माधव पोखरेल गोज्याङ्ग्रेटुप्पी महात्म्ये
स्व. भैरव अर्यालले टाउकोलाई टोपीको स्ट्याण्ड भनेर लेखे तर म चाहिँ के लेख्छु भने टुप्पी भनेको फूलपाती राख्ने स्ट्याण्ड हो ।

टुप्पी सबैको हुँदैन र सबैले राख्दैनन पनि । टाउकाको कपालले नै सबै कुराको कमाल गर्ने भएपछि जावो टुप्पीको के जरुरत पर्यो र राख्नु त ! टुप्पीको महत्वका वारेमा जो कोहीलाई जानकारी हुँदैन । टुप्पीलाई कसै कसैले मानिसको शरीरको एरिएल अर्थात् एन्टेना पनि भन्ने गरेको पाइन्छ । जे होस आखिरी टुप्पी मानिसको शिरको मध्यभागमा हुन्छ भन्ने कुराको भेउ सबैले पाएकै छन् । तर एउटा अचम्मको कुरा के भने हिजो आजको जमानामा टुप्पी राख्ने चलन फेरिएको छ । पहिले पहिले टुप्पी तालु र घुच्चुकको बीचको भागमा अर्थात् टाउकाको मध्य भागमा राख्ने चलन थियो । तर आजकलको छलियुगे जमानामा टुप्पी राख्ने प्रचलनले भिन्नता पाएको छ । युगमै भिन्नता आए पछि प्रचलनमा भिन्नता आउनु कुनै नौलो कुरा होइन जस्तो लाग्छ । किनभने युगको माग नै लगौटी धारी छ भने टुप्पी निधारमा, कन्चटमा, तालुमा, घुच्चुकमा राख्ने चलनले चल्ने मौका पाउनु मौकामा चौका हान्नु हो ।
टुप्पी वास्तवमा हामी नेपालीको इज्जत पनि हो । यसले ठूला ठूला सन्त महन्तहरुको मान प्रतिष्ठामा सघाएको छ भने इज्जत समेत राखिदिएको छ । कतिपय सन्त महन्तहरुले टुप्पीकै कन्दनी र लगौटी समेत बनाएर आफ्नो इज्जतलाई अझ कसिलो बनाउन भ्याएका छन् । हुन् त सन्त महन्त बाहेक अरुले पनि टुप्पी पाल्ने गरेको हामीले देखेका छौ र पत्रपत्रिकामा पढेका पनि छौ । यतिमात्र होइन केहीले त टुप्पीको पिर्का बनाएर त्यसैमा बसेको पनि देखियो । कतिपयले टुप्पीलाई महिलाले चुल्ठी बाटेर केसको सम्हार गरेझै बाटेर प्रदर्शन समेत गर्ने गरेको पाइएको छ । भनौ टुप्पी पाल्दा कतिपयले अरुले नदेखुन भनेर टोपीले छोप्ने गरेको पाइन्छ भने कतिपयले त टुप्पीले नै टोपी छोप्ने गरेको पनि पाइन्छ । टुप्पीलाई घृणा गर्नेहरूले आफै बेइज्जत भएर रोएर हिंडनु परेको अवस्था पनि हाम्रो नजरबाट टाढिएको छैन । जे होस् पहिले टोपीले टुप्पी छोप्थ्यो भने अहिले टुप्पीले टोपी छोप्न थालेको छ ।
स्वर्गमा पुगे पनि नेपाली हास्यव्यङ्ग्य क्षेत्रका ध्रुवताराका रुपमा रहेका र हाल स्वर्गका उर्वसी, अप्सरा, उर्मिला लगायतका परीहरुसंग इत्तरिएर हाँसोको फोहरा छुटाएर टुप्पीबाट धुवाँ उडाइरहेका भैरव अर्यालले टुप्पीको आधारभूमि टाउकोका वारेमा खिया र विया विहिन व्यङ्ग्य लेखेर टाउकोलाई टोपीको स्ट्याण्ड बनाए । तर अहिले त्यो कुराले उल्टिने, पल्टिने, घोप्टिने, नेप्टिने र चेप्टिने मौका पाएको छ । किनभने टुप्पी छोप्न टोपी लगाउँदा टुप्पीले