डा. मुकेशकुमार चालिसेपाकाहरूमा उमेरिदाको द्विध्रुविय विकार !
आफ्नै प्रियजन वा आदरणीय अभिभावकलाई कडा बन्धनमा राख्न को चाहन्छ र ? समयमा नै उपचार गर्नैपर्छ, अन्यथा मनोविज्ञानको परिश्रमयुक्त तरिका अपनाउनु बाध्यता आइलाग्न सक्छ ।
डा. मुकेश चालिसे :
प्राय सबै उमेरसमुहमा हुने भए पनि उमेरिदै जाँदा पाकाहरूमा देखापर्ने अनौठो मानसिक रोगमध्ये नेपालमा धेरैले कोहीकोही आफन्तहरूमा द्विध्रुविय स्वभावको रोग लागेको देखे सुनेका छन् । यस रोगको उपचार नेपालमा अचेल ठूला अस्पतालमा र विज्ञ चिकित्सकहरूले सफलतापूर्वक गरिरहेको पाइन्छ । यो रोग लागेका मान्छेहरूमा लोक भनाइमा ‘औँशीपूर्णाे लागेको’ भनेझैँ घरी खुसी, घरी दुखी भएको अतिफरक मानसिक स्थिति देखा परिरहेको हुन्छ । एउटै मानिसमा केही अन्तरालमा एकै थरीको कुरामा आनन्द मान्ने र केही समयपछि अति निरास तथा चिन्तित भएको पाउनु स्नायुप्रणालीमा आएको विपरित अवस्थाले नै हो । यस्तो प्रभावले मान्छेमा पिर बढेर उन्माद, अवशादमा पुगेको र पछि एकै कुरामा हक्सिएर पात्तिने, थाम्नै नसकिने गरी खुसी भएर ‘खुस्केको मान्छेझैँ’ व्यवहार गर्ने हुनजान्छ ।
त्यसैले दुइध्रुविय विकार भन्नाले एकै परिस्थितिमा मानसिक कारणले हुने-गरिने चरम विपरित व्यवहार जनाउँदछ, जस्तैः दुखीपन र खुसीपन दुइ विपरित भावनात्मक संवेग हुन् । यस्ता विपरित संवेगगले मान्छेका दैनिक व्यवहार र क्रियाकलापमा प्रभाव पारिरहेको हुन्छ । त्यस्तो व्यवहार गर्ने मान्छेसँगको सम्बन्ध अरु सामान्यहरूसँग फरक भई ‘बेठेगानेसँग के कुरा ? कतिखेर औँसी-पूणर्े लाग्ने हो ?’ भनि भर गर्न छोडेको पाइन्छन् । अनि त्यस्ता मान्छेले भनेको कति पत्त्याउने र कति नपत्त्याएर नगर्ने ठेगान नभएर उसले भनेका कुरा असरल्ल मात्र हुनेगर्छ ।
एउटा पुरानो यस्तै घटनाले उखानै बनेको रहेछ, ‘उठे पनि राँण, बसे पनि राँण’ः एउटा सैनिक प्राज्ञिक योग्यता नभए पनि खुसामदको भरमा हवल्दार भएछ । उसलाई गाउँभरमा कोही त्यो पदमा नपुगेकाले घमण्ड बढेछ र गाउँबाट श्रीमती ल्याई काठमाडौँमा डेरामा राखेछ । शहर भएकाले ‘गाउँमा जस्तो धुस्रीफुस्री हुनुभएन नि हवल्दारकी जोईले’ भन्ने लागेर सोझी श्रीमतीले हल्दार सा’प काममा गएपछि कोरीबाटी गरेर साथै फा दलेर श्रीमान आउने कुरेर बसिछन् । रिटिक्क परेको देखी इज्जत धानेको भनेर श्रीमान बेलुका खुसी होलान् भनेको त, आउनासाथ ‘म नभाको बेला नाठा पल्काउन सिङ्गारिएर बसेकी छँडुल्ली ?’ पो भनि बात लगाएछन् । श्रीमतीले ‘खसमलाई मन परेन छ’ भनि भोलिपल्ट कोरीबाटी नगरी, राती खजमजिएर झाँक्रिएका कपाल नकोरी बसिछन् । बेलुका श्रीमान खुसी होलान् भनेको त ढोकाभित्र छिर्नासाथ, ‘के ताल हो तेरो ? यत्रो हल्दारको बेइज्जती गर्नेभइस्, हेर झाँक्रा फिँजाएर मरेकी’ भनि थप जगल्ट्याएछन् । बिचरा ती सोझि महिलाले के गरुन् ? त्यसैले उखान चल्यो ‘उठेको देखे, किन उठिस् राँण, बसेको देखे किन बसिस् राँण’ । अरुले जे गरे पनि ठिक नहुने र नलाग्ने मानसिकता बनेको लक्षण, यो वास्तवमा दुइमुखे मान्छेजस्तो द्विध्रुविय मानसिक रोगकै असर हो ।
खासखास लक्षणहरूः
बेदा-बेला उस्तै घटना र कारणमा खुसी र दुखी एकै मान्छेलाई हुने अवस्था भनेको स्नायु विकारले उत्पन्न हुने रोगमा दरिन्छ । दुबै परस्पर विरोधी लक्षणहरू अति बिकरालरुपमा देखिन पनि सक्छन् । यस्ता लक्षणहरू एक पछि अर्को वा लगातार नदीको वहावझैँ किनारतिर पानी आउने-जाने भएझैँ, आउने केही समय रहने अनि जाने पनि भइरहेको हुनसक्छ ।
उन्माद (मेनिया):
यो अवस्था भनेको दुइ विपरित मध्ये निराशाजनक बेलाको हो । स्वभावमा चिडचिडाहट वा झर्कोफर्कोको अवस्था बढेर यति विकराल हुन्छ कि पीडित मान्छेको दिमागमा धेरै नकारात्मक उतार-चढावका रिस, बिचार र भावना उम्लेर जथाभावी बोल्ने गर्छन् । आफूले बोलेको आफैँ थाहा नपाउने सुद्दिबुद्धि हराएको मान्छेझैँ गलत र फोहोरी दुर्बाच्य बोल्दै भनभनिरहेको पाइन्छ । सामान्य बोलीचालीमा ‘कुचेष्ठा लागेको, विपरित लागेको रसठियाउनु (तराईतिर) भनिने’ यस्तै रोगलाई हो । यस्तो बेथामा उमेरिएका मानिसहरू कुनै प्रशङ्गमा आफ्नो नकारात्मक उत्तेजनामा भौतिक उत्पात गरिनहाले पनि आक्रोसित भएर त्यो प्रशङ्ग निकाल्ने र लोली मिलाउने अरुलाई झम्टेर बोल्ने हुन सक्छन् । बोल्न पनि निकै जोश आएको बलशाली मान्छेझैँ लम्कीझम्की साथै डरलाग्दो आतहाल्ने हाउभाउ गरेर भनेका कुरा बेठिक भएर पनि ठिक छ भनि एकोहोरो जिद्दी गर्छन् ।
वास्तवमा रोगैको कारणले यस्ता मान्छेमा तर्क, छलफलभन्दा ‘आफ्ना कुरा जित्न पर्छ नत्र बेइज्जत हुन्छ’ भन्ने लघुताभाषको मानसिकताले अस्थाई उर्जा शरीरभित्र उत्पन्न गराइरहेको हुनसक्छ । त्यसैले धाराबाहिक एकै कुरा दोहोर्याई तेहोर्याई भनिरहने, एक पटक त्यस्तो भएपछि दिनभरीमा धेरै पटक बेप्रशङ्ग पनि निकाल्ने गर्छन् । फेरि त्यस्तै अवस्था आएमा पुरानै सल्टिएकै कुराको निहुँ खोजेर नयाँ कुरामा जोडेर फेरि गनगन र उत्तेजनात्मक अभिव्यक्ति गरिरहने हुन्छन् । यस्ता रोगको कारण छटपटीको प्रतिक विभिन्न गतिविधिको लहर चलाएका हुन्छन् । कुनै बेला अगाडिका मान्छे पनि जिद्दीवाल परेमा दुबैबिच धेरै सशक्त हात