साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका र अति पाका मान्छेले कति गर्न हुन्छ ?

त्यसैले राम्ररी बुझेर व्यायाम सुरु गरौँ, अति पाका मान्छे पनि शताब्दि उमेर कटाउने आँटले अघि बढौँ । स्वस्थ्य जीवन जुनसुकै उमेरमा आफ्नो र अरूका लागि पनि मनोरञ्जनपूर्ण र सुखदायी हुन्छ ।

Nepal Telecom ad

प्रा.डा. मुकेशकुमार चालिसे :

पाका मान्छेहरूसबै शारीरिक–मानसिक रूपमा अशक्त र कमजोर हुनुहुन्न होला । उहाँहरू ठूला विद्यालयमा अध्ययन गरेर डिग्री नपाएको पनि हुनसक्छ । आजका पाका मान्छे निरक्षर भए पनि छ दशक बढिको अनुभव, हण्डर–ठक्करले मानिलो ज्ञान र सिपले भरिपूर्ण हुनुहुन्छ । संसारका विश्वविद्यालयमा नगए पनि जनताको तहका सामाजिक विश्वविद्यालयका असल अध्येता, गुणग्राही विद्यार्थी र आजका ठेट्ना–मसिनाका लागि जनप्राध्यापक हुनुहुन्छ । दशकौँको घामपानी व्यहोरेका पाका मानिसहरू आफ्नोमात्र होइन समाजको उन्नतिमा समेत वयस्कहरूभन्दा बढि चिन्तित हुनुहुन्छ । उहाँहरूको कुरा परिवार सदस्यले मान्ने, गम्ने र सुन्नेमात्र होइन वयस्कहरूले उहाँहरूको स्वास्थ्य सबल, सहज, स्वस्थ्य र सरल बनाई दीर्घ प्रयास गर्नुपर्छ ।

अवस्थाः
पाका मान्छेहरू धेरैजसो अझै पनि बाहिरफेर काम गर्दै हुनुहुन्छ, कोही भिन्नभिन्न कारणले घर वरपर सिमित हुनुहोला । हिँडडुल गरिरहेकाहरू जसोतसो आफ्नो काम र स्वास्थ्यको ख्यालगर्न सक्नुहोला । उहाँहरूलाई परेमा परिवारलेमात्र होइन, शुभचिन्तक साथीभाइ, ईष्टमित्र र बाहिरी अरूबाट पनि सरसल्लाह पाइरहनु भएको होला । आफू उमेरसमूहबाट यथेष्ठ अनुभवको आदान–प्रदानबाट स्वास्थ्य अवस्था सहज पार्न सहयोग पनि भइरहेको होला ।

घरबाट स्वास्थ्यकै कारण निस्कन औँसीपूर्णे लाग्ने पाका मान्छेलाई भने कोठाचोटा, तलमाथि र घर–आँगन नै सिङ्गो संसार भएको हुन्छ । कतिका लागि जुरुक्क ओच्छ्यानबाट उठेर दीर्घ–सौँच गर्न जानु, हातमुख धोई भान्छामै गएर खानपान गर्नु ठूलै काम सकेको निर्धक्कता होला भने झ्यालसम्म गएर घमाइलो निलो आकाश देख्नु पर्यटन नै मानिएला । माथ्लो चोटामा जान सक्नु पहाड चढेजस्तो सकस होला भने कतिका लागि आँगनमा पुग्नु टुँडिखेल घुम्न गएको अनुभूति होला । यस्तो अवस्था भोगिरहेका पाका मान्छेहरूलाई परिवारका सबल वयस्कहरूले सकेको व्यायाम गराउन मद्दत गर्नैपर्छ ।

पाका मान्छेका खुट्टा सुन्निनु, घुँडा दुख्नु, जोर्नीहरू करकर खायो भन्नु सामान्य नै हो । उहाँहरू हिँडडुल गर्दा धर्मराउनु हुन्छ, रिङ्गटा लाग्यो भन्नुहुन्छ साथै हातगोडाका मांसपेसी सुकेको, चाउरिएको र झोल्लिएको देखिन्छ । बेलाबखत सुतिरहँदा पनि पिँडुला र शरीरका अरू भागमा रहेका मांसपेसी फर्किएको, सर्किएको र दुखेको भन्नुहुन्छ । उहाँहरूलाई बस्न मनलाग्दा हातले समात्न मिल्ने सुरक्षित मेच, कुर्ची र बेन्च रोजेको देखिन्छ । त्यस्ता आसन र आधुनिक दीर्घशौँच गर्ने उर्गल (कमोठ)बाट जुरुक्क उठनसमेत घुँडा र कम्मरले नमानेको देखिन्छ । शारीरिक कमजोरीमात्र होइन कतिपय बेला औषधिले काम गरिरहेको पनि कम देखिन्छ ।