हुर्कने अवसर नपाई एकै ठाउँमा गुम्सिएर ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ भनेझैँ जस्ताको त्यस्तै एक इन्च पनि बढने अवसर पाउदैन । स्वर्गिय सर भैरव अर्यालले जुम्रा फल्ने टाउकाका वारेमा लेख्नु भयो तर नेपालीको इज्जत जोगाउन ठूलो भूमिका निर्वाह गर्ने टुप्पीका वारेमा लेख्न बिर्सनु भएछ जस्तो लागेर आएको छ मलाई । उहाँ स्वर्गमा मनोरञ्जन गरिरहनु भएको भए पनि म के सुझाव दिन्छु भने स्वर्गमा रहेका आफ्ना साथीहररूको, सन्त महन्तहररूको टुप्पीका वारेमा अध्ययन गरेर हास्यव्यङ्ग्य लेखन कार्यलाई अघि बढाएर तालु खुइलेका उहिलेका र अहिलेका स्वर्गवासीहरुको मनलाई टुप्पीकै कारण नरुवाउन अनुरोध नै गर्दछु ।
मान्छेको आकृति र स्वरुप निर्धारण गर्ने जिम्मा टाउकोले पाएको छ । तर त्यही टाउकोमा हुने टुप्पीको महत्वले भने ब्रह्मा बाका गिदीमा भने कुनै कुरा फुराएनछ । ब्रह्मा बाको पनि टाउकोमा टुप्पी थियो तर उनले आफ्नो टाउकाको टुप्पी देखेनछन क्यार र त यसको महत्वका बारेमा कुनै पत्तो नै नपाएका होलान् । किनभने त्यतिबेलाको जमानामा टाउकोको बेस र केस सबै सराबर नै हुन्थ्यो । कुन केस, कुन टुप्पी । त्यतिबेला सायद केस र टुप्पी एकैखाले हुने भएकोले पनि होला ब्रह्मा बालाई आफ्ना सन्तानले टाउकामा झुप्पी खेलेर हैरान बनाएका पो थिए कि जस्तो पनि लागेर आउँछ मलाई त ! आफ्नै टाउकाको केसको हविगत देखेर पनि होला उनले कतिपय ठूलाबडाको टाउकामा केस र टुप्पीको व्यवस्था गर्न आनाकानी गरेको हुन सक्छ । अर्को कुरा के भने त्यतिबेला सगरमाथाको जन्म नभएकाले पनि होला टाउकामा टोपी लगाएर टुप्पीको सुरक्षा र सम्मान गर्नु पर्दछ भन्ने कुराको हेक्का उनले गर्न सकेनन् । यदि त्यो कुरोको हेक्का राखेको भए आज आएर टुप्पीले टोपी छोप्नु पर्ने अवस्था आउँदैन थियो होला । जे होस् टुप्पी हाम्रो लागि गौरव र सम्मानको विषय हो किनभने यो हाम्रो शिरको भिरमा आँखाले नदेख्ने गरी रहेको छ ।
अब अरु कुरा छोडेर लागौं टोपी र टुप्पीतर्फ । टुप्पी सबै नेपालीको हुँदैन र टोपी पनि सबै नेपालीले लगाउँदैनन् । केहीले टोपीलाई हेयको दृष्टिले हेर्ने गरेको तथ्य पनि हामीले पाएका छौं । तर त्यो अन्तर्राष्ट्रिय फटाहाहरूकाे संजालले जाल हानेर फसाउन सकिन्छ कि भन्ने उद्देश्यले गरेको प्रहार हो । अबको अवस्थामा त्यो गैरनेपाली वाहेक अरुले टोपीलाई हेयको दृष्टिले हेर्न सक्दैनन् । किनभने कतिपय टुप्पी नहुनेहरूले पनि नेपाली टोपी लगाएर आफू नेपाली हुँ भन्ने आत्मबोध गराएको मात्र होइन विश्वमै नेपालीको पहिचान गराउन पाएकोमा आफूलाई गौरवान्वित समेत ठानेका छन् । टोपी र टुप्पीको सम्बन्धका बारेमा टुप्पी पालेर