साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरु

शक्तिशाली नेता पनि भिजेको बिरालोझैं मागपत्र पट्याएर गौरवशाली उपाधि गोरु थाप्न तँछाडमछाड नगरेको भए टाट पल्टिन्थ्यो त आयल निगम !

Nepal Telecom ad

जीवनमा सजिलै प्राप्त हुने उपाधि हो ‘गोरु’ । मान्छे प्याच्चै बोल्छ, सजिलै दिइहाल्छ उपाधि दोसल्लाको जोहो गर्नु नपर्ने भएर सजिलो गरी । बाटामा हिँड्दा हिँड्दै अगाडि आएर मान्छे उभियो वा हिँडिरहेको मान्छे अगाडि ल्याएर गाडी ठोसिदियो भने तिथि मितिको हेक्कै नराखी दिइहाल्न मिल्ने सर्वसुलभ उपाधि हो गोरु । मलाई लाग्छ जीवनमा यो उपाधि नपाउने छोरी मान्छे बाहेक कोही बाँकी छैन । सबैले सबैलाई दिन पुग्ने र मिल्ने गतिलो सम्मान गोरु ! यसका लागि समिति गठन गर्ने र निवेदन हाल्न आह्वान गर्ने जस्तो झन्झटिला प्रक्रिया पनि नचाहिने सहज उपलब्ध उपाधि !

ठुलै रकमको जोहो मिलाएर नामकरण गरिरहनुपर्ने काइदाकानुनी अनुशासनले छेक्दैन यसलाई । सूचना प्रकाशित भएदेखि छनोट समितिमा को-को छन् ? विधि के छ भनेर अनुसन्धान प्रतिवेदन तयार गर्ने पद्धति आवश्यक नपर्ने ! कसैले के कोसेलीले स्वागत गर्ने र आफूले गरेका कामको सूची लभ्याउने अनि अर्थ लगानी गर्ने झमेला नि नपर्ने । परिचय पुस्तिकाले नपुग्ला भनेर भएका किताबहरूको थप संस्करण समेत झोलामा बोकेर घरघर पुर्‍याउने कस्ट उठाउन पनि नपर्ने । कति सहज छ यो उपाधि ! अलिक सिपालु सामाजिक व्यवहार र काइदाकानुन पत्याउने हो भने धेरैजसो बाहरूले छोरालाई दिने उपाधि हो गोरु । छोरालाई ‘कस्तो गोरु रहेछ ?’ भनिरहँदा गोरुको बा बहर भन्ने सत्य साँचो यथार्थ भुसुक्कै बिर्सन पाइने गजबको उपाधि यो । पाइनँ भनेर अलिकति पनि चिन्ता नगरे हुन्छ । किन कि अपवादको सम्भावना निकै कम हुन्छ यसमा ।

यो पारिवारिक उपाधि प्राचीन कालदेखि पितापुर्खाले आ-आफ्ना शाखा सन्तानलाई दिँदै ल्याएर स्थायित्व प्रदान गरिसकेको मौलिक उपाधि हो । त्यसो हुनाले यो उपाधिका लागि राम्रो कामको नमुना खोज्नुपर्दैन । काम जति कमसल भयो त्यति धेरै उपाधि प्राप्त हुन्छ । ऐननियम र अनुशासन बिर्सन जाने पर्याप्त हुन्छ । हिजो के भनेर जनभावना आपूmतिर एकोहोर्‍याइएको थियो सम्झनु जरुरत छैन । हिजो पढेका घोकेका, घोक्न लगाइएका, प्रशिक्षक भएर विद्वत्ता देखाइएका काम कारवाही सबै डङ्गुर लाएर मै-मत्त हुन पाइन्छ । यस्तै चरित्र निर्माण गर्न जान्नेलाई यो उपाधि बर्ता सुहाउँछ पनि । जसले गोरु भन्दा माथिल्लो उपाधि मै-मत्ता साँढे पाउने योग्यता राख्छ । यस उपाधिका लागि देशको कूटनैतिक मर्यादा उधिन्न, स्वाधीन राष्ट्रको हुर्मत लिन, जनताले हृदयमा सजाई ल्याएको आस्था र विश्वासको धरहरा भत्काउन, ठुला कुरा गरेर आसेपासेलाई सुख-सुविधा उपलब्ध गराई कामको सिन्को नभाँचेर जनता झुक्याउन सक्ने साहसिलो व्यक्ति बढी योग्य ठहरिन्छ ।