प्रायः भर्खरका पाका मान्छेमा भन्दा सातआठ दशकमा दौडँदै गरेका अति पाका मान्छेहरूमा यस्ता समस्याहरू बढि सुनिन्छन् । मेडिकल गार्जियन, हार्वाड मेडिकल स्कुल, नेपालका पाटन र शिक्षण अस्पतालका वरिष्ठ सामुदायिक चिकित्सकका भनाईमा उमेरिदै जाँदा मानिसमा कामका गतिविधि सिमित हुँदै जानु स्वभाविक नै हो । पाका मान्छेहरूमा ६० देखि ७० वर्षको उमेरमा साधारणतया करिब ८५ प्रतिशतमा आफ्नो काम आफैँ गर्न सक्ने र हिँडडुलमा कम समस्या रहेको अवस्था हुन्छ । स्वास्थ्यले साथ दिएका पाका मान्छे ८० वर्षपछि पनि आफ्नो काम गर्न सक्छन् । बरु आमरूपमा भने त्यो उमेरमा सबैले नसके पनि ५१ प्रतिशतले मात्र भए पनि त्यस्तो गर्न सक्नेको सङ्ख्या भएको सुनिन्छ ।

त्यस्तो सक्रिय क्षमताको विविधता पाका मान्छेमा वंशानुगत, कैयौँ वर्षदेखिको जीवनयापनका तरिका र पारिवारिक पद्धतिका कारणले भएको अनुसन्धानले निरोपण गरेको छ । धुमपान, मद्यपान, अति गरिष्ट खानपान र चिन्ताग्रस्त वातावरणले उमेर सँगसँगै स्वास्थ्यलाई पनि ठूलो नकारात्मक प्रभाव पारिरहेको हुन्छ । खानपानको नियन्त्रण तथा उमेरजन्य हेरविचारले भने ९० वर्ष माथि पनि अति पाका मान्छेहरू सामान्य जीवन बिताइरहेको नेपाललगायत विश्वभरिमा भेटिन्छन् । नेपालमा नै भएका धेरै अति पाका मान्छे ‘शत्रुका कानमा नपरोस् आजसम्म पाँच पैसाको डाक्टरी औषधि मुखमा हाल्नु परेको छैन’ भन्ने त कतिकति ? बेलाबखत चुनावको होहल्ला ताका र अनुहारिकामा लामबद्ध वा काम गरिरहेका अति पाका मान्छेका कुरा प्रमुखताकासाथ प्रसारित भएका देखिन्छन् ।

सबल र सक्रिय रहनेः
जीवनलाई सरल, सहज र सक्रिय बनाउन अति पाका मान्छेहरूले आफ्नो शारीरिक तन्दुरुस्तीका लागि नियमित प्रतिरक्षात्मक व्यायाम गर्नैपर्छ । तौलको चलाई, रबड फित्ताको प्रयोग, दैनिक सकेको हिँडाई र सामान्य अरू व्यायामले शरीरका मांसपेसीहरू बलियो हुन गई उमेरिंदा पनि सबल भइरहन सकिन्छ । भौतिक शारीरिक अवस्थाले नै सबै पाका मान्छेको स्वतन्त्रता, फूर्ति र सुखको आधार हो ।

अस्पताल र योग आश्रमतिर हुने सामान्य व्यायामका तरिका र विधिबाटै घरमा रहेर पाका र अति पाका मान्छेहरूले आफ्नो शरीर बलियो र सक्रिय बनाइरहन सक्नुहुन्छ । ती ठाउँहरूमा साधारणदेखि जटिल र गाह्रा व्यायाम विधि पनि सिकाइन्छ तर साधारण प्रयासबाट नै स्वस्थ्य रहन सकिन्छ भने किन समय, पैसा धेरै खर्च गर्नु र टाढा भौँतारिनु ?

