साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेले सिकाऊँः पिरमा के गर्ने ?

पाका मान्छेले कहिल्यै पनि अछन्द्याईलो खुसी र नपत्याइँदो शोक देखाउँदैनन् । त्यसैले उहाँहरूकै सरसल्लाहमा अमुक परिवारमा परेको दुखसुखमा व्यक्तिगत र सामूहिक अभिव्यक्ति गरिनु राम्रो हुन्छ ।

Nepal Telecom ad

प्रा.डा. मुकेशकुमार चालिसे :

संसारमा जीवित र निर्जीव वस्तुहरू समयक्रममा बिस्तारै घटना र दुर्घटनाले नोक्सानीमा पर्छन् । स्नायु प्रणाली विकसित जीवले राम्रो नराम्रो घटनामा अनुभव गर्न सक्छन् र क्षमताअनुसार अभिव्यक्त गर्न पनि सक्छन् । विकसित प्राणी मान्छेहरूको समाजमा कुनै पनि नकारात्मक वा सकारात्मक घटना हुँदा विभिन्न तरिकाले विविध तरिकाबाट चिन्ता र खुसी प्रकट गरिएको पाइन्छ । घटनाअनुसार दुःख र खुसी व्यक्त गर्ने तरिका, भाषा र विधि पनि मानिसका समूह र भूगोलअनुसार फरकफरक अभिव्यक्ति गरिएको सुनिन्छ ।

सुखदुखमा प्रतिक्रियाः
सबै जीवका खुसी र आनन्द व्यक्त गर्ने आआफ्नै तरिका र प्रक्रिया छन् । माहुरी र भवँरा रसिला फूल र पाकेका फलको वरपर उड्दै हलुका आवाज निकाल्दै उचित कुरा स्वाद लिन पाउने आशमा झुम्मिन्छन् । कैयौँ माछाहरू खाना वा मिल्ने साथी भेट्दा मान्छेले कम्मर मच्क्याएर नाचेजस्तै अघिपछि र पखेटा बाङ्गोटिङ्गो पारेर पौडिएर देखाउँछन् । चराहरू त प्राय पखेटा र पुच्छरको चालबाट मात्र होइन सुमधुर आवाजले आनन्द र खुसी भएको जानकारी दिइरहन्छन् । साथीभाइ र खानेकुरा भेट्दा उनीहरूको शरीरको बान्की र चाल नै मोहित गराउने हुन्छ । स्तनधारीमा त ससानादेखि मानिसजस्तो विकसित प्राणीमा मस्तिष्कको क्षमताअनुसार हाउभाउ र कटाक्ष साधारणदेखि अति जटिल अभिव्यक्तिका प्रक्रियाहरू देखिन्छन् ।

घरपालुवा कुकुर, बिराला, गाई, भैँसी, भेडा, बाख्रा, कुखुरा, हाँस र अरू चराहरू तपाईंलाई देखेपछि उसकै हितमा के के गर्छ भनि कस्तो मायालु भाव देखाउँछन् ? ती पालुवा जन्तुले यदि तपाईं रेखदेख गर्ने मान्छे हो भने पुच्छर, जीउ हल्लाउने तथा मायालाग्दो आवाज निकाली लाडिन खोज्छन् । तपाइँले तर्साउने, हप्काउने र पिट्न खोज्ने गर्नुभएको छ भने टाढा पर्ने, वास्ता नगर्ने वा आएको देखेपछि भाग्न खोज्छन् । उनीहरू आफन्तको सुखदुखमा फरक–फरक व्यवहार देखाउँछन् भने तपाइँले गरेको देखेर सिक्न सक्छन् ।

