कृष्ण प्रधानआधुनिक वाणप्रस्थ
हेर मैले मेरो फोल्डिङ दाँत राति फुकालेको समयमा गिजा भाउचर सकिएको मोबाइलजस्तै हुन्छ । बिहानै फोल्डिङ दाँत गिजामा फिट गरेपछि गजक्क हुन्छ ।

श्रीमती दुर्गादेवीको कम्पित चर्को स्वर कोठाभरि गुञ्जिन्छ – औ सुन्यौ ? श्रीमान हजूरले सुनोस् पनि कसरी ? घरै थर्काउऩे गरी टिभी खोलेर बसेका छन् । फेरि मिसाइल पड़्केकै बराबरी आवाज कोठाभरि थुरिन्छ- तिम्रो कान हो कि च्याउ हो’कि क्या हो हन । त्यो बोका बाकसको भोल्यूम अलिक कम्ति गर ता पहिला । श्रीमती दुर्गादेवी फेरि फत्फतिन थालिन्- आफूले कान सुनेन भन्दैमा गाउँ-घरकाहरूलाई पनि मोरोले बहिरा नै ठान्न थालेका छन् । वल्लो पट्टिका पल्लो पट्टिकाहरूका कान पनि खाइसक्यो होला । श्रीमती दुर्गादेवीको गनगन सकिएको छैन यथावतै छ- हेर…हेर…यी बूढ़ाले अहिलेसम्म पनि नसुनेका । यी बूढ़ाको काम पनि गएछ, टाउको पनि गएछ । फेरि कोठै थर्किने गरी कराउँछिन्- औ सुनन नै ढोका बन्द गर्न सकिनँ मैले । मेरो बल जति सबै यी बूढ़ालाई स्याहार्दै सकिसकेछ । तरै पनि यी दुर्बल शरीर लिएर सबै सम्हालिरहेकी छु । उनलाई ता के छ र ? उनको रिटायरमेण्ट छ, हेर न आरामले सोफामा बसेका । यो घरमा मर्नु अघिसम्म मेरो रिटायरमेण्ट छैन ।
दुर्गादेवीको गनगन यथावत् छ । लोग्ने सोफामा गजधम्म बसी टिभी हेरिरहेको कोठामा पसी टिभीको कान निमोठिदिन्छिन् । एक धुनमा टिभी हेरिरहेका पतिदेव जङ्गबहादुर एक्कासी गर्जन्छन्- ओ स्याट् ! दुर्गी… के गरेकी तिमीले ? एउटा इम्पोर्टेण्ट न्यूज हेर्दैछु । तिमीले टिभीको कान निमोठेर टिभी झ्याप्पै पारिदियौ ?
गर्गादेवी बम्किन थालिन्- अँ…कतै नभाको इम्पोर्टेण्ट न्यूज । अचेलको न्यूज त्यो ता हो नि । हत्या, काटमार, राजनैतिक नेताहरूको एकार्कामा हिलो छेपाइ । कसको स्वास्नी कोसित लागिन्, कसको लोग्ने कोसित लागे… त्यति ता हो नि । त्यसबाहेक अरु कै नै पो हुन्छ हौ ?
– अरे लाटी ! फेरि आएको नयाँ कोरोनाले दुबईमा त कतिजना मरसके अरे !
– दुबईमा कोरोना हुन्छ तपाईलाई चाहिँ किन क्वाइँ-क्वाइँ नि !
– अरे लाटी ! तिम्रो यौवनकाल त्यतै बितेको । तिमीलाई मातृभूमिको माया लाग्दैन ?
– माया लागेर पनि के गर्नु ?
– कस्तो कुरा गरेकी दुर्गी तिमीले ? दुबईमा हाम्रा छोरा-बुहारी, नाता-नातिनाहरू छैनन् ?
– तपाईजस्ता लट्ठक छन् कि क्या हो मेरा छोरा-बुहारी, नाता-नातिनाहरू ? उनीहरूले इम्पोर्टेण्ट खबर जान्दैनन् ? हाम्रो यता कोरोना हुँदा उनीहरूले हाम्रो खोजखबर लिए ? बूढ़ा मुवा-बुवा मरे कि बाँचे भनेर एकदिन फोन गरे ?
