डा. मुकेशकुमार चालिसेउमेरिदा नातागतको पिर र सतर्कता !
हाम्रा अगुवा पाकाहरू समयसापेक्ष अनुभवको गुणले बेष्ठित भई समाज बदल्न त अग्रसर हुन्छन् भने आफ्नो स्वास्थरक्षा त एकै निमेषमा अरुलाई समेत सिकाउने हिम्मत राखेका अझै छन् ।
डा. मुकेश चालिसे :
पाका मान्छेहरूमा उमेरिदै जाँदा विभिन्न शारीरिक रोगव्याध तथा जतिखेर पनि डर, त्रास र चाहिँदो नचाहिँदो चिन्ताले मानसिक अश्वस्थता हुन्छ । आफ्नै अवस्थामा मगनमस्त चित्त बुझाउने वा जे छ त्यसैमा सतुष्ठ रहने स्वभावभएका परिवार भए पाका मान्छेहरू त्यति चिन्तित हुँदैनन । त्यस्ता घरका उमेरिएकाहरू जुनसुकै समस्या आइपरेमा हाँसीहाँसी हल गर्न, सकेको राम्ररी पुरा गर्न लागि पर्छन् र परिवारले पनि सहयोग पुर्याउन खोज्छन् । नसक्ने र बुताभन्दा बाहिरको भए ‘हामीले सक्दैनौ अब भित्री आँटले जित्नुपर्छ’ भनि सकेको खानपान तथा बारनागरेर बाँचुञ्जेल निर्धक्क रहन्छन् । त्यसैले अलिअलि सक्ने मध्यम आर्थिक अवस्था भएका परिवार समुहमाथिका धेरै उमेरिएका पाका माछेहरूले सामान्य काममा नातागत भएको, कामगर्न नसकेको भनि निराश हुन्छन् । सुनिदिने भेटेमा जस्लाई पनि ‘खै, ओरालो लागेको ज्यान, उठबस नै गर्दा पनि नातागत भएर रिङ्गटा पो लाग्छ, त्यसै भाउन्न भएर आउँछ, बाँचिन्न कि क्या हो ?’ भनेर पिरलो गाउँन थाल्छन् । आफूले बाहिरी खर्च गर्न नसक्दा केही अरु उपायहरूबाट हुनसक्ने खतराबाट बच्न तथा दैनिकीमा सुधार गरी प्राकृतिक तवरले नातागत रोक्न सकिन्छ भन्ने ठम्याई अमेरिकीहरूको एक विशेष प्रतिवेदनले औँल्याएको छ ।
धेरैजसो मानिसहरू सामान्यतया आफूमा शारीरिक तागत भएको हुनुपर्ने भन्दै के कसो गरेमा वा खाएमा बलियो होइन्छ भन्ने चिन्तामा नै दगुरेका देखिन्छन् । हामीले उमेरिएकालाई कुनै परिश्रम पर्ने काम गर्न सक्नुहुन्छ कि भनेर सोधेमा प्राय जवाफमा ‘खै सकिएला र ? म त उमेर ढल्केको मान्छे, पहिलाजस्तो बल होला र ?’ भन्ने नै गरेको पाइन्छ । ज्येष्ठ नागरिकको निर्धारित उमेर पुगेपछि धेरै मानिसको मनोविज्ञान नै कमजोर, अशक्त र अरुको दयामा बाँच्ने जीवको रुपमा लिइएको पाइन्छ । शारीरिक कमजोरीभन्दा पनि उमेरिदा मानसिक लघुताभासमा बढि अल्झँदै जाने उमेरसमुहको अवस्था चित्रित गर्न थाल्छन्, यो बिचार आफैँमा गलत, तर्कहिन तथा निर्बल गराउने आनिबानी हो । सक्नेभन्दा बढि घुँडा धस्नु, पेलिन, जोतिन खोज्नु वा फूर्ति देखाउनु कुनै उमेरसमुहका लागि पनि उपयुक्त होइन । बुझिराख्नु राम्रो हुन्छः यस्तो हुर्रिन खोज्ने बानीले तत्काल नभए पनि दूरगामी शारीरिक मानसिक आघात पर्नसक्छ । त्यसैले व्यवहारिक र गम्भीर चिन्तनपछि मात्र कुनै पनि कामकुराको जिम्मा लिने स्वभाव कायम राख्न बेलैदेखि सिक्दै जानुपर्छ भने उमेरिदा त झन कुशलतापूर्वक होसियारी हुनैपर्छ ।
अमेरिकामा हार्वार्डका विज्ञहरूद्वारा गरिएको एक द्रुत सर्वेक्षणमा १४% मानिस कुनै समस्या समाधान गर्नुपरे ‘यसका लागि आफूसँग ह्याउ नै नभएको’ भनि अशक्तता सुनाउन पछि पर्दैनन् । त्यतै गरिएको अनुसन्धानले निचोड निकालेको छ, गर्न सकिन्छ तर बुझौँ मानसिक लघुताभासले उमेरिएका मानिसमा मनोवैज्ञानिक असरले यस्तो अनुभूत हुन बाध्य पारेको हुन्छ । त्यस्ता कमजोर भावना त्याग्न तपशिलका उपायहरू दैनिकीको तालिका भित्र कायम गरेमा प्राकृतिक तवरले शारीरिक उर्जा बढाउन सकिन्छ र हरेक काममा उत्साहित भएर फत्त्येगराउने आँट बढाउन सकिन्छ, भन्ने छ ।
