डा. छायादत्त न्यौपाने ‘बगर’गोरु
शक्तिशाली नेता पनि भिजेको बिरालोझैं मागपत्र पट्याएर गौरवशाली उपाधि गोरु थाप्न तँछाडमछाड नगरेको भए टाट पल्टिन्थ्यो त आयल निगम !

जीवनमा सजिलै प्राप्त हुने उपाधि हो ‘गोरु’ । मान्छे प्याच्चै बोल्छ, सजिलै दिइहाल्छ उपाधि दोसल्लाको जोहो गर्नु नपर्ने भएर सजिलो गरी । बाटामा हिँड्दा हिँड्दै अगाडि आएर मान्छे उभियो वा हिँडिरहेको मान्छे अगाडि ल्याएर गाडी ठोसिदियो भने तिथि मितिको हेक्कै नराखी दिइहाल्न मिल्ने सर्वसुलभ उपाधि हो गोरु । मलाई लाग्छ जीवनमा यो उपाधि नपाउने छोरी मान्छे बाहेक कोही बाँकी छैन । सबैले सबैलाई दिन पुग्ने र मिल्ने गतिलो सम्मान गोरु ! यसका लागि समिति गठन गर्ने र निवेदन हाल्न आह्वान गर्ने जस्तो झन्झटिला प्रक्रिया पनि नचाहिने सहज उपलब्ध उपाधि !
ठुलै रकमको जोहो मिलाएर नामकरण गरिरहनुपर्ने काइदाकानुनी अनुशासनले छेक्दैन यसलाई । सूचना प्रकाशित भएदेखि छनोट समितिमा को-को छन् ? विधि के छ भनेर अनुसन्धान प्रतिवेदन तयार गर्ने पद्धति आवश्यक नपर्ने ! कसैले के कोसेलीले स्वागत गर्ने र आफूले गरेका कामको सूची लभ्याउने अनि अर्थ लगानी गर्ने झमेला नि नपर्ने । परिचय पुस्तिकाले नपुग्ला भनेर भएका किताबहरूको थप संस्करण समेत झोलामा बोकेर घरघर पुर्याउने कस्ट उठाउन पनि नपर्ने । कति सहज छ यो उपाधि ! अलिक सिपालु सामाजिक व्यवहार र काइदाकानुन पत्याउने हो भने धेरैजसो बाहरूले छोरालाई दिने उपाधि हो गोरु । छोरालाई ‘कस्तो गोरु रहेछ ?’ भनिरहँदा गोरुको बा बहर भन्ने सत्य साँचो यथार्थ भुसुक्कै बिर्सन पाइने गजबको उपाधि यो । पाइनँ भनेर अलिकति पनि चिन्ता नगरे हुन्छ । किन कि अपवादको सम्भावना निकै कम हुन्छ यसमा ।
यो पारिवारिक उपाधि प्राचीन कालदेखि पितापुर्खाले आ-आफ्ना शाखा सन्तानलाई दिँदै ल्याएर स्थायित्व प्रदान गरिसकेको मौलिक उपाधि हो । त्यसो हुनाले यो उपाधिका लागि राम्रो कामको नमुना खोज्नुपर्दैन । काम जति कमसल भयो त्यति धेरै उपाधि प्राप्त हुन्छ । ऐननियम र अनुशासन बिर्सन जाने पर्याप्त हुन्छ । हिजो के भनेर जनभावना आपूmतिर एकोहोर्याइएको थियो सम्झनु जरुरत छैन । हिजो पढेका घोकेका, घोक्न लगाइएका, प्रशिक्षक भएर विद्वत्ता देखाइएका काम कारवाही सबै डङ्गुर लाएर मै-मत्त हुन पाइन्छ । यस्तै चरित्र निर्माण गर्न जान्नेलाई यो उपाधि बर्ता सुहाउँछ पनि । जसले गोरु भन्दा माथिल्लो उपाधि मै-मत्ता साँढे पाउने योग्यता राख्छ । यस उपाधिका लागि देशको कूटनैतिक मर्यादा उधिन्न, स्वाधीन राष्ट्रको हुर्मत लिन, जनताले हृदयमा सजाई ल्याएको आस्था र विश्वासको धरहरा भत्काउन, ठुला कुरा गरेर आसेपासेलाई सुख-सुविधा उपलब्ध गराई कामको सिन्को नभाँचेर जनता झुक्याउन सक्ने साहसिलो व्यक्ति बढी योग्य ठहरिन्छ ।