‘मै-मत्त साँढे’ पहिला-पहिला असन-क्षेत्रपाटीतिरका गल्ली-गल्ली डुक्रेर छोरीचेलीहरू तर्साउँथ्यो रे । अचेल भने ऊ गल्लीहरूमा होइन फराकिला सडकहरूमा आधुनिक यन्त्र ढुक्रेर विदेशी पाहुनाहरूको भोजले मात्तिन्छ रे । उसले यसरी मातिदिए वापत पुरस्कार पाउँछ, सम्मान ओढ्छ र उपाधिले सजिन्छ । कति स्वाद परेको होला गोरुबाट मै-मत्ता साँढेमा बढुवा भएको उपाधि सित्तैमा पाइने ! अरू सामाजिक कार्यहरू गरेर पाइने पुरस्कार तथा सम्मानका लागि संविधान बमोजिम परराष्ट्रनीति अनुकूल हुने गरी अनुमति प्राप्त गर्नुपर्छ र सहमति जुटेपछि बल्ल अघि बढ्ने हो । अग्लो जुरु भएकोले त यस्तो मर्यादाको ख्याल गर्नै नपर्ने कति सजिलो ! आपैmसँग डाडुपनियो भएपछि पस्केर भतेर लाउन नि समस्यै नहुने ! पाहुनाको खातिर गर्ने नेपाली परम्परा न हो ! यस्तो गहकिलो मौलिक परम्परा जोगाउन कम्ता मुस्किल हुन्छ ! यही जिम्मेवारी पूरा गर्नेले पाउने उपाधि दिने उत्तम काम घरमुलीले नै गर्नुपर्छ । अरुको मुखारविन्दबाट उपाधि लगे भने त नाइकेको शिर मठारिहाल्छ ।

हो नि, मै-मत्त साँढे न हो ! बाच्छाबाच्छीले घाँस पाए/पाएनन्, घामपानीबाट सुरक्षित छ/छैन किन चासो दिने ! आखिर जसको लौर उसको बहर पुर्खाकै भनाइ हो । साँढेको तागत कम्ता हुँदैन क्यारे । त्यही भएरत उसले उच्च पद प्राप्त गर्छ । अरुका कुरा नसुनी आपूm वरिपरिका जीव कुच्दै मडार्दै हिँड्न पाइने गजबको छ तजबिज । कमजोर मानिसका पीडा सुन्ने र गास वास कपासको जोहो गर्ने बाचाका पछि किन लाग्ने ! विकासका काम त फाइलमा गर्ने हो । विदेशी सहायता आइरहोस् भनेर मात्र पुग्दैन । विपन्नता बाँकी रहे पो देखाउन पाइन्छ र आउने परिवेश तयार हुन्छ । काम सम्पन्न भइहाल्यो भने त गरिरहेका छौं भन्नै पाइँदैन । नयाँ कामका योजना र बन्दोबस्तीको झमेलामा परेर जनताका झोपडीमा बत्ती बाल्नेतिर किन होमिन पर्‍या छ र विनासित्तिमा ! गाउँ जति अँध्यारो राख्न सक्यो त्यति सजिलो हुन्छ गोरु उपाधि लिन/दिन । जति धेरै उपाधि बाँडिन्छ त्यति बढी खुराक प्राप्त हुन्छ । यस्तै खुराकको स्वादमा रमाउन पाएपछि के चाहियो र हृष्टपुष्ट भइहालिन्छ नि । बबुरो जनता हिजो आफ्नै खल्तीमा, आज चलन चल्तीमा, भोलि फकाई फुल्याई भोट बाकसमा ! कहाँ जान्छस् माछा मेरै ढडिया ! नगई सुखै छैन आखिर गुन्डा राज न हो, कानुनीराज भए पो नियमले छुन्छ, विपरीत जाँदा जनता जाग्छन्, कानुनले समात्छ भनेर सतर्क हुनुपथ्र्यो ! आखिर कानुन त कार्यन्वयनका लागि नभई फाइलमा सजाउनका लागि न हो ।