१) चिन्ता नियन्त्रणः
पहिले काम–काज र उन्नति–प्रगतिको दगुर्याइमा सबैकुरा बिर्सिएर एकोहोरो लाग्दा सिमित कामको बाहेक अरुतिर ध्यान कम जानेभएकाले चिन्ताको हद कम हुन्छ । त्यतिखेर कल्पनाको तह फरक हुन्छ र सोम शर्माको बाबुलेझैँ फजुलको चिन्तामा मन गएको हुँदैन तथा आफैँप्रति लघुताभास अपेक्षा नै गरिन्न । उमेरिदा बिगतमा आफूले गरेका राम्रा नराम्रा तथा उपलब्धिमुलक र बेफ्वाँकको लागि समय बर्बाद गरेको छर्लङ्ग हुनथाल्छ । बिगतमा गरेका अनुत्पादक काम र समयको बर्बादीबाट शिक्षा लिन सकिन्छ साथै सुन्न इच्छा गरेकालाई अर्तिको रुपमा भन्न सकिन्छ । तर अहिले पछितोको पीडामा अल्झनु भनेको फेरि रहेपरेको आफ्नो पाको उमेरमा आफैँलाई तोलातोला गर्दै कमजोर र असहायको खाडलमा घच्याड्नु जस्तो हुन आउँछ ।
चिन्ता र उन्मादको गोलचक्करमा अल्झिनु भनेको आफ्नै भावनात्मक उत्तेजना र विशादमा डुब्नु हो । यस्तो प्रकृयाले शरीरमा सञ्चीत उर्जालाई ताररहित सञ्चारको यन्त्रमा (मोबाइल) लगातार कार्यक्रम हेरेर ब्याटरी सिद्ध्याउनु जस्तै हो । तपाइँ हामीले देखेकै छौँ धेरै रिसाएका, बोलेका र झगडाले आक्रोसित मानिस केहि समय पश्चात लगलग काम्ने कमजोरी अनुभूत गर्छन् । धेरैबेर भट्ट्याउने मान्छे थाक्छ, स्वर भासिन्छ र केहि पछि त आवाज पनि ननिक्लने अवस्थामा पुग्छ, केही नपाए पानी भए पनि धेरै पिउन खोज्छ । किन होला ? उत्तेजनकासाथ गरिएको कामले चाँडै आन्तरिक शक्ति सिद्ध्याउने भएर हो । शरीरको उर्जा सक्ने काम नगरौँ, यसले आफैँलाई शारीरिक कमजोरीमा त पुर्याउँछ अनि थप भावनात्मक कमजोरीको बाढीमा बगाएर मानसिक दवावमा चिन्ताको सागरमा रुमल्लिन थालिन्छ । यस्तो अवस्थामा पुगेर मानसिक रोगी बन्ने होइन बरु समउमेरका मित्रहरूसङ्ग भेटघाट बढाउने, सकारात्मक बिचारका नातेदार बिच आइजाई गर्ने, अनुभव आदानप्रदान गरी रमाउने गर्नुपर्छ । रोगको रुपमा मनमा कुरा खेल्ने, चिन्ता लागिरहने, अति डराउन थाल्नेभई घरमा नै लुकिरहन मनलाग्ने भएमा उचित बिज्ञको सल्लाहमा उपचार गर्ने, ओखती खाने र मन स्थिर राख्न ध्यानयोग जस्ता अभ्यास गरे पनि हुन्छ । चिन्ता र डाहले बाँकी जीवन आफू र अरुलाई दुखमा पार्नु सट्टा ‘जति बाँचिन्छ, खुसीसाथ बाँँचिन्छ, सकेको काम गरी बाँँचिन्छ’ भन्ने सदीक्षाराखी हँसमुख रहने प्रयत्नमा पो लाग्नुपर्छ । जसरी सकिन्छ अनावश्यक मन नहुँडली र उर्जा नाश नगरी फजुलका चिन्तामा नलागी स्वस्थ जीवन बिताउनु पर्छ ।
२) जिम्बेवारी घटाउनेः
हरेक उमेरिने पाका मान्छे घरभरी बलियाबाङ्गा, फूर्तिला सन्तान–दरसन्तान भइसक्दा पनि घरका र बाहिरका सामुहिक हितका हरेक कामको जिम्बेवारी आफैँलीई ह्याकुलो घोट्न खोज्छन् । वास्तवमा अर्हाएको एक लङ काम गर्नसक्ने भएकालाई कामको जिम्बा नदिई आफैँ अघिसर्नु घरका पाकाको अकर्मण्यता हो । नयाँ पुस्ताले कहिले सिक्ने त ? पाकाले आफ्नै निर्देशनमा आफन्तलाई अनुभवका आधारमा काम नसिकाए उनिहरू अरुका अगाडि शिपबिहिन भएको राम्रो हो र ? त्यस्ता पुस्ता समाज र परिवारलाई उत्पादकत्व नभएका बोझ होइनन् र ? उमेरिदा पनि हरेक काममा घरपरिवारलाई मौका नदिई आफैँ जोतिन थाल्नु कार्यालयका हाकिमले दर्ताचलानीदेखि समस्यामा छिनोफानो गर्ने अधिकार राखेजस्तै भएन र ?
