साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अथ श्री कोसेली महात्म्यम् !

बुझ्याै कविवर ? तिमीलाई अर्घ, पञ्चामृत, फूल, अक्षता, नैवेद्य, दक्षिणा लिएर एउटा मधौरु मनुवा पूजा दर्शनको लागि देखापरेको छ ।

Nepal Telecom ad

 

‘डाँफे चरी हिमालमा तित्रा तिमालमा

भिमल भिमल दिल बस्यो पहिलो छिमलमा !’

सुदिन, होस् कि कुदिन ! जहिलेसुकै यस्तैयस्तै सुकविता पर्लएसँग फुरेर राष्ट्र्रका गाउँसहर उखपात बर्नाएका एकजना अरष्ट कविको दर्वारी महलको आगे विनादर्जाका थोरै कम नामूद अर्का एक लखर्ट्वाक कवि एकाविहानै दुम्किन पुगेछन् । आफ्नाे मूलढोकाबाहिर झोला नामधारी ह्यामानको धोजे कसेर दुरुस्त मान्छेजस्तो जीवात् उभिएको चर्मचक्षुले स्पष्ट देखेपछि अरष्ट कविलाई ठूलै दिमागी दौराले छेड्खानी गरेछ— ‘बुझ्याै कविवर ? तिमीलाई अर्घ, पञ्चामृत, फूल, अक्षता, नैवेद्य, दक्षिणा लिएर एउटा मधौरु मनुवा पूजा दर्शनको लागि देखापरेको छ । गुरुचरण स्पर्शसहित दानदक्षिणा र मीठामसिना पक्वान्न परिकारले पूजाअर्चना गर्न जो आएको हुनुपर्छ । पक्कै त्यो गर्भिणी बाख्रीभन्दा मदमस्त लाग्ने झोलाभित्र कोसेलीका नौथरी किसिम, परिकार र दर्कार नपरेका आइटमसमेत अटसमटस भएर बल्लतल्ल अटाएका हुनन् । त्यहाँभित्र बहुतकुछ खँदिला स्वादिला वलवीर्यबर्धक जिनिस पनि खातैखात कोचिएका जो हुनुपर्छ । मनभोग, कुराउनी, खारेको, घिउ, काँक्राफर्सीको नयाँ ताजा बिऊ, कागतीको पुरानो अचार आदिइत्यादि गुणकारी पदार्थका भण्डाराले त्यो मनचिन्ते जिन्सीखाना भरिभराउ पक्कै छ । नत्र भुस, कुनाउरो, या त पराल, छ्वालीले सुरसामुखी झोला भरेर यत्रो ठूलो कविको दर्शनार्थीकारूपमा त पक्कै आाएका छैनन् ती सज्जन ! पाचक रसादि या वायु समनकारी पुष्टकारी पदार्थले पनि भरेका हुन सक्छन् त्यो मनचिन्ते झोला ती भद्रमनाले !’

कविबुद्धि कविताको फाँट नाँघेर यतिवेर तर्कशास्त्रमा तरङ्गित बन्यो । अनि भित्रभित्रै वासनादार बहार लिएर नीलकमल झैं फक्रिएको कविमन एकाएक काव्यभाव छोडेर कोसेलीका व्यभिचारी भावका परिपञ्चमा पातपात नाँच्न थाल्यो । उल्लसित दिलको भ्रमरविलासिनी भामिनी खेला खेल्ने इरादा मानसपटलमा गडेर भसक्कै तालले भास्सिन थाल्यो । अरष्ट कवि ठाउँको ठाउँ कोसेलीका वरिष्ठ अनुरागी बन्न पुगे ।

धेरथोर विरामी अवतारमा सरकारी सहायतको औषधि र मल्टी भिटामिन दाबेर शयनकक्षमा विराजमान कवि जीले बारम्बार झ्यालबाट पुलुक्क तल हेर्न भ्याए । विशालकाय झोलाधारी मनुवा हलचल नगरी मूर्तिवत् ठिङ्ग उभिएको देख्तै बारम्बार मुख रसाएर मनचिन्ते रसादिले जिब्राको स्वाद बपर्बाह बरालिन थाल्यो । विरामी मान्छे बनिदिएकाले अगिपछि तल झर्न निकै गाह्रो पथ्र्यो तर आज के ताल परेर हो उर्वशीकै सिको गरेर पाऊ त छमछम चलिदिएका । अनि पत्तै नपाई कति बेर तल झरेर ढोका खोल्नुभएछन् अरष्ट जीले । कपाट खोलेपश्चात सपाट लयमा आगन्तुकको परिचय माग्दै विस्तारै बोल्नु भए उनी । तत्कालै नवआगन्तुकको करजोरी अभिवादनलाई शिरमाथि हात राखेर आशिर्वादको बर्षा गर्न पनि बेरै जो लागेन । अनि आफैं अगुवाइ गर्दै बैठककक्षको सोफामाथि बस्ने आग्रह अघि सारेर उहाँले मनमनै कुरौनी मनभोग मार्का खातिर्दारी गरीभ्याए ।

