माधव पोखरेल गोज्याङ्ग्रेभ्रष्टपाल
पहिलेका काजीहरू पाजी बनिरहेको समयमा अहिले आएर नयाँ काजीहरू राजनीतिमा बाजी मारिरहेका छन् ।

मञ्जुश्रीले पहाड काटेर बनाएको खाल्डोमा बस्ती बसाएको र ने मुनिले तपस्या गरी यो मुलुकको नाम गोपालबाट गोरखा, नेपाल हुँदै अब अझ सुधारिएर, मडारिएर, बढारिएर, साँघुरिएर परिवर्तन हुने तयारीमा रहेको भान भैरहेको छ । बिगतदेखि बर्तमानसम्मको अवस्थामा आफू जन्मे हुर्केको देशको मायामा धेरै फसेर कुलेलम् कसेको कुनै सपनाको गफ होइन । बिपनाकै एउटा मेसो हो । पेसो जे जे अपनाए पनि आखिरी मेलोमेसो भनेको सबैको एउटै हो । दुईटा मेलोमेसोमा हात हाले भने पनि त्यो फालिन्न बरु पालिन्छ । पाल्ने कुरामा धेरैले धेरैलाई पालेका छन् । कतिपयले पाल्नु पर्ने कुरालाई फालेका पनि छन् । तर हाम्रो देशले फाल्नु पर्नेलाई पालेर देशकै वदनाम भएको भानुभक्तिय कथनदेखि राष्ट्रकविको कवितासम्मले पुष्टि गरेको छ ।
हाम्रो काम गराई र बोलाइले हामीलाई कामी होइन नामी बनाएको छ । हामी नेपाली विश्वका अगाडि त्यसै दामी मान्छे भएका छौँ । काम गरेर देखाएको भए हामीलाई विश्वले कामी भनेर चिन्दथ्यो । तर कामभन्दा गफमा बढी घोटिने हामी विश्वका अगाडि छोटिने क्रममा छौँ । घोटिएर, छोटिएर, टुक्रिएर, झोक्रिएर बस्ने हाम्रो पुरानो संस्कारले हामीलाई हुन त नामी नै बनाएको छ तर अगाडिको बद् शब्दले बढी पोलेको छ । अर्थात पालन पोषणकर्ताहरूको अकर्मण्यताले हामी नेपाली बदनाम भएका छौँ ।
हामी नेपालीले घरमा पाल्नु पर्ने कुरा पाल्न छाडेर पाल्न र राख्न नहुने कुरा पालेर राखेका छौँ । घरमा गाई, भैसी, खसी, बाख्रा पाल्दा त फाइदा हुन्छ तर फाइदा नहुने कुरा पालेर हामी जनतालाई दिनरात घाँडो भएको छ । राज्यको जबरजस्ती पनाले पालिएकाहरूकै कारण देशको बदनाम भएको छ । भनाँै देशको नाम नै अब नेपालबाट भ्रष्टपालमा परिवर्तन हुन लागेको भान भैरहेको छ । यो देशले सज्जन, बुद्धि भएका, असल इमान्दार, जनताको समस्या बुझ्ने नेताको पहिचान गर्न सकेको जस्तो लाग्दैन । जति पनि नेता भनाउँदाहरू गफाडी, जनताका समस्या नबुझ्ने, भाषण चाहिँ डोका न डालाका गर्ने संस्कारबाट हुर्किएका छन् । सङ्क्षेपमा भन्नुपर्दा कुनै न कुनै किसिमले नेपालले भ्रष्टहरूको पालन पोषण गरिरहेका कारण नेपालको नाम नै परिवर्तन गरेर अब भ्रष्टपाल राख्नु उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई । यो कुरामा मेरो मात्र होइन धेरै पाठकहरू सहमत हुनुहुन्छ भन्ने मलाई विश्वास लागेको छ ।
