डा. गोविन्दराज भट्टराईफित्कौलीसितको जम्काभेट र एक अपशकुन
अनि उसले एउटा दाम्रे झोलाबाट फित्कौलीका दुईटा अङ्क झिकेर मलाई दिँदै भन्यो— यी अङ्क पढियो दाइ ? मैले सोझै ठानेर भनेँ ‘छैन’, भनिसकेपछि मात्रै सिरिङ्ग भएँ । आज फित्कौलीले मलाई डुबाउने भयो ।

धुम्रलोचन शर्मा
उर्फ् द टियर पोएट फ्रम इस्ट
नागार्जुनको टुप्पामा पहेँला घाम खसिसकेका थिए । डिल्लीबजारको ओरालोमा हुत्तिएर झर्दै थिएँ । एउटा खडेरीले तँलाई एक पेट मोमो खुवाउँछु भनेर ढाँटेको निकै दिन भएको थियो । आज विहान अति भएपछि उसका डेरामै गएर ङ्याको (ङ्याको माने घाँटीमै ङ्याको) किन छोडथेँ ? अनि बोलेँ— हेर भाइ, अति भो । गतवर्ष सरकारले गराएको चुनावभन्दा अति, कमल थापाले देशमा लगाएको कानून भन्दा अति । राजा ज्ञानेन्द्रले देश दर्शन गरेभन्दा अति । अतिचार भो । एक प्लेट मोमो खुवाउँछु भनेको आज तीन महिना नाघ्यो । अब म एकदिन पनि पर्खिन सक्तिन ।
उसको गलामा आधि सास रोकिएको थियो । घ्यारघ्यार गर्दै बोल्यो— सत्ये रामोराम यार । पैसै नभएर म त्यसरी छड्केको हुँ । आज ठीक छ बजे भोटेबहाल आइपुग— न्यू गणेश मोमो सेन्टरमा म पर्खिरहौँला । उसले तीनपल्ट कसम खायो अनि मात्र मैले त्यो ढाँटको घाँटीबाट हात झिको ।
घाम डुब्दै थिए । त्यही मोमोको बासना सम्झँदै ओरालो हुत्तिँदै थिएँ । मेरो पेट पेरुङ्गो भएको थियो । ठीक त्यसैबेला एउटा मानिस फित्कौली परेर उकालो चढ्दै देखेँ । मलाई कसैले नअल्झाए हुन्थ्यो भन्ठान्दै थिएँ तर त्यो फित्कौलीले मलाई रोक्यो । उसका नमस्कारले रोकिएँ । धेरै वर्ष अघि देखेको, राता गाला, पाक्कपाक्क, खान लाउन पुगेको त्यो व्यक्ति आज निकै दाम्रो झुस्स परेको, निकै उदास देखियो । अनि यसरी साँझपख फित्कौली परेर कता भाइ ? अनुहार पनि खर्लप्पै भएछ, जुँघा फुलेछन्, अनि के सारो सिव्रmे भइएछ भाइ ? कुनै रोगले कि तापले यसरी सिव्रmो भइयो ? मैले सोधेँ ।
‘न रोग छ, न ताप तर खाएको कुरा यो आङमा लाग्न छोड्यो दाइ, धेरै भयो ।’ ‘के कुनै पत्रिका निकाल्नु हुन्छ तपाइँं ? नत्र ता यो शरीर यसरी दाउरो नहुनु पर्ने !’ ऊ बिस्तारी मुस्कुरायो । अलि खिइन लागेका दाँत खोलेर हाँस्ता देखेँ— त्यो पीडाको दर्दमय मुस्कान थियो । मैले अनुमान गरे भन्दा ऊ भोक र तिर्खाले धेरै गलेको हुनुपर्छ । अनि उसले एउटा दाम्रे झोलाबाट फित्कौलीका दुईटा अङ्क झिकेर मलाई दिँदै भन्यो— यी अङ्क पढियो दाइ ? मैले सोझै ठानेर भनेँ ‘छैन’, भनिसकेपछि मात्रै सिरिङ्ग भएँ । आज फित्कौलीले मलाई डुबाउने भयो । सयको हरियो नोट भित्री जेपमा लुकाएर कुधेको आज तेह्र दिन भयो । तेह्रौँका दिन फित्कौलीले यसको सुद्धाइँ उतार्ने भयो । नभन्दै ऊ बोल्यो— दाइ यता कतैतिर पसेर चियानास्ता गरौँ, म तपाइँंलाई यी पत्रिका पनि दिन्छु, कतिको हतार छ ?