– हामी दुई पनि कोरोनाले भेटर ठहरै भए होलान् भनी फोन नगरेका होलान् नि । अब यसै ता भन्नुपर्यो ।
– हामी अब फाल्तु भइसकेका छौं ।
फोल्डिङ दाँत जिब्राले मिलाउँदै बूढ़ा जङ्गबहादुर बोले- उनीहरूका पनि ता आफ्नै संसार छ दुर्गी । आफ्नै व्यस्तता छ । केट्केटीलाई पढ़ाउने व्यस्तता…आफ्नै काममा व्यस्तता । यो ता उनीहरूको इम्पोर्टेण्ट कुरा हो । अहिले हामी दुइ दाँत र गिजाको वाणप्रस्थको जीवन चल्दैछ । आ…होस्…यी सबै कुराहरू लिएर टाउको दुःखाएर के नाफा ? यो समयमा माया-ममता सबै त्याग्नु उचित हो । यो उमेरमा त्यस्ता नकारात्मक कुराहरू सोंच्नै हुन्न ता प्रिये ! अब यताउति मन नलगाएर धार्मिक पुस्तकहरू पढ़ । धृतराष्ट्र-युधिष्ठिरहरूले ता आफूलाई कति आदर गरेर राखेका थिए । अन्त्यमा वैराग्य कोरोनाले भाँड़भैलो मच्चिएन ? भन ता ।
– अचेल रामायण र महाभारतको युग छैन बुझ्नुभो हजूर ।
– तिमीले महाभारत पढ़ेकी छैनौ मोरी ! यो सत्तरी वर्षको उमेर पनि तिमी मोडर्न फेसन डिजाइनका म्यागेजिन हेर्छ्यौ । त्यो ओलिफेमको क्याटलाई मक्ख परेर हेरिरहन्छौ । धारावाहिकको एकेकवटा नाम तिमीलाई कण्ठस्थ छ । तर तिमीलाई महाभारतका कुन्ती, द्रौपदीहरूबारे एक रति ज्ञान छैन ।
– हन हजूरले मलाई मात्र देख्नुभो ? आफू चाहिँ नि ! जति उमेर छिप्पिँदै जाँदैछ उति…उति एम टिभीमा तरुणीहरूको नाँच हेर्नमा मस्त । तरुणीहरूले कम्मर हल्लाएका आँ….गरेर हेर्नुहुन्छ र ता बोलाउँदा पनि हजूरको कानमा बतास लाग्दैन । म ता महाभारत-सहाभारत केही बुझ्दिनँ ।
– यो वाणप्रस्थको समयमा इण्टरटेन्मेण्ट भन्ने नै के छ र भन ता दुर्गी । टाइम पास गर्नलाई मात्र टिभी हेर्छु नि । टिभीमा तरुणीहरूले कम्मर हल्लाएका ता हेरेँ नि… तर कम्मरको लोभमा राल चुहाउँदै टिभीलाई नै च्याप्पै अङ्गालो ता हालेको छैन नि । मैले टिभी हेरेको तिमीलाई आह्रिस लाग्यो भने लु अबदेखि टिभी कहिल्यै हेर्ने छैन ।
– किन नहेर्नु टिभी ? मेरो प्रश्न त्यो होइन बुझ्नुभो हजूर । तपाई टिभीमा पनि कहाँ राम्ररी हेर्नुहुन्छ हजूर । घरै उचाल्ने गरी टिभीको साउण्ड खोल्नुहुन्छ अनि आफू चैं सोफामा बसेर रैँ-रैँ झुल्नुहुन्छ ।
– खै कहाँ झुलेँ म ?
-ख्वार-ख्वार सुतेपछि झुलेको कहाँ देखिन्छ अन्त । पखनोस् ल मेरो सुन बेचेर घरमा एउटा सिसी टिभी क्यामेरा ल्याएर झुण्डाउँछु । अनि मात्रै रैँ-रैँ झुलेको नझुलेको थाहा पाइहालिन्छ नि ।
खोंचे थाप्दै बोले जङ्गबहादुर- ए म रैँ-रैँ झुलेँ ? अनि राति सुतेकी बेलामा घर उचाल्ने गरी घुर्ने चैं को होला को’नि ?
– हन तपाई रातभरि नसुतेर म घुरेकी पो सुनिरहनुहुन्छ अनि !