आवश्यक्ता अनुसार र नितान्त आफैँले गर्नैपर्ने कामबाहेक अरु सामुहिक काम सबै नयाँ पुस्तालाई सुम्पीनु पाका मान्छेको कर्तव्य हो । उमेरकै कारणले पनि सबै काम आफैँ ढाक्ने स्वभाव र तरिका चाँडै शारीरिक–मानसिक समस्या बेसाउने चरित्र हो । यसले दोहोरो घाटाको नकाम गर्छ, एकातिर नयाँले सिक्न पाउन्नन् अर्कोतिर उमेरिएकाहरू चाँडै रोगी भएर जस्लाई माया गरेको हो, उस्कै थाप्लामा चाँडै बोझ बन्नु पनि हो । भोली साञ्च्चै बोझ बनियो भने तिनै माया गरिरहेकाले कुरा काटने र अन्य ठाउँमा पञ्छाउने व्यवस्था गरे तपाइँलाई कस्तो लाग्ला ? बेलैमा सामाजिक बन्ने, धेरै काम गर्ने ढङ्ग र तरिका सिक्ने अवसर दिई नयाँ पुस्तालाई सुयोग्य सन्तान बनाउन प्रयाश गरौँ ! यस्तो भएमा हरेक साँझ घरपरिवार जुटदा पाको हाड लखतरान भएको अनुहार देखेर अरुको मन खल्लो हुन पाउँदैन् भने उहाँहरू पनि सकेको सकृय भई सुखमय समय बिताउने मौका पाउनु हुन्छ ।
पाका मान्छेले शारीरिक हिसाबले सक्ने काम मात्र गर्नुपर्छ, अति थाकिने कुनै पनि कामको सुरुवात गर्नुहुन्न । पेशागत काममा पनि मेरोमात्र शिप छ भनेर एकोहोरो घोट्टिनु हुन्न भने सामाजिक भोजभतेर तथा नाताकुटुम्बका जमघट हुने कार्यहरूमा एक– एक गरेर परिवार सदस्यलाई भागलिन लगाई चिनजान परिचय गराइदिनु पर्छ । त्यसरी विस्तारै उमेरिएकाले जिम्बेवारी हस्तान्तरण गर्दै जानाले उमेरिएका मान्छेले फुक्का हुँदै उत्तरार्धमा धामा कम भएर आयु लम्ब्याउन मद्दत पुग्न सक्छ । कामको बोझ कम भएर उमेरिदा जिम्बेवारीबिहिन हुने होइन बरु आफैँले गर्नैपर्ने कामको दायरा कम गराउने मात्र हो, अरुलाई पनि काम गर्ने र सघाउने वातावरण बनाउन खोजेको हो । अर्थार्त अझै गरिने पेशागत, घरायसी र सामाजिक कामको प्राथमिकता परिवारमा उमेर तथा बर्कत अनुसार बाँडफाँड गरिनु हो । आँटेको काममा थप जनशक्ति के कस्तो चाहिन्छ त्यस्को व्यवस्थामा पाकाले गरेर सबैको सहमतीमा आइपरेको काम फत्त्ये गराउनु पर्छ । यसरी बैज्ञानिक श्रम बिभाजनले कसैलाई पनि सामुहिक काममा उत्साह नहराई खुसीसाथ सकृय हुन मन लाग्नेछ र पाकालाई कामको अत्यासले नातागत अनुभव हुनेछैन ।
३) व्यायाम गर्नेः
पारिवारिक अतिमायाले र पैसा कमाउने लोभले उमेरिदा शारीरिक अवस्थाको ख्याल नगरी घोटिने र चाहिने जैविक तन्दुरुस्ती कायमबारे वास्ता नगर्ने पाकाहरू पनि हुन्छन् । मानविय उत्तम जीवनको मूल्य अर्थोक नै मान्नेका कुरा के गर्नु ? हो, बुझेका शचेत उमेरिएका मान्छेले आराममात्र गर्ने, ‘परिवारको मायालाई सुतिसुती खाने अवशर’ ठान्न थाले भने शारीरिक–मानसिक व्यवधानमा चाँडै परिन्छ । त्यसैले शारीरिक श्रमगर्नै नपर्ने वा गर्न नसकिने अवस्थामा पनि उमेरिएकाहरूले स्वास्थ ठिक राख्न र आन्तरिक प्रणालीलाई सन्तुलनमा कायम राख्न व्यायामलाई दैनिक अत्त्यावश्यक कर्तव्यको रुपमा ग्रहण गर्नै पर्दछ ।
