साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोरूँ कि लेखुँ…कि के गरूँ ?…हँ !!

अरूको कविता पढ़्नै ता मन लाग्दैन । अरूको कविता पढ़्नै मन लागेन भने कविताका पुस्तकहरू किन किन्नु ?

Nepal Telecom ad

नाम चलेका एकजना सम्पादकले नाम चलेको उनको पत्रिकाको निम्ति मलाई एउटा कविता मागेको झण्डै पन्घ्र-बीस दिन धेर नाघिसक्यो । तर मैले अहिलेसम्म सो रचना तयार पारेर सम्पादक महोदयको हात पार्न सकेको छैन । एकदिन एउटा साहित्यिक कार्यक्रममा ती सम्पादक महोदयसित भेट भयो । मलाई देख्ने बितिक्कै उनले भनि ता हाले- “भाइ ! ल्याउनुभयो होला नि होइन आज ता ?” उनको प्रश्न सुनेर म इन्तु न चिन्तु भएँ । तर किसिम बहाना गरेर त्यसदिन पनि टारेँ ।

नढाँटी भनुँ भने, मैले नभ्याएर सम्पादकलाई कविता पठाउन अबेर गरेको पनि होइन । आजसम्म जति पनि लेखँे ती सबै नै तानतुन पारेरै लेखेको छु । बुनबान गर्ने आँट पनि छैन न ता बुता नै छ । ‘रूप न राप झिमझिम्, सिप न साप झिमझिम’ भने जस्तो खासमा कविता लेख्ने सिप मसित छँदैछैन । कविता लेखनमा आफ्नो खूबी प्रदर्शन गर्नसक्ने कविहरूले भनेका सुनेको छु, ‘रसिलो टेसिलो अनि बान्किलो र गम्भीर गहन कविता लेख्नु हो भने नाउँ चलेका कविहरूका कृति अध्ययन गर्नुपर्छ, असल-असल कविताका किताबहरू किन्नुपर्छ अनि बेस्सरी पढ़्नुपर्छ ।’ कुरा सुन्दा ठिकैजस्तो पनि लाग्छ तर मेरो सबभन्दा नराम्रो बानी के छ भने, अरूको कविता पढ़्नै ता मन लाग्दैन । अरूको कविता पढ़्नै मन लागेन भने कविताका पुस्तकहरू किन किन्नु ?

हुन पनि हो मैले आजसम्म एउटै कविताको पुस्तक किनेर पढ़ेको छैन । घरको छेवैमा विराट पुस्तक पसल छ । त्यस पुस्तक पसलको संघारमा मेरो चरण स्पर्श भएकै छैन । यसको अर्थ मसित कविताका पुस्तकहरू छैनन् भन्ने पनि होइन । छन् बग्रेल्तै कविताका पुस्तकहरू छन् मसित । ती सबै सधन्यवादस्वरूप फेला पारेको हुँ । कति लाजै पचाएर मागेको अनि कति चाहिँ दाबेको । किनभने किताब चोर्नु पाप होइन भन्छन् किताप चोर विशेषज्ञहरू । मेरा दौंतरी कविहरूमध्ये सबभन्दा धेर कम्पलिमेण्ट्री कपी पाउने मैमात्र होला भन्ने कुरामा म गौरवान्वित अनुभव गर्छु । ‘सधन्यवाद स्वरूप पाएका, मागेका अनि दाबेका कविताका पुस्तकहरू सबै पढि़सक्यौ होला होइन’ भनी तपाइँ मलाई सोध्नु होला । हेनतेन नभनी लाजै पचाएर भन्नुपर्दा, काँ पढ़ेको छु हजूर काँ पढ़्ने ? एकपल्ट सरसरती हेरेर दराजभित्र ख्वाप्पै हालिदिएको छु । बस । सधन्यवाद प्राप्त कविताका पुस्तकहरू पढ़ेर मेरो ज्ञान बढ़्ने होइन तर दराजको शोभा चाहिँ पक्कै बढ़ेको छ भन्ने कुरो हजूरलाई किन ढाटुँ ?

