अशोककुमार शिवाभान्साको कोलाहल
जागिर खाइरहँदा हाकिमको गुलामी गर्न ढङ्ग नपुग्दा होस् वा सँगै काम गर्ने सहकर्मीले आफ्नो स्वार्थ सिद्ध गर्न हाकिमलाई नाना तरहको भए-नभएको पोल सुनाउँदा होस् झर्रो अगुल्टोले दह्रो खाइएको स्मरण छ ।

आज एकाबिहानैदेखि झरी परेकोले ओछ्यान छोडेर उठ्न केही ढिला भयो । बिस्तारै उठेर हल्का तातोपानी पिउनु पर्यो भनेर भान्साकोठाको ढोका यसो के खोलेको थिएँ मेरिआम्मै, भान्सा भरी कोलाहल, म त एकछिन छक्क परेर सुनिरहें । फ्रिजभित्र दुईवटा डिब्बाहरू क्वाँ क्वाँ डाँको छाडेर बिलौना कहँदै रुदै रहेछन् । यस्तो चिसोमा हामी अदुवा र लसुन बोकेर डि-फ्रिजमा जमेर बस्नुपर्यो भन्दै बिलौना गरिरहेको सुनेर केही सान्त्वना दिन भए पनि एकछिन दुईवटै डिब्बालाई बाहिर झिकेर डाइनिङ टेवलमाथि राखिदिएँ ।
टेवलमाथि उभिएका तीनवटा भुसतिघ्रे थर्मसहरूले गिज्याएर बिचरा थरथर काम्दै बसेका डिब्बालाई झनै रुवाइदिएँ । थर्मसहरू जाडोमा तातोपानी बोकेर बस्न पाएकोले त्यसै दङ्ग पर्ने झन अर्काको चिसो व्यथाको गाथा सुनेर त झनै दङ्ग । म त्यसै त सन्काहा त्यस्मा पनि त्यस्तो कुरा बुझेपछि नसन्की बस्न सकिनँ र तीनवटै थर्मसलाई साफ थर्काइदिएँ । एउटा सबैभन्दा पुरानो मेरा छोराछोरी भन्दा जेठो थर्मसको चित्त भङ्गेराको पित्त जत्रै रहेछ, बर्बर आँसु झार्दै रुन्चेस्वरमा भन्यो “पख्नु न आमा त आउन्, म सबै कुरा लगाई दिन्छु” मैले भने “के कुरा लगाउँछस् ?” उस्लाई थाहा छ रे के कुरा लगाउने भनेर । मैले मनमनै भने, बाल मत्लव ।
वाल मतलव त भनें तर अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्से झैं पनि भएँ । कारण पटक पटक अगुल्टोको मारमा परेको छु नि त । जागिर खाइरहँदा हाकिमको गुलामी गर्न ढङ्ग नपुग्दा होस् वा सँगै काम गर्ने सहकर्मीले आफ्नो स्वार्थ सिद्ध गर्न हाकिमलाई नाना तरहको भए-नभएको पोल सुनाउँदा होस् झर्रो अगुल्टोले दह्रो खाइएको स्मरण छ । जसको कारण हाकिम बक्र भई प्रोमोसन नै रोकिदियो । कतै बुढीले पनि थर्मसको नाना थरी पोल सुनेर मेरो भातभान्सा रोक्का त गर्दिनन् ? ह्या ! जे त होला । चित्त बुझाएँ ।
थर्मस मात्रले पोल लगाउँछु भन्दा त ठिकै थियो तर म अलि हच्किएको मौका छोपेर प्रेसरकुकर, रोटी सेक्ने तावा, लोहोरा सँगै सिलौटो र कराई आदिले समेत पो हो हो हामी पनि पोल ल लगाउँछौं भन्छ बा । रिसले आँखा देखिनँ । म आफूले चाहिं भातभान्सा बनाउँदैपिच्छे सबै चिजलाई सरसफाई गरिवरी च्याट्ट पारेर राख्छु । त्यत्ति गर्दा पनि यिनलाई के नपुग्दो रहेछ खै भन्ने लाग्यो । प्रेसरकुकरलाई के भो तँलाई चाहिँ भनेको अस्ति एकदिन राती भैगयो यसैमा भोलि बिहान दाल पकाएर खन्याउँछु र भात पकाउँछु कत्ति छाकैपिच्छे माझिरहनु भनेर राखेको त रातभर एलर्जी भएर हैरान भयो रे । रोटी सेक्ने तावालाई आवश्यकता भन्दा बढी तताएँ रे । लोहोरो सिलौटामा डल्लेखुर्सानी पिँधेर नपखाली छोडेर बिजोक पारें रे । त्यस्तै गुनासो कराईको पनि, लौ जे त होला लगाओ न त आउने बित्तिकै पोल भनिदिएँ । यत्रैसित, मेरो बारेमा कसले पो पोल नलगाएको हो र डराउनु ।
यो दुनियाँमा कि त चम्चेको चल्छ कि त चिप्लो दल्नेको भन्ने सम्झँदै यसो झ्यालतिर हेरेको दाल फिट्ने फिर्के फुल्ल मुख फुलाएर बसिरहेको रहेछ । के भयो तँलाई चाहिं भनेको मरिगए यो भयो उ भयो भनेको होइन । बरु सोझै बोलेर भन्नेहरूसँग के हो कसो हो थाहा पाउन सकिन्छ यो घुस्घुसे कप्टीसँग कसैगरे पनि सकिँदैन । केही बोले पो थाहा पाउनु र आफू क्लियर हुनु । भाँडा सफा गर्ने प्रिल आ-आ छोड्दिनुस म छु तपाईंको पक्षमा मलाई सबै थाहा छ चिन्ता गर्नु पर्दैन भन्दै उभिएपछि ढुक्क भएँ र बिहानको भान्सोको तयारीतिर लागेँ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