र नपालेर टोपी लाउनेहरूले मात्रै होइन टोपी नलाउनेहरूले समेत राम्ररी नै बुझेका छन् । टुप्पी राख्नेले टोपी लाउछन् पनि लाउदैनन् पनि । टोपी लाउनेले टुप्पी राख्छन् पनि राख्दैनन् पनि त्यो व्यक्तिगत इच्छामा भर पर्ने कुरा हो । तर सबै भन्दा ठूलो कुरा केहो भने टुप्पी र टोपी हाम्रो इज्जत हो भन्ने कुरा नेपालीले कहिल्यै पनि बिर्सनु हुँदैन भन्ने मलाई लाग्दछ । टुप्पी लामो पाल्नेहरूले टोपीको काम अब टुप्पीले नै गर्ने भएकोले टोपी लाउने जरुरत नै नपर्ने भो भन्नेहरू पनि होलान् । कतिपयको टुप्पीले कन्दनी र लगौटीको काम पनि गर्ला रे ! ओढ्ने, ओछ्याउने वा शरीरको अङ्ग छोप्ने कपडाकै काम गर्ला । यदि त्यस्तो हो भने त्यो मान्छे साक्षात ब्रह्मा बा कै रुप हो भन्न सकिन्छ । टोपी कसैले टुपी छोप्नका लागि लगाउछन् भने कसैले आफ्नो पहिचानका लागि लगाउने गर्दछन् । तर कसैलाई टुपीको रहर भएर पनि पाएका छैनन् । तालु खुइलेर आलु पनि नफल्ने मरुभूमि जस्तो टाउको भएकाहररूले टुप्पीको रहर गरेर के गर्नु ! न रोप्दा उम्रन्छ, न विरुवा लगाउँदा नै सर्दछ, न दल राख्नु, न बेर्ना तयार पार्नु जति रहर गरे पनि के गर्नु । कसैको अवस्था टुप्पी नहुँदा जर्जर छ भने कसैले टाउकै भरीको केशलाई टुप्पी बनाएर टोपी टालेर जुत्ता गालेर हिंडेका छन् ।
टुप्पी पाल्नु कसैका लागि सोख हो भने कसैका लागि इर्ष्या पनि हुन सक्छ । टुप्पी पाल्ने सोख पनि फेरि कस्तो छ भने जुन ठाउँमा टुपी राख्नु पर्ने हो सो ठाउँबाट टुप्पीको सरुवा गरी भिर, पहरा, कन्दरा लगायतका ठाउँमा पुर्याइएको छ । तर जे होस् टुप्पीको सरुवा जस्तो ठाउँमा गरे पनि आखिरी टुप्पीले फस्टाउने अवसर भने पाएको छ । भनौ टुप्पी पाल्ने परम्परा अहिले आएर फेसनमा परिणत भएको छ । मुन्द्रे, कुण्डले अरुद्वारा पालिने, चालिने, फालिने, टालिने, गालिने, पगालिने लगायतका युवा जमातमा टुप्पी पाल्ने प्रचलन राष्ट्रियनीतिका रुपमा विकसित हुँदै गएको छ । नेपालमा मात्र होइन अन्तर्राष्टिय क्षेत्रमा नै यो अभियानकै रुपमा फस्टाएकोले केही क्षेत्रमा झण्डावाल डण्डेहरूले जगल्टा उखेल, टुप्पी काट आन्दोलन पनि चलाएका थिए ।
टुप्पी सबैको एकै प्रकारको हुँदैन । कसैको गाईखुरे हुन्छ भने कसैको लिखुरे हुन्छ । गाईखुरे टुप्पी पाल्नेहरू आफूलाई निकै ठूलो अर्थात् टुप्पी बहादुर हुँ भन्ठान्छन् भने लिखुरे टुप्पी पाल्नेहरू सामान्य रुपमा रहन्छन् । सबै टुप्पी पालाहरूको टाउको थियो अर्थात् स्व. भैरव अर्यालको भाषामा टोपीको स्ट्याण्ड थियो र टुप्पी पाल्ने सुवर्ण अवसर पाए, यदि उनीहरूको टाउकाँ बालु पनि नअडिने तालु मात्र भएको भए टुप्पीले जन्मिने मौका नै पाउँदैनथ्यो होला । हुन त कसैले टुप्पी पाल्ने परम्परालाई बिहारी शैलीको नक्कल पनि भनेका छन् तर बिहारी बाबु लालुको नाम चल्ने खालको अर्थात् टुप्पी भन्न लायकको टुप्पी नै थिएन । टाउकाको टुप्पी छोप्न टोपीको छोपी बनाउने प्रचलन अहिले हराउँदै गएकोले टुप्पी नै टोपी छोप्ने छोपी बन्न थालेको छ । टुप्पी पाल्ने बिहारी शैलीले नेपाली भूभागमा टोपीको छोपी लाएर शिर ठाडो भए पनि त्यो भिरमा अड्किएको बस्तुझैँ भएको छ कसैका लागि । टोपी भिरमै अड्किएझै भए पनि शिरमा टुप्पी छोप्ने टोपी लाउनु हाम्रा लागि गौरवको कुरा हो । किनभने हामी नेपालीका लागि टुप्पी र टोपी दुवै महत्वपूर्ण कुरा हो । अझ भन्ने हो भने टोपीले नेपालीको शान र मान दुबै विदेशमा समेत बढाएको छ । कतिपय विदेशीहररूले समेत नेपाली टोपी लाएर सम्मानित हुने अवसर पाएका छन । भनौ नेपाली टोपी लाएर विदेशीहरूले समेत टुप्पी नभए पनि टाउको छोपेर सुरक्षित हुने अवसर पाएका छन् । जुन हामी नेपालीका लागि मात्र नभएर विदेशीहरूका लागि पनि गौरवको विषय बनेको छ । नेपालका केही बज्र स्वाँठहरूका लागि टुप्पी टोपी छोप्ने साधन भएको छ । भने विदेशीहरूका लागि टाउको छोपेर सुरक्षित भै विभिन्न खाले अतिक्रमण, संक्रमण, आक्रमण, फोहरबाट संरक्षण गर्ने महाभियानको परिचायक भएको छ टोपी ।
टुप्पी पाल्नेहरूले होस् गर्नु पर्ने कुरा केहो भने यदि टुप्पी पाल्ने मान्छे विद्यार्थी छ भने र ऊ ज्यादै चकचके छ भने स्कुलमा सरले त्यही टुप्पी समातेर रिङ्याउन बेर पनि लाउदैनन् । कतिपय टुप्पीपालाहरू त त्यसरी सरको फेला परिसकेका पनि होलान्, उनीहरूले लोकलाज र अरुले जिस्क्याउने डरले पनि सरले टुप्पी उखेलेको कुरा भन्न नसकिरहेको मात्र हो । अर्को कुरा गायत्री मन्त्र जप्नेहरूले पनि हातमा जनै बेरेर टुप्पी छोएर जप ध्यान गर्ने गरेको पनि देखिएको छ । यो टुप्पीको धार्मिक पक्ष हो, हिन्दुत्वको संस्कार हो । ठूला ठूला सन्त महन्त वा मठाधिशहरूले टाउकाको केश काटेर टाउकामा गाईखुरे टुप्पी जो गाईको खुर बराबरको हुन्छ राखेर मुठो बाँधेर जपध्यान तथा तपस्या गर्ने गरेको पनि पाइन्छ । तर सन्यासी भएकाहरूले भने टुप्पी राख्ने चलन छैन । यो उनीहरुको आफ्नै जातीय संस्कार भित्रको कुरा हो । टुप्पी नहुनेहरुले टुप्पी भए नभएको थाहा नपाउन भनेर पनि टोपी लाएर आफ्नो पहिचान देखाउन चाहनु चाहिँ राम्रो कुरा हो । हिन्दुत्व वाहिरका केही जातीहरुले टुप्पी राख्दैनन जो आफ्नो धर्म, संस्कृति, परम्परा बचाउनका लागि पनि अति नै आवश्यकीय कुरो हो । तर कुरा के भने टुप्पी जाती धर्म अनुसार हुने भएकोले होस् वा नहोस् टोपी शिरमा होस् । अर्थात टुप्पीले टोपी छोप्ने होइन कि टोपीले टुप्पी छोप्ने संस्कारको विकास गर्नु पर्दछ । टुप्पीकै कारण कसैले राम्रो नाम कमाएका छन् भने कसैले आफ्नो टुप्पीलाई नमुना ठानेर प्रदर्शन गर्न योग्य पनि बनाएका छन् ।