कवि जी चानचुनेमात्र अवश्य थिएनन् , हैनन् पनि । महाकविकै दज्र्यानी प्राप्त गर्ने मेलोमेसोसमेत पसाएर मुखमुख भैसकेका या छेउछेउ पुगेका अतिथिप्रिय अरष्ट कविले नवागन्तुक लखरट्वाक कविजीलाई उनको आगमनको लक्ष्यबारे सुध्याउनु भएछन् । तत्कालै आगन्तुक जीले पनि आप्mनो उतिवेरको सेना समायोजन र यति बेरको अयोग्य लडाकु बहिर्गमन बारे राम्रै व्याख्या विक्ष्लेषषणलाई संष्लेषणसहित पघाहा लगाए । उतिवेरको बहिर्गमन याने लडाकु .बहिस्करणमा परेजस्तै आफू अहिले साहित्यका बहुविध विधाको फाँटमा गैरीखेतको पाहालेझैं रोपाइँका दिन पधारिनु परेको पीडा पोख्तैगए उनी । आफूसंग नानाभाँती लेखकीय योग्यताका जोतारा, अना,ै हल्लुड, हरिस, फाली, आदिइत्यादि बर्करार छँदाछँदै हाल यता त्यता जताततैबाट अयोग्य स्रष्टाको दर्जामा दज्र्यानीकृत भैदिँदा मनमा नौ रेक्टर स्केलको वैराज्ञकम्पन चलेर त्वंशरणंको रणनीति अख्तियार गर्न आइपुगेको विषयसमेत खुलस्त वताउँदा भए । सखारै त्यस्ता रसलिा, पुखला मान्छे आउँदा अरष्ट कविका मनमा बारीका मकैझैं तरबर्रै सिङजुरा पलाए । सुतेका नौनाडी एकाएक जागे । मोटो झोलाभित्रका नानानौथरी काल्पनिक परिकार दाबेको सपना देखेर विपनामै बड्गारा चिलाए ।

लखरट्वाक कवि पनि के कम ? उनी पनि त आँशु कवि न ठहरे ? उनले पनि हत्तपत्त खोले झोलाको फस्नर । उधिने थोत्रा झोलाको सातपत्रे आन्द्राभुँडी । निकाले नौथरी पुस्तकका दशथरी उडुसग्रस्त चाङ । धमिराराग्रस्त थैला । यता अरष्ठ कवि फ्ल्याट ! देख्दै काँचोवायु चडेझैं उनको आङ फर्फरायो । क्रोधाग्निले आँखा लाल लाल भर्भराए । झरीमा रुझेको विरालो विर्साउनेगरी पसिनाको ताल फुटेर विस्तरा चुर्लुम्मै । दर्शन गर्न पसारिएका पाउ रित्ता । कोशेलीको अवतारमा अगाडि पसारो परे थोत्राचिथ्रा कितावका फुटकर पाना र जिस्ता । हैट्ट्ट !

लखरट्वाक कवि उपहार दिने कितावको एककिस्ते चाङ लिएर हात बढाउँदै के थिए, अरष्ट कविको पारो तातेर हदै पार गर्न उतारु भयो । वाणी विन्यास हुङ्कारको लयमा फुङ्कार बनेर छेलो हान्न पुग्यो — ‘हँन के ल्यायौ तिमीले यो ? मैले कितावको मुख देखेको छैन ?’ रुञ्चे बनिदियो स्वर ।

‘अरु त देख्नु भो होला तर मेरा यी किताव चैंँ हजूरले अवश्य देख्नु भा’छैन । किन त भन्दा कुनै किताब बन्नै लागेका डमीमात्र छन , कुनै किताव बनीसकेर पनि आपूmभित्रका कमीकम्जोरीले औताएर विरहगीत गाउँदै छेउभित्ता उधिनेर हजूरको भूमिका पर्खीबसेका छन्.। कुनै छापिएका पुस्तक हजुरको समालोचना—मन्तव्यलाई आफ्नाे अन्तिम गन्तव्य ठानेर लङ्का पुगेकी सीता जीकै पारा झिकेर हनुमानरूपी हजूरलाई पर्खीबसेका छन् । अन्र्तध्यानको तिर्खामा हजूरको चक्षुस्पर्शविना काकाकूल बनेर तिर्खाएका छन् कुनै चाहिँ । कुनै छापिएर पनि मुद्राराक्षसको बञ्चरो प्रहारले सिल्टिम्मुर खान पुगेका कितावको नाउँका मृतात्मा छन, जो हजुरको मुखबाट प्रेतकल्पको श्रवण पश्चात् वैतरणी पार हुन लालायित बनेर पर्खिबसेका छन । त्यसैले हे महाकविका साख्खै माइला भाइ कविवर ? यति जनि गर्दिनुपर्‍यो पर्भो !’