व्यायामका फाइदामा पहिलो कुरा त थकाइभएर एक झमट मस्तसँग निद्रा लाग्ने हुन्छ । बिहान–बेलुकाको व्यायामले शरीरका बिभिन्न कोशलाई सकृय गराउँनेमात्र होइन आन्तरिक उर्जा उत्पादनगर्न लगाउँछ । व्यायामले स्वास–प्रस्वासबाट भित्र लिइएको हावाको प्राणवायुलाई बिभिन्न प्रणालीमा सञ्चार गराउन र कोशहरूलाई जीवित राखीरहन र मर्मत गर्न पनि मद्दत गर्दछ । यस क्रममा मानिसका मस्तिष्कमा हरबखत मगजलाई उचित मानविय मनोविज्ञानमा राखिरहन मद्दत गर्ने डोपामाइन जस्तो अमूल्य जीवरस ठिक्क मात्रामा उत्पादनभई उमेरिदा पनि मानसिक स्वस्थराख्न गहन अवसर पाइरहिन्छ । अरु केहि नसके पनि लरलर सुरक्षित ठाउँमा हिँडने बानी गर्नुपर्दछ, अनि थप शारीरिक स्वास्थ दुरुस्त राख्ने फाइदा बढाउन हिँडाइलाई छिटो–चाँडो गतिमा गर्नुपर्दछ । त्यस्ता नलडिने गरेर सन्तुलन मिलाउँदै लामो–छोटो फडको मार्नु फाइदाजनक हुन्छ । यसरी गतिको विविधताले भित्री सञ्चारमा दवाव आएर, सिसीमा पानीराखी हल्लाएर सफागर्ने प्रक्रियामाझैँ रक्तसञ्चार अबरुद्ध नभइ सहजहुने र द्रूत गतिको स्वास–प्रस्वास गर्दा प्राप्त प्राणवायुले बन्द भएका तथा नपुगेको ठाउँमा पुर्याउन मद्दत गर्दछ ।
४) धुमपान नगरौँः
अम्मल जुनसुकै कुराको भए पनि त्यसले मानिसलाई आफ्नो अधिनमा राख्न खोज्छ । लत लागेमा त्यो अरुलाई नराम्रो लागेपनि आफूलाई अति प्रिय हुनजान्छ । अझ सुर्तीजन्य बस्तुको लत त, न आफूलाई राम्रो न नजिक पर्नेलाई राम्रो त्यसैले नेपालीमा कतैकतै ‘सुर्ती सेवन गर्नेलाई जताततै पिच्च थुक्ने भएर फोहोरी र चुरोटे–बिँडी तान्नेलाई जसरी पनि किन्न पैसा व्यवस्था गर्ने भएर चोर’ भन्ने उखान पनि हाल्छन् । सुर्ती भएको चुरोटे–बिँडीको धुवाँ सेवनकर्ताको हरेक सर्कोले शरीरको उर्जालाई चिमनीले धुवाँ फालेझैँ फालिरहन्छ । त्यसपछि बिस्तारै निद्रा हराउने, निद्रा कचमचिएर नपुग्ने र मुखको स्वाद बिगारी खान मन नलाग्ने हुनसक्छ । सुर्तीमा रहेको अलकत्राजस्तो निकोटिन भन्ने पदार्थले शरीरमा उत्तेजना फैलाउने काम गर्छ । पहिलो असर फोक्सोमा हुन्छ र पर्याप्त प्राणवायु सोस्न फोक्सोका भित्री तहको कोशहरू असमर्थ हुँदैजान्छन् । निकोटिनको चोप फोक्सोको कुनाकुनामा पोतिएर फोक्सोको प्राणवायु सोस्ने सतह कम हुँदै जान्छन् । नियमित राम्ररी प्राणवायु भित्र्याउने मसिना छिद्रहरू कम भए पछि शरीर भित्रबाट बाहिर फ्याल्नुपर्ने, प्राणवायु कम भएको कार्वन–डाइअक्साइड निस्काशन कमीहुन जान्छ । यसले शरीरमा बिषाक्तता बढ्न थाल्छ र रक्तप्रणाली आन्तरिक उर्जाको लागि प्राणवायु प्रशारण गर्नुपर्नेमा बिषाक्त वायु प्रशारण गर्न थाल्छ ।
