डा. मुकेशकुमार चालिसेपाका र अति पाका मान्छेले कति गर्न हुन्छ ?
त्यसैले राम्ररी बुझेर व्यायाम सुरु गरौँ, अति पाका मान्छे पनि शताब्दि उमेर कटाउने आँटले अघि बढौँ । स्वस्थ्य जीवन जुनसुकै उमेरमा आफ्नो र अरूका लागि पनि मनोरञ्जनपूर्ण र सुखदायी हुन्छ ।
प्रा.डा. मुकेशकुमार चालिसे :
पाका मान्छेहरूसबै शारीरिक–मानसिक रूपमा अशक्त र कमजोर हुनुहुन्न होला । उहाँहरू ठूला विद्यालयमा अध्ययन गरेर डिग्री नपाएको पनि हुनसक्छ । आजका पाका मान्छे निरक्षर भए पनि छ दशक बढिको अनुभव, हण्डर–ठक्करले मानिलो ज्ञान र सिपले भरिपूर्ण हुनुहुन्छ । संसारका विश्वविद्यालयमा नगए पनि जनताको तहका सामाजिक विश्वविद्यालयका असल अध्येता, गुणग्राही विद्यार्थी र आजका ठेट्ना–मसिनाका लागि जनप्राध्यापक हुनुहुन्छ । दशकौँको घामपानी व्यहोरेका पाका मानिसहरू आफ्नोमात्र होइन समाजको उन्नतिमा समेत वयस्कहरूभन्दा बढि चिन्तित हुनुहुन्छ । उहाँहरूको कुरा परिवार सदस्यले मान्ने, गम्ने र सुन्नेमात्र होइन वयस्कहरूले उहाँहरूको स्वास्थ्य सबल, सहज, स्वस्थ्य र सरल बनाई दीर्घ प्रयास गर्नुपर्छ ।
अवस्थाः
पाका मान्छेहरू धेरैजसो अझै पनि बाहिरफेर काम गर्दै हुनुहुन्छ, कोही भिन्नभिन्न कारणले घर वरपर सिमित हुनुहोला । हिँडडुल गरिरहेकाहरू जसोतसो आफ्नो काम र स्वास्थ्यको ख्यालगर्न सक्नुहोला । उहाँहरूलाई परेमा परिवारलेमात्र होइन, शुभचिन्तक साथीभाइ, ईष्टमित्र र बाहिरी अरूबाट पनि सरसल्लाह पाइरहनु भएको होला । आफू उमेरसमूहबाट यथेष्ठ अनुभवको आदान–प्रदानबाट स्वास्थ्य अवस्था सहज पार्न सहयोग पनि भइरहेको होला ।
घरबाट स्वास्थ्यकै कारण निस्कन औँसीपूर्णे लाग्ने पाका मान्छेलाई भने कोठाचोटा, तलमाथि र घर–आँगन नै सिङ्गो संसार भएको हुन्छ । कतिका लागि जुरुक्क ओच्छ्यानबाट उठेर दीर्घ–सौँच गर्न जानु, हातमुख धोई भान्छामै गएर खानपान गर्नु ठूलै काम सकेको निर्धक्कता होला भने झ्यालसम्म गएर घमाइलो निलो आकाश देख्नु पर्यटन नै मानिएला । माथ्लो चोटामा जान सक्नु पहाड चढेजस्तो सकस होला भने कतिका लागि आँगनमा पुग्नु टुँडिखेल घुम्न गएको अनुभूति होला । यस्तो अवस्था भोगिरहेका पाका मान्छेहरूलाई परिवारका सबल वयस्कहरूले सकेको व्यायाम गराउन मद्दत गर्नैपर्छ ।
पाका मान्छेका खुट्टा सुन्निनु, घुँडा दुख्नु, जोर्नीहरू करकर खायो भन्नु सामान्य नै हो । उहाँहरू हिँडडुल गर्दा धर्मराउनु हुन्छ, रिङ्गटा लाग्यो भन्नुहुन्छ साथै हातगोडाका मांसपेसी सुकेको, चाउरिएको र झोल्लिएको देखिन्छ । बेलाबखत सुतिरहँदा पनि पिँडुला र शरीरका अरू भागमा रहेका मांसपेसी फर्किएको, सर्किएको र दुखेको भन्नुहुन्छ । उहाँहरूलाई बस्न मनलाग्दा हातले समात्न मिल्ने सुरक्षित मेच, कुर्ची र बेन्च रोजेको देखिन्छ । त्यस्ता आसन र आधुनिक दीर्घशौँच गर्ने उर्गल (कमोठ)बाट जुरुक्क उठनसमेत घुँडा र कम्मरले नमानेको देखिन्छ । शारीरिक कमजोरीमात्र होइन कतिपय बेला औषधिले काम गरिरहेको पनि कम देखिन्छ ।
