रुद्र ज्ञवालीविचल्लीमा मुसाहरू
कस्तो सकस ? भाग्ने कि मृत्युपत्रमा दस्तखत गर्ने ? भागौं ढाडेको आक्रमण, नभागौं जीवनभरको दासता । मुसाहरू अहिले बिचल्लीमा छन् ।

“महाराज ! अब यो मुसा राज्यको राजपाठ हजुरले लिइस्सिनु पर्यो ।” निन्याउरा अनुहारका केही थान मुसाहरूले बिन्ति बिसाए ।
“राजपाठ त लिने । तर तिमीहरूको के भर भयो र ? जहाँ बस्यो त्यहीँ दूलो पार्छौ ।” महाराजले ओंंठ लेब्र्याए ।
“त्यस्तो मर्जी नहोस् महाराज । बरु हामी हाम्रो मृत्युपत्रमा दस्तखत गर्छौ । शरणको मरण नगरिस्स्यो” मुसाहरूले कपाल कन्याउँदै भने ।
महाराजलाई मुसाहरूप्रति करुणा जाग्यो र एउटा सहमति बन्यो ।
सहमति अनुसार मुसाहरू घर फर्के । उनीहरुले घरका जग र पर्खालहरूमा प्वाल पारे ।
जब घरको जग भासियो र भित्ताहरू चर्किन थाले मुसाहरूले महाराजको राज्याभिषेक गरे ।
“ल अबदेखि पुराना थोत्रा घरमा नबस्नू । यो शिविरमा बसाई सर्नू र आफ्नो भागमा जे पर्छ त्यो बाँडीचुँडी खानू । बढी काईँकुईँ गरेको मलाई मन पर्दैन नि !”
“आज्ञा शिरोपर प्रभु ।” प्राय मुसाहरू खुशीले गद्गद् भए । तर केही मुसा भने निन्याउरो मुख लाएर उभिइरहे ।
“हैन के पुगेन तिमीहरूलाई ?”
“नपुगेको हैन महाराज ! एउटा समस्या पर्यो । घरको एउटा सन्दुकको ताल्चा अलि बलियो परेछ । न खोल्दा खुल्छ न ठोक्दा फुट्छ । त्यो नखुल्दासम्म हामीले त्यो घरको ढुकुटी चोर्न नपाउने भयौं ।
“ए ए अनि के गर्नु पर्यो त मैले ?”
“मुसलास्त्र प्रहार गर्नु पर्यो महाराज ।”
“मुसलास्त्र ?”
“हो दयानिधान ! हाम्रो रक्षार्थ अध्यादेश नामको मुसलास्त्र प्रहार गर्नु पर्यो ।” मुसाहरूले बिन्ती बिसाए ।
महाराजले ज्यान तन्काउँदै सन्दुकमा मुसल प्रहार गरे । मुसलको प्रहारबाट सन्दुकको एकछेउमा प्वाल पर्यो र मुसाहरू त्यसै छिद्रबाट आभूषण चोरेर भागे ।
शिविरमा मुसाहरूको आमोद प्रमोद चलिरहेको थियो । यस्तैमा अकस्मात एउटा ढाडे शिविरमा आयो र मृत्यपत्रको स्मरण गरायो । स्मरण मात्र होइन म्यादभित्र मृत्युपत्र अनुमोदन नगरे शिविरमा आक्रमण गर्ने धम्की समेत दियो ।
कस्तो सकस ? भाग्ने कि मृत्युपत्रमा दस्तखत गर्ने ? भागौं ढाडेको आक्रमण, नभागौं जीवनभरको दासता । मुसाहरू अहिले बिचल्लीमा छन् ।
Subscribe
Login
0 Comments
Oldest








































