साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबैभन्दा खत्तम म

अहिले सम्झन्छु- कतिपयको नजरमा दुर्नाम नै कमाएको भए पनि सबैले मलाई जहाँसुकै चिन्न सक्नु मेरो कमाइ थियो ।

Nepal Telecom ad

मेरो कक्षामामात्रै होइन मेरो विद्यालयमा नै सबैभन्दा खत्तम विद्यार्थी भनेर सरहरूले मेरो प्रशंसा गर्नु हुन्थ्यो । एउटी मिसले मेरो कक्षामा क, ख, ग, घ पढाउँदै गर्दा राम्री म भनेर विद्यार्थीलाई घोकाउँदा मैले नराम्रो म भनेर जोरले चिच्याएको थिएँ । त्यैं बेला गालामा चड्कन चिउरा खाएर मेरो अनुहार हनुमानजस्तो सुन्निएको मलाई राम्ररी याद छ । कोही साँच्चिकै सुन्दरी मिसले आफूलाई राम्री म भनेर पढाउँदा कसरी म पनि राम्रो म भन्न सक्थें । ती सुन्दरीको तेतिबेलाको पढाइ मलाई प्राक्टिकल लागेको थियो – राम्री म । सरहरूले पनि त सुन्दरी मिस, राम्री मिस भन्दथे । सबै सरहरूले नै भन्ने गरेका र मिसले आफैं राम्री म भनेर पढाउँदा मैले आफू नराम्रो छु भन्ने सत्य वचनमै नराम्रो म भनेको थिएँ । तपैँ नै भन्नोस् न, म आफूलाई तेस्तो सर्वप्रशंसनीय सुन्दरी मिसको अगाडि राम्रो म भन्न मलाई लाज हुनुपर्ने हो कि होइन ? तर भाग्यमा लेखेको कल्ले पो मेटिदिने हो ? सत्य बोल्दा सानैमा गोदाइ खानु परेको घटनालाई सम्झनासाथ अझै पनि मलाई कैलेकाइँ सत्य बोल्न डर लाग्छ ।

अरूलाई सबैले सोध्थे – तिम्रो कुन विषय कमजोर छ ? त्यहीवेला मलाई सोधिन्थ्यो – तिम्रो कुन विषय राम्रो छ ? म पनि त्यत्तिकै बाठो मान्छे । कसैले मलाई धेरै सोधेर दुःख देला भनेर जुन विषयको प्रश्न गर्‍यो, त्यो विषयबाहेक मलाई सप्पै आउँछ भन्दिन्थें । जस्तै ः व्याकरणको प्रश्न सोध्यो भने मलाई नेपाली विषयबाहेक सबै आउँछ, ग्रामरको कुश्चन सोध्यो भने अंग्रेजीबाहेक सबै आउँछ, गणितको प्रश्न सोध्यो भने म्याथबाहेक मलाई सप्पै विषयको ज्ञान छ, विज्ञानको बारेमा जिज्ञासा मेरो अगाडि आउँदा सगर्व भन्दिन्थें कि मेरो स्कुलको विज्ञान मास्टर विज्ञानभन्दा बढी अन्धविश्वासमा विश्वास गर्छन् । यसैले साइन्सबाहेक मलाई सबै विषय आउँछ । मलाई कुनै कुश्चन सोध्ने अपराध नगर्नुहोस् । अब आफैँ अनुमान गर्नु होस् त, सरहरूले भनेको जस्तै म खत्तम कि उत्तम ?

मैले बाहिर जेसुकै भने पनि मेरो मनमा भने गणित विषयप्रति निकै मोह थियो । अहिले पनि रहेको छ । यो मेरो सबैभन्दा प्रिय विषय हो । गणितमा मेरो कुशाग्र बुद्धि देखेर गणित मास्टर मेरो इष्र्या गरेको मलाई अहिले पनि याद छ । मेरो गणित सरले बोर्डमा लेखेर सबैलाई पढाए- चारबाट एक घटाउँदा तीन हुन्छ । मैले विस्तारै भनें – झुठ, चारबाट एक घटाउँदा पाँच हुन्छ । चारबाट दुई घटाउँदा दुई हुन्छ भनेर बोर्डमा लेखेर देखाउँदा म सजिलै भन्थे छ हुन्छ । चारबाट तीन घटाउँदा सात हुन्छ र चारबाट चार घटाउँदा आठ हुन्छ भनेर मैले लास्टमा भन्दा सरजीको आक्रोशपूर्ण आशीर्वचन थियो – गधा, कमसेकम अरुलाई त पढ्न देऊ ।

म कक्षाको बोझ थिएँ । एक अर्थमा खुसी पनि थिएँ कि सबैले मलाई खत्तम नै किन नभनून्, सबैले चिन्छन् । सबैले चिन्नु सबैको लागि शौभाग्य हो । मेरो परम भाग्य म अहिले पनि मान्छु । कक्षाका धेरै अनुशासित विद्यार्थीको नाम सरहरूको दिमागमा अटाउँदैनथ्यो तर मेरो विशाल अप्रतिभाको कारण मेरो नाम सबैको ओठमै झुन्डिएको हुन्थ्यो । अहिले सम्झन्छु- कतिपयको नजरमा दुर्नाम नै कमाएको भए पनि सबैले मलाई जहाँसुकै चिन्न सक्नु मेरो कमाइ थियो ।

