साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाहरूमा उमेरिदाको द्विध्रुविय विकार !

आफ्नै प्रियजन वा आदरणीय अभिभावकलाई कडा बन्धनमा राख्न को चाहन्छ र ? समयमा नै उपचार गर्नैपर्छ, अन्यथा मनोविज्ञानको परिश्रमयुक्त तरिका अपनाउनु बाध्यता आइलाग्न सक्छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

प्राय सबै उमेरसमुहमा हुने भए पनि उमेरिदै जाँदा पाकाहरूमा देखापर्ने अनौठो मानसिक रोगमध्ये नेपालमा धेरैले कोहीकोही आफन्तहरूमा द्विध्रुविय स्वभावको रोग लागेको देखे सुनेका छन् । यस रोगको उपचार नेपालमा अचेल ठूला अस्पतालमा र विज्ञ चिकित्सकहरूले सफलतापूर्वक गरिरहेको पाइन्छ । यो रोग लागेका मान्छेहरूमा लोक भनाइमा ‘औँशीपूर्णाे लागेको’ भनेझैँ घरी खुसी, घरी दुखी भएको अतिफरक मानसिक स्थिति देखा परिरहेको हुन्छ । एउटै मानिसमा केही अन्तरालमा एकै थरीको कुरामा आनन्द मान्ने र केही समयपछि अति निरास तथा चिन्तित भएको पाउनु स्नायुप्रणालीमा आएको विपरित अवस्थाले नै हो । यस्तो प्रभावले मान्छेमा पिर बढेर उन्माद, अवशादमा पुगेको र पछि एकै कुरामा हक्सिएर पात्तिने, थाम्नै नसकिने गरी खुसी भएर ‘खुस्केको मान्छेझैँ’ व्यवहार गर्ने हुनजान्छ ।

त्यसैले दुइध्रुविय विकार भन्नाले एकै परिस्थितिमा मानसिक कारणले हुने-गरिने चरम विपरित व्यवहार जनाउँदछ, जस्तैः दुखीपन र खुसीपन दुइ विपरित भावनात्मक संवेग हुन् । यस्ता विपरित संवेगगले मान्छेका दैनिक व्यवहार र क्रियाकलापमा प्रभाव पारिरहेको हुन्छ । त्यस्तो व्यवहार गर्ने मान्छेसँगको सम्बन्ध अरु सामान्यहरूसँग फरक भई ‘बेठेगानेसँग के कुरा ? कतिखेर औँसी-पूणर्े लाग्ने हो ?’ भनि भर गर्न छोडेको पाइन्छन् । अनि त्यस्ता मान्छेले भनेको कति पत्त्याउने र कति नपत्त्याएर नगर्ने ठेगान नभएर उसले भनेका कुरा असरल्ल मात्र हुनेगर्छ ।

एउटा पुरानो यस्तै घटनाले उखानै बनेको रहेछ, ‘उठे पनि राँण, बसे पनि राँण’ः एउटा सैनिक प्राज्ञिक योग्यता नभए पनि खुसामदको भरमा हवल्दार भएछ । उसलाई गाउँभरमा कोही त्यो पदमा नपुगेकाले घमण्ड बढेछ र गाउँबाट श्रीमती ल्याई काठमाडौँमा डेरामा राखेछ । शहर भएकाले ‘गाउँमा जस्तो धुस्रीफुस्री हुनुभएन नि हवल्दारकी जोईले’ भन्ने लागेर सोझी श्रीमतीले हल्दार सा’प काममा गएपछि कोरीबाटी गरेर साथै फा दलेर श्रीमान आउने कुरेर बसिछन् । रिटिक्क परेको देखी इज्जत धानेको भनेर श्रीमान बेलुका खुसी होलान् भनेको त, आउनासाथ ‘म नभाको बेला नाठा पल्काउन सिङ्गारिएर बसेकी छँडुल्ली ?’ पो भनि बात लगाएछन् । श्रीमतीले ‘खसमलाई मन परेन छ’ भनि भोलिपल्ट कोरीबाटी नगरी, राती खजमजिएर झाँक्रिएका कपाल नकोरी बसिछन् । बेलुका श्रीमान खुसी होलान् भनेको त ढोकाभित्र छिर्नासाथ, ‘के ताल हो तेरो ? यत्रो हल्दारको बेइज्जती गर्नेभइस्, हेर झाँक्रा फिँजाएर मरेकी’ भनि थप जगल्ट्याएछन् । बिचरा ती सोझि महिलाले के गरुन् ? त्यसैले उखान चल्यो ‘उठेको देखे, किन उठिस् राँण, बसेको देखे किन बसिस् राँण’ । अरुले जे गरे पनि ठिक नहुने र नलाग्ने मानसिकता बनेको लक्षण, यो वास्तवमा दुइमुखे मान्छेजस्तो द्विध्रुविय मानसिक रोगकै असर हो ।

