हरिकला उप्रेतीशहीदको सपना
हुन पनि सहराँ त शहीदलाई साँच्चिकै शहीद बनाएकै छन् । बाटाबाटामा माटाकै भए पनि मूर्ति ठिङ्गाइदिएकै छन् । आँधीहुरी, घामपानी, धुँवाधुलो, फोहोरमैला केहीको प्रवाह नगरी अहोरात्र सपना मात्र देखिरहन्छन् है शहिदहरू भनेर प्रमाणित गरेकै छन् ।

यो शहीद भन्ने शब्द नै शक्तिशाली रहेछ । त्यसैले शहीद शब्दकै सेरोफेरामा मेरो दिमागले घेरो हाल्यो । पूरै भाषाकै कुरा गरौँ भने म पढाइलेखाइमा उहिल्यै कलमी काटिएको पोथ्रो परेँ । तपाईंले भाषाको आशा गर्नुभयो भने खासा पछुताउनै पर्छ । भाषाको बोट भनाैँ कि लगौँटी माथिको कोट भनौँ, कुरो शहीद नामको शक्तिशाली शब्दको हो । कुनै जमानामा त्यो एक शब्दले मान्छेको जिउ जोसले जिरिङ्ग हुन्थ्यो । तन, मन र आत्मा एकैचोटि छुन्थ्यो । छरिएकालाई एकै सूत्रमा उन्थ्यो र एकताको ताना बुन्थ्यो । शहीद शब्दको शक्तिले साँखेजुङको उकालोमा लखतरान परेका ढाक्रे बाका शरीरमा समेत परान थप्थ्यो । स्याप्रु बेँसीका घाँसी दाइका तालुमा शीतलता थप्थ्यो । हुरी हुर्हुराउँथ्यो, झर्ना झर्रझराउँथ्यो र जोसजाँगरले तन फर्फराउँथ्यो ।
तर आजकल शब्दको अर्थ उल्ट्या हो कि, समय कोल्टो पल्ट्या हो । यो ‘बोन्साई’ भएका दिमागले लाख कोसिस गर्दा पनि ठोस कुरा निस्किएन । यदि मान्छेको उचाइ नाप्ने कसी ‘बुद्धि’ हुँदो हो त आफू ग्याँचेमा दरिने शतप्रतिशत सत्य हो । आज एकाबिहानै मित्र मनरथ भन्दै थिए- “हिजो त गाडी नचलेर कस्तो शहिद भइयो बा ।” अस्ति असारमा बेँसी झर्या साइँला साहुको हली होमे भन्दै थियो- “आज त दार्मे गोरु दिनभर सुत्या सुत्यै गरेर शहीदै बनायो । “धनवीर साहुकाँबाट ब्याजमा धन लिएर धन कमाउन धाइफल ठोक्ने युवाजमात जाग्दै थियो- “मेनपावरले पैसा पोक्याएर न विदेश पठायो न पैसा फर्कायो, हामीलाई त शहीदै बनायो ।” यो शहीद शब्द जताततै अनेकादि लक्षित अर्थ लाग्ने गरी प्रयोग भएको पाइन्छ ।
उता सहराँ, नेताजी भोट जितेको खुसियालीमा मग्न छन् । गमक्क गम्कँदै, रङ्ग न ढङ्गसँग बम्कँदै अभिनन्दन गोष्ठी र भेटघाटमा व्यस्त छन् । जहाँ जान्छन् त्यहीँ भावविह्वल भएर बर्बराउँछन्- “शहीदको सपना साकार पार्नुछ ।” हुन त हो, तैपनि सोध्न मन लाग्छ । ए नेताजी लौ न बताइदिनोस् के शहीदले सपना मात्रै देखे ? यति औधि सपना देख्न त शहीदहरू सँधै कुम्भकणर्जस्तै सुत्नुपर्छ । के साँच्चै उनीहरू त्यसै गरी सधैँसधैँ सुतिरहे त ?
मलाई अझै याद छ, तिलबारीको तुम्बाले पाली छाउन आउँदा भन्या कुरो- “आम्मै कान्छी ! काँको हुनु नि, राति आउँथ्यो त्यो माइली र कुप्पी देउन बोजु भन्थ्यो । अनि खै केकेजाती पढेर लेख्तै पो गथ्र्यो । ब्यानै भाले बास्नु पाको छैन ऊ त लौलौ बाजेबोजु बस है भन्दै पो हिँडिहाल्थ्यो । बिचरा असल थ्यो, पछि त किन पो हो पापीहरूले त मारि पो हालेछन् ।”
ती, तुम्बाका कुरा सम्झेर म आँसु झारौँ कि ? उता नेताका सभाको सपना साकार पार्ने सारगर्भित भाषण सुनेर म मख्ख परौँँ ? हुन पनि सहराँ त शहीदलाई साँच्चिकै शहीद बनाएकै छन् । बाटाबाटामा माटाकै भए पनि मूर्ति ठिङ्गाइदिएकै छन् । आँधीहुरी, घामपानी, धुँवाधुलो, फोहोरमैला केहीको प्रवाह नगरी अहोरात्र सपना मात्र देखिरहन्छन् है शहीदहरू भनेर प्रमाणित गरेकै छन् । बर्सैपिच्छे सपना मात्र देख्ने शहीदको सम्मान गर्दै सालिकमा समावेशी हातहरूले फूलमालाका खात पहिर्याई शहीदको सपना सदासदाका निम्ति साकार पारिरहेकै छन् । त्यसैले त शहीद शब्द नै शक्तिशाली छ हैन त ?
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest











