राम्ररी अध्ययन गर्नुभयो भने तपाइँको खुसीमा घरपालुवा जन्तुहरू खुसी भएको र दुखमा पिर गरेको प्रष्ट देखिन्छन् । कतिसम्म भने केटाकेटी रुँदा र घरका जिम्बेवार घर भित्रबाहिर गर्दा हेक्का राख्छन् र अरूलाई जानकारी दिन कराउने
गर्छन् । तपाइँले खाएको थाहा नपाई नखाने, मनपरेकाले दिएको खाने र उनीहरूको दुखमा आँसु झारेको पनि देखिन्छ । प्रिय अभिवावकको मृत्यु भएपछि अन्तिम क्रिया गरेको ठाउँमा गएर हरेकदिन बस्ने वा शोकाएर केहि दिनमा आफू पनि मृत्युवरण गरेका कुकुरका कथा धेरैले सुने देखेका होलान् ।

मानिसका नजिकका प्राणी बाँदर प्रजातिमा आफ्नै सुखदुखमा प्राकृतिक अभिव्यक्ति देखिन्छ । रमाउँदा फुर्केर अङ्कमाल गर्ने, माया गर्ने, म्वाइँ खाने र जिस्किएर उल्टापाल्टो गरी उम्नाचो गर्ने कला देखाउँछन् । दुखमा रुने, कराउने, र आफन्तको मृत्युमा उठाउन खोज्ने र अरूलाई बोलाउने गर्छन् । प्रतिक्रिया र केही आवाज निकाले पनि अर्थपूर्ण भाषासहितको क्षमताको अभावमा उनीहरू बोलेर मानिसले जस्तो मनका कुरा गर्न सक्तैनन् । मानिसमा भाषा, त्यसका ध्वनि, अनुभव, अनुभूतिको जटिलतासँगै सुखदुखमा विविधतायुक्त अभिव्यक्ति विचार गर्ने र प्रकट गर्ने गरेको पाइन्छ ।

मान्छेका अभिव्यक्तिः
भूगोल, आर्थिक सामाजिक स्तर, सिकिएको अवस्था तथा समुदायअनुसार शब्दचयन केहि फरक हुनसक्छ तर संसारभरिका मानिसका अभिव्यक्ति सामान्यतया सुखदुखमा उस्तै हुन्छन् । त्यस्तै कारणले विविधता भएर एक समूहको राम्रानराम्रा मानिएका शब्दहरू अर्को समूहका लागि नराम्रो हुन सक्छ । सामाजिक चेतनाको कारणले पनि विविध समूहका मानिसहरूको भाव उस्तै रहेपनि अभिव्यक्ति फरक पर्न सक्छ । यस्तोमा शब्दका ध्वनिले कहिलेकहीँ साथ दिएर विविधतासँगै बुझ्न सकिने हुन्छ ।

हिजोआज समयअनुसार मानिसका खुसी अभिव्यक्त हुने विविध आयाम छन् । घरको शिशु बेलैमा शिशुकक्षाबाट फर्कने बेलाको आनन्द र आएपछि सकुशल आएको खुसी एक प्रकारको होला । किशोरकिशोरी विद्यालय छुटेको केहि समयमा घर आइपुग्नु अर्को खुसी होला । वयस्कहरू उचित विद्यार्जन पछि एउटा ईलम समाती आयआर्जनमा लाग्नु र उपयुक्त जोडी बाँधेर पारिवारिक जिम्मेवारीमा बस्नु पृथक खुसी होला । घरका सबै र विशेष गरी पाका मान्छे स्वस्थ्य रहनु र औषधि गर्नुपरे औषधि फाप्नु सबैको खुसी र सन्तोष होला ।

सबै घरायसी र सामाजिक क्रियाकलाप सामान्य भइरहेको अवस्थामा मान्छेले चलनचल्तीका राम्रै व्यवहार गर्लान् । सामान्य चिन्ता गराउने घटनामा जोगिएर काम गर्न वा आफ्ना अनुभवमार्फत सल्लाह दिन सकिन्छ । तर साह्रै दुखपर्दा, कसैको मृत्यु हुँदा र असामान्य स्थितिमा कसरी अभिव्यक्त गर्दा ठिक होला ? घटना भएपछि सम्बन्धितलाई के भन्दा र अनुभव आदानप्रदान गर्दा उपयुक्त होला ? यस्तो कुरा साह्रै असजिलो, गाह्रो र धेरै संवेदनशील पनि भएकाले घटनाअनुसार सन्तुलित अभिव्यक्ति नै ठिक हुन्छ होला ।