घरमा गरिने व्यायामः
सामान्य भनिए पनि यस्ता व्यायामबाट हातगोडामात्र बलियो हुने होइन, शरीरको सन्तुलन, आकार, स्वासप्रस्वास, पाखुरा, कुम र ढाडको जोर्नीको लचकतामा राम्रो काम गर्छ । सबैभन्दा सुरुमा हात राख्न मिल्ने प्लास्टिक वा काठको मेच व्यवस्था
गर्नुहोस् । यसले मज्जाले थ्याच्च बस्न र परेमा हातपाखुरा स्वतन्त्रतापूर्वक चलाउन सजिलो हुन्छ । त्यसपछि हातले समात्ने केही तौल भएका सामान नजिक राख्नुहोस् । हातले समात्न मिल्ने उत्रै साना किताब वा साना फलरसका सिसी भए पनि काम लाग्छ ।

व्यायाम सुरु गर्न कुर्चीमा अडेस नलागी ढाड सोझो बनाई बस्नुहोस्, घुँडा र पाइतालाको ठिकमाथि सोझो बनाई टेक्नुहोस् । दुवैै हातले किताब वा फलरस सिसी समातेर कोखामुनि झुण्ड्याउनु होस् । ढाड सोझो पारेर छाती पूरा उठोस्, चिउँडोले झ्याल वा ढोकाको चौकोसलाई ईङ्गित गर्नुहोस् । नाकबाट बिस्तारै स्वास लिन थाल्नुहोस् र फोक्सो पूरा नभरिएसम्म स्वास भित्र तान्नुहोस् । अब फोक्सो भरिएको अनुभव भएपछि बिस्तारै लिँदाजस्तै गतिमा मुखले स्वास बाहिर फ्याल्नुहोस् । त्यही आशनमा स्वास लिएर गोलीगाँठाको बलमा बिस्तारै सोझो ढाड बनाउँदै कम्मरदेखिमात्र तिघ्राको समानान्तर निहुरिनु होस् । त्यसपछि बिस्तारै एक, दुई, तिन चार गन्दै कम्मर तलको फिला अलिकति उठाएर अनि ठाडो हुँदै खुट्टाको बलमा उभिने कोशिस गर्नुहोस् । ठाडो राम्ररी ठिङ्ग उभिएपछि हातपाखुरा र कुम पछाडि लैजाने कोसिस गर्नुहोस् । छाती अगाडि उठोस्, चिउँडो उचाल्नुहोस् र आँखा सोझो अगाडि हेर्नुहोस् ।

स्वासप्रस्वास कुर्चीमा बसेको बेलामा जस्तै बिस्तारै नाकले लिने र मुखले उही गतिमा फ्याल्ने गरिरहनुहोस् । आराम अनुभव हुनासाथ कुहिना उचाल्नुहोस् र किताब वा सिसी समातेका दुवैै हातलाई कुम बराबर पुर्‍याउनु होस् । बिस्तारै चार गनुन्जेलमा हातलाई कुमबाट छततिर सोझो लैजानु होस् र एकैछिन त्यस्तै राखेर हात तल कम्मरतिर झार्नुहोस् । अब अलिअलि निहुरिँदै त्यही कुर्चीको छेउपट्टि पहिला बसेझैँ बस्नुहोस् । बसिबसी हातका पञ्जा दुवैैलाई घडिको सुई घुमेझैँ र उल्टो हरेकलाई दश पटक घुमाउनु होस् । अनि पूरा पाखुरा त्यसै गर्नुहोस्, त्यसै गरेर खुट्टाको दुवैै पाइताला र पुरा खुट्टाको अभ्यास गर्नुहोस् । यी सबै प्रक्रिया र अभ्यास सकेमा हरेक पाका र अति पाका मान्छेले कम्तिमा दश पटक दोहोर्‍याउनु होस् ।

तपाईंले सक्नुहुन्छः
दैनिक सके दुई तीनपटक नसके एक पटक त अवश्य माथि भनिएको अभ्यास गर्नुहोस् । यत्ति त गर्न सकिन्छ है, तपाईंले आँट गर्नैपर्छ । यसले तपाईंलाई नै फाइदा अवश्य पुग्छ । हेर्नुहोस् त उचाल्न सकिने तौलका वस्तु च्यापेर बिस्तारै उठने र हात पाखुरा पनि बिस्तारै छततिर लैजाने, केवल नियमित उही गतिमा स्वासप्रस्वास गरिरहने त हो । यसप्रकारको अभ्यासले हात, पाखुरामात्र होइन तिघ्रा, पिँडुला र गोडा बलियो भएर शरीरको सन्तुलन सुध्रिने समेत हुन्छ । यदि दिनदिनै यस्तो अभ्यास गरेमा मुटु र फोक्सोलाई पनि व्यायाम भई त्यससम्बन्धी समस्याहरू कम हुँदै जान्छन् ।