हालाहालको स्थिति बन्न सक्छ । त्यस्ता मान्छेले किनमेल गर्न लगाए वा गरे भने आफूलाई चाहिने वा भनेकोभन्दा बढी आपत्तीजनक हिसाबले पैसा भएसम्म किनमेल गर्छन् । आफूसँग पैसाको कमी भएको ठानेमा ‘सन्तान र आफन्तले जति भए पनि दिन्नन्, बरु अङ्श वा जिउनी भए पनि छुट्ट्याइदिए हुन्थ्यो’ भन्न बेर लगाउन्नन् । त्यसभन्दा बढि नै आक्रोसित भएमा ‘मेरो सम्पत्ती पनि भोग गर्न नपाउने भएँ, तिमीहरू सबै मरे सरह भयो मलाई’ भन्न पनि सक्छन् । फेरि त्यो आक्रोस ल्याउने मानसिक उभार सल्याक-सुलुक भएमा सामान्य जस्तै ‘आफूले कहाँ त्यस्तो भनेको छ र ? अरुले बुझ्न गल्ती गरेको’ भन्दै आफ्नो तर्कमा गर्व गर्न पनि सक्छन् । आफूलाई उकुसमुकुस हुन्छ भनेर जाडोमा पातला र छोटा लुगा लगाउने यस्तै रोगका मान्छे हुन् भने त्यस्ता मान्छे गर्मीमा बक्खु लगाएर हिँड्न बेर लगाउन्नन् ।
नकारात्मक मानसिक तनावले ङ्याकेको बेला अरुका ‘सुझाव तथा योजना फोस्रो र काम नलाग्ने’ भन्दै आफ्ना बकम्फुसे हवाई कल्पनाका पार नलाग्ने योजना अरुलाई थोपर्न खोज्छन् । अरुका हरेक पुरा भई सम्पन्न बस्तुमा अनेक खोटमात्र देखाउने तथा रिस व्यक्त गर्छन् र आफ्ना योजना सर्वोत्कृष्ट रहेकोमा गर्व गर्न कोशिस गरिरहन्छन् । यस्ता मान्छे ‘जाडोमा हिमालतिर घुम्न जाने र गर्मीमा तराईतिर जाँदा पो अनौठा अनुभव हुन्छ’ भनि उरञ्ठेउला कुरा गर्छन् । केहि काम गर्दा पनि हड्याङ- हुडुङ्ग गर्दै सबै सम्बन्धित तयारी विश्रृङ्खलित पार्छन् र अल्मलिन्छन् । सामान्य कोठा मिलाउन दियो वा मिलाउन खोजेमा सबै चिजविज असरल्ल वा कुठाउँमा राखेर कोठाको रुपनै बिगार्छन्, ठिक छ भनी मक्ख परेको जनाउँछन् । सवारी साधन हाँक्न लागेमा डराएर अरुलाई दोष लगाई साह्रै मन्द गतीमा वा अरुलाई तर्साउने गरी ठूलो आवाजमा मान्छेलाई किचेर मार्न लागेझैँ जथाभावी हाँक्ने वा हाँकेको राम्रो भनि प्रशंसा गर्छन् । त्यस्ता मानसिकता भएका पीडित रोगी मान्छेहरूमा दृष्टिभ्रम र मतिभ्रम हुनु स्वभाविक हुन्छ र यस्तो लक्षणले मनोचिकित्सा गर्नुपर्ने मानसिक रोगबाट पीडित भएको प्रष्ट हुन्छ ।
अवसाद (मानसिक चिन्ता):
मानसिक चिन्ताले मानिस भित्रभित्रै कुटुकुटु मन चिथोरेको वस्तो चिन्तित, दिनभरी सुन्यमा हराएझैँ र आङ्गमा घाम लागेको पनि थाहा नपाएझैँ अनेक असम्भावित कुरामा पिर बोकिरहेको हुन्छ । सुत्दा निदाउँदा पनि अनौठा घटनाको तरङ्गी सपनाबाट डराएर उठ्ने गर्छन् भने दिनभरी त्यस्तै भ्रमित घटना कल्पेर आफूलाई निरिह ठानेर निन्याउरो र उदास देखिन्छन् । मानसिक चिन्ताग्रसित मानिसले अरु विभिन्न