खासखास लक्षणहरूः
बेदा-बेला उस्तै घटना र कारणमा खुसी र दुखी एकै मान्छेलाई हुने अवस्था भनेको स्नायु विकारले उत्पन्न हुने रोगमा दरिन्छ । दुबै परस्पर विरोधी लक्षणहरू अति बिकरालरुपमा देखिन पनि सक्छन् । यस्ता लक्षणहरू एक पछि अर्को वा लगातार नदीको वहावझैँ किनारतिर पानी आउने-जाने भएझैँ, आउने केही समय रहने अनि जाने पनि भइरहेको हुनसक्छ ।

उन्माद (मेनिया):
यो अवस्था भनेको दुइ विपरित मध्ये निराशाजनक बेलाको हो । स्वभावमा चिडचिडाहट वा झर्कोफर्कोको अवस्था बढेर यति विकराल हुन्छ कि पीडित मान्छेको दिमागमा धेरै नकारात्मक उतार-चढावका रिस, बिचार र भावना उम्लेर जथाभावी बोल्ने गर्छन् । आफूले बोलेको आफैँ थाहा नपाउने सुद्दिबुद्धि हराएको मान्छेझैँ गलत र फोहोरी दुर्बाच्य बोल्दै भनभनिरहेको पाइन्छ । सामान्य बोलीचालीमा ‘कुचेष्ठा लागेको, विपरित लागेको रसठियाउनु (तराईतिर) भनिने’ यस्तै रोगलाई हो । यस्तो बेथामा उमेरिएका मानिसहरू कुनै प्रशङ्गमा आफ्नो नकारात्मक उत्तेजनामा भौतिक उत्पात गरिनहाले पनि आक्रोसित भएर त्यो प्रशङ्ग निकाल्ने र लोली मिलाउने अरुलाई झम्टेर बोल्ने हुन सक्छन् । बोल्न पनि निकै जोश आएको बलशाली मान्छेझैँ लम्कीझम्की साथै डरलाग्दो आतहाल्ने हाउभाउ गरेर भनेका कुरा बेठिक भएर पनि ठिक छ भनि एकोहोरो जिद्दी गर्छन् ।