विश्वमा नेपाल बढी भ्रष्टाचार हुने मुलुकको लहरमा पर्दछ भन्ने कुरा विश्वलाई नै लाई थाहा छ । भनौँ नेपाल भ्रष्टाचारीहरूको मुलुक भनेर चिनिएको छ भने देशको नाम नै परिवर्तन गरेर भ्रष्टपाल भनेर राख्दा के फरक पर्छ त ? आखिरी नेपालले भ्रष्टहरूलाई आश्रय दिएर पृथ्वीनारायण शाहकै पालादेखि हालसम्म पालिदैँ आएको कुरा इतिहास साक्षी छ भने देशको नाम परिवर्तन गर्न कुनै आइतबार पर्खिरहनु पर्ने जरुरी नै छैन । अहिले पनि सत्तामा अधिकांस भ्रष्टाचारीहरू नै छन् र राज्यले उनीहरूलाई खर्च दिएर पालेकै देखिन्छ । बरु जनता उपचार नपाएर, खान बस्न लाउन नपाएर, आत्महत्या गरेर मरेका छन् । तर राज्यलाई मतलव छैन । रोग, भोक र शोकमा डुबेका जनतालाई पाखा लाएर पानीमाथिको ओभानो बन्ने भ्रष्टहरूलाई पालेर राज्यको रकम दुरुपयोग भएको राज्यलै नै देख्दैन भने राज्यका शासकहरू कति भ्रष्ट रहेछन् भन्ने कुरा स्पष्ट हुन्छ ।
नेपाल देशे प्राकृतिक फेसे, भ्रष्ट पेसे, उज्वल केसे नेतृत्व पङ्ती कर्मकाण्डी मेसे । भ्रष्टपालक नेपाल देशे विश्वव्यापी नामाकरण भ्रष्टपाल भ्रष्टपाल भ्रष्टपाल । नेतृत्व गण भाषणस्य कुर्लयन्ते भ्रष्टाचार अहम देशस्य दुष्मन । समस्याय समाधानस्य व्यवहारिकता कर्मण्य पश्चगामी पदचाँप । अग्रगामी पदचाँपस्य उन्नती प्रगतिस्य रैतिश्च चतुर कागश्य परिवर्तनम । यह कारणम् नेतृत्व जगते अहम पश्चगामी दिसे परिक्रमा करोती । भविष्यतः अहम नेतृत्वस्य संरक्षण करोमी बर्तमान नेतृत्व भ्रष्टचार पुनरावृति आन्दोलन करिष्यती । नेपालस्य जन्मजाते भ्रष्टमति, भ्रष्टपति, भ्रष्टपाल संरक्षणे संबद्र्धनेस्यः भूत भविष्यतः बर्तमान इतिहास सखि भवयतः ।
देशमा जालभित्र संजाल छ । जसले जालो फाल्न सक्दैन बरु जालोलाई भित्रभित्रै सबैतिर फैलाएर वरिपरिबाट जञ्ंिजरले जेलिएको छ । त्यो जञ्जिर टुक्र्याएर भ्रष्टाचारको जालो मिल्काउन आजसम्म भएका सरकारका नेतृत्व गर्ने नेताले सकेका छैनन् । बरु उनीहरू नै त्यो जालोमा जेलिएर, झेलिएर, पेलिएर, बेरिएर, फेरिएर, केरिएर भ्रष्टाचारीलाई पालेका छन । आफू र आफ्ना भावी सन्ततीको जीवन रक्षाका लागि मरिहत्ते गरेर लागेका छन् ।
नेताले नेता पाल्ने देश हो नेपाल । नेतृत्वको तागत अर्थात नेता शब्द आफैमा अचम्मको छ । किनभने राज्यले नेता बनाउनुभन्दा पनि स्वघोषित नेता बन्नेहरूदेखि देश होसियार बन्न सकेन । पहिलेका काजीहरू पाजी बनिरहेको समयमा अहिले आएर नयाँ काजीहरू राजनीतिमा बाजी मारिरहेका छन् । नयाँ काजीहरू नेता बनेर जनताको जीवनसँग खेलिरहेका छन । व्यक्तिगत जीवनको स्वार्थमा बिरालो र मुसो बनेर राजनीति गर्ने संस्कारभित्र पनि सामाजिक जालझेल छ भन्ने कुराको भेउ हाम्रो लेउ लागेको दिमागले खुट्याउन सकेन, भनौँ अझैँ सकेको छैन ।