उनको वैरागपूणर् अनुनयमा अरष्ट कवि पग्लिनुको साटो ज्वालामुखी बनेर भड्किँदा भए र क्रोधाग्निको वर्षा गरेर ठाडै पड्किँदै गए— ‘हँन यी किताव किन ल्याको तिमीले ? अगि नै भनिसकेँ त ! के मैले किताव देख्या छैन भन्ठान्यौ ? मैले कवि वाल्मीकी कालिदास भासदेखिदेखि वनारसीदाससम्म कुनै बाँकी राख्या छैन । कतिपय पढेर कुनै मनमा गढेरै पानी बनाइद्याछु । तिमी धेर सोझा या बाउँठा चैं परेछौ । उपहार पनि यस्तो ल्यउनी हो ?’

अरष्ट कविको झापडले स्पर्श गर्दा उतिबेरै बुहारी झार बनेर पाखा पल्टिए लखरट्वाक जी ।
‘कस्तो हुन्छ त प्रभो कविकोलागि कविले ल्याउने कोसेली ?’ नम्रताको पीँधैमा पुगेर सुध्याए उनले । अरष्ट कवि लाक पाएर झनै सन्किए । असारे गीतको भाका झिकेर अझै चर्किए—
‘हँन तिमीले यता आउने बाटैमा पर्ने नेपाल दुग्धसंस्थानको डेरी देखेनौ ? त्यहाँ राखिएका चीज मख्खन खारेका घिउ रसभरी चमचमआदि कौनैकुछ भेटेनौ ? आसपासका छासमिसे मिनीमार्ट, विगमार्ट अदि के के पनि देखेनौ ? त्याहाँ चाङ लागेका काजू,बदाम,पेस्ता,डइ फ्रुटस्आदि खजानाहरूले तान्न सकेनन् भने तिम्रा आँखा पनि चर्मचक्षु हैन बर्मचक्षु चैं परेछन् । बर्मे छिनुजस्ता के !’

दुर्वासा विर्साउने क्रोधवाणी सुन्दासुन्दै लखट्र्वाक कवि त झण्डै पो बेहोस् बनेका ! एक छिन आराम गरेर गम खाएपछि लखरट्वाक स्पष्टिए —‘सबै एक एक देखेकै हुँ कविवर !’

यति सुन्दा पनि कविजीको आँत अलि रसाएछ, हरेस नखाई निर्देशन जारी गर्न थाल्नु भएछन् उनी —‘दूग्धडेरी देखेका रैछौ त त्यहाँभित्रको लड्ड पेडा, रसभरी अनि चौरी गाइको चीज पनि विक्रीमा रहेको हुन्छ भन्ने कसरी थाहा पाएनौ ? उसमाथि कविले चौँरीगाइको चीजभित्र आपूmलाई चाहिँने ऊर्जा,वलवीर्य र कविताको वीज पनि सजिलै प्राप्त गर्छन भन्ने तिमीले बुझेनौ ? अनि यी अनेकथरी काजुकिसमिस, बदाम,पेस्ता खातखात बेच्न राखेको पनि देखेनौं ? लोहोराले फुटाउनुजस्ता कस्ता चर्मचक्षु हुन् यी तिम्रा ?’

कविवाणी रकेटको रफ्तारमा बढ्दै गयो । लखरट्वाक कविभने उनले भनेजस्तो पटमूर्ख त अवश्य थिएनन् तर यो मामिलामा कच्चाबच्चा भने पक्कै देखिए !

‘पाँचसात हजारको बेजो बुझाएर पाउलागी नगर्दासम्म अरष्ठ कविबाट काम लिन सकिने छाँटकाँट जो देखिएन । बालबच्चाको मुख मोसेर त्यतिका रकम खर्चिँदा पनि कितावका चाङ भने चुनावको वेला एउटै भोट नछिरेका ढ्वाडझै बेगारीको भ्वाङ बन्दै बेखर्ची बटुवाको पाराले वाङ खान पुगे भने ?’

लखरट्वाक कवि त्यसको जवाफ नपाएर नयाँ दिशातिर आफ्नाे गति बढाउन अग्रसर भए । कोसेली आउने भ्रममा अरष्ट कवि अझै उनैको बाटो हेर्दैरहे । विचरा च्वु च्वु ! दिनभरी नै हेरेछन् त बाटो पनि ! राती सपनामा पनि तिनै कोशेलीका नानाथरी परिकारले अरष्ट कविको विचरो जिब्रो रसास्वदनमा भुली नै रह्यो । जय होस् कविजीको ।

नयाँ वानेश्वर
९८४१६४७१८९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x