कस्तो मजा छ, देश बनाउँछु भनेर भेस बदले, कुर्सीमा पुगे, विदेशी ढुके, स्वाद फेरे जनताको रगत-पसिना उबाएर घैटो भरे ! मोटाए, रमाए । कति रमाइलो ! देश जाबो आपैm बोल्दैन बोल्ने मुखलाई बिलो दिए थुनिन्छ ! कहाँ, कसको मुख थुन्नुपर्ने छ भनेर चाल पाएपछि गालबाट जोगिन सकिन्छ । कर्मचारी बबुराहरू पनि झुन्डे खल्तीमै पसेका छन् । केही टाउकेहरू घरीघरी बरबराउँछन् तिनलाई थामथुम पारे कर्मकाण्ड पुग्छ, आफ्नै हात जगन्नाथ । कर्मचारी भनेका पनि यही साँढे ड्याङकै मुला त हुन् डुक्रन खोज्छन् नपाए रिसाउँछन्, पाए मुसुक्क हाँस्छन् । कस्तो गजब ‘तिमी साँढे म पनि साँढे, साँढे-साँढे मिलेर खाम भाले !’ नमिली खान पाइँदैन क्यारे मिले बाँकी रहन्न । जानकारीमै छ नि नियमित आयले पेट भरिँदैन । फेरि तलबले गोजी खर्च चल्दैन । श्रीमतीलाई हिसाब नबुझाई हुन्न । उसलाई छल्न पनि अभ्यास चाहिन्छ । जीवनमा कति धेरै चुनौती ! खेपिसक्नु छैन । कुरो नचापाई भन्ने हो भने त मै-मत्त साँढेभन्दा श्रीमतीको फेर बलियो । उनीहरूले गाँठो पारेपछि अरु कसैले फुकाउला भनेर त चिताउनै पर्दैन । त्यसैले पनि आयल निगमले तेल चोर्न पाउनुपर्ने माग राख्यो । निजामती कर्मचारीले कागज मिलाएर खान पाउने विधि खोजे, जनप्रतिनिधिले मिलिमतो गरे ! ‘मैले के बिराएँ खोली भेटेँ हात धोएँ ।’ हो, यही भएर यस्तो सजिलो उपाधि अन्त कुनै नभएको प्रमाणित भएको । कहीँ नभएको जात्रा जस्तो विशेष अवसर रहेछ क्या श्रीमतीको फेर समातेर शक्ति आर्जन गर्नू ! श्रीमतीको स्वर सुनेपछि त शक्तिशाली नेता पनि भिजेको बिरालोझैं मागपत्र पट्याएर गौरवशाली उपाधि गोरु थाप्न तँछाडमछाड नगरेको भए टाट पल्टिन्थ्यो त आयल निगम !

कहिलेकाहीँ अलिक बढी हौसिएर दिन मान लाग्यो भने ड्याम्म बिच सडकमा बसेर आसन जमाउने साँढे भनेर उपाधि थप्ने चलन पनि पाइन्छ । यो गोरुभन्दा एक तहमाथिको उपाधि मानिन्छ । मेरै बाले बना त हो यो सडक अरू पनि गुड्दै र हिँड्दै छन् भनेर किन हेक्का राख्ने ? निर्धक्क बस्छ । उन्मत्त टिपर चालकहरू तह लाउने ताकत यिनै साँढेमा छ । दिनभरि धुवाँ धुलोमा सिटी फुकेर बस्छौँ भन्ने यातायात व्यवस्था प्रहरीको त केही नलागेर मान्छे माथि-माथि गुड्न सफल टिपरको सेखी कसैले झार्छ भने त्यो हो मै-मत्त साँढे । यहाँ अचम्म यही छ ! मान्छेको कुरा सुन्ने बानी छैन । साँढेको ताकतले काम गर्छ । साँढे साँढेले सिङ भाँचे पनि भाँचून् उनकै खटन हो । विवेकी मान्छेको कुरा सुन्ने र नैतिक चरित्र निर्माण गरी इमानको खेतीमा रमाउने गलत अभ्यास गरिँदैन र त उपाधिको महत्त्व बढेको बढ्यै छ ! अस्तु

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
कुरा खेतीकाे बाेलबाला

कुरा खेतीकाे बाेलबाला

डा. छायादत्त न्यौपाने ‘बगर’
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x