डा. टीकाराम पोखरेलछेपाराहरू
रङ्ग बदलेका पुराना छेपाराहरू एकपछि अर्को गरि मर्दै थिए, तर संसारमा नयाँ छेपाराहरू जन्मने क्रम भने रोकिएन ।

राजगद्दि खालि भयो । नयाँ राजा चुन्नपर्ने भयो । राजा छान्ने क्षमता कोहीसँग थिएन । अकस्मात कसैले उपाय सुल्झायो । लावण्य देशमा त हात्तीले राजा चुनेको थियो ।
राजा छान्न हात्ति ल्याइयो । राजा हुन काला, गोरा, सेता, नीला, पहेँला उम्मेदवारहरू लाइनमा खडा थिए ।
राजा छानेको हेर्ने दर्शकहरूको घुइँचो थियो । दर्शकमा छेपाराहरू पनि थिए । छेपाराहरूको अनुमान थियो- हात्तीले पक्कै सेतोलाई राजा छान्छ । त्यसैले छेपाराहरू सेतो रंगमा लामबद्ध भएर बसेका थिए ।
हात्तीलाई राजा छान्ने आदेश दिइयो । हात्ती आँखा देख्दैनथ्यो । त्यसैले उसले सुँडले छामेर राजा चुन्नुपर्ने थियो ।
छेपाराहरूको अनुमान विपरीत हात्तीले राजाका उम्मेदवारमध्ये कालोलाई सुँडले उचालेर राजा घोषित गरिदियो ।
कालो राजा हुनासाथ सेता छेपाराहरू तत्कालै रंग बदलेर कालै भए । उनीहरू दर्शक दीर्घाबाट अगाडि सर्दै राजाको अगाडि झुम्मिएर भन्ने थाले- “हेर्नुस् त महाराज ! हाम्रो रंग पनि कालै छ । महाराज पनि कालो हामी पनि कालो ।“ राजाले जुँघाको ताउ मिलाउदै छेपारातिर हेर्यो ।
राजाको गद्दिरोहण भयो । दाम राख्नेले दाम राखेर स्वस्ती गरे । राज्याभिषेक पनि गरिहालियो । तत्कालै राजालाई रथारोहण गराएर शहर जार परिक्रमा गराइने भयो ।
राजा सवार रथ अगाडि बढ्यो । छेपाराहरू तछाड मचाड गरेर राजाको नजिक हुन तम्सिरहेका थिए । छेपाराहरू रथतिर जतिजति अगाडि बढ्थे उतिउती धमाधम रथको पाङ्ग्रामुनी परेर घुन झै पिसिदै थिए । छेपाराहरू इहलीला समाप्त गर्दै थिए । रथमा सवार राजालाई यसको कुनै मतलब थिएन ।
रङ्ग बदलेका पुराना छेपाराहरू एकपछि अर्को गरि मर्दै थिए, तर संसारमा नयाँ छेपाराहरू जन्मने क्रम भने रोकिएन ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