टुप्पी पाल्ने सोख सबैको एकै प्रकारको हुँदैन । कोही टुप्पी ठाडो पारेर हिंड्छन् र सामाजिक तिरस्कारका भागी बन्छन् । किनभने हाम्रो समाजमा ठाडो टुप्पी राख्नेलाई चोरको संज्ञा दिइन्छ । अर्थात् हाम्रो समाजले ठाडो टुप्पी राख्नेहरूलाई सामाजिक विकृतिका रुपमा हेर्ने संस्कारको परापूर्व कालदेखि नै विकास गरेको र पछि गएर यो एउटा उखान टुक्काका रुपमा परिणत भएको पाइन्छ । जो इमान्दार छ उसको टुप्पी सधैँ आफैँ सुतेर बस्छ रे ! टुप्पीलाई जतिसुकै ठाडो पार्न खोजे पनि र अरुलाई देखाउन खोजे पनि लाजले लुक्छ रे ! मुठे टुप्पी पालेर निधारमा चन्दन घसेर अरुका अगाडि आडम्बरी बनेर ढोँगी बिचार राख्नेहरू शिकारी स्वभावका हुन्छन् भन्ने कथन पनि हाम्रै समाजले अघि सारेको छ । कतिपयको टुप्पी जहिले पनि ठाडोको ठाडै हुन्छ, जतिसुकै सुताए पनि नसुत्ने सधैँ जागा भैरहने हुन्छ । कतिपयको सधैँ कुम्भकर्णझैँ सुतिरहने कहिल्यै ठाडो नहुने हुन्छ । यस्तो किन भएको हो त भन्ने कुराको जानकारी यसको आविष्कारकर्ता ब्रह्मा बालाई पनि जानकारी नहुन सक्छ । मलाई चाहिँ के लाग्छ भने चङ्ख मान्छेको टुप्पी ठाडो हुने र सुताहाको टुप्पी सुतिरहने होकि भन्ने लागेर आउँछ ।
हाम्रो समाजमा चलेको एउटा उखान छ ‘टुप्पीभन्दा माथि केस हुँदैन, बाहुन भन्दा माथि अर्को जात हुँदैन रे’ ! वास्तवमा टुप्पी भन्दा माथि हामीले केस देखेका पनि छैनौँ किनभने टाउको भन्दा माथि मान्छेको कुनै अङ्ग नै हुँदैन यदि हुन्छ भने सगर नै हुन्छ अरु केही हुँदैन । टुप्पीको टुप्पोभन्दा माथि कुनै पनि साथीको केस शेष भएको हुन्छ । ब्रह्माजी कहाँ पेस भएका केसहरू मध्ये टुप्पी नै सबै भन्दा माथिको बेस केस भएको र यो शेष रहुन्जेलसम्म मान्छेको भेष वास्तविक रुपले बाँचिरहन्छ भन्ने मान्यता अनुसार ब्रह्माजीले टुप्पीमाथि केस उमार्न नसकेको हो कि भन्ने धुर्तानुमान गर्नेहरू पनि टुप्पीपाला भने अवश्य थिएनन् होला । टुप्पीको महत्व थाहा पाउन र जानकारी राख्न टुप्पी पाल्नु आवश्यक छ । सबै भन्दा पहिले आफूले टुप्पी पालेर त्यसका वारेमा व्यापक अध्ययन, अनुसन्धान गर्नुका साथै टुप्पीकै विषयमा पटक पटक नै विचार गोष्ठि गरी त्यसबाट निस्केका निष्कर्षहरू कार्यान्वयनमा ल्याउन सक्नु पर्दछ । आफूले टुप्पी नपाली अरुले पालेको टुप्पीका बरेमा लेख्नु अन्याय हुने भएकोले र उक्त लेखाई अपूर्ण पनि नहुने भएकोले मैले पहिले आफूले लिखुरे भए पनि टुप्पी पालेर त्यसका वारेमा केही अनुभव संगाली यो टुप्पी महात्म्ये टुप्पी पालेर हातमा चुप्पी लिएर हिड्नेहरुका लागि तयार पारेको हुँ भन्ने मलाई लागेको छ । अहिलेलाई यो कुरा मलाई लागेको भए पनि पछि गएर हाम्लाई लाग्या छ भन्ने पनि हुन सक्छ ।