– तिमी घुरेका जानी-जानी सुनेको हो र मैले ? तिम्रो घुराइले मेरो निद्रा बिच्केपछि तिम्रो घुराइ नसुनेर रातभरि के गरिबस्नु ? सुनसान रातमा तिमी त घुर्दा कस्तो डरलाग्दो सुनिन्छ । फेरि राति तिमी दैला-खिड़्की डामडुम थुनेर सुत्छु भन्छ्यौ मोरी । एकातिर दैलो खिड्की डामडुम अर्कोतिर बमबाष्टिक घुराइको उधुम मच्चाउँछ । त्यतिमात्रै कहाँ र ! तिम्रो घुराइको आवाज घरभित्रै रुमलिएर सोझै आवाज थुरिएर मेरो कानको दुलामै पर्दोरहेछ । दैला-खिड्की खुल्ला भए पो तिमी घुरेकी आवाज बाहिर जानेथ्यो ।
– ए बल्ला चोर पक्रेँ । अरु बेला बिजुलीको बील तिर्न, ग्यास बुक गर्नु जानू न भन्दा कान सुन्दिनँ गाड़ी-घोड़ाको डर लाग्छ भनी टार्ने मान्छेले राति मैले घुरेको चाहिँ सुन्नुहुन्छ होइन ?
– यो कान भन्ने कुरा नै यस्तो हो दुर्गारानी । राम्रो कुरा पटक्कै सुनिँदैन तर नराम्रो कुरा भने ठ्याक्कै कानैमा पस्छ ।
– को’नि….को’नि जति भएका कुरा चाहिँ हजूरलाई नै आउँदोरहेछ ।
– तिम्रो घुराइ ता भयो भयो रातभरि दारा किटेर वाक्कै पार्छ्यौ ।
– मैले दारा किट्दा चैं के भयो ? हजूरको ता दाँत भए पो दाँतको मर्म बुझ्नुहुन्छ ।
– किन मैले फोल्डिङ् दाँत लाउँछु भनेर मलाई तिमीले खिसी गरेकी ? अँ…खिसी गर्छ्यौ नै भने बाहिर टेरिसमा गएर जोर-जोरले कराऊ न…
– खिसी किन गर्नु मेरा पतिदेवलाई ? बिच्चाको कुरा नगर्नू न । मैले तपाईंको फोल्डिङ दाँतको खिसी गर्ने भए हजूरको फोल्डिङ दाँत ब्रसले घोटी-घोटी सधै मस्काइदिन्थेँ ? राती पानीमा भिजाएर राखेको गिलासबाट फोल्डिङ दाँत धोइ-पखाली हजूरको दाँतमा फिट गरिदिन्थेँ ?
– यस.. यस । त्यसैको नाउँ ता अर्धाङ्गिनी । यो मेरा दुई बहिरा कानहरू पनि फोल्डिङ हुँदा हुन् ता दुवै कानलाई फकलक्कै फुकालेर यसभित्रका कानेगुजीजति सबै निकालिदिन्थ्यौ होली होइन ?
– छ्या निकाल्थेँ हुँला हजूरको कानेगुजी । मलाई घिनलाग्दैन, लाग्दैन होला हई !
– अरे ! के को घिन ?
कुरा काट्दै दुर्गादेवी बोलिन्- भयो भयो…कुरा नगरौं । दाँत फोल्डिङ भयो भन्दैमा कान पनि फोल्डिङ् ! ए रात्तै…..
– कानको कुरा मात्रै गर्छ्यौ तिमी दुर्गारानी ! म ता भन्छु, नाक पनि फोल्डिङ हुनुपर्ने । नाकका दुलाभित्र चिलाउँदा फोल्डिङ नाक प्वाक्कै निकाली औँलो घुसारी-घुसारी कनाउनु कति मज्जा आउँथ्यो होला ।
– कसको नाक फोल्डिङ हुनुपर्ने कसको ? मेरो ?
– तिम्रो नि अरु कसको हुनुपऱ्यो नि !
-मेरो नाक चैं किन फोल्डिङ हुनुपऱ्यो अब ।
– तिम्रो नाक ता फोल्डिङ हुनुपर्ने नितान्तै आवश्यक छ ।
– किन मेरो नाक ? किन चैँ ?
– किन र ! अरु बेला जेजस्तोसुकै होस् राति तिम्रो फोल्डिङ नाक खोलेर राख्नु पाए यो घुराइवेदनाबाट सामान्य भए पनि सञ्चो हुनेथ्यो मलाई ।
– फोल्डिङ नाक खोलेर राख्दा राति बिरालोले लगिदियो भने नि !