अनुसन्धाता र भावनात्मक विषयवस्तुका लेखकहरू मेलिण्डा स्मीथ, लारेन्स रबिन्सन र जीन सेगेलहरूले विविध मनोविज्ञान र परिघटनामा समस्या र अभिव्यक्तिका केही उपायहरू अघि सारेका छन् । सामाजिक जीवनमा विभिन्न कालखण्डमा मानिसले दुख, पिर पाउनु र कसैलाई गुमाउनु सामान्य नै हो । त्यस्तो अवस्थामा हामी शुभचिन्तकको नाताले शोकव्यक्त गर्दछौँ, तर कस्तो नोक्सानी कसरी र कति शोक व्यक्त गर्ने भन्ने किटानी जवाफ भने छैन । नोक्सानीको स्तर र महत्त्वअनुसार तपाइँको शोकाञ्जली भइदियो भने स्वस्थ्य मापदण्ड पूरा हुनसक्छ ।

पिर के हो ?
पिर भनेको सामान्यतया तपाइँलाई मनपरेको वा तपाइँले माया गरेको कुनै पनि निर्जीव वा सजीव तपाइँबाट हराउनु वा नष्ट भएपछि हुने मानसिक अवस्था हो । कहिलेकाहीँ त्यसरी तपाइँको आँखा अगाडिबाट त्यस्ता कुरा नास हुँदा यतिधेरै पिर पर्छ कि सबै प्रकारका भावनात्मक उद्वेग देखा पर्दछन् । मानिसमा घात हुने, विश्वासै नलाग्ने भ्रम हुने, अति रिस उठ्ने, ग्लानी हुने र अति विशाद् भएर विस्मृत हुनेसम्म हुन सक्छ । नोक्सानीको अति पिरको कारण शारीरिक स्वास्थ्यसमेत अव्यवस्थित भएर निद्रा नलाग्ने, खान मन नलाग्ने र घटनालाई सोझो स्विकार गर्न नसक्ने विचार आउन पनि सक्छ । यस्तो प्रतिक्रिया सबैलाई हुन सक्छ तर उल्लेखनीय नोक्सानीअनुसार नै पिरको मात्रा डाह र मनोवैज्ञानिक छटपटीमा परिणत हुन्छ ।

पिर पर्ने र डाह हुने विभिन्न घटना भए पनि आफूलाई मनपर्ने वा माया गर्नेको मृत्यु चैँ सबैलाई अति पीडादायी हुन्छ । त्यस्तो बेलामा पनि संयम कायम राख्नु मानिसका लागि ठूलो चुनौतीपूर्ण समस्या हो । अरू कारणले पनि मान्छेलाई मुटु चिथोर्ने पिर पर्नसक्छ । मिलेर बसेका परिवारमा छुट्टी भिन्न हुनु, जोडीमा मनमुटाव भएर पारपाचुके हुनु, आफ्नै स्वास्थ्य अवस्था दिनदिनै ओह्रालो लाग्नु, काम गरिरहेका ठाउँबाट बिनाकारण हटाइनु, आर्थिक अवस्था अस्थिर हुनु, गर्भ रहेको खुसी सँगै अधिग्रो जानु, स्वास्थ्यले काम गर्न सक्दै सेवानिवृत्त हुनु, आफैँले हुर्काएको र मनपरेको घरपलुवाको मृत्यु हुनु, सोचेको सपना भताभुङ्ग हुनु, आफन्त र प्रिय मान्छे गम्भीर बिरामी हुनु, आत्मीय मित्रको अन्त्य हुनु, दुर्घटनापछि सुरक्षा नपाइनु र पैत्रिक सम्पति कौडीको मोलमा बेचिनु पिरको भूवँरीमा पार्ने केही कारणहरू हुनसक्छन् ।