प्रायः भर्खरका पाका मान्छेमा भन्दा सातआठ दशकमा दौडँदै गरेका अति पाका मान्छेहरूमा यस्ता समस्याहरू बढि सुनिन्छन् । मेडिकल गार्जियन, हार्वाड मेडिकल स्कुल, नेपालका पाटन र शिक्षण अस्पतालका वरिष्ठ सामुदायिक चिकित्सकका भनाईमा उमेरिदै जाँदा मानिसमा कामका गतिविधि सिमित हुँदै जानु स्वभाविक नै हो । पाका मान्छेहरूमा ६० देखि ७० वर्षको उमेरमा साधारणतया करिब ८५ प्रतिशतमा आफ्नो काम आफैँ गर्न सक्ने र हिँडडुलमा कम समस्या रहेको अवस्था हुन्छ । स्वास्थ्यले साथ दिएका पाका मान्छे ८० वर्षपछि पनि आफ्नो काम गर्न सक्छन् । बरु आमरूपमा भने त्यो उमेरमा सबैले नसके पनि ५१ प्रतिशतले मात्र भए पनि त्यस्तो गर्न सक्नेको सङ्ख्या भएको सुनिन्छ ।
त्यस्तो सक्रिय क्षमताको विविधता पाका मान्छेमा वंशानुगत, कैयौँ वर्षदेखिको जीवनयापनका तरिका र पारिवारिक पद्धतिका कारणले भएको अनुसन्धानले निरोपण गरेको छ । धुमपान, मद्यपान, अति गरिष्ट खानपान र चिन्ताग्रस्त वातावरणले उमेर सँगसँगै स्वास्थ्यलाई पनि ठूलो नकारात्मक प्रभाव पारिरहेको हुन्छ । खानपानको नियन्त्रण तथा उमेरजन्य हेरविचारले भने ९० वर्ष माथि पनि अति पाका मान्छेहरू सामान्य जीवन बिताइरहेको नेपाललगायत विश्वभरिमा भेटिन्छन् । नेपालमा नै भएका धेरै अति पाका मान्छे ‘शत्रुका कानमा नपरोस् आजसम्म पाँच पैसाको डाक्टरी औषधि मुखमा हाल्नु परेको छैन’ भन्ने त कतिकति ? बेलाबखत चुनावको होहल्ला ताका र अनुहारिकामा लामबद्ध वा काम गरिरहेका अति पाका मान्छेका कुरा प्रमुखताकासाथ प्रसारित भएका देखिन्छन् ।
सबल र सक्रिय रहनेः
जीवनलाई सरल, सहज र सक्रिय बनाउन अति पाका मान्छेहरूले आफ्नो शारीरिक तन्दुरुस्तीका लागि नियमित प्रतिरक्षात्मक व्यायाम गर्नैपर्छ । तौलको चलाई, रबड फित्ताको प्रयोग, दैनिक सकेको हिँडाई र सामान्य अरू व्यायामले शरीरका मांसपेसीहरू बलियो हुन गई उमेरिंदा पनि सबल भइरहन सकिन्छ । भौतिक शारीरिक अवस्थाले नै सबै पाका मान्छेको स्वतन्त्रता, फूर्ति र सुखको आधार हो ।
अस्पताल र योग आश्रमतिर हुने सामान्य व्यायामका तरिका र विधिबाटै घरमा रहेर पाका र अति पाका मान्छेहरूले आफ्नो शरीर बलियो र सक्रिय बनाइरहन सक्नुहुन्छ । ती ठाउँहरूमा साधारणदेखि जटिल र गाह्रा व्यायाम विधि पनि सिकाइन्छ तर साधारण प्रयासबाट नै स्वस्थ्य रहन सकिन्छ भने किन समय, पैसा धेरै खर्च गर्नु र टाढा भौँतारिनु ?
