अशोककुमार शिवामेरो बेलायती कोट
केही बेरमा निन्द्रा लाग्यो र अगेनाको डिलमा परालको ओछ्यान हालेर सुतियो । दिउँसोको पानीले कोट मज्जाले भिजेकोले कोट पनि सुकोस् भनेर कोट लगाएरै सुतेको राती पराल सल्किएर कोट समेत पोलिएछ ।

भाइ कोट खोई ? ल्याएनौ त अझै । भाई केही बोलेन मलाई हेरी मात्रै रह्यो । मैले फेरि भनें मेरो कोट ल्याउ भाइ मलाई चाहियो । उस्ले अक्मकाउँदै भन्यो “दाइ मलाई हजुरसंग भेट गर्न पनि डर लागिरहेको थियो । हजुर ठ्याक्क बाटोमा भेटिनुभयो ।” मैले भने किन र ? उसले अनुहार निहुरो पार्दै भन्यो “दाइको कोट पिठ्युँमा पोलेको छ ।” हँ मैले आश्चर्य मान्दै भनें । ऊ झन डरायो । भएको कुरा भन के को ल्याङल्याङ गरिरहेको ? उस्ले हात जोड्दै माफ़ी माग्यो ।
२०३९ सालको माघ महिनाको एकदिन बिहानै स्याङ्गजाको खै कुन गाउँमा हो बस्ने एकजना भाइ (अहिले मैले नाम बिर्सिएँ) ले मेरो कोठामा आएर मेरो कोट ५ दिनको लागि माग्यो । एकै घरमा डेरा गरी बस्ने भएकोले हामी एकापसमा सरसहयोग गरेरै बस्दथ्यौं । किन चाहियो भाइलाई कोट भनेर सोध्दा गाउँमा आफन्तको बिवाह भएकोले जानपर्यो भन्यो । ल न त अब बिवाहमा नै जाने भए लैजाऊ न त भनेर ह्याङ्गरमा राखेको मेरो बेलायती कोट झिकेर दिएँ । ऊ कोट लगाएर त्यसै दिन घरतिर गयो ।
ऊ एक हप्तापछि काठमाण्डौं त फर्कियो तर मेरो कोट फिर्ता भने गरेन । पहिला पनि एकजना हेटौडा राक्सिराङ बस्ने पाराङ भन्ने भाइले मेरो एकजोर निलो लिभाइज सुट लगाएर घर गएको फर्केर आएपछि पनि मलाई फिर्ता नगरी लगाई रहेको र धेरै समय अर्को मान्छेले लगाएको लुगा के मागेर लगाउनु भनेर मैले मागेको थिइनँ । पाराङ काठमाडौंमा ट्याक्सी चलाउने काम गर्दथ्यो । बाटोतिर भेट त भैरहन्थ्यो तर नमस्ते दाइ मात्रै भन्थ्यो । पहिल्यै यसरी चेतबाबा भैसकेकोले पनि मैले स्याङ्जाली भाइलाई मेरो कोट फिर्ता मागेको ।
स्याङ्जाली भाइले मलाई उसको र कोटको यसरी वृतान्त सुनाए । “विवाहमा जन्ती गएको बाटोमा पानी पर्यो । दिन धेरै चिसो भयो । जन्ती दुलहीको घरमा पुर्याई भोज भतेरमा सामेल भई बिवाहको जग्गेको कर्म सुरु भयो । म लगायतका केही साथी तातोको खोजीमा लाग्यौं । अलि पर आगो बलेको देखेर हामी त्यतातिर गयौं । सबैजना अगेना वरिपरी थियौं । केही बेरमा निन्द्रा लाग्यो र अगेनाको डिलमा परालको ओछ्यान हालेर सुतियो । दिउँसोको पानीले कोट मज्जाले भिजेकोले कोट पनि सुकोस् भनेर कोट लगाएरै सुतेको राती पराल सल्किएर कोट समेत पोलिएछ । जसोतसो थाहा पाएर हामी अगेनाको मान्छे जति जर्याक्जुरुक उठेर आगो निभायौं । दुःखको कुरा मैले तपाईंको कोट पोलिनबाट जोगाउन सकिनँ ।”
मेरो मुख रातो भयो । ऊ अझै डरायो । भैगयो त अब के गर्नु भुसुक्कै पारिहालेछौ भने । मेरो बेलायती कोटको ईहलिला समाप्त भयो । म धेरै दुःखी त भएँ ता पनि दुःख भने देखाइन ।
२०७८/१०/२८, शुक्रवार
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































