साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोभको परीक्षामा (ए)प्लस ल्याए खन्तरे मुखियाले

उनले विष्णुलाई भने, “हे विष्णु भग्वान् ! मलाई साँच्चै बर्दान दिने नै भए मैले हिजो न्वाउँदा गरेको एक रुप्याँको उधारो सङ्कल्प मिनाहा गरिदिनोस् । मलाई तेति भए पुग्छ ।”

Nepal Telecom ad

खन्तरे मुखियाको वास्तविक नाम धनप्रसाद पाध्ये हो । उनी कहलिएका धनी हुन् । तर गाउँलेहरू उनलाई लिच्चड मुखिया पनि भन्ने गर्थे, किनभने उनी जति धनी थिए त्यति नै लोभी पनि । पैसा खर्च हुने डरले तीर्थ, व्रत, धान, धर्मको नामसमेत उनी सुन्न चाहँदैन थे । छोराछोरी भएपछि धन खर्च हुन्छ भनेर उनले बेलैमा श्रीमतीको वन्ध्याकरण गराएका थिए । इस्कुल, कलेज, मठमन्दिरबाट चन्दा माग्न आउँछन् भनेर उनले आफ्नो नाम फेरेर निर्धनप्रसाद पाध्ये बनाएका थिए । घरमा श्रीमती र उनी मात्र थिए । उनको बानी बेहोरा थाहा पाएर उनका घरमा कोही पाहुना पनि आउँदैनथे ।

उनका घरदेखि लगभग पाँच, छ किलोमिटर जति पश्चिमतिर रहेको पवित्र गङ्गा नदीमा स्नान गर्न गाउँका मात्र होइन देशविदेशका भक्तहरू पनि उनकै घरका अगाडिबाट आउने-जाने गर्थे । उनकी श्रीमती चाहिं मेलापर्वका बेला पोइका आँखा छलेर गङ्गा स्नान गर्न जान्थिन् । उनलाई आफ्नो लोग्ने पनि गङ्गा नुहाउन गए हुन्थ्यो भन्ने लाग्थ्यो । एक दिन उनले भनिन्, “मैले पुरानमा सुनेको गङ्गा न्वायो भने धनसम्पत्ति अझै बढ्छ अरे, तपैं नजाने कैल्यै ?”
“तेसो भा ता जाने थेँ, तर‘..।”
“तर…के“ ?. उनले सोधिन् ।
“गङ्गाजीमा पण्डाले दान माग्छन् अरे नि !”
“मागे पनि नदिनू नि”, श्रीमतीले भनिन् ।

भोलिपल्ट बिहानै डराउँदै डराउँदै निर्धनप्रसाद गङ्गा नुहाउन गए । बाटामा मनमनै उनले मसान-घाटमा गएर नुहाउने एउटा जुक्ति निकाले, किनभने त्यहाँ मुर्दा नल्याएका बेला दान लिने पण्डासन्डा, पुरेतसुरेत क्वै हुँदैनन् । नभन्दै उनी पुग्दा मसानघाट सुनसान थियो । त्यही मौका छोपेर लुगा खोली उनी नदीमा नुहाउन पसे । उनले पानीमा डुबुल्की मात्र के लाएका थिए ठीक त्यतिबेलै “पृथ्वीका मान्छे कतिसम्म लोभी हुन्छन्“ भन्ने शीर्षकमा अनुसन्धान गर्दै हिंडेका विष्णु भगवान् पनि पण्डाका रूपमा टुप्लुक्क त्यही मसानघाटमा प्रकट भए । उनले सो लोभी मान्छेतिर हेर्दै भने, “मनकारी जजमानको जय हो ! आज नयाँ मनकारी जजमानबाट धेरै दच्छिना पाइने भयो । महाशय, तपाईँ कति दिनलाई पुग्ने सिधा दान गर्न सक्नुहुन्छ ? एक वर्ष, छ महाना, तिन महिना ! कति ?”