घरमा गरिने व्यायामः
सामान्य भनिए पनि यस्ता व्यायामबाट हातगोडामात्र बलियो हुने होइन, शरीरको सन्तुलन, आकार, स्वासप्रस्वास, पाखुरा, कुम र ढाडको जोर्नीको लचकतामा राम्रो काम गर्छ । सबैभन्दा सुरुमा हात राख्न मिल्ने प्लास्टिक वा काठको मेच व्यवस्था
गर्नुहोस् । यसले मज्जाले थ्याच्च बस्न र परेमा हातपाखुरा स्वतन्त्रतापूर्वक चलाउन सजिलो हुन्छ । त्यसपछि हातले समात्ने केही तौल भएका सामान नजिक राख्नुहोस् । हातले समात्न मिल्ने उत्रै साना किताब वा साना फलरसका सिसी भए पनि काम लाग्छ ।
व्यायाम सुरु गर्न कुर्चीमा अडेस नलागी ढाड सोझो बनाई बस्नुहोस्, घुँडा र पाइतालाको ठिकमाथि सोझो बनाई टेक्नुहोस् । दुवैै हातले किताब वा फलरस सिसी समातेर कोखामुनि झुण्ड्याउनु होस् । ढाड सोझो पारेर छाती पूरा उठोस्, चिउँडोले झ्याल वा ढोकाको चौकोसलाई ईङ्गित गर्नुहोस् । नाकबाट बिस्तारै स्वास लिन थाल्नुहोस् र फोक्सो पूरा नभरिएसम्म स्वास भित्र तान्नुहोस् । अब फोक्सो भरिएको अनुभव भएपछि बिस्तारै लिँदाजस्तै गतिमा मुखले स्वास बाहिर फ्याल्नुहोस् । त्यही आशनमा स्वास लिएर गोलीगाँठाको बलमा बिस्तारै सोझो ढाड बनाउँदै कम्मरदेखिमात्र तिघ्राको समानान्तर निहुरिनु होस् । त्यसपछि बिस्तारै एक, दुई, तिन चार गन्दै कम्मर तलको फिला अलिकति उठाएर अनि ठाडो हुँदै खुट्टाको बलमा उभिने कोशिस गर्नुहोस् । ठाडो राम्ररी ठिङ्ग उभिएपछि हातपाखुरा र कुम पछाडि लैजाने कोसिस गर्नुहोस् । छाती अगाडि उठोस्, चिउँडो उचाल्नुहोस् र आँखा सोझो अगाडि हेर्नुहोस् ।
स्वासप्रस्वास कुर्चीमा बसेको बेलामा जस्तै बिस्तारै नाकले लिने र मुखले उही गतिमा फ्याल्ने गरिरहनुहोस् । आराम अनुभव हुनासाथ कुहिना उचाल्नुहोस् र किताब वा सिसी समातेका दुवैै हातलाई कुम बराबर पुर्याउनु होस् । बिस्तारै चार गनुन्जेलमा हातलाई कुमबाट छततिर सोझो लैजानु होस् र एकैछिन त्यस्तै राखेर हात तल कम्मरतिर झार्नुहोस् । अब अलिअलि निहुरिँदै त्यही कुर्चीको छेउपट्टि पहिला बसेझैँ बस्नुहोस् । बसिबसी हातका पञ्जा दुवैैलाई घडिको सुई घुमेझैँ र उल्टो हरेकलाई दश पटक घुमाउनु होस् । अनि पूरा पाखुरा त्यसै गर्नुहोस्, त्यसै गरेर खुट्टाको दुवैै पाइताला र पुरा खुट्टाको अभ्यास गर्नुहोस् । यी सबै प्रक्रिया र अभ्यास सकेमा हरेक पाका र अति पाका मान्छेले कम्तिमा दश पटक दोहोर्याउनु होस् ।
तपाईंले सक्नुहुन्छः
दैनिक सके दुई तीनपटक नसके एक पटक त अवश्य माथि भनिएको अभ्यास गर्नुहोस् । यत्ति त गर्न सकिन्छ है, तपाईंले आँट गर्नैपर्छ । यसले तपाईंलाई नै फाइदा अवश्य पुग्छ । हेर्नुहोस् त उचाल्न सकिने तौलका वस्तु च्यापेर बिस्तारै उठने र हात पाखुरा पनि बिस्तारै छततिर लैजाने, केवल नियमित उही गतिमा स्वासप्रस्वास गरिरहने त हो । यसप्रकारको अभ्यासले हात, पाखुरामात्र होइन तिघ्रा, पिँडुला र गोडा बलियो भएर शरीरको सन्तुलन सुध्रिने समेत हुन्छ । यदि दिनदिनै यस्तो अभ्यास गरेमा मुटु र फोक्सोलाई पनि व्यायाम भई त्यससम्बन्धी समस्याहरू कम हुँदै जान्छन् ।
