साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजीको भर्मन !

सर्वसाधारणले प्रत्यक्ष हेर्दा ती सबै फुस्सा सावित भए पनि नेताजी अरुलाई फिस्स हाँसेर हिस्स पार्नमै मजा मान्नु हुन्छ ।

Nepal Telecom ad

हुन त भर्मन शब्दले आँखाभित्र बाहिर ओहोरदोहोर गर्ने भुसुना जीको अनौपचारिक भ्रमण भन्ने अर्थ पनि जुनकुनै गाइखुरे दिमागमा पलाउन सक्छ तर नेपाली भाषालाई निमोठीखेल्ने सपूतको स्वस्तीवाचनलाई लिपपोत गरेर भ्रम शब्दलाई गाउले भाषाको भर्मन शब्दमा छेवर गर्दै तुलसीमोठमा सजाइएको हो यहाँ चैं ।

कुरो खातखुत्तै खोलेर भन्दा नेपाल देशकै जरासन्ध गाउँमा जन्मे हुर्केको सन्तुराम नाउँको एउटा ठीटाले आप्mनै गाउँमा भैरहने विशिष्ट तमासा देखाउने चण्डाल मण्डलीको ताबेदार बन्न चाहेन छ । चुनावसुनाव आउँदा कुनै झण्डामुनि टाउको लुकाउने र गोप्य धाँधलीमा नेता जीले बोकाएका अछापे भोटको इमान्दारीपूर्वक जगेर्ना गरिदिने धुपौरे लमी बन्न पनि सकिन्थ्यो, यस बहादुरीले दुइचार छाक मासु भातको जोगाड हुन सकेपनि दीर्घकालीन फलिफाप भने गाह्रै पर्ने जो ठहर्यो । तत्पश्चात बाबु रोजगारीको खोजीमा हराएपछि घरकुरुवा बनेको सन्तुरामले महतारीको डेली, थैली केलाएर बाटा खर्च जोहो गर्दै एक दिन सुटुक्क राजधानीको रास्ता जो पक्रिदो भएछ ।

त पहाडबाट जागीर खान आएको गाउँले भाइ सन्तुरामलाई मन्त्री जीको कुकुर हेर्ने दज्र्यानीमा सेवारत बनीआएका दाइ जन्तुरामले भनेछन् “सन्तु तँ यो जागीर सागीर खाने सपना नदेख ! पाउनै असम्भव जागीरको पछि नलागेर नेता नामक हर्कुलशको पछि लाग । उसैको झोले बन । त्यति भएपछि नेताले तँलाइ भोकै राख्दैनन् । अनि तैले आमालाई खोलेफाँडो नै खिलाएर भएपनि भोको पेट बस्नु पर्ने छैन भन्ने विश्वास दिला । दशै तिहार एक जोर लुगा फेर्न गारो पर्ने छैन आदि इत्यादि जो भन्नु पर्ने हो, भन ।” आफ्ले सुहाउदो रोजगारीको आश्वासन पाएपछि बेरोजगार सन्तुले श्री अन्तुको सूर्योदयभन्दा चम्किने गरी गोफ्ले अनुहार झलमल्ल उज्यालो बनायो अनि नेताजीको इमान्दार झोले बनेर पछि पछि लाग्ने गिर्मिट दिलायो । याने कि ग्यारेन्टेट गरायो ।

नेताजी बैठक कक्षमा नपस्दै झोले पदवी पाउन प्रतीक्षारत सन्तुरामको दिमाग चक्करायो । यतातिर तेर्सिएको डरलाग्दो बाघ सिंह र अर्कोतिर लम्पसार परेर आक्रमण गरीहाल्ला जस्तो गैंडा अर्कातिर लामा सिङ गरेको जरायो देख्दै झण्डै सात्तो गएको । अर्कोतिर भालु र लङ्गूर देख्दै झनै छटपटायो । कोठाको भित्ता र सिलिङमा टास्सिएका अनेकथरि जनावरका छाला र बत्तीका नाना आकारप्रकारका चिम झाडफानूस देख्दै झण्डै बेहोस भएको ।

आश्चर्य र सन्त्रासपूर्ण काँतर नजरले यताउता पल्याक पुलुक हेर्दै गरेको भाइ सन्तुरामलाई दाइ जन्तुरामले खुसुक्क कानेखुसी गर्दै सम्झायो । “हेर भाइ उहाँ नेताजी वनमन्त्री हुदा यी ठूला ठूला जनावरका सिङ खुर दारा पन्जा र खागको संकलन गर्नु भाको थियो । उहा मन्त्री हुँदा तेतीस क्वीन्टल सुन पारी पास गराए वापत एक क्वीन्टल उहाँको भागमा परेरे यो बैठक सुवर्ण जडित बन्न पुगेको हो । यो कोठाका कुना, भित्ता चौकोश ढोका जताततै सुनै सुन झल्किएको देख्तै छस्् नि ! उता पशुपतिमा सुनको झल्लरी हाल्ने पवित्र कार्य गरे बापत यी सोफाका वरिपरि तलमाथिका आर्म लेग बेसिन सबै सुनले मोरिएका हुन् । यो पनि पशुपतिनाथको वर प्रसादको रूपमा ग्रहण गर्दै आउनु भएको छ । झलझली झल्का हानेको उनको गौरव गरिमालाई महिमामण्डित गर्दै बैठकको चिनारी गराउदै थियो जन्तु दाइले, यस्तैमा नेताजी फुत्तै भित्र पस्नु भएछ अनि घ्याच्चै सिंहासनमा बस्नु भएछ ।