पिर पर्नु नितान्त व्यक्तिगत कुरा हो । तपाईंको पिरको मर्का र महत्व उत्तिकै स्तरमा त्यही कुराले नहुन सक्छ । ‘एउटाको हाँसो अर्काको नासो’ भनेझैँ सबैका आ–आफ्नै तहका पिर हुन सक्छन् र एउटाको ‘अति’ अर्कालाई ‘सामान्य’ हुनसक्छ । मानिसका तृष्णा र चाहना फरकफरक हुन्छन् । त्यसैले पिर उब्जाउने खास घटनालाई अध्ययन गर्ने, बुझ्ने र के कुराले हुन गयो कारण निरोपण गरेर उचित पिर लिँदा स्वस्थ्य तरिकाले समाधान गर्न र सल्लाह दिन सकिएला ।

पिरका बारेमा भनाईः
मान्छेलाई पर्ने पिर बारेमा विभिन्न भनाई र सोचाई पनि मान्छेका समाजमा पाइन्छन् । कोही भन्छन् ‘पिर बिर्सने गर्नुपर्छ’ त्यसोभए पो चाँडै हराउँछ । वास्तवमा त्यस्तो होइन, पिर लुकाउने र साँच्चै घटना नभएकोजस्तो गर्दा पछि समस्या बढ्छ । बरु परेको हानी नोक्सानी स्विकार गर्ने र बाँकी जीवन उसको अनुपस्थितिमा कसरी अघि बढाउने भन्ने योजनातिर ध्यान केन्द्रित गर्नुपर्छ । के के गर्दा अभावलाई बिस्तारै पूर्ति गर्न सकिन्छ र मानसिक घातक पिरबाट छुटकारा मिल्न सक्छ भन्नेमा चनाखो रहनुपर्छ ।

कोही भन्छन् पिरलाई ढिम्कन नदिन ‘बहादुर र साहसी विचार भएमा’ सकिन्छ । आफन्तको मृत्युमा दुखी हुनु, आत्तिनु र अनाथ सम्झनु स्वभाविक हो । रुनु, कराउनु र छटपटिनु पनि सामान्य हो । त्यसो भएकोेमा ग्लानी हुनुपर्ने कुनै तर्क नै छैन, तपाइँ आफन्तको मृत्यमा जुन मनोविज्ञानबाट ठिक लाग्छ त्यसै गर्नुहोस्, नगरेर बहादुरीको तक्मा पाउनु हुने छैन । बरु लागेका प्रतिक्रिया अभिव्यक्त गर्दा तपाइँको पिर चाँडै हलुका हुन्छ ।

कोही भन्छन् ‘मान्छेको मृत्युमा पनि नरुनु भनेको पिर नपरेको मानिन्छ’ । त्यसैले त्यस्तो ठाउँमा पुग्दा टोल र डाँडै हल्लने गरी रुनुपर्छ । वास्तवमा रुनु भनेको दुख र पिरलाई अभिव्यक्त गर्ने धेरैमध्ये एउटा तरिका मात्र हो । नरोइकन पनि रुनेहरूको जत्तिकै भित्र चोट परेको र शोक भएको उनीहरूको बोलाई, सल्लाह र हिँडाईबाट थाहा हुन्छ ।

कोही भन्छन् ‘आफन्तको मृत्युले वर्षदिन पिरोल्छ’ । वास्तवमा मृत्युको पिर कति दिन हुन्छ भन्ने छैन, मान्छेको योगदान र गुणदोषको मात्रा हेरेर धेरै कालसम्म हुने वा अल्पकाल हुने हुन्छ । पिर लिने मान्छेपिच्छे फरक–फरक समयसम्म रहन सक्छ ।
कोही भन्छन् ‘पिर गर्नेले घटना स्विकार गरी आफ्नो दैनिकी सुचारु गरेकाले पिर बिर्सियो’ । दैनिकी सुचारु गर्नु भनेको पिर बिर्सनु होइन, गुमाएकाको सम्झना राख्दै जीवनयापनका क्रियाकलाप अघि बढाउन सकिन्छ । अझ, आवश्यक हुँदा गुमाएकाको अनुभव र भनाई साँचेर आफ्नो दैनिकी झन सुदृढ बनाउन मद्दत मिल्छ ।