वास्तवमा रोगैको कारणले यस्ता मान्छेमा तर्क, छलफलभन्दा ‘आफ्ना कुरा जित्न पर्छ नत्र बेइज्जत हुन्छ’ भन्ने लघुताभाषको मानसिकताले अस्थाई उर्जा शरीरभित्र उत्पन्न गराइरहेको हुनसक्छ । त्यसैले धाराबाहिक एकै कुरा दोहोर्‍याई तेहोर्‍याई भनिरहने, एक पटक त्यस्तो भएपछि दिनभरीमा धेरै पटक बेप्रशङ्ग पनि निकाल्ने गर्छन् । फेरि त्यस्तै अवस्था आएमा पुरानै सल्टिएकै कुराको निहुँ खोजेर नयाँ कुरामा जोडेर फेरि गनगन र उत्तेजनात्मक अभिव्यक्ति गरिरहने हुन्छन् । यस्ता रोगको कारण छटपटीको प्रतिक विभिन्न गतिविधिको लहर चलाएका हुन्छन् । कुनै बेला अगाडिका मान्छे पनि जिद्दीवाल परेमा दुबैबिच धेरै सशक्त हात हालाहालको स्थिति बन्न सक्छ । त्यस्ता मान्छेले किनमेल गर्न लगाए वा गरे भने आफूलाई चाहिने वा भनेकोभन्दा बढी आपत्तीजनक हिसाबले पैसा भएसम्म किनमेल गर्छन् । आफूसँग पैसाको कमी भएको ठानेमा ‘सन्तान र आफन्तले जति भए पनि दिन्नन्, बरु अङ्श वा जिउनी भए पनि छुट्ट्याइदिए हुन्थ्यो’ भन्न बेर लगाउन्नन् । त्यसभन्दा बढि नै आक्रोसित भएमा ‘मेरो सम्पत्ती पनि भोग गर्न नपाउने भएँ, तिमीहरू सबै मरे सरह भयो मलाई’ भन्न पनि सक्छन् । फेरि त्यो आक्रोस ल्याउने मानसिक उभार सल्याक-सुलुक भएमा सामान्य जस्तै ‘आफूले कहाँ त्यस्तो भनेको छ र ? अरुले बुझ्न गल्ती गरेको’ भन्दै आफ्नो तर्कमा गर्व गर्न पनि सक्छन् । आफूलाई उकुसमुकुस हुन्छ भनेर जाडोमा पातला र छोटा लुगा लगाउने यस्तै रोगका मान्छे हुन् भने त्यस्ता मान्छे गर्मीमा बक्खु लगाएर हिँड्न बेर लगाउन्नन् ।

नकारात्मक मानसिक तनावले ङ्याकेको बेला अरुका ‘सुझाव तथा योजना फोस्रो र काम नलाग्ने’ भन्दै आफ्ना बकम्फुसे हवाई कल्पनाका पार नलाग्ने योजना अरुलाई थोपर्न खोज्छन् । अरुका हरेक पुरा भई सम्पन्न बस्तुमा अनेक खोटमात्र देखाउने तथा रिस व्यक्त गर्छन् र आफ्ना योजना सर्वोत्कृष्ट रहेकोमा गर्व गर्न कोशिस गरिरहन्छन् । यस्ता मान्छे ‘जाडोमा हिमालतिर घुम्न जाने र गर्मीमा तराईतिर जाँदा पो अनौठा अनुभव हुन्छ’ भनि उरञ्ठेउला कुरा गर्छन् । केहि काम गर्दा पनि हड्याङ- हुडुङ्ग गर्दै सबै सम्बन्धित तयारी विश्रृङ्खलित पार्छन् र अल्मलिन्छन् । सामान्य कोठा मिलाउन दियो वा मिलाउन खोजेमा सबै चिजविज असरल्ल वा कुठाउँमा राखेर कोठाको रुपनै बिगार्छन्, ठिक छ भनी मक्ख परेको जनाउँछन् । सवारी साधन हाँक्न लागेमा डराएर अरुलाई दोष लगाई साह्रै मन्द गतीमा वा अरुलाई तर्साउने गरी ठूलो आवाजमा मान्छेलाई किचेर मार्न लागेझैँ जथाभावी हाँक्ने वा हाँकेको राम्रो भनि प्रशंसा गर्छन् । त्यस्ता मानसिकता भएका पीडित रोगी मान्छेहरूमा दृष्टिभ्रम र मतिभ्रम हुनु स्वभाविक हुन्छ र यस्तो लक्षणले मनोचिकित्सा गर्नुपर्ने मानसिक रोगबाट पीडित भएको प्रष्ट हुन्छ ।