फित्कौलीका ओठ भोक र तिर्खाले सुकेर कलेँटी परेका थिए, आँखा फुस्रिएका, अनुहार गलेर भुतुक्क थियो । गोजीमा सयको नोट लुकाएर चावहिलदेखि हिँडेको हिँड्यै एक पेट मोमो खान म भोटेबहालतिर हान्निएको थिएँ । तर फित्कौलीलाई तत्कालै मैले ढाँटेँ— ‘सरी भाइ, मैले भर्खरै त्यहाँ एउटा बिहे भोज खाएर आउँदै गरेको, नपत्याए हेर्नुस् ।’ मैले अलिकति पेट फुलाएँ र हातले ड्याम्ड्याम् पिटेजस्तो गरेँ । तर उसले मलाई नछोड्ने विचार गर्यो— टाढा हैन दाइ, त्यहीँ ‘कविता मोमो’सम्म जाऔँ । दाजु फित्कौली पढ्नु होला, म अलिकति नास्ता गर्छु ।’ आज यसले सिध्याउने भो भन्ने पक्का भएपछि मैले पिलिक्क घडीतिर आँखा लगाउँदै भनें ‘भाइ, वास्तवमा म एउटा अर्जेन्ट कामले यता लागेको । अरबदेखि मेरो मितभाइको लास आएको छ अरे, त्यो बुझ्न वीर अस्पताल पुग्नु छ ।’
‘त्यस्तोमा पुलिसले डुबाउँछन् । एउटा पत्रकार पनि चाहिन्छ । पर्दाखेरी गर्ने हो । म पनि साथै लाग्छु दाइ, हिँड्नोस्, उतै खाउँला चियानास्ता ।’ हस्पिटलको क्यान्टिन पनि निकै राम्रो छ ।’ अति भयो, यसले नछोड्ने नै भयो भनेपछि मैले थपेँ— वीर हस्पिटलमा भन्थे, तर त्यो लास त्यहाँ नभएर टिचिङ्गमा, नत्र एअरपोर्टमा पनि हुनसक्छ । मलाई रातभरि यतै लाग्न सक्छ । आज छुटौँ, फेरि भेटौँला ।’ ‘त्यसोभए यी पत्रिका खुसु्रक्क झोलामा हाल्नोस्, पढेर मलाई कमेन्ट पठाउनु होला । साथै एउटा आर्टिकल पनि ।’
मेरो सय रुपियाँ जोगिएकोमा आफैंलाई धन्य ठान्दै हिंड्न खोजेँ— उसले जबर्जस्ती मेरो झोलाको चेन खोलेर दुई अङ्क फित्कौली घुसाइदियो । मलाई पक्का भयो— यो ग्रहले नछोड्ने नै भयो । कुन दिन यसको पैसा असूल गर्न यो मेरो डेरामै पुग्ने भयो । अनि आँट गरेर भनेँ— ‘यी ता मैले पढिसकेका अङ्क हुन् भाइ । मलाई दिनु पर्दैन । गोपीले लगेको थियो ।’
ऊ अलि रिसाएर जङ्गियो— क्या दाइ पनि यो छैटौँ अङ्क चाहिँ प्रेसबाट आजै लिएर आउँदैछु, अझै तातै छ । कसरी पढ्नुभयो ?
म अलिकति जिल्लिएँ— अँ सरी है भाइ, यस्तै रङ्को अर्को कुन पत्रिका पो पढेँछु ।’
‘त्यसो भन्नोस् न ।’
फित्कौलीसँग झन्नै खडाजङ्गी पर्यो । अँध्यारो मुख लगाएर ऊ उकालोतिर फित्कौलियो, म भोटेवहालतिर बत्तिएँ । फित्कौलीसँगको गल्फद्दीले एकघण्टा समय उडेको थियो । भोकले र रिसले दारा किट्दै त्यहाँबाट उडेकोउड्यै भोटेबहाल पुगेँ । न्यू गणेश मोमो सेन्टरमा पुगेर हेर्दा एकघण्टा नाघिसकेको थियो— अरु आधा घण्टा पर्खें । तर खप्परे आएन— अघि नै आएर फर्किसकेको थियो कि के जानी !
अनि मनमनै फित्कौलीलाई सराप्न थालेँ । यसका फित्कौली म किन पढौँला र ? यसको फित्कौलीलाई भनेर आर्टिकल किन लेखौंला र ! ल्याफ्राङ्ल्याफ्राङ् गलेको शरीर घिस्याउँदै चावेलतिर लागेँ । डिल्लीबजारको उकालोमा पुग्दा नौ बजेको थियो । फित्कौलीसँग अघि भेट भएको ठाउँ यही थियो । यसबेला रनक्क रिस उठेर आयो तर सहँदै चावेलतिर तन्किन थालेँ । त्यो एक अपशकुनको साँझ थियो ।
कीर्तिपुर
‘फित्कौली’ अङ्क ९, २०६३ साउन
Subscribe
Login
0 Comments
Oldest








