लक्षण भएको अभिव्यक्त गर्ने वा आनिबानी देखाउन सक्छन् । लघुताभासले जेलिएर पीडित भएका त्यस्ता पाका मान्छे कुनै कुरामा उत्साही, आँटिलो र तोकेर भन्नै सक्दैनन् । उनीहरूको कुरा गराईको हरेक पक्षमा डर, त्रास, नसकिने विश्वास र सफल भइएला भन्नेमा अविश्वास झल्किरहेको हुन्छ । क्रमागत काम पनि ‘अव सकिन्न, केही जोड छैन, पहिलेको तुजुक झरिसक्यो’ भनि अपुरो छोड्छन् भने नयाँ सुरु गर्ने काम त सपनामा समेत सोच्न सक्दैनन् ।
अवसादमा रनफनिएका पाका मान्छेहरू ‘आफ्नो हबिगत निख्रेको, काम लाग्ने नरहेको र अब खर्च गराउन सक्ने कमाउन नसक्ने’ भन्ने पिरलोमा ‘बरु ! चाँडै काल आए पनि हुन्थ्यो, खै ! मबाट कति आश गर्न सकिन्छ र ? ओह्रालो लागेको ज्यान’ भन्ने गनगन तथा निराश भावका कुरामात्र गरेको पाइन्छन् । ग्लानिको शिकार बनेका पाका मान्छेका मानसिकता नै शिथिल भएकाले गर्न सकिने काम पनि नगर्ने र सँधै थकाईले गलित भएको तथा शरीरमा तागत नै नबढेको भनिरहन्छन् । अरुले रमाइलो गरेको, हाँसेको वा जमघट गरेकोमा झर्कोमानेको, ठिक नठानेको र उस्तै परे ‘काम न काजका ठन्टरा ! के गिल्लिएर, छिल्लिएर मरेका ! आखिर मरिहालिन्छ, थपक्क घरमा नै बसेर हुने, खर्च गर्न उम्लेका !’ जस्ता प्रतिक्रिया देखाउन पनि सक्छन् । कसैले सित्तैँ सामेल गर्न खोजे पनि अनेक अनमेल कुरा गरेर निम्तालुलाई समेत हतोत्साहित पुर्याउने सल्लाह दिन सक्छन् ।
मानसिक चिन्ता गर्ने स्वभावलाई मानसिक रोगमा नै विकसित हुने अवस्थामा सकेसम्म जिम्बेवारले लैजानै हुन्न बरु बेलैमा सतर्क भई उपचार गराउनै पर्छ । ढिलो भएमा पीडितमा अनेक अनौठा र थप बेढङ्गका समस्याहरू देखिन थाल्छन् । त्यस्ता मान्छे विवाह गरेको देखे-सुनेमा धरधरी के के सम्झेर-बुझेर धरधरी रुने र कोही मरेको ठाउँमा अरु रोएको देखीसुनेमा मरीमरी हाँस्ने बेप्रशङ्गको अनमेल व्यवहार देखाउन थाल्छन् । कसैले किन त्यस्तो गरेको भनि सोधेमा केही नभन्ने वा भनिहाले ‘बिहे गर्दैमा के हुन्छ र ? मान्छे जोडेर बेकार, उसको आवश्यक्ता कसरी पुर्याउनु ? एकचोटी मर्न परिहाल्छ, अजम्बरी हुने होइन ! मर्नेले सुन्दैन, किन रोएका होलान् भनि हाँसेको’ भन्न सक्छन् । यस्ता मान्छेका निद्रा पनि विभिन्न भ्रमपूणर् सोचाईका कारण बेलामा निदाउन नसक्ने हुन्छ भने निद्रामा समेत विभिन्न सपना वा सोचाईको असरले खलबलिरहेको हुन्छ । मस्त उपयुक्त समयसम्म निद्रा नभएर त्यस्ता मानिसमा अनिद्राको असरले शारीरिक समस्याहरू थपिन जान्छन् । उचित निद्राको अभावमा बेला-कुबेला व्युँझिएर धुमधुम्ती बस्ने र फेरि नचाहिँदा भ्रमपूणर् तरङ्गी कल्पनामा अल्झिन थाल्ने हुन्छन् ।