अनि यस प्रक्रियाले शरीरका सबै जैविक प्रणालीहरू उचित कार्यसम्पादन गर्न नसकी रोगी बन्न थाल्छन् । निकोटिनको उत्तेजित गराउने असरले रक्तसञ्चारमा असरगरी एकातिर सञ्चारको गतीलाई उत्तेजित बनाई उच्चरक्तचाप गराउँछ भने त्यसलेगर्दा मुटुको चाल सामान्यभन्दा बढि गराउन थाल्छ । यसले मुटुलाई अतिछिटो काम गर्नुपर्ने भएर मुटुभित्रका नियन्त्रक अङ्गहरू चाँडै थाक्न खोज्छन र बिग्रन सक्छन् । यस्तो अवस्थामा मगजमा चल्ने स्नायुका स्वभाविक तरङ्गहरू अवरुद्ध भई जागा भइरहने हुनाले निदाउन नसक्ने, छटपटी लागिरहने हुनथाल्छ । जसोतसो एकपटक सुती हालेमा सुर्तीको तलतलले निद्राकै बिचमा पनि उठने गराउँछ र फेरी निद्रा लगाउन भनी अति इच्छाले आधारातमा छामछुम गरेर पनि सेवन गर्नुपर्ने बानीलाग्छ । यसले स्वास्थमा झन नकारात्मक असर त गर्छनै थप सामाजिक हैसियत ओह्रालो लगाउँछ अनि आर्थिक नोक्सानी र दुर्घटना पनि हुनसक्छ । शारीरिक गडबडी र बिभिन्न अनुचित प्रक्रियाका कारण शरीरले भएको ज्यान धान्न नसकि नातागतभएर होसियार हुन सचेत गराउन थाल्छ । त्यसैले बिभिन्न रोग लगाउने विषहरूको जरोलाई प्रविष्ट मार्गमा नै रोकौँ, धुमपान नगरौँ ।
५) पल्टिरहने कमः
पाको उमेरमा कतिपय महिला–पुरुष घरका कामकाज कमगर्ने सुबिधा पाएका तथा कामगर्दा अपजस मात्र पाउने अवस्थामा रहेकाहरू ‘आफ्नै लम्पट प्यारो’ भन्दै सुत्ने ओच्छ्यान छोडन खोज्दैनन् । एक हिसावले उठेदेखि नसुतेसम्म कचकच हुने घरमा त्यसोहुँदा समस्या अलि कम त होला तर अति आराम र श्रमको अभावमा भनेजती र उमेरअनुसार चाहिने निद्रा नपर्न सक्छ । यसोहुँदा राती आराम गर्ने बेला निद्रा राम्रो नपर्ने तर दिउँसो आलस्य हुने र तन्द्रालाग्ने हुनसक्छ । यसरी आफूलाई निद्रै नपुगेको अनुभूत भएमा राती कम सुतेर दिउँसो पनि झकाउन छोडनु होस् र उठेको बेलामा केही काम गर्न कोशिस गर्नुहोस् । हुनत, पाका उमेरिएका मान्छेलाई कम सुत्नुहोस् भन्नु हास्यासपद लाग्ला तर चहिने रातीको निद्रा पुन प्राप्त गर्न यो सरल उपाय हो । बिहान उठेपछि ओच्छ्यान छोडेर बस्ने वा अन्त नसके कोठामा वा आँगनमा टहल्ने र घुम्ने गर्नुहोस् । सकिने केहि काम गर्ने प्रयाश गर्नु पनि आँखा हेरीहेरी ओच्छ्यानमा उङ्गीराख्नु भन्दा राम्रै व्यायाम हुन्छ । यसो गर्दा केहिदिनको अभ्यासले तपाइँलाई राती मस्त निद्रालाग्ने र दिउँसो ज्यान फूर्तिलो हुने अवस्था सजिलै श्रृजना हुनथाल्छ । केही उपायहरू थप पनि गरौँ हैः
क) दिउँसो एकछिन पल्टौँ कि भनेर खाना खाएपछि ढल्किने बारे सोच्न छोड्नु होस् र खाना पछि एकैछिन बसेर केही गर्ने तिर लाग्नुहोस् । ख) यस्ता प्रयाशको क्रममा पहिलो रात सँधै सुत्न ओच्छ्यानमा जाने समयभन्दा ढिला ढल्कन जानुहोस् । मनमनै ‘आजको रात म बढिमा चार घण्टा सुतेर उठछु’ भनि अठोटेर निदाउने प्रयाश गर्नुहोस् । ग) त्यसराती चार घण्टामा सुतेर उठदा आफूलाई मस्त निद्रा लागेको र ज्यान पनि फूर्तिलै भएको अवस्था छ भने त ठिक छ । भोलिपल्टको राती त्यसमा आधा घण्टा बढाई साँढे चार घण्टा सुत्ने अठोटगरी ओच्छ्यानमा पल्टनु होस् । घ) त्यसरी यदि शरीरमा स्फूर्ति कायम नै रहन्छ भने हरेक रात आधा घण्टा बढाउँदै आफ्नो उमेरलाई चाहिने समयसम्म मस्त निदाउने बानीपरे शारीरक र मानसिक स्वास्थ राम्रै रहने ठोकुवा गर्न सकिन्छ । अनि नातागत भन्ने के रोग हो र ? भन्न आफैँ थाल्नुहुन्छ ।