दान घटाघट हुँदैगयो, तर निर्धनप्रसादले एक पैसा पनि नदिने कुरा गरे । विष्णुरूपी पण्डाले भने, “दान दिनुभएन भने तपाईंलाई यस घाटबाट एक पाइला पनि बाहिर जान दिन्न, लु नदिनुहोस् त“ ! केही नलागेपछि निर्धनप्रसाद दान दिन राजी भए । एक रुपयाँमा पण्डा र उनको सहमती भयो । त्यो पनि उधारो (पछि दिने सर्तमा) । पण्डारूपी विष्णुले सङ्कल्प भने, निर्धनप्रसादले पानी समाए ।

“बल्ल यस फालबाट उम्किएँ“ भन्दै उनी साँझमा घर पुगे । भित्र थकाइ मारेर चिया खानै लाग्दा बाहिरबाट “जजमानको जय हो“ ! भन्ने आवाज आयो । उनले श्रीमतीलाई बाहिर बुझ्न पठाए । श्रीमतीले बाहिर निस्किएर नव आगन्तुकलाई सोधसाध गरिन् र भित्र गएर श्रीमान्लाई बेलीबिस्तार लगाइन्, “तपैंले एक रुप्पेको उधारो सङ्कल्प गर्नुभाझथ्यो अरे त्यही लिन आझको पण्डा रझछ, तपैंलाई भेट्ने भन्छ ।“ ए त्यो पण्डा आइहालेछ नि ! बिरामी भझर सुत्नुभाझ छ, अलिक दिनपछि आउनू अरे भन् गएर“ । श्रीमतीले पनि बाहिर गएर त्यसै भनिन् र पण्डाले भनेको कुरा भित्र गएर लोग्नेलाई सुनाइन्- “बिरामी जजमान छोडेर जान मेरो धर्मले दिंदैन । म उहाँ निको नहुन्जेलसम्म एतै बाहिर बस्छु । खाने, सुत्ने सामान यतै बाहिर मिलाइदिनू, भन्छ त्यो मान्छे“ । श्रीमान्ले झस्किंदै भने – “लौ बित्यास पर्यो । मान्छेले था नपाउने गरी सास रोक्ने तडिका जान्या छ मैले, जा बाइर गझर मेरो सिरिमान् ता बित्नुभो भन् । अनि सारसारो रो पनि ।“ श्रीमतीले बाहिर गएर त्यसै गरिन् ।

पण्डारूपी विष्णुले भने, “ज्या है ! हुनसम्म भएछ । जन्मेपछि एक दिन जानैपर्छ । भो नरुनोस् । अब म जजमानको सद्गति गरेर मात्र यहाँबाट बाटा लाग्छु । तपाईंले यो रातीउँदो दुःख पाउनु पनि पर्दैन । म आफैं मलामी खोज्न गाउँतिर लागें । लास बासी राख्नु हुदैन ।” पण्डारूपी विष्णुले गाउँका प्रत्येक घर घरमा पुगेर एकै छिनमा मलामी लिएर आए । हतार हतार बाहिर निकालियो लास । तुरुन्तै टाँड तयार भयो । “रामनाम सत्य“ हो भन्दै निर्धनप्रसादलाई सो टाँड (अरथी) माथि राखेर बाँध्न थालेपछि उनकी श्रीमतीले डाँको छोड्दै भनिन्, “उहाँ मर्नुभझको छैन, नबाँध, सबै आ-आफ्ना घर जाओ, हे भग्वान् के देख्नुपरो नि एस्तो !”