यस व्यायामबाट फाइदा हुँदैजाँदा तपाईंले उभिँदा गोडा फट्याएर होइन एउटाको कुर्कुच्चा पछाडि अर्कोको औँला पर्ने गरी एक पाइलापछि अर्को राखेर पनि अभ्यास गर्ने प्रयास गर्न सक्नुहुन्छ । त्यस्तै व्यायामको कारण शारीरिक क्षमता बढेको छ भने साना किताब र सिसीको ठाउँमा अलि गहुँ्रगा वस्तु समातेर अभ्यास गर्न कोसिस गर्न सक्नुहुन्छ । तपाईंको आत्मबल र शरीरलाई दिइएको चुनौतीमा तपाईं पक्कै सफल हुनुहुन्छ ।

बाहिरफेरको व्यायामः
अहा, अनुकूल मौसममा सक्नु हुन्छभने बाहिरफेर घुमफिर वा विविध क्रियाकलापले तपाईंलाई फाइदै पुग्छ । जाडो, गर्मी र वर्षात अति भएको बखत त सद्दे मान्छेलाई त अप्ठ्यारो हुन्छ बाहिरफेर डुलफिर गर्न पाका मान्छेलाई त कहाँ सहज हुनु ? हो, केही अतिरिक्त व्यवस्था गरेर सकिएला तर धेरैबेर नगर्नु नै बेस हुन्छ उमेर र शरीरको अवस्था हेरेर । अँ, शरद, वसन्त अथवा सुखा घमाइलो दिन अनि सुमधुर वातावरण भएको बिहान साँझ रमाइलै हुन्छ, पाका मान्छेलाई पनि डुलफिर गर्न । अनुकूलता हेरेर जानेआउने सुबिधाजनक साधन भए वनभोजमा सम्मिलित भएर थोरै समय रमाउन सकिन्छ । रमाइलो लाग्छ भने नजिकको बगैँचा वा ससानो बनैया क्षेत्र वा जलाशयतिर चरा अवलोकन गर्न जाने अथवा नजिकको चिडियाखानामा समय काट्न जाँदा हिँडाई पनि हुने रमाइलो पनि हुनेहुन्छ । शरीरको चलखेलले कुस्त व्यायाम हुन्छ भने मानसिक रूपमा पनि चिन्तारहित बनाउन मद्दत पुग्छ । ती क्षेत्रको अवलोकनको बेला स्वस्थ्यकर स्वासप्रस्वास हुनगएर मुटु र फोक्सोले पनि गुम्स्याइलो घरको वातावरणबाट राहत पाउने छन् । यस्ता काम बाहेक अरू पनि गर्ने बर्कत र आँट भए केहि पाका मान्छेले गर्नसक्ने अति सजिला र उत्तम व्यायामहरू पनि छन् कोसिस गरौँन त ।

छिटो हिँडाईः
हिँडाई व्यायामहरूमा सबैभन्दा राम्रो व्यायाम मानिन्छ । हिँड्दा यदि रक्तचाप र फोक्सोको जटिल समस्या छैन भने अलिअलि स्वाँस्वाँ हुनेगरी हिँड्नु मुटु र फोक्सो लगायत पूरै शरीरलाई फाइदाजनक हुन्छ । हिँड्दा आफूले जीउको सन्तुलन राखेर सकेमा दुवैै हात हल्लाएर, ठाडो भई अलि लामोलामो पाइला गर्दा शरीरका मांसपेसीहरू सबैतिर व्यायाम हुन्छ । यसले धेरै समस्याहरूलाई न्यूनीकरण गर्न मद्दत गर्दछ । हिँडाईले शारीरिकमात्र होइन स्नायु स्वस्थ्यता र मानसिक फाइदा पनि प्रशस्त हुनेगर्छ ।

बगैँचाको कामः
हेर्दा सामान्य काम देखिए पनि बगैँचाको विरुवा रोपण, काँटछाँट र मलको फेरबदलले धेरै श्रम लिएको हुन्छ । अनुसन्धानले देखिएको छ कि दैनिक ३० देखि ४५ मिनेटको बगैँचाको कामले करिब २०० क्यालोरी शरीरको ऊर्जा दहन गर्दछ । करेसाबारी र कौशीका गमलाको फलफूलका कामले मनग्य व्यायाम हुन्छ भने न्यानो घामको प्रभाव पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । बरु काम गर्दा हुने सानातिना दुर्घटना, चोटपटक र माटोको सङ्क्रमणबारे ध्यान दिनु यस्तो उमेरमा बाञ्छनीय छ ।