अतिपिरमा देखापर्ने लक्षणः
आफन्तको मृत्युमा हुनसक्ने भावनात्मक प्रतिक्रिया ग्रहण गरेको विभिन्न स्तरबाट भएको पाइन्छ । घटना भएको सुन्नासाथ वा देख्नासाथ, दिमागले काम नगरेजस्तो हुने, सपनाजस्तो लाग्ने, अथवा आस्थाका आधारमा पुकारा गर्ने हुनसक्छ । यस्ता सबै कुरा प्रारम्भमा सामान्य कुरा हुन् । भावनात्मक हिसावले असर गर्दा त्यस्तो भवितव्य सुन्नासाथ आफैँ मरेतुल्य हुने, भएको नपत्याएर बोलाउने र उठाउन खोज्ने र बउरिन्छन् भनेर पर्खने पनि हुनसक्छ । अचानक कङ्कलाशब्द गरेर रुने, काम्ने र कोही निलोकालो भएर बोल्नै नसक्ने हुन सक्छन् । कोही आफूले पहिला यसो गरेको भए बचाउन सकिन्थ्यो भनि गल्ती गरेँ भन्दै आफैँलाई सराप्दै रुन्छन् पनि । कोही म त अनाथ भएँ अब कसरी बाँचु भन्दै डरले थरथरी काम्दै पश्चाताप गर्छन् । कति त आफूलाई एक्लो पारेको भनेर मर्नेलाई नै गाली गर्छन् भने कति भगवान् वा चिकित्सकलाई दोष लगाउँछन् । पिरलाग्ने र दुखमा डाहा हुने भनेको मानसिक मात्र होइन, लामो समय भएमा त्यसले अरू भौतिक समस्या पनि जन्माउँछ । श्रम नै नगरे पनि थकाई लाग्नु, कुरा सम्झ्यो कि वाकवाकी लाग्नु, क्षमतामा ह्रास आउनु, शरीरको तौल कि घट्नु कि बढ्नु, शरीर करकर खानु वा बिना चोटपटक दुख्नु, टाउको टन्कनु, छटपटी भइरहनु र निदाउन नसक्नु आदि लक्षणहरू देखापर्न सक्छन् ।

पिर समन कसरी ?
कसैको मृत्युमा पिर गर्नु जीवित प्राणीको स्वभाविक र प्राकृतिक स्वभाव हो । हरेकका जीवनकालमा सुखदुख, सबल निर्बल समय र घटना भइरहेका हुन्छन् । सुखमा नमात्तिएर उपलब्धिलाई संयोजन गरे पुग्छ भने दुखमा मानिस मानसिक शारीरिक समस्यामा रहेकाले गाह्रो भएको हुन्छ । मुख्य कुरा मृत्युले पारेको दुख पिरलाई कसरी तह लगाउने र बाँकी जीवन अघि बढाउन दिशानिर्देश पाउने भन्ने नै हो । बाँकी जीवनमा अनावश्यक थप समस्या नपार्न केही तरिका र सोचाई अघि बढाउनु पर्छ । आफन्तलाई गुमाउनु जैविक प्रक्रियाको एक रूप हो भनि आफ्नो पिरलाई स्वभाविक जैविक प्रक्रियाको उपज भएकाले ठिक हो भन्नुहोस् । भइसकेको कुरालाई ‘धेरै र अति भयो’ भनी पिर गरिरहेमा थप भावनात्मक समस्या बल्झिन्छन् भन्ने हेक्का राख्नुहोस् । तपाइँलाई परेको पिर तपाइँको नितान्त व्यक्तिगत भएकाले आफैँले कसरी सल्ट्याउने भन्ने पनि बुझ्नुहोस् । साँच्चै आफूलाई मद्दत गर्ने सँगमात्र सहयोगको आशा गर्नुहोस् ।