६) बाँच्नलाई खानपानः
हरेक जीवलाई जैविक प्रक्रिया पुरागर्न र आ–आफ्नो प्रजातिअनुसार बाँच्न नियमित खानपान र आराम चाहिन्छ । खान पायो भन्दैमा पेटनै खालि नरहने वा एक घुटको पानी निल्न नसकिने गरी खाने कि प्रतिदिन चाहिने उर्जाकालागि खाने भन्ने सोचेर र मनन् गरेर खाने ? यस्तो कुतुहल धेरैमा हुन्छ । मानिस शचेत तथा विकसित मस्तिष्क भएको प्राणी भएकाले उसले आवश्यक्ता अनुसार जम्मा गर्न, किफायत गर्न, पछिलाई साँच्न, शरीरलाई चाहिने खाद्यबस्तु परिपाठ मिलाएर खान र पिउन जान्दछ । कतिपय मानिस खानैका लागि जन्मेका र बाँचेकाझैँ पाउँदा अरुलाई समेत अप्ठ्यारो लाग्नेगरी सार्वजनिक भोजे–भतेरमा समेत आफ्नै ‘अनुहार जति अग्लो’ ह्रास लिएर बस्छन् । उनीहरू त्यसपछि उग्राई–उग्राई खाएको पनि हेर्न लायक हुन्छ अनि एक्लै परिन्छ अन्त्य सम्ममा भनि ‘खान पनि के लाज ! ए, पेटलाग्दो लिनु नि’ भनि अरुलाई खानेकुरा कम नलिन हौस्याउँछन् ।
हामी मानिसहरू त्यसमाथि पनि पाका उमेरिएका मानिसले त बाँच्नका लागि मात्र खाने हो, हाँप र झाँप गरेर अपबितो खान हुँदैहुन्न । जथाभावी खाँदा र शरीरका पाचन प्रणालीको क्षमता नहेरी खाने पाका माछेले हप्ताभरी गनगन गर्ने कुरा भनेको कहिले ‘कब्जियतले सतायो लौन, पेटमा दुखाई र वायुको गड्याङ्ग–गुडुङ्ग, साउने झरीमाझैँ भयो !’ भनि आत्तिएका अवस्थाको पिरलो बन्छ । अनि कसैको पाचनप्रणाली कमजोर भएर धेरैथरी चास्सचुस्स खाना पचाउन नसकी ‘मेरो त त्यताबाट आएपछि तारन्तार चर्पीमा नै बास भयो, हैन के भाको ? जे जस्तो खाएको, त्यस्तै पो निस्कन्छ बा ! राम्रै ठाउँको भोजन किन छोड्नु, मानराख्न पनि त पर्यो भनि खाको, सहेन बा !’ भन्दै अरुलाई दुख पोखेको हो कि यस्ता ठाउँमा बोलाउँछन भनि प्रचार गरेको नबुझिने सुँक्कसुँक्क सुनिन्छ । यी प्राणी वास्तवमा खानका लुब्ध, हरेक प्राणीका लागि भोजनको महत्व नबुझ्ने वास्तविक खञ्चुवा जीव झुसिलकिरा जस्ता स्वभाव अँगालेका न्युनकोटीका अदना नै हुन् ।
विशेष गरेर उमेरिएका पाका महिला–पुरुषले सकेसम्म पचाउन सजिलो, नरम खालका र सुस्त गतिमा पौष्टिक पदार्थ सोसिने खाना खानेगरेमा शरीरलाई यस उमेरसमुहमा थप रोगले हैरान नपार्ने हुन्छ । खानासाथ पच्ने चिनीजन्य र अति प्रशोधित खाना हुँदा तुरुन्तै शरीरमा लागेर मधुमेह हुने, रक्तचाप बढने तथा आन्तरिक जैविकरस उत्पादनमा नकारात्मक असर गर्न थाल्छन् । त्यसैले उमेरिदा आन्तरिक विभिन्न प्रणालीलाई सुचारुगर्न धान्ने उर्जा खिच्ने मात्राको खानामात्र खानु स्वास्थको दृष्टिकोणले ठिक हो । यसमा पूर्ण दानायुक्त खाद्यान्न, बढि रेसाभएका सागपात, तरकारी, बियाँको गुदीखाने फलफुल र सुद्ध तेल (जैतुन, तोरी, भद्राक्ष, सूर्यमुखी फूलको) सिमित सेवनले समस्या नहुने हुन्छ साथै पाको उमेरमा जैविक प्रणालीहरू पनि कमजोर भएर दुख हुनसक्ने र शारीरिक मर्मत, सम्भारकालागि सिमित प्रोटिन तथा बिभिन्न भिटामिनयुक्त खाना आवश्यक पर्छ नै ।