एकदिन एउटा कवि गोष्ठीमा कविता पाठ गर्नको निम्ति निम्तो पत्र पाएँ । मैले अघि नै भनिसकेको छु कविता कथ्ने बुता छैन मसित । तर पनि एक दुइ पङ्क्ति देवकोटाको, एक दुइ पङ्क्ति भूपिको, एक दुइ पङ्क्ति अरूको गरी एउटा कविता तयार पारें । कवि गोष्ठीमा उक्त कविता पाठ गरेर मञ्चबाट ओर्लेको मात्र के थिएँ एकजना ख्यातिप्राप्त कवि आएर हात मिलाउँदै भने-’वेल्डन भाइ वेल्डन । कविता साह्रै राम्रो लेख्नुभएछ । कविता ता यस्तो पो हुनुपर्छ नि । बधाइ ।’

मैले तानतुन पारेर बनाएको कवितामाथि कवि महोदयले मलाई व्यङ्ग्य गरेका हुन् कि भन्ने शङ्काले मलाई कोपऱ्यो । तर पछि बुझ्दै जाँदा उनले साँच्चैनै मेरो कविता मन पराएका रहेछन् । मलाई अचम्म लाग्यो यति ख्यातिप्राप्त कविले मैले ती कविताको पङ्क्ति-पङ्क्ति अरू कविका कविताबाट सापटी लिएको हो भन्ने कुरा उनलाई थाहा नभएको देख्दा म तीनछक्क परें । किनभने यति ठूला कविले पनि कुनै किताब नपढ़्दा रहेछन् भन्ने कुरा मलाई छ्याङै हुन कुनै गाह्रो नै परेन । अन्यका किताब मैले मात्रै होइन अन्य लरिष्ठा-वरिष्ठ कविहरूले पनि नपढ़्दा रहेछन् भन्ने कुरामा झन् कता हो कता ढुक्क लाग्यो । म ता कवि पनि कहाँ हो’र…न ढाँटी भने वा स्पष्टै भनुँ भने म खासैमा तानतुने कवि हो । बुनबान गर्ने मेरा सिप बलबुता केही पनि छैन । न ता कविता बुझ्ने ताकत नै मेरो छ । अर्काको कविता बुझ्नु ता के सुन्न पनि गाह्रो मात्र होइन वाक्क र दिक्क लाग्छ मलाई । किनभने कुनै पनि कवि गोष्ठीमा कविता पाठ गर्न जाने बित्तिकै उदघोषक महोदयलाई “भाइ आज मेरो एकजना आफन्त खसेका छन् कि छिटो जानुपर्ने हुनाले मलाई छिट्टै छोडि़दिने है” भनी एकदुइ जना कवि पछि कविता पाठ गरिवरी टाप लाउने म कवि । अरूको कविता कसैले सुन्यो ? मेरो कविता अरूले सुनिदिनुपर्छ तर अरूको कविता यो टपर्टुइँय्ये कविलाई सुरिरहने फुर्सद नै कहाँ छ । हेनतेन नभनी लाजै पचाएर भनुँ भने, मलाई कविता लेख्ने त्यति बानी पनि कहाँ छ । देख्नुहुन्न ? नयाँ-नयाँ कविता लेख्न सक्दिनँ र छापिएको निजी कविता सङ्ग्रहबाटै कवि गोष्ठीतिर कविता वाचन गरेको ।

कहिले काहीँ मेरी अर्धाङ्गिनी मसित ख्यालठट्टा गर्दै भन्छिन्- ’दादा ! तपाईंले कुनै दिन मसित गुल्चे मात्रै खेल्नोस् न….तपाईंले अरूअरू किताबहरूबाट, अरू कविहरूका कविताबाट एकेक लाइन झिक्दै चोरेर आफ्नो कविता बनाएको कुरा सबैलाई हल्ला गरिदिन्छु ।’ मेरी अर्धाङ्गिनीको कुरा सोह्रै आना सत्य हो भन्ने म कबूल गर्छु । यहीँबाट अनुमान लाउनोस् म बुनबाने कवि हुँ कि तानतुने कवि !

मलाई रूपियाँमा सोह्रै आना विश्वास छ, मेरी जीवनसखीले आफ्नै पतिको भेद खोल्दिनन् । तर उनको कुरा सुनेर मनमा भने चसक्क लाग्छ, मुटु चिरिक्कै पोल्छ र शौचालयमा बसेको बेला मेरो मनले भन्छ, अब उसो कविता चोरूँ कि लेखुँ…कि के गरूँ ?…हँ !!

सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x