अवसाद (मानसिक चिन्ता):
मानसिक चिन्ताले मानिस भित्रभित्रै कुटुकुटु मन चिथोरेको वस्तो चिन्तित, दिनभरी सुन्यमा हराएझैँ र आङ्गमा घाम लागेको पनि थाहा नपाएझैँ अनेक असम्भावित कुरामा पिर बोकिरहेको हुन्छ । सुत्दा निदाउँदा पनि अनौठा घटनाको तरङ्गी सपनाबाट डराएर उठ्ने गर्छन् भने दिनभरी त्यस्तै भ्रमित घटना कल्पेर आफूलाई निरिह ठानेर निन्याउरो र उदास देखिन्छन् । मानसिक चिन्ताग्रसित मानिसले अरु विभिन्न लक्षण भएको अभिव्यक्त गर्ने वा आनिबानी देखाउन सक्छन् । लघुताभासले जेलिएर पीडित भएका त्यस्ता पाका मान्छे कुनै कुरामा उत्साही, आँटिलो र तोकेर भन्नै सक्दैनन् । उनीहरूको कुरा गराईको हरेक पक्षमा डर, त्रास, नसकिने विश्वास र सफल भइएला भन्नेमा अविश्वास झल्किरहेको हुन्छ । क्रमागत काम पनि ‘अव सकिन्न, केही जोड छैन, पहिलेको तुजुक झरिसक्यो’ भनि अपुरो छोड्छन् भने नयाँ सुरु गर्ने काम त सपनामा समेत सोच्न सक्दैनन् ।

अवसादमा रनफनिएका पाका मान्छेहरू ‘आफ्नो हबिगत निख्रेको, काम लाग्ने नरहेको र अब खर्च गराउन सक्ने कमाउन नसक्ने’ भन्ने पिरलोमा ‘बरु ! चाँडै काल आए पनि हुन्थ्यो, खै ! मबाट कति आश गर्न सकिन्छ र ? ओह्रालो लागेको ज्यान’ भन्ने गनगन तथा निराश भावका कुरामात्र गरेको पाइन्छन् । ग्लानिको शिकार बनेका पाका मान्छेका मानसिकता नै शिथिल भएकाले गर्न सकिने काम पनि नगर्ने र सँधै थकाईले गलित भएको तथा शरीरमा तागत नै नबढेको भनिरहन्छन् । अरुले रमाइलो गरेको, हाँसेको वा जमघट गरेकोमा झर्कोमानेको, ठिक नठानेको र उस्तै परे ‘काम न काजका ठन्टरा ! के गिल्लिएर, छिल्लिएर मरेका ! आखिर मरिहालिन्छ, थपक्क घरमा नै बसेर हुने, खर्च गर्न उम्लेका !’ जस्ता प्रतिक्रिया देखाउन पनि सक्छन् । कसैले सित्तैँ सामेल गर्न खोजे पनि अनेक अनमेल कुरा गरेर निम्तालुलाई समेत हतोत्साहित पुर्‍याउने सल्लाह दिन सक्छन् ।

मानसिक चिन्ता गर्ने स्वभावलाई मानसिक रोगमा नै विकसित हुने अवस्थामा सकेसम्म जिम्बेवारले लैजानै हुन्न बरु बेलैमा सतर्क भई उपचार गराउनै पर्छ । ढिलो भएमा पीडितमा अनेक अनौठा र थप बेढङ्गका समस्याहरू देखिन थाल्छन् । त्यस्ता मान्छे विवाह गरेको देखे-सुनेमा धरधरी के के सम्झेर-बुझेर धरधरी रुने र कोही मरेको ठाउँमा अरु रोएको देखीसुनेमा मरीमरी हाँस्ने बेप्रशङ्गको अनमेल व्यवहार देखाउन थाल्छन् । कसैले किन त्यस्तो गरेको भनि सोधेमा केही नभन्ने वा भनिहाले ‘बिहे गर्दैमा के हुन्छ र ? मान्छे जोडेर बेकार, उसको आवश्यक्ता कसरी पुर्‍याउनु ? एकचोटी मर्न परिहाल्छ, अजम्बरी हुने होइन ! मर्नेले सुन्दैन, किन रोएका होलान् भनि हाँसेको’ भन्न सक्छन् । यस्ता मान्छेका निद्रा पनि विभिन्न भ्रमपूणर् सोचाईका कारण बेलामा निदाउन नसक्ने हुन्छ भने निद्रामा समेत विभिन्न सपना वा सोचाईको असरले खलबलिरहेको हुन्छ । मस्त उपयुक्त समयसम्म निद्रा नभएर त्यस्ता मानिसमा अनिद्राको असरले शारीरिक समस्याहरू थपिन जान्छन् । उचित निद्राको अभावमा बेला-कुबेला व्युँझिएर धुमधुम्ती बस्ने र फेरि नचाहिँदा भ्रमपूणर् तरङ्गी कल्पनामा अल्झिन थाल्ने हुन्छन् ।