निद्रा कचमचिनु साथै अरु मानसिक भ्रमका कारण शरीर स्वस्थ नभएकाले भोकको अनुभव नहुने तथा भोजनको महत्वलाई अस्विकारगर्ने स्वभाव बन्दैजान्छ । त्यसैले यस्ता मान्छेहरू कहिले पाएसम्म डरलाग्ने गरी धेरै खाने र कहिले खानेकुरा नखाई भोकै लम्पट कसेर पल्टिरहने हुन्छन् । यस्तालाई खानाको महत्त्व देखाई उठाउन खोजे ‘म मरीसकेँ भन्ठान न, कर नगर’ भनि साहै ज्याद्रोपन देखाउँछन् । यस्तो निराशाको हुण्डरीे मनमा आँधिझैँ चलेको बेला कतिपय रोगी मानिस त मर्नु र बाँच्नुको खासै भिन्नता नदेखी ‘कसरी, कहाँ गएर, के गरेर, सुखपूर्वक, अरुले पत्तै नपाई मर्ने होला ?’ भनि उपाय पनि सोचिरहेका हुन्छन् । कतिपय त आत्महत्त्या गर्न सजिलो पर्ने सामग्री समेत हात लगाउने धन्धा गरेका पनि पाइन्छन् । कोहीकोही कुन ओखतीले मरिन्छ भनि ओखती पसलमा वा हित्तचित्त मिल्नेसँग कुरा चलाउन थालेका हुन्छन् भने आत्महत्त्या भएको घटनाको सोधखोज र सिकाई गर्न खोज्छन् । यस्तो लक्षणहरू देखाउन थालेपछि सम्बन्धित जिम्बेवार सतर्क भई नियमित जानकारी लिएर सघन उपचारमा लगिहाल्नु पर्छ । अन्यथा नसोचेको भवितव्य पनि हुन बेर लग्दैन, अनि पछुताएर के गर्नु ?
एकैमा विपरित किन ?:
यस्ता दुई विपरित स्वभाव एकै मान्छेमा औँसी-पूणर्े लागेझैँ किन हुन्छ होला ? एकथरीको भए पो एउटा कुरा होला र निरोपण र टुङ्ग्याउन सजिलो होला ! दुइथरिका हुँदा कति अन्यौलमा परिन्छ होला ? गज्जबका रोगहरू मान्छेहरूमा हुन्छन बा ! क्या फसाद ! खासमा वङ्शानुगत तथा अन्य कारणले हरेक मानिसमा हुनसक्ने यो रोग पाका मान्छेहरूमा परिस्थिति, भोगाइ र आफूले जानेको सामाजिक अवस्थाभन्दा पृथक अवस्था भोग्नुपरेको कारणले झन बढि देखिन्छ । नेपालका मनोचिकित्सक साथै हार्वार्ड विश्वविद्यालयका विशेषज्ञहरू सबैको व्याख्या मोटामोटी एकै प्रकारका कारणहरू सहित यो रोगबारेमा भनेको पाइन्छ ।
१) जैविकः वङ्शाणुको शक्ति मान्छेका चरित्र र गुणहरू निर्माण गर्ने बलशाली इकाई हो । यसको उँचनिचका कारणले त्यस्ता रोग हुनेका सन्तान-दरसन्तानमा सहजै यो रोग देखापर्न सक्छ । त्यतिमात्र होइन मानसिक रोग लागेका पुर्खाबाट आएका सन्तानमा पनि यो रोग फरक किसिमले पीडित गरेको देखिन्छ । आफ्नै मानसिक कारणले हुनेभन्दा वङ्शानुगत लहरोमा रोगको निरन्तरता हुन बढि संवेदनशील भएको देखिएको छ । त्यसैले विपरित स्वभाव देखापरे पछि प्राय मानिसहरू चित्त बुझाउन उसलाई भन्दा अघि उसको पितापुर्खामा कसैलाई थियो कि भनि केही नलागे खोजी गर्छन् । मस्तिष्कको