७) फाइदाका पेयः
बिहानीमा नित्यकर्म पछि चिया, कफी, मनपर्ने फलफूल रस तथा जडिबुटीका तातो र मनतातो पेयले शारीरिक फाइदामात्र गर्दैन मस्तिष्कलाई शतर्क बनाउँछ । बिहानीको मनपर्ने तातो पेयले शरीरका सबै प्रणालीलाई ‘बिहानीको शुभप्रभात ! अब सबै आ–आफ्नो काममा उठौँ र सकृय रहौँ!’ भनेझैँ शतर्क गराउने हुन्छ । धेरैले मुख्य खाना अघि हलुका, काँचा, उमालेका, कुराका परिकार (सलाद) खाएमा पाचनप्रणाली क्रियाशिलभई खाना पचाउन मद्दत हुन्छ भनेझैँ बिहानीको तातो पेयले काम गर्छ ।
कतिपय मानिसहरू यस्ता पेय पदार्थ अपरान्ह पछि नपिउँदा राम्रो भन्छन । अपरान्ह पछि पिउनाले पाचन क्रियामा बोझ बढने र अझफाइदा हुन्छ भनी धेरै पिउनाले ‘अतिले खती हुन्छ, चिनी पनि धेरै खाए तितो हुन्छ’ भनेजस्तै हो । हो, त्यसको सट्टा बरु बेलुकाको भोजनको ठाउँमा आधापाकेका, टुसा आएका र रेसा धेरैभई ढिलो पचने र बिगार नगर्ने सलाद जस्ता खानेकुरा खाने गर्छन् । हरेक पदार्थ उचित छन्, ख्याल चाहीँ मात्रा, बेला र सेवनका तरिकामा पाकाले गम्भिर ध्यान दिने हो, नातागत त ‘ अगुल्टो हानेको कुकुरजस्तै’ सुइँकुच्चा ठोक्न बाद्ध्य भइहाल्छ नि !
८) नियन्त्रित मद्यपानः
मद्यपान परम्परागत रुपले विभिन्न समुदाय तथा मानिसका कथित जनजातीका सँस्कृतिसँग गाँसिएको पनि पाइन्छ । मद्यपान गरिने झोल वा लेदो पदार्थ मानिसले नै उपयोग गर्ने खाद्यान्न तथा जडिबुटीबाटै बनेको हुन्छ । अति प्रशोधित भएर खास त्यस बस्तुको सारतत्वमात्र अवसाव (डिष्टिलेशन भनेको वाफमार्फत झोलबन्ने) बाट बनेको हुन्छ । त्यसैले मद्यपानले मान्छेको शरीर सोशिन थालेपछी स्नायु प्रणाली समेत तागतले लट्ठिन थाल्छ र भनेजस्तो काम मगजले पनि नगर्ने भएर हामी रक्सी लागेको भन्छौँ । तर यहि झोल नियन्त्रित पिउँदा ओखतीको काम गरेको पनि हामीलाई थाह छ । सुत्केरी हुँदा, हातपाखुरा तथा शरीरको कुनै भाग लडेर–ठोकिएर सुन्निदा र दुख्दा अझै पनि आधुनिक ओखती पउल नभएका ठाउँमा रक्सी मालिस गर्ने विधि नेपालका गाउँघरमा छँदैछ । अरु देशहरूमा पनि रैथाने बासिन्दाले रक्सी प्रयोग ओखतीको रुपमा गरेका पाइन्छन् । त्यसैले त, हरेक समुदाय– गरम प्रदेश देखि मरुभूमि, शितोष्ण र शितप्रदेश सम्मका साधारण जनताले घरेलु रक्सी बनाउन प्रयोग गरिने जोरनको स्थानिय बिरुवा जानेका छन् । त्यसबाहेक हरेक आधुनिक तागतका ओखतीमा रक्सीजन्य (अल्कोहल) पदार्थ मिसाएकै हुन्छ र खाने मान्छेलाई तागतले जीउतात्ने तथा केहीमात्राको सेवनले नातागत त टाप ठोक्न सक्छ ।