आफूलाई मानसिक रूपले स्वस्थ्य राख्न आफैँ भौतिकरूपले तयारीमा रहनुहोस् । घटना भइसकेपछि ‘यसो गरेको भए हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो’ भनि मनोबल क्षीण बनाई आँसु खसाल्ने होइन घटनाबाट पाठ सिक्नोस् । अनवरत हुने पिरले नोक्सानी बढाउँछ र मानसिक समस्या पिर गर्नेलाई थपिन सक्छ । पिर पनि संयमित र हेर्ने देख्नेलाई उचित भएको सम्म ठिक हो अन्यथा हुनसक्ने उन्माद (डिप्रेसन) बाट व्यक्ति आक्रान्त हुनसक्ने सम्भावनालाई निम्त्याउने खालको हुनु थप समस्या बढाउनु हो भन्ने प्रष्ट हुनुहोस् ।

आफूले माया गरेका परिवार सदस्य, आफन्त, नातेदार, आत्मीय मित्र, चिनजानका मान्छे गुमाउँदा कहिल्यै नभएको पीडा हुन्छ । कतिपय बेला तपाइँ आफूलाई सम्हाल्न नसक्ने वेदना हुनसक्छ, संसारै डुबेको अनुभूति हुनसक्छ तर समयचक्र त अघि बढिरहन्छ नि । सधैं हेक्का राख्ने वास्तविकता के हो भने, संसारमा सबै वस्तु नासवान् छन्, जीवित प्राणीको आआफ्नै जीवनी र समयचक्र हुन्छ । अरूको जीवन त्यही घटनाले सकिएको हुन्न, बरु आफ्नो पिरबाट उम्कने बाटो र भविष्यप्रति सतर्क रहँदै बाटो खोजिनु पर्छ । हो, आफन्तको मृत्युले कसैलाई केहि समय र कसैलाई लामो समय पिरोली रहन्छ, मान्छेको परिस्थिति र जीवनप्रतिको बुझाईले फरक परेको पनि हुन्छ ।

भइरहेको र के भन्ने ?
अचेल भेटेर मौखिक शुभकामना वा समवेदना प्रकट गर्ने चलन हराउँदै जान लागेको छ । समाजिक सञ्जालमार्फत त्यस्तो शोक व्यक्त गर्ने विधि पुरा गर्ने चलन युवायुवतीहरूमा निकै बढेको छ । सामाजिक सञ्जालमार्फत आउने त्यस्ता प्रेषित सूचनाले भेटघाटको जीवन्तता र आत्मीयताको स्तर कायम राख्छ र ? फेरि कति अनमेल लेखिन्छ भने, मान्छे अन्तिम अवस्थामा छटपटाइरहेको हुन्छ, ठाउँमा जानुभन्दा ‘गेट वेल सुन’ प्रचार गर्छन् । मानिस अन्त्येष्टितिर लगिँदै छ, फोटो चाहिँ हाँसेको, सँगै खाएको र आनन्द साटफेर गर्दाको राख्छन् र अझ बडो जान्ने भएर ‘रेस्ट ईन पिस’ लेख्छन् । के मरेको मान्छेलाई सम्झिने अरू काम र दिन आउँदैन पछि ? त्यहि दुखको बेला तत्काल राख्नुपर्ने ? मरेको निर्जीव भएको मान्छेले दुख पाएको, चिन्ता र तनावमा रहेको अवस्था आउँछ र शान्तपूर्वक आराम गर भन्नु ? साँच्चिकै चित्त दुखाउने वा आफन्त हुन् भने हिँडेर वा सवारीसाधन प्रयोग गरेर गई भेटी कुशलक्षेम बुझ्दा हुन्न र ? आत्मियता नै थियो भने देखाउन भए पनि समवेदना प्रकट गर्न भेट्न जान केले रोक्ला ? शारीरिक कम सक्षमले त सम्झेर फोनमार्फत वा कसैलाई समाचार पठाई दुखमनाउ गरे पनि पुग्छ नि ।

