डा. टीकाराम पोखरेलसंसार बदल्ने कला
“लौ ! सबैले माग्ने कसले भनेको छ र ? माग्ने हामी, दिने तपाईंहरू । संसार बनाउने हामी, हेर्ने तपाईंहरू ।”

देश बनाउने कुरा धेरै भए । पुराना कुरा मात्र कति गर्ने । अब संसार बनाउने कुरा गर्नुपर्छ भन्ने सोच आयो । यसको नेतृत्व नेपालले लिने भयो ।
संसार बनाउने विषयमा छलफल गर्न नेपालमा विद्वत भेला बोलाइयो । भेलामा सुकरात, चाणक्य, लाओत्से जस्ता दार्शनिक आमन्त्रित थिए । डार्बिन, मार्क्स, फ्रायड, आइन्स्टाइन नहुने कुरै थिएन । रुसो, लिङ्कन, गान्धीदेखी हिटलर र मुसोलिनिसम्म सबै संसार बनाउने बहसमा सहभागी थिए ।
संसार कसरी बन्छ ? छलफल बहस सुरु भो ।
सुकरातले सबैले सत्य बोले संसार बन्ने तर्क प्रस्तुत गरे । चाणक्यले इमान्दारिता र कुटनीतिमा जोड दिए । लाओत्सेले अलि दार्शनिक भएर बोले ।
डार्बिनले मानिसले बाँच्नका लागि संघर्ष गरेको कथा सुनाउँदै संघर्ष नै संसार बदल्ने अस्त्र हो भन्ने तर्क प्रस्तुत गरे । मार्क्सले डार्बिनको संघर्षमा अलिकति द्वन्द्वात्मक भैतिकवादको लेपन लगाइदिए । आइन्स्टाइनले विज्ञान र प्रविधिको विकास बिना संसारको विकास संभव छैन भने । फ्रायड्ले मान्छेका मनोवृत्तिलाई विकाससँग जोड्दै अलिकति यौनिक रंग सनेत भरेर छलफललाई रोमान्टिक बनाइदिए ।
हिट्लरले युद्ध बिना संसारको विकासको परिकल्पना गर्नै नसकिने तर्क राखे । गान्धीले हिटलरको तर्कको कडा प्रतिवाद गर्दै संसार बदल्ने एक मात्र अस्त्र शान्ति र अहिंशा हो भने ।
आयोजकको नाताले अन्त्यमा बोल्ने पालो नेपालको थियो । नेपालबाट मागबहादुर झ्वाम त्यस बहसमा सहभागी थिए ।
विदेशबाट आयातित टाइ र सुटमा सजिएका मिस्टर मागबहादुर झ्वामले भने- “हेर्नुस् मित्रहरू ! हामीले तपाईंहरूको कुरा सुन्यौँ । सुन्यौं मात्र होइन, बुझ्यौँ पनि । तर तपाईंहरुले भने जस्तो गरी संसार बन्दैन ।”
“कसरी बन्छ त ?” एक सहभागीले प्रश्न गरे ।
“संसार मागेर बन्छ । हामीले मागेरै देश बनाएका छौँ, संसार पनि मागेरै बनाउने हो ।” मिस्टर झ्वामले फूर्तिसाथ भने ।
“देश बनाउँदा पो एक देश माग्थ्यो अर्को देशले दिन्थ्यो । संसार बनाउँदा त सबै देशले आफ्नो योगदान गर्नु पर्यो । सबैले मागेपछि दिने चाहिँ कसले ?“ फेरि अर्को सहभागीको प्रश्न आयो ।
“लौ ! सबैले माग्ने कसले भनेको छ र ? माग्ने हामी, दिने तपाईंहरू । संसार बनाउने हामी, हेर्ने तपाईंहरू ।” मिस्टर झ्वामले अझ फूर्तिले भने ।
नेपालको संसार बनाउने कला देखेर सबै आश्चर्यचकित भए । भेला सकियो । सहभागीहरू आफूले माग्ने कला नजानेकोमा पछुताउँदै आआफ्नो देश फर्के ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