– तिम्रो सिङानैसरिको नाक के लान्थ्यो र हाम्रो पुसीले । लाने भए ता मेरो फोल्डिङ दाँत पनि राति खोलेर राख्दा घरको टमीले कत्रो न्याम-न्याम परेको हड्डी पायो भनेर उहिले नै सखाप पारिसक्नेथ्यो क्या !
– कुकुर र बिरालाले लान्छ भनेर ता तपाईको फोल्डिङ दाँत राति गिलासमा भिजाएर राखिदिएकी । अनि तिम्रो नाकलाई पनि बोलमा भिजाएर राख्दा भइहाल्ने हो नि…।
– नाकलाई किन भिजाएर राख्नुपर्यो । हजूरको फोल्डिङ दाँत पो आन्द्रा-भुँड़ी गुँड़ुलिने गरी ह्वास्सै गन्हाउने दाँत हाम्रो पुसीले के लान्थ्यो होला ।
– मेरो फोल्डिङ दाँत सुङ्ने त्यसले चान्स नै कहाँ पाएको छ र दुर्गारानी । एकपल्ट पनि त्यसो मेरो फोल्डिङ् दाँत त्यसको मुखमा पर्यो कि तिमीले छुर्पी टोकेजस्तो कोट्याक्-कोट्याक गरेर रात फर्लङ्ङै काट्नुपर्छ ।
– को’नि…को’ तपाईको फोल्डिङ दाँतमा मक्ख परेर रात फर्लङ्-फर्लङ् काट्छ कि दाँत ह्वास्सै गन्हाएर हाम्रो पुसी उल्टी गरेर अलस-तलस पर्छ ।
– हजूरको फोल्डङ दाँत खोलेर राति पानीमा भिजाइहाल्नोस् है । बाहिर राख्दा राति फोल्डिङ दाँत कस्तो डरलाग्दो देख्छ । राम्ररी हेर्दा हजूरको दाँतले मलाई जिस्काएको जस्तो लाग्छ….।
– ठिकै छ ता अन्त । मेरो दाँत देखेर तिमीलाई डर लाग्छ भने अबदेखि मेरो फोल्डिङ दाँत फ्रिजमा राखेर सुत्छु । कसैको र्याङ् न ठ्याङ् ।
– के अरे ! के अरे ! फ्रिजमा राख्नुहुने हजूरको ह्वास्सै गन्हाउऩे दाँत ।
– अन्त कहाँ राख्नु ता…तिम्रो ब्यागमा ?
– आच्ची छ्या…छ्या । ब्यागमा राख्नु दिन्छु पो होला । औंली दिँदा डुँड़ुलो निल्नु खोजेर ता कहाँ हुन्छ हौ हजूर ।
– त्योस भए फ्रिज नै ठिक छ होइन ?
– हजूरको फोल्डिङ दाँत फ्रिजमै किन राख्नुपर्यो ? रातभरि फ्रिजमा दाँत राख्दा भोलिपल्ट फ्रिज नै दङ्ङै गन्हाउँदैन होला हई !
-त्यति साह्रो ता खिसी नगरन प्लिज । जेजस्तो भए पनि आखिर यो फोल्डिङ दाँत तिम्रै पतिदेवकै ता हो ।
– हजूरको फोल्डिङ दाँतलाई अन्त मैले पनि भाड़ामा वा इन्स्टलमेण्टमा ल्याएकी ता कहाँ भनेकी छु र मेरा राजा हजूर । हजूर मेरा आराध्यदेव हुनुहुन्छ । हजूरको दाँत फोल्डिङ भए पनि वेल्डिङ भए पनि हजूरको गिजाको ग्याटिश मात्रै नभएर मेरो प्रेष्टिज पनि हो । हजूरसित जतिनै कपटी गरेर हजूरको फोल्डिङ दाँतको चित्त दुःखाउनु चाहन्नँ म । मलाई विश्वास गर्नोस् ।
– मेरी दुर्गारानी ! हामी दुई लोग्ने स्वास्नी नै आखिरमा दाँत र गिजाजस्तै हौँ । हेर मैले मेरो फोल्डिङ दाँत राति फुकालेको समयमा गिजा भाउचर सकिएको मोबाइलजस्तै हुन्छ । बिहानै फोल्डिङ दाँत गिजामा फिट गरेपछि गजक्क हुन्छ । त्यसरी नै तिमी मेरो जीवनको दाँत हौ भने म तिम्रो जीवनको गिजा हुँ मेरी रानी ! जब म तिमीसित हिँड़्न थाल्छु त्यतिबेला म आफैलाई कति भाग्यमानी ठान्छु ।
– यो बूढ़ेसकालमा…..