अरूलाई पर्दा उसको पीडालाई कम गराउने सल्लाह दिन र आफ्नो सहानुभूति प्रकट गर्न पनि जान्नुपर्छ । पीडा परेको घटना उधिनेर भुक्तभोगीलाई बारम्बार त्यही सम्झाएर थप पीडा दिनु साह्रै निकृष्ट तरिका हो । कतिपय मानिसहरू चासो देखाउने नाममा ‘कसरी बित्नु भो ? गाह्रो र छटपटी त भएन ? बोल्न त सक्नुहुन्थ्यो ? मर्नुअघि पानी निल्न त सक्नुभयो ?’ जस्ता परिवारलाई अब कुनै काम नलाग्ने र उपयोगी नहुने कुरा सोध्न पुग्छन् । कतिपय मान्छे सान्त्वना दिने नाममा ‘कति वर्षको हुनुहुन्थ्यो ? उमेर त पुगेको थियो ? मरेर सुख पाउनु भयो, काम सबै सकेकै हो नि’ जस्ता घिनलाग्दा कुरा भन्छन् । के ती स्वनामधन्य आफन्तीलाई थाह छ, मानिसको उमेर कति हुँदा मर्नुपर्ने ? मान्छेको उमेर कसैले तोक्न सक्दैन, संसारमा गर्भैमा अधिग्रो जानेदेखि एकसय माथि बाँचेका थुप्रै मान्छेका वर्णन सुनिन्छ । त्यसैले कति वर्षलाई उमेर पुगेको मान्ने ? मरेर किन सुख हुन्छ ? मर्ने त निर्जीव भइसक्यो त, के उसलाई अब सुखदुख थाह हुन्छ र ? के के काम सकेपछि चाहिँ मर्नुपर्ने ?

कैयौँ बडो आफन्त देखाउन ‘बा त मरी हाले मलाई बाजस्तै भन्ठान, आमा त मरिहालिन् मलाई आमा सरहनै देख है’ भनी टोपल्छन् । ए बाबा, आफ्नो जन्माउने बाबुआमा जस्तो अरू हुन्छन् र भन्या ? किन त्यो नक्कली कुरा जानीजानी गरेको होला ? मान्छे बितेर शोक बार्ने आफन्तलाई कति पीडा परेको हुन्छ ? त्यो त भोग्नेलाई थाह हुन्छ । बडो हिमायती देखाउन कोही चाहिँ ‘खान बल गर्नुपर्छ, घिऊ चिनी अलि थप्नु, बरु मरिच र अदुवा लगाउनु’ भनी मधुमेह, उच्च रक्तचाप, मिर्गौला र नुनको कमी हुने रोगी आशौचीलाई उपदेश दिन्छन् । थुप्रै सामाजिक र प्रविधिगत विकासलाई दैनिकीमा लेपिएको आजको युगमा दुखसुखमा अभिव्यक्त गर्ने शब्दावली र व्यवहार फेर्नुपर्दैन र ? अब त संस्कार धान्नेले निरन्तरता दिनेभए परिमार्जन गर्नुपर्‍यो नि !