अग्रभागमा रहेको क्षेत्रले नियमित चाहिँदो काम नगर्दा वा कमीहुँदा यो रोगले पीडित भएका पाकाहरू पनि भेटिन्छन् । बच्चा जन्मनुअघि गर्भमा नै छँदा आमाबाट सेवन गरिएका विभिन्न ओखतीका कारण विभिन्न रासायनिक पदार्थका तत्व र मिश्रण गर्भमा रहेको बच्चाको वरपर सकृय तथा प्रतिक्रिया गर्दा बच्चालाई असामान्य कुप्रभावले पछि उमेरिदै जाँदा, यो रोग लागेको हुनसक्छ ।
२) अन्य परिस्थितिः पुर्खामा नभएको र शुक्राणु वा डिम्बबाट सरेर नआएको भए पनि जन्मदाको सङ्कटपूणर् समस्या, गर्भावस्था तथा जन्मेपछिको मानसिक आघातले पनि यो रोग लाग्न सक्छ । अलिअलि बुझ्न थालेका केटाकेटी अवस्थादेखि नै सङ्कटपूणर्, अशान्त, चिन्तापूणर् तथा अमिल्दो घरायसी परिस्थितिले पनि बढि बुझ्दै जाँदा उमेरिदा पहिले भोगेको सम्झनाले तनाव र मानसिक आघात अनुभूत गर्ने स्वभाव भएमा यो रोग लाग्न सक्छ । पहिले दुखमा हुर्केका अहिलेका पाका मान्छेहरू परिवार सम्पन्न भए पनि खर्चबर्च गर्न अलि कञ्जुस्याइँ नै गर्छन् । परिवारले अचेल मुद्राको हलुकोपनमा खर्च गराइको तरिका र दैनिक खर्च भएको रकमको आँकडा देखेर अत्तालिन थाल्छन् तथा करकर गर्न थाल्छन् । आफ्ना अनुभव परिवारले परिस्थिति अनुकुल नसुनेको र पछि हुरेल-दुरेलले दुख पाउने भए भनि ग्लानी भएको तथा साह्रै चिन्तित भएको सुनाउँछन् ।
त्यस्तो क्रम परिवारमा कायम रहेमा उमेरिएकाहरूमा तनाव निरन्तर भइरहने हुनाले पनि मानसिक द्वैष उत्पन्न भएर परस्पर विपरित द्विध्रुविय प्रकारको बिकार हुनेलाई रोगले गाँज्न सक्छ । त्यस्तै आफ्नो निषेधको आनिबानी रोक्न नसक्ने तथा भावनात्मक हिसाबले एकाएक उत्पन्न हुने उद्वेगलाई नियमनगर्न गाह्रो मान्ने उमेरिएका पाकाहरूलाई पनि यस्तो रोगले चाँडै गाँज्न सक्छ । मनोवैज्ञानिक चिकित्सकहरूले विश्व स्वास्थ्य सङ्गठनले औँल्याएको नीति अनुरुपको मापदण्डका आधारमा यस रोगलाई १०औँ श्रेणीको मानेर (डिसिएम-५) उपचार गरेको पाइन्छ । घरायसी र सामाजिक अन्य कारणमा यौनजन्य ताडना तथा हिँसा साथै निष्ठुर दुस्ट्याइँसाथ व्यवहार गरिने पारिवारिक साथै सामाजिक परिस्थितिले पनि यो रोग लाग्ने खतरा हुन्छ ।
उपचारः
यस्तो दुई विपरित मानसिक बिकार उत्पन्न हुने रोगमा रगत, दिसा-पिसाबको प्रयोगशाला परीक्षण, एक्स-रे तथा नसाको जाँच (एमआरआइ), आदि विधि गरेर पत्तो पाउन गाह्रोे हुन्छ, सकिन्न । यसमा अमुक मान्छेको नियमित आनिबानी र व्यवहारको नियमन गरी, स्वभावमा आएको उतार-चढावको ताल तथा नियमित क्रमिकता हेरेर थाहा पाउन सकिन्छ । परिवार सदस्यहरूले तथ्यपरक वणर्न र भावावेशमा भएका गतिविधि जस्ताको त्यस्तै भन्न सकेमा चिकित्सकले पहिचान गर्न सक्ने हुन्छ । नभए त समस्या भएका पाका मान्छेलाई चिकित्सककै निगरानीमा केहिदिन राखेमा मानसिक रोग भएको र विपरित व्यवहारको अनुभूति भएमा द्विध्रुविय मानसिक विकार भएको निरोपण गर्न सक्छन् । यस रोगको उपचारमा प्रमुखरुपले दुई तरिका लागु गरिन्छन् ।