‘मै-मत्त साँढे’ पहिला-पहिला असन-क्षेत्रपाटीतिरका गल्ली-गल्ली डुक्रेर छोरीचेलीहरू तर्साउँथ्यो रे । अचेल भने ऊ गल्लीहरूमा होइन फराकिला सडकहरूमा आधुनिक यन्त्र ढुक्रेर विदेशी पाहुनाहरूको भोजले मात्तिन्छ रे । उसले यसरी मातिदिए वापत पुरस्कार पाउँछ, सम्मान ओढ्छ र उपाधिले सजिन्छ । कति स्वाद परेको होला गोरुबाट मै-मत्ता साँढेमा बढुवा भएको उपाधि सित्तैमा पाइने ! अरू सामाजिक कार्यहरू गरेर पाइने पुरस्कार तथा सम्मानका लागि संविधान बमोजिम परराष्ट्रनीति अनुकूल हुने गरी अनुमति प्राप्त गर्नुपर्छ र सहमति जुटेपछि बल्ल अघि बढ्ने हो । अग्लो जुरु भएकोले त यस्तो मर्यादाको ख्याल गर्नै नपर्ने कति सजिलो ! आपैmसँग डाडुपनियो भएपछि पस्केर भतेर लाउन नि समस्यै नहुने ! पाहुनाको खातिर गर्ने नेपाली परम्परा न हो ! यस्तो गहकिलो मौलिक परम्परा जोगाउन कम्ता मुस्किल हुन्छ ! यही जिम्मेवारी पूरा गर्नेले पाउने उपाधि दिने उत्तम काम घरमुलीले नै गर्नुपर्छ । अरुको मुखारविन्दबाट उपाधि लगे भने त नाइकेको शिर मठारिहाल्छ ।
हो नि, मै-मत्त साँढे न हो ! बाच्छाबाच्छीले घाँस पाए/पाएनन्, घामपानीबाट सुरक्षित छ/छैन किन चासो दिने ! आखिर जसको लौर उसको बहर पुर्खाकै भनाइ हो । साँढेको तागत कम्ता हुँदैन क्यारे । त्यही भएरत उसले उच्च पद प्राप्त गर्छ । अरुका कुरा नसुनी आपूm वरिपरिका जीव कुच्दै मडार्दै हिँड्न पाइने गजबको छ तजबिज । कमजोर मानिसका पीडा सुन्ने र गास वास कपासको जोहो गर्ने बाचाका पछि किन लाग्ने ! विकासका काम त फाइलमा गर्ने हो । विदेशी सहायता आइरहोस् भनेर मात्र पुग्दैन । विपन्नता बाँकी रहे पो देखाउन पाइन्छ र आउने परिवेश तयार हुन्छ । काम सम्पन्न भइहाल्यो भने त गरिरहेका छौं भन्नै पाइँदैन । नयाँ कामका योजना र बन्दोबस्तीको झमेलामा परेर जनताका झोपडीमा बत्ती बाल्नेतिर किन होमिन पर्या छ र विनासित्तिमा ! गाउँ जति अँध्यारो राख्न सक्यो त्यति सजिलो हुन्छ गोरु उपाधि लिन/दिन । जति धेरै उपाधि बाँडिन्छ त्यति बढी खुराक प्राप्त हुन्छ । यस्तै खुराकको स्वादमा रमाउन पाएपछि के चाहियो र हृष्टपुष्ट भइहालिन्छ नि । बबुरो जनता हिजो आफ्नै खल्तीमा, आज चलन चल्तीमा, भोलि फकाई फुल्याई भोट बाकसमा ! कहाँ जान्छस् माछा मेरै ढडिया ! नगई सुखै छैन आखिर गुन्डा राज न हो, कानुनीराज भए पो नियमले छुन्छ, विपरीत जाँदा जनता जाग्छन्, कानुनले समात्छ भनेर सतर्क हुनुपथ्र्यो ! आखिर कानुन त कार्यन्वयनका लागि नभई फाइलमा सजाउनका लागि न हो ।