पौडी खेल्नुः
पौडी खेल्न जान्नुहुन्छ वा मोटरका ट्युब र हावाका ठूला बेलुनजस्ता वस्तुको सहयोगमा मन लागेमा अनुकूल मौसममा स्थिर पानीमा पौडनु मज्जा आउँछ । यसबाट गृष्मको चर्को घाम र तापक्रमबाट राहतमात्र होइन जोर्नी दुख्ने समस्यामा निकै कमी आउँछ । आफ्नो सुरक्षामा सम्पूर्ण व्यवस्था गरेर सहयोगीको मद्दतले गरम महिनामा चिसो पानीमा र जाडो महिनामा मनतातो पानीमा डुबुल्की लाउँदाको आनन्द बयान गरी साध्य हुन्न । यसले शारीरिक मात्र होइन मानसिक स्फूर्ति र व्यायाम भरपूर हुने हुनाले पौडी खेल्नु राम्रो कसरतमा गनिन्छ ।

उद्यानमा व्यायामः
खुला उद्यान वा डुलफिर गर्न छुट्टयाएको बगैँचामा एउटा सानो पाल वा सतरञ्जा ओच्छ्याएर घरमा बसीबसी गर्ने व्यायाम गर्नु स्वक्ष हावाको कारणले पनि राम्रो हुन्छ । त्यहाँ घोप्टेर तथा उत्तानो परेर हातगोडाको सबै व्यायाम गर्न सजिलो हुन्छ । स्वासप्रस्वासको व्यायाम, उठबस गर्ने व्यायाम, हलुका एकै ठाउँ कदम चाल आदि सबै व्यायाम गर्न ठाउँ पुग्छ । योगका कसरत र ध्यानका विभिन्न मुद्रा पनि त्यस्ता ठाउँमा गर्न सकिन्छ । शरीरको सन्तुलन, चाल र जीउका विभिन्न व्यायाम गर्न त्यस्ता ठाउँ फराकिलो तथा प्रशस्त हावा भएकाले उपयुक्त मानिन्छ ।

साइकल चढ्नुः
सबै व्यायामले शरीर बलियो र सन्तुलित भएको छ भने खुला र सुरक्षित ठाउँ वा बाटोमा हलुका गतिमा साइकल चलाउनु पुरा शरीर तथा दिमागी कसरतका लागि अति उपयुक्त हुन्छ । बरु पहिला अभ्यास आफ्नै घरआँगनमा गरौँ, त्यसपछि राम्ररी सन्तुलित चालक भएपछि बाटोघाटोमा र कम सवारी चाप भएको ठाउँमा साइकल प्रयोग राम्रो होला । साइकल चलाउँदा मांसपेसी, जोर्नी तथा हाडमात्र मजबुत हुने होइन स्वासप्रस्वास तथा मुटुलाई पनि सकारात्मक असर गर्दछ । शरीरको सन्तुलन र स्नायुको सचेतनता पनि वृद्धि भएर दीर्घमागी सतर्कतामा फाइदा पुग्दछ ।

अन्त्यमा,
पाका र अति पाका मान्छेका शारीरिक क्षमता र स्वस्थ्य अवस्था हेरेर सुरक्षित व्यायामको प्रयत्न गर्नुपर्दछ । व्यायाम पहिलेदेखि नगर्ने बानी छ भने सुरु गर्नु अनुभवी चिकित्सकको परामर्शमा शरीरको अवस्था जाँचपरख गरेर गर्नहुने खालका व्यायामका प्रक्रिया क्रमैसँग गर्दै जानु राम्रो हुन्छ । व्यायाम सुरु गर्दा हेरविचार गर्ने सहयोगी सँगै हुनुपर्छ, पछि अभ्यस्त भएपछि एक्लै पनि गर्न सकिन्छ । हरेक व्यायामका उमेरका कारणले हुनसक्ने नकारात्मक असरबारे चनाखो सतर्क हुनैपर्छ । त्यसैले राम्ररी बुझेर व्यायाम सुरु गरौँ, अति पाका मान्छे पनि शताब्दि उमेर कटाउने आँटले अघि बढौँ । स्वस्थ्य जीवन जुनसुकै उमेरमा आफ्नो र अरूका लागि पनि मनोरञ्जनपूर्ण र सुखदायी हुन्छ ।

०००

२०७९ साउन २९
मानिला मान्छेका धामा किताब (२०७९) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x