कुरा काट्दै जङ्गबहादुरको मलिन स्वर कोठाभरि बामे सर्न थाल्छ- हँ…यो बूढ़ेसकाल भन्ने शब्दको उच्चारण गर्दै नगर कम्तिको पनि मेरो छेउमा । हाम्रो अनुहराभरि बूढ़ेसकालका रेखाहरू तैँछाड़्-मैँछाड़् गरिरहेका होलान् । चाउरी परेका हाम्रा मुहारमा बूढ़्याइँ आरोहण-अवरोहण गर्दा हुन् । यी सबै ता बाहिरी कुराहरू हुन् । हामीभित्रको मन अझै पनि तन्नेरी नै छ । म ता भन्छु बूढ़ेसकाल भनेको नै लोग्ने-स्वास्नीको निम्ति रोमाण्टिक क्षणको स्लो मोशन रिप्ले हो ।
ओँठ लेब्र्याउँदै श्रीमती दुर्गा देवी बोलिन्- उस्… को’नि़ है… को’नि जत्ति भएको कुरा तिमीलाई नै आउँदोरहेछ ।
– इज इज फ्याक्ट माई डियर डार्लिङ । तिमी मसित रिसाउँछ्यौ… म तिमीलाई फकाउँछु ; तिमी फकिहाल्छ्यौ । फेरि म ठुस्किँदा तिमी फकाउँछ्यौ मलाई ; म फकिहाल्छ प्रिये । योजस्तो रोमाण्टिक क्षण कहाँ हुन्छ ? यौवनकालमा तिमी रिसाएर वा ठुस्केर बस्दा घरभित्र डाङ्डाङ् डुङ्डुङ् गरेर तिम्रो सातोपुत्लो उडाउँथेँ । तर यो वनकालमा हामी दुई लोग्ने-स्वास्नी रिसाउँदा वा ठुस्किँदा अर्कै आनन्द र मज्जा आउँछ होइन र !
– खै को’नि ।
– खै को’निको कुरा छैन दुर्गी… खै को’निको कुरै छैन । एउटा सानो उदाहरण तिमीलाई दिन्छु, मैले सामान्य कान नसुन्दा बिच्किँदै “यो मान्छेको कानमा तातो झीरले घोँच्नुपर्छ” भन्छ्यौ तर तातो झीरले घोँच्नुपर्ने कानमा तिमीले नै सधैँ सुत्ने बेलामा बड़ो होशियारपूर्वक इयर ड्रप हालिदिन्छ्यौ । वाह ! योजस्तो रोमाण्टिक क्षण यो बूढ़ेसकालमा अरु के हुनसक्छ र ? (प्रसङ्ग बदलेर) सुन दुर्गी….। वासुदेव हलमा आज दामी ईङ्लिश पिक्चर छ । हेर्नु जाने हो ?
– टिकट पाइएला के ?
– छिटो तयार होऊ ।
सँगसँगै दुर्गादेवीको तरुणीसुलभ मेक अप आरम्भ भयो । ओँठमा हल्का पिङ्क कलरको लिपस्टिक दल्दै बोलिन्- वासुदेव हलको उकालो सिँढ़ीमा उक्लिन सक्नुहुन्छ के ता !
अधरभरि एक राश मिठाइलो मुस्कान लिएर बोले जङ्गबहादुर – मसित साथमा मेरो दुर्गादेवी हुँदाहुँदै वासुदेव हलको सिँढ़ी मात्रै ? यो जङ्गबहादुर कञ्चनजङ्घा पनि उक्लिन सक्छ ।
दुवै लोग्ने-स्वास्नी वासुदेव हलको सिँढ़ी उक्लिन थाले । अघि-अघि दुर्गादेवी अनि पछि-पछि दुर्गादेवीको साड़ीको आँचल समातेर पचहत्तर हिउँद छिचोलिसकेका जङ्गबहादुर सिँढ़ी उक्लिन थाले ।
महाभारतमा गान्धारी र धृतराष्ट्रको वानप्रस्थमा वनगमनको वणर्न जसरी गरिएको छ ठीक त्यस्तै नै देखिरहेथ्यो दुई दम्पत्ति दुर्गादेवी र जङ्गबहादुरलाई ।
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest








