कस्तो मजा छ, देश बनाउँछु भनेर भेस बदले, कुर्सीमा पुगे, विदेशी ढुके, स्वाद फेरे जनताको रगत-पसिना उबाएर घैटो भरे ! मोटाए, रमाए । कति रमाइलो ! देश जाबो आपैm बोल्दैन बोल्ने मुखलाई बिलो दिए थुनिन्छ ! कहाँ, कसको मुख थुन्नुपर्ने छ भनेर चाल पाएपछि गालबाट जोगिन सकिन्छ । कर्मचारी बबुराहरू पनि झुन्डे खल्तीमै पसेका छन् । केही टाउकेहरू घरीघरी बरबराउँछन् तिनलाई थामथुम पारे कर्मकाण्ड पुग्छ, आफ्नै हात जगन्नाथ । कर्मचारी भनेका पनि यही साँढे ड्याङकै मुला त हुन् डुक्रन खोज्छन् नपाए रिसाउँछन्, पाए मुसुक्क हाँस्छन् । कस्तो गजब ‘तिमी साँढे म पनि साँढे, साँढे-साँढे मिलेर खाम भाले !’ नमिली खान पाइँदैन क्यारे मिले बाँकी रहन्न । जानकारीमै छ नि नियमित आयले पेट भरिँदैन । फेरि तलबले गोजी खर्च चल्दैन । श्रीमतीलाई हिसाब नबुझाई हुन्न । उसलाई छल्न पनि अभ्यास चाहिन्छ । जीवनमा कति धेरै चुनौती ! खेपिसक्नु छैन । कुरो नचापाई भन्ने हो भने त मै-मत्त साँढेभन्दा श्रीमतीको फेर बलियो । उनीहरूले गाँठो पारेपछि अरु कसैले फुकाउला भनेर त चिताउनै पर्दैन । त्यसैले पनि आयल निगमले तेल चोर्न पाउनुपर्ने माग राख्यो । निजामती कर्मचारीले कागज मिलाएर खान पाउने विधि खोजे, जनप्रतिनिधिले मिलिमतो गरे ! ‘मैले के बिराएँ खोली भेटेँ हात धोएँ ।’ हो, यही भएर यस्तो सजिलो उपाधि अन्त कुनै नभएको प्रमाणित भएको । कहीँ नभएको जात्रा जस्तो विशेष अवसर रहेछ क्या श्रीमतीको फेर समातेर शक्ति आर्जन गर्नू ! श्रीमतीको स्वर सुनेपछि त शक्तिशाली नेता पनि भिजेको बिरालोझैं मागपत्र पट्याएर गौरवशाली उपाधि गोरु थाप्न तँछाडमछाड नगरेको भए टाट पल्टिन्थ्यो त आयल निगम !
कहिलेकाहीँ अलिक बढी हौसिएर दिन मान लाग्यो भने ड्याम्म बिच सडकमा बसेर आसन जमाउने साँढे भनेर उपाधि थप्ने चलन पनि पाइन्छ । यो गोरुभन्दा एक तहमाथिको उपाधि मानिन्छ । मेरै बाले बना त हो यो सडक अरू पनि गुड्दै र हिँड्दै छन् भनेर किन हेक्का राख्ने ? निर्धक्क बस्छ । उन्मत्त टिपर चालकहरू तह लाउने ताकत यिनै साँढेमा छ । दिनभरि धुवाँ धुलोमा सिटी फुकेर बस्छौँ भन्ने यातायात व्यवस्था प्रहरीको त केही नलागेर मान्छे माथि-माथि गुड्न सफल टिपरको सेखी कसैले झार्छ भने त्यो हो मै-मत्त साँढे । यहाँ अचम्म यही छ ! मान्छेको कुरा सुन्ने बानी छैन । साँढेको ताकतले काम गर्छ । साँढे साँढेले सिङ भाँचे पनि भाँचून् उनकै खटन हो । विवेकी मान्छेको कुरा सुन्ने र नैतिक चरित्र निर्माण गरी इमानको खेतीमा रमाउने गलत अभ्यास गरिँदैन र त उपाधिको महत्त्व बढेको बढ्यै छ ! अस्तु
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