एउटा अनुभवी र सिपयुक्त मानिसले बाँचुन्जेल आफन्तको मात्र होइन मानव समाजको हितमा थुप्रै काम गरिसकेको हुन्छ र गर्नसक्छ । विशेष गरेर पाका मान्छेलाई आफन्त र आफ्नो समाजका धेरै मान्छेको हेक्का हुन्छ, गुण अवगुण थाह हुन्छ । उहाँहरूले सुखमा कामको उचित प्रशंसास्वरूप धाप मारिदिए पुग्छ । दुखमा आफ्ना सन्दर्भसहित अमुक व्यक्तिको सफलताको कथा र समाजका लागि गरिएको योगदान वर्णन गरि त्यस्ताको आफन्तलाई धैर्यसाथ असल परम्परा अघि बढाउन प्रोत्साहित गर्नुपर्छ । बरु बितेको व्यक्तिले व्यक्तिगत सरसहयोग र सल्लाह दिएको स्मरण सुनाउँदै उहाँको अर्तिले भएको उन्नति र प्रगतिका कथा भनिनु पर्छ । शोकमा परेकालाई त्यस्तै काम गर्न तपाइँको जीवन अघि बढाउन होस् भनी ढाडस दिइनु पर्छ । धरधरी रुवाउने र थप पीडाको भूँवरीमा पार्ने होइन असल पक्षको जगेर्ना गर्दै अघि बढ्न भन्नुपर्छ ।

बरु बितेका मानिसको पूरा हुन नसकेका आकाङ्क्षा, प्रयास र कामलाई बचेकाले लागिमेली गरेर सफलतामा अन्त्य गर्न हौस्याउनु पर्छ । आफूले पनि सकिन्छ भने पहिले नभएपनि अब सघाउने बचन दिनुपर्छ । परम्परागत र अनुत्पादनमुखी भन्दा उत्पादनशील काम गर्न भनिनु पर्छ । लेखपढमा अघि बढेको र कृतिमार्फत अनुभव सामाजिक काम गर्न ईच्छुक परिवार भए बितेका मान्छेको जीवनी, भनेका कुराको संस्मरण, गरेका कामको फेहरिस्त, तत्कालीन परिवेशमा पनि गरिएको दिशानिर्देश गर्ने कर्तव्य, घुमफिरका कुरा आदि छपाउने प्रचार गर्ने काम गरौँ भनी सहयोग गनुपर्छ ।

अन्त्यमा,
सबैभन्दा महत्त्वपूर्ण कुरा अमुक मान्छेकोे अनुपस्थितिमा कसरी सिलसिलेवार ढङ्गले दैनिकी र वार्षिकी योजना बनाई घर चलाउने भन्ने सल्लाह प्रमुख हो । बितेकाको अभावमा समाजमा अझ प्रभावकारी उपस्थिति राखिरहने भन्ने उपायबारे सहज र सरल छलफल गर्नुपर्छ । प्रमुख ध्यान दिने कुरा त आशौच बार्नेको स्वास्थ्यस्थिति, मानसिकता र पारिवारिक स्तर हेरेर पाका मान्छेले रचनात्मक सल्लाह र टेकोपुँडो गर्नु व्यावहारिक हुन्छ । पाका मान्छेले कहिल्यै पनि अछन्द्याईलो खुसी र नपत्याइँदो शोक देखाउँदैनन् । त्यसैले उहाँहरूकै सरसल्लाहमा अमुक परिवारमा परेको दुखसुखमा व्यक्तिगत र सामूहिक अभिव्यक्ति गरिनु राम्रो हुन्छ । हिमायती देखाउने नाममा असान्दर्भिक र दुखमा परेकालाई थप चिन्ता, खिन्नता बढ्ने र नराम्रा अपमान अनुभूति हुने कुरा गर्नुहुन्न । भेटन जाँदा भड्किलो पोसाक र उडन्ते कुरा कहिल्यै नगर्नु बेस, बरु सकिन्छ भने सम्बन्धितको संस्कार अनुसारको परिधान र व्यवहार गरिनु आत्मीयता हुनेछ ।

०००

२०७९ भदौ १८
मानिला मान्छेका धामा  (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
हामी यस्तैमा छौँ साथीहरू !

हामी यस्तैमा छौँ साथीहरू...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेका तथ्यकुरा बुझौँ !

पाका मान्छेका तथ्यकुरा बुझौँ...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x