१) ओखतीः भावनात्मक स्थिति, पीडित मान्छेका ताल, सुर, अवस्था खलबलिएको तथा बेलाबेला उल्टो-पाल्टो भएको मनोदशा ठिक ठाउँमा राख्न भावनात्मक तरङ्गलाई स्थिर बनाउने ओखतीहरू नियमित सेवन गर्न लगाइन्छ । बजारमा पाइने लिथियम र सोडियम भल्प्रोएट जस्ता ओखती पर्दछन् । कहिलेकाहीँ रोगीको सघन अवस्थाले, उतारचढावको मात्रा अनुगमन गरेर पीडितको अवस्था मस्तिष्क रोगसङ्ग सम्बन्धित हुँदैजान्छ । त्यस अवस्थामा उन्माद, अति चिन्ता भएर मनोविज्ञान बिग्रेको अवस्थामा पाइए, त्यस्तै दिमागमा आउनुपर्ने रसायन बढि वा घटि भएको कारण निरोपण भएमा मस्तिष्कमा सन्तुलन ल्याउने ओखतीहरू मनोचिकित्सकले सुरु गर्न सक्छन् । ओखतीले स्वभाव र मस्तिष्कमा असर गर्ने भएर चिकित्सकको सल्लाहमा मात्र गरिनु पर्दछ । प्रारम्भिक अवस्थामा चिकित्सकले सिफारिस गरेको एकवर्ष जति सेवन गरे पुग्छ भने अतिग्रस्त अवस्थामा पुगेका बिरामीलाई मात्रा घटाउँदै वा कायम राखेर उच्च रक्तचापको जस्तै बाँकि जीवनभरी सेवन गर्नुपर्ने पनि हुनसक्छ ।
२) मनोचिकित्साः अति पीडित देखिएका बिरामीलाई ओखतीले बिस्तारै प्रभाव पारेर स्वभावमा ठिक दिसातिर परिवर्तन हुन थालेपछि मनोवैज्ञानिक सरसल्लाह र के गर्न हुने, के गर्न नहुने जानकारी दिने परामर्श केन्द्रतिर लगेर रोगीलाई सम्झाउने गर्नुपर्छ । त्यहाँ दैनिक जीवन कसरी बिताउने, आनिबानी कसो गर्दा राम्रो, आफ्ना र आफन्तसँग व्यवहार सपार्ने तरिका, ओखती खान थालेपछि कसो गर्दा चाँडै निको हुन्छ, आदि सिकाइन्छ । चिजबिज सञ्चालन गर्ने तरिका, आफूलाई मन नपर्ने वा मनपर्ने कुरा सुन्दा कसरी प्रतिवाद गर्ने वा खुसी प्रकट गर्ने लगायत बढि नआत्तिने र उत्तेजित भई जथाभावी सोचेर नबोल्न बानी पारिन्छ । आफन्तलाई पनि उनीसँग गरिने र बोलिने शैली तथा तरिकाबारे जानकारी दिइन्छ, यसले रोगको समस्यामा दोहोरो प्रयाशले चाँडै सुमधुर पारिवारिक वातावरण बनाउन असरदार काम गर्नसक्छ ।
अन्त्यमा,