निद्रा कचमचिनु साथै अरु मानसिक भ्रमका कारण शरीर स्वस्थ नभएकाले भोकको अनुभव नहुने तथा भोजनको महत्वलाई अस्विकारगर्ने स्वभाव बन्दैजान्छ । त्यसैले यस्ता मान्छेहरू कहिले पाएसम्म डरलाग्ने गरी धेरै खाने र कहिले खानेकुरा नखाई भोकै लम्पट कसेर पल्टिरहने हुन्छन् । यस्तालाई खानाको महत्त्व देखाई उठाउन खोजे ‘म मरीसकेँ भन्ठान न, कर नगर’ भनि साहै ज्याद्रोपन देखाउँछन् । यस्तो निराशाको हुण्डरीे मनमा आँधिझैँ चलेको बेला कतिपय रोगी मानिस त मर्नु र बाँच्नुको खासै भिन्नता नदेखी ‘कसरी, कहाँ गएर, के गरेर, सुखपूर्वक, अरुले पत्तै नपाई मर्ने होला ?’ भनि उपाय पनि सोचिरहेका हुन्छन् । कतिपय त आत्महत्त्या गर्न सजिलो पर्ने सामग्री समेत हात लगाउने धन्धा गरेका पनि पाइन्छन् । कोहीकोही कुन ओखतीले मरिन्छ भनि ओखती पसलमा वा हित्तचित्त मिल्नेसँग कुरा चलाउन थालेका हुन्छन् भने आत्महत्त्या भएको घटनाको सोधखोज र सिकाई गर्न खोज्छन् । यस्तो लक्षणहरू देखाउन थालेपछि सम्बन्धित जिम्बेवार सतर्क भई नियमित जानकारी लिएर सघन उपचारमा लगिहाल्नु पर्छ । अन्यथा नसोचेको भवितव्य पनि हुन बेर लग्दैन, अनि पछुताएर के गर्नु ?

एकैमा विपरित किन ?:
यस्ता दुई विपरित स्वभाव एकै मान्छेमा औँसी-पूणर्े लागेझैँ किन हुन्छ होला ? एकथरीको भए पो एउटा कुरा होला र निरोपण र टुङ्ग्याउन सजिलो होला ! दुइथरिका हुँदा कति अन्यौलमा परिन्छ होला ? गज्जबका रोगहरू मान्छेहरूमा हुन्छन बा ! क्या फसाद ! खासमा वङ्शानुगत तथा अन्य कारणले हरेक मानिसमा हुनसक्ने यो रोग पाका मान्छेहरूमा परिस्थिति, भोगाइ र आफूले जानेको सामाजिक अवस्थाभन्दा पृथक अवस्था भोग्नुपरेको कारणले झन बढि देखिन्छ । नेपालका मनोचिकित्सक साथै हार्वार्ड विश्वविद्यालयका विशेषज्ञहरू सबैको व्याख्या मोटामोटी एकै प्रकारका कारणहरू सहित यो रोगबारेमा भनेको पाइन्छ ।

