सुमी लोहनीपिरिम पर्व
’कहाँ जालिस् मछली मेरै ढडिया’ भने झैँ मनाए नि आफ्नै, नमनाए नि आफ्नै हुन क्यार ! तर ’भ्यालेन्टाइन डे’ चाहिँ मनाउनैपर्छ । नत्र हामी एक्काइसौँ शताब्दीका, रकेट युगका प्राणी हौँ भनेर अरूले कसरी पत्याउनु नि !

सन्त भ्यालेन्टाइनका सम्पूणर् शिष्यशिष्यालाई सलाम !
आहा ! फेरि आयो चीरप्रतीक्षित १४ फेब्रुअरी !
जय होस् सन्त भ्यालेन्टाइनको, जसले आफ्नो घरबार, परिवार नभए तापनि आफ्ना अनुयायीका भन्ट्याङभुन्टुङले नै भए पनि डाँडाकाँडा ढाकून् भन्ने महान् उद्देश्य लिएर होला आफ्ना शिष्यशिष्याका मनमा मायाको मन्त्र फुकी प्रेम-दीक्षा दिएर घरजमरुपी जन्जालको व्यवस्था मिलाएका । यसबाट ती आफूले घरबार त्यागेर अरूलाई पनि सबै कुरा छोडेर मेरै शरणमा दौडेर आऊ भन्ने ज्ञानी ध्यानीले पनि केही ज्ञान लिए कति राम्रो हुन्थ्यो ।
आफूलाई फाइदा हुने कुराको त सबैले अनुकरण गर्नैपर्छ । तीमाथि झन् मायाप्रेम त यसै राम्रो उसै राम्रो ! यस्तो राम्रो सम्झिदै मनै रसाउने रसबरीजस्तो रसदार कुराको उत्सव अथवा ’पिरिम दिवस’ त हरहालतमा नमनाईकन हुँदै हुन्न । ’हाम्रो कल्चर हैन’ भन्नुहोला, अहिलेको मोर्डन युगमा यस्तो कन्जरभेटिभ कुरा गर्नुहुन्न क्या ! तपैँलाई थाहै छ नि मायाप्रेम दृष्टिविहीन हुन्छ भन्ने कुरा ! अनि यस्तो जन्मजातै दृष्टिविहीन मायाप्रेमका लागि ’के तेरो, के मेरो’ उसका लागि सबै समान सबै बराबर !
आमा दिवस, बाउ दिवस, बच्चा दिवस आदि केके जाति दिवस नमनाए नि केही फरक पर्दैन । यिनीहरू त ’कहाँ जालिस् मछली मेरै ढडिया’ भने झैँ मनाए नि आफ्नै, नमनाए नि आफ्नै हुन क्यार ! तर ’भ्यालेन्टाइन डे’ चाहिँ मनाउनैपर्छ । नत्र हामी एक्काइसौँ शताब्दीका, रकेट युगका प्राणी हौँ भनेर अरूले कसरी पत्याउनु नि ! त्यसैले आउट अफ डेट हुनबाट बच्न र आफ्नो नाकको इज्जत जोगाउनका लागि भए पनि प्रेम पुजारी बन्नु अति आवश्यक छ ।
अब पुजारी भएर पूजै गर्नु परेपछि फूल, नैवेद्य, उपहार आदि पूजा सामग्रीको पनि त राम्रो व्यवस्था गर्नु परिहाल्यो । यसका लागि कोकोसँग केके झुटो, साँच्चो बोलेर, छलछाम गरेर बेलैमा जोहो नगरे ‘हिस्स परी ङिच्च दाँत’ हुन बेर छैन । अनि होटेल रेष्टुरेन्टका कोठा, टेबुल बुक गर्न ढिला भए फेरि सार्वजनिक स्थलमै ’खुल्लम खुल्ला प्यार करेगेँ’ भन्दै प्रेम दिवस सेलिब्रेट गर्नुपर्ने सिचुयसन आउन सक्छ ।
परेवा जोडीले एकअर्काका लागि ३ सय ६५ दिन वाकयुद्धका लागि तीखा-तीखा वचन वाण जिब्रोको तरकसमा तैयार राखे पनि १४ फेब्रुअरीका दिन ‘रेड रोज’ साटासाट गरी प्रेम दर्शाएपछि वर्ष दिनभरिलाई पर्याप्त हुन्छ । एउटै ‘रेड रोज’ नओइलाउन्जेल धेरैसँग साटासाट गरी मितव्ययिता गर्न सके झनै राम्रो ! दिने लिनेको मन, भावना कालो सेतो या शून्य, जस्तोसुकै भए पनि ’रोज’ चाहिँ रातै हुनुपर्छ ।
‘इलू ! इलू’ भन्नेको जिउज्यान फुकिढल भए पनि मायाको तराजुमा गिफ्टको ओएट जति हृयाभी हुन्छ उति नै धेरै माया गरेको ठहरिन्छ । किनभने ’धनको खनखन विना मनको गनगन’को के काम ! ’जति धेरै मनी उति धेरै हनी’ यही हो मोर्डन युगको मायाको फर्मुला !
ल त, तपैँ पनि यही फर्मुला अपनाएर राम्ररी ‘पिरिम पर्व’ मनाउनुस् । म पनि रातो गुलाब ठीक पारौँ क्यार !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