यस व्यायामबाट फाइदा हुँदैजाँदा तपाईंले उभिँदा गोडा फट्याएर होइन एउटाको कुर्कुच्चा पछाडि अर्कोको औँला पर्ने गरी एक पाइलापछि अर्को राखेर पनि अभ्यास गर्ने प्रयास गर्न सक्नुहुन्छ । त्यस्तै व्यायामको कारण शारीरिक क्षमता बढेको छ भने साना किताब र सिसीको ठाउँमा अलि गहुँ्रगा वस्तु समातेर अभ्यास गर्न कोसिस गर्न सक्नुहुन्छ । तपाईंको आत्मबल र शरीरलाई दिइएको चुनौतीमा तपाईं पक्कै सफल हुनुहुन्छ ।
बाहिरफेरको व्यायामः
अहा, अनुकूल मौसममा सक्नु हुन्छभने बाहिरफेर घुमफिर वा विविध क्रियाकलापले तपाईंलाई फाइदै पुग्छ । जाडो, गर्मी र वर्षात अति भएको बखत त सद्दे मान्छेलाई त अप्ठ्यारो हुन्छ बाहिरफेर डुलफिर गर्न पाका मान्छेलाई त कहाँ सहज हुनु ? हो, केही अतिरिक्त व्यवस्था गरेर सकिएला तर धेरैबेर नगर्नु नै बेस हुन्छ उमेर र शरीरको अवस्था हेरेर । अँ, शरद, वसन्त अथवा सुखा घमाइलो दिन अनि सुमधुर वातावरण भएको बिहान साँझ रमाइलै हुन्छ, पाका मान्छेलाई पनि डुलफिर गर्न । अनुकूलता हेरेर जानेआउने सुबिधाजनक साधन भए वनभोजमा सम्मिलित भएर थोरै समय रमाउन सकिन्छ । रमाइलो लाग्छ भने नजिकको बगैँचा वा ससानो बनैया क्षेत्र वा जलाशयतिर चरा अवलोकन गर्न जाने अथवा नजिकको चिडियाखानामा समय काट्न जाँदा हिँडाई पनि हुने रमाइलो पनि हुनेहुन्छ । शरीरको चलखेलले कुस्त व्यायाम हुन्छ भने मानसिक रूपमा पनि चिन्तारहित बनाउन मद्दत पुग्छ । ती क्षेत्रको अवलोकनको बेला स्वस्थ्यकर स्वासप्रस्वास हुनगएर मुटु र फोक्सोले पनि गुम्स्याइलो घरको वातावरणबाट राहत पाउने छन् । यस्ता काम बाहेक अरू पनि गर्ने बर्कत र आँट भए केहि पाका मान्छेले गर्नसक्ने अति सजिला र उत्तम व्यायामहरू पनि छन् कोसिस गरौँन त ।
छिटो हिँडाईः
हिँडाई व्यायामहरूमा सबैभन्दा राम्रो व्यायाम मानिन्छ । हिँड्दा यदि रक्तचाप र फोक्सोको जटिल समस्या छैन भने अलिअलि स्वाँस्वाँ हुनेगरी हिँड्नु मुटु र फोक्सो लगायत पूरै शरीरलाई फाइदाजनक हुन्छ । हिँड्दा आफूले जीउको सन्तुलन राखेर सकेमा दुवैै हात हल्लाएर, ठाडो भई अलि लामोलामो पाइला गर्दा शरीरका मांसपेसीहरू सबैतिर व्यायाम हुन्छ । यसले धेरै समस्याहरूलाई न्यूनीकरण गर्न मद्दत गर्दछ । हिँडाईले शारीरिकमात्र होइन स्नायु स्वस्थ्यता र मानसिक फाइदा पनि प्रशस्त हुनेगर्छ ।
बगैँचाको कामः
हेर्दा सामान्य काम देखिए पनि बगैँचाको विरुवा रोपण, काँटछाँट र मलको फेरबदलले धेरै श्रम लिएको हुन्छ । अनुसन्धानले देखिएको छ कि दैनिक ३० देखि ४५ मिनेटको बगैँचाको कामले करिब २०० क्यालोरी शरीरको ऊर्जा दहन गर्दछ । करेसाबारी र कौशीका गमलाको फलफूलका कामले मनग्य व्यायाम हुन्छ भने न्यानो घामको प्रभाव पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । बरु काम गर्दा हुने सानातिना दुर्घटना, चोटपटक र माटोको सङ्क्रमणबारे ध्यान दिनु यस्तो उमेरमा बाञ्छनीय छ ।