१) जैविकः वङ्शाणुको शक्ति मान्छेका चरित्र र गुणहरू निर्माण गर्ने बलशाली इकाई हो । यसको उँचनिचका कारणले त्यस्ता रोग हुनेका सन्तान-दरसन्तानमा सहजै यो रोग देखापर्न सक्छ । त्यतिमात्र होइन मानसिक रोग लागेका पुर्खाबाट आएका सन्तानमा पनि यो रोग फरक किसिमले पीडित गरेको देखिन्छ । आफ्नै मानसिक कारणले हुनेभन्दा वङ्शानुगत लहरोमा रोगको निरन्तरता हुन बढि संवेदनशील भएको देखिएको छ । त्यसैले विपरित स्वभाव देखापरे पछि प्राय मानिसहरू चित्त बुझाउन उसलाई भन्दा अघि उसको पितापुर्खामा कसैलाई थियो कि भनि केही नलागे खोजी गर्छन् । मस्तिष्कको अग्रभागमा रहेको क्षेत्रले नियमित चाहिँदो काम नगर्दा वा कमीहुँदा यो रोगले पीडित भएका पाकाहरू पनि भेटिन्छन् । बच्चा जन्मनुअघि गर्भमा नै छँदा आमाबाट सेवन गरिएका विभिन्न ओखतीका कारण विभिन्न रासायनिक पदार्थका तत्व र मिश्रण गर्भमा रहेको बच्चाको वरपर सकृय तथा प्रतिक्रिया गर्दा बच्चालाई असामान्य कुप्रभावले पछि उमेरिदै जाँदा, यो रोग लागेको हुनसक्छ ।

२) अन्य परिस्थितिः पुर्खामा नभएको र शुक्राणु वा डिम्बबाट सरेर नआएको भए पनि जन्मदाको सङ्कटपूणर् समस्या, गर्भावस्था तथा जन्मेपछिको मानसिक आघातले पनि यो रोग लाग्न सक्छ । अलिअलि बुझ्न थालेका केटाकेटी अवस्थादेखि नै सङ्कटपूणर्, अशान्त, चिन्तापूणर् तथा अमिल्दो घरायसी परिस्थितिले पनि बढि बुझ्दै जाँदा उमेरिदा पहिले भोगेको सम्झनाले तनाव र मानसिक आघात अनुभूत गर्ने स्वभाव भएमा यो रोग लाग्न सक्छ । पहिले दुखमा हुर्केका अहिलेका पाका मान्छेहरू परिवार सम्पन्न भए पनि खर्चबर्च गर्न अलि कञ्जुस्याइँ नै गर्छन् । परिवारले अचेल मुद्राको हलुकोपनमा खर्च गराइको तरिका र दैनिक खर्च भएको रकमको आँकडा देखेर अत्तालिन थाल्छन् तथा करकर गर्न थाल्छन् । आफ्ना अनुभव परिवारले परिस्थिति अनुकुल नसुनेको र पछि हुरेल-दुरेलले दुख पाउने भए भनि ग्लानी भएको तथा साह्रै चिन्तित भएको सुनाउँछन् ।

त्यस्तो क्रम परिवारमा कायम रहेमा उमेरिएकाहरूमा तनाव निरन्तर भइरहने हुनाले पनि मानसिक द्वैष उत्पन्न भएर परस्पर विपरित द्विध्रुविय प्रकारको बिकार हुनेलाई रोगले गाँज्न सक्छ । त्यस्तै आफ्नो निषेधको आनिबानी रोक्न नसक्ने तथा भावनात्मक हिसाबले एकाएक उत्पन्न हुने उद्वेगलाई नियमनगर्न गाह्रो मान्ने उमेरिएका पाकाहरूलाई पनि यस्तो रोगले चाँडै गाँज्न सक्छ । मनोवैज्ञानिक चिकित्सकहरूले विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको नीति अनुरुपको मापदण्डका आधारमा यस रोगलाई १०औँ श्रेणीको मानेर (डिसिएम-५) उपचार गरेको पाइन्छ । घरायसी र सामाजिक अन्य कारणमा यौनजन्य ताडना तथा हिँसा साथै निष्ठुर दुस्ट्याइँसाथ व्यवहार गरिने पारिवारिक साथै सामाजिक परिस्थितिले पनि यो रोग लाग्ने खतरा हुन्छ ।