टुप्पी महात्म्येका सम्बन्धमा जेजे भए पनि जुम्राका विषयमा भने लेख्नै पर्दछ । किनभने टुप्पी र जुम्राको सम्बन्ध भनेको नङ् मासुको जस्तो हुन्छ । टुप्पी भएका ठाउँमा जुम्रा छैन भने त्यो टुप्पीले पूर्णता पाउँदैन । अर्थात् टुप्पीमा जुम्रा परेन भने त्यसले असली टुप्पीको संज्ञा पाउँदैन र टुप्पी पाल्ने मान्छेको नाम टुप्पी पालामा दरिन सक्दैन । अर्को कुरा के भने टुप्पी सधैँ सफा गरिरहनेको टुप्पीले हुर्कने अवसर पनि पाउँदैन । यदि तपाइँले टुप्पी पाल्नु भएको छ भने त्यसलाई कहिल्यै पनि सफा नगर्नुस् । तर तेलभने दलि रहनुस् किनभने सफा नगर्दा र तेल दल्दा टुप्पीमा लिसो पर्न गै लठ्ठा पर्न थाल्छ । जब टुप्पीमा लठ्ठा पर्दैन भने त्यो टुप्पी नै ठहरिदैन । लठ्ठा परेपछि टुप्पीले बढ्ने, हुर्कने र विकसित हुने अवसर पाउने भएकोले होला टुप्पी पालाहरूले सफा नगरी फोहर राखेर जुम्रा जन्माई टुप्पीको महत्व अझ बढाएको जस्तो लाग्दछ ।
टुप्पी वास्तवमा कम महत्वको कुरा होइन भन्ने कुराको तथ्य र सत्यका वारेमा अब धैरै पुराण, भाषण र शास्त्रास्त्रको अध्ययन गरिरहनु पर्ला जस्तो लाग्दैन । किनभने टुप्पी पालाहरूले टुप्पीमा गाठो पारेर आफ्नो गोप्य कुरा अरुलाई भन्न हुन्न र टुप्पी अरुलाई छुन दिनु हुन्न भन्ने कुरोको भेउ बुद्धिमा लेउ लागेको भए पनि बुझिसकेका छन् । अब त बुद्धिमा लागेको लेउ खुर्केर टुप्पीलाई शिखरदेवका रुपमा पुज्नु उचित हुन्छ ।
कतिपयको टुप्पीबाट धुवाँ पनि निस्कन्छ भन्ने हामीले सुनेका छौँ । कसैले रिस उठेका बेलामा तेरो टुप्पीबाट धुवाँ निकाली दिन्छु वा तेरो टुप्पी उखेलिदिन्छु भन्ने गरेको पनि हामीले सुनेका छौँ । टुप्पीपालाले कुनै गडबड् गर्यो भने वा कसैसँग भनाभन परेर धमाधम टुप्पीका रौँ उखेलिन थाले भने उसले टुप्पी पाल्नुको स्वाद चाख्छ र टुप्पीबाट धुवाँ निस्कन थाल्छ । कसैसँग रिसराग परेमा वा भनाभन भएमा तेरो टुप्पी उखेल्छु बुझिस् भन्ने चलन पनि छ । अर्को कुरा के भने फलानोसँग चिलानो वा ढिस्कोको झगडा भयो र ऊ टुप्पी हल्लाउँदै भाग्यो भन्ने उखानसँगै टुप्पीपालाको बखान पनि गरिन्छ । यदि टुप्पी नहुँदो हो त यो उखान चल्ने र चलाइने पनि थिएन भन्ने मलाई लाग्या छ । त्यसैले पनि टुप्पीको महत्वले गहनत्वको स्थान पाएको छ ।