पौडी खेल्नुः
पौडी खेल्न जान्नुहुन्छ वा मोटरका ट्युब र हावाका ठूला बेलुनजस्ता वस्तुको सहयोगमा मन लागेमा अनुकूल मौसममा स्थिर पानीमा पौडनु मज्जा आउँछ । यसबाट गृष्मको चर्को घाम र तापक्रमबाट राहतमात्र होइन जोर्नी दुख्ने समस्यामा निकै कमी आउँछ । आफ्नो सुरक्षामा सम्पूर्ण व्यवस्था गरेर सहयोगीको मद्दतले गरम महिनामा चिसो पानीमा र जाडो महिनामा मनतातो पानीमा डुबुल्की लाउँदाको आनन्द बयान गरी साध्य हुन्न । यसले शारीरिक मात्र होइन मानसिक स्फूर्ति र व्यायाम भरपूर हुने हुनाले पौडी खेल्नु राम्रो कसरतमा गनिन्छ ।
उद्यानमा व्यायामः
खुला उद्यान वा डुलफिर गर्न छुट्टयाएको बगैँचामा एउटा सानो पाल वा सतरञ्जा ओच्छ्याएर घरमा बसीबसी गर्ने व्यायाम गर्नु स्वक्ष हावाको कारणले पनि राम्रो हुन्छ । त्यहाँ घोप्टेर तथा उत्तानो परेर हातगोडाको सबै व्यायाम गर्न सजिलो हुन्छ । स्वासप्रस्वासको व्यायाम, उठबस गर्ने व्यायाम, हलुका एकै ठाउँ कदम चाल आदि सबै व्यायाम गर्न ठाउँ पुग्छ । योगका कसरत र ध्यानका विभिन्न मुद्रा पनि त्यस्ता ठाउँमा गर्न सकिन्छ । शरीरको सन्तुलन, चाल र जीउका विभिन्न व्यायाम गर्न त्यस्ता ठाउँ फराकिलो तथा प्रशस्त हावा भएकाले उपयुक्त मानिन्छ ।
साइकल चढ्नुः
सबै व्यायामले शरीर बलियो र सन्तुलित भएको छ भने खुला र सुरक्षित ठाउँ वा बाटोमा हलुका गतिमा साइकल चलाउनु पुरा शरीर तथा दिमागी कसरतका लागि अति उपयुक्त हुन्छ । बरु पहिला अभ्यास आफ्नै घरआँगनमा गरौँ, त्यसपछि राम्ररी सन्तुलित चालक भएपछि बाटोघाटोमा र कम सवारी चाप भएको ठाउँमा साइकल प्रयोग राम्रो होला । साइकल चलाउँदा मांसपेसी, जोर्नी तथा हाडमात्र मजबुत हुने होइन स्वासप्रस्वास तथा मुटुलाई पनि सकारात्मक असर गर्दछ । शरीरको सन्तुलन र स्नायुको सचेतनता पनि वृद्धि भएर दीर्घमागी सतर्कतामा फाइदा पुग्दछ ।
अन्त्यमा,
पाका र अति पाका मान्छेका शारीरिक क्षमता र स्वस्थ्य अवस्था हेरेर सुरक्षित व्यायामको प्रयत्न गर्नुपर्दछ । व्यायाम पहिलेदेखि नगर्ने बानी छ भने सुरु गर्नु अनुभवी चिकित्सकको परामर्शमा शरीरको अवस्था जाँचपरख गरेर गर्नहुने खालका व्यायामका प्रक्रिया क्रमैसँग गर्दै जानु राम्रो हुन्छ । व्यायाम सुरु गर्दा हेरविचार गर्ने सहयोगी सँगै हुनुपर्छ, पछि अभ्यस्त भएपछि एक्लै पनि गर्न सकिन्छ । हरेक व्यायामका उमेरका कारणले हुनसक्ने नकारात्मक असरबारे चनाखो सतर्क हुनैपर्छ । त्यसैले राम्ररी बुझेर व्यायाम सुरु गरौँ, अति पाका मान्छे पनि शताब्दि उमेर कटाउने आँटले अघि बढौँ । स्वस्थ्य जीवन जुनसुकै उमेरमा आफ्नो र अरूका लागि पनि मनोरञ्जनपूर्ण र सुखदायी हुन्छ ।
०००
२०७९ साउन २९
मानिला मान्छेका धामा किताब (२०७९) बाट
Subscribe
Login
0 Comments
Oldest



