विष्णुरूप पण्डाले मलामीतिर हेर्दै भने, “तपाईँहरू आफ्नो काम छिटो छिटो गरिसक्नुहोस् । मरेको श्रीमान् बौरिदिए हुन्थ्यो भन्ने कसकी श्रीमतीलाई नलाग्ला र ! हेर्नोस् महतारी ! तपाईँका ता श्रीमान् मात्र मरे । श्रीमती मर्नु, श्रीमान् मर्नु प्रकृतिकै नियम हो । तर मेरा ता जिन्दगीभर दानलिने जजमान पो मरे त !, त्यो पनि म यहाँ आउनासाथ । मलाई कति पिर परेको होला ! यत्रो पिर पर्दा पनि मैले रुनसम्म पाएको छैन ।” पण्डा भेषधारी विष्णुले यति भनिसक्ता नसक्ता टूँ !!! पार्दै लास बोकेर हिंडे मलामीहरू । “उहाँले उधारो दछिना नदिनलाई ठिक पारेको हो, घाटाँ नलानोस्” भन्दै श्रीमती कोकोहलोसँग रुँदै थिइन् तापनि मलामीले फिटिक्क पत्याएनन्, घाटमा पुर्याइछाडे ।

मलामीले सबै विधि सकेर सोलामा चढाए । अब विष्णुरूपी पण्डालाई के गरूँ र कसो गरूँ भयो । उनले मनमनै सोचे, “यस लोभीले मलाई पनि जित्यो । मैले लिएको लोभको अनुसन्धानात्मक परीक्षामा यसले ए प्लस ल्यायो । यस्तालाई अकालैमा कसरी मर्न दिनू !” यति सोचेर सबै मलामीले सुन्ने गरी विष्णुरूपी पण्डाले भने, “दागबत्ती दिनुभन्दा अगाडि मर्ने मान्छेका कानमा विष्णुतारक महामन्त्र फुक्यो भने ऊ पापबाट मुक्त हुन्छ ।” विष्णुका कुरालाई मन नलागी नलागी मलामीले स्वीकृति दिए । त्यसपछि विष्णुरूपी पण्डा चितामा चढे र मलामीले नसुन्ने गरी जिउँदो मुर्दाका कानमा भने, आँखा खोल म विष्णु भगवान् हुँ ।” तै हो कि त ! भनेर निर्धनप्रसादले बिस्तारै आँखा खोले । उही उधारो सङ्कल्प गराउने पण्डा पो छ ! उनले तुरुन्तै आँखा बन्द गरे । फेरि उनले मात्र देख्ने गरी पण्डारूपी विष्णुले आफ्नो चारहाते रूप धारण गरेर भने, “निर्धनप्रसादजी, आँखा खोल, पण्डाको रूपमा तिम्रो परीक्षा लिन आएको म साक्षात् विष्णु भगवान् हुँ । तिमीदेखि ज्यादै प्रसन्न भएँ, वरदान माग, जे मागे पनि म दिन तयार छु ।”

तै हो कि भनेर निर्धनप्रसादले फेरि पुलुक्क हेरे । चार हात देखेपछि विश्वास लाग्यो र उनले विष्णुलाई भने, “हे विष्णु भग्वान् ! मलाई साँच्चै बर्दान दिने नै भए मैले हिजो न्वाउँदा गरेको एक रुप्याँको उधारो सङ्कल्प मिनाहा गरिदिनोस् । मलाई तेति भए पुग्छ ।” “तथास्तु” भन्दै विष्णु भगवान् अन्तर्ध्यान भए । यही मौका छोपी निर्धनप्रसादले पनि चिताबाट जुरुक्क उठेर निर्वस्त्र घन्टाको साठी माइलको गतिमा घरतिर धाइफल ठोके । “यो जागित्रलाई नमारी हुँदैन“ भनी मलामीहरू पछिपछि खेद्दै गए । उनीहरू पुग्नुभन्दा आधा घन्टा पहिले नै निर्धनप्रसादका घरभित्र पस्ने गेटमा भोटे ताल्चा लागिसकेको थियो ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
छिमेकीका स्वरूपहरू

छिमेकीका स्वरूपहरू

काेमलप्रसाद पोखरेल
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x