“म मान्छु कि गधाजस्तो ममात्र छु” मेरो बोली खस्न नपाउँदै सबैले गलल हाँसे । मेरो हौसला बढ्यो र मैले भनें – घरमा दाइले जिस्केर भाउजूको रुमालको एउटा कुना काटिदिनु भयो, त्यसमा एउटा कुना बढ्यो । एउटा रुमालमा चार कुना हुन्छ, एउटा कुना काट्दा पाँचवटा रुमालमा पाँचवटा कुना बन्यो । दुइटा काट्दा छवटा कुना बन्यो । तीनवटा कुना काट्दा सातवटा बन्यो र चारवटै कुना काट्दा आठवटा बनेको मैले देखेको छु । त्यत्ति मात्रै होइन, अस्ति बुबाले वीरगंजबाट एउटा तन्ना किनेर ल्याउँदा आमाले बीचैबाट काटेर दुइटा ओछ्यानमा बिछ्याएको मैले देखेको छु । एउटाबाट एउटा घटाउँदा दुई हुन्छ ।”

मेरो कुरो प्रैक्टिल भयो । कक्षामा यस्तो पढाइ हुँदैन । पढाइको आफ्नो रुल हुन्छ । रुलभन्दा बाहिर जाने हो भने कक्षाबाट मात्र होइन विद्यालयबाटै बहिष्कृत हुनुपर्छ ।
त्यसपछि म डराएँ । अनि गणित सरदेखि मैले कहिल्यै पनि मुख लगाइनँ ।
लिजर घन्टीमा एक दिन अर्को एकजना सर गणित पढाउन आउँदा मेरो मनभित्रको गणितको सैतान फेरि जागृत भयो । सरलाई टाइम पास गर्नु थियो, यसैले जोड पढाउनु भयो- “एकमा एक जोड्दा दुई हुन्छ ।” विस्तारै तर सरलाई सुन्ने गरी उही भलादमी पाराले मैले भनें – “एकमा एक जोड्दा एक हुन्छ ।”

मेरो बारेमा सरले सुनेकै थिए क्यारे । रिसले माया गरेकोजस्तो बोलाएर गालामा चड्याम्म चड्कन दिँदै सरले मेरो बुद्धिलाई ठेगान लगाउँदै भने – एकमा एक जोड्दा एक कसरी हुन्छ, भन्त ?”
मैले आफूले देखेको कुरो सुनाएँ – “मेरो घरभन्दा अलिकति पर एउटा मेरो खेत थियो । बुबाले केही दिन पहिले सँगै टाँसिएको छिमेकीको एउटा खेत किन्नुभो । पहिलेको एउटा र अहिलेको एउटालाई हिजोमात्र जोड्नुभो । एक खेतमा अर्को एक खेत जोड्दा एउटै खेत बन्यो । त्यसैले एकमा एक जोड्दा दुई नभएर एक हुन्छ ।”

अनि मैले अर्को उदाहरण पनि दिएँ । “मेरो ममी सिलाइ गर्नु हुन्छ । छिमेकी गार्मेन्टबाट कपडा आउँछ । नौ टुक्रा कपडालाई जोडेर एउटा सर्ट सिलाउनु हुन्छ । अनि ममी भन्नु हुन्छ कि म जताबाट जोडे पनि एक नै हुन्छ ।”
मेरो कुरो किन पच्थ्यो सरजस्तो मानिसलाई । अर्को थप्पडले मेरो गणितको सारा बुद्धि पलायन भयो ।

मेरो जोड र घटाउ, गुणन र भाग सबै यस्तै हुन्थ्यो । सबै फर्मुलामा मिल्नु पर्छ रे । अंग्रेजी, नेपाली, विज्ञान सबै विषयमा मलाई यस्तो हुन्थ्यो । साँच्चि र धरोधर्म भनूँ भने सबै विषयमा मलाई सरहरूले यसै कारण खत्तम भन्थे । सरहरूले पढाएको कुरामा सोझो सही थाप्दै मैले प्रगति गर्न थालें । मेरो कुरो कुनै सरले नपत्याइदिएपछि म खत्तम । हो हजुर, मलाई विश्वास छ- म सबैभन्दा खत्तम । सबैभन्दा खत्तम म ।

आखिर जताबाट भए पनि म अगाडि त छु नि । यो मेरो गर्वको पक्ष हो । मलाई चिन्ने भएकोले तपैँले पनि आफूमाथि गर्व गर्न सक्नु हुन्छ । बीचको भुसभुसहा बन्नु भन्दा त कि त सबैभन्दा राम्रो बन्नुस् या त सबैभन्दा खत्तम । जस्तो म छु – सबैभन्दा खत्तम ।

गरुडा, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x