टुप्पीलाई मैले वास्तवमा भन्ने हो भने राष्ट्रिय रौँका रुपमा लिएको छु । किनभने टाउका भरीको केस काटेर टाउकाकै मध्य भागमा केसको विउ राखेझैँ गरी टुप्पी राख्ने गरिन्छ । सबै केस काटेर टाउको मुडुलै पार्ने तर थोरै भए पनि राखेर केसलाई शेष नपार्न राखेको टुप्पीले आफ्नो खेलवाड गर्ने स्थान सुरक्षित पारेको छ । अर्थात् टुप्पी रौँ माथिको रौँ भएकोले वा टुप्पीभन्दा माथि केस नहुने भएकोले पनि यसलाई मैले राष्ट्रिय रौँका रुपमा मानेको छु । जसरी सगरमाथाभन्दा माथि हामी नेपालीको भूमि नै छैन र त्यो विश्वकै लागि अन्तर्राष्ट्र्रिय महत्वको भएको छ ठीक त्यसरी नै टुप्पी पनि हाम्रो लागि राष्ट्रिय रौँका रुपमा रहेको छ । अर्कोतर्फ शिरमा हुने टुप्पीले कतिपयका लागि ओढ्ने, ओछ्याउने, टोपीको काम र फूलपाती राख्ने स्ट्याण्डको समेत काम गरेको छ । अझ भन्ने हो भने कतिपयका लागि त टुप्पीले पुच्छरको काम समेत गरेको छ । चलचित्र वा नाटक र अन्य रङ्गमञ्चमा अभिनय गर्नेहरूले लामो टुप्पी पालेर आफ्नो प्रतिभा प्रस्फूटन गर्ने काम समेत गरेका छन् ।
स्व. भैरव अर्यालले टाउकोलाई टोपीको स्ट्याण्ड भनेर लेखे तर म चाहिँ के लेख्छु भने टुप्पी भनेको फूलपाती राख्ने स्ट्याण्ड हो । किनभने टुप्पी पालेर टोपी नलगाउनेहरूले फूलपाती टुप्पीमा घुसारेर आफ्नो धार्मिक आस्थालाई देखाएका हुन्छन् भने मान्छे भन्दा माथिका देवताको सम्मानका लागि पनि टुप्पीको प्रयोग हुँदो रहेछ भन्ने कुराको पुष्टि भएको छ, जुन राष्ट्रियताको परिचायक हो भनि ठोकुवा पनि गर्न सकिन्छ ।
तर एउटा कुरा के भने जस्को धर्म संस्कृति अनुसार टुप्पी पाल्न हुँदैन उनीहरू बाहेक नेताले टुप्पी पाल्दैनन् । यदि पालिहाले भने पनि निकै होशियारीपूर्वक पालेका हुन्छन् । किनभने नेताको टुप्पीबाट जनताले आगो बाल्छन् र धुवाँ निकाल्छन् । राजनीति गर्नेहरूले जनताका अगाडि धेरै प्रकारका गलत काम गरेका हुन्छन् र आफूले गरेको गल्तीका कारण कतै जनताले केसको बिउका रुपमा राखेको टुप्पी समेत उखेलेर सत्यानास पार्न बेर नलाउने भएकोले पनि होला टुप्पी नपालेको । टुप्पीमा समातेर रिङ्याउने, कालो मोसो दलेर वास्तविक नेता बनाउने संस्कारले आखिरी नेपालमा विकसित हुने अवसर पाएकै हो । छोटो शव्दमा भन्नु पर्दा नेताहरूको टुप्पी जनताका लागि इर्ष्याको इन्धन हो जहाँबाट जनताले ज्वालामुखी दन्काउछन् र टुप्पीबाट सर्वत्र धुवाँ फैलन्छ, अनि नेताले तिरिमिरी झ्याइँ देख्छन् । भनौ टुप्पी नेताका लागि वा धेरै दुष्मन भएकाहरूका लागि अफाप सिद्ध हुन्छ ।
इतिश्री स्कन्द टुप्पी महापुराणे टाउको राज्य, केस प्रदेशे, जुम्रा प्रशासनिक क्षेत्रे, लिखा, ढाडी, चम्कना संवादे, गाईखुरे, लिखुरे, मुठे, ठाडो, सुताहा टुप्पी महात्म्ये समाप्तम् ।
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