उपचारः
यस्तो दुई विपरित मानसिक बिकार उत्पन्न हुने रोगमा रगत, दिसा-पिसाबको प्रयोगशाला परीक्षण, एक्स-रे तथा नसाको जाँच (एमआरआइ), आदि विधि गरेर पत्तो पाउन गाह्रोे हुन्छ, सकिन्न । यसमा अमुक मान्छेको नियमित आनिबानी र व्यवहारको नियमन गरी, स्वभावमा आएको उतार-चढावको ताल तथा नियमित क्रमिकता हेरेर थाहा पाउन सकिन्छ । परिवार सदस्यहरूले तथ्यपरक वणर्न र भावावेशमा भएका गतिविधि जस्ताको त्यस्तै भन्न सकेमा चिकित्सकले पहिचान गर्न सक्ने हुन्छ । नभए त समस्या भएका पाका मान्छेलाई चिकित्सककै निगरानीमा केहिदिन राखेमा मानसिक रोग भएको र विपरित व्यवहारको अनुभूति भएमा द्विध्रुविय मानसिक विकार भएको निरोपण गर्न सक्छन् । यस रोगको उपचारमा प्रमुखरुपले दुई तरिका लागु गरिन्छन् ।

१) ओखतीः भावनात्मक स्थिति, पीडित मान्छेका ताल, सुर, अवस्था खलबलिएको तथा बेलाबेला उल्टो-पाल्टो भएको मनोदशा ठिक ठाउँमा राख्न भावनात्मक तरङ्गलाई स्थिर बनाउने ओखतीहरू नियमित सेवन गर्न लगाइन्छ । बजारमा पाइने लिथियम र सोडियम भल्प्रोएट जस्ता ओखती पर्दछन् । कहिलेकाहीँ रोगीको सघन अवस्थाले, उतारचढावको मात्रा अनुगमन गरेर पीडितको अवस्था मस्तिष्क रोगसङ्ग सम्बन्धित हुँदैजान्छ । त्यस अवस्थामा उन्माद, अति चिन्ता भएर मनोविज्ञान बिग्रेको अवस्थामा पाइए, त्यस्तै दिमागमा आउनुपर्ने रसायन बढि वा घटि भएको कारण निरोपण भएमा मस्तिष्कमा सन्तुलन ल्याउने ओखतीहरू मनोचिकित्सकले सुरु गर्न सक्छन् । ओखतीले स्वभाव र मस्तिष्कमा असर गर्ने भएर चिकित्सकको सल्लाहमा मात्र गरिनु पर्दछ । प्रारम्भिक अवस्थामा चिकित्सकले सिफारिस गरेको एकवर्ष जति सेवन गरे पुग्छ भने अतिग्रस्त अवस्थामा पुगेका बिरामीलाई मात्रा घटाउँदै वा कायम राखेर उच्च रक्तचापको जस्तै बाँकि जीवनभरी सेवन गर्नुपर्ने पनि हुनसक्छ ।

२) मनोचिकित्साः अति पीडित देखिएका बिरामीलाई ओखतीले बिस्तारै प्रभाव पारेर स्वभावमा ठिक दिसातिर परिवर्तन हुन थालेपछि मनोवैज्ञानिक सरसल्लाह र के गर्न हुने, के गर्न नहुने जानकारी दिने परामर्श केन्द्रतिर लगेर रोगीलाई सम्झाउने गर्नुपर्छ । त्यहाँ दैनिक जीवन कसरी बिताउने, आनिबानी कसो गर्दा राम्रो, आफ्ना र आफन्तसँग व्यवहार सपार्ने तरिका, ओखती खान थालेपछि कसो गर्दा चाँडै निको हुन्छ, आदि सिकाइन्छ । चिजबिज सञ्चालन गर्ने तरिका, आफूलाई मन नपर्ने वा मनपर्ने कुरा सुन्दा कसरी प्रतिवाद गर्ने वा खुसी प्रकट गर्ने लगायत बढि नआत्तिने र उत्तेजित भई जथाभावी सोचेर नबोल्न बानी पारिन्छ । आफन्तलाई पनि उनीसँग गरिने र बोलिने शैली तथा तरिकाबारे जानकारी दिइन्छ, यसले रोगको समस्यामा दोहोरो प्रयाशले चाँडै सुमधुर पारिवारिक वातावरण बनाउन असरदार काम गर्नसक्छ ।