सरलाइ देख्दै सन्तुराम थरथरी काम्न थाल्यो । बिस्तारै दाइले कानमा सुटुक्क बताउनु भयो हेर सन्तु उहा नै यो देशका हर्ता धर्ता र सम्हारकर्ता पनि होइसिन्छ । उहाँलाई शिवजीले गलामा सर्प वेरेको देखेर के प्रभाव परेको हो कुन्नि ! नारीभरि सिलिङ्गबिलिङ्ग गर्ने गँड्यौला बेर्नु भएको छ । चस्माभित्र आँखाका दुबै डिलमा भाक्कभुक्क उफ्रिने भ्यागुता पाल्नु भएको छ । आँखामुनि सरले सजाएका सानातिना जन्तु जनावरहरूले विशिष्ट प्रकारको पशुपालन केन्द्रको शोभा दिइरहेका छन् । अनि आफ्नै सद्बुद्धिले चुनाव हारेका नन्दी भृङ्गीहरूलाई बाइपंखे आश्वासन बाँडरेर छाउरा भुराजस्तै अघिपछि लगाइसेको छ । साथीभाइको जमात जम्मा गरेर हप्किदप्की पार्नुहुन्छ भने कहिलेकाहिँ त्यतिकै पनि एक्लै हाँसेर दिमागलाई तह लगाउने र बहलाउने दुबै काम गर्नु हुन्छ । एक्ले हाँस्नुपर्नु पर्ने कारण पनि विचित्र रहेछ । मन लाग्दा आकाश छुने घोषणा गर्नु हुन्छ तर उठेर दुइ चार पाइला नहिँड्दै बाटाको धुलोमा मुख जोत्न पुग्नुहुन्छ । कहिले बाटो हिँडदै गर्दा भञ्ज्याङपारीका भीर र ढलनालीमा ढुन्मुनिनु हुन्छ । कसैले हात समातेर उठाइ दिन खोज्यो भने “जा भाग पर जा भन्दै दुत्कार्नुहुन्छ । अनि त्यही हिलोमा लडिबुडी गरेर ढाडको चिलाई मार्नुहुन्छ ।

उहाँ सधैंँ विपनाभन्दा सघन सपनाका चौतारीमा बसेर गीत गाउन मन पराउनु हुन्छ । अरुलाई सेपेर, हेपेर ठाडो भाका हाल्दै गालीगीत रन्काउन थालेपछि वनका जिउँदा बाघ भालु र घर पालुवा गाइ भैंसीसमेत तर्सिएर भागीरहन्छन् । गालामाथि हात राखेर उहाले गाली गीत गाउन थालेपछि गोला छोडेर वनका अरिंगाल समेत उहाँकै वरपर गुनगुनाउन थाल्छन् । शैलुङ्गे जङ्गलदेखि नारायणीका वगरसम्म उहाँको तावेतारि गर्दै आज्ञाकारी अरिंगालहरू आसपास भुनभुनाउन थाल्छन अनि उहाँको आज्ञा पाउनसाथ विपक्षी माउरीमाथि झम्टिन ठिकठाक पर्छन् । जवजव स्वरसन्धान युक्त डाँको झिकेर गालीको बर्षासहित अरु साथभाइ, इष्टकुटुम्बलाई होच्याउने, हियाउने र खसाल्ने शब्दजालले भरिएका रँडाको मच्चाउने तीता लवजहरू उकेल्न थाल्नुहुन्छ तब त्यसको इसाराले अरिङ्गालहरू उत्तेजित भएर अरुमाथि जाइलाग्न पुग्छन् । कहिले गाली गर्दागर्दै उत्तेजित हुँदा भाउन्न पल्टिएर आफैँ रन्फनिनु हुन्छ अनि चौतारीबाट गर्ल्यामगुर्लुम मुन्टिनुहुन्छ तर यसलाई आफू पधारिएको भन्नु हुन्न बरु उल्टै लड्दै उठ्तै गर्नुहुन्छ अनि चण्डी नाचको भन्दा पनि बढी बढी उफ्रिएर थाल ठटाउदै चुरिफुरि गर्नुहुन्छ । कहिले कुर्सिबाट मुन्टिन मजा मान्नुहुन्छ । आफ्नै खुशीले तारेभिरबाट खुर्मुरिदा त झन विशिष्ट प्रकारकै मजा मान्नु हुन्छ ।

