा, साइटिकाले ग्रस्त पारेर बाटोमै गोडा अररिएर एकातिर घुसमुटिएका आफन्त, ओच्छ्यानबाट उठन हर नचलेर लुगामै गुहु-मुतभएका हिजोको समाजका अग्रणी व्यक्तित्व, के कसैप्रति कसैको जिम्मेवारी छैन ? आजको विश्रृङ्खलित समाज बनाउन उद्यत कुसँस्कारी जमातले जवाफ दिन आँट गर्ला ?

अब पाका उमेरिएका महिला-पुरुष आफै वा मन मिल्ने बिच हरेक समस्याको मतो खोजौ ! रोगव्याध बारेमा जानकारी राखेर विज्ञको सल्लाह मानौँ, अनि खानपान व्यवस्थित गर्न उमेर अनुसार सोचौँ, गरौँ, सामाजिक सम्बन्धमा सार्वजनिक हितको पक्षमा निर्णयको मतो गाँसौँ । समाजमा फैलिँदो कोरोनाभन्दा अरिष्ट रोगहरूमा- व्यक्तिवादी नवधनाढ्य व्यवहार तथा द्रव्य-पैशाचिक स्वभावले डुब्नलागेको समाजलाई सामुहिक हितमा रमेको नेपाल बनाउँ । त्यसपछि हाम्रो देशमा हाम्रा आदरणीय अभिभावक सबै सुविधालेयुक्त समाजमा अझ धेरै बाँचेर चाँडैनै अजम्बरीहरू बाँच्ने देशमा नाम चलेर गनिन केहिबेर लाग्दैन, लाग्छ त भन्या ?
०००
कार्तिक ३०, २०८१ चालिसे डाँडा, ललितपुर

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उमेरिदाको हबिगतमा केही ओखती !

उमेरिदाको हबिगतमा केही ओखती...

डा. मुकेशकुमार चालिसे
उमेरिँदाको अनौठो आन्द्रे रोग !

उमेरिँदाको अनौठो आन्द्रे रोग...

डा. मुकेशकुमार चालिसे
उमेरिदाका दुइ काम- खानपान र व्यायाम !

उमेरिदाका दुइ काम- खानपान...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा धङधङीका कारण !

पाका मान्छेमा धङधङीका कारण...

डा. मुकेशकुमार चालिसे
उमेरिएकालाई अनौठाको लक्षण !

उमेरिएकालाई अनौठाको लक्षण !

डा. मुकेशकुमार चालिसे
उमेरिदाको हबिगतमा केही ओखती !

उमेरिदाको हबिगतमा केही ओखती...

डा. मुकेशकुमार चालिसे
उमेरिँदाको अनौठो आन्द्रे रोग !

उमेरिँदाको अनौठो आन्द्रे रोग...

डा. मुकेशकुमार चालिसे
उमेरिदाका दुइ काम- खानपान र व्यायाम !

उमेरिदाका दुइ काम- खानपान...

डा. मुकेशकुमार चालिसे
आँखाको भाषा

आँखाको भाषा

नन्दलाल आचार्य
पाका मान्छेमा धङधङीका कारण !

पाका मान्छेमा धङधङीका कारण...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x