अन्त्यमा,
प्रसिद्ध अभिनेत्री क्यारी फिसरले मानिसके जीवनलाई द्विध्रुविय मानसिक विकारसँग दाँज्दै भनेकी छिन्, ‘एउटा सग्लो मान्छेलाई यस्तो विकार आउनु भनेको युद्धग्रस्त अफगानिस्थानमा भ्रमण गर्न तिब्रइच्छा हुनु जस्तै हो (जहाँ बम र गोली देशभित्रैबाट हुइँकिन्छन्)’ ! ओखती समयमै सुरु भएन भने अतिसय विक्षिप्त, अशान्त र तिब्र भ्रमित मानसिकतामा मान्छेले सामान्य मानविय चरित्र पनि गुमाउन सक्छ । हार्वार्ड मेडिकल विश्वविद्यालयको प्रतिवेदन र नेपालका अनुभवी चिकित्सकहरूको एकमतो एउटै छः यस्तो विकारको अवस्था कसरी हुन्छ भन्ने कुरा बुझ्नै पर्छ, अनि अद्यावधिक वैज्ञानिक जानकारीसहित ओखती सेवन र मानसिक सल्लाह-उपचार सँगसँगै लगेमा जीवनमा स्वस्थ हुने आशा पलाउन सक्छ । आफ्नै प्रियजन वा आदरणीय अभिभावकलाई कडा बन्धनमा राख्न को चाहन्छ र ? समयमा नै उपचार गर्नैपर्छ, अन्यथा मनोविज्ञानको परिश्रमयुक्त तरिका अपनाउनु बाध्यता आइलाग्न सक्छ । सहन नसकिने तरिका कसरी लागु गर्नोस् भन्न सकिएला ? बेलैमा सोच्नोस् है ।

नेपालमा बिगत असि वर्षभित्र बेग्लै किसिमका परिवर्तनहरू भएका छन् । अझ यसअघि नसोचिएको अराजकता, व्यक्तिवादी, पूँजिकेन्द्रित आचार-बिचार दुई दशक अघिदेखि परिवर्तनको नाममा बनमारा झारझैँ मौलाएको छ । आधुनिकताको ठस्साले यसअघि पारिवारिक समुहमा हुने स्नेह र आदरयुक्त मनोविज्ञान बिघठन हुनथालेका छन् । सामाजिकरुपले सामुहिक हित र भलाईका कुरा अचेल दुर्लभ भई कवि शिरोमणि लेखनाथका ‘म खाउँ, म लाउँ सोखशयल वा मोज म गरुँ’ वाक्यमात्र जनताका भलाइमा लागेका मै हुँ भन्ने मान्छे र दलहरूका मूलमन्त्र बनेका छन् । यस्तो नकारात्मक असर पार्नसक्ने परिवर्तनले पिल्सिएर आजका पाका मान्छे आफ्नो हुर्काई, भोगाई र अनुभवभन्दा पृथक सम्रचनामा किम्कर्तव्यविमूढ भई द्विध्रुविय विकारले ग्रस्त हुनसक्ने कुस्त सम्भावना छ । प्रतिफल बेठिक आउने द्वन्द्वमा च्यापिएर पीडित भएका नेपाली जनतामा, मरेको मान्छेको लास देखेर चुक्क-चुक्क गर्ने संवेदना पनि हराइसकेको सबैतिर देखिएकै छ ।

आजका पाका मान्छे उमेरिदा अहिलेको समाजका सबैभन्दा अनुभवी र बुझक्की उमेरसमुहका हुन् । रोग मध्येको अलमलमा पार्ने यो एकै मानिसमा विपरित स्वभाव लेराउने मानसिक रोगले पहिचान नहुँदा अति दुख दिन सक्छ । परिवारका सबैले एक मुखले, एकै प्रकारले पीडितसँग व्यवहार गरी, सत्यतथ्य चिकित्सकलाई जानकारी दिएर उपचारमा नियमितता गरे, केही समयपछि पहिलेझैँ स्वस्थ आफन्त पाइनेमा दुईमत छैन् । यत्ति कुरा त अहिलेका टाठाबाठा परिवार सदस्यहरू तथा देश खाई शेष भएका पाकाहरूलाई सम्झाइरहन पर्ला र भन्या ? पर्दैन होला है ।

०००
मङ्सिर २१, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x