सत्य कुरा गर्ने हो भने देशमा भ्रष्टाचार बढाउन दिनहुँ जसो विभिन्न खाले गाईजात्रा हुन्छन् । कहिले सडकमा, कहिले सदनमा त कहिले सिंहदरबारमा त कहिले प्रदेससभामा, कहिले स्थानीय तहमा, कहिले खुलामञ्चमा रमाइला र उदेकलाग्दा घटनाहरूको श्रृङ्खलाले निरन्तरता पाइरहेको छ । गाईजात्राको नाममा भँैसी, राँगा, गोरु, खसीबाख्रा, पाडा, बाच्छा, कुखुरा जात्रा पनि देखिन्छन् । कुकुर, बिरालो, मुसा, बिरालो जात्रा पनि हाम्रो समाजले देखेको छ । जुन भ्रष्टपालनको उदाहरण हो भन्दा कुनै अन्याय हुँदैन ।
राज्यको ढिकुटी रित्याउनुको अर्थ जनताको श्रम पसिना चुस्नु हो । जनताले तिरेको कर नै राज्यको ढिकुटी हो भने त्यसको सही रूपले सदुपयोग गर्नु जनप्रतिनिधिको दायित्व र कर्तव्य पनि हो । तर यहाँ लुटको धनले फुपूको श्राद्ध भैरहेको छ । हामी जनता पनि काम लाग्ने रहेनछौँ भन्ने कुरा यसले पुष्टि गरेको छ । किनभने हाम्रो रगत पसिना हामी अर्कैलाई लुटाइरहेका छौँ । हामीले मत दिएर जिताइए हाम्रो प्रतिनिधित्व गर्न संघीय संसद, प्रदेससभा र स्थानीय तहमा पठाएको हाम्रो श्रम पसिना र रगत चुस्न होइन । हाम्रा समस्या तथा विकास निर्माण, बाटो, घाटो बनाउन, उद्योगधन्दा खोलेर रोजगारी दिन, गरिबी निवारण गर्न, निरपेक्ष गरिबीका रेखामुनि रहेका जनताको आर्थिक सामाजिक शैक्षिक सास्कृतिक अवस्था सुधार गर्नका लागि जनप्रतिनिधि बनाएर पठाएका हौँ । भ्रष्टहरूलाई पालन पोषण र स्याहार सुसार गर्न होइन ।
बिकृतिको मुहान र सुसंस्कृतिको मुहान दुवैले हाम्रो राजनीतिक, सामाजिक, आर्थिक संस्कारलाई दूरविन बिना नै देखिरहेको छ, नजिकबाट नियालिरहेको छ । सबैलाई जानकारी छ नेपालको अवस्थाका वारेमा र बिकृति निम्त्याउनेले धाप मारेर हौसला दिन्छ । अर्कोतिर सुसंस्कृतिको मुहानले आफ्नो मुलुकको सुशासनमा देखाएको प्रतिबद्धतालाई आधार मानेर सिको गर्न बाटो देखाइरहेको छ । नेपाल दुवैतिर फर्केको कारणले सही बाटो कुन हो भनेर पहिल्याउन अलमलमा परेको जस्तो गरिरहेको देखिन्छ । अलमलमा पर्नु नै भ्रष्टहरूलाई पाल्नु हो । सदियौँदेखि भ्रष्टहरूलाई पालन पोषण गरेर हुर्काउने काम गरेकोले पनि यो दशको नाम ने मुनिबाट पालित नभएर भ्रष्टहरूले पालन पोषण गरेकोले पनि भ्रष्टपाल राख्नु उचित हुने कुरा बुझक्कडहरूलाई थप्पड दिँदै सुझाव दिन चाहन्छु ।
उदयपुर
Subscribe
Login
0 Comments
Oldest







