त्यस्तो लागु झोलका अनेक नाम र प्रकार हुन्छन् तथा प्रयोगकालागि प्राय दैनिकी नबिगार्न साँझ कामकाज सिद्धिएपछि मनलागे गर्ने चलनरहेको छ । बिहान र खालीपेट नगर्न धेरैको अनुभव छ भने यसो गरेमा पेटको रोग हुने खतरा हुन्छ, रक्त र मुत्र प्रणालीको त व्यवधान हुन्छ । अति सेवन गर्नेलाई त कलेजोको समस्या त हुन्छ नै र अन्तिममा कलेजोको विविध रोग लागेर जीवन लिला समाप्त भएकै देखिन्छ । नियमित सेवनको कुलत भएमा शारीरिक मात्र होइन् सामाजिक सम्बन्ध पनि ध्वस्त भएका कैयौँ उदाहरण पनि भेटिएका छन् । नियन्त्रित तथा यथेष्ठ अन्य खानेकुरा पछि सेवनले कम नोक्सानी भई दीर्घजीवनको आशागर्न शताव्दिपुरुष सत्यमोहनको छ भने खाँदै नखाने र व्यायाममा जोडगरेमा शताव्दि नाघेका डा. गौरीशङ्करलाल दाशको अनुभवले सिकाउँछ । बानीका कारण नछोडनेले साँझ सबै आराम गरीसके पछि भरी पेटमा थोरै तलतल मेटाउन लिएमा स्वास्थमा त्यती हानी नहुने देखिएको छ ।
१०) यथेष्ठ पानीः
हरेक जीवको मुलाधार सुद्ध पानी हो । मानिसको शरीरको सत्तरी प्रतिशत भाग त पानी नै छ । पानीले बिभिन्न प्रणालीमा जैविक क्रियाकलापमा महत्वपूर्ण भूमिका प्रदान गरिरहेको हुन्छ । त्यसैले हरेक मानिसले स्वस्थ रहन र आन्तरिक प्रणालीलाई सहज बनाउन प्रतिदिन करिब तिन लिटर पानी पिउने सल्लाह चिकित्सकहरूको पाइन्छ । कतिपयले शारीरिक प्रक्रियाकै कारण कम पिउने हुनसक्छ भने कतिपयको निस्काशन र आवश्यक्ताले अलि धेरै पिउनुपर्ने पनि हुन्छ । पानी नपुगेमा चाँडै थकाई लाग्ने, हातगोडा पोल्ने, पाचनक्रियामा अनियमितता हुने, रक्तचाप बढ्नेघट्ने, छालामा सुखापन आउने, आन्तरिक औडाहहुने, मिर्गौलाको रोगलाग्ने तथा बोसो यथेष्ठ मात्रामा प्रयोग नभई थुप्रिने हुनसक्छ । यसले मान्छेमा नातागतको अवस्था श्रृजना गराउँछ, पानीकै अभावमा भाउन्न हुन जान्छ । त्यसैले त घरगाउँमा मन परेको मूलको पानी तिर्खा मेटिने गरेर पिएमा ‘शरीर फूर्तिलो भई बल आउँछ’ भन्छन् नि !
अन्त्यमा,
बाहिरी धेरै ओखती तथा थप खाना नखाई प्राकृतिकरुपमा आफैँले खाइपिई गरेका खाद्यबस्तुको उचित सम्योजनले पनि पाको उमेरमा देखिएको नातागतको समस्या हलगर्न उमेरिएका अभिभावक तयार रहनु पर्छ । ‘हामी यसो गर्थ्यौ, वा हाम्रा बाआमाले यसो भन्नुहुन्थ्यो’ मात्र होइन विज्ञानले ठम्याएका कुरालाई आफ्नो व्यवहारमा गाँसौँ र आधुनिकताको लेपनले समाजमा चलेका परम्परागत धारणा तथा व्यवहारको सकारात्मक पक्षको जगेर्ना गरौँ । यहि हो, आजको समाजलाई बलियो दिशामा ढाल्ने हाम्रो ऐतिहासिक कार्यभार, यसैले इतिहासका दुर्बल पक्ष हटाउँदै सबल पक्षको पक्षपोषण भनेको । यसरी बढेको समाजमा नै बहुजन हितायको कामभई उमेरिएका पाकाले नातागत जस्तो सामान्य समस्याले ग्रसितभई ललरी गाउँदै हिँड्नु पर्दैन । हाम्रा अगुवा पाकाहरू समयसापेक्ष अनुभवको गुणले बेष्ठित भई समाज बदल्न त अग्रसर हुन्छन् भने आफ्नो स्वास्थरक्षा त एकै निमेषमा अरुलाई समेत सिकाउने हिम्मत राखेका अझै छन्, होइन त ?
०००
पुस १२, २०८१
चालिसे डाँडा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest



