“नेताजी विभिन्न राग रागीनीको साङ्गीतिक सञ्जालका प्रणेता पनि बनिदिनु हुन्छ । त्यसैले कहिले गर्धनका नशा फुलाएर बाँसुरीमा अनेक थरी स्वर भर्नुहुन्छ । ट्याम्का मादल तबला जे जे मेसो पर्छ ठोक्नु हुन्छ । आफू सिङ्गो संगीत घरानाको अगुवा हुँ भन्दै विभिन्नथरी रागका तरङ्ग छोड्नु हुन्छ ।”

“हेर बाबु हाम्रा यी नेताजी महान भ्रमजीवि हुनुहुन्छ । आफूभन्दा अग्लो मानिस संसारमा कतै कोही नभएको बिचार पाल्नुहुन्छ । टोपीले सधैं आकाश ढाकेको देख्नुहुन्छ । हत्केलाले घाम छेकेर पृथ्वीलोक अँध्यारो बनाइदिएँ भन्न बेर मान्नु हुन्न । श्रमजीवी मनुवाको मुखमा दाबिलो कोचाएर संसार अमन चैनमा घुरेको देख्नुहुन्छ । अति चतुर भएर नै हातको कसार खसालेर बगरका गट्टा टिप्नु हुन्छ । अरुले नजीक आएर आफ्नो पकेट मारेको चाल पाउनु हुन्न । आफै चङ्ख छु भनेर बिजुलीबात मार्नु हुन्छ । संसारका कुस्तिबाज र भारत्तोलनमा आफै सर्बश्रेष्ठ ठान्नुहुन्छ । अरु साथीभाइलाई पाउ छटाकका किरा फट्याङ्ग्रा ठान्नु हुन्छ अनि आफू भने क्वीन्टल क्वीन्टलको हात्ती बाघ गैडाको टाङमुनि आङ जोडेर दाँजिनु हुन्छ । भगवान् बुद्धले कुनै विश्वविद्यायलय नपढी पीपलको फेदमा बसेर ज्ञान हासिल गरेकाले आफू पनि प्राविसम्मको स्कूले पाठ खारेर त्यही कोटीमा रहेको धमास दिनुहुन्छ । अहम् बादको गर्धभ राग अलापेर पूर्ववर्ती पुर्खाको यश किर्ती निष्ठा र इतिहासलाई झुत्रो पात्रो बनाएर धुल्याउनु हुन्छ । तैपनि अरुले आफूलाई घ्याँकेको, कोपरेको, चिथोरेको गुनासो गर्नुहुन्छ । तर त्यो बाँदरे खेल आफैँले आयोजना गराएको कुरामा बेखवरजस्तै बन्नुहुन्छ । बस यस्तै यस्तै होइसिन्छ हाम्रा नेताजी ।

साँच्चै इलाष्टिक छ कि कसो हो उहाँको ज्यान ? उत्पाती खबर बन्दै यता त्यता जतापनि तन्किने गर्नुहुन्छ । साँच्चै हिरामोतीले जडित छ कि कसो हो उहाँको शरीर ? म सर्वमान्य सर्वगुणकारी सर्वव्यापक छु भन्ने भ्रम टोलछिमेकमा फाल्नु हुन्छु त्यसैले जे जे बोल्दापनि ठिक बोलेको छु भन्ने हाउगुजी उमार्नु हुन्छ । बहुरङ्गी पात्र बनेर सधैं गाईजात्राको शोभायात्रा गर्न रुचाउनु हुन्छ । कसैको सल्लाहा सुझावको आवश्यकता महशुस गर्नुहुन्न । हरामी बानी व्यहोराको रामनामी ओडेर आफ्नाे सालिक ठड्याउन आतुर देखिनु हुन्छ । मुड चलेको बेला फुल्चोकी डाँडाको टुप्पाबाट प्यारासुट बनेर उडिदिनु हुन्छ र मुन्तिरका गाउँ शहर र महानगरमा मोनोरेल चलेको, ग्यासका पाइपहरू घरघरका चुलामा जडेको अनि तलतिर कोशी कर्णलीमा नेपाली झण्डा फहराएर पानीजहाज चलेका सपना देख्नु हुन्छ । अनि ती सबै कामको ठेक्का आफैंले फत्ते गरेको अनुभव छर्नुुहुन्छ । वस मैले जे भनेपनि अरुले पत्याउनै पर्छ भन्ने व्रह्मज्ञान पाल्नुहुन्छ । सर्वसाधारणले प्रत्यक्ष हेर्दा ती सबै फुस्सा सावित भए पनि नेताजी अरुलाई फिस्स हाँसेर हिस्स पार्नमै मजा मान्नु हुन्छ । बस् ।

काठमाडौं
९८४१६४७१८९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x