प्रसिद्ध अभिनेत्री क्यारी फिसरले मानिसके जीवनलाई द्विध्रुविय मानसिक विकारसँग दाँज्दै भनेकी छिन्, ‘एउटा सग्लो मान्छेलाई यस्तो विकार आउनु भनेको युद्धग्रस्त अफगानिस्थानमा भ्रमण गर्न तिब्रइच्छा हुनु जस्तै हो (जहाँ बम र गोली देशभित्रैबाट हुइँकिन्छन्)’ ! ओखती समयमै सुरु भएन भने अतिसय विक्षिप्त, अशान्त र तिब्र भ्रमित मानसिकतामा मान्छेले सामान्य मानविय चरित्र पनि गुमाउन सक्छ । हार्वार्ड मेडिकल विश्वविद्यालयको प्रतिवेदन र नेपालका अनुभवी चिकित्सकहरूको एकमतो एउटै छः यस्तो विकारको अवस्था कसरी हुन्छ भन्ने कुरा बुझ्नै पर्छ, अनि अद्यावधिक वैज्ञानिक जानकारीसहित ओखती सेवन र मानसिक सल्लाह-उपचार सँगसँगै लगेमा जीवनमा स्वस्थ हुने आशा पलाउन सक्छ । आफ्नै प्रियजन वा आदरणीय अभिभावकलाई कडा बन्धनमा राख्न को चाहन्छ र ? समयमा नै उपचार गर्नैपर्छ, अन्यथा मनोविज्ञानको परिश्रमयुक्त तरिका अपनाउनु बाध्यता आइलाग्न सक्छ । सहन नसकिने तरिका कसरी लागु गर्नोस् भन्न सकिएला ? बेलैमा सोच्नोस् है ।
नेपालमा बिगत असि वर्षभित्र बेग्लै किसिमका परिवर्तनहरू भएका छन् । अझ यसअघि नसोचिएको अराजकता, व्यक्तिवादी, पूँजिकेन्द्रित आचार-बिचार दुई दशक अघिदेखि परिवर्तनको नाममा बनमारा झारझैँ मौलाएको छ । आधुनिकताको ठस्साले यसअघि पारिवारिक समुहमा हुने स्नेह र आदरयुक्त मनोविज्ञान बिघठन हुनथालेका छन् । सामाजिकरुपले सामुहिक हित र भलाईका कुरा अचेल दुर्लभ भई कवि शिरोमणि लेखनाथका ‘म खाउँ, म लाउँ सोखशयल वा मोज म गरुँ’ वाक्यमात्र जनताका भलाइमा लागेका मै हुँ भन्ने मान्छे र दलहरूका मूलमन्त्र बनेका छन् । यस्तो नकारात्मक असर पार्नसक्ने परिवर्तनले पिल्सिएर आजका पाका मान्छे आफ्नो हुर्काई, भोगाई र अनुभवभन्दा पृथक सम्रचनामा किम्कर्तव्यविमूढ भई द्विध्रुविय विकारले ग्रस्त हुनसक्ने कुस्त सम्भावना छ । प्रतिफल बेठिक आउने द्वन्द्वमा च्यापिएर पीडित भएका नेपाली जनतामा, मरेको मान्छेको लास देखेर चुक्क-चुक्क गर्ने संवेदना पनि हराइसकेको सबैतिर देखिएकै छ ।
आजका पाका मान्छे उमेरिदा अहिलेको समाजका सबैभन्दा अनुभवी र बुझक्की उमेरसमुहका हुन् । रोग मध्येको अलमलमा पार्ने यो एकै मानिसमा विपरित स्वभाव लेराउने मानसिक रोगले पहिचान नहुँदा अति दुख दिन सक्छ । परिवारका सबैले एक मुखले, एकै प्रकारले पीडितसँग व्यवहार गरी, सत्यतथ्य चिकित्सकलाई जानकारी दिएर उपचारमा नियमितता गरे, केही समयपछि पहिलेझैँ स्वस्थ आफन्त पाइनेमा दुईमत छैन् । यत्ति कुरा त अहिलेका टाठाबाठा परिवार सदस्यहरू तथा देश खाई शेष भएका पाकाहरूलाई सम्झाइरहन पर्ला र भन्या ? पर्दैन होला है ।
०००
मङ्सिर २१, २०८१
चालिसे डाँडा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest



































